नेपालका बैङ्क तथा वित्तीय संस्था सुदृढ अवस्थामा : गभर्नर

काठमाडौं ।  बैङ्क तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैङ्क शुक्रबारदेखि स्थापनाको ६८ वर्ष पूरा गरी ६९ औँ वर्षमा प्रवेश गरेको छ। राष्ट्र बैङ्कले शुक्रबार राजधानीमा आयोजना गरेको ६९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैङ्किङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको बताएका हुन् । 

२०८० फागुनमा बैङ्क तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३।७३ प्रतिशत पुगेको भन्दै उनले भने, “यद्यपि २०८० फागुन मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २९।४१ प्रतिशत रहेको र कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२।४४ प्रतिशत रहेकाले नेपालका बैङ्क तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा नै रहेको छ ।”

चालु आर्थिक वर्षमा बाह्य क्षेत्रमा आएको सुधारसँगै बैङ्किङ प्रणालीमा तरलता बढेको छ र फलस्वरूप, अल्पकालीन एवं दीर्घकालीन ब्याजदरहरू घट्दै गएको उहाँले बताए। २०८० फागुनमा वाणिज्य बैङ्कहरूको कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत रहेको उनले जानकारी दिए।

अब बैङ्कको कर्जा असुली सहज हुने भन्दै उनले विश्वको मुद्रास्फीति सुधारोन्मुख भएकाले नेपालको अर्थतन्त्रमा सुधार हुने अनुमान रहेको बताए। चालु आवमा रेमिट्यान्स उच्च रहेको र यसले ब्याजदरमा परेको चाप कम भएको भन्दै गर्भनर अधिकारीले आर्थिक गतिविधिमा शिथिलता आउँदा बैङ्कको रिकभरीमा समस्या देखिएको बताए ।

राष्ट्र बैङ्कका डेपुटी गभर्नर नीलम ढुङ्गानाले कर्जाको ब्याज एकल अङ्कमा आएको अवसरलाई सदुपयोग गर्नुपर्ने बेला आएको बताए। अहिले खराब कर्जा बढिरहेको, गैरबैङ्किङ सम्पत्ति बढिरहेका बेला पनि रेमिट्यान्स बढेको उनले बताए।

अहिले बैङ्किङ क्षेत्रमा अराजकता बढेको बताउँदै गलत गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने डेपुटी गभर्नर ढुङ्गानाले बताए।

कार्यक्रममा राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकाल सम्मान गरिएको छ भने आव २०७९/८० मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याएका ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबिआई गरी तीन वाणिज्य बैङ्कलाई सम्मान गरिएको छ । यस्तै बढी रेमिट्यान्स भित्र्याउने इसेवा मनि ट्रान्सफर, सिटी एक्स्प्रेस र आइएमई लिमिटेडलाई सम्मान गरिएको छ ।   

१६ गतेदेखि २१ गतेसम्म यी क्षेत्रमा हुनेछ विद्युत अवरुद्ध

काठमाडौं ।नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृ‌ढीकरण गर्न लागेको छ। उपत्यका पश्चिम वितरण प्रणाली सुदृ‌ढीकरण योजनाले वैशाख १६ गतेदेखि २१ गतेसम्म विभिन्न स्थानमा विद्युत लाइन अवरुद्ध हुने सूचना निकालेको छ ।  नेपाल विद्युत प्राधिकरण, कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ती स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ः०० बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ । हेनुृहोस् यस्तो छ सूचना 

देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल

काठमाडौँ ।नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष राजेशकुमार अग्रवालले लगानीको वातावरण बनाउन सरकारले अधिकतम सहजीकरणको नीति अङ्गीकार गरेसँगै अब  लगानी बढ्दै जाने विश्वास व्यक्त गरेका छन्। मुलुकमा लगानी वातावरण सुधारका लागि सरकारले चालेका कदमबाट निजी क्षेत्र उत्साही बन्दै गएको उनले बताए । भोलिदेखि आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई  नतिजामुखी बनाउन भइरहेका आन्तरिक प्रयास एवं गृहकार्य र सम्मेलनमार्फत विदेशी लगानीकर्तालाई नेपालले दिन चाहेको सन्देशबारे  कुरा गर्दै परिसङ्घ अध्यक्ष अग्रवालले लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्यका रुपमा पहिचान भएको बताए । तेस्रो लगानी सम्मेलनको सहआयोजकसमेत रहेको निजी क्षेत्र अहिलेको वातावरणबाट उत्साही भएको र लगानीका लागि तयार रहेको उनले बताए । “हामी अब लगानीका लागि तयार छौँ । सम्भाव्य क्षेत्रहरु पहिचान भइसकेका छन् । सरकारले ऐन, नियम संशोधन गरेर सहजीकरण गरेको छ”, अध्यक्ष अग्रवालले भने, “नीतिगत, प्रक्रियागत र संरचनागत सुधारका लागि थप आवश्यकता देखिए त्यसका लागि सरकार तयार देखिन्छ । निजी क्षेत्र पनि सहयोग गर्न तत्पर छ ।”       यो लगानी सम्मेलनमार्फत यहाँका सम्भावना देखाउने र लगानीकर्तालाई लगानीका लागि विश्वस्त तुल्याउन सक्नेमा नेपाल सफल हुने आशा पनि उनले व्यक्त गरे । पछिल्लो समय विश्वव्यापी रुपमा देखिएको आर्थिकमन्दीको केही असर नेपालमा पनि देखिएको र अर्थतन्त्र केही शिथिल भए पनि अब चाँडै लयमा फर्किने गरी आधार तयार हुँदै गएको अग्रवालले बताए।       “केही आर्थिक शिथिलताका कारण मुलुकको अर्थतन्त्र केही तनावमा छ तर आर्थिक शिथिलता सधैँभरि रहने होइन । निश्चित समयपछि अवश्य सुधार हुने नै छ”, उनले भने, “लगानी गर्ने र प्रतिफल हासिल गर्ने विषय पनि लामो प्रक्रिया हो । अहिले लगानी गरेपछि भोलि नै प्रतिफल आइहाल्ने होइन । त्यसका लागि समय लाग्छ । यसकारण अहिले लगानी गरेर प्रतिफल लिने बेलासम्ममा मुलुकको अर्थतन्त्रले सकारात्मक गति लिइसक्नेछ ।”       लगानी वातावरण निर्माणका लागि सरकारले चालेका कदमबाट नेपालको निजी क्षेत्र उत्साही बन्दै गएको र लगानीका लागि आत्मविश्वास पलाउँदै गएको उनले बताए । अध्यक्ष अग्रवालले विदेशी लगानीकर्तामाझ  यो सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक भएको उनले बताए । यो लगानी सम्मेलनबाट नेपालको वास्तविक अवस्था अन्तर्राष्ट्रिय लगानीकर्तासम्म पुग्ने र त्यसले मुलुकको प्रचार मात्र नभई विदेशी लगानीसमेत बढ्ने उनको बुझाई छ ।       “नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ भनेर हामीहरुलाई विश्वास बढ्दै गएको छ । यद्यपि, यो सुरुआत मात्रै हो । प्रारम्भिक चरणका प्रक्रिया पूरा गरेर लगानी आउने बेलासम्ममा अर्थतन्त्र अझ सुधार भइसक्छ भनेर हामी अघि बढ्नुपर्छ”, अध्यक्ष अग्रवालले भने “हामीलाई विश्वास छ, हामीले राम्रो गरिरहेका छौँ । सम्मेलनले देशको पनि प्रचार हुन्छ ।” लगानीकर्ताले नेपालमा गर्ने लगानी प्रतिबद्धता र त्यसको वास्तविक प्राप्तिमा केही असन्तुलन देखिएको उल्लेख गर्दै उनले यो समस्यालाई मिहीन ढङ्गले विश्लेषण गरेर समाधान खोजिनुपर्ने बताए । सरकारका केही कमजोरी कारण प्रतिबद्धता र प्राप्तिमा असन्तुलन देखिएको पनि उनको बुझाइ छ ।       “प्रतिबद्धताअनुसारका प्राप्ति किन भएनन् भनेर हामी आफैँले खोजनीति गर्नुपर्छ । लगानीकर्ताले चासो देखाएपछि त्यसको नियमित ‘फलोअप’ गर्न सक्नुपथ्र्यो । सम्झौता गरेको लामो समयसम्म पनि लगानी आएन भने किन आएन भनेर हामी आफैँले सोधीखोजी गर्नुपर्छ । त्यसमा हाम्रो कमजोरी छ”, परिसङ्घ अध्यक्ष अग्रवालले भने, “लगानीकर्तालाई कहाँनेर कस्तो अप्ठेरो परेका कारण उ आउन चाहेन भनेर खोजनीति गर्न सक्नुपथ्र्यो । कानुनी वा प्रक्रियागत जटिलता भए त्यसलाई फुकाउन सक्नुपथ्र्यो ।”       लगानीकर्तासँग निरन्तर सम्पर्कमा रहने, लगानी भित्र्याउन कानुनी, प्रक्रियागत र प्रशासनिक रुपमा सहजीकरण गर्ने जिम्मेवारी सरकार र मातहतका विभिन्न निकायको रहेको उनी बताउछन् । लगानीकर्तालाई के कुरामा चित्त नबुझेका कारण उसले लगानी गर्न चाहिरहेको छैन भन्ने पहिचान गर्नु पनि सरकारी संयन्त्रको जिम्मेवारीभित्र पर्ने धारणा अग्रवालले राखे । “कुनै विभाग वा मन्त्रालयमा फाइल अड्किएको छ भने त्यसलाई अघि बढाउन निरन्तर ‘फलोअप’ चाहिन्छ । लगानी भित्र्याउन पर्याप्त सहजीकरण गर्ने जिम्मेवारी हाम्रै निकायको हो”, उनले भने ।       लगानी भित्र्याउने विषय तत्काल नतिजा देखिनेभन्दा पनि दीर्घकालमा प्रतिफल दिने भएकाले यसको सम्पूर्ण प्रक्रिया र प्राप्तिका चरणबारे बुझ्न आवश्यक रहेको अग्रवालले बताए । “प्रतिबद्धता आउनासाथ तत्कालै लगानी प्राप्ति भइहाल्ने होइन । वास्तविक लगानी आउनका लागि समय लाग्छ”, उनले भने, “प्रतिबद्धताअनुसारको रकम एकैपटक आउने पनि होइन । प्रारम्भिक चरणमा केही  रकम आउला, परियोजना निर्माणको चरणमा केही बढी रकम प्राप्त होला । यसकारण तत्कालको प्राप्तिभन्दा पनि दीर्घकालको नतिजा महत्वपूर्ण हो ।” लगानी सम्मेलनका क्रममा सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रबाट प्रवद्र्धित आयोजना, निजी क्षेत्रका व्यवसायी–व्यवसायी ९बिटुबी० बीच सहकार्य गर्नेलगायत विभिन्न अवधारणामा लगानी सहकार्य खोजिने उनको भनाइ छ । नेपालमा लगानीका लागि प्राथमिकताका क्षेत्र पहिचान भएका र क्षेत्रगत रुपमा विस्तृत विवरण नै बनेका कारण लगानीकर्तालाई जानकारी लिन सहज हुने विश्वास पनि उनले व्यक्त गरे। नेपालमा जलजिद्युत्, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधिलगायत लगानीका मुख्य क्षेत्र पहिचान भएका छन् भने सरकारले पनि यी क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।  शिक्षा, स्वास्थ्य, यातायात तथा सहरी पूर्वाधारका क्षेत्रमा पनि उत्तिकै सम्भावना छन् । लगानी सम्मेलनमा विभिन्न क्षेत्रका एक सय ५० वटा आयोजना प्रस्तुत गर्ने निर्णय भएको छ ।रासस

चितवनको इन्टर आईटी कलेज फुटसल : आइएसमटी भरतपुरलाई हराउँदै हेटौंडा स्कुल विजयी

चितवन । चितवनमा अवसर एकेडेमीद्वारा आयोजित इन्टर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जितेको छ। आज साँझ सम्पन्न फाइनल खेलमा आइएसएमटी कलेज भरतपुर ‘ए’ लाई २–१ ले हराउँदै हेटौंडा स्कुलले उपाधि हात पारेको हो। भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा आज बिहानबाट सुरु भएको प्रतियोगिताको फाइनल पनि आजै सम्पन्न गरिएको हो। प्रतियोगितामा विजेता टिमले ४० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे भने दोश्रो हुने टिमले २० हजार नगदसिहत ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितमा म्यान अफ द म्याच हेटौंडा स्कुलका खेलाडी सुजल लामा, उत्कृष्ट खेलाडी हेटौंडा स्कुलका विश्व लामा, उत्कृष्ट गोल किपर आइएसएमटी कलेजका सुरज गुरुङ बने भने सबैभन्दा बढी गोल गर्ने खेलाडी आइएसएमटी कलेजका देव तामाङ रहे । उनीहरु सबैले प्रतिव्यक्ति ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफि प्राप्त गरे । पुरस्कार वितरण समारोहमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ् प्रालिका प्रिन्सिपल यज्ञविलास पौडेले ‘वाइवी’ को प्रमुख उपस्थिति रहेको थियो भने पपुलर युनिसेक्सका सञ्चालक सुलभ सिग्देलको विशेष उपस्थिति रहेको थियो । सेन्ट्रल कलेजले खेलमा मुख्य भसहयोग गरेको थियो । यसका साथै प्रतियोगितालाई विभिन्न संघसंस्थाहरुले सहयोग गरेका थिए । खेलको मिडिया पार्टनरमा नारायणी अनलाइन, चितवन आज डटकम र टाइम्स अफ गोर्खा रहेका थिए । प्रतियोगितामा कुल १० टिम सहभागी भएका थिए । प्रति टिम दर्ता शुल्क २५०० लिइएको थियो । बिहानको उद्घाटन सत्रमा जिल्ला समन्वयन समिति चितवनका प्रमुख नारायण अधिकारी, बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदीको उपस्थिति रहेको थियो । सुरुवाती खेल पृथ्वीनारायण क्याम्पस पोखरा र बोस्टन इन्टरनेशनल कलेज भरतपुरबीच भएको थियो भने खेलमा पृथ्वीनारायण क्याम्पस विजयी भएको थियो । भरतपुरलाई आइटी हबको रुपमा चिनाउन योगदान पुर्याउन र आईटी विद्यार्थीहरुबीच एकआपसमा सम्बन्ध विस्तार गर्न यस फुटसल आयोजना गरिएको अवसर एकेडेमीका प्रबन्ध निर्देशक सौगात देवकोटाले बताए ।

त्रिवि मैदानमा आज वेस्ट इण्डिजसँग खेल्दै नेपाल

काठमाडौं । नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि सुरू हुँदैछ।पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आज दिउँसो १ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख-२० र वैशाख २२ हुनेछन्।नेपालले वेस्ट इन्डिजविरुद्धको सिरिजलाई टी-२० विश्वकप तयारीको रुपमा लिएको छ। नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि वेस्ट इन्डिज नै जानेछ।विश्वकपमा नेपाल समूह ुडीु मा छ। समूहमा नेपालले नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्नेछ। नेपाली टिम रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह,  गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल। वेस्ट इन्डिज टिम रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श।

मतदानका क्रममा सुहाङले भने– 'बुवालाई सम्झेर भावुक भएको छु'

काठमाडौं । इलाम–२ मा एमालेका तर्फबाट चुनावी मैदानमा रहेका उमेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले सवा ७ बजे महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।  मतदान गरेपछि सुहाङले उत्साहित भएको बताए । “उत्साह महसुस भएको छ । बुवा (सुवास नेम्वाङ)लाई सम्झेर भावुक भएको छु,” उनले भने, “उमेदवार बनेर मतदान गरेको पहिलो अनुभव हो । उत्साहजनक रह्यो । जित निश्चित भन्नेमा म आशावादी छु । इलाम नयाँ युगमा अग्रसर भएको छ ।” बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । लामो लाइनमा सबेर इलाममा मतदाताले मतदान गरिरहेका छन् ।  इलाममा १९ उमेदवार चुनावी मैदानमा छन् ।

धेरै अमेरिकी कम्पनीले ठूलो लगानी लिएर नेपाल आउन चाहेका छन् : उपाध्यक्ष अतुल

काठमाडौं । अमेरिकन व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । १६ र १७ वैशाखमा हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन निजी क्षेत्रका प्रतिनिधिहरुको नेतृत्व गरेर आएका कश्पयले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग भेटेका हुन् ।उनले धेरै अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । हाल नेपालमै रहेको बहुराष्ट्रिय कम्पनी कोकाकोलाले ठूलो मात्रामा लगानी बढाउने तयारी गरेको जानकारी उनले मन्त्री पुनलाई गराए । यस्तै सूचना प्रविधि क्षेत्र र अन्तर्राष्ट्रिय स्तरको फन पार्कमा ठूलो लगानी गर्न अमेरिकी कम्पनीहरु इच्छुक रहेको उनको भनाइ थियो । ‘काकाकोलाले धेरै ठूलो स्तरमा लगानी विस्तार गर्दैछ’, उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको फन पार्क र सूचना प्रविधिको क्षेत्रमा पनि लगानी गर्न इच्छुक छौं ।’  नेपालको सरकारले लगानीका लागि वातावरण बनाउनेमा आफूहरु आशावादी रहेको विश्वास उनले व्यक्त गरे ।भेटमा मन्त्री पुनले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसहित मन्त्तिपरिषदका सबै सदस्यलाई देशबाहिरको लगानी ल्याउने र देशभित्रका लगानीकर्तालाई पनि प्रोत्साहित गर्न निर्देशन दिएको उनले उल्लेख गरे । नेपाल लोकतान्त्रिक प्रणाली र प्रतिस्पर्धात्मक बजारको पक्षमा रहेकाले संसारका सामु थप खुला हुन चाहेको मन्त्री पुनको भनाइ थियो ।  उनले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले केही दिनअघि मात्र लगानी प्रतिकूल ठानिएका ९ वटा कानूनमा परिमार्जनका लागि अध्यादेश ल्याएको जानकारी गराए । ‘हामीले अध्यादेशमार्फत हालसालै मात्र ९ वटा कानूनमा सुधारको प्रक्रिया अगाडि बढाएका छौं’, उनले भने, ‘फेरिएको सन्दर्भ र लगानीकर्ताको सुझावका आधारमा थप सुधार गर्दै जाने सोचेका छौं ।’

शुरू भयो इलाम र बझाङमा मतदान, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा मतदान सुरू भएको छ । बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा मतदाताको पहिचान खुल्ने जुनसुकै परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । इलाममा विभिन्न १२ दल तथा सात स्वतन्त्र गरी १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।इलाममा एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेका छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । बझाङमा ६१ हजार सात सय ४८ मतदाताले आफ्नो उम्मेदवार निर्वाचित गर्दैछन् । निर्वाचनका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि एक हजार दुई सय सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। यस्तै, ६ सय ५१ कर्मचारी परिचालन गरिएको जनाइएको छ । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते र बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते निधन भएपछि रिक्त यी क्षेत्रमा आज उपचुनाव भइरहेको हो ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख १५ गते शनिबार सन् २०२४ अप्रिल २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५१ पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोसी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागमा  आंशिक बदली रही देशको बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।  लुम्बिनी  प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम, गण्डकी र कोसी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना छ।  विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।  लुम्बिनी, मधेस र कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताएकी छन् । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँद्वारा आज आयोजित ‘डिजिटल एक्स्पो’को शुभारम्भ गर्दै उनले गुणस्तरीय इन्टरनेट सेवाको पहुँच देशव्यापी बनाउन सरकार क्रियाशील रहेको जानकारी दिइन् । सरकारले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाउँदै मन्त्री शर्माले यी उद्योगमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरिन् ।उनले आसन्न लगानी सम्मेलनमा सूचना प्रविधिसम्बन्धी तीन वटा परियोजना ‘शो केस’मा राखिएको जानकारी दिइन् । सूचना प्रविधिको विकाससँगै पछिल्ला समय अनलाइन व्यापार वृद्धि हुँदै गएको दृष्टान्त दिँदै उहाँले सूचना प्रविधिको प्रयोगलाई विश्वव्यापी बनाइनुपर्ने बताइन् । ‘डिजिटल व्यापारलाई थप व्यवस्थित बनाउँदै लैजानु आजको आवश्यकता हो, यसतर्फ सरकारले सोचिरहेको छु’, मन्त्री शर्माले भनिन् । मन्त्री शर्माले निजी क्षेत्रले भोग्दै आएको समस्या समाधान गर्न सरकार तयार रहेको बताइन् । मुलुकमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउन सरकारले प्रक्रियागत र कानूनी सुधार थालनी गरेको जानकारी दिँदै उनले निजी क्षेत्र पनि उत्साहित भएर अघि आउनुपर्ने बताइन्। ‘सरकारले नीतिगत सुधार थालनी गरेको छ, निजी क्षेत्र पनि अगाडि आउनुपर्छ, सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक छु’, मन्त्री शर्माले भनिन्।

हप्ता दिन लगाएर धरौटी बुझाएपछि छुटे दिपेश पुन

बुटवल । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका छन् । उनी सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका कारण थुनामा थिए । जिल्ला अदालत रुपन्देहीको आदेशमा ४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न भनिएको भएपनि उनी धरौटी जम्मा गर्न नसक्दा थुनामै थिए । हप्ता दिन लगाएर धरौटी जम्मा गरेर उनी शुक्रबार रिहा भएका हुन् । गत शुक्रबार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो । पुनले ४ लाख धरौटी रकम नबुझाएका कारण उनी थुनामै थिए। रूपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो । त्यस्तै सहकारीको भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई १८ लाख, नवीन अछामीलाई १० लाख, नीता थापालाई २ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार र रोशनी गुरुङसँग २ लाख रुपैँयाँ धरौटी माग गरेको थियो । प्रहरीको झन्डै २ महिना लामो अनुसन्धानपछि वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सहकारीमा नियमित बचत गरेको सर्वसाधरणको रकम ठगी गरेको भन्दै १ हजार ८ सय ३१ जनालाई प्रहरीमा उजुरी गरेका थिए । सहकारीमा जीबी राईसहितको समूहले सर्वसाधरणबाट बचत भएको १ अर्ब ३१ करोड रकममध्ये सहकारीका राई, पुन, गुरुङसहितका पदाधिकारी र कर्मचारीले ८६ करोड १८ लाख, २३ हजार अपचलन गरेको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीमा १९ हजार ३ सय ९१ सदस्य थिए ।

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ। रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश जारी गरेको हो। टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो। निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।

रविविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दरपीठ

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने र उनीमाथि सहकारी ठगीको आरोपमा छानबिन हुनुपर्ने आदेशको माग राखी दायर रिट निवेदन सर्वोच्च अदालत प्रशासनबाट दरपिठ भएको छ। सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले निवेदन दर्ता गर्न योग्य नभएको भन्दै दरपिठ (रिट) निवेदन दर्ता गर्न अस्वीकारको आदेश गरेका हुन् । रिट निवेदकले राज्यका निकायमा कानूनी उपचारको बाटो बन्द नभएको भन्दै सर्वोच्च अदालत प्रशासनले असाधारण अधिकार क्षेत्र (रिट निवेदन)को प्रयोग गर्न नपर्ने जनाएको हो। ‘निवेदकको के कुन हक अधिकार कसरी हनन् हुन गएको हो, स्पष्ट खुलाउनु पर्नेमा सो उल्लेख भएको देखिएन’ आदेशमा भनिएको छ, ‘रिट निवेदकको माग साधारण अधिकार क्षेत्र प्रयोग गरी उपचार खोज्न सकिने हुँदा प्रस्तुत निवेदन दर्ता गर्न मिलेन ।

३०० शैया अस्पताल र विराटनगर रिङरोड बनाउने घोषणाले हामी हर्षित छौं : सांसद आचार्य

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन्दरहरैँचा नगरपालिकाको गोठगाँउमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यहि वर्ष सुरु गर्ने घोषणा गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज संचालन गर्न ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यहि आर्थिक वर्षमा सुरु गर्ने घोषणा गरेका हुन् । मोरङ जिल्ला निर्वाचन क्षेत्र ६ प्रदेशसभा १ का सांसद रहेका पूर्वमन्त्री जीवन आर्चायले विराटनगर क्षेत्रको मुहार फेर्न जनताका जनजिविकाका कामसँगै  त्यस क्षेत्रमा महत्वाकांक्षी योजना अगाडि बढाउने बताउँदै आएका थिए।  पूर्वमन्त्री आर्चायले निर्वाचनको दौरान त्यस क्षेत्रका जनतालाई भरोसा दिलाएका थिए र चुनावी सभामा प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री भए सो बाचा पुरा गरिदिने बताएका थिए। प्रचण्ड प्रधानमन्त्री बनेको केहि दिनमै पुर्वान्चल विश्वविद्यालयलाई मेडिकल कलेजको अनुमति दिएका थिए। यस सन्दर्भमा प्रदेश सभा सदस्य आचार्य भन्छन, “मेडिकल कलेजका लागि आफ्नै ३०० शैय्याको अस्पताल अनिवार्य छ त्यसैले हामीले निरन्तर प्रधानमन्त्री ज्यूलाई भनिरहेका थियौं।”  संसद आचार्यको पहलमा सो क्षेत्रमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको अभियान नै चलेको थियो। सो अभियानलाई लिएर सांसद आचार्य अभियन्ताको भुमिकामा लामो समय देखि संघर्षरत थिए।अन्ततः आज दिक्षान्त समारोहमा बोल्दै काम सुरु गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले घोषणा गरेका ती योजनाले सुन्दरहरैँचा नगरपालिका र समग्र विराटनगरको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास सांसद आर्चायले व्यक्त गरेका छन् ।

मैले जति पढेको एमालेमा कोही छैनः भीम रावल

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले नेकपा एमालेमा आफुले जति पढेको व्यक्ति कोही नभएको दावी गरेका छन् ।  आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा उनले आफुले अन्तराष्ट्रीय सम्बन्ध र कुटनीति पढेर पार्टीलाई योगदान दिएको बताए । रावलले भने, ‘अन्तराष्ट्रिय सम्बन्ध र कूटनीति विषय पढेको मान्छे एमाले पार्टीमै छैन ।’  एमालेमा सबैभन्दा लामो समयसम्म आफूले विदेश विभागमा काम गरेको स्मरण गराउँदै उनले देश र देशको सार्वभौमसत्ताका विषय उठाएकै कारण पार्टीमा निषेध गरिएको बताए । उनले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए । उनले पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको बताएका हुन् । उनले आफूले लिने आगामी मोडबारे रिपोर्टर्स क्लबको मञ्चबाटै सार्वजनिक गर्ने पनि प्रतिवद्धता जनाए । आफूलाई एमाले अछाम जिल्ला अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समेत निषेध गरिएको उनको गुनासो छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १०औं महाधिवेशनमा प्रतिष्पर्धा गरेकै कारण आफूलाई निषेध गरिएको उनको निश्कर्ष छ ।  ‘गोदावरीको अधिवेशनमा मलाई उहाँहरुले जुनप्रकारले व्यवहार गर्नुभएको छ, यसपछि मैले के सोचेको छु भने अब मलाई राजनीतिको जीवनको एउटा मोडमा धकेलिएको जस्तो महशुस भएको छ । एउटा घुम्तीमा पुगेजस्तो मैले महसुस गरेको छु । हामी सबैलाई थाहा छ, हाम्रो सामान्य जीवनमा पनि हिँड्दै जाँदा घुम्तीमा पुग्यौं भने त्यो अर्को मोडमा मान्छे लाग्छ ।’ उनले भने,‘कतै उहाँहरुले मलाई त्यो घुम्तीमा धकेलेर अर्को मोडमा जाओस् भनेर यो काम त गरिरहेको हो कि भन्ने मैले महशुस गरेको छु । म घुम्तीमा पुगेको छु भने मोड कस्तो हुने छ भन्ने कुरा रिपोर्टर्स क्लबको लोकप्रिय मञ्च छँदैछ, फेरि म त्यो कुरामा आउनेछु ।’  उनले आफू महाधिवेशन परिषद् समितिको सदस्य भए पनि  बैठकमा सहभागी हुन पाउने अधिकारबाट निषेध गरिएको बताए । ‘म त्यो महाधिवेशन प्रतिनिधि परिषद्को सदस्य हुँ । म त्यहाँ जाने मनस्थितिमै थिएँ । किनकी पार्टी भनेको त धेरै मानिसको पसिना, त्याग र तपस्याबाट बनेको हुन्छ नि । त्यो कुनै व्यक्तिको कम्पनी या नीजि हुँदैन । नेतृत्व भनेको परिवर्तन हुन्छ । प्रत्येक महाधिवेशन र त्यसको मञ्चहरुमा निश्पक्ष ढंगले निर्वाचन गरेर प्रत्येक व्यक्तिको चुन्ने र चुनिन पाउने अधिकार हुन्छ,’– उनले भने ।  टीका लगाएर पद दिने, आदेशबाट नेतृत्वमा पठाउने र निषेधको राजनीति गर्ने हो भने एमालेले मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’लाई छाड्नुपर्ने उनको माग छ । उनले जबजको १४ वटा विशेषतामध्ये महत्वपूर्ण विशेषता पार्टी चलाउने नेता कार्यकर्ताबाट अनुमोदित हुने र प्रत्येक कमिटीका अधिवेशन र महाधिवेशनहरुमा निश्पक्ष ढंगले प्रतिस्पर्धा गर्न पाउने रहेको उनको भनाइ छ ।  ‘फलानो उठ, फलानो उठ्न पाउँदैनौं । फलानोलाई हराउ, फलानोलाई जिताउ । नेकपा (एमाले) ले यदि त्यस्तो गर्ने हो भने, महाधिवेशनलाई लफडा ठान्ने हो भने, त्यहा चुन्ने र चुनिन पाउने अधिकारलाई निरर्थक ठान्ने हो भने जनताको बहुदलीय जनवादको घोषणालाई सबैभन्दा पहिले खारेज गर्नुपर्छ । त्यसलाई हटाउन पर्छ,’– उनले भने ।  एमालेले अधिवेशन र सम्मेलनमा आफूलाई मन परेका मान्छेलाई विपक्षी दलका भएपनि ल्याएर मञ्चमा राख्ने र आफ्नो पार्टीमा देशको लागि आवाज उठाउँदा, विधिको पक्षमा आवाज उठाउँदा तैले अमुक देशको विरोध गरिस् भनेर भाग लिन पाइँदैन भन्ने गरेको उनको आरोप छ । साथै, उनले पार्टीको पछाडि लेखिएको माक्र्सवाद, लेलिनवाद पनि हटाउन एमाले नेतृत्वलाई सुझाव दिए । पाटीे माक्र्सवाद, लेलिनवादको सिद्धान्तविपरीत चलेको उनको बुझाइ छ ।  गोदावारीमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुन आफू इच्छुक रहेको भएपनि एमालेले आफ्नो परिचयपत्र नै नबनाइदिएको उनको गुनासो छ । उनले पार्टी अध्यक्ष ओलीनिकट केही मान्छेले भीम रावल को हो ? भन्ने प्रश्नसमेत गरेको भन्दै आपत्ति जनाए ।  नेकपा (एमाले) को गोदावारीको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक जबज र पार्टीको परम्पराविपरित रहेको उनको उनको आरोप छ । ‘१०औं महाधिवेशनमा अध्यक्षको पदमा उम्मेदवार बनेको कारणले प्रतिशोध साध्ने बाहेक त्यो केही पनि होईन । मेरो लागि त्यो अस्वीकार्य छ । यो विषयलाई मैले एकदमै गम्भीर रुपमा लिएको छु । म नेकपा (एमाले) कार्यकर्ताहरुलाई सोध्न चाहन्छु– महाधिवेशन प्रतिनिधि परिषद्को सदस्यको हैसियतले त्यहाँ भाग लिन नै नदिने, त्यहाँ परिचय पत्र नै नदिने, पार्टीको एक जना मान्छे गएर भीम रावल भनेको को हो ? किन पठाउन पर्ने ? हामीले नपठाएकै हो भन्ने ?’ प्रश्न गर्दै उनले आक्रोश पोखे ।  देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याएपनि नेतृत्वका कारण त्यसको औचित्यता पुष्टि हुनै नसकेको उनको भनाइ छ । नेता रावलले देशको जनशक्ति र प्राकृतिक स्रोत राष्ट्रको सर्वोपरी हितमा प्रयोग गरेर देशलाई विगतका सन्धि तथा सम्झौताबाट मुक्त गर्ने, युवाहरुलाई देशमै रोजगारी दिलाउने, कृषि क्षेत्रमा आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास, सुशासन कायम गर्ने, भ्रष्टाचार र विकृतिको अन्त्यका लागि गणतन्त्र ल्याइएको भएपनि व्यवहारमा त्यसो हुन नसकेको टिप्पणी गरे ।  लिम्पियाधुरा, लिपुलेक, कालापानीमा भारतीय अतिक्रमण रहेको भएपनि यस विषयमा नेपालका प्रधानमन्त्री भारत जाँदा र भारतका मन्त्रीहरु नेपाल आउँदा गम्भीर ढंगले कुरै नभएको रावलको आरोप छ ।