‘कर्णाली विकास खान्या चलन बेरुजुबाटै देखिन्छ’

सुर्खेत, फागुन ७। समग्र नेपालको तुलनामा कर्णालीमा गरिबी दर उच्च छ। तथ्याङ्कअनुसार कर्णालीमा अझै पनि २७ प्रतिशत जनसंख्या उच्च गरिबीको रेखामुनि छ। कर्णालीको गरिबीलाई यहाँको विकाससँग पनि जोडेर हेरिन्छ। कर्णालीमा विकास गर्नेभन्दा पनि विकास खाने चलन बढी छ। अर्थात् विकासका योजना अनियमितता र भ्रष्टाचार छ। कर्णालीमा देखिएको विकास खाने चलन बेरुजुको अवस्थाबाट देखिने विकासविद् रमेश अधिकारीले बताउँछन्।
‘कर्णालीमा सबैभन्दा धेरै बेरुजु निस्किएको छ, तीमध्ये केही बेरुजु विकास खान्याको हो,’ कर्णाली उत्सवको ‘विकास अन्र्या विकास खान्या’ सत्रमा वक्ताका रुपमा सहभागी अधिकारीले भने, ‘यहाँ विकास गरिएको मात्र छैन, खाईएको पनि छ, कर्णालीमा पुँजीगत खर्च गर्न नसक्नु पनि अर्को विकास हुन नसक्नुको कारण हो।’
कर्णालीमा विकास गर्नका लागि संघीय राज्यले कर्णालीलाई गर्ने व्यवहार बदल्नुपर्ने र कर्णाली भित्रका सरकारले पनि आफ्नो औचित्य खोज्नुपर्ने उनले औंल्याए। कर्णालीमा सबै किसिमको विकास हुन बाँकी रहेको उनले बताए। कर्णालीका नागरिक पनि सम्मानपूर्वक अगाडि बढ्न पाउनेगरि राज्यले व्यवहार गर्नुपर्ने अधिकारीले बताउ। ‘राज्यले आफूलाई शासकको रुपमा सोच्यो भने नागरिक टाढा हुन्छन्, नेपालमा भएको त्यही हो, कर्णाली पनि अहिले यस्तै कारणले राज्यसँग नजिक छैन।’ उनले भने। पहिले र अहिलेको कर्णाली फरक भएकाले यहाँका विकासका लागि संघीय सरकारले कर्णालीका लागि फरक किसिमबाट बजेट र योजना निर्माण गर्नुपर्ने कर्णाली प्रदेश सभा सदस्य रणसिंह परियारले बताए।
‘कर्णालीका जनता र नेता आफै विकास वादी हुन्, कर्णाली खस राज्य हो, हिजो राज्य सञ्चालन भएकाले विकास कसरी गर्न सकिन्छ, योजना कसरी अगाडि बढाउनुपर्छ भनेर कर्णालीले जानेको छ,’ उनले भने, ‘कर्णालीमा कुनै सरकारले नहेरेका बेला पनि विगतमा हामीले आफैंले विकास ग¥यौं, अबको आधुनिक विकास कालागि केन्द्र सरकारले विशेष ढंगले हेर्नुपर्छ।’ प्रतिनिधि सभा सदस्य विनिता कठायतले राज्यको प्रतिनिधित्व गर्ने सबै कर्णाली र कर्णालीको विकासमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताईन्। अहिले सिर्जना भएको ‘कर्णालीमा विकास भएको छ त’ भन्ने भाष्यले कर्णालीमा हुनुपर्ने जति विकास नभएको उनी बताउँछिन्।
‘भ्रष्टाचार न्युनिकरण गर्न नसकिएका देशमा पनि विकास राम्रो भएको छ, किनभने ती देशहरुमा विकासमा केन्द्रित हुने चलन छ,’ उनले भनिन्, ‘कर्णालीको सन्दर्भमा अहिलेसम्म विद्युतको राष्ट्रिय प्रसारण लाईन नै बन्न सकेको छैन, कर्णाली राजमार्गलाई प्राथमिकतामा राखिएकै छैन, अब सबै कर्णाली केन्द्रित हुन जरुरी छ।’ अब कर्णालीले समानतालाइ बिर्सिएर समतामुलक विकास खोज्नुपर्नेमा उनले जोड दिईन्। कर्णालीलाई संघीय सरकारले हेर्ने नजर नै फरक रहेको उनले बताईन्।
कर्णालीको विकास खाने चलन अन्त्य गरेर विकास गर्ने वानी बसाल्न जनप्रतिनिधिहरु एकजुट हुनुपर्नेमा सांसद कठायतले औंल्याइन्। ‘हामी जुम्लाबाट चार जना सांसद छौं, हामी मिलेर जुम्लाको विकास गर्न सक्छौं,’ उनले भनिन्, ‘हामी संसदमा भएका दशवटै जिल्लाका प्रतिनिधि एकजुट भएर योजना बनाएर अघि बढ्यौं भने साँच्चिकै कर्णालीको विाकस गर्न सकिन्छ, यसमा कसैल मैंले वा मेरो भनेर भन्नु हुँदैन।’
किसानको साग किनेर गुन्द्रुक बनाउँदै माओवादीले नेतृत्व गरेको भुम्लु गाउँपालिका
काभ्रेपलाञ्चोक । गत स्थानीय निर्वाचनमा नेकपा(माओवादी केन्द्र)बाट उम्मेदवार भई अध्यक्ष निर्वाचित भएका पालिका अध्यक्ष प्रेम बहादुर भुजेल नेतृत्वको काभ्रे जिल्लको भुम्लु गाउँपालिले स्थानीय उत्पादनलाई ब्राण्डिङ गरेर बजारीकरण गर्ने भएको छ । यसअघि मोहीको ब्राण्डिङ गर्ने विशेष प्रस्ताव पारित गरेर मोही ब्रान्डिङ गर्ने प्रक्रिया थालेको यसपालिकाले अब स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ। साग विक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाईने गाउँपालिकाले जनाएको छ । सागको दररेट तोकेर गाउँपालिकाले स्थानीयसँग साग लिन सार्वजनिक अपीलसमेत गरेको हो । प्रतिकिलो रु २५ का दरले किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना बनाइएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले बताउनुभयो । भुम्लुमा उत्पादित साग स्थानीय बजारमा खपत नहुने र दोलालघात तथा जिल्लाको अन्य बजारमा लैजाँदा महङ्गो भाडा पर्ने भएपछि गाउँपपालिकाले खरिद गर्न लागेको हो । हाल रहेको साग तथा प्रतिबर्ष कति उत्पादन गर्न सकिने परिणामसहित गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन स्थानीय किसानलाई अनुरोध गरेको छ ।काभ्रेको बजारमा पर्ने खुद्रा मूल्य अनुसार गाउँपालिकाले स्थानीयसँग साग खरिद गर्ने छ । गाउँपालिकाकै ब्यवस्थापनमा गुन्द्रुक बनाएर विक्री गरिने छ । बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको पेय पदार्थको सेवन नगर्ने अठोटका साथ स्थानीय उत्पादन मोहीको ब्राण्डिङ गरी मोही–प्रवर्द्धन गर्न लागिएको हो। जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १५औं अविधेशनको दोस्रो नगरसभा बैठकले पारित गरी मोहीको ब्यवसायिक उत्पादन थालेपछि मागको आधारमा लेबल लगाएर बजारमा लगिने भएकोल छ। नगरमा उत्पादन भएको दुध स्थानीय बजारमा विक्री भई दैनिक ३५ देखि ४० हजार लिटर दूध बाहिर पठाइने गरिएको नगर पशुपंक्षी विकास शाखाले जनाएको छ।
सल्यान महोत्सव स्थलमा आगलागी, ८० स्टल नष्ट
सल्यान । सल्यानको श्री नगरमा जारी महोत्सवमा राखिएका स्टलमा मध्यराति आगलागी भएको छ । आगलागीबाट ८० वटा स्टल जलेर नष्ट भएका छन् । महोत्सवमा विभिन्न किसिमका १३८ स्टल राखिएका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानको आयोजनामा यहीँ माघ १८ गतेदेखि व्यापारिक केन्द्र श्रीनगरमा महोत्सव सञ्चालन गरिएको थियो । गएराती ११ बजे सुरु भएको आगलागी स्थानीय, नेपाली सेना र प्रहरीले राति १ बजे नियन्त्रणमा लिएको महोत्सव आयोजक समितिले जनाएको छ । आगलागीका कारण महोत्सवमा झण्डै १० करोड बराबरको क्षति भएको बताइएको छ । अपरिचित व्यक्तिले स्टल बाहिरबाटै आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
भरतपुरका किशोरीहरुलाई एचपिभी खोप अभियान सुरु, मेयर दाहालद्धारा उद्घाटन
चितवन । भरतपुरका सामुदायिक र संस्थागत विद्यालयमा अध्यययन गर्ने किशोरीलाई एचपिभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभी हो । विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले श्री मावि गौरीगञ्जबाट अभियानको उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले यो अभियानमा कक्षा ६ देखि १० मा पढ्ने सम्पूर्ण छात्राहरुलाई अनिवार्य सहभागी हुन आग्रह गर्नुभयो । भरतपुर महानगरले मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने कार्य गरिसेको र अब भने विभिन्न उमेर समूहको लागि यस्तै अभियान ल्याउने बताउनुभयो । अभियान फागुन २ गतेसम्म अर्थात् १० दिनसम्म चल्नेछ । विद्यालय जाने ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका छात्राहरुलाई खोप लगाउन लागिएको स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो । भरतपुर महानगरका स्वास्थ्य अधिकृत केशव भट्टका अनुसार विद्यालयका अध्ययरत १६ हजार १ सय ६९ र विद्यालय बाहिरा रहेका ४ सय २३ गरी १६ हजार ५ सय ९२ जनालाई खोप लगाइने छ । खोप सेवाका लागि १ सय ९३ खोप केन्द्रहरु, २ सय १ जना स्वास्थ्यकर्मी र ४ सय २ जना स्वास्थ्यकर्मी खटिने छन् । आगामी वर्षदेखि कक्षा ६ मा अध्ययन गर्ने छात्रालाई फागुन महिनामा नियमित खोप दिने तालिका रहेको अधिकृत भट्टले जानकारी दिनुभयो ।
तातोपानी कुण्डको संरक्षण आवश्यकः प्रचण्ड
म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताउनुभएको छ । म्याग्दीको वेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म विहानी पैदल यात्रा गर्नुभएका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा जोड दिनुभएको हो । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । आफूले सरकारको नेतृत्व गर्दैगर्दा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्धलाई प्राथमिकता दिएको र आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै उहाँले यो योजना बहुवर्षीय टेण्डरमा गएकाले तटबन्ध निर्माण सुनिश्चितता भएको बताउनुभयो । आफू केही वर्षअघि केही मन्त्रीहरुसहित तातोपानी कुण्डको निरीक्षणमा आएको र त्यतिबेला यसको निकै प्रचार पनि भएको उल्लेख गर्दै उहाँले यहाँको समस्याको बारेमा पनि प्रारम्भिक जानकारी आफूलाई भएको बताउनुभयो । अहिले दोस्रोपटक आउँदा प्राविधिक संरचनामा केही सुधार आएको र तातोपानीका मुहानहरु अरु पनि भेटिएको जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । बेनी–ढोरपाटन सडक निर्माण पनि आफूहरुको प्राथमिकतामा रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको काम अघि बढिसकेको बताउनुभयो । ‘म्याग्दी जिल्लाको समग्र विकासमा हाम्रो ध्यान गएको छ, खोलाको सतह अझ गहिरिन नपाओस् भनेर स्थानीयवासीले राखेको चेकड्याम निर्माणको प्रस्तावप्रति हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने छौं’– उहाँले भन्नुभयो । सो क्रममा उहाँले स्थानीयबासीसँग अन्तर्क्रिया पनि गर्नुभएको थियो ।