राजेन्द्र महतोद्धारा लोसपा परित्याग, राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा (विज्ञप्तिसहित)
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी उनले राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा गर्दै लोसपा छाडेको जानकारी गराएका हुन् ।
अबको क्रान्ति पुराना दल र व्यक्तिबाट सम्भव नहुने उनको निष्कर्ष छ । “अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव नै छैन । तसर्थ, विद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी, औपनिवेशिक चिन्तन, सोचको प्रभावलाई तिलाञ्जली दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली वैभव प्राप्त गर्न सम्भव छ । यसको निम्ति, यस नवीन युगको नवीन नेपाल निर्माणनिम्ति युगीन अभियानमा सरिक हुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सादर आह्वान गर्दछु,” उनले भनेका छन् ।
विज्ञप्तिको पूर्णपाठ पढ्नोस्
मिटरब्याजपीडित र सरकारबीच वार्ता हुँदै
काठमाडौं । मिटरब्याजपीडित र सरकारबीच वार्ता हुँदै छ । आज वार्तामा बस्नेगरी आइतबार दुईपक्षबीचको छलफल टुंगिएको थियो । सरकार र पीडितबीच बिहान ११ बजेदेखि वार्ता हुनेछ । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको छ । आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए । सरकारले नेपाल सरकारका सहसचिव रुद्र पण्डितको नेतृत्वमा सरकारी वार्ता टोलीको गठन गरेको छ । यसैबीच, पीडितहरूले सडक आन्दोलनलाई निरन्तरता दिने भएका छन् । आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा आदित्य राम, मोहन महत्तो, शिव शंकर महत्तो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा, राजाराम यादव र अंकित खनाल सदस्य छन् ।
प्रधानमन्त्रीसँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार अपराह्न भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गरिएको थियो । त्यस अवसरमा प्रधानमन्त्रीले नेपाल–अमेरिका सम्बन्धलाई आफूले उच्च महत्त्व दिँदै आएको बताए । उनले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको भन्दै त्यसप्रति कृतज्ञता व्यक्त गरे । नौसेनाध्यक्ष एक्विलिनोले विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको नेतृत्वमा विभिन्न शान्ति ‘मिसन’मा नेपालले सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेकामा बधाई ज्ञापन गरे । उनले शान्ति सेनामार्फत नेपालले निर्वाह गरेको भूमिकाको प्रशांसा पनि गरे । नौसेनाध्यक्ष एक्विलिनो यही फागुन ८ गतेदेखि यहाँ जारी ‘अभ्यास शान्ति प्रसास–४’ अवलोकनका निम्ति नेपाल भ्रमणमा छन् । त्यसक्रममा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटा, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सन र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । रासस
न्यायाधीशद्वय थपलिया र निरौला बर्खास्त, घुस डिल गरेका कोइरालाको सरुवा
काठमाडौं । न्याय परिषद्को सिफारिसमा दुईजना न्यायाधीश बर्खास्त भएका छन् । परिषद्को आइतबार बसेको बैठकको सिफारिसमा उच्च अदालतका न्यायाधीश डा.नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बर्खास्त गरेका हुन् । उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत रहँदा न्यायाधीश थपलियामाथि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विचौलियाको रूपमा काम गरेको आरोप लागेको छ । जबरासँग निकट रहेका थपलियामाथि झगडियासँग भेटघाट गरी रकम लिएर उनीहरूकै पक्षमा मुद्दामा फैसला गराएको आरोपसमेत लागेको थियो । न्याय परिषद्मा परेको उजुरीमा थपलियाले झगडियासँग रकमको मुलाहिजा गरेको र फैसला प्रभावित बनाएको आरोप थियो । उजुरीसँगै आएका अडियो र कल डिटेल्सका आधारमा उजुरीको छानबिन गर्दा गम्भीर कैफियत देखिएपछि परिषद्ले न्यायाधीश थपलियामाथि विस्तृत छानबिन गर्न न्यायाधीश आनन्दमोहन भट्टराईको नेतृत्वमा समिति गठन गरेको थियो । जिल्ला अदालत काठमाडौंमा कार्यरत अर्का न्यायाधीश निरौला अपहरण, शरीर बन्धक तथा फिरौती लिएको कसुरमा पक्राउ परेका ‘सोले’ भन्ने दुर्गाबहादुर बुढाथोकीलाई भारतीय नागरिक भन्दै सफाइ दिएपछि विवादित बनेका थिए । भारतीय आधार कार्ड लिएकै आधारमा निरौलाले भारतीय नागरिक भन्दै सफाइ दिएपछि उनीमाथि गम्भीर न्यायिक विचलनको आरोप लागेको थियो । व्यवसायी इच्छाराज तामाङको मुद्दा मिलाउन घुस डिल गरेका न्यायाधीश राजकुमार कोइरालालाई भने सचेत गराएर महोत्तरी सरुवा गरिएको छ ।
प्रि-बजेट प्रस्ताव सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरिने, फागुन २१ देखि छलफल
काठमाडौं आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको प्रि-बजेट छलफलका लागि सोमबार प्रतिनिधिसभामा प्रस्ताव पेस गरिने भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी १५ दिनका लागि संसद्को क्यालेन्डरलाई अन्तिम रूप दिँदै प्रि-बजेट छलफलको कार्यतालिका पारित गरेको हो । अर्थमन्त्री प्रकाशशरण महतले प्रिबजेटमाथि छलफलको प्रस्ताव सोमबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्नेछन् । प्रतिनिधिसभाको आगामी १५ दिनको क्यालेन्डरअनुसार सोमबार प्रस्तुत हुने प्रि-बजेट छलफल प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन् । प्रि-बजेट छलफलका लागि फागुन २१, २२, २३ र ३० गते समय निर्धारण गरिएको छ । यसबीचमा केही विधेयकहरूलाई विधायिकी प्रक्रियामा अगाडि बढाउने कार्यसूची पनि तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
मिटरब्याजपीडितलाई वार्तामा आउन सरकारको आह्वान, वार्ता संयोजक सहसचिव पण्डित
काठमाडौं । सरकारले मिटरब्याजपीडितलाई वार्ताका निम्ति पत्र पठाएको छ । आइतबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति, नेपाललाई पत्र पठाउँदै बढीमा पाँचजनाको टोलीलाई गृह मन्त्रालयमा वार्ताका लागि बोलाइएको हो । मिटरब्याज समस्या समाधानका निम्ति मन्त्रालयबाट सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएको भन्दै छलफलमा बोलाइएको छ । यसअघि पनि मिटरब्याजपीडितले पटक–पटक यस्ता आन्दोलन गरेका र वार्तापछि सहमतिअनुसार आयोग गठन गरेर काम गरिएको मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ । मिटरब्याजपीडितका तर्फबाट को–को वार्तामा जाने भन्ने नाम तय नभएको बताइएको छ । आजै बेलुका ५ बजेसम्म नाम टुंगो लगाइने मिटरब्याजपीडितको भनाइ छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालको नेतृत्व अवधेश कुशवाहले गरेका छन् । निर्ग नवीनलाई समितिको प्रवक्ता तोकिएको छ ।
प्रतिनिधि सभा बैठक : सांसदले उठाए यस्ता विषय
काठमाडौं। प्रतिनिधि सभा बैठकमा विशेष समयमा सांसदहरूले विविध विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबारको बैठकमा सांसद रामहरि खतिवडाले राजनीतिक नियुक्ति र भागबण्डाका कारण सरकारी संस्थान तथा निकायहरू समस्याग्रस्त बन्दै गएको बताए । नेपाल वायुसेवा निगममा सरकारले करिब रु ३१ अर्ब बराबर लगानी गरेको र हाल रु ४८ अर्ब घाटामा रहेको उल्लेख गर्दै निगमको आर्थिक अवस्था सुधारका लागि पहल गरिनुपर्ने माग गए । निगमका कर्मचारी व्यवस्थापनमा पनि समस्या रहेको उनको भनाइ थियो । नयाँ जहाज किन्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी गरिरहेको तर बिग्रिएर थन्किएका जहाज मर्मतसम्भारमा भने उदासीनता देखाएको सांसद खतिवडाले बताए। सांसद भीमप्रसाद आचार्यले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको विषय संसदमा उठाए । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रलाई जिम्मा लगाउने तयारी भइरहेकोमा संसद्को ध्यानाकर्षण गराए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन नहुने उनको भनाइ थियो । नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनका लागि विमानस्थल सञ्चालनसँग सम्बन्धित हवाई मार्ग, ‘ग्राउन्ड ह्यान्डलिङ’ र थप अन्य देशसँग हवाई सम्झौतालगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उनले बताए । सांसद माधव सापकोटाले नेपालको संविधानले व्यवस्था गरेको सार्वभौमसत्ता सम्पन्न संसद् र संसदीय व्यवस्थाको विकल्प खोज्न नसकिने बताए। नेपालले अवलम्बन गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाभन्दा बाहिर गएर गरिने क्रियाकलाप संविधान विपरीत हुने सांसद सापकोटाको भनाइ छ । जलवायु परिवर्तनसँग सम्बन्धित मुद्दालाई गम्भीर रूपमा लिइनुपर्नेमा उनले जोड दिए। जलवायु परिवर्तनका कारण सिर्जित समस्याले नेपालको हिमाली क्षेत्रमा ठुलो असर देखिएको उल्लेख गर्दै उनले यस्ता जोखिम न्यूनीकरणका लागि पहल गरिनुपर्ने बताए । सांसद मनिष झाले मिटरब्याजपीडितका समस्या समाधानका लागि सरकार गम्भीर हुन नसकेको आरोप लगाए। तराईका जिल्लामा इन्धनका रूपमा गुइँठाको प्रयोग गर्दा त्यहाँका महिलाको औसत आयु घटेको विषयमा संसद्को ध्यानाकर्षण गरे । तराईका जिल्लामा इन्धनको स्रोतका रूपमा करिब १० प्रतिशत गुइँठाको प्रयोग हुने गरेको देखिएको उनको भनाइ छ । नेपालको शिक्षा प्रणालीमा सुधारको आवश्यकता रहेको विषय पनि सांसद झाले संसद्मा उठान गरे । सांसद ज्ञानबहादुर शाहीले गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा इपिएस कोरियाका विद्यार्थीले गरेको आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको विषयमा सरकार गम्भीर हुन नसकेको आरोप लगाए । संसद्मा फरक धारणा र फरक विचार राख्न पाउने अधिकार संविधानले नै व्यवस्था गरिएको उल्लेख गर्दै सांसद शाहीले आफूले संसद्मा बोलेकै आधारमा सत्तापक्षका दलबाट राजीनामा मागिनु जायज नरहेको बताए । सांसद प्रदीप यादवले पुँजीबजारमा देखिएका समस्याका विषय संसदमा उठान गरे । घाटामा रहेका कम्पनीहरूले पनि प्राथमिक शेयर निष्कासन गरिरहेको विषयमा अनुसन्धान गरिनुपर्ने उनको माग थियो । रेटिङ एजेन्सीका कामलाई पनि नियमन गर्नुपर्ने उनको भनाइ छ । प्राथमिक शेयर निष्कासन गर्नुअघि कम्पनीहरूले गलत वित्तीय विवरण देखाएर रेटिङ एजेन्सीमार्फत क्रेडिट रेटिङ गरिरहेको सांसद यादवले उल्लेख गरे । सांसद धनबहादुर बुढाले आगामी २०८१ साल भदौमा डोल्पामा लाग्ने बौद्ध धर्मावलम्बीको ‘से मेला’लाई व्यवस्थित बनाउन सम्बन्धित सबै पक्षले भूमिका निभाउनुपर्ने बताए । उनले डोल्पाका त्रिपुरासुन्दरी मन्दिर, मस्टो मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धनमा जोड दिए । सांसद अब्दुल खांनले नेपालको शिक्षा, स्वास्थ्य, रोजगारलगायतका क्षेत्र अस्तव्यस्त भएको बताए । उत्पादन बढ्न नसकेको तर आयात भने निरन्तर बढिरहँदा त्यसले अर्थतन्त्रमै समस्या पारिरहेको दाबी गरे । उपभोग्य मिति गुज्रेका अखाद्य वस्तु आयात भइरहेको विषयमा पनि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए। उच्च पदस्थ राजनीतिक व्यक्ति र कर्मचारीहरूको विलासी जीवनशैलीबारे सांसद रामप्रकाश चौधरीले प्रश्न उठाए । मिटरब्याजपीडितका समस्या समाधानका लागि सरकारबाट भएका प्रयास अपर्याप्त रहेको पनि उनले बताए । काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढेको विषय सांसद प्रेम सुवालले संसदमा उठाए । अन्नको भण्डार मानिने तराई क्षेत्रमै अहिले खाद्यान्नको अभाव रहेको पनि उनले संसदमा बोले । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति पारदर्शी रूपमा हुन नसकेको उनको आरोप थियो । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको र किसानका समस्या पनि सुन्न नचाहेको धारणा सांसद डा अमरेशकुमार सिंहले उठान गरे । किसानले दूध र उखुको मूल्य नपाएकोलगायतका समस्या पटक–पटक दोहोरिनु सरकारको अकर्मण्यताको नतिजा रहेको उनले आरोप लगाए । सांसद सञ्जयकुमार गौतमले जनताले सरकारको अनुभूति गर्न नसकेको भन्दै सरकारका काममा सुशासन र जबाफदेहिता नहुँदा नागरिकस्तरमा चरम निराशा रहेको उल्लेख गरे । देश ‘सिण्डिकेट’बाट चलेको छ र त्यो नभत्किएसम्म अहिलेको समस्या समाधान हुँदैन भन्ने अनुभूति नागरिकले गरिरहेको सांसद गौतमले जिकिर गरे। आफू सत्तापक्ष दलको सांसद भएपनि सरकारका काम आफूलाई चित्त नबुझेको धारणा पनि उनले राखे । मुलुकको व्यवस्था फेरिएपनि अवस्था भने फेरिन नसकेको धारणा सांसद ज्वालाकुमारी साहले राखे । संसदमा उठेका प्रश्नलाई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने प्रतिपक्ष दलको अडानलाई गम्भीर रूपमा लिन पनि उनले आग्रह गरे । संसदीय मर्यादा पालना गर्नु सबै दल र सांसदहरूको जिम्मेवारी भएकाले संसदमा बोल्दा जिम्मेवार भएर आफ्ना अभिव्यक्ति राख्नुपर्ने धारणा सांसद महेन्द्रबहादुर शाहीले राखे । संसद्मा आरोप प्रत्यारोप मात्रै हुने तर जनताका गुनासा सम्बोधन नहुने अवस्था आउन दिन नहुने उनको भनाइ थियो । मुलुकको आर्थिक अवस्था कमजोर हुँदा सरकार पनि कमजोर देखिने सांसद शाहीले बताए । सांसद अम्मरबहादुर थापाले दैलेखमा बाँदर र बँदेलको आतङ्क बढेको बताउँदै यो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरे। त्यसैगरी, मिटरब्याजपीडितका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने पनि उनले बताए । सांसद विनीता कठायतले कर्णालीका बालबालिका गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुविधाबाट वञ्चित भइरहेकोबारे सरकारको ध्यानाकर्षण गरे । कोहलपुर–सुर्खेत–जुम्ला विद्युतीय प्रसारणलाइन अझै निर्माण हुन नसक्दा कर्णालीका बासिन्दा अझै अँध्यारोमा बस्नुपरेको सांसद कठायतले बताए। जाजरकोट भूकम्पका पीडितलाई सरकारले उपलब्ध गराउने भनिएको राहत र पुनः स्थापनाको प्रगतिबारे सांसद रमा कोइराला पौड्यालले प्रश्न उठाए । भूकम्प प्रभावितहरू अहिले पनि पालभित्रै बस्नुपरेको अवस्थालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने र आवास पुनर्निर्माणमा गति दिनुपर्ने उनको भनाइ छ । भक्तपुरमा खानेपानीको अभाव रहेको विषय संसदमा उठाउदै उनले समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गरे । सांसद लीलानाथ श्रेष्ठले बालकुमारी घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गरे । सुनकोशी–कमला डाइभर्सन आयोजनामा भइरहेको ढिलासुस्तीको विषय पनि उनले संसदमा उठाए । रासस
नेपाली चिकित्सकले गरे दोस्रो सफल कलेजो प्रत्यारोपण
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरूले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् । अस्पतालका डा.रमेशसिंह भण्डारी नेतृत्वसहितको टोलीले अस्पतालमा दोस्रो पटक सफल कलेजो प्रत्यारोपण गरेको हो । डा.भण्डारीका अनुसार अस्पतालमा चितवनका ३३ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको हो । पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दान दिनुभएको डा.भण्डारीले जानकारी दिए । बिरामीलाई १६ दिनपछि आइतबार अस्पतालबाट डिस्चार्ज गरेको डा.भण्डारीले जानकारी दिए । डा.भण्डारीका अनुसार उनको गत माघ २६ गते कलेजो प्रत्यारोपण भएको थियो । हालसम्म अस्पतालमा १२ वटा सफल कलेजो प्रत्यारोपण भइसकेका छन् । यो नेपाली चिकित्सकको टोलीले गरेको यो दोस्रो सफल कलेजो प्रत्यारोपण हो । यसअघि २७ पुसमा नेपाली चिकित्सकहरूकै संलग्नतामा पहिलो पटक सफल कलेजो प्रत्यारोपण भएको थियो । त्यो भन्दा पहिले नेपालमा हुने कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकहरूको सहायता लिँदै आइएको थियो । अस्पतालले २०७६ जेठ १७ गते पहिलो कलेजो प्रत्यारोपण गरेको थियो । त्यस्तै अस्पतालमा २०७७ फागुन २९ गते ११ महिनाको बालकमा समेत कलेजो प्रत्यारोपण भइसकेको छ ।
जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री भएको बताएका छन् । नेपाल जाइका अलमनाई एसोसिएसन (जान) को ५०औँ वार्षिक समारोहको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक क्षेत्रको जनशक्ति विकास, जलविद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासलगायत क्षेत्रमा जापानले पुर्याएको योगदानको नेपालले सदैव उच्च मूल्याङ्कन गरेको बताए । “मुलुकमा भएको राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रमासमेत प्रगति भइरहेको छ । यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा पनि महत्त्वपूर्ण रहने छन्”, उनले भने । राष्ट्रपति पौडेलले नेपाल र जापानबिच परम्परागत रूपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक संवृद्धशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक तथा समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताए । विगत छ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पुर्याउन, जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकासमा लगाउन एसोसिएसनले गरेको योगदान सराहनीय रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे । उनले जानले ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्न सामुदायिक विकासका क्षेत्रमा काम गरिरहेको भन्दै यस्ता कामलाई थप विस्तार गर्दै लैजानुपर्ने सुझाव दिए । राष्ट्रपति पौडेलले जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्न सामुदायिक विकासका लागि गरिएका कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले नेपाल जापानबिचको मित्रतालाई अझै घनिभूत बनाउन जानको भूमिका महत्त्वपूर्ण रहेको भन्दै जापान नेपालको भरपर्दो विकासको सहयात्री पनि भएको बताए । कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्याल, नेपालका लागि जापानका राजदूत युताका किकुता, जाइका नेपालका प्रमुख अकिमित्सु ओकुबो, जापान नेपाल समाजका अध्यक्ष मित्सुआकी, जानका अध्यक्ष डा। रामचन्द्र भुसाललगायतले नेपाल जापान सम्बन्धका बारेमा चर्चा गरेका थिए । रासस
आगामी वैशाख १५ मा दुई क्षेत्रमा उपनिर्वाचन
काठमाडौं । निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आगामी वैशाख १५ गते उपचुनाव गराउने भएको छ । आयोगको आइतबार बसेको बैठकले इलाम–३ मा वैशाख १५ मा निर्वाचन गराउने निर्णय गरेको हो । आयोगले सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा पनि त्यही दिन उपचुनाव गराउने निर्णय गरेको छ । इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचिन भएका थिए भने बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचिन भएका थिए । सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो । यस्तै,नेम्वाङको भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो । “निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधिसभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिबार गर्नेगरी निर्वाचनको मिति तोकेको छ,” निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ । नेपालको संविधानको धारा ४९७० तथा धारा १७६० बमोजिम प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको हो, सोही प्रक्रियाद्वारा उपनिर्वाचनमार्फत पूर्ति गर्नुपर्ने व्यवस्था छ । आयोगले प्रदेशसभा सदस्य तथा तत्कालीन मन्त्री सिंहको निधन असार ५ मै भए पनि असार २५ गतेदेखि मात्र प्रदेशसभा सदस्य पद खाली भएको उल्लेख गरेको छ ।
राप्रपालाई सापकोटाको प्रश्न– यही व्यवस्थाको लोगो लगाएर सारा सेवा भोग गर्ने, विरोध पनि गर्ने नैतिकता कहाँबाट आयो ?
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान संविधान र राज्यव्यवस्थाको विकल्प राजा र राजतन्त्र हुन नसक्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई संकेत गर्दै उनले ‘अवसर पाए लुट्ने अनि संविधानको विरोध गर्ने नैतिकता कहाँबाट आयो ?’ भन्दै प्रश्न गरे । “यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने । लोगो लगाएर सारा सेवा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने । प्रदेशतिर गएर सभामुख पनि लिने, तर फेरि यो संविधानलाई विरोध गर्ने ?,” उनले भने, “यो संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैन ।” संघीय संसद्मा उपस्थित भएर व्यवस्थाबारेमा चाहिनेभन्दा बढी ‘अनर्गल’ प्रचारबाजी गरिएको भन्दै उनले आपत्ति जनाए । उनले वर्तमान संविधान र व्यवस्थाको बहस गर्ने भए यसलाई कसरी उन्नत बनाउने भन्ने पक्षबाट गरिनुपर्ने धारणा राखे । सांसद सापकोटाले पाएको बेलामा मन्त्री बन्ने, संविधानकै माध्यमबाट बनेको प्रदेशमा सभामुख बन्ने तर अहिले पुनः संविधानकै विरोध गर्ने गरेको भन्दै आपत्ति जनाए । उनले संविधानले दिएको सेवा सुविधा लिएर संविधानको विरोध गर्न नमिल्ने बताए। संविधान र अहिलेको व्यवस्थाको विकल्प राजा र राजावादी दलहरू हुन नसक्ने उनको भनाइ छ । ‘‘हामी सार्वभौम सत्ता सम्पन्न जनता भनेर लेखिएको छ । त्यसको तेस्रो प्यारामा सामन्ती निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरिएका सबै प्रकारका विभेद र उत्पीडन गर्दै भन्ने लेखिएको छ । त्यसपछि हाम्रो संविधानको धारा २ लाई एक पटक हेर्ने हो भने सार्वभौम सत्ता र राजकीय सत्ता भनिएको छ ।,’’ सांसद सापकोटाले भने, ‘‘नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानको व्यवस्थामा भए बमोजिम हुनेछ भन्ने छ । र यो संविधानमा व्यवस्था गरिएकै अनुसार हामी नेपालको सार्वभौम सम्पन्न अधिकार भएको संसदमा उपस्थित छु । तर बेलाबखत यो व्यवस्थाका बारेमा चाहिने भन्दा ज्यादा अनर्गल प्रचारबाजी गर्ने गरिएको छ ।’’ त्यस्तै, जलवायु परिवर्तन नेपालका लागि मात्रै नभएर विश्वका लागि नै चुनौती बनिरहेको उनको भनाइ छ । सापकोटाले जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी राजनीतिक मुद्दा बनेको बताए ।
समाजवादी मोर्चाको बैठक दिउँसो बस्दै , यस्ता छन् छलफलका एजेण्डा
काठमाडौँ । चारदलीय समाजवादी मोर्चाले आगामी कार्यक्रम र योजनालाई अन्तिम रूप दिन सचिवालयको बैठक बोलाएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको शीर्ष नेताको बैठकमा काठमाडौँका सहित सातै प्रदेशमा बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । साथै,मोर्चामा नेकपा (मसाल)लाई ल्याउने सहमति गरेको थियो । सचिवालयको बैठक आइतबार दिउँसो ४ बजे नेकपाको कार्यालय बुद्धनगरमा बस्ने विप्लवका सहयोगी अडिग बोगटीले जानकारी दिए । बोगटीका अनुसार कार्यक्रमको कार्यसूची, मिति घोषणा, भित्ते लेखन, ब्यानर प्रचार, मुखपत्र लेखन लगायत विषय टुंगो लाग्नेछ । मोर्चामा सहभागी हुन एमालेसहित वामपन्थी दलहरूलाई आग्रह हुने उनले बताए । यद्यपि माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो सरेकाले बैठक बस्ने नबस्नेबारे अनिश्चित देखिएको छ ।
गाँजा बोक्ने एम्बुलेन्स नियन्त्रणमा
काठमाडौं । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । आइतबार बिहान सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । चतराबाट सूर्यकुण्ड जाने भित्री सडक खण्डमा शङ्कास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० के.जी. गाँजा सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए । बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको जनाएको छ ।
प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)
काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक जारी छ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सहकारीका नाममा लुट्नेलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
राजविराज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीका नाममा जनता लुट्नेलाई कारबाही गरिने बताएका छन् । सप्तरीको खड्ग नगरपालिकामा शनिबार प्रस्तावित खड्ग बहुमुखी क्याम्पसको भवन उद्घाटन र भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सहकारीबाट बचतकर्ताहरू पीडित भएको बताउँदै गृहमन्त्री श्रेष्ठले सबै सहकारी भत्कियो वा बिग्रियो भन्ने भाष्य रहेको उनले बताए ।सबै सहकारी उस्तै नभएको उनको भनाई थियो । ‘तीनथरी सहकारीहरू छन्, एउटा अहिले पनि राम्ररी चलिरहेका छन् । दोस्रो, सहकारी अहिले अर्थतन्त्रमा देखापरेको समस्याका कारण सबै बचतकर्ताको एकै चोटि बचत फिर्ता लिन जाँदा समस्या पैदा भएको छ । त्यो मुलभूत रुपमा बिग्रेको होइन तिनलाई बनाउन सकिन्छ, त्यो सहकारी चलाउन सकिन्छ’ गृहमन्त्री श्रेष्ठले भने, ‘तेस्रो, सहकारीको नाममा जनतालाई लुट्न, ठग्न सहकारी संचालन गर्ने संचालकहरूले जनतालाई लुटेका छन्, ठगेका छन्, तिनीहरूलाई कारबाही गरिन्छ । तिनका सम्पत्ति बिक्री गरेर बचतकर्तालाई फिर्ता गरिन्छ । सहकारीलाई तीनथरी समूहमा छुट्याएर काम अगाडि बढाउने छौं ।’ अहिले सहकारीको नियमनको लागि एउटा नियामक निकायको गठन गर्ने निर्णय भएको पनि गृहमन्त्रीले जानकारी दिए । त्यो समितिले समस्याग्रस्त सहकारी निक्र्यौल गर्ने र समस्याग्रस्त सहकारीको अचल सम्पति बिक्री गरेर त्यसको समानुपातिक ढंगले बचतकर्तालाई वितरण गर्ने निर्णय भएको उनले जानकारी दिए । सहकारी विभागले उजुरीहरूको प्रारम्भिक छानबिन गरी छिटोभन्दा छिटो सीआईबी वा प्रहरी कार्यालयमा पठाउने र त्यँहा छिटो अनुसन्धान गर्ने प्रक्रिया अघि बढाइएको श्रेष्ठले जानकारी दिए । त्यस्तै, मिटरब्याजी समस्या सामन्तवादको निकृष्ट शोषणको रुप भएको उनले बताए । मिटरब्याज पीडितका लागि गर्नसक्ने सबै काम सरकारले गरिरहेको भन्दै श्रेष्ठले यस विषयमा कसैले भ्रमात्मक प्रचार गर्न नहुने पनि बताए । गृहमन्त्री श्रेष्ठले भने, ‘मिटरब्याज पीडतको लागि गर्नसक्ने सबै काम सरकारले गरिरहेको छ । कुनै भ्रम कसैले पाल्नुपर्दैन, कसैले भ्रमात्मक प्रचार पनि गर्नुहुँदैन ।’ मिटरब्याज पीडितहरूलाई न्याय दिने प्रक्रिया जारी रहेको पनि गृहमन्त्री श्रेष्ठको भनाइ थियो । ‘मिटरब्याज पीडितलाई न्याय दिन आयोग गठन गर्यौं, कानुन ल्यायौं, प्रमुख जिल्ला अधिकारीको कार्यालयमा सहजीकरण समिति बनायौं । आयोगलाई २६ हजार उजुरी प्राप्त भएकोमा साढे पाँच हजार पीडितहरूलाई स्वेच्छिक मेलमिलापको तरिकाबाट न्याय दिइसकिएको छ,’ उनले भने ुपाँचहजार वा ५० हजार ऋण दिने र ५० लाखको तमसुक गराइदिने, अनि घरजग्गा सबै रजिष्ट्रेसन पास गराई लिने जस्ता अन्यायपूर्ण परिघटनाहरू देखापरेका थिए । घरबार बिहीन सबैलाई अहिले न्याय दिने प्रक्रिया चलाएका छौं ।’ आयोग विघटन भइसकेपछि सबै प्राप्त भएका उजुरीको फैसला हुन बाँकी रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले ७७ वटै जिल्ला प्रहरीमा मन्त्रिपरिषबाट निर्णय गरी पठाइसकिएको जानकारी दिए । ‘सकेसम्म मिलेर आउन भन्छ, सकेसम्म मेलमिलापद्वारा नै पीडितलाई न्याय दिने गरी समस्या समाधान गर्छ । यदि पीडितले न्याय पाएनन् भने आवश्यक परे थप अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालयले अदालतमा अभियोजनको प्रक्रिया अघि बढाउँछ । तर पीडितलाई हामी न्याय दिलाइ छाड्छौं,’ उनले भने । ऋणदताले साच्चै ऋण दिएको छ भने त्यो ऋण फिर्ता गर्नुपर्दैन भन्ने सरकारको दृष्टीकोण नरहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । उनले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने सरकारको दृष्टिकोण छैन, ऋण पनि तिर्नुपर्छ तर न्यायोचित ढंगले १० प्रतिशतको दरले ब्याज बुझाउने गरी तिरेको छैन भने तिराउने काम पनि सरकारको हो ।’
नेपाल विश्वकै उच्चकोटीको देश : प्रधानमन्त्री
सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताएका छन्। बागमती नगरपालिकाले आज सर्लाहीको कर्मैयामा आयोजना गरेको ‘सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम’ लाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको विविधतालाई एकताबद्ध बनाउनुपर्ने बताए । “विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हो,” प्रधानमन्त्री प्रचण्डले भने, “सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कामयम गर्न सकिन्छ ।” उहाँले नेपालका सबै क्षेत्र, जातजाति र भाषाभाषी एकताबद्ध हुँदा नै देशको राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले विविधतामा एकता हामी नेपालीको विशेषता भएको बताउँदै सबैलाई एकतामा उन्ने र राष्ट्रियता प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका अवसरमा नयाँ सन्देश दिने उद्देश्यका सबै अभिभावक एवं विद्यार्थीले सिर्जनात्मक प्रस्तुति प्रदर्शन गरेको भन्दै उनले शुभकामना व्यक्त गरे । कार्यक्रमका अवसरमा सार्वजनिक शिक्षाको सुधारसम्बन्धी पुस्तक लोकार्पण गरे । ‘शिक्षा, स्वास्थ्य र रोजगार, त्यसैका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजक नगरपालिकाले जनाएको छ । कार्यक्रममा सात वटै प्रदेशको सांस्कृतिक एवं भौगोलिक विविधता र पहिचान झल्किने गीत, नृत्य र संगीतको प्रस्तुति गरिएको थियो । विभिन्न वडाहरूबाट ‘हामी सुधार्छौँ हाम्रो विद्यालय, ‘‘सामुदायिक विद्यालय सुधार्ने हाम्रो जिम्मेवारी भन्ने नारासहित आ–आफ्नो भेषभुषामा अभिभावकहरूको झाँकी प्रस्तुत गरिएको थियो । यो कार्यक्रम सामुदायिक विद्यालयको सवलीकरण तथा रूपान्तरणका लागि देशकै नमुना कार्यक्रम हुने र सामुदायिक विद्यालय सुधारका लागि सामाजिक आन्दोलन हुने आयोजकको विश्वास गरिएको छ ।

