प्रधानमन्त्री देउवालार्इ भेटर भारतीय दूतावास किँन पुगे ठाकुर
प्रधानमन्त्रीसँग भेटेलगत्तै ठाकुर भारतीय दूतावासमा छलफल गर्न पुगेको जनाइएको छ । सरकारलाई दिइएको समर्थनकै विषयमा दूतावासमा पनि छलफल भएको बुझिएको छ ।, नेपाल समाचारपत्रमा खबर छ ।
सेटिङ मार्फत पुगेका कामदार अलपत्र, दलालले छोडेंन विदेशमा पनि
युएइ, असार २० । राम्रो काम र भने अनुसार तलब सुबिधा हुने ग्यारेन्टी लियर सेटिङ मार्फत भिजिट भिसामा संयुक्त अरब इमिरेटस् (युएइ) पठाएका २० जना नेपाली अहिले अलपत्र परेका । काठमाडौको ठमेलस्थित ‘अर्थ लाइन ट्राभल्स एन्ड टुर्स प्राली’मार्फत जनही २ लाख ५० हजारदेखि ३ लाख ८० हजार रुपैयाँसम्म बुझाएर युएइ आएका नेपाली ठगिएका मात्रै छैनन् दलालको शारिरिक र मानसिक यातना सहन पनि बाध्य भएका छन् । गोप्य सुचनाको आधारमा खोजी गर्दा युएइको राजधानी अबुधाबिस्थित मुसफा ३२ भन्ने ठाउँमा अलपत्र पारेका नेपालीलाई ट्राभल्स्कै युएइ एजेन्टले दैनिक जसो कुटपिट गरी मानसिक यातना दिई ज्यान मार्न धम्कीसमेत दिने गरेको पीडितले बताएका छन् । ट्राभल्सका म्यानेजिङ डाइरेक्टर पबित्रा अधिकारले युएइमा आफ्नो एजेन्ट बनेर काम गर्न चितवन माडीका स्थायीबासी प्रेम पाण्डे तर साजन पाण्डे भनेर चिनिने व्यक्ति लाई जिम्मेवारी दिएको पनि उच्चस्रोतले एभेरष्ट दैनिकलाई बताएको छ । रातभरि रक्सी खाएर पीडितलाई गालिगलोज गर्दै कुट्पिट गर्ने र मारेर गाड्दिने भन्दै डर त्रास देखाएर बन्दी बनाइ राखेको भिडियो र एजेन्ट ले कुटपिट गर्दाको भ्वाइस रेकर्ड पीडितहरुसँग प्रमाणको रूपमा सुरक्षीत रहेको छ । यस्तै पीडितले आफुमाथी भएको अन्याय र ज्याजतिका बारेमा अबुधाबीमा रहेको नेपाली दूतावासलाई जानकारी गराएपछि दूतावासले एजेन्टको खोजी गर्न स्थानीय प्रहरीमा उजुरी गरेपछि हाल एजेन्ट फरार रहेका छन । एजेन्टले आफुहरुलार्इ बारम्बार मार्ने धम्की दिएको तथा दूतावासका केहि कर्मचारीसंग एजेन्टको सम्बन्ध राम्रो रहेको रनियमित जसो फोन सम्पर्क हुने गरेकोले दूताबासका केही कर्मचारीको पनि त्यसमा संलग्नता रहेको हुनसक्ने पीडितले बताएका छन । दूतावासमा २० हजार दिराम पैसा दियर केस मिलाउन लगाउने र आफुहरुलाइ जेलमा हाल्ने धम्कि पनि एजेन्टले बारम्बार दिने गरेको उनीहरुले बताएका छन् । नेपालमै लाखै रुपैयाँ बुझायर आयका पीडितहरुसँग युएइ आएपछि पनि एकहजारदेखि १५ सय दिरामसम्म एजेन्टले लियको पीडितले बताएका छन । बारम्बार भन्दा समेत भिजा नलगायपछि हाल १० जना अवैधानिक रुपमा युएइमा रहेकाले यहाँको नियम अनुसार १ लाख ५० हजारसम्म जरिवाना तिनुपर्ने अवस्था सृजना भएको पीडितले बताएका छन । हाल सम्पर्कमा आयका पीडितहरुको नामवली यसप्रकार छः १. कुल बहादुर केसि २. लोक बहादुर डागी ३. बिनोद नेपाली ४.प्रेम प्रकाश केसी ५.सुरेन्द्र प्रकाश चन्द ६.कनार गुरुङ ७.तेज गुरुङ ८.मुकेस घले ९.पुर्ण बहादुर पुन १०.नेत्र रावत ११.चन्द्र बहादुर डागी १२.रोसन प्रसाद श्रेष्ठ १३.राज कुमार श्रेष्ठ १४.पदम लाल ओलि १५.अर्जुन नेगी १६.झोबिन्द्रप्रसाद घिमिरे १७.सुरेस चौधरी रहेका छन जसमध्ये अन्य केहि भागेका र केहिलाई एजेन्टले काम लगाउने भन्दै फकायर राखेको पाइएको छ । यस्तै मंगलबार आफ्नो गुनासो लिएर नेपाली दूतावास अबुधाबि पुगेका २० जना पीडितले दूतावासले एजेन्टलार्इ बोलाइ लिखित कागज गरार्इ नेपालमा बुझाएको तथा युएइमा तिरेको सम्पुर्ण लागत रकम फिर्ता गरार्इ आफूहरुले तिर्नुपर्ने अबैधानिक जरिवानासमेत एजेन्टले नै तिर्नुपर्ने माग पेस गरेको जानकारी दूतावासबाटै फोन सम्पर्कमा पीडितले बताए । तर यता नेपालमा रहेको ट्राभल्सले भने समाचार बाहिर आयमा र आफ्नो नाम जोडिएमा एक रुपैयाँ पनि नदिने भन्दै पीडितलाई फोन गरि धम्की दिएको पीडितले बताएका छन् ।
व्यापार मेलामा सहभागी हुन उपराष्ट्रपति पुन चीन प्रस्थान
काठमाडौं, असार २० । उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीनतर्फ प्रस्थान गरेका छन् । चीनले आयोजना गरेको ‘२३ औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति पुनलाई प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि एवम् कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गरेका थिए। सो मेला चीनको गान्सु प्रान्तको राजधानी लान्जाउमा आयोजना गरिएको छ। उपराष्ट्रपति पुनले यही असार २२ गते विकास र सहयोगका लागि उच्चस्तरीय मञ्चमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। रेशम मार्ग र सहयोगका विविध आयामका बारेमा उनको सम्बोधन केन्द्रित रहने मन्त्रालयले जानकारी दिएको छ। चीनका व्यवसायी एवम् उद्योगीसँग ‘नेपाल–चीनबीच आर्थिक तथा व्यापारिक सहयोग आदानप्रदान’ विषयको सम्मेलनमा समेत उपराष्ट्रपतिले यही असार २३ गते सम्बोधन गर्ने तथा लान्जाउमा रहँदा उपराष्ट्रपति उच्च चिनियाँ नेता एवम् अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उपराष्ट्रपति पुनले चीनको सान्सी प्रान्तको सियान र येनानको समेत भ्रमण गर्नेछन्। सो अवसरमा उपराष्ट्रपतिसँग उक्त प्रान्तका नेताहरूले शिष्टाचार भेटवार्ता गर्नेछन्। उपराष्ट्रपतिको भ्रमण टोलीमा नकी पत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगो र अन्य अधिकारी तथा परराष्ट्र र वाणिज्य मन्त्रालयका अधिकारीको समेत सहभागिता छ। उपराष्ट्रपति पुन यही असार २६ गते स्वदेश फर्कने कार्यक्रम छ। रासस
निगमलाई अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणपत्र
काठमाडौँ, असार २० । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो पटक अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ । निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत आइसागो अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय प्रमाणपत्रले निगमको सेवा अन्तर्राष्ट्रिय मापदण्डको भएको बताउँदै निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले यसले व्यावसायिक सफलतामा थप टेवा पुग्ने बताउनुभयो । ‘आइएटिएज सेफ्टी अडिट फर ग्राउन्ड अप्रेसन’ विश्वका ग्राउन्ड ह््यान्डलिङ गर्ने उत्कृष्ट एयरलाइन्सलाई सर्टिफाइ गर्छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्ड सर्भिस प्रोभाइड’ गरेबापत अन्तर्राष्ट्रिय प्रमाणपत्र पाएको हो । निगमका सहायक प्रवक्ता शैलेश कङ्साकारका अनुसार निगमले केही महिनाअघि सो प्रमाणपत्र पाएको हो । यसको दुई वर्षीय अवधि हुन्छ । विमानस्थलमा हाल निगमका ग्राउन्ड ह्यान्डलिङ, इन्जिनियरिङ, क्यास र क्वालिटी फ्लाइट सेफ्टी विभागमा ९०० भन्दा बढी कर्मचारी कार्यरत छन् । निगमले एक बोइङ र दुई एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएकामा पछिल्लो केही दिनयता एक मात्र बोइङ ग्राउन्डेड भएको थियो । थप दुई वाइड बडी खरिदका लागि निगमले पहिलो किस्ता रकम खरिद गर्ने कम्पनीलाई पठाइसकेको छ । निगमले हाल आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस
नागरिकता पाउन दुई दिन लामबद्ध
रुकुम, असार २० । बाँफिकोट गाउँपालिका–६ की सुष्मिता पुन जनजातिको जातीय सिफारिस लिनका लागि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा लामबद्ध लागेको दुई दिन भयो । उहाँले नागरिकता अझै पाउन सक्नुभएको छैन । उहाँ जस्तै बाँफिकोट–२ कै नन्दराम केसी पनि नाता प्रमाणितको सिफारिस लिनका लागि लामबद्ध बसेको दुई दिन नै भयो । जिल्लामा विद्युत् सेवा अनियमित हुँदा जिल्ला प्रशासनलगायत सरकारी कार्यालयको नियमित काममा समस्या भएको छ । सेवा लिनका लागि गाउँबाट आएका सर्वसाधारण विद्युत् अनियमितता भएसँगै मर्कामा परेका छन् । प्रशासन कार्यालयमा वैकल्पिक व्यवस्था नहुँदा नागरिकता लिनका लागि दुई दिनसम्म पनि लामबद्ध बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ । दुई दिनदेखि लामबद्ध बस्दा पनि नागरिकताका साथै सानो सिफारिस बनाउन नसकेको सर्वसाधारणको गुनासो छ । प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकतालगायत अन्य सिफारिस बनाउनका लागि कार्यालयको प्राङ्गणमा सेवाग्राहीको आइतबारदेखि आजसम्म पनि लाम बाक्लो देखिएको थियो । तीन दिनसम्म पनि लाम कत्ति नघटेको र नागरिक बडापत्रमा भनेजस्तो गरेर आफूहरुले सेवा नपाएको लाममा पालो कुरेर बसेका सर्वसाधारणको गुनासो छ । प्रशासन कार्यालयका साथै जिल्लाका अन्य प्रायः सबै सरकारी कार्यालयमा अहिले यसरी नै सर्वसाधारणको भिड लाग्ने गरेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । रासस
‘आकाश खसोस्, पाताल भासियोस, बाबुरामले बिश्राम लिन्न’
काठमाडौं, असार २० । नयाँ शक्ति नेपालका संयोजक बाबुरम भट्टराईले ५ वर्षसम्म नयाँ शक्तिको नेतृत्व नछोड्ने बताएका छन् । बाबुरामले नयाँ शक्तिको संयोजक पद छोड्ने चर्चाप्रतिक कडा प्रतिक्रिया दिँदै बाबुरामले पाँच वर्षसम्म नयाँ शक्तिलाई हुर्काएर हस्तान्तरण गर्ने बताएका छन् । नयाँ शक्तिका विरुद्ध कुप्रचार भएकोमा बाबुरामले कडा आक्रोश व्यक्त गर्दै भनेका छन् ः लोकोक्ति भन्छ- झिंगाको श्रापले डिंगा मर्दैन ! झुटको खेति गरेर जनतालाई ठग्दै आएका पत्रु शक्तिहरूले भर्खरै हुर्कंदै गरेको नयाँ शक्तिका विरूद्ध निरन्तर ग्वेबल्सको दुष्प्रचारको हतियार प्रयोग गर्दै आएका छन्१हिजोआज अर्को झटारो हानेकाछन्- बाबुरामले नयाँशक्तिरनेतृत्व छोड्ने रे१ बाराभको ६३ बर्षे उथलपुथलपूर्ण जीवनको इतिहासले भन्छ, उसले एकपटक अठोट गरेको कुरा पूरा नगरी बीचमा छोडेर कहिल्यै भाग्दैन ! जीवनको पहिलो चरणमा उसले अठोट गर्यो ( देशमा संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्र नल्याएसम्म देशको विकास र समृद्धिको ढोका खुल्दैन१ ४० बर्षको अथक परिश्रम पछि त्यो मिशन पूरा गर्यो र भयो ! जीवनको दोश्रो र अन्तिम चरणमा उसको अठोट छ- वागमती ( वा दरौंदी ?) को किनारमा विसर्जित हुनु भन्दा पहिले उसले नेपाललाई तेश्रो विश्वको स्तरबाट पहिलो विश्वको स्तरमा पुर्याउन योगदान गर्नेछ ! त्यसैकोनिम्ति यो नयाँ शक्तिको स्थापना हो ! यसलाई कमसेकम ५ बर्षसम्म हुर्काएर सक्षम नयाँ पुस्तालाई हस्तान्तरण नगरी उसले विश्राम लिदैलिदैन ! चाहे आकाश खसोस्, पाताल भासियोस् ! सबै शुभचिन्तक साथीहरू, ढुक्क हुनुहोस्, कुनै कसैको दुष्परचारबाट तरंगित नहुनुहोस् ! सम्झनोस्- कुकुर भुक्दै गर्छ, हात्ती लस्कदै गर्छ !!
नयाँ शक्तिले फोरमसँग एकता नगर्ने
काठमाडौं, असार २० । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता नहुने भएको छ । स्थानीय तहको निर्वाचनमा एउटै चुनाव चिन्ह बोकेर निर्वाचनमा उत्रिएपनि वैचारिक मत भिन्नताका कारण एकता नहुने भएको हो । संघीय समाजवादी फोरमभित्रका अशोक राई र उपेन्द्र यादवबाहेक अरुले वैकल्पिक राजनीतिको स्पिरिट बुझ्न नसकेको ठहर शीर्ष नेतृत्वको छ । कार्यकर्ता तहमा ने यसअघि नै एकताको बिरोध भएको थियो । निर्मल भट्टराईको समूहले यही विषयमा असन्तुष्टि जनाउँदै पार्टी नै परित्याग गरेको थियो । दोश्रो चरणको निर्वाचनमा नयाँ शक्तिले सोचे अनुरुपको सफलता नपाएपछि पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा समेत पार्टीभित्र गम्भीर छलफल शुरु भएको छ । पार्टी श्रोतले दिएको जानकारी अनुसार, यही अवस्थामा रहे बिसर्जनको संकट सिर्जना हुने भएकोले पछिल्लो राजनीतिक र सामाजिक परिस्थिति हेरेर गम्भीर निर्णयमा पुग्नुपर्ने केही नेताहरुले बताएका छन् । पार्टी नेता बाबुराम भट्टराईले भने नेतृत्व त्याग गरेर नयाँ पंक्तिलाई नेतृत्व सुम्पिने सोचाई राखेको समेत सार्वजनिक भएको छ । तर बाबुरामले संयोजक पद छोडेको खण्डमा नयाँ नेतृत्वले पार्टी धान्न सक्नेमा भने आशंका जन्मिएको श्रोतले बतायो । पार्टीले बेहोरेको हारपछि स्थानीय तहमा झन निराशा बढ्ने र कार्यकर्ताहरु अन्य पार्टीमा जाने खतराका बारेमा समेत शीर्ष तहमा छलफल शुरु भएको श्रोतले बतायो ।
दल दर्ता गर्दै राजपा
काठमाडौं, स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरको बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको छ । राजपा अध्यक्ष मण्डलको सोमबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । दल दर्ताका लागि आवश्यक विद्यानलगायत दस्तावेजलाई अन्तिम रुप दिन मंगलबार अर्को बैठक बस्दैछ, कान्तिपुरमा खबर छ ।
भारतको कारण सप्तरीका आधा दर्जन गाउँ डुबानमा
काठमाडौं, नेपालले साढे तीन वर्षअघि गरेको प्रस्ताव भारतले स्वीकार नगर्दा दक्षिणी सप्तरीका आधा दर्जन गाउँ डुबानमा परेका छन् । पूर्व-पश्चिम (महेन्द्र) राजमार्गदेखि नेपाल-भारत सीमा क्षेत्रसम्म खाँडो नदीमा दुवैतर्फ तटबन्ध निर्माण गर्न नेपालले सन् २०१४ को जनवरीमै प्रस्ताव गरे पनि भारतले अहिलेसम्म स्वीकार गरेको छैन । सिँचाइ मन्त्रालयअन्तर्गतको जलउत्पन्न प्रकोप नियन्त्रण विभागले ‘नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापनसम्बन्धी संयुक्त समिति’ (जेआईसीएफएम) मार्फत भारतलाई खाँडो नदी नियन्त्रणका लागि विस्तृत प्रतिवेदन (डीपीआर) बुझाएको थियो । विभागका सिनियर डिभिजनल इन्जिनियर अरविन्दकुमार गुप्ताका अनुसार दुवै देशका सम्पर्क अधिकारी सम्मिलित संयुक्त टोलीले सर्भे गरेर डीपीआर तयार गरेको थियो । नेपाल-भारतबीच सीमा क्षेत्रका नदी तथा खोलामा तटबन्ध निर्माण गरी दुवै देशका बासिन्दाको जिउज्यान सुरक्षा गर्ने उद्देश्यले झन्डै दुई दशकदेखि संयुक्त रूपमा तटबन्ध निर्माण कार्य हुँदै आए पनि खाँडोको हकमा भारत अहिलेसम्म प्रवेश गरेको थिएन । तर, संयुक्त रूपमा डीपीआर तयार भएपछि भारतले तत्काल सहमति दिने र निर्माण कार्य अघि बढ्नेमा विभाग ढुक्क थियो । ‘हामीले खाँडो नदी नियन्त्रणका लागि भारतसमक्ष धेरैपटक पत्राचार गर्यौं,’ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले सोमबार अन्नपूर्णसित भन्नुभयो, ‘उताबाट केही जवाफ आएन ।’ दुवै देशका प्राविधिक टोलीले महेन्द्र राजमार्गदेखि दसगजासम्म करिब ३५ किलोमिटर तटबन्ध निर्माणका लागि दुई अर्ब ५० करोड रुपैयाँ लागतसहितको प्रतिवेदन दिएको थियो । खाँडो नदी सप्तरीका अन्य सानातिना नदीसमेत मिसिएर भारत हुँदै कोसी नदीमा मिसिन्छ । यही नदीमा तटबन्ध नहुँदा बर्खायाममा परेको पानीले शनिबारदेखि सप्तरीको खाँडो नदीदेखि पश्चिममा पर्ने तिलाठी, सकरपुरा, पूर्वमा पर्ने बेल्ही र रम्पुरामल्हनियाँलगायत गाउँ डुबानमा परेका हुन् । गुप्ताका अनुसार नेपाल हुँदै भारत बग्ने बागमती, लालबकैया र कमला नदीमा संयुक्त रूपमा तटबन्ध निर्माण जारी छ भने खाँडो नदीमा तटबन्धका लागि प्रयास भए पनि सफल भएको छैन । भारतीय प्राविधिकसहितको टोलीले संयुक्त निरीक्षण गरेर निर्माण कार्य स्वीकृति दिएपछि नेपालले निर्माण गर्ने र त्यसको शोधभर्ना भारतले गर्दै आएको छ । ‘बागमती, लालबकैया र कमला नदीमा यो अभ्यास झन्डै दुई दशकदेखि जारी छ,’ गुप्ताले भन्नुभयो, ‘खाँडोमा बर्खायाममा सप्तरीका सबै सानातिना नदीका पानी मिसिन्छ र गाउँसम्म पस्छ ।’ भारतीय पक्षले खाँडो नदीमा तटबन्ध निर्माण गर्न चासो नदिएपछि विभागले नेपाल सरकारकै स्रोतबाट खाँडोमा तटबन्ध बनाउन गरेको प्रयास पनि सफल हुन सकेन । तिलाठीदेखि पूर्व खाँडोको दायाँ किनारमा दुवैतर्फ तटबन्ध निर्माणका लागि संरेखा (एलानमेन्ट) तयार गरिँदा स्थानीय बासिन्दाको विरोधका कारण निर्माण हुन सकेन । ‘स्थानीय बासिन्दाले भनेअनुसार तटबन्धको संरेखा बनाउन सकिँदैन’, गुप्ताले भन्नुभयो, ‘किनभने तटबन्ध सीधा हुनुपर्छ तर उहाँहरू तटबन्धको पनि मुआब्जा माग्नुहुन्छ, जुन दिने प्रावधान नै छैन ।’ तटबन्ध निर्माणका लागि विभागले तयार गरेको संरेखाप्रति असहमति जनाउँदै उक्त काम रोक्न केही स्थानीय बासिन्दाले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए । ‘पछि सर्वोच्चले स्थानीयको दाबी नपुग्ने भन्दै रिट खारेज गरे पनि मुद्दा किनारा नलागुन्जेल कुनै निर्माण कार्य हुन पाएन र समय घक्र्यो’, गुप्ताले भन्नुभयो, ‘पछि अर्कै समूहको नाउँमा फेरि राजविराज उच्च अदालतमा मुद्दा परेको छ ।’ गुप्ताका अनुसार तिलाठी, बेल्हा, रम्पुरामल्हनियाँलगायत जोखिमपूर्ण गाउँलाई डुबानबाट जोगाउन सर्वदलीय र जिल्ला दैवीप्रकोपका बैठकमा प्रयास भइरहे पनि उच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले काम अघि बढाउन सकिएको छैन । खाँडो नदीले सप्तरीवासीलाई दिएको हैरानी र जोखिम न्यूनीकरणमा भारतले असहयोग गरेपछि विभागले राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिलाई पनि गुहार्यो । विभागले ०७२ माघ १९ गते समितिलाई पत्राचार गरी खाँडो नदी नियन्त्रणका लागि आवश्यक बजेट बन्दोबस्तका लागि अनुरोध गरेको थियो । समितिले चैत १९ गते बैठक राखी ‘सैद्धान्तिक सहमति’ दिने निर्णय गरेको थियो । ‘खाँडो नदी नियन्त्रण सम्बन्धमा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय-६, जनकपुर धनुषाबाट पत्राचार भई सिँचाइ मन्त्रालयमार्फ प्राप्त हुन आएको आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) बमोजिम एकीकृत रूपमा सहकार्य गरी संरक्षणको कार्य गर्न सैद्धान्तिक रूपमा सहमत रहेकाले सोही व्यहोरा निर्णय गरियो’, समितिका सदस्य-सचिव डा. अन्नपूर्णनन्द दासले सिँचाइ मन्त्रालयलाई २०७२ चैत २२ गते लेखेको पत्रमा छ । अन्नपूर्ण पोस्टमा खबर छ ।
हिन्दूवादी पार्टीबाट गाउँपालिकाकाे अध्यक्ष जिते मुस्लिम अञ्जारले
काँकडभिट्टा (झापा), असार २० । उनको नाम हो–अन्जार आलम, धर्म मुस्लिम । तर चुनाव जितेका छन् हिन्दूवादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट । जात र धर्मको कट्टरताले नेपाली समाजलाई गाँजिरहेको बेला एउटा अलग सन्देश दिन सफल भएका छन् झापाको सीमान्त दक्षिणी गाउँपालिका कचनकबलबाट अध्यक्ष पदमा निर्वाचित अन्जार आलमले । उहाँ स्थानीय तहको चुनावमा कचनकबल गाउँपालिकाको अध्यक्ष पदमा राप्रपाबाट उम्मेदवार बन्नुभएको थियो । केचना, बनियानी, पथरियालगायतका गाविस मिलाएर बनाइएको कचनकबल गाउँपालिकामा नेपालकै सबैभन्दा होचो भूभाग पनि छ । मुलुककै सबैभन्दा होचो भूभाग भएको गाउँपालिकाको निर्वाचनबाट अन्जारले धार्मिक सहिष्णुताको अनुपम र सर्वोच्च नमुना पनि प्रस्तुत गर्नुभएको छ, जुन यतिबेला मुलुकभरि चर्चित समाचार बनिरहेको छ । अन्जार स्थानीय क्षेत्रमा निकै लोकप्रिय हुनुहुन्छ । पहिलो जिल्ला विकास समितिको निर्वाचनमा उहाँ त्यसै क्षेत्रबाट जिल्ला सदस्य निर्वाचित हुनुभएको थियो । जनप्रतिनिधिको अनुभव पहिल्यै सङ्गालिसकेका उहाँ राप्रपाका पुराना कार्यकर्ता हुनुहुन्छ । राप्रपाको स्थापनाकालदेखि नै सो पार्टीमा लागेका उहाँ दक्षिणपूर्वी झापामा पार्टीको खम्बा बनेर उभिँदै आउनुभएको राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन बताउनुहुन्छ । “इमान्दार र जनताको सेवकको रुपमा उहाँले आफ्नो छवि बनाउनुभएको छ”, महामन्त्री लिङ्देनले भनुभयो–“अहिलेको जस्तो प्रतिकूल परिस्थितिमा पनि गाउँपालिका जित्नु उहाँको लोकप्रियताको प्रतिफल मान्नु पर्छ ।” आइतबार राति नै अन्जारले चुनाव जितिसकेको घोषणा आइसकेको थियो । उपाध्यक्षमा पनि राप्रपाकै निम्सरी राजवंशीले जित्नुभएको थियो । तर विजय जुलुस भने सोमबार बिहान मात्रै भएको थियो । जुलुसमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन प्रमुख अतिथि हुनुहुन्थ्यो । बिहानको जुलुसमा अन्जार हजारौँको भीडमा नायकझैँ अभिवादन फर्काइरहनुभएको थियो । राप्रपाको झन्डा फरफराइरहेको थियो भने समर्थकले नारा घन्काइरहेका थिए । बनियानी बजारको कालीमन्दिरमा अन्जारलगायत उहाँको विजयी टोलीले हिन्दू देवता साक्षी राखेर भ्रष्टाचार नगर्ने शपथ लिएको छ । नियमले दिने सुविधाबाहेक एक पैसा पनि नलिने उहाँले मन्दिर र जनतासामु कसम खानुभयो । “नेपालको पहिचानको रुपमा हिन्दूराष्ट्र हुनुपर्छ”, मुस्लिमको छोरा हिन्दूवादी पार्टीको नेता कसरी भन्ने आम जिज्ञासातर्फ लक्षित गर्दै अन्जार भन्नुहुन्छ– “हाम्रो पार्टीले सबै जनताले हिन्दू बन्नुपर्छ त भनेको छैन नि !” राप्रपा भनेको हिन्दूवादी पार्टी हो भन्ने आम बुझाई भएपनि झापाको कचनकबलमा मात्र होइन, मुस्लिम बहुल नेपालगञ्जको प्रमुखमा पनि राप्रपाले नै जित हात पारेको छ ।
एमालेको मत बढाएपछि दुई मतगणक मतगणनास्थलबाट निष्काशित
सुनसरी, असार २० । एमालेका उम्मेद्वारको मत बढाएको प्रमाणित भएपछि धरानमा दुई जना मत गणकलाई मतगणनास्थलबाट निष्कासन गरिएको छ । मतगणना स्थलबाटै एमालेको ५० मत बढाएको प्रमाणित भएपछि समूह ‘ग’का मानबहादुर कार्की र समूह ‘ङ’का धनबहादुर राईलाईलाई मतगणनास्थलबाट निष्कासन गरिएको हो । वडा नम्बर ११ को मतगणना चलिरहँदा उनीहरुले नियोजित रुपमा एमालेको मत बढाएको पाइएपछि निर्वाचन अधिकृत र दलका प्रतिनिधिको सहमतिपछि उनीहरुलाई निष्कासन गरिएको हो ।
कहाँ गए १० महिनामा २१ सय ८७ बालबालिका ?
काडमाडौं, असार १९ । करिब एक वर्षको समयअवधिमा देशभर गरी दुई हजार १ सय ८७ जना बालबालिका हराएको बालबालिका खोजतलास समन्वय केन्द्रले जनाएको छ । हराएका मध्ये चार सय ८० बालबालिका भेटिएका छन् भने बाँकी एक हजार सात सय सातजना बालबालिकाको अवस्था अज्ञात छ । बालबालिका खोजतलास समन्वय केन्द्रका प्रमुख विश्व खड्काका दिएको जानकारी अनुसार बितेको १० महिनाको अवधिमा बालक आठ सय ३७ जना र बालिका एक हजार तीनसय ५० जना हराएका छन् । केन्द्रका अनुसार १० महिनाको अवधिमा सबैभन्दा बढी मध्यमाञ्चल विकास क्षेत्रबाट पाँच सय ५९ जना हराएका छन् ।
देउवाले मुलुकलाई निकास दिनेगरी पहलकदमी लिन नसकेको नेता केसीको आरोप
काठमाडौं, असार १९ । प्रधानमन्त्री एबम पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई संस्थागत, विधिसम्मत र पारदर्शी ढंगले चलाउन र व्यवस्थापन गर्न नसकेकाले पार्टीले स्थानीय निर्वाचनमा दोस्रो स्थानमा सिमित हुनु परेको भनी आलोचना हुन थालेको छ । सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै कांग्रेस नेता अजुननरसिंह केसीले पार्टी नेतृत्वको थुप्रै त्रुटी र कमजोरी रहेको भन्दै तत्काल सुधार नभए पार्टीले गम्भीर नोक्सान व्यहोर्नुपर्ने अवस्था आएको पनि बताए । नेता केसीले प्रधानमन्त्रीको रुपमा पनि देउवाले मुलुकलाई निकास दिनेगरी पहलकदमी लिन नसकेको पनि आरोप लगाए ।
अछाममा सबै १० तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति ?
होम साउद अछाम, असार १९ । यही असार १४ गते संचालन भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको मतपरिणाम अछामका सबै १० वटै स्थानिय तहको सार्वजनिक भएको छ । अछामका १० तहमध्ये ५ स्थानीय तहमा नेपाली काँग्रेसका उम्मेद्धार बिजयी बनेका छन् भने एमालेले ३ तथा माओवादी केन्द्र २ स्थानिय तहमा बिजय हासिल गरेका छन । अछामका ३ वटा तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले समिकरण गरेर चुनाव लडेका थिए । समिकरण गरिएका ३ तहमध्ये २ वटामा गठबन्धनकै उम्मेद्धार बिजयी भएका छन् भने मंगलसेन नगरपालिकामा एमालेले बाजी मारेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले गर्यो जग्गा कब्जा
चितवन, असार १९ । नेपाल कम्युनिष्ट पार्टीले पूर्वी चितवनको खैरहनी १२ मा रहेको मार्कन्टायलको ८४ विगाहा जग्गा पार्टीको झण्डा गाडेर कब्जा गरेको दाबी गरेको छ । पार्टी जिल्ला ईन्चार्ज लालबहादुर बिसीले विज्ञप्ती जारी गर्दै २०५९ सालदेखि पार्टीको कब्जामा रहेको जग्गा अहिले भूमाफियाले चलखेल गरी किनबेचको तयारी भएको पाइएकाले पुनः आफ्नो पार्टीको कव्जामा लिएको जनाएको छ । जग्गामा सिसौका बिरुवा रहेकोमा ती बिरुवा पनि फडानी गरी पार्टीको अनुमति बेगर पोखरीसमेत निर्माण गरी उपभोगसमेत भएको पाइएकाले भूमाफियाको गलत कार्य रोक्न पार्टीले जग्गा कब्जा गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा कुनै पनि व्यक्ति वा संघसंस्थाले जग्गा उपभोग गर्ने र चलखेल गर्ने प्रयास गरेमा कडा कार्वाही हुने चेतावनी दिइएको छ ।
अध्यागमन विभागमा गलत भए कारवाही हुन्छ : गृहमन्त्री शर्मा
काठमाडौं, असार १९ । गृहमन्त्री जनार्दन शर्माले अध्यागमन विभागमा गलत काम भएमा दोषीलाई कारवाही हुने बताएका छन् । आज अध्यागमन विभागको ‘नेपाल ईमिग्रेसन’ नामक मोबाईल एप सार्वजनिक गर्दै मन्त्री शर्माले योजनाबद्ध तरिकाले गलत गर्नेलाई कुनै पनि शर्तमा क्षमा नदिइने बताए । अध्यागमतमा हुने गलत हुने गरेको सूचना आफूकहाँ आईपुगेको भन्दै योजनाबद्ध रुपमा गलत काम भएमा कारवाही गरिने बताए । आज विभागले सार्वजनिक गरेको मोवाईल एपमा अध्यागमनसँग सम्बन्धित सबै जानकारी राखिएको विभागले जनाएको छ । विभागका अनुसार सेवाग्राहीले इमिग्रेसन एपकै प्रयोग गरेर अनलाईमार्फत भिसा प्राप्ती र ट्रेकिङ अनुमतीका लागी दरखास्त दिन सक्नेछन् । त्यस्तै विदेशमा समस्यामा परेका नेपालीहरुको सहजताका लागी २९ ओटा विदेशस्थित नेपाली नियोगको ठेगाना एपमा राखिएको छ भने विभागले अनलाईनकै माध्यबाट सेवाग्राहीको गुनासो सुन्न सक्ने ब्यवस्था मिलाएको छ ।