कसरी बन्दैछ जिल्ला समन्वय समिति, कुन जिल्लामा कसको कति मत ?
काठमाडौं, असार २४ । दोस्रो चरणको स्थानीय तह निर्वाचन परिणामसँगै दलहरूले जिल्ला समन्वय समिति (जिसस) गठनको गृहकार्य सुरु गरेका छन् ।
शुक्रबार मात्रै दाङमा एमाले र माओवादी केन्द्रले समन्वय समिति गठनका लागि तालमेलको घोषणा गरेका छन् । दलहरूले एकल वर्चश्व कायम गरेकाबाहेक अन्य जिल्लामा आफूअनुकूल तालमेलको गृहकार्य थालेका हुन् ।
नेपालको संविधानको धारा २२० मा नगरसभा र गाउँसभा गठन भएको ३० दिनभित्र सम्बन्धित जिल्लामा जिसस गठन गरिसक्नुपर्ने प्रावधान छ । गाउँ, नगरका प्रमुख तथा उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्थासहित त्यस्तो समिति गठन गर्ने व्यवस्था संविधानमा छ । ‘हामीले जिल्ला समन्वय समिति गठनको गृहकार्य थालिसकेका छौं, त्यसका लागि एमालेसँग चुनावी तालमेल गर्ने गरी पदको बाँडफाँट पनि गरिसकेका छौं’, माओवादी दाङका इन्चार्ज जीवन गौतमले भने, ‘एमालेलाई सभापतिसहित चार सदस्य, माओवादीलाई उपसभापतिसहित तीन सदस्य लिने गरी जिल्ला समन्वय समितिको निर्वाचनमा तालमेल गरेका छौं ।’
एक सभापति, एक उपसभापति, कम्तीमा तीन महिला सदस्य र कम्तीमा एक दलित वा अल्पसंख्यक रहने गरी बढीमा ६ देखि ९ सदस्यसम्मको समन्वय समिति रहने व्यवस्था छ । जिल्लाभित्रका गाउँपालिका, नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माणका कामको अनुगमन तथा संघ र प्रदेशअन्र्तगतका सरकारी कार्यालयको अनुगमन गर्नेजस्ता काम समितिले गर्न पाउँछ । त्यस्तो समितिका लागि गाउँ, नगर, उपमहानगर र महानगरका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । उम्मेदवार बन्नका लागि भने गाउँ वा नगरसभाको सदस्य निर्वाचित भएकै हुनुपर्ने व्यवस्था संविधानमा छ ।,अन्नपूर्ण पोस्टमा खबर छ ।
२० जिल्लामा एकल वर्चश्व
दोस्रो चरणमा निर्वाचन भएका ३५ जिल्लामध्ये २० वटामा जिल्ला समन्वय समिति गठन गर्दा एकै पार्टीको वर्चश्व हुने देखिएको छ । एमालेको १३, कांग्रेस पाँच र माओवादीको दुई जिल्लामा एकल वर्चश्वमा जिसस गठन हुने निर्वाचन परिणामले देखाएको छ । एमालेले रूपन्देही, पाल्पा, गुल्मी, कञ्चनपुर, डोटी, बझाङ, इलाम, उदयपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभामा एक्लै जिसस गठन गर्न सक्ने गरी गाउँ/नगरका प्रमुख तथा उपप्रमुख पदमा विजय हासिल गरेको छ । कांग्रेसले अछाम, डडेलधुरा, दार्चुला, बाजुरा र ओखलढुंगामा एकल जिसस गठन गर्नेे देखिएको छ । रोल्पा र रूकुममा माओवादीको एकल वर्चश्व देखिएको छ ।
पहिलो चरणको निर्वाचनमा एमालेले दैलेख, मुगु, डोल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, रसुवा, धादिङ, चितवन, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र काठमाडौंमा एक्लै जिसस गठन गर्न सक्ने गरी बहुमत ल्याएको थियो । कांग्रेसले सुर्खेत, गोरखा, तनहुँ, पूर्वी नवलपरासी, नुवाकोट तथा माओवादीले रुकुम र कालिकोटमा बहुमत हासिल गरेका थिए ।
कुन जिल्लामा कसको कति मत ?
रोल्पा माओवादी १४, कांग्रेस २ र एमाले ४
रूपन्देही एमाले १७, संघीय समाजवादी ८, कांग्रेस ४, माओवादी २, लोकतान्त्रिक फोरम १, स्वतन्त्र (राजपा) १
रूकुम माओवादी ६, अन्य दल शून्य
बाँके एमाले ७, कांग्रेस ६, संघीय समाजवादी २, राप्रपा १
बर्दिया एमाले ७, माओवादी ७, कांग्रेस ४
प्युठान एमाले ६, माओवादी ४, कांग्रेस ४, जनमोर्चा ४
पाल्पा एमाले १३, कांग्रेस ७
नवलपरासी कांग्रेस ७, एमाले ५, माओवादी १, लोकतान्त्रिक फोरम १
दाङ एमाले १०, कांग्रेस ८, माओवादी २
गुल्मी एमाले १७, कांग्रेस ६, माओवादी १
कपिलवस्तु कांग्रेस १०, एमाले ५, माओवादी १, संघीय समाजवादी २, स्वतन्त्र (राजपा) २
अर्घाखाँची कांग्रेस ६, एमाले ३, माओवादी ३
बैतडी कांग्रेस १०, एमाले ८, माओवादी २
सुनसरी कांग्रेस ११, एमाले ५, लोकतान्त्रिक फोरम ४, संघीय समाजवादी २ (धरान उपमहानगरपालिका परिणाम बाँकी)
सोलुखुम्बु एमाले ८, कांग्रेस ४, माओवादी ४
अछाम कांग्रेस १२, एमाले ४, माओवादी ४
कञ्चनपुर एमाले १०, माओवादी ३, कांग्रेस ३
कैलाली एमाले १३, माओवादी ५, कांग्रेस ४, लोकतान्त्रिक फोरम २ (धनगढी उपमहानगरपालिका परिणाम बाँकी)
डडेलधुरा कांग्रेस ९, एमाले ३, माओवादी २
डोटी एमाले ११, कांग्रेस ६, माओवादी १
दार्चुला कांग्रेस ११, एमाले ५, माओवादी २
बझाङ एमाले १७, कांग्रेस ७
बाजुरा कांग्रेस ११, एमाले ७
इलाम एमाले १६, कांग्रेस ४
उदयपुर एमाले १०, कांग्रेस ५, माआवादी १
ओखलढुंगा कांग्रेस ९, एमाले ६, माओवादी १
खोटाङ एमाले १२, कांग्रेस ७, माओवादी १
झापा एमाले १४, कांग्रेस ६, राप्रपा ४
(अर्जुनधारा, दमक र मेची नगरनगरपालिकाको परिणाम बाँकी)
ताप्लेजुङ एमाले १०, कांग्रेस ६, माओवादी २
तेह्रथुम एमाले ९, कांग्रेस ३
धनकुटा एमाले १४, अन्य दल शून्य
पाँचथर एमाले ८, कांग्रेस ७, माओवादी १
भोजपुर एमाले ९, कांग्रेस ५, माओवादी ४
मोरङ कांग्रेस ८, एमाले ८, माओवादी २, लोकतान्त्रिक फोरम २, संघीय समाजवादी २ (धनपाल गाउँपालिका र विराटनगर महानगरपालिकाको नतिजा बाँकी)
संखुवासभा एमाले १३ कांग्रेस ९
आयोगले थाल्यो प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी
काठमाडौं, असार २३ । निर्वाचन आयोगले अगामी असोज ३० गते प्रदेशसभाको र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी सुरू गरेको जनाएको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले कानुन निमार्णकै क्रममा निर्वाचनको मिति तोक्ने र सार्ने अधिकार निर्वाचन आयोगलाई दिन आग्रह गरेको भएपनि सरकारले सुनुवाइ नगरेको बताए । प्रमुख आयुक्त यादवले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्रमा भएका त्रुटिहरुलाई तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा दोहोरिन नदिन मतदाता नामवली अद्यावधिक गरिने बताए । आगामी चुनावलाई अझबढी प्रविधिमैत्री बनाउन थप अध्ययनका लागि प्राविधिक टोली भारत पठाइसकिएको पनि उनले जानकारी दिए । पत्रकार सम्मेलनमा निर्वाचनलाई अझ बढी व्यवस्थित र प्रविधिमैत्री बनाउन यस क्षेका विज्ञहरुले सुझाव दिएका थिए ।
बालुवाटारमा तीनदलको बैठक सुरु
काठमाडौं, असार २३ । प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हानमा तीन दलको बैठक बालुवाटारमा सुरु भएको छ। सत्ता साझेदार दुई दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत दल राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरु भएको हो । बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा संयोजक महन्त ठाकुर लगायत तीन दलका शीर्ष नेता सहभागी छन । संविधान संशोधनको माग गर्दै निर्वाचन बहिष्कार गरेको राजपालाई सहमतिमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ताका लागि बालुवाटार बोलाएका हुन । पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन बहिष्कार गरेको राजपाले आफ्ना मागको सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ। पछिल्ला केही दिन यता प्रधानमन्त्री देउवाले राजपाका शीर्ष नेतासंग एक्लै वार्ता गरेपनि आज तीन दलका शीर्ष नेताहरुबीच छलफल शुरु भएको हो ।
दल दर्ताका लागि राजपाको आयोगमा निवेदन
काठमाडौं, असार २३ । दुई चरणको स्थानीय निर्वाचन बष्हिकार गरेको राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएको छ । राजधानीको कान्तिपथस्थित आयोगमा पुगेर राजपाका नेताहरुले दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । पार्टी एकता गरेका ६ दलका अध्यक्षले राजपा नेपाललाई आयोगमा अभिलेखिकरण गराउन निवेदन दिने लगायतका सम्पूर्ण काम गर्ने अधिकार महन्थ ठाकुरलाई दिएका छन् । राजपाले केही दिन अघि नै दल दर्ताको तयारी गरेको थियो । तर, पार्टी विधानको प्रस्तावनामा नै गजेन्द्र नारायण सिंहको नाम राख्नु पर्ने अडान लिएर नेता अनिल झाले हस्ताक्षर नगरेपछि रोकिएको थियो ।
सप्तरीमा प्रधानमन्त्री र गृहमन्त्रीकाे घोषणा : २५ हजार राहत, १५ लाख ऋण दिने
सप्तरी, असार २३ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा बाढी पीडितको अबस्था बुझ्न सप्तरी पुगेका थिए । त्यहाँ एक हप्ताअघि स्थानीय महुली खोलाको बाढीबाट अति प्रभावित सप्तरीको भेडिया र मयनाकरेडीका बाढीपीडितको अवस्था बुझ्न प्रधानमन्त्री तथा उनका टिम पुगेको छ । त्यहाँ बाढीपीडितको अवस्था बुझ्नुका साथै सेना, सशस्त्र र नेपाल प्रहरीले पुनः निर्माण गरिरहेको भत्केको तटबन्धस्थलको समेत निरिक्षण गर्न गएका थिए । निरीक्षणपछि प्रधानमन्त्री र गृहमन्त्रीले बाढी पीडितलाई प्रतिपरिवार २ बण्डल जस्तापाता खरिद गर्न १५ हजार र टहरा निर्माणको लागि १० गरि जम्मा २५ रुपैयाँ दिइने घोषणा गरेका छन् । बाढीपीडितलाई व्यापार व्यवसाय गर्न सहुलियत व्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने पनि बताएका छन् ।
मृगौला चोरी प्रकरणले संसदमा ठाउँ पायो, छानविन समिति गठनको माग
काठमाडौं, असार २३ । अस्पतालबाटै विरामीको ‘मिर्गौला चोरी’ प्रकरणले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । शुक्रबार बसेको संसदको बैठकमा पत्थरीको उपचार गर्न अस्पताल हिँडेका व्यक्तिको अस्पतालबाटै ‘मृगौला चोरी’ प्रकरणले स्थान पाएको हो । यो घटना एक जनासँगमात्रै नजोडिएर सिंगो स्वास्थ्य क्षेत्रमाथिको नै प्रश्न भएकाे भन्दै अागामी दिनहरुमा यस्ता घटना दाेहाेरिना नदिन यस घटनाको न्यायिक छानविनका लागि समिति गठन गरी अनुसन्धान सुरु गर्नुपर्ने सांसदहरुले बताए । माओवादी केन्द्रका सांसद रामनारायण विडारीले इमान्दार नेताको नाममा खुलेको अस्पतालले विरामीको मिर्गौला चोरी गरेको खबरले देशवासी स्तब्ध भएको बताए । उनले भने, ‘अस्पतालको बकपत्र पढेपछि भयंकर बेइमानी गरेको रहेछ कि भन्ने देखियो । यसमा कोको संलग्न छन् ? न्यायिक आयोग बनाएर छानविन गरियोस् ।’ यो विषयमा छानविन नगर्ने हो भने देशमा मानव अंग तस्करको साम्राज्य चल्ने सम्भावना हुने बताए । कांग्रेस सांसद रामहरि खतिवडाले सम्मानित नेताको नाममा खुलेका अस्पतालहरुलाई व्यापारिक केन्द्र बनाएर कोही व्यक्ति धनाड्य हुने माध्यम बनाउन दिन नहुने बताएका छन् । उनले विरामीको मिर्गौला नचोरिएको वा अप्ठ्यारो स्थिति सृजना नभएको भए अस्पतालले किन सम्झौता गर्यो भन्ने प्रश्न समेत गरे । नुवाकोटका शिव रिमाल पत्थरीको अपरेशन गर्न मनमोहन अस्पतालमा भर्ना भएका थिए । उपचारका नाममा आफ्नो मिर्गौला चोरी भएको उनले बताएका छन् । तर, अस्पताल प्रशासनले भने उपचारका क्रममा गम्भीर समस्या आएपछि पीडितको मिर्गौला झिकिएको र त्यो अस्पतालमा सुरक्षित रहेको दाबी गरेको छ ।
भरतपुर विवादको मुद्दा आज सर्वोच्चले नहेर्ने
काठमाडौ, असार २३ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा भएको विवादलाई आज सर्वोच्चन अदालतमा बहस हुने बहस हुने गरी पेशी तोकिए पनि ‘हेर्न नभ्याउने’ भएपछि स्थगित भएको छ। अर्को सुनुवाई असार २६ गते सोमबार तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलास यो मुद्दाको लागि तोकिएको थियो। यो मुद्दाको पेशी सातौँ नम्बरमा राखिएको थियो । असार ६ गते च्यातिएका मतपत्रको पोकासहितका कागजातहरु मगाइएपछि यो मुद्दा सर्वोच्चले हेर्न नभ्याएको यो पहिलो पटक हो । यसअघि जेठ २८ र जेठ ३० मा पनि दुई पटक पेशी चढे पनि मुद्दा हेर्न भ्याइएको थिएन । अदालतको आदेश अनुसार वडा नं. १९ मा च्यातिएका ९० थान मतपत्रसँगै जिल्ला अदालत चितवनमा मतपत्र च्यात्नेविरुद्ध अदालतमा चलाइएको मुद्दाको मिसिल, घटनापछिको प्रहरी सञ्चारको प्रतिलिपी, मतगणना स्थगित गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय र पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल पनि अदालतमा आज पेस हुँदै थियो । च्यातिएका मतपत्र लगायतका प्रमाण सुरक्षाकर्मीको रोहबरमा चितवनबाट काठमाडौँ ल्याइएको थियो। जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ। मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो । पुनः मतदान निर्णयविरुद्ध एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो ।
सप्तरीमा प्रधानमन्त्री
राजविराज, असार २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी जिल्लाका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज सप्तरी पुगेका छन् । प्रधानमन्त्री देउवाले एक हप्ता अगाडि आएको बाढीबाट प्रभावित ग्रामीण क्षेत्रका पीडित परिवारसँग प्रत्यक्ष भेटघाट पनि गरेका छन् । सप्तरीको तिरौता गाउँपालिकाअन्तर्गत मैना करेडोलगायतका ग्रामीण क्षेत्रमा महुली खोलाले गरेको कटान र डुबानका बारेमा जानकारी लिँदै बाढीपीडितलाई राहत दिने कुरा गरेका छन् । एक हप्ता अगाडि खाडो, जातो र मौली नदीमा आएका बाढीले त्यहाँको बाँध भत्काउनाका साथै सप्तरीका एक दर्जन गाउँ डुबानमा पारेको थियो । प्रधानमन्त्री देउवासँगै गृहमन्त्री जनार्दन शर्मा पनि हुनुहुन्थ्यो ।
भरतपुर १९ को विवाद, सर्वोच्चले के देला निकास ?
काठमाडौं, असार २३ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ । निर्वाचन कार्यालयले च्यातिएका मतपत्रसहितका कागजात सर्वोच्चमा बुझाएपछि आज सुनुवाई हुन लागेको हो । न्यायाधीशहरु मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ । भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा वडा नम्बर १९ को मतपत्र च्यातेपछि सो वडामा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा परेको रिटमा सुनुवाई हुन लागेको हो ।
जन्मदिनमा ज्ञानेन्द्रले भने ‘कस्तूरी हराएको मृग झैं हराई रह्यौ’
काठमाडौँ, असार २३ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना ७१ औं जन्मदिन निर्मल निवासमा मनाइरहेका छन् । त्यहाँ उनलाई जन्मदिनको शुभकामना दिनेको घुईंचो लागेको छ । पूर्वराजा ज्ञानेन्द्रले आफ्नो जन्मदिनको अवसरमा सन्देश दिंदै भनेका छन्, ‘पुर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको बेलामा हामी भने कस्तूरी हराएको मृग झैं शून्यतामा हराई रहेका छौं । हामी कृयाशिल उर्जा बोकेर बिउतन अब ढिला गर्नु हुँदैन ।’ यस्तो छ जन्मदिनको दिन ज्ञानेन्द्रले सार्वजनिक गरेको धारणा : आरोह, अवरोहको जीवन क्रममा मैले सात दशक पार गरेको छू । यो असारको २३ सौं दिनदेखि म ७१ वर्षको उमेरमा टेकेको छु । यो जन्मदिनको उपलक्ष्यमा मलाई शूभेच्छा प्रकट गर्ने, शूभकामना दिने र म प्रति आस्था, भरोसा भाव राख्ने नेपाली दिदीबहिनी तथा दाजूभाइ सबैलाई म हार्दिक आभार व्यक्त गर्दछु । पद, प्रतिष्ठा र प्रशंसाभन्दा पनि मैले राख्ने निरन्तरको चाहना देशभक्ति नै हो । हाम्रा पूर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा सम्बृद्धिको बाटोमा अघि बढोस् मेरो मुल चाहना र कामना यही नै हो । देश जोगियोस्, जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सूदृढ राष्टिङय एकतातर्फ अग्रसर रहोस् यही नै मेरो मनोकांक्षा हो । यस्तो भावना आम नेपालीमा र खास गरि राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् यही नै मेरो आग्रह हो । राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न हामी सबै एक जूट हुनु परेको छ । हरेक पल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपुर्व एकताका लागि हामी सबै सधैं नै तयार रहनु पर्दछ । पुर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको बेलामा हामी भने कस्तूरी हराएको मृग झैं शून्यतामा हराई रहेका छौं । हामी कृयाशिल उर्जा बोकेर बिउंतन अब ढिला गर्नू हूंदैन । निराशा बोकेर विदेशिएको उर्जाशिल यूवाशक्तिलाई स्वदेशमै गरि खाने बाटो बनाई दिन उपाय खोज्न पनि हामी नै जागरुक हूनू पर्दछ । “नेपाली हामी रहौंला कहां नेपालै नरहे” भन्ने सारभुत सूत्रको स्मरण गर्न पनि सबै नेपालीलाई हार्दिक आग्रह गर्दछु । श्री पशूपतिनाथले हामी सबैमा सूबूद्धि र प्रेरणा दिउन् ।
३२१ स्थानीय तहको नतिजा सार्वजनिक, अब १३ तहको मात्रै बाँकी
काठमाडौं, असार २३ । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये ३२१ स्थानीय तहको नतिजा सार्वजनिक भएकाे छ । १३ स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ । नतिजा सार्वजनिक बाँकी तहहरु १) सुनसरीको धरान उपमहानगरपालिका २) सुनसरी इटहरी उपमहानगरपालिका ३) झापाको मेचीनगर नगरपालिका ४) झापाको अर्जुनधारा नगरपालिका ५) झापाको दमक नगरपालिका ६) झापाको बुद्धशान्ति गाउँपालिका ७) मोरङको विराटनगर महानगरपालिका ८) मोङको धनपालथान गाउँपालिका ९) कैलालीको धनगढी उपमहानरपालिका १०) उदयपुरको बेलका नगरपालिका ११) रुपन्देहीको कोटइ गाउँपालिका १२) कञ्चनपुरको पुनर्बास नगरपालिका १३) कञ्चनपुरको भिमदत्त नगरपालिका
द्वन्द्वमा मारिने र बेपत्ताको संख्या बढेको–बढ्यै, १९ हजार ८ सय ६ पुग्याे
काठमाडौं, असार २३ । माओवादी द्वन्द्वका क्रममा मृत्यु तथा बेपत्ता हुनेको संख्या कार्यदलपिच्छे थपिने गरेको छ । पछिल्लोपटक गठन भएको कार्यदल (पाँचौँ)सम्म आइपुग्दा मृतक र बेपत्ता हुनेको संख्या १९ हजार ८ सय ६ पुगेको छ । यसअघिको कार्यदलले मृतक र बेपत्ताको संख्या १७ हजार ८ सय ८६ तोकेको थियो । पछिल्लोपटक सीतादेवी यादव शान्तिमन्त्री हुँदा रामचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल बनाएकी थिइन् । कार्यदलमा सुभाषचन्द्र यादव, सुनिता रेग्मी, धर्मबहादुर केसी र वृषराज गुरुङ सदस्य थिए । द्वन्द्वका क्रममा (१ फागुन ०५२ देखि ५ मंसिर ०६३ सम्म) मारिएका र बेपत्ता भएकाको तथ्यांक राखिएको शान्ति मन्त्रालयअन्तरगतको राहत तथा पुनःस्थापना इकाइका निमित्त प्रमुख देवराज जोशीले बताए । सरकारैपिच्छे गठन हुने कार्यदलले आशंका उब्जिएको चौथो कार्यदलका संयोजक दीपेन्द्र पुन ‘सिजल’ले बताए । ‘द्वन्द्वमा मृत्यु तथा बेपत्ता भएका व्यक्ति छुट्नु र दोहोरिनुहुँदैन,’ उनले भने, ‘वास्तविक छानबिन गरेर मात्र संख्या किटान गरिनुपर्छ ।’ नयाँ पत्रिकामा खबर छ । द्वन्द्वका क्रममा १० हजार ९ सय ९६ जना घाइते भएका छन् । घाइतेलाई उपचार खर्चवापत बढीमा एक लाख रुपैयाँसम्म दिइने जोशीले बताए । ८२ हजार ६ सय ६१ घरपरिवार विस्थापित भएका थिए । उनीहरूलाई प्रतिपरिवार २५ हजारका दरले राहत दिइने भएको छ ।
प्रदेश निर्वाचन असोज ३० मा गराउन सरकारलार्इ आयोगको दवाव
काठमाडौं, असार २३ । निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन आगामी असोज ३० गते सोमबार गर्ने गरी निर्वाचनको मिति र कार्यक्रम नेपाल सरकारसमक्ष प्रस्ताव गरेको छ । आयोगले असार मसान्तभित्र प्रदेश सभा र प्रतिनिधिसभा सदस्य ऐन आयोगमा आउनुपर्ने दबाब पनि सरकारलाई दिएको छ । निर्वाचन आयोगमा बिहीबार साँझ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारी र कानुन सचिव कमलशाली घिमिरे तथा गृह मन्त्रालयका प्रतिनिधिसहितको बैठकमा आयोगले यस्तो प्रस्ताव गरेको हो । बैठकमा प्रमुख आयुक्त यादवले संविधानअनुसार माघभित्र प्रदेश सभा, राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नैपर्ने संवैधानिक व्यवस्था भएकाले असार मसान्तभित्र प्रदेश सभा र प्रतिनिधि सभा सदस्य ऐन आयोगलाई चाहिने बताएका थिए ।, गोरखापत्रमा खबर छ ।
नेपालगन्जमा धवलको ‘कमब्याक’, २० वर्षअघिको काम नै चुनाव जित्ने आधार
नेपालगन्ज, असार २१, डा.धवलशम्शेर राणा नेपालका पूर्वप्रधानमन्त्री जंगबहादुर राणाका सन्तान हुन्। आफ्ना पुर्खा जंगबहादुरले अंग्रेज सरकारबाट उपहार स्वरुप पाएको बाँकेको नेपालगन्जमा उनी दोस्रोपटक प्रमुख चुनिएका छन्। त्यो पनि फरक–फरक पार्टीबाट। २०५४ सालको निर्वाचनमा उनी एमालेबाट तत्कालीन नेपालगन्ज नगरपालिकाको मेयर चुनिएका थिए। यसपटक राप्रपाबाट उपमहानगरपालिकाको प्रमुख चुनिए। जंगबहादुरको सन्तान हुनु र जंगबहादुरले नै उपहार स्वरुप अंग्रेजबाट पाएको नेपालगन्ज २ पटकसम्म हाँक्ने अवसर पाउनु संयोग भने होइन। २० औं वर्षसम्म उनले निरन्तर नेपालगन्जको विकासका लागि गरेको योगदान र मेहिनतको प्रतिफल हो। पटक–पटक पराजित हुँदा विचलित नभइ देखाएको राजनीतिक तथा समाजिक सक्रियताको नतिजा हो। यसअघि २०५४ सालमा धवल शम्शेर एमालेबाट मेयर पदमा विजयी हुँदा उपमेयर पदमा विजयी भएका एमालेका शमसुद्दिन सिद्दिकी यसपटक नगरप्रमुख पदमा धवलशम्शेरसँग प्रतिस्पर्धामा थिए। कांग्रेसबाट डा सुरेश कनोडिया चुनावी प्रतिस्पर्धामा थिए। त्यसैले ठूलो पार्टीको ओत पाएका कनोडिया र सिद्दिकी चुनावमा हाबी हुुने अनुमान धेरैको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शम्शेरले यसरी जित्लान् भनेर राजनीतिक वृत्तमा कमै चर्चा भयो। पहिलो चरणको चुनावमा एउटै मात्र गाउँपालिका जितेको राप्रपाको संगठन उसै पनि नेपालगन्ज कमजोर मानिन्थ्यों। त्यसमाथि पहिलो चरणको निर्वाचनमा राप्रपाले राम्रो नतिजा ल्याउन नसकेका त्यसको प्रभाव दोस्रो चरणमा पर्ने कतिपयको आँकलन थियो। त्यसैले धवलशम्शेरको जमानत नै जफत हुनेसम्मका हल्ला विपक्षी पार्टीका नेता-कार्यकर्ताले नगरेका होइनन्। एमाले, कांग्रेस लगायतका पार्टीका उम्मेदवारले धवल शम्शेरको उम्मेदवारीलाई हाँसोका रुपमा लिए। तर जनता नै जनार्दन हुन् भन्ने धवलशम्शेरको जितले फेरि प्रमाणित गरिदियो। मतगणनाको शुरुदेखि नै धवलले फराकिलो अग्रता लिए। अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म उनको अग्रता कायम रह्यो। राम्रो मतान्तरसहित प्रमुखको कुर्सीमा विराजमान भए। उनले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा सुरेश कुमार कनोडियालाई ३ हजार ७ सय ८४ मत अन्तरले पराजित भए। धवल शम्शेरले १२ हजार ५ सय १५ भोट ल्याउँदा कनोडियाले ८ हजार ६ सय ३० मत मात्रै ल्याए। एमालेका समसुद्दिन सिद्दिकी ६ हजार ९ सय ६५ मतमा सीमित हुँदै तेस्रो स्थानमा आए। रोचक कुरा २३ वटा वडामध्ये राप्रपाले ३ वटा वडामात्रै थियो। यसले स्पष्ट के देखाएको छ भने अन्य पदमा कांग्रेस, एमाले, माओवादी लगायत पार्टीलाई भोट हालेका धेरैले प्रमुखमा भने धवल शम्शेरलाई रोजेका छन्। धवल शम्शेरको जितपछि ठूला पार्टीहरुले नेपालगन्जमा ठूलै सबक सिक्नुपर्ने परिस्थिती निर्माण भएको छ। धवलको जमानत जफत हुन्छ भन्ने कांग्रेस र एमाले पार्टीभित्र अहिले खैलाबैला मच्चिएको छ। उनीहरु पार्टीभित्रै आरोप–प्रत्यारोपमा उत्रिएका छन्। ‘३६४ दिन एमाले १ दिन गाई र दाई हुनेलाई कसले कारबाही गर्ला ?’ हार्ने निश्चित भएपछि आक्रोशित हुँदै एमाले उम्मेदवार शमसुद्धिन सिद्धिकीले आफ्नै फेसबुकमा लेखेका थिए। उनी मतपरिणाम सार्वजनिक हुँदा तेस्रो स्थानमै चित्त बुझाउन बाध्य भए। नेपालगन्जमा धवल शम्शेरका लागि हार र जित दुबै नौला विषय होइनन्। दुलर्भ त उनले यस क्षेत्रको विकासमा देखाएको इमानदारीता हो। २०५१ सालमै उनी संसदीय निर्वाचनमा उठेका थिए। तर पराजित भए। त्यसपछि पनि नेपालगन्जको विकासमा उनको योगदान भने कायम रह्यो। २०५४ सालमा मेयर पदमा विजयी भएका उनी पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए। तर पराजित भए। हार्दा पनि नेपालगन्जलाई माया गरिरहने भएका कारण नै यसपटक जनताले उनलाई विजयी गराए। २० वर्षअघिको काम नै चुनाव जित्ने आधार जंगबहादुरको वंश धवल शम्शेरको परिवार पुस्तौंदेखि नेपालगन्ज बस्दै आएको छ। उनका बाजे, बराजुको जन्म समेत नेपालगन्जमै भएको हो। त्यसैले उनले सधैं नेपालगन्जमा विकास चाहे। मेयर भएको बेला उनले नेपालगन्जको रानी तलाउ र वाटरपार्कलाई व्यवस्थित बनाए। त्यहाँ बोटिङ गन मिल्ने बनाए। पर्यटक भित्र्याउन भूमिका खेले। नेपालगन्जलाई सुन्दर शहर बनाउन पहल गरे। नेपालगन्जको न्यूरोड उनकै पालामा बनेको हो। उनले नेपालगन्जमा महेन्द्रपार्क (मिनी जू) स्थापना गरे। प्राचीन बंगला र पाटीपौवाको संरक्षण गरेर पुनर्निमाण गराए। यो नै उनको चुनाव जित्ने आधार बन्यो। जातिय, धार्मिक सद्भावमा ख्याल राख्ने उनी सामाजिक सद्भावप्रति सजग छन्। त्यसैले उनी हिन्दू, मुस्लिम सबैका प्रिय बन्न सकेका छन्। यो नै उनको भोट तान्ने आधार बनेको छ। राप्रपा नेपालको वरिष्ठ उपाध्यक्ष समेत भइसकेका धवल राप्रपा र राप्रपा नेपाल एकीकरणपछि राप्रपाको महामन्त्री छन्। उनले अमेरिकाको वासिङटन इन्टरनेशनल यूनिभर्सिटीबाट ‘द नेप्लिज मुनसिपालिटी, अ मेयर डिलेम्मा’ नामक शोध ग्रन्थमा विद्यावारिधी गरेका छन्।
७ सयभन्दा बढी उम्मेदवारको धरौटी जफत
काठमाडौं, असार २१ । प्रदेश नम्बर ३ अन्तर्गत बैशाख ३१ मा मकवानपुरमा भएको स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उठेका ७ सय ६ उम्मेदवारको धरौटी जफत भएको खबर छ । जिल्लाको ८ वटा गाउँपालिका, एक नगरपालिका र एक उप महानगरपालिकाको स्थानीय तहका लागि उम्मेदवारी दिएकमा मध्ये ७ सय ६ जनाको धरौटी जफत हुने भएको, नेपाल समाचारपत्रमा खबर छ । निर्वाचनमा कुल खसेको सदर मतको १० प्रतिशत मत नआए धरौटी जफत हुने जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।
पत्थरीको अप्रेसन गर्दा मिर्गौला निकालियो
काठमाडौं, असार २१ । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो । अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा सिकायत गरेका थिए । त्यसपछि मात्र अप्रेसन गर्दा मिर्गौला फुटेका कारण चिकित्सकहरूले निकालेको अस्पताल प्रशासनले स्विकारेको, नयाँ पत्रिकामा खबर छ । जबर्जस्ती सम्झौतापत्र रिमाल पत्थरीको अप्रेसन गर्न गत २५ जेठमा अस्पताल भर्ना भएका थिए । अप्रेसन गर्ने क्रममा चिकित्सकहरूले मिर्गौला निकालेको रिमाल परिवारले बताएको छ । घटना सार्वजनिक हुने डरले अस्पताल प्रशासनले विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती सम्झौतापत्रमा हस्ताक्षर गराएको रिमालकी पत्नी रञ्जुले बताइन् । डा.गुणराज श्रेष्ठ नेतृत्वको चिकित्सक टोलीले रिमालको पत्थरी अप्रेसन गर्ने क्रममा देब्रेपट्टिको मिर्गौला निकालेका हुन् । ‘सामान्य परिवारको भएकाले घरपरिवार धान्न वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब गएको थिएँ । एक वर्षअघि मात्रै नेपाल आएको हुँ । स्वास्थ्यमा समस्या देखिएपछि आफन्तको सहयोगमा स्वास्थ्य परीक्षण गराउन मनमोहन मेमोरियल मेडिकल कलेज आएको हुँ । तर, अस्पतालले मेरो जीवन नै बर्बाद गरिदियो,’ बिरामी रिमालले भने । मिर्गौला निकालेको तत्काल जानकारी अस्पताल प्रशासनले पत्थरीको अप्रेसन गर्दा मिर्गाैला फुटेकाले निकालेको पीडित परिवारलाई जानकारी दिएको दाबी गरेको छ । तर, पीडित परिवार भने मिर्गौला निकालिएपछि मात्रै जानकारी दिएको बताउँछ । ‘हामीलाई समस्या आएकोबारे सुरुमा कुनै जानकारी दिइएन,’ पीडितका दाजु दामोदरले भने, ‘एकैचोटि मिर्गाैला निकाल्यौँ, सहमति गर्न आउनुस्, तपार्इंहरूका माग हामी पूरा गर्छौँ भने । हामी आत्तियौँ ।’ अस्पताल प्रशासनले पीडित पक्षलाई भित्र बोलाई दबाब र धम्कीका भरमा ६ बुँदे सम्झौता गर्न लगाएको दामोदरले बताए । ‘मैले केही जानेको थिइनँ, भाइलाई सुनाउँदा झन् समस्या हुने भएकाले मैले अन्जानमा हस्ताक्षर गरेको हो,’ उनले भने । मिर्गाैला सामान्य अवस्थामा समेत नरहेकाले निकाल्नु परेको अस्पताल प्रशासनले जनाएको छ । ‘शिवप्रसाद रिमालको दुवै मिर्गौलामा पत्थरी देखिएको थियो । बायाँतर्फको मिर्गौला सामान्य अवस्थामा नभई केही तल रहेकाले २ सेमीको पत्थरीको शल्यक्रिया गरेर निकाल्ने सहमति भएअनुसार गरिएको हो । अप्रेसन गर्ने क्रममा अचानक मिर्गौलाबाट आन्तरिक रक्तश्राव भएको र वैज्ञानिक तवरबाट पनि नियन्त्रण नभएकाले ज्यान बचाउन सहमतिमै मिर्गौला निकालिएको हो,’ अस्पतालले गरेको सम्झौतापत्रमा उल्लेख छ । झुक्याएर गरिएको सम्झौता मान्य नहुने बिरामी शिव रिमालले बताए । ‘मेरो स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । यस्तो लापरबाही गर्ने अस्पताल र सम्बन्धित चिकित्सकमाथि हदैसम्मको कारबाही हुनुपर्छ,’ उनले भने । सबै सहमति भएकाले समस्या छैन : अस्पतालका कर्मचारी मेडिकल कलेजमा घटनाबारे जानकारी लिन खोज्दा अस्पताल प्रशासनसँग सम्बन्धित कसैले बोल्न चाहेनन् । अस्पतालका कर्मचारी जीवनप्रकाश शर्माले भने पुरानो घटना भएको र सबै सहमति भएकाले समस्या नभएको बताए । पीडितलाई फकाउन यस्तो सम्झौता -बिरामीको अप्रेसनको निःशुल्क उपचार गर्ने र एउटा विशेषज्ञ चिकित्सकको टोली बनाई अस्पतालले विशिष्ट उपचारको प्रबन्ध गर्ने । -हाल एउटा मिर्गौलाले काम गरिरहेको अवस्थामा अर्को मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भएका कारण भविष्यमा अर्को मिर्गौलाले पनि काम नगरेमा अस्पतालले मिर्गौला प्रत्यारोपण गरिदिने । -बिरामीको मिर्गौला र सोसँग सम्बन्धित समस्या आइपरेमा अस्पतालले निःशुल्क उपचार गरिदिने । -बिरामीकी श्रीमती रञ्जु रिमाललाई १ साउनदेखि लागू हुने गरी अस्पतालमा रोजगारीको व्यवस्था गर्ने र पीडित शिवप्रसाद रिमाललाई पनि उपचारपछि रोजगारी उपलब्ध गराउने । -बिरामीका दुई छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने र स्वास्थ्य उपचारको हकमा अस्पतालका कर्मचारी परिवारसरह सुविधा दिने ।