प्रचण्डका ३ वटा कार्यभार : जसकालागि टुट्यो गठबन्धन, बन्यो गठबन्धन

प्रचण्डका ३ वटा कार्यभार : जसकालागि टुट्यो गठबन्धन, बन्यो गठबन्धन

सरकार गठन भएदेखि संसद या सार्वजनिक अवसरमा प्रधानमन्त्रीले बारम्बार एउटा कुरा दोहोर्याए - म सन्तुष्ट छैन।

उनी सन्तुष्ट नहुनुको कारण थियो
- सरकारले जुन गतिमा प्रभावकारि कार्य गर्नुपर्ने हो त्यो गर्न सकेन। 
- मन्त्रीहरुलाई जे जसरी कार्य सम्पादन गर्न भनियो, त्यो अनुरुप काम भएन।
- जनताले जे अपेक्षा राखेका थिए, ती सोही अनुरुप पुरा गर्न सकिएनन्।
- केही गर्ने हुटहुटी भएन, काम पन्छ्याउने या ‘यस्तै त हो, चलिरहन्छ’ भन्ने प्रवृत्तिले निरन्तरता पायो। 

गत साता मात्रै सरकारको अर्धवार्षिक समीक्षा क्रममा प्रचण्डले मन्त्रीहरुसँग भने– हाम्रो प्रगति समिक्षा हेर्दा मभित्र बेचैनी पैदा भएको छ। मलाई लाग्छ यही बेचैनी तपाईहरुभित्र पनि छ होला, किन्तु परन्तु कारण जे दिएपनि हामी जुन स्पिरिटमा अघि बढनु पर्ने थियो, जसरी मैले निर्देशन दिएको थिए, जसरी मैले चाहेको थिए र सोही अनुरुप जसरी दिनरात सहजिकरण गरेर समस्याका गाँठा फुकाउन खोजेको थिएँ, त्यो भएन। कार्यसम्पादन पटक्कै भएन। 

सरकारको एक वर्ष पुरा भएपछि प्रचण्डले आफ्नो कार्यशैलीमा परिवर्तन गर्दै अधिकांश समय सिंहदरबार केन्द्रीत भए। उनले पुष महिनाभरि सबै जसो मन्त्रालयसँग सघन छलफल चलाए। मन्त्रालय र मातहतका निकायका समस्याहरु सुने, प्रगति हुन नसक्नुका कारण पत्ता लगाउँदै अघि बढन उत्प्रेरित गरे। विकास आयोजनादेखि अन्य कतिपय कार्यक्रमहरुसँग सम्बन्धित निकायसँग समेत उनले यो बीचमा छलफल गरे। त्यही अनुरुप मन्त्रालयहरु कार्ययोजना बनाए। तर माघ महिना बितिसक्दा सरकारका निकायका प्रयासहरु दोब्बर गतिमा अघि बढेनन्, बरु पुरानै यथास्थितिको ढर्रा भन्दा अघि बढ्न सकेन। प्रचण्डले पछिल्लो अर्थ वार्षिक समिक्षाका क्रममा यसबारेमा पनि थोरबहुत कुरा गरे। तर अन्ततः उनले यथास्थितिमा रमाएर कुर्सीमा टाँसीराख्नुभन्दा यथास्थितिको निरन्तरतामा क्रमभंगता गर्न खोजे। 

संघर्षमयी जीवनका कैयन उतारचढाव झेल्दै राजनीतिक जीवनको पाको अनुभव बटुलेका प्रचण्डका सामु यतिखेर तीनवटा मुख्य एजेण्डा रणनीतिक कार्यभारका रुपमा रहेका छन्। यी तीनवटा कार्यभार वर्तमान गठबन्धनबाट सम्भव नदेखिएपछि उनले क्रमभंगता अनिवार्य ठाने। 

प्रधानमन्त्री प्रचण्डको पहिलो कार्यभार 

प्रधानमन्त्री प्रचण्डको पहिलो कार्यभार थियो - कतिपय आन्तरिक र बाह्य कारणले धराशायी भएको अर्थतन्त्रलाई पुनः ठाडो बनाएर आम जनतामा आसाको सञ्चार गर्नु। राजनीतिक र आर्थिक क्षेत्रमा आशावादीता जगाउन सकिएन भने यसले सामाजिक नैराश्यता जन्माउँछ र यसले समाजलाई अग्रगमन होइन, पश्गमनतर्फ धकेल्छ भन्ने राम्रो हेक्का बोकेर प्रचण्डले यो कार्यकाललाई नमूनायोग्य बनाउन सुरुदेखि नै कोशिस गरे । उनले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मार्गचित्रका रुपमा अघि सारे । यो बीचमा जनतामा आसा जगाउने किसिमले सामाजिक न्यायका क्षेत्रमा कैयन ऐतिहासिक काम भए । सुशासनका पक्षमा इतिहासमा नै पहिलोपटक ठूलाठूला काण्डहरुको पर्दाफास भयो। 

विकास निर्माणका लागि कैयन नीतिगत, कानुनी तथा अन्य सुधारका कामहरु गरिए। तुलनात्मकरुपमा पूँजिगत खर्च, राजस्व संकलन, पर्यटक आगमन, विदेशी मुद्रा सञ्चिति लगायतका क्षेत्रमा उल्लेख्य सुधार भयो । तर सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गचित्रमा प्रचण्डले गठबन्धन दलबाट सोचेजस्तो सहयोग भने पाउन सकेनन्। अमुक मन्त्रीले के गरे भन्दा पनि समग्रमा उनको मन्त्रीमण्डलका सदस्यहरुले मार्गचित्र अनुरुपको स्पिरिट पक्रिन सकेनन्। फलस्वरुप भदौमा नै नीतिगत तहमा सहमति भएको सहकारी समस्याको समाधान हुन सकेन , लघुवित्त पीडितहरुसँगको सम्झौता पालना हुन सकेन, घाइते अपांगहरुले उपचार पाउन सकेनन् । कतिपय विकास आयोजनाहरुको श्रोतको सुनिश्चितता हुन सकेन। 

अघिल्लो महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रीहरुसहित भएको एउटा छलफलमा अधिकांश मन्त्रीहरुले अर्थमन्त्रालयका कारण समस्या परेको गुनासो गरे। अहिले पनि सिंहदरबारभित्र अर्थमन्त्रालय बाधक मन्त्रालयका रुपमा चित्रण हुने गरेको छ नै। तर यो विषयमा समेत प्रधानमन्त्री र अर्थमन्त्रीका बीच एउटा ‘साइलेन्ट टसल’ कायमै रहिरह्यो। अन्य कतिपय मन्त्रालयहरुमा समेत कतिपय कारणले प्रधानमन्त्री तहबाट दिइएका निर्देशन सोही स्पिरिटमा कार्यान्वयन भएनन्। स्वः तदारुकता देखिएन। जनताले केही नयाँ त गर्न खोजेका छन् तर परिणाम दिन सकेका छैनन भनेर टिप्पणी गर्ने अवसर पाइ नै रहे। 

समग्रमा भन्दा प्रचण्डको एउटा मुख्य कार्यभारमा अहिलेको गठबन्धनबाट सकारात्मक आसाजनक सहयोग पाउने अवस्था देखिएको थिएन। प्रचण्डले बारम्बार प्रत्यक्ष अप्रत्यक्षरुपमा जनाउ दिइ नै रहे, तर निर्वाचनपछि जसरी कांग्रेसले प्रचण्डलाई कमजोर सम्झे, यसपाली पनि के नै पो गर्न सक्छ र भन्ने मानसिकता मन्त्री र कांग्रेस नेतृत्वमा रही नै रह्यो। 

प्रचण्डका सामु दोश्रो मुख्य कार्यभार

प्रचण्डका सामु दोश्रो मुख्य कार्यभार भनेको संक्रमणकालिन न्यायलाई टुंगोमा पुर्याउने थियो। यसका लागि प्रचण्डले भरमग्दूर कोशीस पनि गरे। नेपाली कांग्रेसले प्रकटमा आफू संक्रमणकालिन न्यायका विषयमा सकारात्मक रहेको भन्दै एमालेको असहमतिलाई प्रधानता दिँदै आयो। एमालेले संक्रमणकालिन न्यायलाई राजनीतिक लाभहानीका विषय बनाउँदै आएपनि कांग्रेसले सहमति जनाएकै थियो। तर निर्णायक अवस्थामा जतिखेर एमालेले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा सहमति जनायो, कांग्रेसले नियोजित तवरले भाँजो हाल्न खोज्यो। संसदीय समितिबाट पारित हुनुपर्ने मिति सारियो। प्रचण्डका सामु जीवन मरणको नैतिक प्रश्नका रुपमा रहेको संक्रमणकालिन न्यायमा कांग्रेसले अन्तिम समयमा गरेको व्यवहारले गठबन्धनमा नै नैतिक मात्रै होइन राजनीतिक संकट पर्नु स्वभाविकै थियो। 

प्रचण्डको तेश्रो मुख्य कार्यभार

प्रचण्डका सामु तेश्रो मुख्य कार्यभार भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा रहेको छ। हजारौं योद्दाहरुको बलिदानको जगमा प्राप्त उपलब्धिको रक्षा प्रचण्ड र प्रचण्ड नेतृत्वको राजनीतिको मुख्य राजनीतिक कार्यभार हो। पछिल्लो दिनमा एकातिर राजावादीहरुको सक्रियता, व्यवस्थाविरोधी तत्वहरुको चलखेल र षडयन्त्र बढदै जानु र त्यसको प्रतिकार गर्नुको साटो नेपाली कांग्रेसभित्र व्यवस्थाविरोधी जनमतलाई संस्थागतरुपमा नै स्थान दिइएपछि प्रचण्ड झस्किनु स्वभाविकै थियो। यसमा पनि थप आशंका सहयात्री माओवादीको राजनीतिक विरासतका बारेमा कांग्रेसले निर्माण गरेको धारणाले निम्त्याउनु स्वभाविकै थियो। राजतन्त्रको समूल अन्त्य गर्दै संघीय लोकतान्त्रिक समावेशी गणतन्त्रको मुख्य मियो बनेको जनयुद्दलाई नेपाली कांग्रेसको महासमिति बैठकमा ध्वंसात्मक र विकासविरोधी क्रियाकलापका रुपमा कांग्रेसले औपचारिकरुपमा नै दस्तावेजिकरण गरेपछि कांग्रेससँगको सहकार्य अघि बढन् सक्ने अवस्था थिएन। किनभने प्रचण्डका लागि सत्ता या सरकार भन्दा पनि इतिहासका उपलब्धिको रक्षा प्रधान कार्यभार बन्नु अनिवार्य नै थियो। 

यी यावत कारणले गर्दा सत्तारुढ गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको छ। नयाँ गठबन्धनको आधारका रुपमा प्रचण्डले तीनवटा कार्यभार नै अघि सारेका छन् । पहिलो वामपन्थी एकता, दोश्रो सामाजिक न्याय, सुशासन र समृद्धिको मार्गचित्र अनुरुप सरकारलाई प्रभावकारी बनाउने र तेश्रो संक्रमणकालिन न्यायलाई पूर्णता दिने। नयाँ गठबन्धनका सहयात्री दलहरुका बारेमा इतिहासमा बुनिएका र कायमै रहेका कतिपय आशंकाबीच नयाँ गठबन्धनबाट समेत प्रचण्डको समान अपेक्षा रहनेछ नै। 
 

पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई पुरस्कार !

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै उत्पादन हुने बदामखेती प्रवर्द्धनका लागि नगरपालिकाले प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम ल्याएपछि किसान उत्साहित भएका छन् ।  परम्परागत बाली प्रवर्द्धनका लागि नगरसभाबाटै पारित गरिएको नीति तथा कार्यक्रमअन्तर्गत बदामखेती गर्ने किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गर्न नगरपालिकाले १५ दिने सूचनासमेत जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी रु पाँच सयका दरले रु दुई हजार पाँच सय तथा त्योभन्दा बढी फलाउनेलाई थप रु तीन सयका दरले प्रोत्साहन रकम दिने जनाइएको छ ।  नगरपालिकाको अधिकांश भागमा उत्पादन हुने बदामखेलीलाई प्रवर्द्धन गर्दै ब्राण्डिङ गरेर बिक्री गर्ने योजनासहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख विमला राईले बताइन्। “बदाम बिक्रीबाट नगरपालिकाका किसानले अहिले पनि राम्रो आम्दानी गरिरहेका छन् । किसानले उत्पादन गरेका बदामलाई आगामी दिनमा ब्राण्डिङ गर्ने योजना छ । उनले भनिन्, “हाम्रो नगरपालिकामा बदाम र गहत उत्पादनको प्रचुर सम्भावना छ । हामीले आर्थिक वर्ष २०८०/८१ मा नगरसभाबाटै पारित गरेर गहत र बदामखेती प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याएका थियौँ । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना छ । बदाम र गहतलाई हाम्रो नगरपालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्दै आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य लिएका छौँ ।” जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाको वडा नं ८ धितुङ, वडा नं ५ दुर्छिम वडा नं २ डिकुवामा सबैभन्दा बढी बदामखेती लगाउने गरिएको छ । वडा नं १ बाहुनीडाँडा, वडा नं ३ च्यास्मिटार, वडा नं ७ महादेवस्थान, वडा नं ११ राजापानीलगायत ठाउँमा पनि आंशिक मात्रामा बदामखेती लगाउने गरिएको छ । मध्यपहाडी लोकमार्गले छोएको यो नगरपालिकाको वडा नं ८ धितुङमा सबैभन्दा बढी बदामखेती लगाउने गरिएको छ । धितुङका धेरैजसो घरमा वार्षिक २०–२२ मुरी बदाम भित्रिने गरेको धितुङका वडाध्यक्ष टेकराज राईले बताए ।  एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा यस वर्ष सात सय मुरीभन्दा बढी बदाम उत्पादन हुने अनुमान गरिएको नगरपालिकाका कृषि शाखाले जनाएको छ । नगरपालिकाका कृषि शाखाको तथ्याङ्कानुसार करिब दुई सय घरपरिवार किसानले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्दै आएका छन् ।  नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवद्र्धन तथा बजारीकरण गर्दै नगरवासीको आयआर्जनमा वृद्धि गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्र सञ्चालन गरिएको छ । आयातित कृषि उपजलाई निषेध गर्दै स्थानीय कृषि उपज प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको रु ३८ लाख ३८ हजार आठ सय ३१ लगानीमा कृषि सङ्कलन केन्द्र स्थापना गरिएको नगर प्रवक्ता एव वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।   हलेसी क्षेत्रका किसानले उत्पादन गरेका अधिकांश बदाम स्थानीय तथा बाहिरबाट आएका ठेकेदारले खरिद गरेर जिल्लाकै त्रिधार्मिकस्थल हलेसी बजार, दिक्तेल, रभुँवाघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला, बराहपोखरी मेला, दिक्तेल बजार, छिमेकी जिल्ला ओखलढुङ्गालगायतमा बिक्री गर्न लैजाने गरेका छन् । जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र लामो समयअघिदेखि बदामखेती हुँदै आएको छ ।  विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपासका क्षेत्रमा उत्पादित बदाम कोसेलीका रुपमा पनि प्रयोग हुने गरेको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीका रूपमा बदाम लैजाने गरेका हुन् । अन्नबाली कम उत्दान हुने हलेसीमा उत्पादित बदाम किसानको घरबाटै प्रतिपाथी रु दुई सय ७० देखि रु तीन सय सम्ममा बिक्री भइरहेको जनाइएको छ । किसानबाट खरिद गरिएको बदाम त्रिधार्मिकस्थल हलेसी तथा आसपासका बजारमा रु तीन सय ५० देखि रु चार सयसम्ममा बिक्री हुने गरेको नगर प्रवक्ता गिरीले जानकारी दिए ।  जापानी नागरिक कोतोबुकीनाकाले २०७४ सालमा वडा नं ५ दुर्छिममा स्थापना गरेको बिपना इनकर्पोरेसन नामको पिनट्स बटर उत्पादक उद्योगमा पनि बदाम खपत हुने गरेको छ । तर सो पिनट्स बटर उत्पादक उद्योगले लोकल (स्थानीय जात)का बदाममात्र खपत गर्ने गरेको किसानले बताएका छन् । 

एआई कला: सिर्जनशीलताको अन्त्य वा नयाँ आन्दोलनको सुरुवात?

क्लाउडिया बक्सटर ग्रामीण अक्सफोर्डशायरको एक शाही घरको बैठक कोठामा, म डुङ्गरी लगाएकी एक कलाकारलाई विस्तारै र सावधानीपूर्वक कागजमा कलम राख्दै हेरिरहेको छु। उनको हात क्यानभासमा चलिरहेको छ, र ती चिह्नहरू बिस्तारै जोडिएर उनको अमूर्त आत्म-चित्रमा परिणत हुँदैछन्। यो सृजनात्मक अभिव्यक्तिको एउटा क्षण जस्तो देखिन्छ। तर यो साधारण कलाकार होइनन् – उनी संसारकै पहिलो ह्युमनॉइड रोबोट कलाकार, एआई-डा हुन्। उनको अस्तित्वले नै कलालाई कसरी परिभाषित गरिन्छ भन्ने प्रश्न खडा गर्छ, र को, वा यस अवस्थामा, के, कलाको सिर्जना गर्न सक्छ? के एआई एल्गोरिदमहरू र एआई-डा जस्ता रोबोटहरूले मानव सृजनात्मकता र कलात्मकताको अन्त्यको संकेत गर्नेछन्, वा तिनीहरूलाई हाम्रो आफ्नै सृजनात्मक सम्भावनालाई वृद्धि गर्न harness गर्न सकिन्छ? परिवर्तनशील कला जब मार्सेल डुचाम्पले २०औं शताब्दीको सुरुमा न्यूयोर्कमा एउटा पोर्सिलिन युरिनललाई कला मान्न प्रस्ताव गरे र प्रदर्शनीमा पेश गरे, उनले कलाको संसारलाई नै उल्टाइदिए। उनले तर्क गरे कि कलाकारले रोजेको र त्यसलाई कला भनी चिन्हित गरेको कुनै पनि वस्तु कला हुन सक्छ। यो एक गहिरो क्रान्तिकारी सोच थियो जसले सुन्दर, प्राविधिक रूपमा निपुण र भावनात्मक कला हुनु पर्छ भन्ने अघिल्लो मान्यतालाई चुनौती दियो। त्यस्तैगरी, एआईद्वारा सिर्जित कलाहरूले पनि कला जगतका स्वीकृत मान्यताहरूलाई चुनौती दिइरहेका छन्। नर्थईस्टर्न युनिभर्सिटी लन्डनकी दार्शनिक एलिस हेलिवेल भन्छिन्, यदि हामी डुचाम्पको युरिनल र ट्रेसी इमिनको ओछ्यानलाई साँचो कला मान्न सक्छौं भने, जनरेटिभ एल्गोरिदमद्वारा सिर्जित केहि कुरालाई किन अस्वीकार गर्न सकिन्छ? किनभने दुवै समयमै विवादास्पद थिए र यी वस्तुहरू प्राविधिक रूपमा "कलाकारको" हातबाट सिर्जित भएका थिएनन्। "इतिहासमा, हामीले कलाको परिभाषालाई बुझ्ने तरिका परिवर्तन भएको छ," हेलिवेल भन्छिन्। "युरिनल कला हुन सक्छ भनेर बुझ्न गाह्रो छ, तर जनरेटिभ एल्गोरिदमले बनाएको कला हुन सक्दैन।" इतिहासभरि, हरेक क्रान्तिकारी कलात्मक आन्दोलनले समयको सांस्कृतिक अवस्थाको गहिरो प्रतिबिम्ब गरेको छ, जस्तै टर्नरका औद्योगिक भूदृश्यहरू र दा भिन्सीको विज्ञान र गणितप्रतिको लगाव। एआई पनि फरक छैन। एआई-डाका सर्जकहरू, ग्यालरिस्ट ऐडन मेलर र अनुसन्धानकर्ता लुसी सिलले यसलाई एआई-डा जस्ता ह्युमनॉइड कलाकारको अस्तित्वको लागि एक महत्वपूर्ण कारणको रूपमा उद्धृत गर्छन्। कलाकार को हो? अक्सफोर्डशायरमा एआई-डा बस्ने ठाउँमा घुम्दै गर्दा, मैले उनको अहिलेसम्मको कलाको व्यापकता बुझ्न पाएँ। उनको आँखा बन्द गरिएको डरलाग्दो मूर्तिहरू, अनुहारमा चढाइएको चिचिंरी भुसुना, कम्प्युटर वैज्ञानिक एलन ट्युरिङको आंशिक र पारदर्शी चित्रणहरू, र ग्लास्टनबरीको मुख्य कलाकारहरूको पप-आर्टबाट प्रेरित रंगीन चित्रहरू देख्न पाइयो। डाल-ई र मिडजर्नी जस्ता धेरै पाठ-देखि-तस्बिर जेनरेटरहरूले पत्रिकाका कभर पेजहरू बनाउन र प्रतिष्ठित कला प्रतियोगिता जित्न सक्ने क्षमता राख्छन्, तर एआई-डाको कलात्मक प्रक्रिया केवल उनी प्रशिक्षित गरिएको डेटामा निर्भर गर्दैन। (मेसिन लर्निङको यस सरल मार्गनिर्देशनमा एआई प्रशिक्षणको बारेमा थप जानकारी प्राप्त गर्नुहोस्।) एआई-डा पनि उनका आँखामा भएका क्यामेराको प्रयोग गर्छिन्, जसले उनका एल्गोरिदममा नयाँ तस्बिरहरू पठाउँछ, जसले गर्दा मानवद्वारा सिर्जित डेटासेटहरूबाट टाढा रहेका नयाँ र अद्वितीय कार्यहरू सिर्जना हुन्छन्। यसरी नै उनले आत्म-चित्र बनाउन सक्षम छिन्। के यसले उनलाई आफ्नै अधिकारमा सृजनात्मक बनाउँछ? र के हामी उनलाई सिर्जनशीलताको श्रेय दिन सक्छौं, वा यो उन कलाकारहरूमा छ, जसका कामहरूमा उनी प्रशिक्षित भएकी छिन्, र उनका एल्गोरिदमका सर्जकहरूमा छ, जसले अन्ततः उनको कोड लेखेका छन्? संयुक्त अधिराज्यको ससेक्स विश्वविद्यालयकी संज्ञानात्मक विज्ञानकी शोधकर्ता मार्गरेट बोडेनले आजसम्मको सृजनात्मकताको सबैभन्दा व्यापक रूपमा स्वीकृत परिभाषा विकास गरेकी छन्। उनको विचारमा, सृजनात्मकता भनेको नयाँ, मूल्यवान, र आश्चर्यजनक विचारहरू उत्पन्न गर्ने क्षमता हो। यो परिभाषाको प्रयोग गरेर, एआई-डा जस्ता मेसिनहरूद्वारा उत्पादन गरिएका कामहरू सृजनात्मक मान्न सकिन्छ, भन्छन् उनका सर्जकहरू। एउटा एल्गोरिदम वा रोबोटलाई आफ्नै अधिकारमा सृजनात्मक संस्था, मानवजस्तै 'कलाकार' मान्न सकिन्छ कि सकिँदैन भन्ने कुरामा अझै बहस भइरहेको छ, र यसमा आंशिक रूपमा यो सिर्जनाको श्रेयसँग सम्बन्धित छ। सिर्जनाको श्रेय र डेटाको स्वामित्वले कृत्रिम बुद्धिमत्ता सम्बन्धी कथा-परकतालाई सताएको छ। कलाकारहरू होली हेर्नडन र म्याट ड्राईहर्स्ट, जसले हालै लन्डनको सर्पेन्टाइन ग्यालरीमा एआईको युगमा सहयोगात्मक कलाको अन्वेषण गर्ने प्रदर्शनी आयोजना गरे, एआईमा डेटाको दुरुपयोग र सिर्जनाको श्रेयको मुद्दालाई चुनौती दिन चाहन्छन्। तिनीहरूले 'स्पोनिंग एआई' को स्थापना गरे, जसले मानव सर्जकहरूलाई आफ्नो काम प्रयोग गर्न रोक्न र एआईद्वारा सिर्जित कार्यहरूमा उनीहरूको काम पहिले नै प्रयोग गरिएको छ कि छैन भन्ने पत्ता लगाउन सशक्त बनाउने उपकरणहरूको सेट हो। कृत्रिम बुद्धिमत्ताद्वारा उत्पादन गरिएका कामहरूमा आफ्नो कामको नक्कल हुनसक्ने भएकाले प्लेजरिजम (नक्कल) धेरै कलाकारहरूका लागि वैध चिन्ता हो। तर केही कलाकारहरू एआईलाई आफ्नो सिर्जनात्मकताको नयाँ माध्यमको रूपमा हेर्छन् – एउटा ताजा माध्यम जसलाई उनीहरूले ब्रश वा प्यालेट चक्कुको जस्तै प्रयोग गर्न सक्छन्। केही कलाकारहरू, जस्तै सोगवेन चुंग, अब आफ्ना कार्यहरूमा मात्र एल्गोरिदमहरू प्रशिक्षण गरिरहेका छन् ताकि उनीहरूको सिर्जनात्मक सीमा बढाउन सकून्। यस मुद्दाको अर्को तर्क पनि छ। जनरेटिभ एआई एल्गोरिदमहरूलाई प्रशिक्षण गर्न प्रयोग गरिने मेसिन-लर्निङ प्रक्रियाहरू आफैँमा सृजनात्मक प्रक्रिया हुन सक्छन्। "डेटालाई कोडमा – जस्तै, अवस्थित कलाहरूमा – प्रस्तुत गर्दा, यो सिक्न, उत्परिवर्तित गर्न र विकसित गर्न सक्षम हुन्छ," डु सउटोइले भन्छन्। "यसले सिकाइ प्रक्रियाको अन्त्यसम्म कोड मूलतः मानिसले लेखेको कोडभन्दा धेरै फरक हुने सम्भावना दिन्छ। यसले कोडले केही त्यस्तो उत्पादन गर्ने सम्भावना दिन्छ जुन मानिसको होइन, कोडकै सृजनात्मकताको रूपमा परिभाषित गर्न योग्य हुन्छ।" "यो पिकासो उनको आमाबाबुको डीएनएबाट बनेको हो, तर उनको संसारप्रतिको सिकाइ र अनुभव नै उनको सृजनात्मकताको कारण थियो भन्ने जस्तै हो। तपाईले कहिल्यै यो श्रेय उनका अभिभावकलाई दिनुहुन्न, यद्यपि सबै कुरा उनीहरूको कोड वा डीएनएबाट सुरु भएको थियो।" सशक्त एल्गोरिदमहरू 'क्रियटिभ एडभरसिरियल नेटवर्क्स' (CANs) पनि अहिले अस्तित्वमा छन्, जसले प्रशिक्षण डेटामा भएका शैलीका विरुद्ध जान र आश्चर्यजनक परिणामहरू सिर्जना गर्नका लागि डिजाइन गरिएका छन्। "धेरै मेसिन लर्निङ एल्गोरिदमहरू 'ब्ल्याक बक्स' हुन्," हेलिवेल भन्छिन्। "हामीले आफैंले डिजाइन गरे पनि, प्रणालीभित्र के भइरहेको छ भनेर पूर्ण रूपमा थाहा छैन।" यो एआई दुनियाँभरको साझा र असहज समस्या हो। यदि हामीलाई पहिलो पटक एआई कसरी त्यो निष्कर्षमा पुगेको भन्ने थाहा छैन भने, हामी कसरी एआईबाट आएको निर्णय वा आउटपुटमा विश्वास गर्न सक्छौं? के कला विशेष मानव मात्र हो? साँचो कलात्मक मेसिनहरूको सम्भावनाले हामीलाई मानव बनाउने के हो भन्ने विषयमा लामो समयदेखि रहेको विश्वासलाई चुनौती दिइरहेको छ। कलालाई लामो समयदेखि मानवद्वारा निर्मित, अन्य मानिसहरूद्वारा सौन्दर्यपूर्ण रूपमा प्रशंसा गरिने उद्देश्यका साथ बनाइएको भनेर हेरिएको छ। कलाकृतिहरू आफैंमा तिनका सर्जकहरूको भावनाहरूसँग जोडिएका छन्। त्यसैले, गैर-मानव संस्थाहरूको सिर्जनालाई हामी यसै परिभाषामा कला मान्न सक्छौं? केहि विश्वास गर्छन् कि जनावरहरूले पनि पहिले नै कला उत्पादन गर्छन्। अनुसन्धानहरूले परेवाहरूले विभिन्न प्रकारका कलाहरू छुट्याउन सक्ने देखाएको छ। यो सबै उद्देश्यमा निर्भर गर्दछ, "मानव र मेसिनको सृजनात्मकतालाई केले वास्तवमै छुट्याउँछ भनेकै उद्देश्य हो," डु सउटोइ भन्छन्। "कुनै मेसिनलाई सृजनात्मक रूपमा आफैंलाई व्यक्त गर्न प्रेरित गरिदिएको हुँदैन। यो मानवको उद्देश्यबाट प्रेरित हुन्छ।" के यसको अर्थ एआईले अहिलेसम्म साँचो कलाको सिर्जना गर्न पूर्ण रूपमा सक्षम छैन? आखिर, कम्प्युटर एल्गोरिदमहरूमा कुनै वास्तविक संसारको अनुभव छैन, र एआई-डा जस्ता रोबोटहरू, जसले आत्म-चित्रण गर्न सक्छन्, वास्तवमा आत्म-चेतना राख्दैनन्। यो प्रश्न अझै विवादको विषय बनेको छ। हेलिवेलका लागि, उद्देश्यको अभावले अनिवार्य रूपमा एआईद्वारा सिर्जित कार्यहरूलाई कला मान्नबाट रोक्नुपर्दैन। र सायद कुरा यहीँ आइपुग्छ। एउटा भनाइ अनुसार, कला दर्शकको आँखामा हुन्छ। उदाहरणका लागि, हामी मानवले प्राकृतिक संसारमा देखिने कलात्मकतालाई पहिचान गर्छौं र प्रशंसा गर्छौं – माकुराको जालको जटिलता, मयूरको सुन्दर प्वाँख। हामी प्रायः चराहरूको बोलावटलाई संगीतको रूपमा र केही जनावरहरूको प्रणय प्रदर्शनलाई नृत्यको रूपमा हेर्छौं। यस्ता धेरै उदाहरणहरू छन्, जहाँ जनावरहरूले सिर्जनात्मक व्यवहार देखाउँछन्, जसलाई हामी कलात्मक भन्न सक्छौं। उदाहरणका लागि, बावर बर्ड र पफरफिसले मानव कलाकारले प्रयोग गर्ने जस्तै परिप्रेक्ष्य, सन्तुलन र रंगसँग खेल्छन्। र, यद्यपि यी जनावरहरूले आफ्नो कला प्रस्तुत गर्ने उद्देश्यले यी कामहरू सिर्जना नगरेका हुन्, तिनका कार्यहरू संगीनी आकर्षित गर्न वा प्रतिस्पर्धीलाई भगाउन चाहिने सन्देशका रूपमा त्यति नै उद्देश्यपूर्ण छन्। कला वा कलाकारलाई परिभाषित गर्न हामी जे गरौँ, एआई एल्गोरिदम र एआई-डा जस्ता मेसिनहरूले कलाको संसारमा प्रभाव पारिरहेको कुरा स्पष्ट छ। तिनका कलाहरू विश्वभरका स्थापित कला संस्थाहरूमा परम्परागत कलाहरूका साथ प्रदर्शन भइरहेका छन्। अर्को वर्ष लस एन्जल्समा विश्वकै पहिलो एआई कला ग्यालरी खुल्दैछ, जसले "नैतिक एआई" लाई स्थायी रूपमा प्रदर्शन गर्ने ठाउँ हुनेछ। लन्डनको सर्पेन्टाइन ग्यालरीमा सृजनात्मक एआई प्रमुख र कला प्रविधिकी क्युरेटर इभा जेगरले पनि एआई कलालाई जनसमक्ष ल्याउन मद्दत गरिरहेकी छन्। उनले प्रविधिको कलामा पार्ने प्रभावबारे आलोचनात्मक छलफललाई प्रोत्साहित गर्ने प्रदर्शनी कार्यक्रमहरू ल्याइरहेकी छन्। उनका लागि, एआई कलाको भविष्य द्वन्द्वात्मक छैन। परम्परागत कलाका रूपहरू जस्तै, एआई कलाका रूपहरू पनि निरन्तर विकास भइरहने छन्। उनले मानव र मेसिनको सहकार्यलाई वास्तविक सिर्जनात्मक सम्भावनाको ठाउँका रूपमा हेर्छिन्। उनी विश्वास गर्छिन् कि कलाकारको उद्देश्य र प्रविधि जस्तै एआईको प्रयोगमा आधारित मानव अभ्यास अन्तिम सौन्दर्यभन्दा बढी महत्त्वपूर्ण छन्। "मेरो लागि केहि साँच्चै रोचक जनरेटिभ तस्बिरहरू उत्पादन हुन्छन्, तर पछाडि रहेको अभ्यासबिना म तिनीहरूलाई मात्र अद्भुत तस्बिर भएकैले विश्वास गर्दिन," उनी भन्छिन्। "म पेन्टिङको हकमा पनि त्यही कुरा भन्थें। म प्रणालीहरूमा, विशेष गरी कामको पछाडि रहेका मानिसहरूमा धेरै चासो राख्छु। म जान्न चाहन्छु कि उनीहरूले प्रणालीलाई केका लागि प्रयोग गरिरहेका छन्, के उनीहरू अन्वेषण गर्दैछन्? केवल अन्तिम कृतिमा ध्यान दिनु गल्ती हो।" र, जब एआई कलाको प्रामाणिकता र विश्वसनीयताको मूल्याङ्कनको कुरा आउँछ, जुन एआई कला अनुशासनको सबैभन्दा विवादास्पद पक्षहरू मध्ये एक हो, डु सउटोइले एउटा ठोस तर्क गर्छन्। सबै कला यसअघि भएका कुराहरूको उत्पादन हो, र सिर्जनात्मकता केही नहुने ठाउँबाट आउँदैन – सबै कलाकारहरू, चाहे मानव हुन्, रोबोट वा एल्गोरिदम, अरूका कार्यहरूमा आधारित भएर निर्माण गर्छन्। "धेरै मानिसहरू सिर्जनात्मकताबारे यसरी कुरा गर्छन् कि यो कुनै अनौठो मानवीय प्रक्रिया हो, जसले जादुगरले केही नभएको ठाउँबाट केही सिर्जना गरेको जस्तो देखाउँछ," डु सउटोइ भन्छन्। "तर त्यो केवल हामीले हाम्रो आफ्नै सिर्जनात्मकतालाई नबुझेको हुनाले हो।" साभारः बिबिसी स्रोतः https://www.bbc.com/future/article/20241018-ai-art-the-end-of-creativity-or-a-new-movement

कोहलपुर र कैलालीमा प्लाष्टिकका फूलगुच्छा प्रयोगमा प्रतिबन्ध

बाँके । बाँकेको कोहलपुर नगरपालिकाले प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा रोक लगाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले सूचना जारी गर्दै नगर क्षेत्रमा प्लाष्टिकका मालाको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा प्रतिबन्ध लगाइएको जानकारी दिए ।  तिहार, छठ लगायतका चाडपर्वमा प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकूल असर पार्ने भएकाले प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोग नगर्न प्रमुख प्रशासकीय अधिकृत गिरीले आग्रह गरे ।  प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले स्थानीय किसानबाट उत्पादन भएको फूलले समेत बजार नपाउने तथा रकम बाहिरिनेजस्ता समस्या देखिने गरेको उनले उल्लेख गरे । प्रशासकीय अधिकृत गिरीले कोहलपुर नगरपालिकासहितका स्थानीय किसानले उत्पादन गरेका फूलको प्रयोग गर्न अनुरोध गर्दै कोहलपुर बजारमा व्यापारीलाई समेत प्लाष्टिकका फूलगुच्छा तथा मालाको बेचबिखन गर्न रोक लगाइएको बताए। तिहारमा अधिकांशले यस क्षेत्रमा भारतबाट ल्याएका प्लाष्टिकका फूलका माला प्रयोग गर्ने गर्छन् । कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा स्थानीय किसानले उत्पादन गरेको सयपत्री, गोदावरी, मखमलीलगायत फूल उत्पादन भएकाले त्यसको प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको प्रशासकीय अधिकृत गिरीको भनाइ छ । वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोगगरी नेपालभर प्लाष्टिकजन्य उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाउने सरकारले निर्णय गरेको थियो ।  कैलालीको टीकापुर नगरपालिकाले पनि तिहारका समयमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न अनुरोध गरेको छ । सूचना जारी गर्दै नगरपालिकाले स्वदेशी फूलका मालालाई प्रोत्साहन गर्न भन्दै प्लाष्टिकजन्य फूलमाला प्रयोग निधेष गरेको हो । प्लाष्टिकका मालाले स्थानीय पुष्प व्यवसायी घाटामा गएका र वातावरणका हिसाबले पनि उपयुक्त नहुने जनाउँदै प्लाष्टिकका माला निषेध गरेको हो ।   सूचनामा पालिकाभित्र प्लाष्टिकजन्य फूलका माला प्रयोगमा रोक लगाएकाले त्यसको प्रयोग नगर्न तथा नगराउन आग्रह गरिएको छ ।  प्रमुख प्रशासकिय अधिकृत दमनसिंह चौधरीले आउँदै गरेको दिपावली तथा छठपर्वमा टीकापुरभित्र कसैले प्लाष्टिकजन्य फूलका माला बिक्री बितरण गरेको पाइएमा कारबाही गर्ने जानकारी दिए ।  नगरपालिकाले प्लाष्टिकका माला बिक्रीमा रोक लगाएपछि स्थानीय पुष्प व्यवसायी भने खुसी भएका छन् । कैलालीमा दर्जन बढी किसान पुष्प व्यवसायमा लागेका छन् । गत वर्ष कैलालीका बजार प्लाष्टिकका मालाले ढाकेपछि पुष्प व्यवसायीका फूल बारीमै सडेका थिए । कतिपय व्यवसायीले पालिकाले नसघाएको भन्दै बजार क्षेत्रमा पूmलका माला छरेका थिए । “गत वर्ष हामीले धेरै घाटा बेहोर्यौँ, तयार भएमा माला बिक्री भएनन्”, पुष्प व्यवसायी छत्र मल्लले भने, ‘‘पालिकाले निर्णय गरेको छ । कार्यान्वयन पनि गर्नुपर्छ । देशैभरि प्लाष्टिकका माला निषेध गरेमा पुष्प व्यवसायी मर्कामा पर्दैनन् ।’’ उपभोक्ता रविना विष्ट बजार प्लाष्टिकका मालाले ढाक्दा व्यवसायीलाई घाटा भइरहेको बताउनुहुन्छ । ‘‘मानिसले झिलीमिली देख्छन्, त्यही किन्छन्’’, उनी भन्छन्, ‘‘प्लाष्टिकका माला रोकेमा हरेक पसल अगाडि स्थानीय पूmलका माला झुण्ड्याएमा त्यही बिक्री हुन्छ ।’’ व्यापारी पनि स्थानीय फूलका माला खपत भएमा स्वदेशमै व्यापार र स्वदेशमै अर्थ रहने बताउँछन् । ब्यापारी रेश्मा धामी पनि प्लाष्टिकका माला निधेष गरेपछि खुसी हुनुभएको छ । ‘‘अब हामीलाई पनि सहज हुन्छ, स्थानीय उत्पादित पूmल बिक्री गर्न पाइन्छ’’, उनले भने, ‘‘स्थानीय सरकारले यस्तै काम गर्नुपर्छ । स्थानीय किसान पनि जोगिने, व्यापारमा पनि असर नपर्ने कार्य राम्रो हो ।’’

जापानी ‘ओके बाजे’लाई पाल्पामा सम्मान

पाल्पा । तीन दशकदेखि पाल्पाको पूर्वीभेगमा रहेर सामाजिक सेवा गर्दै आएका जापानी नागरिक काजुमासा काकिमीलाई रामपुर किसानबारीमा शनिबार सांस्कृतिक झाँकीसहित अभिनन्दन गरिएको छ । पाल्पा, नवलपुर र नवलपरासीका विभिन्न शैक्षिक संस्था, स्थानीय तह, सामाजिक विकास संघसंस्था, क्लबलगायतले उनलाई र्‍यालीसहित रामपुर नगरक्षेत्रमा रथारोहण सहित परिक्रमा गराइएको थियो । काकिमीको बालबालिकासहितको पूर्ण कदको प्रतिमासमेत स्थापना गरिएको छ । मितेरी पार्कमा प्रतिमा राखिएको छ । पदयात्रीका रूपमा ३० वर्षअघि नेपाल आएका काकिमी सामाजिक सेवामार्फत पाल्पालीको उन्नतिका लागि निरन्तर सक्रिय छन् । काकिमीले गरिबी, अशिक्षा र पछौटेपन देखेर पूर्वखोला गाउँपालिका–२ जल्पाको ढोलीमाराबाट सामाजिक काम थालेका थिए । काकिमी त्यसताका नेपाली भाषा नबुझे पनि कुरा गर्दा ‘ओके ओके’ भन्ने गरेकाले स्थानीयले उनको उपनाम नै ‘ओके बाजे’ दिएका थिए । यहाँका २ सय ५० भन्दा बढी संघसंस्थाले उनको सम्मान गरेका हुन् । यातायातको सुविधा नपुगेको, ग्रामीण विकट बस्ती, हिँडेर जानुपर्ने स्थानमा पुगेर जनताको सेवा गर्ने गरेको आफूले पाएको अभिनन्दन समितिका संयोजक भीमविश्व भट्टराईले बताए । जापानका विभिन्न संस्थासँग सहयोग मागेर उनले यहाँ खर्चिंदै आएका छन् । जापानमा आफूले पाएको सम्मानको रकमबाट यहाँ अक्षयकोष खोलेका छन् । जसबाट दुर्गम, मगरबस्ती, खसभाषा नबुझ्ने गाउँका विद्यार्थी पढ्न सक्ने भएका छन् । उनले विद्यालय भवन निर्माण गर्नुका साथै विद्यालय जान नसक्नेलाई घरमै पढ्न बालकक्षा पनि सञ्चालन गरेका छन् । सिलुवा, ज्यामिरे, मित्याल, बांकामलांग, ख्याहालगायतका स्थानमा झोलुंगे पुल निर्माणमा समेत सहयोग गरेका छन् । काकिमीले तानसेनको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा खाता खोलेर गरिब र औषधि उपचार गर्न नसक्नेका लागि निःशुल्क सेवा पुर्‍याएका छन् । यातायात, कृषि, सिँचाइ, पुललगायतका विकास निर्माणका काम गरेका छन् । उनले ७ सय बढी शौचालय बनाउन पनि सहयोग गरेका छन् ।

लोकप्रिय