७ नम्बरका लागि बजेट वृद्धि गरिनेछ : प्रधानमन्त्री
धनगढी, असार १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले ७ नम्बर प्रदेशको विकासका लागि आवश्यक बजेट वृद्धि गरिने बताएका छन् ।
धनगढीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले विकासका लागि आवश्यक बाटो, बिजुली, सिँचाइलगायतका पूर्वाधार पर्याप्त रुपमा जुटाउन ७ नम्बर प्रदेशमा बजेट वृद्धि गरिने बताएका हुन् ।
विकासका पूर्वाधारहरु निर्माण गर्न सके विकास र समृद्धि हासिल हुने बताए । किसानले उत्पादन गरेको कृषि उपज सहज रुपमा बजारसम्म पु¥याउन सडक निर्माणलाई प्राथमिकता दिइने उनको भनाई छ ।
पश्चिमसेती, पञ्चेश्वरजस्ता बृहत्तर विकास परियोजनालाई अगाडि बढाउन सरकारले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्री देउवाले जानकारी दिए ।
अधिकृत नै एमालेको एजेण्ट भएको भन्दै मतगणना केन्द्रमा नाराजुलुस
अर्जुन जम्नेली राई मोरङ । निर्वाचन गराउन आएको अधिकृतले एमालेको एजेण्टको रुपमा काम गरेको भन्दै मोरङको पथरीशनिश्चरे नगरपालिकाको मतनगणा केन्द्रमा नाराजुलुस भएको छ । पथरीशनिश्चरे नगरपालिकामा निर्वाचन गराउन आएका अधिकृत चेतकुमार पोखरेललाई पटक पटक सचेत गराउदासम्म नसच्चिएर एमालेको एजेन्टको रुपमा काम गरेको भन्दै कांग्रेस, माओवादी केन्द्र लगायत आठ वटा संगठनले मतगणना बहिस्कार गरेको छ । मतगणना केन्द्र पथरीबहुमुखी क्याम्पसको गेटमा नाराजुलुसपछि धर्नामा बसेका छन् । नगरपालिकाको ९ नम्बर मतगणना गर्दा धाँदली भएको भन्दै नेपाली कांग्रेस लगायतका दलहरुले हिजो साँझ मतगणना भएको मध्ये शंका भएको एक स्थानको मत पुन गणना गर्न माग गर्दै अधिकृत पोखरेललाई निवेदन दिएका थिए । हिजो भएको गणनामा प्रतिनिधिले रामरी हेरेपछि तीन पटकसम्म सच्याएको नेपाली कांग्रेसका नगरप्रतिनिधि टेकबहादुर थापाले बताए । गणना भइसकेपछि पनि सुर्यको १०३ हुनुपर्नेमा १४८ मत लेखेको पाइएको कांग्रेसकी उपमेयरका उमेद्वार प्रेमिला राईले बताइन् । विवाद रहेकै बेला वडा अध्यक्षमा कांग्रेसलाई आठ मतको अन्तरले एमाले विजय घोषणा गर्न लाग्दा आठ वटा संगठनले विवादित एक स्थानको मत पुन गणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृत चेतकुमार पोखरेललाई निवेदन दिएका थिए । अधिकृत पोखरेलले वेवस्ता गर्दै एमालेका वडा अध्यक्षका उमेद्वार भानुभक्त राईलाई निर्वाचित भएको घोषणा गरेपछि अन्य दल थप आक्रमक भएको थियो । कांग्रेसको उक्त वडामा वीरबहादुर राई वडा अध्यक्षको उमेद्वार हुन । निर्वाचन अधिकृतले एकलौटी रुपमा एमालेको काम गरेको आरोप लगाउदै अन्य दलका प्रतिनिधिहरुले मत पेटिका भएको ढोकामा ताला लगाएर मतदान केन्द्र बाहिरीएका थिए । आज (सोमबार) बिहानै आठ वटा संगठनको बैठक बसेर निर्वाचन अधिकृत चेतकुमार पोखरेल अफै लागेर गणनामा अनियमिता गरेको, पटक पटक सच्याउदा समेत कुनै प्रबाह नगरी एकलौटी रुपमा एमालेलाई जिताउन सक्रिय रहेको निष्कर्ष निकाल्दै विवादिन ९ नम्बर वडाको पुन मत गणना नभए आन्दोलन गर्ने निर्णय गरेको छ । आठ वटा संगठनले संयुक्त विज्ञप्ति प्रकाशन गरी ९ नम्बर वडाको मत पुन गणना हुनुपर्ने, धाँदली गर्ने निर्वाचन अधिकृत र उनलाई सहयोग गर्ने प्रहरी प्रमुखहरु लगायत सम्पूर्ण कर्मचारीहरु परिवर्तन गर्नुर्ने लगायतको मग राखेर गणना स्थल पथरी बहुमुखी क्याम्पसको गेटमा नारा जुलुस गरेका थिए । आक्रोसित कार्यकर्ताहरुले निर्वाचन अधिकृतविरुद्ध केही बेर नारा जुलुसपछि गेटमा धर्नामा बसेका छन् । निर्वाचन अधिकृत पोखरेलले भने आफ्नो निर्णयबाट पछि नहट्ने घमण्डी कुरा गरेको कांग्रेसको मेयरका उमेद्वार गणेश खण्काले बताए । सञ्चारकर्मीको सम्पर्कमा अधिकृत पोखरेलले दलहरुले दिएको संयुक्त निवेदन अस्वीकृत भएको निर्णयको पत्र दिवेदकको घरमा पोष्ट गरिएको बताए । दलका प्रतिनिधिहरु नआएपनि ताला फोरेर कर्मचारीहरुको रोहोवरमा मत गणना हुने अधिकृत चेतकुमार पोखरेलले बताए ।
बेलौरी–६ मा माओवादी विजयी, मेयरमा पनि अग्रता
कञ्चपुर, असार १९ । कञ्चनपुरको वेलौली नगरपालिकामा– ६ नम्बर वडा मा माओवादी विजयी बनेको छ । माओवादी केन्द्रले ५ सय ८७ ल्याएर विजयी बनेको छ भने त्यसको प्रत्यासी नेकपा एमालेले ५ सय ०२ मत ल्याएको हो । त्यस्तै बेलौरी नगरपालिको मेयरमा पनि माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी १०५ मत ले अगाडी रहेका छन् । माओवादी केन्द्रले ३ हजार ६ सय ६१ मत प्राप्त गरेको छ भने नेकपा एमालेका उम्मेदवार पल्लबराज भट्टले ३ हजार ५ सय ६१ मत प्राप्त गरेका छन् । त्यहाँ मतगणना भइरहेको छ ।
बम टिपेर फाल्ने साहसिक हवल्दारलाई गृहमन्त्रीले फोन गरे, पुरस्कृत गर्ने घोषणा
दाङ, असरा १४ । दाङको ङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा बम टिपेर बाहिर फाल्ने साहसिक काम गरेकोमा गृहमन्त्रीले बधाई दिएका छन् । मतदान केन्द्रमा खटिएका प्ररहरी हबल्दार दुर्गाबहादुर रानाले मतदान केन्द्रमा राखिएको बम हातले टिपेर बाहिर फालेका थिए । रानाका बारेमा सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि गृहमन्त्री शर्माले रानालाई फोन गर्दै बहादुरीको प्रशंसा गरे । उनलाई पुरस्कृत गरिने समेत शर्माले घोषणा गरे । मतदान भइरहेको बेला अज्ञात समूहले बम प्रहार गरेको अवस्थामा रानाले ज्यानको पर्वाह नगरी बम टिपेर फालेका थिए । उनले बम फ्याँकेको केही मिनेटमै ठूलो आवाजका साथ बम बिष्फोट भएको थियो ।
फर्जी मतपत्र हाल्न नपाएपछि एमालेले गर्याे हातपात, प्रहरीले चलायाे हवाई फायर
अछाम, असार १४ । अछाममा नेकपा एमालेले फर्जी मतपत्र बनाई मतदान गर्न खोजेपछि स्थितिले उग्र रुप लिएको छ । मेल्लेख गाउँपालिका–६ स्थित शोडषा मतदान केन्द्रमा एमाले– कांग्रेस–माओवादी गठबन्धनबीच झडप भएको हो । नेकपा एमालेका कार्यकर्ताको कुटाईबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका गरी चार जना कार्यकर्ता घाईते भएका छन् । झडपमा परी एमाले कार्यकर्ताको कुटाईबाट कांग्रेसका ध्वजबहादुर बोहोरा र माओवादी केन्द्रका गणेश बोहोरा, अमर साउद घाईते भएको स्थानीय लोकेन्द्र खत्रीले जानकारी दिएका छन् । नेकपा एमालेका कार्यकर्ताले फर्जी मत हाल्न लागेपछि कांग्रेस, माओवादीले रोक्न खोजेको र कांग्रेसले विरोध जनाएपछि विवाद सुरु भएको थियो । सोही क्रममा एमालेका प्रतिनिधि नरेन्द्र खड्काले कांग्रेसका वडाअध्यक्ष गम्भिर बोहोरामाथि बुथकेन्द्र भित्रै हातपात गरेका थिए । त्यसपछि दुई पक्षबीच झडप भएको थियो । उग्र रुप लिएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बताएको छ । मेल्लेखमा माओवादी र कांग्रेसबीच तालमेल छ भने एमाले एक्लै प्रतिस्पर्धामा छ। दुई दिनअघि एमाले ७ नम्बर प्रदेश संयोजक भीम रावलले मेल्लेख पुगेर कार्यकर्ता उत्तेजित पारेको आरोप माओवादीले लगाएको छ। दुई हजार १० जना मतदाता रहेको त्यस मतदान केन्द्रमा १२ सय ९८ जनाले मतदान गरेपछि विवाद सुरु भएको थियो ।
एमाले बीरगञ्ज मेयरका सम्भावित उम्मेदवार उपेन्द्र यादवको फोरममा प्रवेश
पर्सा, असार १४ । निर्वाचनको दिन एमालेलाई ठूलो झटका लागेको छ । एमालेले बीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारको रुपमा प्रचार गरिएका सुन्दर कुर्मी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गरेका हुन । एमाले जिल्ला पार्टीले कुर्मीसहित अन्य तीन जनाको नाम मेयरका लागि सिफारिस गरेको थियो । नाम सिफारिस हुनेमा नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारी समेत थिए । अन्सारी टिकट पाउने शर्तमा नै एमालेमा प्रवेश गरेपछि असन्तुष्ट बनेको कुर्मीले पार्टी परित्याग गरेको बुझिएको छ । कुर्मीले एमाले पार्टी र पार्टी कार्यकर्ता मधेस र मधेसीप्रति इमान्दार रहेपनि नेतृत्व वर्गमा इमान्दारिता नदेखिएको टिप्पणी गरेका छन् । । उनले, ‘पार्टीमा योगदान भएकाहरुको रायलाई नजरअन्दाज गर्दे वीरगञ्जमा पैसा लिएर मेयरको टिकट दिने काम भयो । जसले एमालेबाट हाम्रो मोह भंग भएको छ’, भनेका छन् ।
गाँजा भरिएको ट्रकसहित एक भारतीय पक्राऊ
चितवन, असार १४ । गाँजाका पोकासहित जाँदै गरेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरीमा प्रहरीले गाँजा र भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । इप्रका मनहरीका अनुसार, चितवनवाट हेटौडातर्फ आउदै गरेको बिआर ०७ जिए ४४२३ नम्वरको भारतीय ट्रक चेकजाँचका क्रममा प्लास्टिकको १२ वटा पोकामा प्याक गरेको १ सय २० केजी गाँजा फेला परेको हो । पक्राऊ पर्नेमा भारत मोतिहारीका सुधिर राम रहेका छन् । चालकले गाँजा मनहरि गाउँपालिकाको सुनाचुरीको जंगलबाट गाँजा लोड गरेर ल्याएका थिए । वीरगन्ज हुँदै भारत पुर्याउने उद्देश्यले गाँजा लोड गरेको चालकले प्रहरीसमक्ष बताएका छन् ।
गुल्मीमा ३० प्रतिशत मत खस्यो, एउटा केन्द्रमा मतदान सुरु नै हुनसकेन
प्रेम सुनार गुल्मी, असार १४ । आज विहान ७ बजेदेखि सुरु भएको मतदान अपरान्ह १२ बजेसम्ममा ३० प्रतिशत मत खसेको छ । गुल्मीको एउटा केन्द्र बाहेक जिल्लाभरी नै निकै उत्साहका साथ मतदान कार्यक्रम भइरहेकाे छ । कालिगण्डकी गाउँपालिकाको कोरेङ्ग मावि केन्द्रमा माओवादी कार्यकर्ताहरुलाई एमाले कार्यकर्ताले आक्रमण गरेको भन्ने विवादका कारण मतदान सुरु नै हुन नसकेको प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासीनीले जानकारी दिएका छन् । त्यस्तै धुर्कोट गाउँपालिकाको वाग्लामा गएराती एमाले कार्यकर्ता र कांग्रेस कार्यकर्ताको गएराती झडप भएको विषयमा पुनः विवाद हुँदा एक घण्टा रोकिएको थियो । अन्यत्रा भने सुध्रिदो मौसमसँगै मेला लागेजसरी जनतामा निकै उत्साहका साथ मतदान गरेका छन् । मतदान नगरेकाहरु पंक्तिमा बसीरहँदा मतदान गरेकोहरु समेत घर नफर्किई त्यही बसीरहेका देखिन्थे । गुल्मीमा १०१ वर्षिया बृद्धा तुलासा देवि अर्यालदेखि बाबुको क्रिया बसेका क्रियापुत्री खड्ग श्रेष्ठले समेत मतदान गरेका छन् । त्यस्तै प्यारालाईसिसबाट विगत १० बर्षदेखि थला परेकी ८७ वर्षिया अम्विकादेवी पन्थीलाई पनि स्टेचरमा वोकेर ल्याई मतदान गराइएको छ ।
दोस्रो चरणको चुनाव अब सम्पन्न भयोः प्रधानमन्त्री देउवा
डडेल्धुरा, असार १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको चुनाव अब सम्पन्न भएको प्रतिक्रिया दिएका छन् । देउवाले गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा रहेको असिग्राम माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेपछि पत्रकारहरुसंग यस्तो छोटो प्रतिक्रिया दिएका हुन् ।
कोटहीमाईमा १६ गते मतदान
रुपन्देही, असार १४ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ मा असार १६ गते मतदान हुने भएको छ । उम्मेदवारको निधन भएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमले जानकारी दिए । नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यको मनोनयन दर्ता गराउनुभएका मुरली मल्लाहाको शनिबार निधन भएको थियो । दम रोगबाट ग्रसित मल्लाहाको उपचारका क्रममा मृत्यु भएको हो । रुपन्देहीका अन्य स्थानमा भने आज नै मतदान हुँदैछ । जिल्लामा चार लाख ६२ हजार मतदाता रहेका छन् भने उम्मेदवार चार हजार ४२४ जना रहेका छन् ।
बम विस्फोट गराउने दुईजना थुना पठाइए
सप्तरी, १४ असार । नापी कार्यालय राजविराजमा बम विस्फोट गराउने दुईजना अभियुक्तलाई थुनामा पठाइएको छ । सो अभियोगमा पक्राउ परेका सप्तरीका विष्णुपुर गाउँपालिका–७ का १९ वर्षीय आदित्य शर्मा र रुपनी गाउँपालिका–१ का ३३ वर्षीय मोहम्मद नसिरलाई पुर्पक्षका लागि थुनामा पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिएका छन् । राजविराज–छिन्नमस्ता सडकखण्डमा चेकजाँचका क्रममा अन टेस्ट मोटरसाइकल चढेर जाँदै गरेका शर्मालाई प्रहरीको विशेष टोलीले जेठ १३ गते हतियार र जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चासहित पक्राउ गरेको थियो भने नसिरलाई मेड इन इन्डिया लेखिएको एक थान पेस्तोल र सोमा प्रयोग हुने दुई राउन्ड गोली तथा पाँचसय ग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको थियो । राजविराज नपा–८ स्थित नापी कार्यालयमा गत वैशाख २९ गते उनीहरुले प्रेसरकुकर बम विस्फोट गराएको प्रहरीको भनाइ छ । रासस
भीमदत्त नगरपालिकाको मतदान केन्द्र नजिक बम बिष्फोट
कंचनपुर, असार १४ । भिमदत्त नगरपालिका अन्तरगत रहेको भृकुटि मतदान केन्द्र नजिक बम बिष्फोट भएको छ । सदरमुक़ाममा रहेको खुलामंचको शौचालयमा बिष्फोट भएको हो । बिस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । प्रहरीका अनुसार, मतदान केन्द्रबाट दुई तीनसय मिटर टाढा रहेको शौचालयमा सुतली बम विष्फोट गराइएको थियो ।
भूकम्पमा फरार १११ जना कैदी अझै सम्पर्कबाहिर
चौतारा, १४ असार । २०७२ साल वैशाख १२ मा भूकम्प आएपछि सिन्धुपाल्चोक कारागारबाट भागेका २१६ कैदीमध्ये १११ अझै सम्पर्कबाहिर रहेका छन् । जेलबाट भागेका कैदीमध्ये विदेशी मुद्रा अपचलनका दुई विदेशीसहित १०५ जनालाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरी हाल विभिन्न जिल्लाको कारागारमा राखिएको कारागार शाखा सिन्धुपाल्चोकका सूचना अधिकारी टीका दाहालले जानकारी दिनुभयो । फरार रहेका कैदीमध्ये सुन तथा आखेटोपहार तस्करीमा कैद सजाय भोगिरहेका ११ चिनियाँ नागरिक छन् भने अन्यले जबर्जस्तीकरणी, मानब बेचबिखन, कर्तव्य ज्यान तथा डाँका चोरीलगायत अभियोगमा सजाय भोगिरहेका थिए । फरारमध्ये कैद भुक्तान हुन थोरै समय मात्र बाँकी रहेका केहीले अदालतमा आफँै उपस्थित भएर इमान्दारिता देखाएको कारागार शाखाले जनाएको छ । स्थान अभावले गर्दा अदालतबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएकालाई प्रहरीको हिरासतमा राख्ने गरिएको छ । त्यहाँ पनि स्थान अभावका कारण सात÷आठ जनाको सङ्ख्या पुग्नासाथ अन्यत्र जिल्लामा पठाउनुपर्ने बाध्यता रहेको छ । यसरी अन्यत्र पठाउँदा राज्यले ठूलो आर्थिक भार व्यहोर्नु परेको यथार्थता रहेको छ । दाहालका अनुसार विभिन्न समयमा विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएका फरार कैदीलाई केन्द्रीय कारागार, नख्खु, भीमफेदी, सुनसरी, पाल्पा, धादिङ, वीरगन्ज, रामेछाप र काभ्रे कारागारमा राखिएको छ । कैदीलाई अन्यत्र स्थानान्तरण गर्नु पर्दा राज्यले ठूलो आर्थिक भार बहन गर्नु परेको कारण देखाउँदै केही समयअघि स्थलगत निरीक्षणमा आउनुभएका कारागार व्यवस्थापन विभागका महानिर्देशक विष्णुचन्द्र घिमिरेले मर्मत सुधार गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको थियो । रु पाँच करोडको लगानीमा निर्माण गरिएको सो कारागार भवन निर्माणकै क्रममा कम गुणस्तरका सामान प्रयोग भएको जनगुनासो रहेको थियो । सो भवन ठेकेदारबाट हस्तान्तरणसमेत नभएको जिल्ला कारागार शाखाले जनाएको छ । रासस सांकेतिक तस्वीरः दैलेखको भूकम्पले क्षति भएको जेल
रुकुममा ठूलो उत्साह, बिहानैदेखि ओइरिए मतदाता
रुकुमकोट, असार १४ । रुकुममा बिहानैदेखि मतदाता मत हाल्न लाइनमा उभिएका छन् । पूर्वी रुकुमको सिस्ने गाउँपालिकामा लाइनमा लागेको दृश्य । साथमा रिपोर्टिङमा पुगेका पत्रकार तथा निर्वाचन पर्यवेक्षक तस्वीर लिँदै । तस्वीर सुबोधराज शेर्पालीको फेसबुकबाट
दोलखा भिमेश्वरमा पहिरो खस्दा ४ वेपत्ता
दोलखाको भीमेश्वर नगरपालिका—९ लाँकुरीडाँडास्थित डाडाँगाउँमा गएराती पहिरो खस्दा चारजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा डाडाँगाउस्थित कुतकुतेका मंगले थामीकी श्रीमती शान्ती, छोरीहरु १२ बर्षिया सन्तोषी, १० बर्षिया रोशनी र सोही स्थानकी ७९ बर्षकी लाटी थामी रहेको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मी राजेन्द्र मानन्धरले जनाएका छन् । लगातारको वर्षाले वडा— ९ का विभिन्न स्थानमा दोलखा जिल्ला जोड्ने लामोसाँघु जिरी सडक अवरुद्ध भएको छ । पहिरोले पतले वन क्षेत्रसमेत बगाएको छ । विभिन्न स्थानको पहिरोले एकदर्जन बढी घरका वासिन्दाहरुले बसाई छाडेर सरेका छन् । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले राती नै सुरक्षार्मीलाई परिचालन गर्न प्रहरी र सम्बन्धित सबैलाई जानकारी गराएको बताउनुभयो । कान्तिपुर दैनिकबाट
महताको निधनमा एमालेबाट दुःख व्यक्त
काठमाडौँ, ११ असार । नेकपा (एमाले)ले डडेल्धुरा जिल्ला, पर्शुराम नगर कमिटीका अध्यक्ष बहादुर महताको स्थानीय तहको निर्वाचनका क्रममा यही असार ८ गते पर्शुराम–११ मा आयोजित आमसभालाई सम्बोधन गर्दै गर्दा हृदयाघातबाट निधन भएकामा दुःख व्यक्त गरेको छ । विसं २०२८ मङ्सिर २५ गते जन्मनुभएका नेता महताले यसअघि तीन कार्यकाल साबिकको जोगबुढा गाउँ कमिटीको सचिव हुनाका साथ दुई कार्यकाल जिल्ला कमिटी र जिल्ला सचिवालयको सदस्य भएर पार्टीमा नेतृत्व दिनुभएको थियो । सशस्त्र द्वन्द्वका बेला राज्य पक्षबाट झुटा मुद्दा लगाएर थुनिँदा पनि महता बिचलित नभएर पार्टीका पक्षमा दृढतापूर्वक उभिनाका साथै त्यसबाट उम्किएपछि पार्टी काममा थप सक्रिय बन्नुभएको पार्टीले जनाएको छ । उहाँका चार छोरा र दुई छोरी छन् । पार्टीले दिवङ्गत महताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।