प्रविधिको प्रयोगबाट मात्रै समृद्धि प्राप्त हुन्छ : प्रधानमन्त्री

पोखरा ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात गर्नुपर्ने बताएका छन्।

प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारि…

मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या

मेटाका प्रवक्ता एन्डी स्टोनले समस्या हल गर्न लागेको बताएका छन् ।

सूचना-प्रविधि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताएका छन्। ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताए। “आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता, सम्प्रभुता, आन्तरिक एकता र सद्भाव जस्ता पक्षहरूको केन्द्रमा सूचना प्रविधि आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले नै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने ठाउँमा सिङ्गो विश्व आइपुगेको तथ्य हामीले हेक्का राख्नै पर्छ।” उनले कृतिम बौद्धिकका बहुआयमिक लाभ र केही चुनौतीहरूको गम्भीर अध्ययन गरी आवश्यक नीतिहरू तर्जुमा गर्न अब ढिलाइ गर्न नहुने बताए। कृत्रिम बौद्धिकता प्रविधिमा असीम सम्भावनाहरू रहेपनि रोजगारी विस्थापन, पूर्वाग्रह र निष्पक्षताका सवाल, गोपनीयताका सवालहरूमा चुनौती पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले साइबर सुरक्षा, नैतिक दुविधा, सामाजिक विग्रह, निर्भरता र स्वायत्तता, आदिका कारणले समाजमा थप असमानताहरू थपिन सक्ने जोखिम औंल्याए।  नेपालको गरिवी र न्यून आर्थिक विकासको चक्रलाई तोड्न कृत्रिम बौद्धिकता प्रविधिले सुशासन ‘४.०’ जस्ता अवधारणालाई अङ्गीकार गर्न अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता विकासका लागि ‘एआई इकोसिस्टम’  विकासमा आवश्यक पहल लिनैपर्ने अवस्था आएको उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता प्रविधिको प्रयोगले सरकारी नीति निर्माण र सुशासन अभिवृद्धिमा टेवा पुर्‍याउने विषयहरू, विद्यालय तथा उच्च शिक्षामा कृतिम बौद्धिकताबाट हासिल गर्न सकिने नतिजाहरू, कम्प्युटेसनल तथा अन्य पूर्वाधारको आवश्यकता, देशमा सञ्चालित अनुसन्धान परियोजना र तालीमहरू, विकासका कार्यहरूलाई त्यस्तो प्रणालीमा जोड्न सकिने विश्वास व्यक्त गरे।

सूचना प्रविधि क्षेत्रमा क्रियाशील युवा वैज्ञानिकलाई सम्मान र प्रोत्साहित गर्न प्रधानमन्त्रीको अपिल

‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताए।

‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सुशासनको लक्ष्य हासिल गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताएका छन् ।  ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।  “सरकारले कम्प्युटर प्रविधि, रोवोटिक प्रविधि, डाटा विज्ञान, मेशिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्गस, कम्प्युटेशनल पूर्वाधार विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने कार्यमा आवश्यक पहल लिनेछ,” प्रधानमन्त्रीले भने, “यसका लागि कृत्रिम बौद्धिकतासम्वन्धी नीतिलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ तथा डिजिटल नेपाल फ्रेमवर्क, २०१९ सँग समन्वय गर्नेगरी अगाडि बढिनेछ ।”  सरकारले हाल उदयीमान प्रविधिको क्षेत्रमा विभिन्न अध्ययन र अनुसन्धानका कामहरू अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान प्रविधि क्षेत्रलाई महत्त्व दिएर नै विज्ञान प्रविधि नवप्रवर्तन कोष निर्माणका लागि बजेट विनियोजन गरिएको बताए। उनले प्रविधिको क्षेत्रमा आत्मनिर्भरताको अवसर सिर्जना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन समेत दिए । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तावमा समेत विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई विशेष महत्त्व दिइने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रस्तावित १६औँ आवद्यिक योजनामा यस क्षेत्रलाई महत्त्वका साथ समावेश गरिएको जानकारी दिए ।  नवप्रवर्तन र उत्पादकत्व वृद्धिको सवालमा आगामी वर्षदेखि नै सरकारी निकायहरूले कृत्रिम बौद्धिकताको भूमिका बढाउने परियोजनाको विकासमा जोड दिइने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सरकारी निकायले दिने सेवाको जानकारीका लागि कृत्रिम बौद्धिकतामा आधारित च्याटबट सेवा, वृहत तथ्याङ्कीय विश्लेषणका परियोजनाहरूलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिने स्पष्ट पारे ।   प्रधानमन्त्री प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा विभिन्न सरोकारवाला निकायहरूद्वारा संयुक्तरूपमा आयोजना गरेको ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता–भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनले समृद्ध नेपाल बनाउने सपना सार्थक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । मानिसले गर्ने नियमित कार्यहरू वा धेरै समय लगाएर गर्ने कार्यहरू तथा मानिसले गर्न नसक्ने कार्यहरू कृत्रिम बौद्धिकतामार्फत गर्दा समयको वचत र नवप्रवर्तन तथा उत्पादकत्व वृद्धिका निम्ति बहुउपयोगी रहने प्रधानमन्त्रीको भनाइ छ ।

सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आउँदो लगानी सम्मेलनमा प्रस्तुत गर्ने सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छिन् । नेपाल उद्योग परिसंघको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीजका पदाधिकारीसँगको भेटमा उनले यस्तो आग्रह गरेकी हुन् । लगानी सम्मेलनमा अन्य क्षेत्रको जस्तै सूचना प्रविधि क्षेत्रको लगानी प्रस्तुत गर्न आवश्यक रहेकाले आवश्यक परियोजना भए लिएर आउन आग्रह गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा परियोजना बैंक बनाउनुपर्ने बताइन् । उनले सरकारको नीति तथा कार्यक्रम र बजेटका सवालमा पनि सूचना प्रविधिमा के गर्न सकिन्छ सरकारलाई लिखित सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरिन् । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरेदेखि नै डिजिटल रुपान्तरणलाई रणनीतिको रुपमा राखिए पनि नेपालमा सूचना प्रविधिलाई साझा दृष्टिकोण नै बन्न नसकेकाले यसमा आवश्यक लगानीको वातावरण नबनेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारी, निजी क्षेत्र र जनस्तर सबैतिर सूचना प्रविधि प्रतिको साझा बुझाई आवश्यक रहेको बताइन् । ‘अब सूचना प्रविधि क्षेत्रमा लगानीकर्ता र जनशक्तिको पहिचान गर्न ढिलाई गर्नुहुँदैन’– उनले भनिन्– ‘डिजिटल रुपान्तरणको माध्यमबाट मुलुकको समृद्धि कायम गर्न निजी क्षेत्रले सहयोग गर्न आवश्यक छ ।’ निजी क्षेत्रले लगानी गर्दा आफ्नो मुनाफा हेर्नु स्वभाविक भए पनि अर्थतन्त्र चलायमान बनाउने र रोजगारी सिर्जना गर्नेतिर बढी ध्यान केन्द्रित गर्न आवश्यक रहेको उनले स्पष्ट गरिन् । सरकार सूचना प्रविधि र साइबर सुरक्षालगायतका आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको पनि उनले जानकारी दिइन् ।  छलफलमा नेपाल उद्योग परिसंघको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीजका पदाधिकारीहरुले नेपालमा ठूला लगानीकर्ताले सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका थिए । नेपालमा सूचना प्रविधिको राम्रो संभावना भएकाले सरकारले कानुन र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनीहरुले निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताएका थिए । पछिल्लो समय सरकारले सूचना प्रविधि क्षेत्रमा राम्रो पहल अघि बढाए पनि सूचना प्रविधि, स्टार्टअप लगायतका क्षेत्रमा सरकारी निकायहरुबीच नै साझा बुझाई आवश्यक रहेको बताउनुभयो ।

अब नेपालभित्र सञ्चालित विमानस्थलमा टेलिकमको फ्रि वाइफाई चलाउन पाइने

काठमाडौं । अब नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा नेपाल टेलिकमको फ्रि वाइफाई इन्टरनेट सेवा उपभोग गर्न पाइने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज यस विषयमा सहमति भएसँगै सेवाग्राहीले निःशुल्क नेपाल टेलिकमको फ्रि वाइफाई सेवा लिन सक्ने भएका हुन् ।  सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् । सहमतिपत्रअनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाई नेटवर्क जडान गर्नेछ । नेपालभित्र सञ्चालित अन्य विमानस्थलमा समेत चरणबद्ध रूपमा फ्रि वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्ने टेलिकमले एक विज्ञप्ति जारी गर्दै बताएको छ । त्यसैगरी विमानस्थलभित्र यात्रुहरूलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवासम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ । फ्रि वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरू जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गर्ने छ । यात्रुहरूलाई सुविधा हुनेगरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ । 

अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने २ जना उपकरणसहित पक्राउ

काठमाडौं । अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) गरेको आरोपमा २ जना उपकरणसहित पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्साको मधुवनका ३७ वर्षीय विशाल शाह कलवार र रुपन्देहीका २५ वर्षीय इमरान अहमद खानलाई पक्राउ गरेको हो । उनीहरुलाई पोखराबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार उनीहरुको साथबाट भीओआईपी पोर्ट २ वटा, वर्ल्डलिंक राउटर एउटा, एनसेलका प्रयोग नभएका सिम २०९ वटा बरामद गरिएको छ ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए सपथ

काठमाडौं, ८ फागुन । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारीले पद तथा गोपनीयताको सपथ लिएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नवनियुक्त अध्यक्ष भण्डारीलाई आज (मंगलवार) सपथ गराए । नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन ६ गतेको बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।  सो अवसरमा मन्त्री शर्माले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्न अध्यक्ष भण्डारीलाई आग्रह गरे । अत्यन्त संवेदनशील क्षेत्रको रुपमा रहेको दूरसञ्चार क्षेत्रलाई गुणस्तरीय, सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिंदै उनले त्यसका लागि योजनाबद्ध पहल आवश्यक रहेको बताए। मुलुकको आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य रहेको र त्यसका लागि दूरसञ्चार आधारभूत डिजिटल पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री शर्माले चाँडोभन्दा चाँडो देशका सबै भूभागमा दूरसञ्चार सेवा पुर्याउने गरी काम गर्न सुझाव दिए ।  उनले  सुशासनलाई ध्यान दिन पनि आग्रह गरे । सूचना प्रविधि नयाँ क्षेत्र भएको र यसमा प्रयोग हुने उपकरण तथा प्रणालीको खरिद र जडान प्रक्रियामा अन्य क्षेत्रबाट बढी अनियमिताको गुनासो आउने गरेकाले आगामी दिनमा त्यस्तो स्थिति आउन नदिन प्राधिकरणले विशेष ध्यान दिनुपर्ने उनले स्पष्ट गरे । दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले नेपालको समग्र दूरसञ्चार र सूचना प्रविधि क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए ।  नवनियुक्त अध्यक्ष भण्डारीले राष्ट्रहित र नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दूरसञ्चार क्षेत्रको बदलिंदो आयाम र आफ्नो दुई दशक लामो सूचना प्रविधि क्षेत्रको अनुभवका आधारमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा योगदान दिने उनले बताए । कार्यक्रमको सहजीकरण मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले गरेका थिए । भण्डारी खुला प्रतिष्पर्धाबाट पाँच वर्षका लागि अध्यक्षमा नियुक्त भएका हुन् । निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि अध्यक्ष पदमा खुला प्रतिष्पर्धाका लागि आव्हान गरिएको थियो । प्रतिष्पर्धाका लागि २५ जनाले आवेदन दिएकोमा सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित सिफारिस समितिले भण्डारी, शैलेन्द्र गिरी र नवीन जिसीको नाम मन्त्रिपरषदमा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले पहिलो नम्बर रहेका भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणको अध्यक्षमा नियुक्तिका लागि मन्त्रालयले २५ जनालाई अन्तर्वार्तामा बोलायो (समय तालिकासहित)

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि थप प्रक्रिया अघि बढेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष पदका लागि दरखास्त दिएका २५ जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि समय र स्थान तोकेको हो । मन्त्रालयका अनुसार फागुन २ गतेदेखि ५ गतेसम्म विभिन्न चरणमा सबै आवेदनकर्ताको प्रस्तुतीकरण र अन्तर्वार्ता लिइने छ । सो प्रस्तुतीकरण र अन्तर्वार्ता मन्त्रालयमा नै हुने जानकारी दिइएको छ । त्यसपछि अध्यक्ष पदका लागि सिफारिसको प्रक्रिया अघि बढ्ने मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्रप्रसाद सुवेदीले बताएका छन् । गत माघ १४ गते मन्त्रालयले सूचना जारी गर्दै अध्यक्ष पदमा आवेदनका लागि आह्वान गरेको थियो । हाल प्राधिकरणको अध्यक्ष पद खाली छ । प्राधिकरणको कार्यवाहक अध्यक्षमा नवराज अधिकारी रहेका छन् ।

सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यक : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताएकी छिन् । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) को आयोजनामा राजधानीमा सुरु भएको २९ औँ सूचना तथा प्रविधि प्रदर्शनी २०८० को उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले सूचना प्रविधिमा युवा जनशक्तिलाई आकर्षित गर्ने कार्यक्रम बनाउनुपर्ने बताइन् । ‘‘डिजिटल अर्थतन्त्रलाई नेपाली अर्थतन्त्रको मूल आधार बनाउन वृहत् सहकार्य आवश्यक छ । सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ ।,’’ उनले भनिन्, ‘‘आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासङ्घसँग आग्रह गर्दछु ।’’ डिजिटल नेपाल फ्रेमवर्क २०७६ को कार्यान्वयनमार्फत हरेक क्षेत्रलाई डिजिटाइजेसन गर्दै लैजाने सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले डिजिटल पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, अर्थ र सहरी पूर्वाधारमा प्रविधिको प्रयोग बढाउन सकिएमा ठुलो परिणाम दिनसक्ने बताइन् । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डासहित अघि बढिरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले थपिन्, ‘‘हामी यसकै मुख्य सोचमा आधारित रहेर आगामी १६ औँ राष्ट्रिय योजनाको तयारीमा पनि जुटेका छौँ । आगामी पञ्चवर्षीय योजनालाई डिजिटल रूपान्तरणकारी योजनाको रूपमा अघि बढाउनुपर्छ भन्ने सरकारको सोच रहेको छ ।’’ अहिले नेपालमा ठुलो सङ्ख्यामा युवाहरू सूचना प्रविधिको क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै उनले भनिन्, ‘‘अहिले ठुलो सङ्ख्यामा युवाहरू विदेश पलायन भइरहेको बेलामा नेपाली जनशक्ति देशभित्रै बसेर सूचना प्रविधि सेवा निर्यातमार्फत आर्थिक समृद्धिमा योगदान गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्दै जानु निकै खुसीको कुरा हो । यसबाट एकातिर हामी सूचना प्रविधि उद्योगमार्फत विश्व बिजारमा प्रतिस्पर्धा गर्न सक्ने छौँ भने अर्कोतिर जनशक्ति पलायन रोकेर श्रमिक होइन श्रम र सेवा निर्यातको नयाँ ढोका खोल्न सक्ने छौँ ।’’ सरकारले चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा प्रेरित गर्ने कार्यक्रम समावेश गरेको र स्टार्टअप उद्यम कर्जा कार्यविधि पारित गरेर यसका लागि परियोजना आह्वान पनि गरिसकेको जानकारी दिँदै मन्त्री शर्माले सूचना तथा सञ्चार प्रविधिमा आधारित स्टार्टअप गर्न चाहनेहरूलाई यसमा समावेश हुन आग्रह गरिन् । सूचना प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको जानकारी दिंदै नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेर कार्यान्वयनमा ल्याइएको र डाटा सुरक्षा, साइबर सुरक्षालगायतका क्षेत्र समेटेर सूचना प्रविधिसम्बन्धी कानुनको तयारी भइरहेको जानकारी दिइन् । कानुनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनर्संरचना लगायतका काम पनि भइरहेको उनले स्पष्ट पारिन् । अब सूचना प्रविधि क्षेत्रमा विकास र प्रयोग बढाउन नवीन प्रविधिलाई आत्मसात् गर्दै आविष्कार र नवप्रवर्तनमा जोड दिनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले विश्वमा एकपछि अर्को प्रविधिको विकास र प्रयोग हुँदै गएकाले रोबोटिक्स, आर्टिफिसियल ईन्टेलिजेन्स् (एआई) जस्ता प्रविधिको आत्मसातीकरण साथै आगामी दिनमा विकासमा नवीन प्रविधिका लागि पनि स्पष्ट नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्नुपर्ने बताइन् । सञ्चार तथा सूचना प्रविधि आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको विषय हो भन्ने सवाल नेपाल राज्यले औपचारिकरुपमा स्वीकार गरेको भए पनि यसलाई सिङ्गो मुलुककै साझा धारणा बनाउन अझै मेहनत गर्न आवश्यक रहेको पनि मन्त्री शर्माले स्पष्ट गरिन् ।

टेलिकमले सेवाको गुणस्तर बढाउनुपर्छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन् । सोमबार नेपाल टेलिकमको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै रहेको बताइन् । उनले सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरू लक्षित रहेको बताइन् । मन्त्री शर्माले समग्र दूरसञ्चारको क्षेत्रमा देखिने वेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अघि बढाइरहेको दाबी गरिन् । उनले लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधनदेखि, एनसेलको शेयर खरिद–बिक्री प्रकरणमा छानबिन गरी प्रतिवेदन लिने लगायतका काम सरकारले गरिसकेको बताइन् । यस वर्ष मात्रै सरकारले नयाँ प्रिmक्वेन्सी नीति, २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यकीय र राष्ट्रलाई महत्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्नेगरी कार्यान्वयनमा ल्याएको जानकारी दिइन् । मन्त्री शर्माले अब जतिसक्दो छिटो अनलाइन प्रणालीमा जान जरुरी रहेको र त्यसका लागि डिजिटल पूर्वाधार अनिवार्य सर्त रहेको बताइन् । मन्त्री शर्माले भनिन्, “सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ । सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार हो भन्नेकुरा हामीलाई थाहा छ । सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरू लक्षित रहेको छ । समग्र दूरसञ्चारको क्षेत्रमा देखिने वेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अघि बढाइरहेको छ ।” मन्त्री शर्माले कर्मचारीहरूको पेसागत, हक, हीतको रक्षा गर्ने दायित्व पहिलो दायित्व भएको बताइन् ।

दस वर्षयताकै लामो दिन आज, अत्यधिक गर्मी हुने

काठमाडौं । पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन आज । आज अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको हो । समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने विज्ञप्तिमा उल्लेख गरेका छन् । पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर छ । आज दुवैबिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ । उनले सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुन जाने बताए । सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ । “पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुन्छ,” समितिका कार्यकारी निर्देशक डा. शर्माले भने, “पृथ्वी आफ्नो अक्षमा २३.५ डिग्री झुकेको हुनाले यस्तो हुन जान्छ । असार २१ गते पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी ध्रुवमा सबैभन्दा बढी गर्मी अनुभूति हुन्छ ।” उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुवमा बसोबास गर्छन् । यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुवमा दिन छोटो, रात लामो र चिसो हुन जान्छ ।

सञ्चार प्रविधिको सही सदुपयोगका लागि नीतिगत व्यवस्था गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल जस्तो मुलुकमा सूचना प्रविधिको प्रयोग गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा उल्लेख्य प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्। विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा सूचना प्रविधिका क्षेत्रमा क्रियाशील सबैमा शुभकामना व्यक्त गर्दै सञ्चार प्रविधिको सही सदुपयोगका लागि चेतनामूलक कार्यक्रमसँगै नीतिगत व्यवस्था गर्न आवश्यकता औँल्याए । “सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँका रूपमा परिणत गरे पनि प्रविधिको उपयोगलाई विश्वासनीय, सुरक्षित र पहुँचयोग्य बनाउने चुनौती भने यथावत् छ, सूचना प्रविधिको प्रयोग गर्दै नेपालको आर्थिक विकास, समृद्धि र रोजगारी सिर्जनामा काम गर्न सम्भव छ”, उनले भनेका छन् । विगतको दशकमा दूरसञ्चार क्षेत्रमा भएको नवीनतम प्रविधि, पूर्वाधार विकास र नीतिमा नेपालले राम्रो फड्को मारेको उल्लेख गर्दै उहाँले प्रविधिले मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थाले डिजिटल प्रणालीमा सेवा प्रदान गर्दै आशाको सञ्चार गरेको महसुस गरेको बताउँदै उनले सरकारी सेवामा अनलाइन प्रणालीको विकास, मोबाइल बैंकिङ, इलर्निङ लगायतमा भएको प्रगतिले सेवा प्रवाहमा सहजता र समयको वचत गर्न सहयोग गरेको जनाएका छन्। उनले भनेका छन्, “सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तक्रियालगायत कार्यक्रम गर्न लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहान होटल र्‍याडिसनमा दूरसञ्चारसम्बन्धी गोष्ठीको आयोजना गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष मनाइँदै आएको छ । दूरसञ्चारको विकाससँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ । यो बिना जीवन कल्पना गर्न गाह्रो भएको छ । ‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरेको छ ।

एमडीएमएस प्रणाली आजदेखि लागु हुँदै

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि लागु हुँदैछ । नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न यो प्रणाली लागु गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेट यो प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको जनाएको छ । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू भने सम्बन्धित व्यक्ति स्वयंले दर्ता गर्नुपर्नेछ । नागरिकता वा राहदानी प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । नेपालभित्र खरिद गर्दा सो मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएसमा दर्ता भए नभएको यकिन गरी मात्र किन्न आग्रह गरिएको छ । लामो समयको उतारचढावपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो। सरकारले गत आर्थिक वर्षको बजेटमार्फत नै २०७८ साउनदेखि यो लागु गर्ने घोषणा गरेको थियो तर सबै उपकरण नआएको कारण देखाउँदै प्राधिकरणले तोकिएको समयमा यसलाई सञ्चालनमा ल्याउन सकेको थिएन। दोस्रो पटक २०७९ पुस १५ गतेदेखि एमडिएमस लागु गर्ने प्राधिकरणले औपचारिक घोषणा गरे पनि सार्वजनिक विरोधपछि त्यसलाई तत्कालका लागि स्थगित गरेको थियो। खास गरी व्यक्तिगत प्रयोजनका लागि ल्याइने मोबाइलको भन्सारसँग सम्बन्धित नीति व्यावहारिक नभएको भन्दै भएको विरोधका कारण त्यससँग असम्बन्धित एमडिएमएस प्रणाली पनि त्यति बेला स्थगित हुन पुगेको थियो।