वालिङ। स्याङ्जाको वालिङमा अटो रिक्सा दुर्घटना हुँदा १६ महिने शिशुको ज्यान गएको छ । वालिङ नगरपालिका वडा नं.१ खहरे स्थित भित्री सडकमा लु १ ह ३६८६ नम्बरको अटो रिक्सा शनिवार दुर्घटना हुँदा उनको ज्यान गएको हो । वालिङबाट खहरे तर्फ जाँदै गरेको अटो अनियन्त्रित भई सडकमा नै दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
दुर्घटनामा परि घाइते भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१० कान्छी बजार बस्ने ओम बहादुर लम्साल क्षेत्रीको १६ महिना की छोरी कायरा क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते भएकी कायराको उपचारका क्रममा गह्रौं प्राथमिक अस्पताल वालिङमा ज्यान गएको हो ।
अटोमा चार जना सवार रहेको भए पनि अन्य सबै यात्रु सकुशल रहेको सूचना अधिकारी लामाले बताए। अटो र अटो चालक प्रहरीको नियन्त्रणमा रहेको तथा कागजपत्र साथमा नभएको प्रहरीको भनाई छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।