औषधीको गर्भपतनले यस्तो हुन्छ खतरा, जान्नैपर्ने कुरा

औषधीको गर्भपतनले यस्तो हुन्छ खतरा, जान्नैपर्ने कुरा

२७ वर्षीया नम्रता १० महिने छोराकी आमा हुन् । पहिलो नानी सानो छँदै उनी गर्भवती भइन् । त्यसैले उनले गर्भपतन गराउने निर्णय लिइन् । गर्भपतनका लागि औषधिहरु पाइन्छ भन्ने कुरा सुनेकी नम्रताले आफूले पनि औषधी सेवन गरेर नै गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने चाहना राखिन् । उनका श्रीमान्ले उनलाई चिनेको एक औषधि पसलबाट गर्भपतनका लागि केही औषधी ल्याइदिए । उनले सो औषधी तोकिएको विधी अनुरुप नै सेवन गरिन् ।

औषधी सेवन गरेको केही घण्टापछि औषधी पसलेले भनेजस्तै रक्तश्राव हुन थाल्यो । आफ्नो गर्भ खेर गयो भनेर ढुक्क थिइन् उनी । तर, दुर्भाग्य ! लामो समयसम्म पनि रक्तश्राव रोकिएन ।

उनलाई कमजोरी महसुस भयो । रगत पनि अत्यधिक बग्यो । उनी भित्रभित्रै डराउन थालिन् । चिन्तित हुन थालिन् । श्रीमान् लगायत घरका सबै आत्तिए । हतार-हतार उनलाई अस्पताल पुर्‍याइयो ।

चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई तुरुन्त रगत दिनु पर्ने तथा गर्भ राम्ररी सफा भइनसकेकाले पाठेघर सफा पनि गर्नुपर्ने सल्लाह दिए । चिकित्सकका अनुसार उनी समयमा अस्पताल नपुगेको भए ज्यानै गुमाउनु पर्ने हुन्थ्यो ।

यो एक प्रतिनिधि घटना हो । गर्भपतनका लागि उपलब्ध औषधी सेवन गरेर त्यसका जोखिम झेल्नेहरु यहाँ हजारौं छन् । उनीहरुमध्ये कतिपय गम्भीर संकटमा समेत फसिसकेका छन् ।

वाध्यता र असावधानी

गर्भपतन रहरले गराउने होइन । यसका निम्ति विभिन्न वाध्यता हुन्छन् । गर्भ रहँदा र त्यस गर्भलाई हुर्कन दिँदा निम्तने सम्भावित जटिलताले गर्दा धेरैले गर्भपतन गराउँछन् । गर्भपतन गराउने केही विधि प्रचलित छन् । ति सुरक्षित विधि हुन् । अहिले औषधी सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ । तर, यसमा केही सतर्कता अपनाउनुपर्ने हुन्छ ।

गर्भपतन गर्ने चाहना वा बाध्यता धेरैको हुने गर्छ । कसैको बच्चा सानो भएको, कसैको सन्तानको रहर पुगिसकेको त कसैको छोराछोरी हुर्किसकेर ठूला भइसकेको, कसैको अध्ययन पूरा नभएको जस्ता सामाजिक तथा आर्थिक कारणहरुले गर्दा गर्भपतन गराउनु पर्ने हुनसक्छ ।

गर्भनिरोधक साधन असफल भएर रहेको गर्भ तथा सामाजिक मर्यादा तोडेर रहेको गर्भ पनि कतिपले फाल्ने गर्दछन् । तर यसमा असावधानी अपनाउँदा ज्यानै जाने खतरा हुन्छ ।

तीन हजार बढी गर्भपतन सेवा

नेपालमा गर्भवती महिलाको इच्छाले गर्भपतन गर्न पाउने कानुनी मान्यता सन् २००२ मा प्राप्त भयो । सन् २००४ मा नेपालभर गर्भपतन सेवा म्यानुल भ्याकुम एस्पिरेशन (एम.भी.ए.) अर्थात प्लाष्टिकमा क्यानुलाद्वारा खाली पारिएको सिरिन्जको मद्दतले गरिने गर्भपतन सेवामा विस्तार गरियो ।

सन् २००९ मा औषधीले गरिने गर्भपतन सेवा (मेडिकल एबोर्सन- एम.ए.) पनि शुरु गरियो । परिवार महाशाखाको पछिल्लो तथ्यांक अनुसार हाल देशभर वटै जिल्लामा गरेर ३ हजारभन्दा बढी गर्भपतन सेवा दिने स्वास्थ्यकर्मी तथा चिकित्सकहरु छन् ।

यी दुवै सेवाहरु अधिकांश सरकारी अस्पतालहरु तथा केही गैरसरकारी स्वास्थ्य संस्थाहरुमा पनि उपलब्ध छन् ।

कानुनी मापदण्ड के छ ?

गर्भपतन सेवाका लागि कानुनी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ । गर्भपतन सेवाका लागि सूचीकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ ।

राम्रो कुरा के छ भने, यस्ता सूचीकृत संस्थामा तालिम प्राप्त चिकित्सकबाट गरिएको गर्भपतनबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन । एक प्रतिशतभन्दा पनि कममा मात्र सामान्य समस्या देखिने गरेको तथ्यांक छ ।

गर्भपतन गराउने तरिका

विश्व बजारमा वर्षौंदेखि गर्भपतनका औषधीहरु प्रयोग गरिँदै आएपनि नेपालमा यो भित्रिएको धेरै भएको छैन । नेपालमा पनि आईपास, पी.एस.आई. नेपाल, परिवार महाशाखा लगायतले ६ वटा जिल्लामा गरेको सफल परीक्षण पछि मात्र भित्र्याइएको थियो ।

नेपालमा अपनाइएको पद्दती अनुसार एकथरि औषधी मुखबाट सेवन गरेको २४ देखि ४८ घण्टासम्म अर्कोथरिको औषधी योनिमार्गमा वा जिब्रोमुनि राख्नु पर्छ । सजिलो र घरमा पनि प्रयोग गर्न सकिने भएकाले यसको प्रयोगकर्ता बढीरहेका छन् ।

अत्यन्त प्रभावकारी मानिने यी औषधीहरुको प्रयोगले ९ हप्ता अर्थात ६३ दिनसम्मको गर्भपतन गराउन सकिन्छ । नेपालका सूचीकृत स्वास्थ्य संस्थाहरुमा प्रयोग गरिएका औषधी करिब ९६ प्रतिशत प्रभाकारी भएको साबित भएको छ । त्यसैले गाउँ-गाउँसम्म यो सेवा बिस्तार गर्ने नेपाल सरकारको लक्ष्य छ । सोही लक्ष्य अनुरुप स्वास्थ्य चौकीसम्म यो सेवा बढाइएको छ ।

गर्भपतन कसले गराउन पाउँछ ?

गर्भ राख्न नचाहने १६ वर्ष पार गरेकी मानसिक सन्तुलन ठीक भएकी हरेक गर्भवतीले आफ्नै मञ्जुरीमा ९ हप्तासम्मको गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थामा गएर आवश्यक परिक्षण र परामर्श गरेर यो औषधिहरु सेवन गर्न सक्छन् । औषधीहरु सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । निजी तर सूचीकृत संस्थामा यसको मूल्य तिर्नुपर्छ ।

यो औषधी पसलमा सोझै खाने औषधी होइन । १६ वर्ष पार नगरेको वा मानसिक अवस्था ठीक नभएको गर्भवतीले आफ्नो नजिकको नातेदारको मञ्जुरीमा यो सेवा लिन पाउँछन् । बिना परामर्श अनाधिकृत ठाउँबाट गर्भपतनको औषधी सेवन गर्नु गैरकानुनी मात्र होइन घातक
पनि हुन सक्छ ।

किन हुन्छ अत्याधिक रक्तश्राव ?

मेडिकल एबोर्सन (औषधिद्वारा गरिने गर्भपतन) ६३ दिनसम्मको गर्भपतनका लागि प्रभावकारी र सफल रहे पनि यसका केही साइड इफेक्टहरु पनि छन् । टाउको दुख्ने, ज्वरो आउला जस्तो हुने, पखाला लाग्ने, वाक्वाक हुने तथा महिनावारीको जस्तो वा केही रगत बग्ने हुन सक्छ । यस्तो असरहरु समान्यता आफै हराएर जान्छ र स्वास्थ्य परामर्शको आवश्यकता नपर्न सक्छ ।

तर, अत्यधिक रक्तश्राव भएमा, बेहोस भएमा, गन्हाउने वा योनीमार्गबाट पिप जस्तो जान थालेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने हुन्छ । तोकिएको अर्थात तालिम प्राप्त स्वास्थ्यकर्मी वा चिकित्सकद्वारा गरिएका मेडिकल एबोर्सनमा यस्ता गम्भीर असरहरु प्रायः देखिँदैन ।

यद्यपी अस्पतालहरुमा यस्ता विरामी घटेका छैनन्, कारण हो अनाधिकृत रुपमा औषधी सेवन ।

औषधी पसलेहरु तथा सम्बन्धित स्वास्थ्यकर्मीहरु बाहेकले यस्ता औषधीहरु बिक्री वितरण गर्न नपाउने नियम छ । तर केही औषधी पसले तथा अनाधिकृत वा अयोग्य स्वास्थ्यकर्मीहरुले क्षणिक आर्थिक मुनाफाका लागि भारतीय बजारबाट ल्याएका कमसल वा औषधीहरु बिक्री वितरण गर्ने गरेको पाइन्छ ।

औषधीद्वारा गरिने गर्भपतनको सफलताको सबभन्दा महत्वपूर्ण पक्ष हो, गर्भको अवधि वा आकारको सही मापन । मेडिकल एबोर्सनका लागि पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्सरे -अल्ट्रासाउण्ड) गर्नुपर्ने मान्यता छ । मेडिकल एबोर्सनका लागि अर्को महत्वपूर्ण पक्ष हो, गर्भपतन पुर्णरुपले भयो वा भएन भनेर परीक्षण गर्नु ।

समान्यतया औषधी सेवन गरिसकेपछि रक्तश्राव सबैलाई हुन्छ । तर रक्तश्राव हुँदैमा पूर्णरुपमा गर्भपतन नभएको हुन सक्छ । यो अवस्था समान्य पनि हुन सक्छ तर धेरै समयसम्म अत्याधिक रक्तश्राव जोखिमपूर्ण हुन सक्छ ।

यी दुवै अवस्था तथा तथ्यलाई पहिचान गर्न नसक्ने जो कोहि व्यक्तिबाट वा गर्भको स्थितिलाई परीक्षण नगरी एम.ए. अर्थात मेडिकल एबोर्सन गर्नु खतरनाक पनि हुन सक्छ ।

यस बाहेक गर्भपतनका लागि अन्य धेरै कुरामा बिचार पुर्‍याउनु पर्छ । पहिलेको गर्भ तथा प्रसूति सम्बन्धी समस्याहरु, अन्य दीर्घरोगहरु, बिभिन्न स्वास्थ्य समस्याका लागि औषधीहरु सेवन गरिरहेको अवस्था आदिका बारेमा पनि जानकारी लिनु पर्ने हुन्छ । कतिपय यस्ता अवस्थामा गर्भपतनको औषधी सेवन गर्नु हुँदैन ।

समयको अभावमा वा सूचीकृत चिकित्सकलाई झन्झट मानेर उचित परामर्श र पूर्ण परीक्षण बिना गरेको गर्भपतन सुरक्षित हुन्छ भनेर भन्न सकिँदैन र यसबारे समयमा नै सचेत हुन आवश्यक छ । त्यस कारणले गर्दा पैसा र समय बचाउन तथा गोपनियताको लागि सम्बन्धित स्वास्थ्य केन्द्रमा नगएर अनाधिकृत व्यक्तिको भर पर्दा दुःख पर्ने मात्र होइन, ज्यानै पनि जान सक्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।

यसको विकल्प छैन ?

गर्भपतन (औषधि तथा एमभीए) सुरक्षित हुँदाहुँदै पनि यो अन्तिम विकल्प मात्र हो । गर्भपतन नगराएर अनावश्यक बच्चाको जन्म दिनु पनि उपयुक्त हुँदैन र गर्भपतन रोज्नु पर्ने हुन्छ । त्यसैले यस्तो अवस्था आउन नदिनु नै उत्तम उपाय हुन्छ । यसका लागि परिवार नियोजनका साधनहरु प्रयोग गर्न सकिन्छ ।

सबै दम्पत्तिहरुले एकै खालका परिवार नियोजनका साधन प्रयोग गर्नु पर्छ वा उपयुक्त हुन्छ भन्ने छैन । आफूलाई कस्तो साधन राम्रो र प्रभावकारी हुन्छ त्यसबारेमा स्वास्थ्यकर्मीसँग परामर्श गरेर छनोट गर्नु राम्रो हो ।

परिवारको आकार पूरा भएपछि वा सन्तानको रहर पुगिसकेपछि स्थायी बन्ध्याकरण पनि उचित हुन सक्छ । सुरक्षित यौनव्यवहार र राम्रो परिवार नियोजनका साधन रोज्न सके, गर्भपतन गराउनु पर्ने बाध्यात्मक अवस्था नआउन सक्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।

विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

कोरोनापछि मंकिपक्स संक्रमणको आतंक, के हुन यसका लक्षण ?

काठमाडौं । कोरोना महामारीको त्रास कायमै रहेको बेला एउटा अर्को महामारीले विश्वलाई त्रसित पारेको छ । अहिलेसम्म १४ भन्दा बढी देशमा देखा परेको मंकिपक्स नामक संक्रमण चिन्ताको विषय बनेको हो । अफ्रिकामा देखा पर्ने यो भाइरस यसपटक भने यूरोप र बेलायतमा समेत देखा परेको हो । मङ्कीपक्स के हो ? बिफर रोग लाग्ने भाइरसकै प्रजातिको मङ्कीपक्स भाइरसबाट यो सङ्क्रमण हुन्छ। यद्यपि मङ्कीपक्स सङ्क्रमण हुने सम्भावना कम हुन्छ र यसले गम्भीर बिरामी बनाउँदैन। यसको धेरैजसो सङ्क्रमण मध्य र पश्चिम अफ्रिकाको जङ्गलनजिकै बस्तीमा देखिएका थिए। यो भाइरसका दुई मुख्य भेरिअन्ट छन्स् मध्य अफ्रिकी भेरिअन्ट र पश्चिम अफ्रिकी भेरिअन्ट। पश्चिम अफ्रिकी भाइरसको सङ्क्रमण अर्को भाइरसको सङ्क्रमणभन्दा कम जोखिमपूर्ण हुन्छ। यसका लक्षणहरू के के हुन ? सङ्क्रमण भएपछि सङ्क्रमित व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने लक्षण देखा पर्छन्। केही दिनपछि शरीर बिमिराहरू देखा पर्न सक्छन्। यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ। हात र गोडाका पैतालामा बढी देखिन्छ। बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ। तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ। कसरी सर्छ? मङ्कीपक्स सङ्क्रमितको नजिक रहँदा यो सर्न सक्छ। यो भाइरस शरीरमा घाउ वा श्वासनली वा आँखा वा मुख वा नाकबाट छिर्न सक्छ। अहिलेसम्म यसलाई यौन रोगका रूपमा हेरिएको छैन तर यौन क्रियाकलाप गर्दा हुने नजिकको सम्पर्कमा यो सर्न सक्छ। सङ्क्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो सर्न सक्छ वा सङ्क्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्छ। यो कति खतरनाक छ ? धेरैजसो सङ्क्रमण गम्भीर हुँदैन। यो बिफरजस्तै हुन्छ र सङ्क्रमणको केही सातापछि आफै निको हुन्छ। तर कहिलेकाहीँ यो गम्भीर हुन सक्छ र पश्चिम अफ्रिकामा यसका कारणले मानिसको मृत्यु भएको तथ्याङ्क छ। मङ्कीपक्स फैलिनु कति असामान्य हो ? थुनिएको बाँदरमा पहिलो पटक पहिचान गरिएको यो भाइरसको सङ्क्रमण सन् १९७० यता १० अफ्रिकी देशहरूमा कहिलेकाहीँ देखिने गरेको छ। सन् २००३ मा यो अमेरिकामा पहिलो पटक देखिएको थियो। अफ्रिका बाहिर मङ्कीपक्स देखिएको नै यो पहिलो अवसर थियो। त्यति बेला विदेशबाट ल्याइएका साना जनावरको सम्पर्कमा रहेका कुकुरबाट मानिसमा सरेको यो रोग ८१ जनामा देखिएको थियो र कसैको पनि मृत्यु भएको थिएन। सन् २०१७ मा नाइजीरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्क्रमण देखिएको थियो र त्यहाँ १७२ जनालाई सङ्क्रमण भएको आकलन गरिएको थियो। सङ्क्रमितमध्ये तीनचौथाइ २१ देखि ४० वर्षका पुरुष थिए। मङ्कीपक्सको उपचार के हो ? सङ्क्रमण नियन्त्रण गरेर यो रोगलाई रोकिन्छ। बिफरको खोप ८५ प्रतिशत प्रभावकारी देखिएको छ। भाइरसविरोधी औषधिहरू पनि उपयोगी हुन सक्छन्। के महामारी बन्ला ? यूकेका स्वास्थ्य अधिकारीहरूले मङ्कीपक्स यूकेमै मात्रै पनि महामारी बन्ने सम्भावना निकै न्यून रहेको बताएका छन्। नटिङ्घम विश्वविद्यालयका प्राध्यापक जोनाथन बल भन्छन्स् ूसङ्क्रमितको सम्पर्कमा आएका ५० मध्ये एक जना मात्रै सङ्क्रमित हुनुले यो अति कम सङ्क्रामक रहेको देखाउँछ।ू ूयो महामारीको रूपमा फैलिन्छ भनेर सोच्नु गलत हुन्छ।ू नेपालको अवस्था के छ ? अहिलेसम्म नेपालमा यो सङ्क्रमण कसैमा सरेको शङ्का नभएको अधिकारीहरू बताउँछन्। परीक्षण नै नभएकाले पुष्टि पनि भएको छैन। यद्यपि अहिले मङ्कीपक्स फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको जनस्वास्थ्यविद्हरूको धारणा छ। नेपालमा मङ्कीपक्सबारे चासो देखिए पनि भौतिक रूपमै सतर्कता अपनाउनेबारे अहिलेसम्म कुनै कदम नचालिएको एक अधिकारीले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले नेपालले विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका पर्खिरहेको बताए। “सरुवा रोगबारे सतर्कता अपनाउनुपर्ने भएमा विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका जारी गर्ने गर्छ। अहिलेसम्म अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिका जारी भइसकेको छैन”, लालले भने। लालका अनुसार अहिलेसम्म दक्षिण अफ्रिकी देशहरूमा मात्र देखिएको यो सङ्क्रमणबारे नेपालका निकायहरूले पनि निगरानी गरिरहेका छन्। “अहिलेसम्म मानवबाट अर्को मानवमा सङ्क्रमण सर्ने पुष्टि भइसकेको छैन। तर कपडाहरूबाट सर्छ भनिएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिकाको निगरानी सूचीमा पर्‍यो भने हाम्रोमा पनि सतर्कताका कदमहरू चालिन्छ” उनले भने। बिबिसीबाट

औषधिबिना उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने त ?

काठमाडौं, २९ पुषस् नेपालमा करिव ३० प्रतिसत मानिसहरुमा कुनै न कुनै प्रकारको रक्तचापको समस्या छ । ती मध्ये आधा जतिले रक्तचापको औषधि सेवन गरिरहेको चिकित्सकहरुको अनुमान छ । उच्च रक्तचापले अरु रोगहरु पनि निम्त्याउने गर्दछ । यसले हृदयघात, पक्षघात, मिर्गौला फेल तथा अरु जोखिमयुक्त रोगहरु पनि निम्त्याउन सक्छ । उच्च रक्तचापले मानिसको ज्यान पनि लिन सक्छ । तर धेरै जस्तो अवस्थामा महंगो औषधिको प्रयोग गर्नुभन्दा आफ्नो जीवनशैली परिवर्तन गरेर पनि यसलाई सन्तुलनमा राख्न सकिन्छ। उच्च रक्तचापबाट पीडित आधाभन्दा बढी मानिसहरुले जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रणमा राखेका हुन्छन् । विज्ञहरुका अनुसार उच्च रक्तचापलाई जीवनशैली परिवर्तनले ५० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सहयोग गर्छ । यदि कोही उच्च रक्तचापका बिरामीहरु मधुमेह, मुटु रोग, पक्षघात वा धुमपानगर्ने व्यक्ति छैनन् भने उनीहरुले जीवनशैली परिवर्तन गरेर ३ महिनामै लाभ पाउन सक्छन् । औषधिको प्रयोग नगरिकनै उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्छु भनेर दृढ रहेकाहरुले यसबाट लाभ प्राप्त पनि गरेका छन्। औषधिबिना उच्चरक्तचाप कसरी नियन्त्रण गर्ने त ? शारीरिक व्यायामः सामान्य व्यायामले पनि तपाईं को स्वास्थ्य तथा रक्तचापमा केही फरकपन देखिन्छ। यदि तपाईंलाई व्यायाम गर्ने बानी छैन भने अब बिस्तारै बानी बसाल्नुस्। ५ देखि १० मिनेट भएपनि व्यायाम गर्न आजैदेखि सुरु गर्नुस्। यसले बिस्तारै व्यायाम गर्ने बानी बढ्न थाल्छ । व्यायामले शरीरको स्फूर्ति बढाउनुका साथै रक्तचाप नियन्त्रणमा सहयोग गर्दछ । जसले हप्तामा ७ देखि १३ पेगसम्म रक्सी खाने गरेको छ उसलाई ५३ प्रतिशत उच्च रक्तचाप हुने सम्भावना हुन्छ स्वास्थ्य आहारविहार शरीरका लागि राम्रो हो। सकेसम्म प्रशोधित खानेकुराहरुको सेवनबाट टाढै रहनुपर्छ । जस्तै प्रशोधित चिनी तथा अन्न। त्यसमाथि तपाईंले नुनको सेवन कत्तिको गर्नुहुन्छ त्यसमापनि फरक पर्छ। धेरै जसो नुनको मात्रा रेष्टुरेन्टको खाना तथा प्रशोधित खानामा पाइने गर्दछ।त्यसलै त्यसको सेवन सकेसम्म नगरेकै राम्रो । तपाईंले आफ्नो तौलको ५ प्रतिशतमात्र घटाउनु भयो भने पनि रक्तचाप नियन्त्रणमा पनि धेरै सघाउ पुर्याउँछ। दीर्घकालिन रुपमा आफ्नो तौल नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ। छोटो समयको लागि डाइटमा ध्यान दिएर तौल घटाउने अनि पछि जथाभावी खानेकुरा खानाले पछिसम्म राम्रो गर्दैन। मद्यपान कम गर्ने अध्ययनका अनुसार जसले हप्तामा ७ देखि १३ पेगसम्म रक्सी खाने गरेको छ उसलाई ५३ प्रतिशत उच्च रक्तचाप हुने सम्भावना हुन्छ। त्यसैगरी जसले १४ भन्दा बढी पेग रक्सी खान गरेको छ उसलाई ६९ प्रतिशतसम्म उच्च रक्तचाप हुने सम्भावना हुन्छ। धुमपान त्याग्नाले रक्तचाप कम गर्न मद्धत गर्छ र मुटु रोगका समस्या पनि घटाउँछ।जीवनशैली परिवर्तनले रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने गर्दछ । चिकित्सकहरुले पेनकिलरहरु पनि नियमित रुपमा प्रयोग गर्न नहुने सुझाएका छन्। त्यसैगरी निद्राको समस्या छ भने पनि त्यसलाई उपचार गराउनुपर्छ । अनिद्राले अरु पनि धेरै रोगहरु निम्त्याउन सक्छ ।

यी ५ लक्षण देखिए हुनसक्छ ओमिक्रोन– डा. पुन

डेल्टासँगै ओमिक्रोनको सरप्राइज उपस्थिति हुँदा संक्रमणको तीब्रतामा बुस्ट-अप भएको छ। यी दुई फरक भेरियन्टको भाइरसलाई हाल प्रयोगमा आइरहेको पिसिआर प्रविधिबाट छुट्याउन भने सकिँदैन। तर पछिल्लो समयमा नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांकले २२ प्रतिशत एस-जीन नेगेटिभ (सिक्वेन्सिङ गर्दा ओमिक्रोन पुष्टि भएको) र बाँकीमा एस-जीन पोजिटिभ देखिँदा अघिल्लो भेरियन्ट डेल्टासँगै ओमिक्रोन फैलँदै गरेको देखिन्छ। यद्यपि यी दुई भेरियन्टहरुको उपस्थितिको अनुपातमा आगामी दिनमा के कति फरक हुनेछ भनेर हेर्न भने अर्को विज्ञप्ति कुर्नु पर्ने हुन्छ। अस्पतालमा केहि दिन यता निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उनीहरुमा यी निम्न ५ लक्षणहरु प्रमुख देखिएका छन्। १) घाँटी दुख्ने/असहज हुने। २) थकान महसुस हुने। ३) टाउको र शरीरका मांशपेशी दुख्ने। ४) हल्का शरीर तातिएको महसुस हुने। ५) नाकबाट पानी आउने/बन्द हुने। तर यी माथि उल्लेखित लक्षणहरु सामान्यतय खोप लगाएकाहरुमा नै देखिएका थिए। यी बाहेक अघिल्लो भेरियन्टहरुमा देखिँदै आइरहेका उच्च ज्वरो, खोकी, श्वास प्रश्वासमा असहजता तथा स्वाद/गन्ध थाहा नपाउने जस्ता लक्षणहरु पनि नदेखिने भन्ने चाँही होइन। खोप लगाउनेहरुमा संक्रमण हुन् सक्ने भए पनि जटिल अवस्था आउने वा मृत्यु हुने जोखिमलाई घटाउने विभिन्न अध्ययन, अनुसन्धान र लेखकको अनुभवबाट देखिन्छ। तसर्थ खोप लगाउनमा सबैको अर्जुन दृष्टि हुन् अति जरुरी देखिन्छ। -स्वास्थ्यखबरबाट

लोकप्रिय