मध्यपहाडी अभियानको पहिलो चरण सम्पन्न, प्रचण्डसहित माओवादी नेताहरू राजधानी फर्किए
काठमाडौं, नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको "जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनअभियान"को पहिलो चरण सम्पन्न भएको छ।
अध्यक्ष प्रचण्डसहितको पदाधिकारी टोली हिजो शनिवार काठमाडौं फिर्ता भएको हो।
यो अभियान जेठ २ गते बैतडीको पाटनबाट सुरू भई कास्कीमा सम्पन्न भएको थियो। पहिलो चरणको क्रममा हजारौं जनतासँग प्रत्यक्ष संवाद, सहिद परिवारहरूसँग भेटघाट तथा छलफल, ज्ञापनपत्र संकलन, र विभिन्न जनसमूहसँग जनसंवाद कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
अभियानका क्रममा अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग माओवादीको ऐतिहासिक पहलबाट निर्माण भएको स्मरण गराउँदै, यो अभियान माओवादी मात्र नभई राष्ट्रिय अभियान भएको घोषणा गरे। उनले भने, “यो अभियान जनतासँगको आत्मीय संवाद मात्र होइन, राष्ट्रिय रुपान्तरणको महत्वपूर्ण अभियान हो।”
पहिलो चरणमा देखिएको उत्साहपूर्ण जनसहभागिताले अभियानको प्रभावकारिता पुष्टि गरेको छ। विभिन्न जिल्लाहरूमा आयोजित कार्यक्रममा युवादेखि वृद्धसम्मको उल्लेखनीय उपस्थिति रहेको थियो। अभियानलाई विभिन्न राजनीतिक दल तथा स्थानीय तहले समेत स्वागत गरेका थिए।
अब अभियानको दोस्रो चरण जेठ १५ पछि सञ्चालन गरिने भएको छ। दोस्रो चरणमा मध्यपहाडी लोकमार्गसँग प्रत्यक्ष रुपमा जोडिएका बाँकी जिल्लाहरू समेटिनेछन्। यस चरणमा पनि माओवादी केन्द्रका शीर्ष नेताहरूको सहभागिता रहनेछ।
माओवादी केन्द्रले यो अभियानलाई जनभावना बुझ्ने, संगठन सुदृढ गर्ने र राजनीतिक जागरण फैलाउने उद्देश्यसहित सञ्चालन गरेको हो। सहिद परिवारहरूसँगको संवाद, जनताका मुद्दाहरूको पहिचान र स्थानीयस्तरका समस्याहरूको समाधानमा केन्द्रित अभियानलाई दोस्रो चरणमा झनै प्रभावकारी बनाउने तयारी भइरहेको छ।
दोस्रो चरणको विस्तृत कार्यतालिका चाँडै सार्वजनिक गरिने जनाइएको छ।
रूकुम पूर्वमा अध्यक्ष प्रचण्ड, स्थानीय उत्पादनको अवलोकन
रूकुम पूर्व, जेठ ८ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भुमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गर्नुभएको छ। उक्त सहकारीले स्थानीय उत्पादनको बजारिकरण तथा कृषकलाई उत्पादनमुखी बनाउन सहयोग पुर्याउँदै आएको छ। अवलोकनको अवसरमा सहकारीका अध्यक्ष रामेश्वर बुढा मगरले सहकारीले सञ्चालन गरेका कार्यक्रमहरू र गतिविधिबारे जानकारी दिनुभयो। उहाँले स्थानीय रूपमा उत्पादन हुने अर्गानिक वस्तुको माग उच्च रहेको उल्लेख गर्दै त्यसअनुसार उत्पादन बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा अध्यक्ष बुढा मगरले अध्यक्ष प्रचण्डलाई सहकारीका अर्गानिक उत्पादनहरू उपहारस्वरूप प्रदान गर्नुभयो।
छत्तीसगढ़मा महासचिव बसवराजूसहित २७ माओवादी विद्रोही मारिएको दावी
भारतको छत्तीसगढ़मा रहेको बस्तर क्षेत्रअन्तर्गत नारायणपुर, बीजापुर र दन्तेवाडा जिल्लाको सीमाक्षेत्रमा भारतीय सुरक्षाफलद्वारा सञ्चालन गरिएको अपरेसनमा सीपीआई (माओवादी) का महासचिव नम्बाल्ला केशव राव उर्फ बसवराजू सहित २७ जना माओवादी विद्रोही मारिएका छन्। जनयुद्ध सञ्चालन गर्दै आएको भाकपा (माओवादीविरूद्ध) यो कारबाही इतिहासमा नै हालसम्मकै सबैभन्दा ठूलो सफलता मानिएको छ। मुठभेड़को पृष्ठभूमि र कारबाही यो अपरेसन २१ मे बिहान सुराकीका आधारमा सुरु गरिएको थियो, जुन 'ब्ल्याक फरेस्ट' नाम दिइएको विशेष अभियान अन्तर्गत सञ्चालन भएको हो। कारबाहीमा CRPF, कोबरा बटालियन, STF, DRG र राज्य प्रहरीको संयुक्त टोलीले भाग लिएको थियो। जंगलमा बसवराजूसहित शीर्ष माओवादी नेताहरूको रणनीतिक बैठक भैरहेको सूचनाको आधारमा घेराबन्दी गर्दै गरिएको अपरेसनमा करिब ८ घण्टा लामो मुठभेड़ भएको बताइएको छ। घटनास्थलबाट दर्जनौं अत्याधुनिक हतियार, संचार उपकरण, दस्तावेज र विस्फोटक सामग्री बरामद गरिएको छ। केन्द्रिय गृहमन्त्री अमित शाहको प्रतिक्रिया अमित शाहले सामाजिक सञ्जाल X (पूर्व ट्विटर) मा पोस्ट गर्दै भनेका छन्: “नक्सलवाद अन्त्यको दिशामा यो ऐतिहासिक उपलब्धि हो। नारायणपुरमा भएको अपरेसनमा २७ कुख्यात माओवादी मारिएका छन्, जसमा सीपीआई माओवादीका महासचिव बसवराजू पनि छन्। ३० वर्ष लामो नक्सलविरोधी संघर्षमा पहिलो पटक महासचिव स्तरको नेता ढलेका छन्। म सुरक्षाफल र गुप्तचर निकायहरूलाई यो ठूलो सफलताका लागि बधाई दिन्छु।” शाहले थप जानकारी दिँदै अपरेसन ‘ब्ल्याक फरेस्ट’ को समाप्तिपछि छत्तीसगढ़, तेलंगाना र महाराष्ट्र राज्यहरूमा ५४ जना नक्सलीहरू पक्राउ परेका छन् भने ८४ जनाले आत्मसमर्पण गरेको दावी गरेका छन्। बसवराजू : एक युगको अन्त्य नम्बाल्ला केशव राव, उर्फ बसवराजू, सन् १९५४ मा आन्ध्रप्रदेशको वारंगल नजिकैको जियान्नापेट गाउँमा जन्मिएका थिए। उनी मेकानिकल इन्जिनियरिङ अध्ययन गरिरहेका बेला वामपन्थी विद्यार्थी आन्दोलनमा आबद्ध भए र 'रेडिकल स्टुडेन्ट्स युनियन' को सदस्य बने। त्यही बेलादेखि भूमिगत जीवन सुरु गरे। राजनीतिक यात्रा: बसवराजूले आफ्नो भूमिगत राजनीतिक जीवन १९८० को दशकमा सुरु गरे। सन् १९९२ मा तत्कालीन 'पीपुल्स वार ग्रुप' को केन्द्रीय समिति सदस्य भए। २००० मा PLGA (People’s Liberation Guerrilla Army) गठन भएपश्चात उनी सैन्य कमाण्डर बने। २०१८ मा संस्थापक महासचिव गणपति हटाइएपछि उनी संगठनको महासचिवमा नियुक्त भए। यो पद संगठनको सर्वोच्च नेतृत्व हो। उनी रणनीतिक गुरु मानिन्थे, जसले 'गुरिल्ला युद्ध' नीति निर्माण गरे। भूमिका र योगदान: • भारतका १० भन्दा बढी राज्यहरूमा माओवादी गतिविधिहरूको योजना बनाउन बसवराजूको भूमिका थियो। • जन अदालत, जनमुक्ति सरकार, गाउँपालिका समानान्तर संरचनाहरू निर्माण गर्ने योजना बसवराजूले नै अघि सारे। • उनले PLGA को प्रशिक्षण, हतियार व्यवस्थापन, र जंगल युद्धमा दक्षता वृद्धि गर्न धेरै काम गरे। राजनीतिक सन्दर्भ र विशेषज्ञहरूको टिप्पणी यद्यपि केन्द्र सरकार र सुरक्षाफलले यस कारबाहीलाई ऐतिहासिक सफलता मानेका छन्, माओवादी गतिविधिमा निगरानी राख्ने केही पत्रकार र सुरक्षा विश्लेषकहरूले "माओवादी आन्दोलन समाप्त भएको घोषणा गर्न अझै छिटो हुने" बताएका छन्। उनीहरूको भनाइ छ: “बसवराजूको मृत्युले संगठनलाई ठूलो आघात पुर्याएको छ, तर माओवादी आन्दोलन केवल व्यक्तिमा निर्भर छैन। जबसम्म संरचनात्मक कारणहरू – जस्तै सामाजिक असमानता, आदिवासी अधिकारको उपेक्षा, विकासको अभाव – समाधान हुँदैनन्, विद्रोहको बीउ बाँकी रहन्छ।” दीर्घकालीन प्रभाव र निष्कर्ष • नेतृत्व संकट: बसवराजूको मृत्युपछि सीपीआई (माओवादी) को रणनीतिक र वैचारिक निर्देशनमा संकट आउने देखिन्छ। बिबिसीमा प्रकाशित समाचारका आधारमा
मध्यपहाडी अभियानले राष्ट्रियता र समृद्धिका पक्षमा मजबूत जनलहर पैदा भएको छ: इञ्चार्ज पोखरेल
धनगढी, जेष्ठ ७ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेलले ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजनसँग’ अभियानले राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको पक्षमा सशक्त जनलहर निर्माण गरेको बताएका छन्। जेष्ठ ७ गते प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् कि अन्तर्राष्ट्रिय राजनीतिमा बढ्दो बहुध्रुवीयता र तीव्र प्रतिस्पर्धाको अवस्थामा नेपालले राष्ट्रिय स्वाधीनता, आत्मनिर्भरता र विकासका एजेन्डालाई समेट्दै अघि बढ्नु पर्ने आवश्यकता छ र यही सन्देश लिएर माओवादी केन्द्रले अभियान सञ्चालन गरेको हो। उक्त अभियानले जनस्तरमा व्यापक समर्थन र उत्साह प्राप्त गरेको पोखरेलले बताएका छन्। विज्ञप्तिमा उल्लेख गरिएको अनुसार अभियानको दोस्रो श्रृंखला २०८२ जेठ २ गते बैतडीको पाटन नगरपालिका हुँदै औपचारिक रूपमा सुरु भएको थियो। यस अभियानमा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं सहभागी भएर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी र अछाम जिल्लाका विभिन्न स्थानीय तहहरूमा आयोजित जनसंवाद, जनसभा, भेटघाट तथा जनअभियानहरूले माओवादी केन्द्रको विचार, दृष्टिकोण र एजेन्डालाई आमजनतासम्म पुर्याउन ठूलो सहयोग पुगेको जनाइएको छ। अभियानका क्रममा प्रदेशका विभिन्न स्थानमा १३ स्थानमा जनसंवाद, ३ ठाउँमा शहीद तथा वेपत्ता परिवारसँग भेटघाट, ६३ वटा ज्ञापनपत्र हस्तान्तरण, ११ वटा सांस्कृतिक कार्यक्रम, १५ स्थानमा विशिष्ट व्यक्तित्वहरूसँग अन्तरक्रिया, १० वटा स्वागत कार्यक्रम, ४० वटा आन्तरिक पार्टी बैठक, र ७०० जनप्रतिनिधिसँग प्रत्यक्ष सम्बोधन गरिएको उल्लेख छ। अभियानबाट प्रत्यक्ष रूपमा १० हजारभन्दा बढी जनतालाई सन्देश पुर्याइएको विज्ञप्तिमा जनाइएको छ। गिरिराजमणि पोखरेलले पार्टी एकता, संगठन सुदृढीकरण, जनसरोकारका मुद्दामा प्रत्यक्ष संवाद तथा जनताको समस्यामाथि पहलकदमी लिने प्रयासमार्फत अभियानले माओवादी केन्द्रप्रति जनविश्वास अझ मजबुत बनाएको बताए। उनका अनुसार, यो अभियानले मध्यपहाडी लोकमार्गको राष्ट्रिय महत्व, भौगोलिक पहुँच र आर्थिक विकासमा पर्ने दीर्घकालीन असरको विषयमा पनि जनचेतना अभिवृद्धि गरेको छ। उनले भने, “मध्यपहाडी लोकमार्ग केवल सडक मात्र होइन, यो राष्ट्रिय एकता, स्थानीय उत्पादन प्रवर्द्धन, क्षेत्रीय सन्तुलन र समग्र समृद्धिको मेरुदण्ड हो। यस अभियानमार्फत हामीले सडकलाई राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको आधारका रूपमा स्थापित गर्ने प्रयास गरेका छौं।” पोखरेलले सुदूरपश्चिमका नेता, कार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, युवा, विद्यार्थी, महिलालगायत सबै तहबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन्। साथै, उनले नेपालको संविधानले प्रत्याभूत गरेको नागरिकको सेवा, शिक्षा, स्वास्थ्यलगायतका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सुदूरपश्चिममा स्थापित ‘स्वास्थ्य विज्ञान विश्वविद्यालय’ सम्बन्धी विधेयक पारित भएको घटनालाई ऐतिहासिक उपलब्धि भन्दै सबैलाई बधाईसमेत दिएका छन्। प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सशक्त पहलमा सुदूरपश्चिमको मागअनुसार विश्वविद्यालय स्थापना तथा विकासको काम अघि बढाइएको छ, जसले शिक्षा र स्वास्थ्य पहुँचमा ऐतिहासिक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।
जनयुद्वको केन्द्र थवाङ पुगे प्रचण्ड
रोल्पा, जेठ ७ — बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान आज रोल्पा आइपुगेको छ। रोल्पाको थबाङमा अभियान टोलीको भव्य स्वागत गरिएको छ। स्थानीयवासी र पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका हुन्। थबाङ, जनयुद्धका दिनमा अध्यक्ष प्रचण्डको महत्वपूर्ण सेल्टर थियो। यस्तै, रोल्पाको लाबाङ तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठक स्थलका रूपमा चिनिन्छ, जहाँ महत्वपूर्ण रणनीतिहरू तय गरिएको थियो । यहाँ जिल्ला पार्टीले अहिले आयोजना गरेको जनसभालाई अध्यक्ष प्रचण्डसहित नेताहरूले जनसभालाई सम्बोधन गर्नुहुने छ । अभियान टोली आज राति रोल्पामै बास बस्ने कार्यक्रम रहेको छ।
रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित
रुकुमपूर्व, जेठ ७— जनतासँग माओवादी – मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका, रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुभएको छ। कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकता बारे धारणा राख्नुभयो। उहाँले अभियानको उद्देश्य जनताको विश्वास र सहभागिता पुनः मजबुत बनाउने रहेको स्पष्ट पार्नुभयो। सोही अवसरमा जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’, बाबुराम भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी, साथै नेकपा (एमाले) निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका महत्वपूर्ण नेताहरू माओवादी केन्द्रमा समाहित भएका छन्। अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गर्नुभयो । सरकार को नेतृत्वमा रहेर जनताको पक्षमा गरेका काम को कारण आएको पार्टी प्रतिको सकारात्मक लहर ऐतिहासिक र प्रेरणादायी भएको बताउनुभयो। उहाँले विचार, सिद्धान्त र लक्ष्यको आधारमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गर्नुभयो। कार्यक्रममा स्थानीय बुद्धिजीवी, व्यवसायी, राजनीतिक कार्यकर्ता, र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कम्युनिष्ट एकता र विघटनको गहिरो मूल्यांकन र आत्मसमीक्षा जरूरी: प्रचण्ड
जाजरकोट, जेठ ६। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आलोचना र सुझावलाई गम्भीरतापूर्वक ग्रहण गर्दै पार्टीलाई आत्मसमीक्षा गरेर अघि बढाइरहेको बताउनुभएको छ। जनसंवाद अभियानमार्फत प्रत्यक्ष संवाद अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान अन्तर्गत जाजरकोटको भेरी नगरपालिकामा आयोजित अन्तरसंवाद कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, पत्रकार, नागरिक समाज र स्थानीय सरोकारवालासँग विचार आदानप्रदान गरिएको हो। विकासका चुनौती : जलविद्युत् अड्किएको, सडक पुगे पनि काम अधुरो कार्यक्रममा सहभागी वक्ताहरूले भेरी करिडोर, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–रारा लोकमार्गजस्ता पूर्वाधार परियोजनाहरूमा केही प्रगति भए पनि नलगाड जलविद्युत् आयोजना अझै अघि नबढेकोप्रति गुनासो व्यक्त गरे। उनीहरूले यस आयोजना तत्काल प्राथमिकतामा राख्नुपर्ने माग पनि गरे। संघीयता र प्रदेश सरकारको प्रभावकारितामाथि प्रश्न वक्ताहरूले प्रदेश सरकार कमजोर देखिएको र संघीयताको प्रभावकारी कार्यान्वयन नभएकोप्रति चिन्ता व्यक्त गर्दै अधिकार प्रत्यायोजन र संविधानको मर्मअनुसार राज्य सञ्चालन हुनुपर्नेमा जोड दिए। प्रचण्डको जवाफ : “जनताको सुझाव आत्मसात गर्दै अघि बढ्छौं” जनगुनासो र सुझावहरू सुनेपछि अध्यक्ष प्रचण्डले जनताको भावना र चिन्तालाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउनुभयो। “तपाईंहरूले उठाएका प्रश्न र सुझावहरू महत्वपूर्ण छन्,” उहाँले भन्नुभयो, “हामी उपदेश दिने शैलीमा होइन, जनताको सुझाव सुन्ने शैलीमा अघि बढिरहेका छौं।” भूकम्पपछिको राहत र पुनःस्थापनामाथि ध्यानाकर्षण पूर्व प्रधानमन्त्रीको हैसियतले प्रचण्डले भूकम्पको समयमा जाजरकोटमा तत्काल राहत तथा उद्धारको काम सुरु गराएको स्मरण गर्दै पुनःस्थापनाका कामहरूमा अहिले पनि गति दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। कम्युनिष्ट एकता र विघटनको गहिरो मूल्यांकन र आत्मसमीक्षा जरूरी कम्युनिष्ट एकताको प्रसङ्ग उठ्दै गर्दा अध्यक्ष प्रचण्डले आफू नै उक्त एकताको प्रस्तावक रहेको र त्यसको परिणामस्वरूप केपी शर्मा ओली प्रधानमन्त्री बनेको स्मरण गराउनुभयो। “तर त्यो एकता किन टुट्यो? यसको डाइग्नोसिस नगरी उपचार सम्भव छैन,” उहाँले भन्नुभयो, “हामीले इमानदारीपूर्वक मूल्याङ्कन गर्नुपर्छ, आत्मसमीक्षा गर्नुपर्छ।” संविधान कार्यान्वयनका विधेयकमा ढिलाइप्रति चिन्ता संविधान कार्यान्वयनका लागि आफू प्रधानमन्त्री हुँदा कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयक, उच्च शिक्षा सुधार विधेयकजस्ता कानुनी तयारी गरिएको उल्लेख गर्दै प्रचण्डले ती विधेयकलाई अब अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। जनता र वर्गसँग पुनः सम्बन्ध जोड्ने प्रयास कार्यक्रमको समापनमा अध्यक्ष प्रचण्डले यो अभियान पार्टीको आत्मसमीक्षा र जनता तथा वर्गसँग पुनः सम्बन्ध जोड्ने ऐतिहासिक प्रयास भएको बताउनुभयो। “अब हामी रुकुमतर्फ अघि बढ्दैछौं,” उहाँले भन्नुभयो, “यो यात्राले हाम्रो राजनीतिक मूल्य, जिम्मेवारी र जनताप्रतिको प्रतिबद्धता बलियो बनाउने विश्वास लिएको छु।”
अध्यक्ष प्रचण्डद्वारा सहीद इन्द्रलाल आचार्यको सालिक अनावरण
जाजरकोट, जेठ ६ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका क्रममा वीरगति प्राप्त गरेका तत्कालीन स्ववियु सभापति सहिद इन्द्रलाल आचार्यको सालिक अनावरण गर्नुभएको छ। मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत जाजरकोट पुग्नुभएका प्रचण्डले आज मर्निङ वाक कार्यक्रमको क्रममा भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको अवलोकन गर्नुका साथै सहिद आचार्यको योगदानको स्मरण गर्दै सालिक अनावरण गर्नुभएको हो। उक्त अवसरमा पार्टीका पदाधिकारी, प्रदेश तथा जिल्ला नेता, क्याम्पस प्रशासन, तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। अनावरणपश्चात बोल्दै अध्यक्ष प्रचण्डले सहिदको बलिदानबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न शिक्षा, समानता र समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताउँदै जनताको सपना पूरा गर्न संघर्ष जारी रहने स्पष्ट पार्नुभयो। उहाँको नेतृत्वमा रहेको टोली हाल मध्यपहाडी लोकमार्ग क्षेत्रका विभिन्न जिल्ला भ्रमणमा रहेको छ, जहाँ पूर्वाधार विकास, जनजीवन र स्थानीय सरोकारका विषयमा निरन्तर अवलोकन र संवाद गरिँदै आएको छ।
दैलेखमा विकासका लागि देखिएको राजनीतिक सहकार्य उदाहरणीयः प्रचण्ड
दैलेख, जेठ ५ । दैलेखमा विकास र समृद्धिको अभियानमा देखिएको राजनीतिक सहकार्यलाई नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘उदाहरणीय’ बताएका छन्। माओवादी केन्द्रको जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा आइतबार सम्पन्न सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी हुँदै अध्यक्ष प्रचण्डले सबै राजनीतिक दलहरू, व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीहरूको सक्रियताले विकास अभियानलाई सर्वपक्षीय स्वरूप दिएको उल्लेख गरे। “यहाँको विकास र समृद्धिमा देखिएको दलहरूको एकता उदाहरणीय छ,” उनले भने, “यो अभियान अब माओवादीको मात्र होइन, सबै दलहरूको साझा अभियान बनेको छ। यहाँ उठेका माग र अनुभवहरू राष्ट्रिय तहमा सशक्त रूपमा प्रस्तुत गरिनेछ।” अध्यक्ष प्रचण्डले दैलेखमा करिब १२५ किलोमिटर मध्यपहाडी लोकमार्ग पर्ने जानकारी दिँदै यो खण्ड सबैभन्दा लामो भएको बताए। “मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्दै पहाडी क्षेत्रमा व्यवस्थित सहर निर्माण तथा पर्यटन र उद्योग प्रवर्द्धन गर्ने लक्ष्यसहित अघि सारिएको हो,” उनले भने, “तर वैदेशिक रोजगारी र बसाइसराइको क्रम यथावत् रहनु चिन्ताको विषय हो।” उनले दैलेख पेट्रोलियम खानीको सम्भावनालाई समेत जोड दिंदै माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएको अन्वेषणको नमुना परीक्षणका लागि चीन पठाइएको जानकारी प्राप्त भएको बताए। “म काठमाडौं फर्केपछि यसबारे थप छलफल गर्नेछु,” उनले जनाए। कार्यक्रममा जिल्लाका प्रमुख राजनीतिक दल, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, नागरिक समाज लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूले स्थानीय पूर्वाधार, पर्यटन र उद्योग प्रवर्द्धनका सम्भावनाहरू तथा समस्या र प्राथमिकताहरूबारे धारणा राखेका थिए। उद्योग वाणिज्य संघ, दैलेखले जिल्लाका आवश्यकतासहितको मागपत्र अध्यक्ष प्रचण्डलाई बुझाउँदै मध्यपहाडी लोकमार्ग अभियानप्रति आभार व्यक्त गरेको थियो। सहभागीहरूले उक्त अभियानले दैलेखको सम्भावनालाई मूर्तरूप दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे। अध्यक्ष प्रचण्ड आइतबार दैलेख पुगेका थिए भने आज सोमबार जाजरकोट प्रस्थान गरेका छन्। उ
कोशी प्रदेशका चार सांसद सवार गाडी दुर्घटनामा
विराटनगर, जेठ ६ — कोशी प्रदेशका प्रदेशसभा सदस्यहरू सवार गाडी सोमबार मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ। विराटनगरतर्फ आउँदै गरेको सांसद सवार गाडीलाई अर्को कारले ठक्कर दिँदा दुर्घटना भएको हो। प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटना बिहान विराटनगर आउँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले सांसद सवार गाडीमा ठक्कर दिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनाग्रस्त गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए। दुर्घटनामा मानवीय क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। घटनास्थलमा सुरक्षाकर्मीहरू खटिएका छन् भने प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।
ऐतिहासिक सफलता : इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल ग्लोबल क्वालिफायरमा
काठमाडौं — नेपाली महिला क्रिकेट टिमले ऐतिहासिक सफलता हात पारेको छ । सोमबार युएईविरुद्धको सुपर थ्री खेलमा कप्तान इन्दु बर्माको अविजित कप्तानी इनिङ्सको मद्दतले नेपालले पाँच विकेटको शानदार जित निकाल्दै पहिलो पटक आईसीसी महिला टी२० विश्वकप ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। युएईले दिएको ११५ रनको लक्ष्य नेपालले ३ बल बाँकी राख्दै ५ विकेटको क्षतिमा पूरा गर्यो। कप्तान इन्दु बर्माले चौथो क्रममा ब्याटिङ गर्दै २८ बलमा २ चौका सहित अविजित ३० रन बनाइन् र निर्णायक रन प्रहार गर्दै खेल जिताइन्। इतिहास रच्दै ग्लोबल क्वालिफायरमा नेपालको यो जित महिला क्रिकेट इतिहासमै सबैभन्दा ठूलो सफलता हो। पहिलो पटक महिला टी२० विश्वकपको ग्लोबल चरणमा स्थान बनाउन सफल भएको नेपालले एसिया छनोटबाट थाइल्याण्डसँगै छनोट हुँदै नयाँ अध्याय सुरु गरेको हो। पोष्ट म्याचमा कप्तान इन्दु बर्माले भनिन्, ‘यो हाम्रो महिला क्रिकेटका लागि ऐतिहासिक क्षण हो। सबै खेलाडी र टोली सदस्यहरूको मेहनतको प्रतिफल हो।’ इन्दु बर्माको निर्णायक प्रदर्शन २७ वर्षीया इन्दु बर्माले युएई विरुद्धको खेलमा मात्र होइन, प्रतियोगिताका अन्य महत्वपूर्ण खेलहरूमा समेत कप्तानी इनिङ्स खेलेकी थिइन्। समूह चरणको बहराइन विरुद्धको ‘मस्ट विन’ खेलमा पनि उनले २४ रनको अविजित पारी खेलेर टिमलाई जित दिलाएकी थिइन्। बहराइन विरुद्ध वर्षा प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो। अन्तिम १८ बलमा ३२ रन आवश्यक पर्दा इन्दुले लगातार चौका र छक्का प्रहार गर्दै नेपाललाई जितसम्म पुर्याएकी थिइन्। साझेदारीले बनायो जितको आधार युएई विरुद्ध इन्दुले उपकप्तान पूजा महतोसँग २४ रन र पूर्व कप्तान रुबिना क्षेत्रीसँग ३७ रनको महत्वपूर्ण साझेदारी गरिन्। जब रुबिना आउट भइन्, नेपाललाई जितका लागि अन्तिम १३ बलमा १६ रन आवश्यक थियो। इन्दुले रुवि पोदारसँग साझेदारी गर्दै अन्तिम ओभरसम्म इनिङ्स सम्हालिन् र जित सुनिश्चित गरिन्। सम्पूर्ण प्रतियोगितामा इन्दुको दबदबा इन्दु बर्मा प्रतियोगिताका चारै खेलमा नटआउट रहिन्। उनको सतर्कता, संयमता र आक्रामकता मिसिएको ब्याटिङले नेपालको जित सुनिश्चित गर्यो। पहिलो खेल हङकङ विरुद्ध वर्षाका कारण रद्द हुँदा अंक बाँडिएको थियो। अब नेपालले सुपर थ्री को अन्तिम खेल थाइल्याण्डसँग खेल्दैछ। सो खेल जिते नेपाल एसिया छनोटको विजेता बन्नेछ।
अध्यक्ष प्रचण्डद्वारा हिमताल बाढीपीडितको तत्काल उद्धार र सुरक्षित बसोबास गर्न सरकारको ध्यानाकर्षण
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेदैलेख, हुम्लामा हिमताल फुटेर आएको बाढीपछि विस्थापित नागरिकको उद्धार र सुरक्षित बसोबासको व्यवस्था तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। पार्टी अभियानका क्रममा दैलेखको कोतगढी पुग्नुभएका अध्यक्ष प्रचण्डले सोमबार बिहान सामाजिक सञ्जालमार्फत हुम्लाको नाम्खा गाउँपालिका–६, लिमी उपत्यकाको तील गाउँमाथिका दुई हिमताल फुटेर जेठ १ गते आएको बाढीबाट करिब ५० घरधुरी प्रभावित भएको समाचार सुनेको बताउँदै उद्धारका लागि आग्रह गरेका हुन। हाल तील गाउँमा १८ घरमा ३३ जना मात्र बसोबास गरिरहेका छन्, जो पहिरोको उच्च जोखिममा रहेका छन्। पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा पनि क्षति पुगेको छ। ‘३३ जना स्थानीय नागरिक उद्धार र राहतको पर्खाइमा छन्, तर अहिलेसम्म सरकारको उपस्थिति देखिएको छैन, तत्काल उद्धार र सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।’ उनले भने। प्रचण्डले सम्भावित जनधनको क्षति रोक्न आवश्यक सतर्कता अपनाउन तथा उद्धारमा जुट्न आफ्ना पार्टीपंक्तिलाई निर्देशनसमेत दिएका छन्। साथै, जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले राजधानीमा मात्र बहस सीमित नराखी वैज्ञानिक अध्ययन र पूर्वतयारीमा पनि सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए।
जेठ २ गतेदेखि ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ (तालिकासहित)
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग)जनजागरण अभियान’ जेठ २ गतेबाट सुरु गर्ने भएको छ। अभियानको उद्घाटन बैतडी जिल्लाको पाटनमा विशेष जनसभा गरेर गरिने माओवादीले जनाएको छ। अभियानमा सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू आज जेठ १ गते सुदूरपश्चिम प्रदेशतर्फ प्रस्थान गर्दै छन्। पार्टीले अभियानमार्फत जनताको बीचमा पुगेर मध्यपहाडी लोकमार्ग आफ्नो पार्टीको अवधारणा भएको, यसको आवश्यकता, लोकमार्ग क्षेत्रको सम्भावना र विकास सम्बन्धी विषयमा जनस्तरसम्म संवाद र जागरण फैलाउने उद्देश्य राखेको बताइएको छ। पार्टीद्वारा तय गरिएको कार्यतालिका अनुसार अभियान जेठ महिनाभरमा सम्पन्न गरिछ। यस अवधिमा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने प्रत्येक प्रदेशका समितिहरूले कम्तीमा एक स्थानमा जनसभा आयोजना गर्नेछन् भने प्रत्येक जिल्ला समन्वय समितिहरूले एक–एक स्थानमा जनसंवाद कार्यक्रम सञ्चालन गर्नेछन्। पूर्वका जिल्लाहरूमा हाल सञ्चालन भइरहेका जनसभाहरूलाई समेत यही अभियानअन्तर्गत समेटिने बताइएको छ। बाँकी जिल्लाहरूमा स्थानीय परिस्थितिअनुसार कार्यक्रमको समयतालिका तय गरिने पार्टीले जनाएको छ। यस्तो छ प्रारम्भिक कार्यतालिका जेठ १ गते – डडेल्धुरामा वास जेठ २ गते – बैतडीको पाटनमा जनसभा, डोटी (दिपायल) मा जनसंवाद जेठ ३ गते – अछाम (मंगलसेन) मा जनसंवाद जेठ ४ गते – दैलेख सदरमुकाममा जनसभा जेठ ५ गते – जाजरकोट (खलंगा) मा जनसंवाद जेठ ६ गते – पश्चिम रुकुमको चौरजहारीमा जनसभा, मुसिकोटमा जनसंवाद जेठ ७ गते – पूर्व रुकुम (रुकुमकोट) मा जनसंवाद, रोल्पाको थवाङमा जनसभा जेठ ८ गते – बागलुङमा जनसंवाद जेठ ९ गते – पर्वतको कुश्मामा जनसंवाद जेठ १० गते – कास्की (पोखरा)मा जनसभा माओवादी केन्द्रले यस अभियानलाई पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ गर्ने, आफ्नो सरकारले चालेका सकारात्मक काम जनतामाझ लैजाने, सरकारको गलत क्रियाकलापको भन्डाफोर गर्ने, राजावादीहरुको अन्दोलन एंव पश्चगमनविरुद्ध जनतामा जागरण ल्याउने अवसरका रूपमा लिएको जनाएको छ। साथै, पुष्पलाल लोकमार्ग आफ्नो पार्टीको योजना रहेको बताउँदै यसलाई देशको विकास, समृद्धि र राष्ट्रिय एकताको मेरुदण्डका रूपमा स्थापित गर्न एंव पहाडका जनतासँग सम्बन्ध सुधार गर्न अभियानले गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ।
क्यानसँगको सम्झौता तोड्ने सन्दीप लामिछानेको घोषणा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको केन्द्रीय सम्झौताबाट आफू अलग हुने घोषणा गरेका छन्। आइसिसी विश्वकप लिग–२ का लागि युके जानुअघि सामाजिक सञ्जालमार्फत सन्दीपले यो जानकारी दिएका हुन्। उनले क्यानप्रति कृतज्ञता व्यक्त गर्दै यो निर्णय देश वा क्रिकेटप्रति विमुख हुने होइन पनि भनेका छन्। ‘ए’ ग्रेडमा रहेका सन्दीप पछिल्लो समय क्यानसँग असन्तुष्ट देखिएका थिए। माघमा अनुशासन उल्लङ्घन गरेको भन्दै क्यानले उनलाई तीन डिमेरिट अंक दिएपछि उनी घरेलु क्रिकेट प्रतियोगितामा उनी देखिएनन् । जय ट्रफीको खेलमा अम्पायर निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा टिप्पणी गरेका सन्दीपले त्यसपछि क्यानको कारबाहीको सामना गर्नुपरेको थियो।
पोखरामा बस दुर्घटना, २२ जना घाइते
लेखनाथ, कास्की। कास्कीको पोखरा महागनरपालिका २२ मा बुधबार दिउँसो भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । विश्व शान्ति स्तुपाबाट पोखरा फर्किंदै गर्दा घुम्तीमा ग १ ख ३८८६ नम्बरको माइक्रोबस सडकमै पल्टिएको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज ल्याइएको छ । बसमा रहेका अधिकांश यात्रु भारतीय पर्यटक हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले २२ घाइते भएको ४ जनाको गम्भीर रहेको जानकारी दिनुभयो । बाँकी चार जना यात्रु सकुशल छन् ।
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ सदनमा प्रस्तुत
काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयकलाई समायानुकूल बनाउनुपर्ने भएकाले संसद्मा प्रस्तुत गरेको जानकारी दिनुभयो । उहाँले विसं २०२१ देखि २०२८ सालसम्म नापी हुँदा विभिन्न कारणले नापजाँच नमिलेको वा नापीमा छुटेको स्थानमा अहिले बस्ती बसेकाले बस्ती उठाउन नसकिने र राजश्व पनि नतिरेको अवस्थामा समस्या फुकाउन विधेयकमा आवश्यक व्यवस्था गरिएको बताउनुभयो। यसअघि उक्त विधेयकमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई बैठकले बहुमतले अस्विकृत गरेको थियो ।