प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने (सूचीसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने निश्चित भएको छ ।
३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीसँग चीन भ्रमणमा जाने टुंगो मन्त्रिपरिषद् बैठकले लगाएको हो ।
सरकारी टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, सांसद अर्जुन नरसिंह केसी, श्याम कुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, सर्वेन्द्र नाथ शुक्ला, रञ्जिता श्रेष्ठ, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू रामप्रसाद घिमिरे, अमृत बहादुर राई (परराष्ट्र कामु सचिव) रहेका छन्।
यसैगरी लगानी बोर्डका सीईओ सुशील ज्ञवाली, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहप्राध्यापक पद्मसुन्दर जोशी, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहित अन्य सरकारी अधिकारीहरू कृष्ण प्रसाद ढकाल, विष्णु प्रसाद गौतम, मणिरत्न शर्मा, उदय पोखरेल, कमल रावल, ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने, विनोद खनाल, जयश्री शाक्य र अनिता सिंह रहनेछन् ।
यस्तै परराष्ट्र मन्त्रालय अन्तरगतका ७ जना भने यसअघि नै चीन गइसकेका छन् । यसबाहेक ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीसँग चीन भ्रमणमा जाने छन् ।
बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीको चीन भ्रमण पनि मन्त्रिपरिषद्को आजकै बैठकले स्वीकृत गरेको हो ।
युवालाई खेलप्रति आकर्षित गर्न आवश्यक : सभामुख घिमिरे
काठमाडौं । संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ ।मंगलबार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गर्नुभएको छ । फुटसल खेलका क्रममा बोल्नुहुँदै सभामुख घिमिरेले युवापुस्तालाई खेलप्रति आकर्षण गर्न फुटसलको आयोजना गरेको बताउनुभयो । उहाँले संसद सेवा दिवसमा संसदका सांसदहरू, सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखहरूले विभिन्न कार्यक्रम गरि मनाइरहेकोमा आज फुटसलको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगिताले संसद समेत खेलप्रेमि र खेलकुद क्षेत्रका विकासमा सधैं तत्पर रहने सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सभा अध्यक्ष दाहालले युवाहरुलाई खेलकुद क्षेत्रप्रति आकर्षित गर्दै खेल क्षेत्रको समग्र विकासका लागि यस प्रतियोगिताले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवाहरुलाई खेलप्रति धेरै भन्दा धेरै आकर्षण गर्न जरुरी रहेको बताउनुभयो । फुटसल प्रतियोगितामा संघीय संसदका दुवै सदनका सांसद एवं कर्मचारीहरु सहभागि हुनुहुन्छ ।
एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले को केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, भर्खरै सकिएको स्थानीय तह उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो सवा २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।
माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबीच एकता घोषणा
काठमाडौ। नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आज काठमाडौमा एकता घोषणा समारोह आयोजना गरी दुई संगठनबीच एकता गरिएको हो। यो सङ्गै डा. बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गर्नुभएको हो। कार्यक्रममा दुबै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको थियो । संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षका हकहितका आवाज पूरा गर्न एकता र ध्रुवीकरण आवश्यक रहेको बताउनुभयो । शिक्षक संगठनहरुसित सरकारले गरेका सम्झौता पूरा गराउन फेरि एकताबद्ध आन्दोलन आवश्यक रहेको बताउनुभयो । समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकता आवश्यक रहेको बताउनुभयो। समाजवादी शिक्षा प्रणालीका लागि समाजवादी बौद्धिक शक्ति एक हुनुपर्ने उहाँले बताउनुभयो ।