साना हिमतालका ठूलाे त्रास, पूर्वसूचना प्रणालीको अभाव

साना हिमतालका ठूलाे त्रास, पूर्वसूचना प्रणालीको अभाव

काठमाडौं । गत असार २४ बिहान ३ः ०० बजेतिर गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य सोनामछिरिङ घलेले एक्कासि जमिन कम्पन भएको महसुस गरे । त्यो दिन विसं २०७२ वैशाख १२ गतेको भूकम्प बिर्साउने गरी त्यस क्षेत्रको जमिनमा कम्पन पैदा भएको थियो ।

घले भूकम्प गयो कि क्या हो भनेर सोच्दै थिए । यी कुरा मनमा खेलाउन नपाउँदै खोला गडगडाएको सुनियो । ‘बेस्सरी जमिन हल्लाइरहेको थियो, मैले त भुइँचालो गयो कि भन्ठाने । एक छिनपछि त खोला गडगडाएको सुनियो’, उनले त्यस दिनको अवस्था सुनाउँदै भने-  ‘पानी परेको छैन, कसरी बाढी आयो होला, माथि तिब्बततिर पानी परेछ कि क्या हो भनेर अनुमान लगाए । मानिसहरू भागदौड गर्न थाले, म पनि घरबाट निस्किएँ ।’

त्यसको भोलिपल्ट उनलाई थाहा भयो, नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा अचानक बाढी गएको रहेछ भनेर । बाढीले बाटो भत्काएछ । मितेरी पुल नै बगाएछ । 

बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना बेपत्ता र सात जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ । रसुवागढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेछ । एक सयभन्दा बढी इलेक्ट्रिक सवारीसाधन बढीसँगै बगेको छ । चीनसँगको व्यापारिक नाका अझै अवरूद्ध छ ।

वडासदस्य घलेका अनुसार विसं २०१८ मा पनि यस्तै भीषण बाढी आएको थियो । तर त्यो बेला अहिलेजस्तो टिमुरेमा बस्ती बसेको थिएन । खोलाको माथिमाथि घर तथा बस्ती भएकाले क्षति पनि भएन । त्यो बाढीको असर खासै देख्न पाइएन । 

पछिल्लो पटक गत असार २४ र त्यसको १० दिनपछि पनि गएको भेलबाढीले टुटाएको केरूङसँगको सडक पहुँच अझ जोडिन सकेको छैन । भेलबाढीपछि सीमावर्ती बजार ठप्प छ । जनजीवन उस्तै त्रस्त छ । ‘ठूलो बाढी आउने त्रासमा स्थानीय बसेका छन् । कति त विस्थापित पनि भएसकेका छन्’, घलेले भने ।

गत वर्षको साउन ३२ गते दिउँसो १ः३० बजे सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा पनि अचानक ठूलो भेलबाढी आयो । त्यहाँका स्थानीयहरूले यसरी एक्कासि भेलबाढी आउला र गाउँ नै एकै झट्कामा सखाप पार्ला भनेर चिताएकै थिएनन् ।

त्यहाँका स्थानीयका अनुसार त्यस दिन थामे क्षेत्रमा ठूलो पानी परेको थिएन । उत्तरतिर आकाश भने मडारिएको थियो । अनिष्टको कुनै सङ्केत थिएन । यद्यपि गाउँको शिर क्षेत्रबाट मडारिँदै आएको भेलबाढीले गाउँ नै बगरमा परिणत गराइदियो । त्यो अप्रिय एवं अकल्पनीय घटनाले जो कोहीको मन भक्कानिन्छ । 

त्यो घटना सम्झँदा खुम्बु पासाङल्हामु गाउँपालिकी उपाध्यक्ष टासी ल्हामु शेर्पालाई सपनाजस्तै लाग्छ । ‘हामी जलवायुजन्य जोखिमको चपेटामा छौँ’, उनी भन्छिन्, ‘कुन दिन हिमपहिरोकै शिकार बन्नुपर्ने हो भन्ने चिन्तामा छन्, यहाँका बासिन्दा । हामीलाई पनि यस्तै लागिरहन्छ ।’

त्यस्तै खुम्बु पासाङल्हामु गाउँपालिका थामेकी बासिन्दा याङ्गी डोल्मा शेर्पा भन्छिन्, ‘हेर्दाहेर्दै क्षणभरको बाढीले बगरमा परिणत भएको गाउँको दृश्यले अझै तर्साइरहेको छ । नसोचेको घटना भयो त्यस दिन । दिउँसो भएकाले धन्न भागेर ज्यान जोगाइयो । त्यस घटनाले कतिले त  गाउँ छाडेर पनि हिँड्नुभयो ।’

पर्यटन व्यवसायीसमेत रहेका आङछिरिङ शेर्पा उमेरले ७० वर्ष कटिसके । सोलुखुम्बुमा जन्मिएका शेर्पा हिमाली क्षेत्रमा पर्न सक्ने जलवायु परिवर्तनजन्य असरका कारण उत्तिकै चिन्तामा देखिन्छन् । उनको अनुहारमै झल्किएको छ, ‘सम्भावित विपद्को त्रास ।’

विगत र वर्तमानको घटनामा देखिएको अन्तर भएको आङछिरिङ बताउँछन् । उनले भने, ‘भन्दा मान्छेले नपत्याउलान्, त्यो इम्जा छो हिमताल थिएन । सानो हिमनदी थियो । हामी केटाकेटी हुँदा चिप्लेटी खेल्न जान्थ्यौँ । सन् १९६२ तिर सानो कुवाजस्तो बन्यो । अहिले त त्यति ठूलो ताल बनिसक्यो, हिमालको हिउँ सर्लक्कै पग्लिएको छ  ।’ 

पछिल्ला दुई वर्षमा लगातारजस्तो हिमताल विस्फोटका घटना भएका छन् । गत वर्ष सोलुखुम्बुको थामेमा हिमताल विस्फोटको घटना भयो । लगत्तै दोलखाको रोल्वालिङ क्षेत्रमा पनि भीषण भेलबाढी आएर एक जना होटल व्यवसायी महिला बेपत्ता भए । त्यसपछि गोरखाको मनास्लु क्षेत्रमा पनि हिमताल विस्फोट भयो ।

पछिल्लो समय रसुवामा निम्तिएको विध्वंश र मुस्ताङमा पटकपटक गइरहेको भेलबाढीले स–साना हिमतालहरू पनि जोखिमपूर्ण बन्दै गएको अनुसन्धानकर्ताले निष्कर्ष निकालेका छन् ।

रसुवा भेलबाढीको स्रोत नै ल्हेन्दे खोलाको जलाधार क्षेत्रमा रहेको सुप्राग्लेसियल लेक (हिमनदीको माथिल्लो सतहको बरफ पग्लिएर बन्ने ससाना पोखरीहरू) विस्फोट हुँदा बाढी आएको बताउँछन् जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली । 

यद्यपि विभागले यसबारे विस्तृत अध्ययन गरेको छैन । मुस्ताङमा पनि कालो लेदोसहितको बाढी आएको छ । भेलबाढीले स्थानीय बाटाघाटाको काठेपुल बगाएको  छ । त्यहाँ पनि बाढीको कारणबारे कुनै अध्ययन, अन्वेषण हुन सकेको छैन ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिहरूले पनि चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको ‘सुप्राग्लेसियल ताल’ फुटेर रसुवाको भोटेकोसीमा बाढी आएको पुष्टि गरेका छन् ।

हालैका यी घटनाहरू (रसुवाको बाढी र सगरमाथाको थामे क्षेत्रको विस्फोट) नयाँ बनेका साना, सुप्राग्लेसियर तालहरू बाट भएको इसिमोडले पुष्टि गरिसकेको छ । 

इसिमोडले १९८५ देखि हिमनदी, हिमताल र त्यसमाथिको विपद् अनुगमन गर्दै आएको छ । त्यसबेला सोलुखुम्बुस्थित खुम्बुमा डिज–छो ताल फुट्दा जलविद्युत् आयोजना बगाएर झन्डै ३० लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति पुर्याएको थियो ।

त्यसपछि इसिमोडले उक्त घटनाको मूल्याङ्कन गर्नुका साथै सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्र भ्रेमाथाङबाट उत्तपत्ति भएको भेलबाढी, उत्तरी गोरखाको वीरेन्द्र ताल, हुम्ला र भारतको सिक्किमस्थित चामोली, दक्षिण लोनाकमा आएका विपद्को समेत अध्ययन गरेको थियो ।

तापमान वृद्धिको जोखिम

तापमान वृद्धिका कारण हिमनदीजन्य घटनामा वृद्धि भएको बताउनुहुन्छ हिमतालविज्ञ शरदप्रसाद जोशी ।  ‘साना, छोटो समय टिक्ने तालहरूमा पनि अनुसन्धान गर्न आवश्यक  छ’, उनले भने, ‘छोटो अवधिमा उच्च तापमान वृद्धिका कारण बरफ खसाल्ने, हिमतालको प्राकृतिक बाँध (मोरेन) भत्कने, पर्माफ्रोस्ट (हिमोढ) भत्कने, उच्च हिमाली क्षेत्रमा चट्टानहरूरू खस्ने, जमिन भासिने घटना निम्त्याउँछ ।’

इसिमोडका अनुसार हालका घटनाहरूमा बाढीले  गिट्टी, बालुवा, माटो र ठूला ढुङ्गा बोकेको देखिन्छ र जसले पानी मात्र भएको बाढीको तुलनामा धेरै क्षति पुर्याउँछ । हिमाली क्षेत्रमा हिउँको सट्टा वर्षा बढी हुँदा यस्ता घटनाहरू बढ्ने इसिमोडको निष्कर्ष रहेको छ ।  

विश्वव्यापी तापक्रम निरन्तर बढ्दै जाँदा हिमतालमा सञ्चित हिउँ क्रमशः पग्लने र हिमपात कम हुने तथा हिमताल विष्फोटजस्ता विपद्का सम्भावना बढ्दै गएको जलवायुविद् मञ्जित ढकालले बताए ।

उनका अनुसार तापक्रम वृद्धिले हिमालको स्थायित्वमा गम्भीर चुनौती खडा गरेको छ । ‘तापक्रम बढ्दा हिमालको हिउँ पग्लने खतरा उच्च हुन्छ, हिमताल विष्फोट भएर धनजनको क्षति गर्ने खतरा बढाउछ’, ढकालले भने, ‘त्यसैले अन्तरराष्ट्रिय मञ्चहरूमा पर्वत संरक्षणलाई केन्द्रविन्दु बनाएर हिमालसम्बन्धी मुद्दा निरन्तर उठाउन जरुरी छ । यसबारे बहस, विमर्श र पैरवी अत्यावश्यक बन्दै गएको छ ।’

विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) द्वारा प्रकाशित २०२४ को जलवायु अवस्था प्रतिवेदनले जलवायुजन्य सङ्कटलाई उजागर गराएको छ । सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १.४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १.३ डिग्री सेल्सियस मानव सिर्जित रूपमा तापमान वृद्धि भएको समेत अध्यायनले देखाएको छ ।  

इसिमोडको अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ ।
 
नेपालका दुई छिमेकी मुलुक भारत र चीनमा पर्ने हिमताल विष्फोट हुँदा पनि नेपाललाई समेत असर पर्ने विज्ञहरूको भनाइ छ । सन् २०२१ को फेब्रुअरीमा भारतको उत्तराखण्डमा पनि हिमताल विस्फोटको घटना भएको थियो । उत्तराखण्डको चमोली जिल्लास्थित नन्दादेवी हिमनदी क्षेत्रमा भएको उक्त हिमताल विस्फोटले धौलीगङ्गा नदीमा ठूलो भेलबाढी निम्त्यायो ।

यस भेलबाढीमा करिब २०० मानिस बेपत्ता भए, जसमध्ये २६ जनाको मृत्यु भएको अभिलेख भेटिन्छ । उक्त विपद्ले ऋषिगङ्गा र धौलीगङ्गा जलविद्युत् आयोजना दुवैमा ठूलो क्षति पुर्याएको थियो । तर, यसबारे विस्तृत अध्ययन भने अझै भएको छैन ।

यसअघि सन् २०१३ को जुन महिनामा उत्तराखण्डको केदारनाथ क्षेत्रमा आएको भेलबाढी पनि हिमताल विस्फोटसँग जोडेर व्याख्या गरिन्छ । गान्धी सरोवर (हिमताल) मा अत्यधिक वर्षा र हिमनदी पग्लनु उक्त विपद्को कारण भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका थिए ।

यस्तै, सन् २०२३ को अक्टोबरमा सिक्किमको साउथ ल्होन्जक हिमताल फुट्दा टिस्टा नदीमा ठूलो बाढी आएको थियो । यस घटनाले टिस्टा नदी किनारका बस्ती, सडक र जलविद्युत् आयोजना सबैमा ठूलो क्षति पुर्यायो । यो हिमताल विस्फोट जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण हिमनदी पग्लने प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएको मानिन्छ ।

जोखिम बढ्न सक्ने

गत असारमा मात्रै नेपालमा मात्र दुईवटा बाढीः रसुवा र माथिल्लो मुस्ताङमा देखा परेका थिए । अध्ययनले २१ औँ शताब्दीको अन्त्यसम्ममा हिमनदी विस्फोटको जोखिम तीन गुणा बढ्ने अनुमान गरेको छ ।

इसिमोडका विपद् जोखिम न्यूनीकरण प्रमुख शाश्वत सन्याल हिमनदीजन्य विपद्को आवृत्ति देखेर चकित बनाएको बताउँछन् । ‘सन् २००० को दशकमा यस्ता घटनाहरू हिन्दूकुश–हिमालय क्षेत्रमा ५ देखि १० वर्षमा एकपटक हुने अपेक्षा गरिए पनि पछिल्लो समय बढ्दै गएको छ । सन् २०२५ को मे र जुन दुई महिना मात्रै हिमनदीजन्य बाढी तीनवटा देशमा (नेपालको हुम्लास्थित लिमि, अफगानिस्तानको एन्डोराब उपत्यका, पाकिस्तानको चित्राल–हुनजा) आएको छ’, उनले भने ।

पूर्वसूचना प्रणालीको अभाव

जल तथा मौसम विज्ञान विभागका अनुसार हालसम्म इम्जा र छो–रोल्पाबाहेक अरू साना तालमा पूर्वसूचना प्रणाली विकास गरिएकै छैन । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख अनिल पोखरेलले चीनतर्फबाट सूचना पाउनै मुस्किल रहेको बताउँछन् ।

उनले सीमापार हुने विपद्का घटनाको जोखिम न्यूनीकरण गर्न सूचना आदान–प्रदानलाई व्यवस्थित बनाउनुपर्ने खाँचो केरूङको विध्वंशले पनि देखाएको बताए । त्यहाँ पूर्वसूचना प्रणाली विकास गर्न सकेको भए मितेरी पुल जोगाउन नसके पनि मानवीय क्षति रोक्न सकिने उनको भनाइ छ ।

जोखिमपूर्ण हिमताल

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एण्ड तिब्बत, चाइना’ शीर्षकको अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा रहेका ४७ वटा हिमताल फुट्न सक्ने जोखिम रहेको देखाएको छ । 

युएनडिपी र इसिमोडले संयुक्त रूपमा गरको उक्त अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा पर्ने ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख छ । यी हिमतालहरू जति बेलामा पनि फुट्न सक्ने र नेपालले ठूलो धनजनको क्षति बेहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त अध्ययन अनुसार यीमध्ये २५ वटा चीनमा, २१ नेपाल र एउटा भारतमा पर्छ ।

जोखिम घटाउन लगानीको अभाव 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराज जोशीले ४७ वटा ठूला हिमताल जोखिमको रहेको र यी हिमतालहरू फुटेमा मुलुकले खर्बौं आर्थिक नोक्सानीका साथै मानवीय क्षति बेहोर्नुपर्ने बताएका छन् । ‘जोखिममा रहेका हिमतालमध्ये २५ चीनमा छन्  । २१ वटा नेपालभित्रै छन् भने एक ओटा भारतमा छ’, उनले भने, ‘यी हिमतालको जोखिम न्यूनीकरणका लगानीको अभाव छ ।’ 

हरित जलवायु कोष (जिसएफ) बाट नेपालले जोखिममा रहेका चार वटा हिमतालको सतह घटाउनका लागि करिब रु पाँच अर्बको अनुदान पाउने निश्चित भएको छ । नेपालबाट पेस भएको ‘हिमाली जलाधारमा हुने जलवायुजन्य पहिरो र हिमताल विष्फोटको जोखिमबाट धनजनको रक्षा’ शीर्षकको परियोजना स्वीकृत भएसँगै अव जोखिममा रहेका चार हिमतालका जोखिम न्यूनीकरण गर्न लागत व्यवस्थापन भएको हो । 

यस परियोजनमा नेपाल सरकार, युएनडिपी, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घले एक करोड ३८ लाख अमेरिकी डलरअर्थात् करिब रु दुई अर्ब सहलगानी गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालले यसअघि सोलुखुम्बुको इम्जा तालमा ३.४ मिटर पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरेको थियो ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।