मनोरञ्जन क्षेत्रका बालिका र किशोरी जोखिममा

मनोरञ्जन क्षेत्रका बालिका र किशोरी जोखिममा

काठमाडौँ, मंसिर १६ । काठमाडौँका विभिन्न क्षेत्रमा धेरै मानिसको आवतजावत हुने बजार, चोक, डान्सबार, डान्स रेस्टुरेन्ट, मसाजजस्ता मनोरञ्जन क्षेत्रका व्यवसायमा कार्यरत बालिका तथा श्रमजीवी महिला जोखिममा रहेको पाइएको छ ।

चेञ्ज नेपाल नामक सामाजिक संस्थाले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको समन्वय र सहकार्यमा हालै भएको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा काठमाडौँका केही खाजाघरमा अधिकांश किशोरी १८ वर्षभन्दा मुनि र शोषणमा पर्ने परेको पाइएका हुन् ।

कलंकी तथा त्यस आसपास क्षेत्रका होटलमा १८ वर्षभन्दा कम उमेरका किशोरीलाई काममा लगाइएको छ । अनुगमनका क्रममा भेटिएका करिब २० किशोरी काठमाडौँ उपत्यका बाहिरका थिए । अधिकांश किशोरीले आफ्नो उमेर ढाँटेर परिपक्व भएको उमेर (१८ भन्दा माथि) रहेको बताएका थिए ।

कम उमेरका भएका बालक तथा बालिकालाई एक जिल्लाबाट अर्को जिल्लामा स्थानान्तरण गर्दा सम्बन्धित जिल्लाका बालकल्याण समितिको सिफारिश आवश्यक पर्ने भए पनि त्यसको बेवास्ता गरी काठमाडौँ उपत्यका बाहिरबाट यहाँ बालिकाको ओसारपसार भइरहेकामा चेञ्ज नेपालका कार्यकारी निर्देशक प्रमेश प्रधानले चिन्ता व्यक्त गर्नुभयो । करिब १६ वर्षअगाडि सो व्यवसायका सञ्चालकले गर्वका साथ बालिका तथा महिलालाई रोजगार दिएको बताए पनि अहिले काम गर्ने किशोरीको सङ्ख्यालाई लुकाउने गरेका छन् ।

व्यावसायिक रुपमा यौनशोषण हुने सो क्षेत्रमा कम उमेरका बालिका र किशोरीको उच्च माग रहेको छ । उनीहरुको रुप, रङ र उमेरका आधारमा पारिश्रमिक निर्धारण हुने गरेको छ । यस्ता बालिकाका ग्राहकका रुपमा विभिन्न उमेर समूहका पुरुष तथा भरियादेखि प्राध्यापकसम्म फेला परेका छन् । उक्त क्षेत्रमा भयावह अवस्था विकास हुन थालेकाले स्थानीय तहका सरकारले यस्तो स्थितिलाई समयमै रोक्न आवश्यक देखिएको बताइएको छ ।

महिला तथा बालबालिका विकास कार्यालयका प्रमुख महिला अधिकारी अनिता अधिकारीले बालिका र किशोरीलाई प्रलोभनमा पारेर यौन कार्यमा लगाउनु गम्भीर अपराध भएको बताउँदै त्यस्ता कार्य गर्ने व्यक्ति तथा समूहलाई कानूनबमोजिम दण्डित गर्नुपर्नेमा जोड दिनुभयो । डान्स बार, डान्स रेस्टुरेन्ट, मसाज पार्लरजस्ता मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमजीवी महिलाको पेशालाई मर्यादित बनाउनका लागि गैरसरकारी संघसंस्था तथा सरोकार पक्षबाट भएको प्रयासले सर्वोच्च अदालतबाट २०६५ सालमा निर्देशिका तयार गरिएको छ ।

त्यस क्षेत्रमा सञ्चालन भएका व्यवसायको अनुगमन र व्यवसायीलाई सुझाव प्रदान गर्नेलगायत नियम बनाइएको छ । मनोरञ्जन क्षेत्रमा सञ्चालित व्यवसायलाई मर्यादित गर्न र श्रमजीवी महिलाको अधिकारका लागि सरकारी तथा गैरसरकारी निकायले गर्नुपर्ने कामका सम्बन्धमा कार्ययोजना बनाएर सोहीबमोजिम काम भइरहेको महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।

म्हिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा क्रियाशील पत्रकार रुपा शर्माले उक्त क्षेत्रमा काम गर्ने बालिका, किशोरी तथा महिलाका अवस्थाबारे समाचार संकलन गर्दा विभिन्न क्षेत्रबाट प्रलोभनका साथै धम्की आउने गरेको जानकारी दिनुभयो ।

सन् २००३ मा बालबालिका तथा महिला शोषणविरुद्ध समाजमा जनचेतना फैलाएर त्यसको न्यूनीकरण गर्ने उद्देश्यले स्थापित चेञ्ज नेपालले अहिलेसम्म त्यस क्षेत्रमा कार्यरत करिब सात हजार बालिका र किशोरी पहिचान गरी करिब एक हजार जनालाई सिलाइ, बुनाइ, कटाइलगायत व्यावसायिक सीप र तालीम उपलब्ध गराएर परिवारमा मिलन गराइएको जनाएको छ । उनीहरुलाई सिलाइ यन्त्र प्रदान गरिनाका साथै तरकारी र फलफूल पसल खोल्न आर्थिक सहयोग उपलब्ध गराएको छ ।

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

लोकप्रिय