एक हप्तादेखि फोन सेवा अवरुद्ध
जाजरकोट, ११ असार । यहाँको जुनी चाँदी गाउँपालिकामा एक हप्तादेखि फोन सेवा अवरुद्ध भएको छ । मजकोटमा रहेको टावरमा खराबी आएपछि फोन सेवा अवरुद्ध भएको स्थानीयवासी रेशमबहादुर खड्काले जानकारी दिनुभयो ।
यति लामो समयसम्म फोन सेवा अवरुद्ध भए पनि सरोकार भएका निकायले मर्मततर्फ ध्यान नदिएकोे भन्दै स्थानीयवासी आक्रोशित छन् ।
हजारौँ सेवाग्राही फोन सेवा अवरोधसँगै घन्टौँ उकालो हिँडेर आफन्तसँग खबर आदानप्रदान गर्न बाध्य छन् । नेपाल टेलिकम जाजरकोटले ब्याट्रीमा समस्या भएका कारण फोन अवरुद्ध भएको जनाएको छ ।
नमोबुद्ध नगरको विकासबारेमा छलफल
बनेपा, असार ११ । काभ्रेपलाञ्चोकमा निर्वाचित जनप्रतिनिधिले नगरपालिकालाई कसरी समृद्ध बनाउने भन्ने विषयमा राय सङ्कलन गरेका छन् । धुलिखेलमा शनिबार नमोबुद्ध नगरपालिकाले विज्ञ संवाद तथा अन्तक्र्रिया गर्दै चुनौतीको सामना गर्न सम्भावनाको खोजी गरेको छ । नयाँ नगरपालिकाका रुपमा रहेको नमोबुद्ध नगरपालिका स्रोत र साधनको हिसाबले पनि कमजोर मानिन्छ । नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले अवधारणा प्रस्तुत गर्दै थुप्रै चुनौतीका बीच केही सम्भावना पनि भएको उल्लेख गर्दै त्यसका लागि सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो – “खानेपानीको चरम सङ्कट रहेको नमोबुद्धको कानपुरमा दूध बेचेर खानेपानीको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता छ ।” बसपार्क, ल्यान्डफिल साइडको अभाव, भौतिक पूर्वाधारको अभाव, पुरानो दाप्चा बजारको पुनरुत्थान नमोबुद्ध नगरपालिकाका समस्या भएको नगरप्रमुख शर्माले बताउनुभयो । पूर्व महान्यायाधिवक्ता डा युवराज सङ्ग्रौलाले सार्वभौम अधिकार प्रयोग गर्ने थलो स्थानीय तह भएको उल्लेख गर्दै स्थानीय तह संवैधानिक निकाय भएको जिकिर गर्नुभयो । उहाँले नगरलाई समृद्ध गराउन त्यहाँका नागरिकलाई सिटी कार्ड वितरण गर्न आग्रह गर्दै कार्डमार्फत नागरिकको विस्तृत विवरण राख्न सकिने बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव गोपीनाथ मैनालीले विकासका लागि मानव संशाधन र प्राकृतिक स्रोत अपरिहार्य भएको उल्लेख गर्दै तेमालको फूलपातीदेखि पदमसम्म धार्मिक सर्किट निर्माण गर्न सुझाव दिनुभयो । उद्योग मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले खानेपानीको समस्या समाधान गर्न वर्षाको पानी सङ्कलन प्रभावकारी हुने उल्लेख गर्दै पुरानो दाप्चा बजार ऐतिहासिक सांस्कृतिक पर्यटकीय गन्तव्य हुन सक्ने बताउनुभयो ।
धनुषामा गोली चल्यो, प्रधानाध्यापक नरेन्द्रकुमार शर्मा घाइते
धनुषा, असार ११ । विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले गोली चलेको पुष्टि गर्दै गोली प्रहार गर्नेहरुको खोजी भइरहेको जानकारी दिए । शर्माको गालामा गोली लागेको छ । उनको अवस्था अहिले गम्भीर छ । उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ । जनकपुर उपमहानगरपालिका–७ निवासी प्रअ बिहान ६ः३० बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनिया चोकदेखि पश्चिम बाटोमा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।
आज चुनाव प्रचारकाे अन्तिम दिन, कहाँ–कहाँ छन् ठुला दलहरुका सभा ?
काठमाडौं, असार ११ । स्थानीय तहको दोस्रो चरणको चुनावी प्रचार उत्कर्षतिर पुगेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राप्रपालगायतका पार्टीका नेताहरू १४ असारमा निर्वाचन हुने ३४ जिल्लाका कुनै न कुनै अन्तिम चुनावी आमसभालाई सम्बोधन गर्न दौडधुपमा छन् । निर्वाचन आयोगको आचारसंहिताअनुसार राजनीतिक दलका नेताहरूले आइतबार (आज) सम्म मात्रै अन्तिम चुनावी प्रचारप्रसार गर्न पाउने भएका कारण अधिकांश शीर्ष नेता अन्तिम चुनावी सभामा सक्रिय देखिएका नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री शेरबहादुर देउवा एकैदिन दुई जिल्लाका चुनावी दौडाहमा व्यस्त रहे । शुक्रबार कैलाली पुगेका देउवाले शनिबार कञ्चनपुरका छुट्टाछुट्टै तीनवटा आमसभालाई सम्बोधन गरेका छन् । दिउँसो बेलडाँडी, बेलौरी र पुनर्वासको आमसभालाई सम्बोधन गरेका देउवा अपराह्न डडेल्धुराको पर्शुराम नगरपालिकाको सभामा सहभागी भए । त्यसपछि बेलुकी कार्यकर्ता भेटघाटमा व्यस्त बने । आइतबारै उनले डडेल्धुरा सदरमुकाममा सम्बोधन गर्नुका साथै अन्य आमसभामा पनि सहभागिता जनाउँदै छन् । पौडेल ५ नम्बर प्रदेशमा सक्रिय ० कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार दाङको राप्ती र लमही नगरपालिका तथा बाँकेको नेपालगन्ज र कोहलपुर नगरपालिकाको चुनावी आमसभालाई सम्बोधन गरेका छन् । आइतबार उनले बुटवल, भैरहवा र नवलपरासीको बर्दघाटको चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका स्वकीय चिरञ्जीवी अधिकारीले जानकारी दिए । ० कांग्रेस नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. रामशरण महतलगायतका नेताहरू प्रदेश नम्बर १ को विभिन्न चुनावी आमसभामा सक्रिय छन् । त्यस्तै, युवानेता गगन थापा, प्रदीप पौडेललगायत सुदूरपश्चिमका चुनावी सभामा छन् । एमाले नेताहरू एकैदिन दर्जन सभामा एमाले शीर्ष नेताहरूले शनिबार एकैदिन दर्जन चुनावी आमसभालाई सम्बोधन गरेका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता झलनाथ खनाल प्रदेश नम्बर १ तथा नेता माधवकुमार नेपाल प्रदेश नम्बर ७ को चुनावी आमसभामा व्यस्त बने । ० अध्यक्ष ओलीले विराटगर महानगरपालिकासहित मोरङको उर्लाबारी नगरपालिका, पथरी र बेलबारी नगर तथा इटहरी उपमहानगरपालिकाका छुट्टाछुट्टै आमसभालाई सम्बोधन गरेका छन् । नेपाल पूर्व र सुदूरपश्चिम दुवैतिर सक्रिय ० वरिष्ठ नेता माधवकुमार नेपालले शनिबारै कञ्चनपुरका तीनवटा चुनावी आमसभालाई सम्बोधन गरेका छन् । भीमदत्त र वेदकोट नगरपालिका तथा बेलडाँडी नगरपालिकाका छुट्टाछुट्टै चुनावी आमसभालाई उनले सम्बोधन गरे । ० नेता नेपाल आइतबार प्रदेश नम्बर १ को धरान उपमहानगरपालिका, मोरङको सुन्दरपुरहरैचा नगरपालिकाको चुनावी आमसभालाई सम्बोधन गर्न कञ्चनपुरबाट त्यहाँ पुग्ने उनका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए । ० एमाले उपाध्यक्ष वामदेव गौतम बाँकेको खजुरा नगर तथा उपमहासचिव विष्णु पौडेलले बुटवल उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेका छन् । महासचिव ईश्वर पोखरेलसहित सबै स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय तहका नेताहरू तीनवटै प्रदेशका अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने क्रममा जिल्ला दौडाहमा छन् । माओवादी केन्द्र दुई दिन सुदूरपश्चिममा बिताएर प्रचण्ड काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबारबाट चुनावी सभालाई सम्बोधन गर्न जिल्ला दौडाहामा निस्केका थिए । पूर्वको उदयपुर हुँदै उनी बिहीबार मध्यपश्चिमको बाँके, बर्दियालगायतका जिल्ला पुगेका थिए । शुक्रबार सुदूरपश्चिमको कैलाली, कञ्चनपुरलगायतका जिल्लाका चुनावी सभामा सहभागी भएर शनिबार बिहान काठमाडौं आइपुगेका छन् । आइतबार प्रचण्ड खोटाङ र भोजपुरका चुनावी सभालाई सम्बोधन गर्न निस्कँदै छन् । आइतबार प्रचण्ड खोटाङमा दुईवटा चुनावी सभा र भोजपुरको एउटा चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन् । रामबहादुर थापा पूर्वतिरै माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा नेता रामबहादुर थापा शनिबार दिनभर मोरङका तीनवटा चुनावी सभामा सहभागी भए । पूर्वी मोरङको बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे नगरपालिकाका चुनावी सभामा सहभागी भए । उनी आइतबार पनि १ नम्बर प्रदेशकै चुनावी सभामा सहभागी हुनेछन् । कृष्णबहादुर महरा रोल्पामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेका कृष्णबहादुर महरा गृहजिल्ला रोल्पाको चुनावी सभामा सहभागी भइरहेका छन् । उनी शनिबार त्यसतर्फ गएका हुन् । उनी १४ असारमा हुने निर्वाचनमा मत हालेर मात्र काठमाडौं फर्किनेछन् । दाङमा व्यस्त वर्षमान पुन माओवादी केन्द्रका ५ नम्बर प्रदेशका इन्चार्ज हुन् वर्षमान पुन अनन्त । उनी समग्र प्रदेशकै कार्यक्रममा सहभागी भइरहेका छन् । केही दिन गृहजिल्ला रोल्पाका चुनावी कार्यक्रममा रहेका पुन शुक्रबार र शनिबार दिनभर दाङको चुनावी कार्यक्रममा सहभागी भए । उनले शुक्रबार दाङका १० वटा चुनावी सभालाई सम्बोधन गरेका थिए । गृहमन्त्री जनार्दन शर्मा पनि दाङमै गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि जिल्लाका कार्यक्रमहरूमा सहभागी छन् । उनी शनिबार दाङतर्फ लागेका छन् । आइतबार उनी दाङका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । उपेन्द्र यादव संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव केही दिनदेखि मोरङमा सक्रियतापूर्वक चुनावी कार्यक्रममा सहभागी भइरहेका छन् । विराटनगर महानगरपालिकामा माओवादी केन्द्रसँग चुनावी तालमेलमा संघीय समाजवादी फोरमले मेयर पाएको छ । विराटनगरमा कांग्रेस एक्लै र एमाले–लोकतान्त्रिक फोरमको गठबन्धन मैदानमा छ । निर्वाचन अवधिभर यादव मोरङमै रहने उनका सहयोगीले बताएका छन् ।
९८ वर्षका वृद्ध वडाध्यक्षका उम्मेदवार !
काठमाडौं, असार ११ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेको वृद्धसमेत उम्मेदवार भएका छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाचुली गाउँपालिका–३ बाट वडाअध्यक्षमा उम्मेदवारी दिएका हुन् । १७ जेठ १९७६ मा जन्मिएका रावल कांग्रेसबाट उम्मेदवार बनेका हुन् । रावलको मतदाता नम्बर ०९९४२१७६ हो । ८० वर्ष उमेर कटेका ५१ जनाले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । यीमध्ये ६ जना स्वतन्त्र रुपमा उठेको आजको नयाँ पत्रिका मा खबर छ । बझाङको दुर्गाथलीका रावलजस्तै अन्य दुई उम्मेदवार पनि ९० कटेका छन् । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ मा सदस्यका उम्मेदवार टेकबहादुर तामाङ ९५ वर्षका छन् । उनी एमालेबाट उम्मेदवार भएका हुन् । त्यसैगरी सुनसरीको कोसी गाउँपलिकाको वडा नम्बर ७ मा सदस्यका लागि एमालेबाट उम्मेदवार बनेका सफिद मियाँ ९३ वर्षका छन् ।
चुनावमा देउरानी जेठानीको लडाइँ : सासुको टाउको दुखाइ
काठमाडौं, असार ११ । गुल्मी सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने, पल्लो घरमा कांग्रेसको । वल्लो र पल्लो घरका जेठानी देउरानी एउटै पदका लागि दुइृ पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् । यो दृश्य हो रेसुङ्गा नगरपालिका वडा नम्बर १ को । जहाँ जेठानी देउरानीबीच महिला सदस्यको लागि चुनावी भिडन्त हुँदैछ । कांग्रेसबाट जेठानी लक्ष्मी पाण्डे र एमालेले उनकी देउरानी गीता पाण्डेलाई उठाउको छ । ८० बर्षीया सासुलाई भने दुइ वटै बुहारीको उत्तिकै माया लाग्ने भएकाले कुन बुहारीलाई भोट दिने भन्ने समस्या भएको नागरिकमा खबर छ ।
जेलको भुइँमा पूर्वआइजिपीहरू ?
काठमाडौं, असार ११ । डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ । जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो । तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरूको सुत्ने कोठा बनेको छ । अदालतले भ्रष्टाचारी ठहर गरेपछि बिहीबार आफैँ उपस्थित भई उनीहरू जेल गएका थिए । तर, डिल्लीबजार जेलमा सुत्ने पर्याप्त ठाउँ छैन । जसका कारण पूर्वआइजिपीहरू लाइब्रेरी कोठामा सुत्न बाध्य छन् । पढ्ने कोठा भएकाले त्यहाँ सुत्ने खाटसमेत छैन । उनीहरू भुइँमै सुत्छन् । अाजको नयाँ पत्रिकामा खबर छ । खाग तस्करी पूर्वआइजिपीका कमान्डर हरेक जेलभित्र जेलर र प्रहरीको आन्तरिक व्यवस्थापन हुन्छ । जहाँ कैदीमध्येबाटै भाइ नाइके, नाइके र चौकीदार छानिन्छन् । उनीहरूले नै जेलभित्र अनुशासनलगायत सबै किसिमको व्यवस्थापन गर्छन् । डिल्लीबजार जेलमा खाग तस्करीको आरोपमा जेल परेका यामकुमार पुन चौकीदार छन् । उनै पुनको निर्देशनअनुसार पूर्वआइजिपीहरू जेलमा चल्नुपर्ने हुन्छ । बिहीबार पुनले जेलको नियमबारे पूर्वआइजिपीहरूलाई जानकारी गराएका थिए । जेलभित्रै मेसमा उनीहरू लाइन बसेर खाना खाने गरेका छन् । जेलमा आफूहरूले सबैलाई समान व्यवहार गर्ने जेलर कार्की बताउँछन् । कैद र जरिवानामा २० प्रतिशत छुट हुने भएकाले जेल चलान नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचारको अभियोगमा उनीहरूलाई विशेष र सर्वाेच्च अदालतले दोषी ठहर गरी कैद र जरिवानाको सजाय सुनाएको थियो । अदालतले फैसला गरेको ६० दिनभित्र उपस्थित भएमा कैद र जरिवानामा २० प्रतिशत छुट हुने प्रावधान रहेकाले उनीहरू बुधबार आफैँ अदालतमा उपस्थित भएका हुन् । सर्वाेच्चले १७ वैशाखमा सुडान भ्रष्टाचार मुद्दाको फैसला गर्दै तीन पूर्वआइजिपी, तीन पूर्वएआइजी र एक पूर्वएसएसपीलाई दोषी ठहर गरेको थियो । फैसलाको सूचना पाएको मितिले दुई महिनाभित्र उपस्थित भएमा छुट हुने प्रावधान छ । दुई महिनाको अवधि ननाघेकाले उनीहरू छुटका लागि चारजना अदालतमा उपस्थित भएका हुन् । सर्वाेच्चले राणालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तथा हेमबहादुर गुरुङलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । राणा ०६३ भदौदेखि ०६५ भदौसम्म तथा गुरुङ ०६५ भदौदेखि फागुनसम्म नेपाल प्रहरीको आइजिपी थिए । त्यस्तै, दीपकसिंह थाङदेनलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा दीपककुमार श्रेष्ठलाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला गरेको थियो । उनीहरू सुडान मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा प्रत्यक्ष संलग्न थिए । सोही मुद्दामा अदालतले दोषी ठहर गरेका पूर्वआइजिपी रमेशचन्द ठकुरी, पूर्वएआइजी श्यामसिंह थापा र पूर्वएसएसपी रवि राणा उपस्थित भएका छैनन् । को–को छन् जेलमा ? पूर्वआइजिपीहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वएआइजी दीपकसिंह थाङदेन र पूर्वडिआइजी दीपक श्रेष्ठ सोही कोठामा बस्दै आएका छन् । जेलमा नयाँ आउने कैदी–बन्दीले सुत्ने ठाउँ पाउँदैनन् । त्यसकारण उनीहरू लाइब्रेरीमै सुत्नुपर्छ । सुत्नका लागि उनीहरूले घरबाट खाट मगाएका छन् । ‘तत्कालका लागि उहाँहरूलाई लाइब्रेरीमा सुत्ने व्यवस्था मिलाएका छौँ,’ डिल्लीबजार कारागारका जेलर विष्णु कार्कीले भने, ‘अन्य कोठा खाली भएपछि उहाँहरूलाई सार्छाैँ ।’ डिल्लीबजारस्थित कारागारको क्षमता दुई सय २० जनाको हो । तर, जेलमा पाँच सय ७० कैदी–बन्दी छन् । जसकारण उनीहरूले सुत्ने ठाउँसमेत नपाएका हुन् । पूर्वआइजिपी बस्दै आएको कोठामा झ्यालसमेत छैन । गर्मीले त्यहाँ बस्न उनीहरूलाई निकै कठिन छ । राम्रो कोठामा सारिदिन उनीहरूले जेलरलाई आग्रह गर्दै आएका छन् । गफगाफ र अध्ययन डिल्लीबजार जेलमा रहेका पूर्वप्रहरी हाकिमहरूको दैनिकी प्रायः गफगाफमै बित्ने गरेको छ । त्यसबाहेक पत्रपत्रिका, किताब पढेर उनीहरूले दिन बताउने गरेका छन् । डिल्लीबजार कारागारका एक प्रहरीका अनुसार जेल बस्नुपरेकामा उनीहरूमा हीनताबोध देखिएको छैन ।
वैदेशिक रोजगारीमा गएका कामदारको स्वास्थ्य अवस्थाप्रति सरकार गम्भीर
काठमाडौं, असार ११ । मलेसियामा रोजगारीका लागि पुगेका नेपाली युवाको मृत्युको कारण पत्ता लगाउन सरकारी चिकित्सकसहितको टोली मलेसिया जाने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका युवाहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि सरकारले चासो देखाएको हो । प्रतिवर्ष चार सयभन्दा बढी मलेसियामा कामका लागि पुगेका कामदारको मृत्यु कुनै न कुनै रोगका कारण हुने गरेको अनुमान गरिएको छ । स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा.भोलाराम श्रेष्ठले मलेसिया सरकारले नेपाली कामदारको स्वास्थ्य अवस्था बुझ्न आउन भन्दै नेपाल सरकारलाई औपचारिक पत्र पठाएपछि विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ जान लागेको जानकारी दिए । आगामी शुक्रबार जाने सरकारी चिकित्सकसहितको टोलीले एक साता लगाएर मलेसियामा काम गर्ने नेपाली कामदार र सम्बन्धित कम्पनीका मालिकसँग छलफल गर्नेछ । ‘मलेसियामा काम गर्ने धेरै नेपाली युवा राति सुतेर बिहान उठ्ने समयमा मृत अवस्थामा फेला पर्ने गरेका छन्,’ श्रेष्ठले भने, ‘यस्ता घटना बढ्न थालेपछि मलेसियाली सरकारले हामीलाई अध्ययनका लागि बोलाएको हो । हामीले पाएको जानकारीअनुसार बढी कामदार हर्टअट्याकका कारण मृत्यु हुने गरेका छन् ।’ नयाँ पत्रिकामा खबर छ । पहिलोपटक अध्ययन हुँदै वैदेशिक रोजगारीमा गएका कामदारको स्वास्थ्य अवस्थाप्रति सरकार पछिल्लो समय गम्भीर बनेको छ । सरकारको आग्रहमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. केदार बराल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. रामेश कोइराला, स्वास्थ्य मन्त्रालयका सनद केसी, राजीव पोखरेललगायतको टोली मलेसिया जान लागेको हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार बरालले नेपाली कामदारको स्वास्थ्य अवस्थाबारे जानकारी लिने सरकारी टोली पहिलोपटक मलेसिया जान लागेको बताए । पहिलोपटक सरकारले पाँच सदस्यीय टोली नेपाली कामदारको स्वास्थ्य अवस्था बुझ्न फिल्डमै पठाउने निर्णय गरेको जानकारी दिए । ‘एयरपोर्टबाट विभिन्न रोगका कारण सिधै नेपाल फर्कनु परेको यथार्थलाई पनि नेपाली टोलीले केलाउनेछ,’ बरालले भने, ‘के कारण रहेछ, औपचारिक जानकारी लिएर फर्कनेछौँ ।’ हाल मलेसियामा सात लाखको हाराहारीमा नेपाली कामदार रहेको सरकारी तथ्यांक छ ।
भोट हाल्न आतुर छन ९९ वर्षीय बुद्धिप्रसाद
– प्रेम सुनार गुल्मी, असार १० । गुल्मी रुरु गाउँपालिकका बुद्धिप्रसाद गौतमको नागरिकतामा भुलवस २ वर्ष कम भएपनि अहिले चिना अनुसार उनको उमेर ठ्याक्कै ९९ सय वर्ष भयो । ९९ सय वर्षको उमेरमा पनि लौरो टेकेर हिड्डुल गर्न सक्ने उनी भोट हाल्न आतुर छन । गौतम भन्छन ‘भोट हाल्न त जसरी भए पनि जान परो नि ।’ सय वर्षको संघारमा पाईला टेक्दै गरेका गौतमले पहिलो पत्नीको मृत्यु भए पछि ४० वर्षको उमेरमा ९ वर्षिया बलिकासंग बिहे गरेका थिए । १४ वर्षको उमेरबाट सन्तान जन्माउ थालेकी उनकी श्रीमतीले दुई वर्षको अन्तरालमा १५ सन्तान जन्माएको बताइन । १५ सन्तान मध्ये ५ जनाको मृत्यु भइसक्यो १० सन्तान जिवितै छन । अहिले उनका शाखासन्तान सबै गर्दा अहिले उनको परिवारमा ६० भोट छन । सामान्य किसान परिवार जन्मे उर्केका गौतमले कहिल्लै राजनीति गरेनन् । हुर्के देखि अहिले सम्म खेती किशान भन्दा बाहिराको कुरा वास्ता नगर्ने उनलाई को को थिए आफ्नो गाउँका तत्कालिन प्रधानपञ्च , गाविस अध्यक्ष भन्ने कुरा समेत हेक्का नभएको बताउँछन् । भोेट हाल्न त धेरै पटक गईयो उनले भने–‘ खै को को के के भए हेक्का भएन् । तर यस पटकको चुनाव भने उनलाई राम्रैसित लागेको छ । ६० वटा भोटका धनी गौतम परिवारको भोटले सही नेतृत्व चुन्न सफल होस ।
काँग्रेस र एमालेबीच झडप, दुईजना घाइते
बाजुरा, असार १० । बुढीगङ्गा नगरपालिका–३ मा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच आज झडप हुँदा दुईजना काँग्रेस कार्यकर्ता घाइते भएका छन् । चुनावी प्रचार प्रसारका क्रममा सेलारावाडामा झडप भएको हो । घाइते हुनेमा ४२ वर्षीया बसु सेराला र २० वर्षीय वीरेन्द्र रौले घाइते भएको प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिनुभयो । प्रचारप्रसारका क्रममा काँग्रेस र एमाले कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको थियो । घाइते सेरालाको टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि अछामको बयलपाटा पठाइएको काँग्रेसका बुढीगङ्गा–३ का वडाध्यक्षका उम्मेदवार जयराज उपाध्यायले बताउनुभयो । रासस
अछामका मतदान अधिकृत कार्यक्षेत्र नगई एमाले नेताकै पछि–पछि
अछाम, असार १० । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय अछामले मतदान अधिकृतको जिम्मेवारी दिएका एक मतदान अधिकृत खटाएको क्षेत्रमा नगई सदरमुकाममा एमालेका नेता भेट्नमा व्यस्त छन । मतदान अधिकृत मनिराम बुढा शनिबार दिनभर नै मतदान केन्द्रमा नगई सदरमुकाम मंगलसेनमै एमाले उपाध्यक्ष भीम रावल लगायतका नेताहरुसँग भेटघाट तथा फोटो खिचाउनमै व्यस्त देखिन्छन् । राष्ट्र सेवक कर्मचारी भएर पनि जिम्मेवारी पाएको काम भन्दा बढी समय नेकपा एमालेको राजनीतिमा सक्रिय हुने बुढा असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि साँफेबगर नगरपालिका–७ रिडीकोटमा मतदान अधिकृतको रुपमा खटिएका हुन् । सरस्वती आधारभुत विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृत भएर खटिएका बुढा शनिबार दिउसो सम्म मतदान केन्द्रमा पुगेका छैनन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार बुढाले शुक्रबार नै मतपेटिका, मतपत्रलगायतका सामाग्री बुझेर लगिसकेका छन् । काँग्रेसको पकड मानिएको वडा भएकाले नै एमाले नेताहरुको बिषेश पहलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनिराज जस्ता कठ्ठर एमालेलाई मतदान अधिकृत बनाएर पठाएको चर्चा चलेको छ । समाचार तथा फोटो हाम्रा कुरा डटकमबाट
एमाले परित्याग गरेपछि आत्मसन्तुष्टि मिल्योः पूर्व मेयर राई
धरान, असार १० । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य ध्यानबहादुर राईले नेकपा एमाले परित्याग गरेपछि आत्मसन्तुष्टि भएको बताउनुभएको छ । एमालेका पूर्व नेता राई पार्टी परित्याग गरी केही समय अघि फोरम प्रवेश गर्नुभएको थियो । एमालेबाट वि.सं. २०४९ सालमा धरानको मेयरमा निर्वाचित राईले शनिवार धरानमा फोरम र नेकपा माओवादीले आयोजना गरेको चुनावी सभामा एमालेको व्यापक आलोचना गर्नुभयो । उहाँले एमाले काम गर्ने भन्दा पनि सपना मात्र बाँड्ने पार्टी भएको आरोप लगाउनुभयो । एमालेले अहिले पनि परिवर्तनलाई आत्मसात गर्न सकेको आरोप लगाउँदै पूर्वमेयर राईले भन्नुभयो,‘एमालेले जनजाती, दलित र पिछडा वर्गको भलो चाँहदैन।’ राईले आफु मेयर हुँदा धरानको विकास निर्माणमा धेरै योगदान गरेको दावी गर्दै उहाँले माओवादी केन्द्र र फोरमबाट संयुक्त उम्मेदवारी दिनुभएका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो । समाचार तथा फोटो अन्नपूर्ण पोष्ट डटकमबाट
६ वर्षदेखि अन्धकार गाउँ
अछाम, असार १० । सदरमुकाम मंगलसेन अन्धकार रहेका बेला आर्थिक वर्ष २०५७-०५८ सालबाटै झिलिमिली बिजुली चम्किने मंगलसेन नगरपालिका १३ बस्तीको डाँडिगडे गाँउ विगत ६ वर्षदेखि अन्धकार छ । १२ किलोवाट क्षमताको चाईराखोला लघुजलविद्युत आयोजनामार्फत डाँडिगडे गाँउका २०० घरधुरीले ७-८ वर्ष मज्जैले बिजुली बाले । तर मेसिनमा सामान्य खरावी आँउदा अवरुद्ध बनेको विद्युत सेवा ६ वर्षसम्म सुचारु हुन नसक्दा अहिले गाँउवासी अन्धकारमै बस्न बाध्य छन । ग्रामीण उर्जा विकास परियोजनामार्फत १२ लाख अनुदान र ७ लाखको जन श्रमदानबाट बनेको उक्त बिद्युतको पावर हाउसमा रहेको मुख्य मेसिनमा २०६८ मा सामान्य खरावी आएको थियो । तर मर्मतका लागि अपरेटरको नपाँउदा तत्कालिन अवस्थामा मर्मत गर्न नसकिएको र हाल आएर आयोजना पूर्णरुपमा ध्वस्त भईसकेको स्थानिय हिक्मत बोगटीले बताए । अब मर्मतभन्दा पनि आयोजनालाई नयाँ निर्माण गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । साँफेबगर सम्म मात्रै सडक पुगेका बेला डाँडिगडेका जनताले सिमेन्टदेखि मेसिन र अन्य सबै पार्टपूर्जा श्रमदानमा बोकेर ल्याएको स्मरण गर्दै स्थानिय राम बहादुर मिझार भन्छन- ‘आयोजना सामान्य मर्मत समेत हुन नसक्दा गाँउ नै अन्धकार भयो ।’ अहिले गाँउलेले श्रमदानमै गाडेका सालका पोलहरु भाँचिएको र बिद्युत तार पनि चुडिएको अवस्थामा छन । सदरमुकाम अन्धकारमा हुने बेला झिलिमिलि भएको गाँउमा सामान्य खराबीलाई समेत मर्मत गर्न नसक्दा पुरानै दुःख दोहोरिएको स्थानीय बताँउछन । बालबालिका पढ्न, मिल सञ्चालन गर्न लगायतका कार्यमा विद्युत हुदा सहज भएपनि अहिले गाँउ पुरानै अवस्थामा फर्किसकेको छ । बेला बेलामा उक्त बिद्युत आयोजनाका लागि मर्मत स्टमेट तयार पारिए पनि कुनै निकायवाट पहल हुन नसकेको गाविस सामाजिक परिचालक मिन बहादुर बोगटीको भनाई छ। अब नयाँ बनाउन र मर्मत गर्न बराबर लगानी लाग्ने भएकाले मर्मत भन्दापनि नयाँ निर्माणका लागि सरोकारवालाले पहल गर्नुपर्ने उनको भनाई छ ।
सहमतीमै संविधान संशोधन हुन्छ : प्रधानमन्त्री देउवा
कञ्चनपुर, असार १० । संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताए । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा (एमाले) सहितसँग छलफल गरी संविधान संशोधन गरिने जानकारी दिए । ‘मधेसीले केही माग राखेका छन्’, प्रधानमन्त्री देउवाले भने, ‘दुई तिहाइ नपुगी संविधान संशोधन हुन सक्दैन ।’ संविधान संशोधन नभए पनि आन्दोलनरत पक्ष स्थानीय तहको निर्वाचनमा भाग हुनेमा आफू आशावादी रहेको उनले बताए । उनले पञ्चेश्वर परियोजना बनाएर छाड्ने बताउँदै भने, ‘अपर कर्णाली र पश्चिमसेती बन्ने भइसके । पञ्चेश्वरको पनि डिपिआर तयार गरेर कामलाई अघि बढाउनेछु ।’ महाकाली नदीको चार लेनको पुल निर्माण चाँडै सुरु हुने जानकारी उनले दिए । चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुगेका देउवाले कञ्चनपुरका बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा पनि सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले आजै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम छ ।
काठमाडौंका मेयरले आफ्ना प्रतिनिधिहरुलाई मोवाइल किनिदिने निर्णय फिर्ता
काठमाडौँ, असार १० । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ३२ वटै वडाका अध्यक्ष तथा नगर कार्यपालिकाका ८ सदस्यसमेतलाई मोबाइल सेट किन्न ३० हजार रुपैयाँ दिने निर्णय हाललाई स्थगित गरेको बताएका छन् । मेयर शाक्यले आज जारी गरेको प्रेस विज्ञप्तिका अनुसारआफू र उपमेयरलाई मोबाइल किन्ने निर्णय यथावत राख्ने तर अन्यहरुका लागि भने उक्त निर्णय स्थगित गरिएको बताएका हुन् । मंगलबार बसेको नगरकार्यपालिकाको दोस्रो बैठकमार्फत मेयर शाक्यले गरेको ‘प्रतिनिधिहरुलाई मोवाइल किनिदिने निर्णयको’ सामाजिक सञ्जाल तथा चौतर्फी आलोचना भएको थियो ।
प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ ः प्रम
भीमदत्तनगर, असार १० । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने छ भन्नुभयो । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा (एमाले)सहितसँग छलफल गरी संविधान संशोधन गरिने जानकारी दिनुभयो । “मधेसीले केही माग राखेका छन् ।” प्रधानमन्त्री देउवाले भन्नुभयो, “दुई तिहाइ नपुगी संविधान संशोधन हुन सक्दैन ।” संविधान संशोधन नभए पनि आन्दोलनरत पक्ष स्थानीय तहको निर्वाचनमा भाग हुनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो । उहाँले पञ्चेश्वर परियोजना बनाएर छाड्ने बताउँदै भन्नुभयो, “अपर कर्णाली र पश्चिमसेती बन्ने भइसके । पञ्चेश्वरको पनि डिपिआर तयार गरेर कामलाई अघि बढाउनेछु ।” महाकाली नदीको चार लेनको पुल निर्माण चाँडै सुरु हुने जानकारी गराउनुभयो । नेपाली काँग्रेसले आयोजना गरिरहेका चुनावी सभालाई सम्बोधन गर्दै रहनुभएका काँग्रेस सभापति देउवाले आज कञ्चनपुरका बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा पनि सम्बोधन गर्ने तथा कञ्चनपुरपछि उहाँ आज नै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम तय भएको छ ।