बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुवाङ बजार बन्द, राजमार्ग अवरुद्ध

दाङ । बालिका बलात्कारका आरोपी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले दाङको भालुबाङ बजार बन्द गराएका छन् ।

मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ । यसका साथै भालुबाङ बजार बन्द गरिएको छ ।

२४ असोजमा सशस्त्र प्रहरी बलको क्याम्प नजिक पिङ खेल्न पुगेकी ८ बर्षीया बालिका बलात्कार भएको सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको थियो ।

पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिकासंगै रहेकी अर्की १५ बर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानको लागि कार्यालयमा राखेको छ ।

दुवै बालिकासंग घटनाको बारेमा जानकारी लिने र संकास्पद व्यक्तिहरुसंग सोधपुछ जारी राखिएको प्रहरीले बताएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाए पनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि जनआक्रोश बढ्दै गएको छ ।

 

अर्घाखाँचीमा जीप दुर्घटना, एकको मृत्यु, दश जना घाइते

अर्घाखाँची । अर्खाखाँचीमा आज बिहान भएको जीप दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक बिपन कार्कीले जानकारी दिए। शितगंगा नगरपालिका- १२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडकखण्डमा बुधबार बिहान साढे १० बजे लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका थिए।  दुर्घटनामा घाइते भएकामध्ये बढी चोट लागेका तीन जनालाई थप उपचारको लागि बुटवल लगिएको छ। छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ६०मिटर तल खसेर दुर्घटना भएको हो।   यी हुन् घाइते १. जिप चालक जि.अर्घाखाँची छत्रदेव गा.पा.५ बस्ने वर्ष  ४० को चुरा बहादुर खत्रीको दाँया कुम र छातीमा चोट, अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर।  २. ऐ.ऐ.बस्ने वर्ष ४० की साबित्रा बि.क.को मुख र कुममा चोट। अवस्था मध्यम, थप उपचारको लागी बुटवल रिफर। ३. ऐ.ऐ.७ बस्ने वर्ष  २४ की अनिता परीयारको निधार र हातमा चोट, अवस्था मध्यम । ४. ऐ.ऐ. बस्ने निज अनिता परीयारको छोरा २० महिनाको प्रयन्स परीयार चोट नभएको। ५. ऐ.ऐ.८ बस्ने वर्ष  ४२ की गीता आचार्यको ढाडमा चोट, अवस्था मध्यम। ६. ऐ.ऐ. बस्ने पर्ष  १७ की दीक्षा पौडेलको टाउकोमा चोट,अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर। ७. ऐ.ऐ.६ बस्ने वर्ष ४४ की कमला अधिकारीको हातमा चोट,अवस्था मध्यम। ८. ऐ.ऐ.५ बस्ने वर्ष  ७ की अनुष्का पंथीको टाउकोमा चोट, अवस्था मध्यम। ९. हालसम्म ठेगाना नखुलेको वर्ष  २६ की बिष्णु थापाको कान र खुट्टामा चोट,अवस्था मध्यम।

पूर्वमुख्यन्त्रीले थर्काएपछि पोखरी उद्घाटन गर्न हच्किए बहालवाला मुख्यमन्त्री

तुलसीपुर । दाङको तुलसीपुरमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आयोजकलाई थर्काएपछि बहालवाला मुख्यमन्त्री चेतनाराण आचार्य एक योजना उद्घाटन गर्न हच्किएका छन्।  तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यानभित्र मुख्यमन्त्री आचार्यले पोखरी र बोटिङ पुलको उद्घाटन कार्यक्रम तय रिएको थियो । रोकिएको छ। तर पूर्वमुख्यमन्त्री चौधरी आफूले बजेट हालेको योजनामा अरुलाई ल्याएर उद्घाटन गराउन थालेपछि कार्यक्रम रोकिएको हो । शान्ति उद्यानका सचिव कृष्ण पोख्रेलका अनुसार जिल्लाकै सबैभन्दा ठूलो शान्ति उद्यान भित्रको दक्षिण कुनामा गत वर्ष मात्रै मुख्यमन्त्री छँदा डिल्लीबहादुर चौधरीले दुई किस्तामा गरी झन्डै ५० लाख रुपैयाँ पोखरी निर्माणका लागि बजेट उपलब्ध गराएका थिए। त्यो बजेटबाट १७ मिटर चौडाइ र ९० मिटर लम्बाइको आकर्षक पोखरी निर्माण गरिएको छ। पोखरी तयार भएपछि तुलसीपुर उपमहानगरपालिकाले तीन लाख ६४ हजार मूल्य बराबरका दुई वटा डुंगा उपलब्ध गराएको छ।  

गंगादेवको नाम र केन्द्र परिवर्तनपछि तनाव, प्रतिरोध गर्न माओवादी केन्द्रको आह्वान

रोल्पा । नेपाल सरकारले गंगादेव गाउँपालिका रोल्पाको नाम र केन्द्र दोस्रो पटक हेरफेर गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानिय सरकार संचालन ऐन २०७४ उलङ्गन गर्दै गंगादेव गाउँपालिकाको नाम पुनः सुकिदह गाउँपालिका केन्द्र सुकाओढार राख्ने निर्णय गरेको हो । स्थानिय सरकार सुरुवाती  समयमा सुकिदह गाउपालिका नाम रहेक‍ोमा २०७४ मंसिर २९ गते बसेको गाउँ सभाबाट स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४ अनुसार गाँउ पालिकाको नाम र केन्द्र हेरफेर गर्ने निर्णय बमोजिम नेपाल सरकारले २०७४ फागुन १४ गते राजपत्रमा सुचना प्रकाशन भए पश्चात् पहिलो पटक नाम र केन्द्र हेरफेर गरि नाम गंगादेव र केन्द्र सानडाडा कायम गरि कार्य संचालन हुँदै आएको थियो । दोस्रो स्थानिय निर्वाचन २०७९ परिणाम पश्चात् निर्वाचित नेतृत्व परिवर्तन सगै दोस्रो पटक पुनस् नाम र केन्द्रको निर्णय अगाडी बढेको थियो। २०७९ असार १८ को गाँउकार्यपालिकाको निर्णय तथा २०७९ असार ३१ को गाउसभाको निर्णय गरि दोस्रोपटक नाम र केन्द्र हेरफेरको प्रकृया थालिएको थियो। असार १८ र ३१ गतेको निर्णयलाई टेकेर गाउपालिकाको नाम र केन्द्र हेरफेरको बिषयमा अदालतमा स्थानिय बेलबहादुर दमाई ले मुद्दा दायर गरे। सो मुद्दाका प्रतिवादीहरुले गाउपालिकाको नाम र केन्द्र परिवर्तन भई नसकेकोले मुद्दा बदर हुनुपर्ने लिखित जवाफ पेश गरे भने अदालतले स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४ अनुसार नाम र केन्द्र हेरफेर गरि राजपत्रमा सुचना प्रकाशन भई कार्य संचालन हुँदै आएको सुकिदह नाम र सुकओढार केन्द्र कायम भएको निर्णय नभएकोले अलग्गै आदेश दिइरहनु नपर्नेगरि सुनुवाई गर्यो । फेरि गाउपालिका अध्यक्षको प्रस्तावमा ८ वैशाख २०८० को गाउँ सभाले गाउँपालिकाको नाम हेरफेर गर्ने सुकिदह गाउँपालिका नामाकरण गर्ने र गाउँपालिकाको केन्द्र सुखाओडार (जिनावाङ) रहने गरी निर्णय गरेको थियो । सोही प्रकृया पश्चात लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको नाम र केन्द्र फेर्ने प्रस्ताव संघीय सरकारलाई पठाउने सिफारिस गरेको थियो । सोही प्रकृया बमोजिम आधारमा नेपाल सरकारले नाम र केन्द्र हेरफेर गरेको हो । गंगादेब गाँउपालिकाको नाम र केन्द्र परिवर्तन गर्दा तिनै तहको सरकारले स्थानिय सरकार संचालन ऐन २०७४ कुल्चिएको आरोप निवर्तमान गाउँपालिका अध्यक्ष बिरबहादुर खत्रीले लगाएका छन । उनले भने “स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४ लाई अपब्याख्या गरि सरकारले ऐन कानुन कुल्चिएको छ, ऐन र कानुन कुल्चने तिनै तहको सरकारको बिरुद्धमा अदालत जान्छौ ।” गाउपालिका अध्यक्ष हरिबहादुर पुन भने स्थानिय सरकार संचालन ऐन २०७४ भावना अनुसार नाम र केन्द्र अहिलेको सरकारले हेरफेर गरेको बताउदै आएका छन । उनले केही दिन पहिले बाजागाजा सहित गाउपालिका सानडाडा बाट सुकाओडार सार्ने बताएका थिए ।गंगादेव गाउपालिका रोल्पाको नाम र केन्द्र स्थानिय सरकार संचालन ऐन २०७४ को भावना विपरित दोस्रो पटक हेरफेर गरेपछि माओवादी केन्द्र रोल्पाले बिज्ञप्ति जारी गरेर विरोध जनाएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ मा नाम र केन्द्रको हेरफेरकोलागि यस्तो छ ब्यवस्था ? १) नेपाल सरकारले प्रदेश सरकारको परामर्शमा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र तोक्न सक्ने छ । २) गाउँपालिका तथा नगरपालिकाको केन्द्रकोलागि आवश्यक पर्ने जग्गाको क्षेत्रफल, भौतिक पूर्वाधार र अन्य विषयको न्यूनतम मापदण्ड नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ । ३)गाँउपालिकाको वा नगरपालिकाको नाम र केन्द्र हेरफेर गर्नुपरेमा सम्वन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकार मार्फत नेपाल सरकारमा पठाउनु पर्नेछ । ४) उपदफा (३) बमोजिम प्राप्त भएको प्रस्ताव नेपाल सरकारले उपयूक्त देखेमा त्यस्तो गाउपालिका वा नगरपालिकाको नाम र केन्द्र हेरफेर गर्न सक्नेछ । ५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिना भित्र सम्बन्धित सभाबाट तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गरि एक पटककोलागि गाउपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिस बमोजिम नाम र केन्द्र हेरफेर गर्नुपर्ने छ । ६) यस दफा बमोजिम केन्द्रको हेरफेरको सिफारिस गर्दा उपदफा (२ ) मा उल्लेखित मापदण्डको अधिनमा रही गर्नुपर्ने छ । ७) कुनै गाउँपालिका वा नगरपालिकाको ना र केन्द्र हृरफेर भएमा सो को जानकारी प्रदेश सरकारलाई दिनुपर्ने छ । ८) कुनै गाउपालिका वा नगरपालिकाको नाम अर्को गाउँपालिका वा नगरपालिका सँग मिल्न गएमा नेपाल सरकारले प्रदेश सरकार मार्फत सम्वन्धित गाउपालिका वा नगरपालिकालाई त्यस्तो नाम परिवर्तन गर्न सुझाव दिन सक्नेछ । ९) उपदफा (८) बमोजिमको सुझाव प्राप्त भएको कार्यपालिकाले उपदफा ३ बमोजिमको प्रकृया अपनाइ गाउपालिका वा नगरपालिकाको नाम परिवर्तन गरि प्रदेश सरकार मार्फत नेपाल सरकार समक्ष पठाउनु पर्ने छ ।

आज थारु समुदायको बर्का अट्वारी पर्व, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक विदा

दाङ । आज समुदायमा बर्का अट्वारी पर्व मनाइदैछ ।  टवारी थारू समुदायको महान् चाड माघ पछिको दोस्रो ठूलो पर्वको रूपमा मानिन्छ । यो पर्वमा खास गरेर पुरुषहरू निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरू पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने यो पर्व प्रायः भदौ महिनामा पर्छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंशीपछिको पहिलो आईतबार अट्वारी मनाइन्छ । यसैबीच लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा आज ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार थारु समुदायको बसोबास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा बिदा गरिएको छ ।   

गिद्ध संरक्षण सचेतना दिवसमा विद्यार्थीबीच बक्तृत्वकला प्रतियोगिता

दाङ । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र नेपालको आयोजनामा १६ औं अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस मनाइएको छ। संस्थाका कार्यवाहक अध्यक्षजितलाल चौधरीको अध्यक्षता र तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १८ का अध्यक्ष  माधव ओलीको प्रमुख आथित्यता र सब डिभिजन वन कार्यालयका अधिकृत ईश्वरी बस्नेत तथा बिसिएनका भुपाल नेपालीको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो । सो क्रममा विद्यार्थीहरुबीच प्रतियोगिता गराइएको थियो । प्रतियोगितबाट लक्ष्मी मावि हेमन्तपुरका रक्षा खड्का प्रथम, सोही विद्यालयकी सान्त्वना शर्मा दोस्रो र जनकल्याण माविका धन्याल बस्नेत तेस्रो हुनुभएको थियो । प्रथम, द्धितीय र तृतीयलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा तुलसीपुर १७, १८ र १९ का ११ वटा माविका २१ छात्रछात्र सहभागी थिए। निर्णायक मण्डलमा बृद्धिजीव डिल्लीराज अधिकारी र बिसिएनका जीव बिज्ञ दिलिप चन्द हुनुहुन्थ्यो।  सदस्य बालिका तिवारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम सहजीकरण अधिकृत साधना शर्माले गर्नुभएको थियो । 

लुम्बिनीका एक मन्त्री र एक सांसदलाई कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन

देउखुरी । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले विभिन्न आरोप खेपेका लुम्बिनी प्रदेशका दुई सांसदलाई कानुनी कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ। नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पूर्वका डिबी भनिने धनबहादुर केसीलाई कानुनी कारबाही गर्न मागसहित चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको उक्त पार्टीका जिल्ला सेक्रेटरी अमर खड्काले जानकारी दिनुभयो ।  सोमबार बिहान घोराहीमा पत्रकार सम्मेलन गरि नेकपा (बहुमत)का नेताहरुले लुम्बिनीका वन मन्त्री कुर्मी र रुकुम पूर्वका प्रदेश सांसद केसीलाई कानुनी कारबाही गरि पदबाट हटाउन माग गरेका थिए ।  उनीहरले आइतबार मात्रै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई त्यससम्बन्धी ज्ञापन पत्र बुझाएका थिए। पार्टीका जिल्ला इञ्चार्ज तिलकको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउँदै उनीहरूले कुर्मी र केसीलाई उनीहरूको कसुर अनुरुप सांसद पदमा रहिरहन कानुन बिपरित रहेको हुँदा तत्काल सांसद पदबाट हटाउन माग गरेका थिए। ज्ञापन पत्र बुझाउनु भन्दा पहिले उनीहरूले प्रदर्शनसमेत गरेका थिए। उनीहरूले मंगलबार लुम्बिनीका सबै प्रमुख जिल्ला अधिकारीहरूलाई सोही ब्यहोराको ज्ञापन पत्र बुझाउने बताएका छन्। त्यतिगर्दा पनि आरोपित व्यक्तिहरूमाथि कारबाही नभए भदौ २० गते पछि सरकारी गाडी चल्न नदिने लगायका थप आन्दोलनका कार्यक्रमहरू गर्ने जिल्ला सेक्रेटरी अमर खड्काले बताउनुभयो ।  मन्त्री कुर्मीमाथि बाँकेकी निर्मला कुर्मीलाई अपहरण तथा बन्धक बनाइ बेपत्ता पारेको गम्भीर आरोप छ। जसको विरोधमा बाँकेदेखि काठमाडौंसम्म पुगेर महिला अधिकारकर्मीहरू चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन्। त्यस्तै सांसद केसीमाथि किर्ते गरेको अभियोग छ। २०४८ साल असार ६ गते  तत्कालीन जिल्ला न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा ३२ वर्ष पहिले अदालतले उनलाई त्यस्तो फैसला सुनाएपछि उनी फरारको सूचिमा रहँदै आएका छन्।

दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली

घोराही । राष्ट्रिय दलित पत्रकार संघ दाङकाे अध्यक्षमा पत्रकार गिरिराज नेपाली चयन हुनु भएकाे छ । संघकाे आज घाेराहीमा सम्पन्न चाैथाे जिल्ला अधिवेशनले नेपालीकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ । संघकाे बरिष्ठ उपाध्यक्ष प्रियास्मृति गजमेर, उपाध्यक्षमा अर्जुन परियार, सचिवमा देवका परियार, सह-सचिवमा चन्द्रप्रकाश नेपाली र काेषाध्यक्षमा तेजबहादुर परियार चयन गरिएकाे छ । जसकाे सदस्यहरूमा हेमराज परिवर्तन, सरिता नेपाली , सिर्जना विश्वकर्मा , अन्जना बिक र रमा नेपाली रहनु भएकाे छ । त्यस्तै अधिवेशनले संघका सस्थापक अध्यक्ष जनक नेपाली, पुर्व अध्यक्ष नवीन अभिलाषी, वसन्त परियार , जीवन नेपाली र अर्जुन परियारलाई केन्द्रीय पार्षद र हेमराज परिवर्तन, सरिता नेपाली, अरूण नेपाली, सुवास परियार, चन्द्रप्रकाश नेपाली र हिमाल बिकलाई प्रदेश पार्षदमा चयन गरेकाे छ । अधिवेशन जिल्ला अध्यक्ष वसन्त परियारकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

संविधान संशोधनका नाममा उपेक्षित वर्गको अधिकार खोस्ने चलखेलः पूर्वमन्त्री शर्मा

गिरिराज नेपाली  दाङ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य रेखा शर्माले नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनको सरकार संविधान संसोधनको नाममा जनताका अधिकार खोस्ने चलखेलमा लागेको बताउनुभएको छ । वर्तमान सरकार संविधान संसोधन गरी समानुपातिक समावेशिताको अधिकार सहित संविधानले उत्पीडित जाति वर्ग र  समुदायले संविधान मार्फत प्राप्त गरेको अधिकार हनन गर्ने गरी संविधान नै संसोधनको आन्तरिक गृहकार्यमा रहेको बताउनुुभयो ।  अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिकाले आयोजना गरेको तिज मिलन तथा शुभकामना आदाप्रदानमा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री शर्माले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको उत्पीडत जाति समुदायको अधिकार छिन्ने गरी संविधान फेर्ने र अधिकार मास्ने खेलमा रहेको उहाँको भनाई थियो । उहाँले भन्नुुभयो– ‘दलित, मुुस्लिम, महिला, जनजातिहरुलाई संविधानले समानुपातिक समावेशिताको अधिकार दिएको छ । त्यो कुरा सत्ता गठबन्धन दलहरुले फेर्न चाहान्छन् । मुलुकको उत्पीडित जाति समुदाय र वर्गलाई आफ्नो अधिकार र स्वतन्त्रतावाट बञ्चित गर्न गठबन्धन सरकार चाहान्छ ।’ मुलुक परिवर्तनसँगै प्राप्त गरेको उपलब्धीको रक्षा क्रान्तिकारी शक्तिहरुले गर्ने भएकाले अब मुलुक परिवर्तनका लागि नभई प्राप्त अधिकारको रक्षाका लागि उत्पीडित जाति, वर्ग र समुदाय एक भएर लाग्नुुपर्ने उहाँले जोड दिनुुभयो । उहाँले थप्नुुभयो– ‘हिजो परिवर्तन र अधिकार प्राप्तीको लडाई थियो, आज अधिकार रक्षाको लडाई जरुरी छ । जसले हिजोको जनयुद्ध र जनआन्दोलनको झझल्को दिलाउन सकोस् ।’ महिला दिदिबहिनीहरु मुुलुकको हरेक परिवर्तनमा अग्रिणी भूमिकामा रहि परिवर्तनका लागि संघर्षशिल बन्दै आइरहे पनि हिजोको त्यो व्यवस्थाले महिलाहरुलाई थिचोमिचो र अन्यायमा पारे पनि अहिले महिलाहरु परिवर्तन सँगै अधिकार प्राप्ती अनुुभूूत गर्न पाएकाले मुुलुक परिवर्तनसँगै प्राप्त उपलब्धीको रक्षा जोगाउने प्रमुख दायित्व महिला, उत्पीडित जाति समुदायको रहेको उहाँको भनाई थियो ।  पूर्वमन्त्री शर्माले हरितालिका तीज महिला दिदि बहिनीहरुको सुख, शान्ति र मनोरञ्जनको पर्व रहेकाले यसमा विकासित समाजसँगै विकृत समेत बढ्दै गईरहेको बताउनुुभयो । तर विकृतिलाई निरुत्साहित गर्दै हाम्रा मौलिक पर्व एवं संस्कृतिहरुको परम्परा मौलिकतालाई जोगाउन जरुरी रहेको बताउनुुभयो । पछिल्लो समय चार्डपर्वका नाममा हुने खाने र हुदा खानेहरुको अन्तर समेत मौलाउदै गइरहेकाले यसलाई सास्कृतिक, सामाजिक सहिष्णुुता कायम राख्न सबैले प्रयत्न गर्नुुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुुभयो– ‘पर्वले हामी राम्रो सिकाउने, तर पर्वका नाममा हामीले धेरै कुरा नराम्रो सिकेका छौं । गरिव र धनी बीचको अन्तर विरोध र अन्तर सम्वन्ध हामीले हाम्रा चार्डपर्व र संस्कार सस्कृतिहरुबाट छुटाउदै आइरहेको छौं ।’  कार्यक्रममा लुम्विनी प्रदेशसभा सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले मौलिक पहिचान सहित हाम्रा संस्कार संस्कृति हराउदै गइरहेकाले ति मौलिक पहिचान सहितको संस्कार संस्कृति जोगाउनुु हाम्रो दायित्व रहेको बताउनुुभयो । मौलिक चालचलन र सस्कार संस्कृति नै हाम्रा पहिचान रहेकाले यि यस्ता पर्वहरु देखासिकी नभई आपसी खुुसीयाली पर्वका रुपमा मनाउनुुपर्ने बताउनुुभयो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिका अध्यक्ष दुरपति चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङका ईन्चार्ज पुनम शेरपाईली लगायतलेको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बाँकेमा बस दुर्घटना, दुईको मृत्यु, २७ घाइते

नेपालगञ्ज । कोहलपुर–नेपालगन्ज सडक खण्डको गनापुरमा बिहीबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार, दाङको तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा परी दाङको तुल्सीपुरका  ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा २७ जना घाइते भएको छ । घाइतेहरु मध्ये २१ जनाको भेरी अस्पताल नेपालगन्जमा, ५ जनाको कोहलपुर शिक्षण अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा घाइते १ जना नेपालगन्ज मेडिकल कलेजमा उपचार पछि डिस्चार्ज भएका छन् । बसका चालकले बसको पट्टा भाँचिदा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीलाई बताएका छन् । अनियन्त्रित बसले एउटा मोटरसाइकललाई पनि ठक्कर दिएको हुनसक्ने प्रहरीले बताएको छ । सकडमा पल्टिएको बस डोजरको मद्दतले सडकबाट साइडमा राखिएको छ ।

माओवादीले नेतृत्व गरेका हरेक तहका सरकारले नमूना काम गरेका छन्ः शर्मा

दाङ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले आफ्नो पार्टीले नेतृत्व लिएका कुनै पनि तहका सरकारमा नमूना काम गर्दै आएको बताउनुभएको छ । दाङको घोराही उपमहानगरपालिका जबरपुरमा आयोजित पार्टी कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले वडादेखि केन्द्रसम्म माओवादीले नेतृत्व गरेका सरकारहरुले नमूना काम गर्दै आएको बताउनुभयो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसअघि लोडसेडिङमुक्त नेपाल बनाएको स्मरण गराउँदै उहाँले पछिल्लो कार्यकालमा गम्भीर भ्रष्टाचारका फाइलहरु खोलेर सुशासनको नयाँ अभियान सुरु गरेको बताउनुभयो । ‘माओवादीले अहिलेसम्म धेरै सम्हालेका उर्जा र सञ्जार मन्त्रालय हुन्, यी मन्त्रालयले नै अहिले देशलाई परिवर्तनको अनुभूति दिलाइरहेका छन्’– शर्माले भन्नुभयो– ‘दिनमा १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट मुक्त गरेर दश वर्षमा दश हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्नेसम्मको तहलाई देशमा पुर्याउने माओवादी नै हो । घरघरमा इन्टरनेट, हातहातमा मोबाइल सेटको नारासहित सञ्चार क्षेत्रको विकास गर्दै अहिले नेपाललाई सूचना प्रविधि दशकको घोषणासम्मको अवस्थामा पुर्याएको पनि माओवादीले नै हो ।’  माओवादीको पहिलो सरकारले मध्यपहाडी लोकमार्गजस्तो राष्ट्रिय महत्वको आयोजना अघि बढाएको स्मरण गर्दै उहाँले माओवादीले नेतृत्व गरेका केन्द्रदेखि स्थानीय तहका हरेक सरकारले नमूना काम गर्दै आएको बताउनुभयो । माओवादीले धेरै काम गरे पनि जनतासँगको सम्बन्ध र व्यवहारलाई ध्यान दिन नसक्दा कमजोर भएको स्वीकार गर्दै नेता शर्माले अब जनतासँगै एकाकार भएर आगामी निर्वाचन एक्लै लड्ने तयारीका साथ अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका शर्माले सबै टोलटोलमा एकैचोटी विकास पुर्याउन नसके पनि क्रमशः विकास योजनाहरु योजनाबद्ध रुपमा अघि बढाउँदै लगेको बताउनुभयो । जनताबाट निर्वाचित हुँदा आफूले सके जति राम्रो गर्नेछु र नराम्रो गर्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै उहाँले सके जति राम्रो गरिरहेको तर नराम्रो नगरेको र कहिल्यै नगर्ने वाचा दोहोर्याउनुभयो । ‘मैले निर्वाचन जितेको पाँच वर्ष पुगेपछि निर्वाचन क्षेत्रमा के कति काम गरियो, के कति गर्न सकिएन र के कारणले गर्न सकिएन भनेर स्वेतपत्र जारी गर्नेछु’– उहाँले भन्नुभयो– ‘हामी जो जहाँ छौं, इमान्दारितापूर्वक लागौं, गर्न सकेका कामको स्वामित्व लिऔं, नसकेका कामका लागि निरन्तर पहल गरौं, हामी अवश्यक सफल हुनेछौं ।’  

जिल्ला बार इकाई दाङमा पहिलोपटक महिला अध्यक्ष

घोराही । नेपाल बार एशोसिएशन जिल्ला बार इकाई दाङको अध्यक्षमा अधिवक्ता गोमा महरा निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका अर्का उम्मेदवार अधिवक्ता केशव केसीले उम्मेदवारी फिर्ता लिएपछि महरा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन संयोजक रेशमराज गिरीले घोषणा गर्नुभयो । यससँगै २०३५ सालमा स्थापना भएको बार इकाईले पहिलोपटक महिला नेतृत्व पाएको छ । अहिलेको कार्यसमितिमा सहसचिव रश्मी पाण्डेय धितालबाहेक यसअघि माथिल्लो पदमा महिला नेतृत्व पुगेको थिएन । त्यसमा पनि सर्वसम्मत महिला नेतृत्व निर्वाचित भएर सकारात्मक सन्देश दिएको छ । आगामी कार्यकालका लागि सर्वसम्मतीय नयाँ कार्यसमिति चयन भएको छ । ‘विभिन्न संगठनका साथीहरुलाई एकता गरेर छाता संस्थामा समेट्न सफल भएका छौं’– जिल्ला बार इकाईका उपाध्यक्ष किरण रेग्मीले भन्नुभयो– ‘आफू नसमेटिएको बिर्सनुपर्छ । व्यक्तिगत स्वार्थ छोडेर संस्थालाई अघि बढाउनुपर्छ । धेरै प्रयासपछि भएको सर्वसम्मतिले खुशी बनाएको छ । त्यसमा गर्व गरेर संस्थालाई अगाडि बढाउने अवसर आएको छ । सम्पूर्ण अधिवक्ताको एकता, साथ सहयोग र सहकार्य गरी अघि बढ्नुपर्छ ।’ ‘मलाई निर्विरोध निर्वाचित बनाउन उहाँ (अधिवक्ता केशव केसी) को भुमिका रह्यो’– नवनिर्वाचित अध्यक्ष महराले भन्नुभयो– ‘हाम्रो बार बनाउने छौं, हाम्रो बार उदाहरणीय बन्नेछ ।’ उहाँले मन्तव्यका क्रममा उम्मेदारी फिर्ता लिनुभएका अधिवक्ता केसीप्रति कृतज्ञता प्रकट गर्नुभएको थियो । मनोनोयनकै दिन उपाध्यक्ष अधिवक्ता नुमानन्द आचार्य, सचिव अधिवक्ता हरि बेलबासे, सहसचिव अधिवक्ता सुशीला गिरी र कोषाध्यक्षमा अधिवक्ता तिलकबहादुर केसी निर्विरोध निर्वाचित हुनुभएको थियो । यसैगरी सदस्यहरुमा अधिवक्ता कुमारराज श्रेष्ठ, अधिवक्ता विष्णुप्रसाद धिताल, अधिवक्ता प्रदीपकुमार गौतम, अधिवक्ता भुपबहादुर केसी, अधिवक्ता अर्जुनकुमार अधिकारी, अधिवक्ता ठाकुरप्रसाद गिरी र अधिवक्ता हरिचन्द्रा कुमारी वली निर्विरोध निर्वाचित हुनुभएको थियो । गिरी नेतृत्वको निर्वाचन समितिका सदस्यहरुमा यादव प्रसाद खनाल र दीपक केसी हुनुहुन्थ्यो ।

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यसहित यी मन्त्रीले लिदै छन् शपथ

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।  बिहान ८ः३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ ।  कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको थियो ।   प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१)बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।  लुम्बिनीमा कांग्रेसले ५ र एमालेले मुख्मन्त्रीसहित ४ मन्त्रालय पाउने सहमति भएको छ। सानादललाई पनि २ मन्त्रालय दिने कांग्रेस एमालेको तयारी छ। काग्रेसले मन्त्री बन्ने ५ जनाको टुंगो लगाएको छ।   कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीका अनुसार कांग्रेसबाट प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बन्ने भएका हुन्।  कांग्रेसबाट मन्त्री बन्न लागेका प्यूठानका थापाबाहेक सबै नयाँ अनुहार हुन्।   प्रमुख सचेतक तिमिल्सिनाको नेतृत्वमा कांग्रेस सरकारमा जान लागेको हो। मन्त्रालयको संख्या टुंगो लागे पनि मन्त्रालय टुंगो लाग्न बाँकी रहेकाले आज सबै मन्त्रीको बिनाविभागीय मन्त्रीमा शपथग्रहण हुने सम्भावना रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए।   यस्तै लुम्बिनीमा नेकपा एमालेबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेको छ। एमालेले आफ्नो भागमा परेका ४ मन्त्रीमा २ पुराना र २ नयाँ अनुहार पठाउने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यका अनुसार रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने भएका हुन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजीनामा

बुटवल। लुम्बिनी प्रदेशका  मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका छन् ।

गुल्मीमा पहिरोले एकै परिवारका पाँच जना पुरिए

तम्घास। गुल्मीमा पहिरोले एकै घरका पाँच जना पुरिएका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जै ठाँटीमा दुई तले  घरमा पाँच जना पुरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  पाँच जना मध्ये एक जना वृद्धको शव निकालिएको र जिल्लाबाट प्रहरी निरीक्षकको कमान्डमा ११ जनाको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको चौधरीले बताए।

नरैनापुर गाँउपालिकाले आज बजेट ल्याउदै

बाँके। बाँकेको नरैनापुर गाँउपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट आज ल्याउने जनाएको छ। गाउँ सभामा पेश हुने बार्षिक नीति तथा कार्यक्रम आगामी आर्थिक बर्षको बार्षिक बजेटको सबै तयारी पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनकलाल चौधरीले बताए। नरैनापुर गाँउपालिकाले असार १० भित्र सुरु गर्नुपर्ने गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव सङ्कलन, माग र आवश्यकता सङ्कलनको काम पुरा गरेको जनाएको छ । गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरको जनताको लागि लोक प्रिय बजेट ल्याउने तयारी गरेको बताउनु भयो । उहाँले गाँउ सभा आज बेलुका सम्म सम्पन्न हुने गरी तयारीमा जुटेका जानकारी दिए। स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव ६६ करोड हुने बताइएको छ। गत बर्ष कूल ४८ करोड ६२ लाख २ हजार ८ सय ७३ रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम आएको थियो। वडा नं २ का अध्यक्ष मसूद अहमद शाहले अबका दिनमा दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजनालाई प्राथमिकता दिने बताए। “शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण प्राथमिकतामा रहनेछन”, उनले भने, “बजेट तथा कार्यक्रम ल्याउँदा नरैनापुरकाको दिगो विकास र फाइदा हुने कुरामा ध्यान दिइनेछ । त्यसका साथै पछाडि परेका सबै क्षेत्रलाई समेट्ने प्रयास रहने गरी काम थालेका छौँ ।”