प्राज्ञिक लेखन कार्यशालाः  अनुसन्धानमा मौलिक पद्धतिको खोजी

प्राज्ञिक लेखन कार्यशालाः  अनुसन्धानमा मौलिक पद्धतिको खोजी

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अनुसन्धान, अभिलेख तथा प्रकाशन विभागद्वारा आयोजित प्राज्ञिक लेखन कार्यशाला सम्पन्न भयो । 

‘प्राज्ञिक लेखन कार्यशालामा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. बालाकृष्ण अधिकारीले ‘अनुसन्धान लेखको संरचना र प्रक्रिया’ शीर्षकको कार्यपत्रमा अनुसन्धान लेखको परिचय, संरचना, लेखका अङ्गको परिचय, अनुच्छेदको सङ्गठनलगायतका विषयको चर्चा गर्दै शोधलेखनले ज्ञानको व्यवस्थित प्रकाशन र नवीन ज्ञानको खोजी गर्दै अनुसन्धानमा मौलिक पद्धतिको अवलम्बन गर्नुपर्ने विषयमा जोड दिनुभयो । साथै उहाँले कार्यपत्र प्रस्तुतिपश्चात् सहभागीहरूबाट उठाइएका विभिन्न प्रश्नहरूको समाधानको उपायसमेत सुझाउनुभयो । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले  अन्य विधाका अनुसन्धान र ललितकलाको अनुसन्धानबिचको भिन्नता बुझेर गम्भीर अवलोकनपछि मात्रै ललितकलाको प्राज्ञिक लेखन गर्न सकिने विचार व्यक्त गर्नुभयो । साथै उहाँले अग्रज र विशिष्ट योगदान दिएका कलाकारहरूको जीवनीलाई अनुसन्धान गराउँदैै नवप्रतिभालाई उत्प्रेरित गर्ने बताउनुभयो । 
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा ललितकला प्रज्ञा जर्नलका कार्यकारी सम्पादक विष्णु ज्ञवालीले कार्यपत्रमाथि टिप्पणी गर्दै अनुसन्धान लेखनलाई जटिलतातर्फ नलगी वस्तुपरकतातर्फ उन्मुख गराउनुपर्ने बताउनुभयो । 

नेपाल संस्कृत विश्वविद्याल अनुसन्धान केन्द्रका पूर्व निर्देशक प्रा. डा. विष्णु दहालले पूर्वीय र पाश्चात्त्य शोध पद्धतिका आधारमा ललितकलाका सबै विधाको अनुसन्धान गर्दै प्राज्ञिक लेखन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तेजविलास अधिकारीले ‘प्राज्ञिक अनुसन्धानले सिर्जनालाई परिचित तुल्याउँदै सम्मानको वातावरण सिर्जना गर्छ, साथै यसले ललितकलाका विविध फाँटमा अनुसन्धानका लागि मार्ग प्रशस्त गर्ने विचार राख्नुभयो । यस किसिमका कार्यशालाले अनुसन्धातालाई लेखन कार्यमा उत्प्रेरित गर्ने बताउनुभयो । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानका विभिन्न गतिविधिबाट प्राज्ञिक लेखनका निम्ति वातावरण तयार गर्दै अगाडि बढेको विषय उल्लेख गर्नुभयो । ललितकलाका क्षेत्रमा शोध, अनुसन्धान अपर्याप्त रहको विचार राख्दै त्यसको प्रवर्धनका लागि नियमित रूपमा छलफल चलाइएको बताउनुभयो  । साथै उहाँले नेपाली कलाको सैद्धान्तिकीकरण र नेपाली कलालाई पाठ्यक्रममा प्राथमिकता दिनुपर्ने विचार राख्नुभयो । 

कार्यपत्र प्रस्तुतिमाथि प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य प्रदिप अधिकारी, प्राज्ञ एससी सुमन, अजय शर्मा, विक्रममणि त्रिपाठी, केशव राज खनाल, जगत् वाशिष्ठलगायतले प्राज्ञिक लेखनका विविध पक्षमा जिज्ञासा राख्नुभएको थियो । 

कार्यशालामा नेपाल ललितलका प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य संगी श्रेष्ठ, केशव सिवलवाल, एनवी गुरुङ, पारस ढकाल, नरबहादुर विसी, घनबहादुर थापा, रेनु अधिकारी मौनता, लोकनाथ भुसाल, देवी मैनाली, सन्तोष राई, सुशील विके, जेनी घले, रेनुका ढकाल, नारायण ढुङ्गाना, हरिराम अधिकारी, राजमान महर्जन, दीपक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

रुकुमपूर्वमा महिलाले बाटोमै जन्माइन् बच्चा

रुकुमपूर्व । रूकुम पूर्वकाे सिस्ने गाउँपालिका १ कि एक महिला बाटाेमै सुत्केरी भएकी छिन । सुत्केरी ब्यथाले च्यापेपछि पैदल हिडेर सिस्ने स्वास्थ्य चाैकी आउँदै गर्दा सिस्ने १ लाम्माखाकी २४ वर्षिया माया बुढाले बिच बाटाेमै पाखापानी भन्ने ठाउँमा छाेरीलाई जन्म दिएकाे वडा सचिव चन्द्रदेव खड्काले जानकारी दिनुभयाे । उहाँकाे याे दाेस्राे सन्तान हाे । सिस्ने स्वास्थ्य चाैकीबाट गएका स्वास्थ्यकर्मीले बाटाेमै सुत्केरी बनाएका हुन । बाटाेमै सुत्केरी व्यथाले च्यापेकाे खबर पाएपछि सिस्ने स्वास्थ्य चाैकीका इन्चार्ज काशीराम ओली स्ट्रेचर लिएर जानुभएकाे थियाे । बाटाेमै सुत्केरी भएपश्चात् स्वास्थ्यकर्मी सहितकाे टाेलीले आमा र शिशुलाई बाेकेर स्वास्थ्य चाैकी पुर्याएकाे सचिव खड्काले बताउनुभयाे । उहाँका अनुसार आमा र शिशुकाे अवस्था सामान्य रहेकाे छ । २४ घण्टाकाे निगरानी पश्चात् आमा र शिशुलाई डिस्चार्ज गरिएकाे उहाँले बताउनुभयाे । सिस्ने गाउँपालिका वडा नम्बर १ सडक सञ्जालमा जाेडिन सकेकाे छैन । एउटा मात्र स्वास्थ्य संस्था रहेकाे यस वडामा स्वास्थ्य संस्था पुग्न घण्टाैं पैदल हिड्नुपर्ने बाध्यता रहेकाे छ । जिल्ला अस्पताल रूकुमकाेट पुग्न १ देखि २ दिनसम्म पनि पैदल हिड्नुपर्ने बाध्यता छ । 

एमालेका पूर्वमन्त्रीलाई मुद्दा एमालेका पूर्वमन्त्रीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च रिट दायर

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि फेरि अनुसन्धान गरी मुद्दा दायर गर्न निर्देशन दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । उनलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने उनको माग छ । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि १० मंसिरमा हिरासतमुक्त गरिएको थियो । मन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।

रामेछाप दुर्घटनाः वडा अध्यक्षको पनि मृत्यु

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको मृत्यु भएको छ । शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको हो ।  उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।  उक्त दुर्घटनामा अन्य ४ जनाको पनि मृत्यु भएको छ । 

रामेछापमा जिप दुर्घटना, पाँचको मृत्यु

रामेछाप । सिन्धुली– रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–३ सिमलडाँडामा भएको उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । उक्त गाडी काठमाडौंबाट रामेछापतर्फ गइरहेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडी सडकबाट ३ सय मिटर तल खसेको छ । मृत्यु हुनेमा २ जना पुरुष, २ जना महिला र एक बच्चा छन् ।

लोकप्रिय