प्राज्ञिक लेखन कार्यशालाः अनुसन्धानमा मौलिक पद्धतिको खोजी
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अनुसन्धान, अभिलेख तथा प्रकाशन विभागद्वारा आयोजित प्राज्ञिक लेखन कार्यशाला सम्पन्न भयो ।
‘प्राज्ञिक लेखन कार्यशालामा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. बालाकृष्ण अधिकारीले ‘अनुसन्धान लेखको संरचना र प्रक्रिया’ शीर्षकको कार्यपत्रमा अनुसन्धान लेखको परिचय, संरचना, लेखका अङ्गको परिचय, अनुच्छेदको सङ्गठनलगायतका विषयको चर्चा गर्दै शोधलेखनले ज्ञानको व्यवस्थित प्रकाशन र नवीन ज्ञानको खोजी गर्दै अनुसन्धानमा मौलिक पद्धतिको अवलम्बन गर्नुपर्ने विषयमा जोड दिनुभयो । साथै उहाँले कार्यपत्र प्रस्तुतिपश्चात् सहभागीहरूबाट उठाइएका विभिन्न प्रश्नहरूको समाधानको उपायसमेत सुझाउनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अन्य विधाका अनुसन्धान र ललितकलाको अनुसन्धानबिचको भिन्नता बुझेर गम्भीर अवलोकनपछि मात्रै ललितकलाको प्राज्ञिक लेखन गर्न सकिने विचार व्यक्त गर्नुभयो । साथै उहाँले अग्रज र विशिष्ट योगदान दिएका कलाकारहरूको जीवनीलाई अनुसन्धान गराउँदैै नवप्रतिभालाई उत्प्रेरित गर्ने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा ललितकला प्रज्ञा जर्नलका कार्यकारी सम्पादक विष्णु ज्ञवालीले कार्यपत्रमाथि टिप्पणी गर्दै अनुसन्धान लेखनलाई जटिलतातर्फ नलगी वस्तुपरकतातर्फ उन्मुख गराउनुपर्ने बताउनुभयो ।
नेपाल संस्कृत विश्वविद्याल अनुसन्धान केन्द्रका पूर्व निर्देशक प्रा. डा. विष्णु दहालले पूर्वीय र पाश्चात्त्य शोध पद्धतिका आधारमा ललितकलाका सबै विधाको अनुसन्धान गर्दै प्राज्ञिक लेखन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तेजविलास अधिकारीले ‘प्राज्ञिक अनुसन्धानले सिर्जनालाई परिचित तुल्याउँदै सम्मानको वातावरण सिर्जना गर्छ, साथै यसले ललितकलाका विविध फाँटमा अनुसन्धानका लागि मार्ग प्रशस्त गर्ने विचार राख्नुभयो । यस किसिमका कार्यशालाले अनुसन्धातालाई लेखन कार्यमा उत्प्रेरित गर्ने बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानका विभिन्न गतिविधिबाट प्राज्ञिक लेखनका निम्ति वातावरण तयार गर्दै अगाडि बढेको विषय उल्लेख गर्नुभयो । ललितकलाका क्षेत्रमा शोध, अनुसन्धान अपर्याप्त रहको विचार राख्दै त्यसको प्रवर्धनका लागि नियमित रूपमा छलफल चलाइएको बताउनुभयो । साथै उहाँले नेपाली कलाको सैद्धान्तिकीकरण र नेपाली कलालाई पाठ्यक्रममा प्राथमिकता दिनुपर्ने विचार राख्नुभयो ।
कार्यपत्र प्रस्तुतिमाथि प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य प्रदिप अधिकारी, प्राज्ञ एससी सुमन, अजय शर्मा, विक्रममणि त्रिपाठी, केशव राज खनाल, जगत् वाशिष्ठलगायतले प्राज्ञिक लेखनका विविध पक्षमा जिज्ञासा राख्नुभएको थियो ।
कार्यशालामा नेपाल ललितलका प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य संगी श्रेष्ठ, केशव सिवलवाल, एनवी गुरुङ, पारस ढकाल, नरबहादुर विसी, घनबहादुर थापा, रेनु अधिकारी मौनता, लोकनाथ भुसाल, देवी मैनाली, सन्तोष राई, सुशील विके, जेनी घले, रेनुका ढकाल, नारायण ढुङ्गाना, हरिराम अधिकारी, राजमान महर्जन, दीपक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजारले बढेर एक लाख ५४ हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि मङ्गलबार सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपियाँमा किनबेच भएको थियो । यसैगरी, आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला एक हजार नौ सय २५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
जनकपुरको अपराजित यात्रामा सुदूरपश्चिमले लगायो पूर्णविराम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनले हारसँगै जनकपुर बोल्ट्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न जनकपुर आफ्नो पाँचौँ खेलमा ब्याटिङ ‘कोल्याप्स’ हुँदा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १२.१ ओभरमा ५१ रनमै समेटिएको हो ।
प्रमुख सूचना आयुक्त र आयुक्तहरुको सपथ
काठमाडौँ २६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई सपथ गराउनुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति रहेको थियो । मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकले सिफारिस समितिको सिफारिका आधारमा उहाँहरुलाई नियुक्त गर्ने निर्णय गरेको थियो । आयोगका यही मङ्सिर २३ गतेदेखि अघिल्ला पदाधिकारीको कार्यकाल सकिएको थियो ।
यी विषयमा छलफल गर्न एकीकृत समाजवादीले ठाक्यो स्थायी कमिटी बैठक
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आजबाट सुरु हुँदै छ । केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । भोलिसम्म बस्ने बैठकमा नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिएका छन् । गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोकेको छैन । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुंगो लगाएको नामावली बैठकले अनुमोदन गर्नेछ । रासस