चार महिनामा साढे पन्ध्र प्रतिशत बजेट खर्च
लोकेश धामी
कैलाली, कार्तिक २९ । कैलालीमा गत आवभन्दा चालू आव २०७४–०७५ को चार महिनामा विकास बजेट साढे पन्ध्र प्रतिशत खर्च भएको छ । चालू आवको साउन, भदांै, असोज र कार्तिक महिनामा गतवर्षको तुलनामा यसवर्ष बजेट ३ प्रतिशतले बढी खर्च भएको हो । गत आवको सुुरुको चार महिनामा १२ प्रतिशत विकास बजेटमात्रै खर्च भएको थियो ।
कैलालीमा चालू आवमा पूँजीगत तर्फ ४ अर्ब ८३ करोड ७७ लाख १८ हजार र चालु खर्चतर्फ ९ अर्ब ३१ करोड ३ लाख रुपैयाँ बजेट अख्तियारी आएको छ । जसमध्ये हालसम्म विकास बजेट ७४ करोड ६६ लाख २८ हजार अर्थात् साढे १५ प्रतिशत र चालू तर्फ साढे ३१ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनगढीका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरीले जानकारी दिए ।
जिल्लामा रहेका ठूला आयोजनामा पनि गत वर्षको तुलनामा बढी खर्च भएको देखाउँछ । जसमध्ये राष्ट्रिय गौरवको आयोजनामा रानी जमरा कुलरिया सिँचाई आयोजनाको एक अर्ब ९२ करोड १३ लाखमध्ये हालसम्म झण्डै ३८ लाख बजेट खर्च भएको छ ।
यस्तै, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, भूमिगत जल सिंचाइ विभाग कार्यालय, हसनपुर खुटिया विपी नगर गड्सेरा दिपायल सडकको बजेट पनि सन्तोषजनक नै खर्च भएको कोष नियन्त्रक चौधरीले बताए ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको भने न्यून रकम खर्च भएको छ। एक अर्ब ३१ करोड ६ लाख बजेट अख्तियारी आएकोमा हालसम्म साढे ५ करोडमात्रै बजेट खर्च भएको छ ।
यस्तै, मोहना पुल अत्तरिया सडक विस्तार आयोजनाको पनि बजेट न्यून निकासा भएको छ । ५१ करोड बजेट मध्येबाट अहिलेसम्म २१ लाख रुपैयाँमात्रै बजेट खर्च भएको प्रमुख कोष नियन्त्रक चौधरीले जानकारी दिए ।
चालू आवमा बजेको अख्तियारी छिटो तथा बजेट भाषण शीघ्र हुनु, विगतमा मन्त्रालयबाट हुने झन्झटिला कार्य सहज हुनु लगायतका कारण यो वर्ष विकास बजेट बढी निकासा भएको कोष नियन्त्रक कार्यालयले जनाएको छ ।
पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ: अध्यक्ष ढकाल
ताप्लेजुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताउनुभएको छ। ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गर्नुभयो। उहाँले पाथीभरा केवलकारमा स्थानीयहरुलाई सतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको बताउनुभएको छ । संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने उहाँले बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताउनुभयो । उहाँले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा राख्नुभयो । उहाँले पाथीभरामा केवकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताउनुभयो । उहाँले स्थानीयहरुलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताउनुभयो । उहाँले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताउनुभयो । उहाँले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको बताउनुभयो । उहाँले केबकार निर्माण गर्ने काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको बताउनुभयो । उहाँले पाथीभरा केबकार आयोजना आइएमई ग्रुप र चन्द्र ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना, व्यवसायीक गतिविधि र राजश्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन शुरुवात गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘पाथीभरा केवलकार बनाउँदा स्थानीयहरुलाई के गर्नुपर्छ । त्यो गर्न तयार छौं । स्थानीय मानिसहरुलाई के सुविधा दिनुपर्छ त्यो भन्नुपर्यो । केबलकारले स्थानीय, बालबालिका तथा वृद्धवृद्धाहरुलाई दिने सुविधाको बारेमा उल्लेख गर्दै थप सेवा सुविधा आवश्यक परे छलफल गर्न तयार छौं।' 'हामी एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकमा पर्यटन विकास गर्ने र रोजगारी सिर्जना गर्ने अभियानमा छौं । समग्र मुलुकको पर्यटन प्रवद्र्धनमा केवकारले ठूलो भुमिका निर्वाह गर्छ । अहिले नेपालमा वैदेशिक लगानी भित्र्याउनको लागि ठूलो खर्च गरिरहेका छौँ । तर हामी स्वदेशी लगानी विकास गर्छौं भनेर निजी क्षेत्र ताप्लेजुङ जाँदा चन्द्र ढकालको व्यक्तिगत फाइदाको लागि भनियो । मैले मेरो फाइदालाई मात्रै हेर्ने भए अन्य ठाउँमा पाँच तारे होटल खोल्ने थिए । होटल बनाएको भए यति धेरै झमेला आउने थिएन । सम्भावना भएको ठाउँमा पर्यटन र स्थानीय विकासको लागि हो । फाइदा मात्रै भन्दा पनि पर्यटन विकासलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । स्वदेशी लगानीलाई निरुत्साहित गर्न खोज्नु गलत हो । सकेसम्म सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिन चाहन्छौ ।’
क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न आह्वान
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गर्नु भएको छ । एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले समावेशी समृद्धि: एसियाली व्यापार अर्थतन्त्रमा एसएमईको सशक्तीकरणका मुद्दामा साझा आर्थिक दृष्टिकोणका लागि पनि आग्रह गर्नुभयो । नेपालमा, साना तथा मझौला उद्योगहरूले जिडिपीको लगभग २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्द्धनमा अन्तरक्षेत्रीय साझेदारीको महत्त्व रहेको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो । साना तथा मझौला उद्योगलाई क्रियटिभ इकोनोमी सँग ठिकसँग जोडेर विकास तथा प्रर्वद्धनमा जोड दिन थालिएकाले लगानी तथा बजारका सम्भावनाहरू बढेको तर्फ पनि अध्यक्ष ढकालले एसियाली लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनुभयो । नेपालको निर्यात व्यापारमा हातले बुनेका गलैँचा, थाङ्का, चित्रकला र परम्परागत सङ्गीतका वाद्य यन्त्रहरूको उल्लेख्य हिस्सा रहेकाले सांस्कृतिक उद्योगहरूमा लगानी गरेर समावेशी समृद्धिमा योगदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गर्नुभयो । पर्यटन मार्फत पनि साना तथा मझौला उद्भमलाइ प्रवर्द्धन गर्न सकिने भएकाले नेपाल भ्रमण गरी लगानी गर्ने अवसर खोज्न पनि अध्यक्ष ढकालले लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । बढ्दो पर्यटन बजारलाई लक्षित गरी होटल, थिम पार्क, केबलकार लगायतका पर्यटन पूर्वाधारमा लगानी खोजिरहेकाले साझेदारीका लागि पनि अध्यक्ष ढकालले लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनुभयो । भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने भएको र बंगलादेशमा पनि थप बजार सुनिश्चित रहेकाले जलविद्युतमा लगानीका लागि पनि उपयुक्त अवसर सृजना भएको अध्यक्ष ढकालले बताउनुभयो । लगानीको वातावरण सुधार गर्ने उद्देश्यले व्यवसाय गर्न सम्बन्धी विभिन्न कानुनहरू परिमार्जन गरेको विदेशी लगानीकर्ताहरूलाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौता फ्रेम वर्क पारित भएकाले सहज अवसरको उपयोग गर्न पनि अध्यक्ष ढकालले बाह्य लगानीकर्ताहरुलाइ आग्रह गर्नुभयो । अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताहरूलाई सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ तयार रहेको र हेल्प डेस्क मार्फत विदेशी लगानीकर्ताहरूलाई नीति र प्रक्रियाहरू बुझ्न मद्दत गरिरहेको जानकारी पनि गराउनुभयो ।
हेर्नुहोस्, आइतबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ८७ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।
चिया निर्यात ५२ प्रतिशतले बृद्धि
झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो । प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा एक अर्ब १३ करोड ३४ लाख १७ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । जुन गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा सो अवधिमा ६९ करोड ९३ लाख ६४ हजार रुपैयाँ बराबरको चिया निर्यात गरिएको थियो । दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए । भारतबाट अझै माग बढेकाले चियाको निर्यात यो वर्ष थप बढ्ने उनको दाबी छ । गत आर्थिक वर्ष २०८०/८१ मा १३ हजार ४३३ मेट्रिक टन अर्थात् तीन अर्ब १६ करोड ३८ लाख ३६ हजार रुपैयाँ बराबरको चिया भारत निर्यात भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा सात दशमलव ६८ प्रतिशले घटेको थियो ।