यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख ८ गते शनिबार सन् २०२४ अप्रिल २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार  राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।  राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

घट्यो नेप्से, १३ वटै उपसमूह राताम्य

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १९.५६ अंकले घटेको छ । नेप्से ०.९८ प्रतिशतले घटेर १९७२.१४ विन्दुमा झरेको छ । आज ३१५ धितोपत्रको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर दुई अर्ब नौ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँमा किनबेच भइरहेको छ । यस दिन १३ वटै उपसमूहको समूहगत सूचक घटेको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमूहको समूहगत सूचक सर्वाधिक १.७२ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ७.९४ प्रतिशतले बढेको छ । रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ।

महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौं । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार रायालाई महालेखा परीक्षक पदमा नियुक्त गरेका हुन् ।  राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम पदमा नियुक्त गरेको विज्ञप्तिमार्फत राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएका छन् ।

भी–२० बैठकमा मन्त्री पुनको सम्बोधन–'जलवायु परिवर्तनका कारण हामी होइनौं, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ'

वासिङ्टन । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् ।  विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी–२० को १२औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका हुन् ।  भी–२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा त्यसबाट विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न सङ्क्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने निकाय हो । पुनले बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित विकासोन्मुख मुलुकले सामना गरिरहेको समस्याबारे विश्व समुदाय समयमै सचेत र गम्भीर हुनुपर्ने बताए । उनले जलवायु परिवर्तनको जोखिमबाट बच्न विश्वस्तरमै सामूहिक प्रतिबद्धताको खाँचो औँल्याए । जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा खास गरी गरिब र सीमान्तकृत वर्गका मानिसहरू प्रताडित हुने गरेको उनको भनाइ थियो । मन्त्री पुनले नेपाल जलवायुको उच्च जोखिममा हुनुमा आफूहरूको योगदान न्यून रहेको स्पष्ट गरे ।  गत वर्ष संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८)लाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूमिका शून्य भए पनि जलवायु परिवर्तनको प्रभावबाट उच्च जोखिममा परेको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएको स्मरण गरे ।  ‘कोप–२८ बैठकमा मेरा प्रधानमन्त्रीले स्पष्ट रूपमा भन्नुभएको थियो कि जलवायु परिवर्तनमा नेपालको अत्यन्तै न्यून भूमिका छ’, पुनले भने, ‘हाम्रा प्रधानमन्त्रीको सन्देशलाई म यहाँहरु समक्ष राख्न चाहन्छु कि विकसित देशहरूले जलवायु परिवर्तनका प्रभावको असमान जोखिमबाट अल्पविकसित मुलुकहरूलाई तत्काल आर्थिक र प्राविधिक सहयोगको आवश्यकता छ ।’  मन्त्री पुनले जवलायु परिवर्तनको प्रभावबाट भएको क्षतिपूर्ति पाउनुपर्ने अडान प्रस्तुत गर्दै जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय जगतमा दृढतापूर्वक वकालत गर्ने उल्लेख गरे।  जलवायु परिवर्तनका कारण नेपालका हिमालयहरूमा तीव्र रूपमा हिउँ पग्लिन थालेको, हिमनदीहरूमा पानीको बहाव घटेको, हिम तालहरू विस्फोटको जोखिम बढेको, तथा अनावृष्टि र अतिवृष्टिजस्ता समस्याका कारण बाढी, पहिरो तथा खडेरीजस्ता प्रकोप डरलाग्दो रूपमा बढ्दै गएकोमा विश्व समुदायको ध्यानाकर्षण गराए।  यस्तै जलवायु परिवर्तनले उत्पन्न प्राकृतिक विपत्तिहरूका कारण विकासका पूर्वधारको दिगो विकास प्रयास मात्र नभई मानव स्वास्थ्य तथा जीविकोपार्जनसमेत खतरामा परेको मन्त्री पुनको भनाइ थियो ।  विकसित अर्थतन्त्र भएका मुलुकहरूले  जलवायु परिवर्तनमा न्यून भूमिका भएर पनि उच्च जोखिममा रहेका नेपालजस्ता तेस्रो विश्वका मुलुकहरूमा जलवायु अनुकूलन कार्यक्रमहरूका लागि आर्थिक सहायता प्रदान गर्नुपर्नेमा मन्त्री पुनले जोड दिए । उनले जलवायु परिवर्तनबाट भएको क्षति लागि स्थापना गरिएको क्षतिपूर्ति कोष, जैविक विविधता कोष र अनुकूलन कोषसहितका सुविधाहरूमा प्रमुख हक नेपालजस्ता अल्पविकसित र हिमाली देशहरूको रहनुपर्ने उल्लेख गरे ।  जलवायु परिवर्तनका असरबाट विश्वलाई बचाउन विकसित मुलुकहरू आफूले गर्दै आएका प्रतिबद्धतामा इमानदार हुनुपर्ने मन्त्री पुनले स्मरण गराए ।  जलवायु परिवर्तनको असर तथा त्यसबाट उत्पन्न प्राकृतिक विपदहरुको सामना गर्न नेपालको आन्तरिक श्रोत अपर्याप्त रहेकामा उनले सदस्य राष्ट्रहरूलाई अवगत गराए । ‘जलवायु परिवर्तनका दुस्प्रभावहरुसँग जुध्नका लागि विश्वव्यापी प्रतिबद्धता र सहकार्यको आवश्यकता रहेकोमा विश्व समुदायको ध्यान जानुपर्छ भन्ने विषयमा ध्यानाकर्षण गराउन चाहन्छु’, मन्त्री पुनले भने, ‘नेपालजस्ता विकासोन्मुख देशहरूका लागि जलवायु कोषमार्फत विशेष अनुदान र सहुलियतपूर्ण पहुँच खोजिरहेका छन् । म विकसित मुलुकहरूलाई जलवायु प्रभावित देशमा गर्नुपर्ने कार्यहरूका लागि आफूले विगतमा गरेका प्रतिबद्धताहरू स्मरण गराउन चाहन्छु ।’ उनले नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को अवधारणासहित अघि बढेको जानकारी दिए ।  कार्यक्रममा भी–२० सदस्य राष्ट्रका करिब ८० जना मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारी, विश्व बैंक समूहका अध्यक्ष अजय बंगा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभालगायत उपस्थित थिए ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  ।आज २०८१ साल वैशाख ६ गते बुधबार सन् २०२४ अप्रिल १८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ९३ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १४ पैसा र बिक्री दर १६६ रुपैयाँ ८९ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

भारत र चीनबीचको पुल नेपाल लगानीकर्तालाई आकर्षक गन्तव्य : मन्त्री पुन

  काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् ।अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीसँग वासिङटन डीसीमा भएको अन्तरक्रियामा मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको बताएका हुन्। भू–परिवेष्ठित अवस्थितिका कारण विश्वका दुई उदयीमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्न सक्ने एक मात्र पुल नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो । नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको मन्त्री पुनले बताए । निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको स्पष्ट नीति रहेको चर्चा गर्दै उनले निर्यातमा प्रोत्साहन, लचिलो कर नीति तथा सजिलै मुनाफा लैजान सकिने नीतिगत व्यवस्थाका कारण अनतर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल बलियो गन्तव्य हुन सक्ने उनले उल्लेख गरे । पछिल्लो समय नेपालको वैदेशिक मुद्रा सञ्चितिले उच्च विन्दु कायम गरेको भन्दै उनले समग्रमा आर्थिक अवस्था राम्रो रहेको तथा आर्थिक गतिविधिहरु बढ्न थालेकाले अर्थतन्त्र दबाबमुक्त रहेको बताए । मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा ‘उदीयमान नेपाल’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरेको स्मरण गराउँदै त्यसअघि नै सरकारले अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका करिब एक दर्जन कानुनमा संशोधन गर्न लागेको जानकारी दिए । सो अवसरमा कम्पनी दर्ता र लगानीको सुरुवात तथा नाफा बाहिर लैजान पाउने गरी व्यवहारिक प्रक्रिया तय गरिने, लगानीको वातावरण बनाउने गरी कानुन परिर्माजन गरिने प्रतिबद्धता उनले जनाए।नेपाल कानुनको शासन भएको लोकतान्त्रिक मुलुक भएकाले उद्योग–व्यवसाय मैत्री कानुन र संरचनाको राम्रो विकास गरिएको मन्त्री पुनले जानकारी दिए। सरकारका तर्फबाट लगानीकर्ताहरूलाई सहजीकरण गर्न तथा लगानीमैत्री र प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्न सरकार तयार रहेको बताए । लगानी सम्मेलनका क्रममा लगानी बोर्डले जलविद्युत् उत्पादन, प्रसारणलाइन विस्तार, पर्यटन, कृषि उत्पादन र सूचना प्रविधिसहित १ सय ३३ वटा आयोजना प्रदर्शनीमा राख्ने जानकारी दिँदै मन्त्री पुनले अमेरिकाबाट निजी क्षेत्रका प्रतिष्ठित घरानाहरुको सहभागिता हुने विश्वास गरिएको बताए । अमेरिकाले लामो समयदेखि ऋण र अनुदान सहायतामार्फत नेपालको विकासमा हातेमालो गर्दै आएको भए पनि निजी क्षेत्रको लगानी भने न्यून रहेको उनले उल्लेख गरे । अमेरिकाको निजी क्षेत्रका लागि नेपालको लगानी सम्मेलन अवसर हुन सक्ने मन्त्री पुनको भनाइ थियो । कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कस्यप लगायत सहभागी थिए।

नेपालमा लगानी बढाउन विश्व बैंकलाई अर्थमन्त्री पुनको आग्रह

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनलाई नेपालमा लगानी बढाउन अपिल गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् ।  गएराति वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा भएको भेटमा मन्त्री पुनले दुवै उपाध्यक्षलाई नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन आग्रह गरे।  आईडालाई नेपालजस्ता विकासोन्मुख देशहरूका लागि भरपर्दो माध्यम बनाउन सकिने भन्दै मन्त्री पुनले पछिल्लो दशकमा दूरसञ्चार, यातायात, स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धी विश्व समुदायले हेर्न लायक भएको उल्लेख गरे । नेपाल सरकार र १६ विकास साझेदारले सन् २०२१ मा संयुक्त रुपमा अनुमोदन गरेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)का लागि रणनीतिक कार्ययोजना समावेश गरिएको काठमाडौँ घोषणापत्रको मार्गनिर्देशनमा अघि बढेको जानकारी उनले दिए ।  उक्त घोषणापत्रको अवधारणाअनुसार आगामी वर्ष पहिलो हरित उत्थान र समावेशी विकास कार्र्यक्रम अन्तर्गतको (ग्रिड डिपीसी) कार्यान्वयन गर्न लागिएको उनको भनाइ थियो ।मन्त्री पुनले १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंकले लगानी गर्न देखाएको तत्परताका लागि प्रशंसा गरे।  विश्व बैंकको पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेनसँग भएको भेटमा मन्त्री पुनले नेपालले पूर्वधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । सरकारका तर्फबाट ऊर्जा, यातायात र शहरी पूर्वाधार केन्द्रित योजनामा जोड दिइएको उनको भनाइ थियो । उनले गत साता मात्र दुई ठूला जलविद्युत आयोजनाहरू माथिल्लो अरुण र दूधकोशीको वित्तिय ढाँचाबारे विश्व बैंकका काठमाडौँस्थित अधिकारीहरुसँग भएको राउण्डटेबल बैठक फलदायी भएको भन्दै उनले छिट्टै वित्तीय व्यवस्थापनको टुंगो लाग्ने आशा व्यक्त गरे।दुवै आयोजना नेपालको नेपालको ‘गेम चेन्जर’ आयोजना रहेको भन्दै उनले ती अयोजनाको विकासले नेपालको ठूला पूर्वधार निर्माण क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

सुनको मुल्य उच्च विन्दुमा स्थिर, चाँदीको घट्यो

काठमाडौं । मंगलबार उच्च मूल्यमा पुगेको सुनको भाउ बुधबार स्थिर रहेको छ । अघिल्लो दिन कायम मूल्यमै आज पनि सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव न्यून रहेपछि नेपाली बजारमा मूल्य स्थिर राखिएको महासंघले जानकारी दिएको छ ।  चाँदीको मूल्य भने आज घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७५० रुपैयाँ रहेको चाँदी आज १ हजार ७१५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख ५ गते बुधबार सन् २०२४ अप्रिल १७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् आजको विनिमय दर 

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील बनाउन सकिन्छ  : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताए । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। “अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,” प्रधानमन्त्री प्रचण्डले भने, “निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ ।” उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पारे। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सवलीकरण मात्रै नभइ देखिनेगरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको बताए। “दवावका बीचमा पनि उत्पादन र रोजगारीमा केन्द्रित हुने र जनतामा आत्मविश्वास पैदा गर्ने सोच र तयारीमा सरकार छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सोहीअनुरूप मौद्रिक नीतिलाई समेत अगाडि बढाउने छौँ । अर्थतन्त्रमा सुधार मात्र नभएर केही गुणात्मक परिणाम ल्याउन जरूरी छ, त्यसो गरिन्छ ।” निजी क्षेत्रको समस्या अर्थतन्त्रको समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “ निजी क्षेको समस्या भनेको अर्थतन्त्रको समस्या हो । अर्थतन्त्रमा रहेको समस्या समाधान गर्न सक्ने पूर्ण क्षमता यो सरकारमा छ र समाधान गर्नेछ ।”   पछिल्लोसमय अर्थतन्त्रमा सुधारका महत्त्वपूर्ण सूचकहरू देखा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्ष अर्थतन्त्रका लागि आशालाग्दो वर्ष हुने विश्वास व्यक्त गरे। “नयाँ वर्षको सुरूआतमा नै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछौँ । विदेशी लगानी भित्राउन सोहीअनुरूप वातावरण निर्माणका लागि दर्जन बढी कानुन संशोधनको प्रक्रियामा छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “यस अर्थमा २०८१ लाई एउटा आशलाग्दो वर्षका रूपमा लिन सकिन्छ ।” वस्तु तथा सेवा निर्यातमा आशालाग्दो अवस्था देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विद्युत, जस्तापाता, सिमेन्टजस्ता वस्तु निर्यातले देशको अर्थतन्त्रलाई सबल तुल्याउने विश्वास व्यक्त गरे। पर्यटन आगमनमा उल्लेख सुधार आएको र सूचना प्रविधिको क्षेत्रले पनि आशा जगाएको बताउँदै उनले यस्ता गतिविधिले राष्ट्रिय आम्दानी र पुँजी निर्माणमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे ।

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

काठमाडौँ। संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए ।  प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरुजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । 

सुप्रिम सहकारी ठगी प्रकरण : २८ जना प्रतिवादी, यस्तो छ अभियोग पत्र (पूर्णपाठ)

काठमाडौँ । सरकारी वकिल कार्यालयले रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा २८ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।सहकारीका संरक्षक तथा पूर्व अध्यक्ष गितेन्द्रबावु (जीबी) राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरेको अभियोग पत्रमा उल्लेख छ । भूपेन्द्र बाबु राईको नाममा कर्जा बनाएर ३ करोड ३० लाख सो मिडियाको नामको पेस्की सेटल गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। भूपेन्द्रभन्दा बाहेक थप १० लाख ९९ लाख ३६ हजार सहित कुल १४ करोड २९ लाख रकम सो मिडियामा लगानी गरेको देखिएको सोमबार रुपन्देही जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ । सरकारी वकिल कार्यालयले सहकारीका संरक्षक जिबी राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित २८ जनाविरूद्ध अभियोगपत्र दायर (मुद्दा दर्ता) गरेको छ। यस्तो छ अभियोग पत्र 

अर्थमन्त्री पुन वासिङ्टन डिसीमा

वासिङ्टन । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त  बैठकमा सहभागी हुने सिलसिलामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुगेका छन् ।  मन्त्री पुनलाई अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा दूतावासका उपप्रमुख कुमार खरेल लगायत दूतावासका उच्च अधिकारीहरुले स्वागत गरे । भ्रमण दलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, सोही महाशाखाका उपसचिव कञ्चन बस्नेतलगायत छन् ।   यहाँ रहँदा अर्थमन्त्री पुनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन तथा अन्तर्राष्ट्रिय वित्त निगमका वरिष्ठ अधिकारीका साथै अमेरिका चेम्बर अफ कमर्सका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । मन्त्री पुनले जलवायु परिवर्तनको प्रभावले जोखिममा परेका मुलुकहरूको मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।  मन्त्री पुनले जलवायु परिवर्तनको प्रभावले जोखिममा परेका मुलुकहरूको मन्त्रीस्तरीय बैठकलाइ सम्बोधन गर्ने कार्यक्रम छ । रासस 

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  । आज २०८१ साल वैशाख ४ गते मंगलबार सन् २०२४ अप्रिल १६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २३ पैसा र बिक्री दर १३३ रुपैयाँ ८३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विदेशी मुद्राको विनिमय दर 

कार्यवाहक अर्थमन्त्रीको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री वर्षमान पुनको अनुपस्थितिमा उनले सम्हाल्दै आएको कार्यभारको जिम्मेवारी श्रेष्ठलाई दिएका हुन्।  अर्थमन्त्री पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।