रुकुमपूर्वमा प्रचण्डको ऐतिहासिक जीत, घाेषणा हुन बाँकी

रुकुमपूर्वमा प्रचण्डको ऐतिहासिक जीत, घाेषणा हुन बाँकी

काठमाडाैं । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरसहित विजयी हुने निश्चित भएकाे छ । प्रारम्भिक मतगणनाले नै उहाँको स्पष्ट जित सुनिश्चित गरेको हो।

अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्नुभएकाे छ। उहाँका प्रतिद्वन्द्वी लिलामणि गौतमले भने ३ हजार १७ मत मात्र प्राप्त गरेका छन्।

यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो। अब ३ हजार ३६५ मत गणना गर्न बाँकी रहेको छ। तर बाँकी मतभन्दा पनि धेरै ५ हजार ४६० मतले अग्रता बनाइसकेकाले प्रचण्डको जित सुनिश्चित भएको हो।

मतगणना पूर्ण हुन र निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन भने अझै बाँकी रहेको नेकपाले रुकुमपूर्वले जानकारी दिएकाे छ । 

रुपन्देही-२ मा सुकुम्वासी मतदाताका भरोसायोग्य उम्मेदवार विश्वदीप

बुटवल । घर–जग्गाको लालपूर्जा नहुँदा सबैभन्दा बढी पीडा अव्यवस्थित र सुकुम्वासी वस्तीका बासिन्दाले भोग्दै आएका छन् । आफ्नो नाममा स्वामित्व नहुँदा न बैंकबाट ऋण लिन सक्ने अवस्था, न सहज रूपमा खरिद–बिक्री गर्न सक्ने सुविधा—वर्षौंदेखि हजारौं नागरिक आफ्नै सम्पत्तिमाथिको अधिकारबाट वञ्चित छन् । यही पीडालाई केन्द्रमा राख्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ यतिबेला घरदैलो अभियानमा सक्रिय छन् । मंगलबार सैनामैना–१ पेरिसडाँडा टोलमा पुग्दा उनले स्थानीयसँग प्रत्यक्ष संवाद गरे । तारा चुनाव चिन्ह अंकित झण्डासहित पुगेका पाण्डेले औपचारिक भाषणभन्दा बढी स्थानीयको गुनासो सुन्ने र समाधानको स्पष्ट प्रतिबद्धता जनाउने काम गरे । स्थानीय बासिन्दाले वर्षौंदेखिको समस्या सुनाए—नाली व्यवस्थापन नहुँदा वर्षायाममा डुबान, पक्की सडकको अभाव, रोजगारीको समस्या र सबैभन्दा ठूलो विषय लालपूर्जा नपाउनु । उम्मेदवार पाण्डेले आफू पनि यही समस्याको भुक्तभोगी भएको स्पष्ट पारे । “मेरो घर पनि सैनामैनामै पर्छ, म स्वयं पनि लालपूर्जाविहीन नागरिक हुँ। आफ्नो घरको लालपूर्जा नहुँदाको पीडा मैले नजिकबाट भोगेको छु,” उनले भने। उनले थपे, “बुटवललाई बाहिरबाट जति सुन्दर देखाए पनि हजारौं नागरिक भूमि अधिकारबाट वञ्चित छन्। त्यसैले यसपटक तारा चुनाव चिन्हमा मतदान गरेर मलाई संसदमा पठाइदिनुहोस्। म तपाईंहरूकै प्रतिनिधि बनेर लालपूर्जाविहीन सबै नागरिकको समस्या समाधान गर्न विशेष पहल गर्नेछु।” स्थानीयले पनि खुलेर समर्थन जनाए। “आश्वासन होइन, पहल चाहिन्छ,” भन्ने नागरिकको मागलाई पाण्डेले सकारात्मक रूपमा लिँदै परिणाममुखी काम गर्ने अठोट व्यक्त गरे। उनले आफ्नो स्वर्गीय पिता भक्ति पाण्डेको अधुरो सपना पूरा गर्ने दृढ संकल्प दोहोर्याए-“लालपूर्जा दिलाएरै छाड्नेछु।” सैनामैना नगरपालिकाभित्र १६ हजारभन्दा बढी अव्यवस्थित बसोवासी रहेका छन्। वडा नं. १ मा नापी सम्पन्न भई १७३ लालपूर्जा वितरण भए पनि अझै झण्डै ४ हजार ५ सयले नियमित राजस्व बुझाइरहेका छन्। अन्य वडामा नापजाँच अपूर्ण वा सुरु नै नभएको अवस्था छ। सैनामैनाका जनप्रतिनिधिहरूका अनुसार इच्छाशक्ति र स्पष्ट कार्ययोजना भए ६ देखि ८ महिनाभित्र समस्या समाधान सम्भव छ। यही यथार्थलाई आधार बनाउँदै नेकपा उम्मेदवार पाण्डेले कानुनी प्रक्रियालाई तीव्र बनाउने, नापजाँच कार्यलाई प्राथमिकतामा राख्ने र लालपूर्जा वितरण सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। रुपन्देही क्षेत्र नं. २ अन्तर्गत बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा पनि अव्यवस्थित बसोवासी र सुकुम्वासी समस्या व्यापक छ। बुटवल–११ मा मात्र करिब १९ हजार मतदातामध्ये आधाभन्दा बढी अव्यवस्थित बसोवासी छन्। तिलोत्तमाका विभिन्न वडामा पनि लालपूर्जा नपाएका नागरिकको संख्या उल्लेख्य छ। यस्ता समस्यालाई चुनावी नारामात्र नभई दीर्घकालीन नीतिगत समाधानमार्फत सम्बोधन गर्ने नेकपाको स्पष्ट दृष्टिकोण रहेको उम्मेदवार विश्वदीपले बताए। “राजनीतिक भविष्य धरापमा पार्ने गरी खाली आश्वासन दिन आएको होइन। बोलेको कुरा पूरा गरेर देखाउने प्रतिबद्धता छ,” उनले भने।

शीर्ष चारमा सबै माओवादी नेतृत्वका पालिका लुम्बिनीमा उत्कृष्ट

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेका स्थानीय तहहरू स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा उत्कृष्ट बनेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार लुम्बिनीका ७४ गाउँपालिकामध्ये माओवादी केन्द्रले नेतृत्व गरेका पालिकाहरू शीर्ष स्थानमा परेका छन्। गुल्मीको रुरुक्षेत्र गाउँपालिका ९० अंकसहित लुम्बिनी प्रदेशमा पहिलो (देशैभर दोस्रो), पाल्पाको रिब्दिकोट र गुल्मीको धुर्कोट गाउँपालिका समान ८७.५ अंकसहित क्रमशः दोस्रो र तेस्रो, तथा दाङको राप्ती र रुकुमको भूमे गाउँपालिका ८७.२५ अंकसहित चौथो स्थानमा परेका छन्। यी पालिकाहरूको नेतृत्व रुरुक्षेत्रमा यदु ज्ञवाली, रिब्दिकोटमा नारायणबहादुर कार्की, धुर्कोटमा भूपाल पोखरेल, राप्तीमा प्रकाश विष्ट र भूमेमा होमप्रकाश श्रेष्ठले गरेका छन्। प्रदेशमा प्रथम भएका रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले यो सफलता पालिकावासी, कर्मचारी र जनप्रतिनिधिको सहयोगले सम्भव भएको बताए। उनले यो नतिजाले आगामी दिनमा थप उत्कृष्ट काम गर्न प्रेरणा मिलेको उल्लेख गरे। देशभरमा धादिङको बेनिघाट गाउँपालिका ९१.७५ अंकसहित पहिलो भएको छ, जसको नेतृत्व पनि माओवादी केन्द्रले गरेको छ। नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादी नेतृत्वले अवसर पाएमा आफूलाई प्रमाणित गर्ने बताए। उनले जनमैत्री शासन, पारदर्शिता र सुशासन माओवादीको मूल लक्ष्य रहेको भन्दै आगामी दिनमा अझ उत्कृष्ट काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे।

बाँकेमा १५ हजार घरपरिवार बाढीकाे जाेखिममा

बाँके । बाँके जिल्लाका करिब १५ हजार घरपरिवार यस वर्ष बाढी र डुबानबाट प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीका अनुसार बाढी र डुबानको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मनसुन सुरु भइसकेकाले बाढी र डुबानबाट जोगाउन सबै तयारी पूरा गरी कार्यान्वयनको चरणमा रहेको बताए । जिल्लाका आठवटै स्थानीय तहले पनि आ-आफ्ना कार्ययोजना बनाई कार्यान्वयन शुरू गरिसकेका छन् । विशेषगरी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा जोखिम न्यूनीकरणका लागि विशेष तयारी भइरहेको छ । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ठूलो वर्षा हुँदा नदी र खोलाकिनारमा नजान, डुबान प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सर्न र स्थानीय सरकारले बनाएका अग्ला सेल्टरमा बस्न सर्वसाधारणलाई आग्रह गरे । उनले डुडुवाका केही क्षेत्र बाढी, डुबान र कटानबाट लामो समयदेखि प्रभावित हुँदै आएकाले क्षति कम गर्न विभिन्न उपाय अपनाइएको बताए । यस्तै, राप्तीसोनारीका अध्यक्ष तप्त पौडेल र नरैनापुरका अध्यक्ष ईश्तियाक अहमद शाहले पनि राप्ती नदीको बाढीबाट हुने क्षति रोक्न आवश्यक तयारी गरिएको जनाए ।  जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार यो वर्ष मनसुन, शीतलहर, लु र अन्य विपदबाट जिल्लाका २५ हजार परिवार प्रभावित हुने अनुमान छ, जसमध्ये १५ हजार परिवार बाढी र डुबानको जोखिममा छन् । समितिले हरेक वर्ष जोखिमको पूर्वानुमान गरी वार्षिक पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर कार्यान्वयन गर्दै आएको छ ।

दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली

घोराही । राष्ट्रिय दलित पत्रकार संघ दाङकाे अध्यक्षमा पत्रकार गिरिराज नेपाली चयन हुनु भएकाे छ । संघकाे आज घाेराहीमा सम्पन्न चाैथाे जिल्ला अधिवेशनले नेपालीकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ । संघकाे बरिष्ठ उपाध्यक्ष प्रियास्मृति गजमेर, उपाध्यक्षमा अर्जुन परियार, सचिवमा देवका परियार, सह-सचिवमा चन्द्रप्रकाश नेपाली र काेषाध्यक्षमा तेजबहादुर परियार चयन गरिएकाे छ । जसकाे सदस्यहरूमा हेमराज परिवर्तन, सरिता नेपाली , सिर्जना विश्वकर्मा , अन्जना बिक र रमा नेपाली रहनु भएकाे छ । त्यस्तै अधिवेशनले संघका सस्थापक अध्यक्ष जनक नेपाली, पुर्व अध्यक्ष नवीन अभिलाषी, वसन्त परियार , जीवन नेपाली र अर्जुन परियारलाई केन्द्रीय पार्षद र हेमराज परिवर्तन, सरिता नेपाली, अरूण नेपाली, सुवास परियार, चन्द्रप्रकाश नेपाली र हिमाल बिकलाई प्रदेश पार्षदमा चयन गरेकाे छ । अधिवेशन जिल्ला अध्यक्ष वसन्त परियारकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।