दक्षिण कोरिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्व मन्त्री बिना मगरले दक्षिण कोरियाको संसदमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सम्बोधन गरेकी छिन् । नेपाल र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापित भएको ५० औं वर्षको अवसरमा पूर्वमन्त्री मगरले शुक्रबार दक्षिण कोरियाको संसदलाई सम्बोधन गरेकी हुन् ।
संसदमा सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, “हामी नेपालीहरु तपाईंहरुको (दक्षिण कोरियाको) प्रगति देखेर चकित छौं, हामी तपाईंहरुको प्रगतिको बाटो पछ्याउने प्रयासमा छौं ।” उनले थप जोड दिंदै भनिन्, “लोकतन्त्र र विकासको मामिला साथै विश्वव्यापी सम्बन्धको मामिलामा तपाईं हामी दुवै देश एक ठाउँमा छौं, हाम्रो सम्बन्ध सगरमाथाभन्दा उच्च छ ।”
नेपालको आर्थिक एवं सामाजिक विकासको लागि दक्षिण कोरियाले गरेको योगदानको प्रशंसा गर्दै पूर्व मन्त्री मगरले धन्यवाद दिइन् । वैदेशिक लगानीका लागि नेपाल उपयुक्त मुलुक भएकाले ढुक्क भएर लगानी गर्न समेत उनले कोरियाली संसदबाट अपिल गरिन् । “नेपाल सरकारले वैदेशिक लगानी भित्राउन सहज, सरल र सुरक्षित नीति अवलम्बन गर्न लागेको स्पष्ट पार्दै उहाँले वैदेशिक लगानीमैत्री कानुन छिट्टै आउन लागेको जानकारी दिइन् ।
जलवायु परिवर्तनको विषयमा पूर्वमन्त्री मगरले नेपालजस्तो हिमाली तथा विकासोन्मुख देशहरुको मात्रै समस्या नभएर जलवायु परिवर्तन सिंगो विश्वकै साझा समस्या भएको बताइन्। “आसन्न कोप २८ मा जलवायु परिवर्तनको मुद्दामा नेपाल अगुवा देशको रुपमा प्रस्तुत हुने तयारीमा छ, उनले सम्बोधनमा भनिन् तसर्थ, विश्व जलवायु सम्मेलन (कोप २८) मा नेपालको प्रस्तावमा तपाईंहरुको (दक्षिण कोरियाको) समेत बलियो साथ र सहयोग रहनेमा नेपाल पूर्णतः विश्वस्त छ ।”
सम्बोधनको पूर्णपाठ
सर्वप्रथम, नेपाल-दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापित भएको ५० औं वर्षको ऐतिहासिक अवसरमा दक्षिण कोरियाको संसदलाई सम्बोधन गर्न पाउँदा गौरवको अनुभूति गरेको छु। यो महत्वपूर्ण अवसरका निम्ति म नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट कोरियाली सरकार, संसद र कोरियाली जनतामा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु ।
भूगोल र जनसंख्याका दृष्टिले सानो भए पनि आधा शताब्दीमा विकास र प्रगतिमा दक्षिण कोरियाले हासिल गरेको सफलता सिंगो विश्वका निम्ति अनुकरणीय छ । कृषि, औद्योगिक उत्पादन, प्रविधि र सामाजिक विकासका क्षेत्रमा तपाईहरूले गर्नुभएको प्रगति चामत्कारिक र झण्डै असम्भवजस्तो अनुभूति हुन्छ । राष्ट्रको संकल्प र आम जनताको एकताका बलमा हासिल गर्नुभएको यो ऐतिहासिक उपलब्धीका निम्ति म तपाईहरूमा बधाइ ज्ञापन गर्दछु ।
नेपाल र दक्षिण कोरियाबीच जनस्तरको सम्बन्ध निकै पूरानो छ। कोरियाली प्रायद्वीपमा सन् ३७२ मा बौद्ध धर्मप्रति आकर्षण र सन् ७१९ मा गुरु हेछो नेपालको लुम्बिनी पुग्नुले नेपाल र दक्षिण कोरियाबीचको जनस्तरमा विकसित सम्बन्धको घनत्व प्रमाणित गर्दछ। दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापित भएको ५० वर्ष भएको छ । सन् १९७४ मे १५ मा काठमाडौंमा कोरियाली दूतावास र सन् २००१ मा सिओलमा नेपाली महावाणिज्य दूतावास स्थापना भई हाम्रो सम्बन्धले गुणात्मकता हासिल गरेको कुरा म यहाँ विशेषरूपले स्मरण गर्न चाहन्छु ।
नेपाल र दक्षिण कोरिया दुबै लोकतान्त्रिक मुलुक हुन् । तपाईहरू संसारलाई नै चकित पार्ने गरी विकासको अगुवाइ गर्दै हुनुहुन्छ । हामी नेपालीहरू तपाईहरूको प्रगति पछ्याउने प्रयासमा छौं। लोकतन्त्रको मामिलामा,विकासको मामिला, विश्वव्यापी सम्बन्धको मामिलामा तपाई हामी दुबै देश एकै ठाउँमा छौं। तसर्थ, हाम्रो सम्बन्ध सगरमाथाभन्दा उच्च छ । नदीभन्दा गहिरो छ । हिमनदीभन्दा कञ्चन र पवित्र छ ।
तपाईहरूले नेपालको आर्थिक एवं सामाजिक विकासका निम्ति निकै ठूलो योगदान गर्नुभएको छ । भविष्यमा पनि नेपालको विकासमा सहयोग गर्ने सद्भाव देखाउनुभएको छ । तसर्थ, म तपाईहरूलाई हृदयदेखि धन्यवाद दिन्छु । यस सन्दर्भमा नेपाल सरकारले वैदेशिक लगानी भित्राउन सहज, सरल र सुरक्षित नीति अवलम्बन गर्न लागेको स्पष्ट गर्दै छिट्टै वैदेशिक लगानीमैत्री कानुन आउने विश्वास दिलाउँछु । र, वैदेशिक लगानीका निम्ति नेपाल अनुकूल मुलुक भएकाले ढुक्क भएर लगानी गर्नसमेत विशेष अपील गर्दछु ।
अर्को कुरा, आज सिंगो विश्वले जलवायु परिवर्तनको निकै ठूलो चुनौती सामना गरिरहेको छ । त्यसको सबैभन्दा नकारात्मक प्रभाव हामीजस्ता हिमाली देशहरूलाई परिरहेको छ। विश्वव्यापी तापमान अप्रत्यासित रूपले बृद्धि हुँदैछ । हिउँ पग्लिने क्रम तीव्र छ । हिमनदीहरू सुक्दैछन् । अनावृद्धि, अतिवृद्धि जस्ता प्राकृतिक संकटहरू बढ्दैछन् । विपत्तिका कारण महामारी बढ्दो छ। मानव जातिको भविष्य नै संकटमा पार्ने भयानक चुनौतीको बेलैमा सम्बोधन गर्न सकिएन एकदिन सिंगो विश्व नै पछुताउनुपर्ने खतरा देखिदैछ ।
जलवायु परिवर्तनको समस्या नेपालजस्ता हिमाली तथा विकासोन्मुख देशहरूको मात्र समस्या होइन, सिंगो विश्वको साझा समस्या हो। आसन्न कोप २८ मा जलवायु परिवर्तनको मुद्दामा नेपाल अगुवा देशको रूपमा प्रस्तुत हुने तयारीमा छ । तसर्थ, विश्व जलवायु सम्मेलन ९कोप २८० मा नेपालको प्रस्तावमा तपाईहरूको समेत बलियो साथ र सहयोग रहनेमा नेपाल पूर्णतः विश्वस्त छ ।
आधुनिक कोरियाको निर्माणका निम्ति हजारौं नेपाली नागरिकले श्रम र पसिना खर्चिएका छन् । हजारौं नेपालीहरू वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा हुनुहुन्छ । तसर्थ, आधुनिक कोरिया निर्माणका शिल्पी नेपालीहरूको हितरक्षा सधैं तपाईहरूको प्राथमिकतामा परिरहनेछ भन्ने हाम्रो गहिरो विश्वास छ ।
अन्त्यमा, नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप सुदृढ गर्ने, साझा मुद्दाहरूमा एकै ठाउँ उभिन यस भ्रमणले थप मद्दत पुग्ने विश्वासका साथ फेरि एकपटक तपाईहरू लगायत समस्त कोरियाली जनतालाई विशेष धन्यवाद दिँदै विदा हुन्छु । धन्यवाद ।