'जेनजी' आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी अझै फर्केनन्
वाग्मती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै फर्किएका छैनन् । 'जेनजी' आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० मध्ये शनिबारसम्म २९४ कैदीबन्दी मात्र कारागार फर्किएका छन् ।
कारागारका प्रमुख सुवास पौडेलका अनुसार, भीमफेदी कारागारबाट भागेकामध्ये हालसम्म २९४ जना र अन्य कारागारबाट फरार ७६ कैदीबन्दी कारागार फर्किएका छन् । फरार भएका ३९ विदेशी कैदीबन्दीमध्ये १३ मात्र कारागार फर्किएका छन् । अन्य कारागारबाट फरार भई भीमफेदी कारागार फर्किएकामध्ये ५० जनालाई सम्बन्धित कारागारमा स्थानान्तरण गरिएको र २२ जना भीमफेदी कारागारमा रहेका प्रमुख पौडेलले बताए ।
गत भदौ २४ गते राति १ बजेतिर भीमफेदी कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (ख) ब्लकबाट १८० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए । कारागारबाट भागेका फरार कैदीबन्दीको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए ।
धुलिखेल–खावा सडक स्तरोन्नति सुरु
काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेको हो । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन यही चैत ७ देखि २० गतेसम्म रातिको समयमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म यातायातका साधान बन्द गरिएको हो । साथै, उक्त अवधिभर टिपरलगायत मालवाहक सवारीसाधनलाई भने पूर्णतः रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताए । उनका अनुसार चार किलोमिटर दूरीको उक्त सडकखण्डमध्ये चैतमा २.५ किलोमिटर र आउँदो वैशाखमा बाँकी पक्की गरिसक्ने लक्ष्य लिइएको छ । उक्त सडकखण्डमा सुरुमा ‘सिटीभी’ हाल्ने र त्यसपछि लक्ष्यअनुसार पक्की बनाउँदै लगिने योगेशले बताए । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि विभिन्न स्थानमा कटिङको कामबाट पुनः स्तरोन्नति कार्यलाई तीव्रता दिइँदै आइएको हो । कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सीएनएवान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । हाल साना संरचना तथा टेवा पर्खाल निर्माणका काम भइरहेको जनाइएको छ । चिसो मौसमका कारण सडकमा सतह (सर्फेस)को काम नभएको र चिसो कम हुँदै गएपछि पक्की बनाउने योजना बनाइएको योगेशले बताए । उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको ‘स्लोप मेन्टेन’ र अन्य बाँकी सानातिना काम गरिने योगेशको भनाइ छ । सात मिटर चौडाइको बन्ने उक्त सडकखण्को सडकमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिने छ । यसैबीच निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यलयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । उसले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो । उक्त सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरीनाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकका रूपमा रहेको छ । उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबीएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनाएको छ ।
सिन्धुपाल्चोक-२ मा नेकपाका युवराज दुलाल निर्वाचित
सिन्धुपाल्चोक । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार दुलालले २१ हजार ६ सय ९९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वंशलाल तामाङले १९ हजार १ सय ४६ मत प्राप्त गरेका छन्। यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का शेरबहादुर तामाङले १५ हजार ९ सय २६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका झलक कुमार श्रेष्ठले १४ हजार १९ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपी कृष्ण चौलागाईंले १ हजार ६ सय ८१, उज्यालो नेपाल पार्टीका राम सिङ तामाङले १ हजार २ सय ३८ मत प्राप्त गरेका छन्। त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका कर्णवीर स्यांवु लामाले १५९, श्रम संस्कृति पार्टीका भानु श्रेष्ठले १२९, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सोमान लामाले १२१ र राष्ट्रिय मुक्ति पार्टी नेपालका मिङमर तामाङले ९९ मत प्राप्त गरेका छन्। यसैगरी नागरिक सर्वोच्चता पार्टी नेपालका सेरबहादुर तामाङले ४७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दावा छिरिङ शेर्पाले २९ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवारहरू विजु श्रेष्ठले २५, दीपक ढकालले २४ र सुन्दर अधिकारीले ११ मत प्राप्त गरेका छन्। नेपाल मजदुर किसान पार्टीका म्हेन्दो तामाङले १७, आम जनता पार्टीका गणेशबहादुर श्रेष्ठले ११ र मितेरी पार्टी नेपालका महेश कुँवरले ४ मत प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा कुल धेरै दल तथा स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा भए पनि अन्ततः नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलालले अग्रता कायम राख्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्।
रुकुमपूर्वबाट प्रचण्ड विजयी, बाँकी सात सिटमा नेकपाकाे अग्रता
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्व–१ बाट विजयी हुनुभएको छ भने अन्य विभिन्न क्षेत्रमा नेकपाका उम्मेदवारले अग्रता कायम गरेका छन्। रुकुमपूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभएको छ। यसैगरी कालीकोट–१ मा नेकपाका महेन्द्रबहादुर शाही ८ हजार ७१५ मतसहित अग्रतामा हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाही ले ८ हजार २३७ मत प्राप्त गर्नुभएको छ। कपिलवस्तु–२ मा नेकपाका बृजेशकुमार गुप्ता ५ हजार ३७६ मतसहित अग्रता लिइरहनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम थापा ले ३ हजार २३८ मत प्राप्त गर्नुभएको छ। काभ्रे–१ मा नेकपाका दीननाथ गौतम ३ हजार ४४६ मतसहित अगाडि हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १ हजार ९९० मत प्राप्त गर्नुभएको छ। त्यस्तै सल्यान–१ मा नेकपाका रमेशकुमार मल्ल २ हजार ८५१ मतसहित अग्रता लिइरहनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले १ हजार ४१७ मत प्राप्त गर्नुभएको छ। रोल्पा–१ मा नेकपाका वर्षमान पुन २ हजार ६७३ मतसहित अग्रस्थानमा हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका गोकुलप्रसाद घर्तीले १ हजार ७४८ मत प्राप्त गर्नुभएको छ। अछाम–१ मा नेकपाका भीमबहादुर रावल १ हजार ९९५ मतसहित अग्रता कायम गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिपक बहादुर साउंदले १ हजार ८३७ मत प्राप्त गर्नुभएको छ। यस्तै धादिङ–२ मा नेकपाका रामबहादुर भण्डारी १ हजार ८४६ मतसहित अगाडि हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेशप्रसाद धमला ले १ हजार ६७२ मत प्राप्त गर्नुभएको छ। देशभर विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। प्रारम्भिक परिणामअनुसार नेकपाका उम्मेदवारले केही क्षेत्रमा अग्रता कायम राखेका छन् भने केही स्थानमा कडा प्रतिस्पर्धा भइरहेको छ।
सिन्धुली कारागारका ४५ कैदीबन्दीले मात्र मतदान गर्न पाउने
सिन्धुली। बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली कारागारका ४५ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएका छन्। कारागारमा रहेका कुल ३ सय ८३ जना कैदीबन्दीमध्ये यति संख्याले मात्रै मतदानको अधिकार प्रयोग गर्न पाउनेछन्। उनीहरूले कारागारभित्र स्थापना गरिएको अस्थायी मतदान केन्द्रमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ। मतदाता नामावलीमा नाम दर्ता नभएकै कारण अन्य कैदीबन्दीले मतदान गर्न नपाउने भएका हुन्। ‘जेनजी’ आन्दोलनका क्रममा कारागार तोडफोड तथा आगजनी गरेर फरार भएकामध्ये अधिकांशको मतदाता नामावलीमा नाम नै नभएको पाइएको छ। कारागारमा ११ जना विदेशी नागरिक बाहेक सबै नेपाली नागरिक भए पनि मतदाता नामावलीमा नाम नहुँदा अधिकांश मतदानबाट वञ्चित हुने भएका छन्। कारागारबाट भागेका ४ सय ७६ कैदीबन्दीमध्ये ३ सय ७० जना पुनः कारागार फर्किसकेका छन्। तर फर्किएका कैदीबन्दीमध्ये पनि धेरैको मतदाता नामावलीमा नाम दर्ता नभएको जनाइएको छ। हालसम्म ९८ पुरुष, ३ महिला र ५ विदेशी नागरिक गरी १ सय ६ जना कैदीबन्दी अझै कारागारबाहिर रहेका छन्।
रुकुमपूर्वमा प्रचण्डका सात दिन, सात सन्देश
मनोज घर्तीमगर माघको अन्तिम दिनको साँझ रुकुमपूर्वको हिउँको चर्चा भयो – जसै हिउँको थुप्रोले प्रचण्डलाई स्वागत गरे । प्रचण्ड हिउँको थुप्रोमा रमाएको फोटो, भिडियो छ्यापछ्याप्ती हुने नै भए । त्यसपछिका एक साता सामाजिक सञ्जाल र सञ्चारमाध्यम रुकुममय भए । प्रचण्डमय भए । ३१ वटा वडा रहेका रुकुमपूर्वका अधिकांश वडामा प्रचण्डका पाइला परे । सबै वडाका जनता भेटे । मगर संस्कारमा फेटा गौरव, सामाजिक सम्मान र पहिचानको प्रतीक हो । लामो सेतो कपडा टाउकोमा घुमाएर बाँधिनुलाई फेटा लगाउनु भनिन्छ । मुख्यतः यो विवाहमा दुलाहा र उसका साथीहरुलाई गुठाइन्छ । भूमेलगायत चाडपर्व र पूजा तथा अन्य नाचगान र सांस्कृतिक प्रस्तुतिमा लगाइन्छ । प्राचीनकालमा टाउकोलाई घाम, चिसो, धुलोबाट बचाउन प्रयोग गरिएको फेटा साहस, सम्मान र पहिचानको प्रतीक हुँदै आज विशिष्ट व्यक्तिको सम्मानको सांस्कृतिक पहिचान बनेको छ । ५० प्रतिशत बढी मगरको बसोबास रहेको रुकुमपूर्वमा प्रचण्डको टाउकोमा फेटा गुठाइए । टाउकोमा फेटा छँदा पञ्चेबाजा घन्किदा कतै उनी दुलाहा जस्ता देखिए । जिन्दावाद र मुर्दावादको नाराले विजय उत्सव मनाइरहेका जस्ता देखिए । मैकोट, तकसेराजस्ता गाउँमा जनता र स्थानीयबाट भाषा, संस्कार, संस्कृति र इतिहास सुन्दै हिंड्दा अध्यता देखिए । उनी त्यही सुनिए पनि । र, देखिए न्याय, मुक्ति र स्वतन्त्रता दिलाएका वीर पुरुष । गौरव र आशाका प्रतीक । नेपाली कम्यृनिष्ट पार्टीका संयोजक प्रचण्ड रुकुमपूर्वबाट चुनावी मैदानमा छन् । अन्य पार्टीका शीर्ष नेताहरु उच्च दबाबमा रहेको समय प्रचण्ड तनावमुक्त देखिए । माघ २९ देखि ७ गतेसम्म आफ्ना मतदातासँग भेटघाट गरेका प्रचण्ड काठमाडौं फर्किए पनि रुकुमपूर्व प्रचण्डमय नै छ । यो रहिरहनेछ । रुकुममा प्रचण्ड नाचेको, हाँसेको, खाएको, हिँडेको सामाग्री आइसकेका छन् । यो आलेखमा रुकुममा प्रचण्डको उपस्थिति, त्यहाँका बारेमा उनको बुझाइ, संश्लेषण र भन्न खोजेको कुराको चर्चा गर्ने कोशिस गरिनेछ । प्रचण्डका सात दिन प्रचण्ड ७१ वर्षका हुन् । रुकुमपूर्वमा पुथा र सिस्ने हिमाल छन् । सानी भेरी र उत्तरगंगा नदि बग्छन् । प्रचण्ड हिमालको फेदमा हिउँजस्तै चम्किलो र नदि किनारामा नदि जस्तै बेगमा विजय भावमा हिँडे । मैले यात्रामा सोधेँ, ‘यो उमेरमा यत्तिको उर्जा कसरी आउँछ ?’ प्रचण्डको सरल जवाफ ‘शारीरिक रुपमा केहीं थकान महसुस् हुन्छ । जब जनताको माया र आशा देख्छु, त्यहीं नै उर्जा भर्ने इन्जेक्सन बन्छ ।’ माघको अन्तिम दिन हिउँसँगै जिल्लाका नेता कार्यकताले प्रचण्डलाई बागलुङ र रुकुमपूर्वको सिमावर्ती पातीहाल्नामा स्वागत गरे । लुगुममा जनभेटघाट गरे । यससँगै सुरु भयो प्रचण्डको मतदाता भेटघाट । सात दिनमा प्रचण्डले रुकुमपूर्वमा ३५ स्थानमा जनभेटघाट गरे । माओवादी जनयुद्धमा चर्चित बैठकस्थल चुनबाङ पुगे । महतको लाबाङ पुगे । जनयुद्धमा छापामारले गरेका ठूला आक्रमण स्थल महत, रुकुमकोट, तकसेरा पुगे । पर्यटकीय स्थल तकसेरा र मैकोट पुगे । रात र दिउँसोको समयमा सानीभेरी किनार र भीर पहरामा पैदल यात्रा गरे । स्थानीयको घरमा खाना खाए । बास बसे । जनभेटघाट गरेका हरेक स्थानमा पञ्चे बाजा बजाइए । स्थानीय सांस्कृतिक तथा पौराणिक नाच प्रस्तुत् गरिए । प्रचण्ड हरेक नाचमा सामेल बने । प्रचण्डका सात सन्देश कर्म भूमि आएँ प्रचण्ड रुकुमेलीसँग साक्षात्कार गर्दा नौलो देखिएनन् । रुकुमेलीले पनि नौलो मानेनन् । आफ्नै घर आगनमा बसिरहेको, हिँडिरहेको भावमा थिए प्रचण्ड । परिवारको सदस्यकै रुपमा लिए रुकुमेलीले । प्रचण्डले रुकुमपूर्वलाई आफ्नो कर्मभूमिको रुपमा चित्रण गरे । र, कर्मभूमिमा आएको बताए । यसमा पूर्ण सहमत छन् रुकुमेली । प्रचण्डले यो भूमिमा लामो कर्म गरेका छन् । उनी २०४१ सालमा रुकुमपूर्वमा पाइला टेकका हुन् । जनयुद्धको सुरुवात यहीं रुकुम, रोल्पाबाट सुरु गरे । माओवादीको केहीं ऐतिहासिक बैठक रुकुमपूर्वको चुनबाङ र लाबाङमा बसे । गणतन्त्र स्थापना गर्न रुकुमकोट, महत, तकसेरामा रहेका प्रहरी चौकीमाथि आक्रमण गरे । सामुदायिक समाजवाद प्रचण्डले रुकुमपूर्वमा सामुदायिक समाजवादको चर्चा गरे । नेपाली विशेषताको समाजवाद सामुदायिक हुने उल्लेख गरे । सामुदायिक समाजवाद रुकुमपूर्वबाट सुरु गर्न सकिनेमात्रै बताएनन् की त्यसको भ्रुण पनि देखेको बताए । सामुदायिक समाजवादका विविध पक्षको लामो चर्चा यहाँ सम्भव छैन । रुकुमपूर्वमा यसको अभ्यास कसरी हुनसक्छ र भइरहेको छ भन्ने मान्न त्यहाँको केहीं विशेषतालाई हेर्न सकिन्छ । त्यहाँ मगर, दलित र क्षेत्रीको बसोबास घना छ । त्यसपछि ठकुरीको बसोबास छ । ब्राहमण, गुरुङ, नेवार, थकाली पनि छन् । रुकुमपूर्वको खासगरी अझ माथिल्लो भूभागमा सबै जातिको संयुक्त बसोबास छ । संयुक्त रहन सहन छ । संस्कृति छ । पोषाक छ । मुख्य कुरा त त्यहाँका दलित र ठकुरीको पनि मगर खाम संयुक्त भाषा बनेको छ । जातीय छुवाछुत मुक्त छ । अन्तरजातीय विवाह छ । राजनीतिक प्रतिनिधित्व समान छ । सामाजिक आर्थिक अधिकारमा महिला माथि छन् । सबै समुदाय मातृसत्तात्मक छ । यहीं विशेषतालाई नै प्रचण्डले सामुदायिक समाजवादको भ्रुण भनेको हुनुपर्छ । प्रचण्डले नेपाली विशेषताको समाजवाद सामुदायिक हुने र त्यसको अभ्यास रुकुमपूर्वबाट थाल्ने बताएका छन् । र, रुकुमपूर्वलाई नमूनाको रुपमा अघि बढाउने बताएका छन् । मगर स्वायत्त क्षेत्र रुकुमपूर्व मगर खाम भाषी क्षेत्र हो । मगर संस्कार, संस्कृतिले समृद्ध छ । यहाँ प्रचण्डले रुकुमपूर्वसहित मगर क्लस्टरहरुहरुलाई स्वायत्त क्षेत्र बनाउने बताएका छन् । स्वायत्त क्षेत्रमार्फत मगर खामभाषालाई विश्वव्यापीकरण गर्ने बताएका छन् । विशेष तथा स्वायत्त क्षेत्र बनाउन सकिने संवैधानिक व्यवस्था र रुकुमपूर्वका मगरहरुको भाषा, संस्कार, संस्कृति, सभ्यताका आधारमा त्यो बन्न सक्छ । रुकुमपूर्वले मगर बस्तीलाई जिवित संग्राहलयको अवधारणा सारेर अभ्यास थालिसकेको पनि छ । दलितका लागि प्राधिकरण रुकुमपूर्वमा २१ प्रतिशत जनसंख्या दलित समुदायको छ । त्यहाँ जातीय छुवाछुत छैन । अवशेषहरु भने देखिन्छ । जातीय छुवाछुतसहितको विभेदको अन्त्य र राजनीतिक अधिकारका लागि प्रचण्डप्रति दलित समुदाय अनुग्रहित देखिन्छ । दलित समुदायले स्पष्ट रुपमा भनेका छन् की ‘तपाईंले गर्दा हामी मान्छे भएर बाँच्न पाउने भएका छौँ ।’ विभेदको पूर्ण अन्त्य, राजनीतिक अधिकार र आर्थिक सामाजिक विकासका लागि प्रचण्डप्रति पूर्ण आशावादी पनि छन् । प्रचण्डले रुकुमपूर्वमा दलित प्राधिकरण गठन गरेर यो समुदायको सर्वाङ्गिण विकास गर्ने बताएका छन् । विकास हेर्न रुकुम जाऔँ रुकुमपूर्वमा विकास नभएको होइन । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा सुरुभएको मध्यहाडी लोकमार्गले त्यहाँको मुहार फेरिएको छ । सहिद मार्गले यात्रा सहज भएको छ । अधिकांश वडा कार्यालयसम्म खुल्ला सडक छन् । विद्यालय, स्वास्थ्य भवन बनेका छन् । तर, यसमा सन्तोष छैन । प्रचण्डसँग रुकुमपूर्वले चौतर्फी विकासको अपेक्षा गरेको छ । सबै वडामा कालोपत्रे सडक, काँक्रीदेखि मैकोट, डोल्पाको सहरतारा हुँदै चीन जोड्ने सहिदमार्ग कालोपत्रे, ढोरपाटन जोड्ने उत्तरगंगा करिडोर, सानीभेरी करिडोर कालोपत्रे जस्ता अपेक्षा गरेको छ । प्रचण्डले रुकुमपूर्वलाई विकासको नमूना बनाउने बताएका छन् । र, भनेका छन् ‘विकास हेर्न रुकुम जाऔँ भन्ने बनाउने छौँ ।’ उनले यो पनि भनेका छन् की पहिले क्रान्तिका लागि बन्दुक बोकेर रुकुम आएको थिएँ, यसपटक विकासको औजार लिएर आएको छु । भदौ २३ र २४ के हो ? प्रचण्डले भदौ २३ गते भएको जेनजी विद्रोह, त्यसमा भएको दमन र २४ गते भएको विध्वंसका बारेमा स्पष्ट रुपमा देशलाई भनिरहेका छन् । उनी रुकुमपूर्वमा यसमा स्पष्ट सुनिए । भदौ २३ गते जेनजी विद्रोह हुनु एमाले र कांग्रेसको तात्कालीन सरकारले गरेको भ्रष्टाचार, कुशासन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध भएको र त्यो विद्रोहमा चरम दमन गरेर युवाहरुको हत्या गरेको भनेका छन् । त्यो विद्रोहको परिस्थिति र युवाहरुको हत्या हुने गरी भएको दमन एमाले काँग्रेसले गरेको बताएका छन् । भदौ २४ गते सिंहदबार, संसद भवनसहित राष्ट्रिय धरोहर, व्यक्तिको घर तथा व्यावसायमा आगजानी गर्ने अहिलेका नयाँ भन्नेहरु रहेको प्रष्ट भनेका छन् । उनले मतदातासँग भदौ २३ र २४ पनि प्रतिस्पर्धामा रहेको युवाको हत्या गर्नुहुन्न, राष्ट्रिय धरोहर जलाउनुहुन्न भन्ने आफ्नो पार्टी पनि प्रतिस्पर्धामा रहेको बताएर आफ्नो पार्टीलाई मत मागेका छन् । क्रान्ति र शान्ति भूमि जनयुद्धको थालनी, विकास र सफलतामा रुकुमपूर्वको अग्रणी भूमिका छ । प्रचण्डले रुकुमपूर्वलाई क्रान्ति र शान्ति भूमि भनेका छन् । जनयुद्धको थालनी त्यहीं भयो । जनयुद्धलाई उचाइ दिने ठूला कारबाही त्यहीं भयो । जनयुद्धको क्रममा माओवादीको महत्वपूर्ण बैठक त्यहीं भयो । हरेक रुकुमेलीहरुको जनयुद्धमा योगदान छ । त्यसैलाई उनले क्रान्ति भूमि भनेका छन् । २०६२ मा चुनबाङमा माओवादीको केन्द्रीय समिति बैठक बस्यो । त्यो लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँगको सहकार्यमा जनआन्दोलन पनि गर्ने निर्णय गर्यो । त्यो बैठकको निर्णयका आधारमा माओवादीले फौजी कारबाही पनि जारी राख्यो, ऐतिहासिक जनआन्दोलन भयो । मुलकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्था स्थापना भयो । र, १० वर्षको युद्धपछि नेपालमा शान्ति स्थापना भयो । त्यसैलाई प्रचण्डले रुकुमपूर्वलाई शान्ति र क्रान्तिको भूमि भनेका छन् । रुकुमपूर्वले एक सातामा प्रचण्डलाई स्वागत र आतिथ्यतामा कुनै कसर बाँकी राखेन । यो सात दिनमा प्रचण्डले रुकुमपूर्वबाट नयाँ उर्जा प्राप्त गरेको हुनुपर्छ । पछिल्ला दिनका उनको अभिव्यक्तिले त्यो पुष्टि गर्छ । सात दिनमा जिल्लाका अधिकांश वडामा पुग्नु, सबै वडाका मतदातासँग भेटघाट गर्नुले रुकुमपूर्वको विकास नै भएको छैन भन्न मिल्दैन । भौगोलिक अवस्थितिले कठिनाइ छ । पूर्वाधार विकासमा अप्ठ्यारो छ । अहिलेसम्म जति विकास भएको छ, त्यसको जस प्रचण्डसँगै रुकुमपूर्वका नेताहरुलाई नै जान्छ । त्यहाँ केहीँ भएको छैन, नेताहरुलाई केहीँ गर्न सकेनन् भन्ने आरोपलाई प्रचण्डले नै खण्डन गरिदिएका छन् । उनले भनेका छन्, ‘यहाँ केहीँ भएको छैन । नेताहरुले केहीँ गरेका छैनन् भन्ने कुरा मित्थ्या हो । यहाँ धेरै विकास भएको छ । मेरै यात्राले पनि पुष्टि गर्छ । यहाँका नेताहरुले धेरै गर्नुभएको छ । यत्ति हो मबाट अझै बढी अपेक्षा छ । यहाँकै नेताहरुको साथले त्यो म गर्छु ।’ पातीहाल्नेमा केहींदिन अघि पुनः हिउँ परेको छ । हिउँको थुप्रो अग्लिएका छन् । अब त्यो हिउँले कसरी स्वागत गर्छ प्रचण्डलाई ? त्यो धेरै पर छैन ।
पाँचकुने तारामा भोट हाल्न गाउँ फर्किंदै लाखौँ मतदाता
काठमाडौं । लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव नजिकिँदै जाँदा राजधानीबाट गाउँ फर्किने मतदाताको लर्को दिनानुदिन बढ्दो छ । लगातार सार्वजनिक बिदा, होली पर्व र निर्वाचन एकैसाथ परेकाले लाखौँ नागरिक आफ्नो मताधिकार प्रयोग गर्न गाउँतर्फ लागेका हुन् । पछिल्लो एक सातामा मात्रै तीन लाख ४९ हजार ६ सय ९५ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको तथ्यांक सार्वजनिक भएको छ । १४ फागुनदेखि बाहिरिनेको संख्या उल्लेख्य रूपमा बढेको छ । १४ फागुनमा ४२ हजार ८२२ जना बाहिरिएका थिए भने १५ फागुनमा ५२ हजार ८३, १६ फागुनमा ५२ हजार ६ सय ५३, १७ फागुनमा ५३ हजार ४ सय ७ र १८ फागुनमा ५७ हजार ३ सय ७१ यात्रुले उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार निर्वाचन नजिकिएसँगै सवारी चाप उल्लेख्य रूपमा बढेको छ । “सडकमा निकै चहलपहल छ, यसले चुनावी माहोल तातेको संकेत गर्छ,” उनले भने ।दैनिक सात हजारभन्दा बढी यात्रुवाहक सवारीसाधन उपत्यकाबाट बाहिरिन थालेका छन् । यात्रुहरूका अनुसार यसपटकको निर्वाचनमा विशेष उत्साह देखिएको छ । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिवेशमा परिवर्तनको अपेक्षा बोकेर मतदाता गाउँ फर्किरहेका छन् । नयाँ बसपार्कमा भेटिएका कैलालीका सुरेश बोहराले भने, “यसपटक मेरो भोट नेपाली कम्युनिस्ट पार्टीकाे पाँचकुने तारालाई हुनेछ । त्यसकाे लागि गाउँ जाँदै छु ।” गुल्मीका सक्षम ज्ञवालीले सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने नेतृत्वको आवश्यकता औँल्याए । “राम्रो उम्मेदवार जिते मात्र देशमा परिवर्तन आउँछ,उनले भने, पार्टीकाे कुरा गर्दा नेपाली कम्युनिस्ट पार्टी सही छ ।,” यस्तै, सिन्धुपाल्चोकका गोरखबहादुर कार्कीले भ्रष्टाचार रोक्ने र युवालाई विदेश पलायन हुन नपर्ने वातावरण बनाउन नेकपाकाे पाँचकुने तारा राेज्नु पर्ने बताए । अर्घाखाँचीका गगन रेश्मी यसपालि पहिलोपटक मतदान गर्न गाउँ जाँदै छन् । उनले पनि अबकाे विकल्प नेकपानै भएकाले पाँचकुने तारा राेज्नु पर्ने सुझाव दिए । यसपटक होली पर्व र लामो बिदाले पनि गाउँ फर्किनेको संख्या पनि तारा चिन्ह लाेकप्रिय बनेकाे छ । आठदेखि नौ लाखसम्म यात्रुले उपत्यका छाड्ने अनुमान छ । अधिकांश बसको अग्रिम टिकट बुकिङ भइसकेको छ । राजधानीका प्रमुख नाका—नागढुंगा, बल्खु, साँखु, जगाती र माछापोखरीमा चेकजाँच कडा पारिएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।
नीतिगत पुनर्संरचना र दीर्घकालीन रूपान्तरणको लागि निर्वाचनपूर्व नेकपाकाे पक्षमा देशभर जनलहर निर्माण
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा देशको राजनीतिक वातावरण दिनप्रतिदिन तातिँदै गएको छ। विभिन्न दलहरूले आफ्ना कार्यक्रम र प्रतिबद्धतासहित मतदातामाझ पुग्ने क्रम तीव्र बनाइरहेका छन्। यसैबीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशव्यापी रूपमा सञ्चालन गरिरहेको चुनावी अभियान, जनसभाहरू, घरदैलो कार्यक्रम र संवाद श्रृंखलाले निर्वाचन बहसलाई नीतिगत मुद्दातर्फ केन्द्रित गरेको दाबी गरेको छ। पार्टीले यसपटकको निर्वाचनलाई केवल सत्तापरिवर्तनको प्रक्रियाका रूपमा नभई “नीतिगत पुनर्संरचना र दीर्घकालीन रूपान्तरण” को अवसरका रूपमा व्याख्या गरेको छ। नेकपाका केन्द्रीय नेताहरूले विकास, सुशासन, सामाजिक न्याय, आर्थिक आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमानलाई प्रमुख चुनावी एजेन्डाका रूपमा अघि सारेका छन्। देशभर भइरहेका कार्यक्रमहरूमा यिनै विषयलाई केन्द्रमा राखेर मतदातासँग प्रत्यक्ष संवाद भइरहेको पार्टी स्रोतले जनाएको छ। आर्थिक आत्मनिर्भरता र रोजगारी प्राथमिकतामा नेकपाले प्रस्तुत गरेको घोषणापत्रको मूल आधार “उत्पादनमुखी अर्थतन्त्र” रहेको बताइएको छ। पार्टीका अनुसार आयातमुखी संरचनाबाट उत्पादनमुखी संरचनातर्फ रूपान्तरण नगरेसम्म देशमा दिगो आर्थिक सुधार सम्भव छैन। त्यसैले कृषि, उद्योग र पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै रोजगारी सिर्जनामा जोड दिने प्रतिबद्धता गरिएको छ। कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, मल–बीउको सुनिश्चित आपूर्ति र कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने नीति अघि सारिएको छ। स्थानीय तहमा कृषि प्रशोधन उद्योग स्थापना गरी किसानलाई उत्पादनदेखि बजारीकरणसम्म सहयोग गर्ने योजना सार्वजनिक गरिएको छ। “खेतीलाई सम्मानजनक पेशा बनाउने” नारा दिँदै युवा कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। उद्योग क्षेत्रमा साना तथा मझौला उद्योग प्रवर्द्धन, घरेलु उत्पादनलाई प्राथमिकता, र विशेष आर्थिक क्षेत्र (SEZ) विस्तार गर्ने प्रस्ताव गरिएको छ। युवालाई स्वरोजगार बनाउने उद्देश्यले सहुलियतपूर्ण ऋण, सीपमूलक तालिम र स्टार्टअप कोष स्थापना गर्ने योजना पनि समावेश गरिएको छ। शिक्षा र स्वास्थ्य : आधारभूत सेवाको सुदृढीकरण नेकपाले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रूपमा व्याख्या गर्दै यी क्षेत्रमा राज्यको भूमिका बलियो बनाउने प्रतिबद्धता जनाएको छ। सरकारी विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच विस्तार, र ग्रामीण भेगमा शिक्षक दरबन्दी पूर्ति गर्ने योजना अघि सारिएको छ। उच्च शिक्षामा अनुसन्धान प्रवर्द्धन, छात्रवृत्ति विस्तार र विदेश पलायन रोक्न रोजगारमुखी पाठ्यक्रम विकास गर्ने लक्ष्य राखिएको छ। “पढाइसँगै कमाइ” कार्यक्रममार्फत विद्यार्थीलाई सीपमूलक तालिमसँग जोड्ने प्रस्ताव पनि गरिएको छ। स्वास्थ्य क्षेत्रमा प्रत्येक स्थानीय तहमा सुसज्जित आधारभूत अस्पताल, निःशुल्क प्राथमिक स्वास्थ्य सेवा, मातृ–शिशु स्वास्थ्य कार्यक्रम सुदृढीकरण, र दीर्घरोगीका लागि सहुलियत कार्यक्रम विस्तार गर्ने नीति प्रस्तुत गरिएको छ। दुर्गम क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मी आकर्षित गर्न विशेष प्रोत्साहन प्याकेज ल्याउने उल्लेख गरिएको छ। सुशासन र भ्रष्टाचार नियन्त्रण चुनावी अभियानका क्रममा नेकपाले सुशासन र पारदर्शितालाई विशेष प्राथमिकता दिएको छ। सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता, डिजिटल प्रणालीमार्फत सरकारी सेवा प्रवाह, र भ्रष्टाचारविरुद्ध कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता दोहोर्याइएको छ। पार्टीका नेताहरूले प्रशासनिक सुधार, अनावश्यक खर्च कटौती, र विकास आयोजनाको प्रभावकारी अनुगमन गर्ने बताएका छन्। “जनताको करको पैसा जनताकै हितमा” भन्ने नारासहित सार्वजनिक जवाफदेहिता प्रणाली बलियो बनाउने योजना अघि सारिएको छ। सामाजिक न्याय र समावेशिता नेकपाले सामाजिक न्यायलाई आफ्नो वैचारिक आधारसँग जोड्दै महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम तथा पछाडि पारिएका समुदायको प्रतिनिधित्व र अवसर सुनिश्चित गर्ने नीति लिएको जनाएको छ। समान कामका लागि समान पारिश्रमिक, महिलाको नेतृत्व विकास, र हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अघि सारिएको छ। युवा लक्षित कार्यक्रमहरूमा खेलकुद पूर्वाधार निर्माण, नवप्रवर्तन प्रवर्द्धन, र विदेशमा रहेका युवालाई स्वदेश फर्केर लगानी गर्न प्रोत्साहन गर्ने योजना समावेश गरिएको छ। श्रमिक अधिकार संरक्षण, न्यूनतम ज्याला कार्यान्वयन र सामाजिक सुरक्षा कोष विस्तार गर्ने प्रतिबद्धता पनि गरिएको छ। पूर्वाधार र दिगो विकास पूर्वाधार विकासलाई आर्थिक प्रगतिसँग जोड्दै सडक, पुल, विद्युत्, खानेपानी र सञ्चार क्षेत्रमा लगानी बढाउने नीति अघि सारिएको छ। जलविद्युत् उत्पादन विस्तार गरी आन्तरिक खपत बढाउने र निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखिएको छ। शहरीकरणलाई व्यवस्थित बनाउन एकीकृत बस्ती विकास, हरित शहर अवधारणा र सार्वजनिक यातायात सुधार गर्ने कार्यक्रम प्रस्तुत गरिएको छ। वातावरण संरक्षण, वन सम्पदाको दिगो उपयोग, र जलवायु परिवर्तन अनुकूलन योजना कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ। राष्ट्रिय स्वाभिमान र कूटनीति नेकपाले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई जोड दिँदै राष्ट्रिय हितको रक्षा गर्ने बताएको छ। छिमेकी तथा अन्य मुलुकसँग समानता, पारस्परिक सम्मान र लाभका आधारमा सम्बन्ध सुदृढ गर्ने नीति अघि सारिएको छ। वैदेशिक लगानीलाई राष्ट्रिय हितअनुकूल बनाउने र श्रम सम्झौता सुदृढ गरी वैदेशिक रोजगारीमा रहेका नेपालीको अधिकार संरक्षण गर्ने उल्लेख गरिएको छ। जनसहभागिता र अभियानको स्वरूप देशका विभिन्न जिल्लामा आयोजित सभाहरूमा उल्लेख्य जनसहभागिता देखिएको आयोजकहरूले बताएका छन्। गाउँ–नगरका चोक, विद्यालय प्रांगण र सामुदायिक हलहरूमा आयोजित कार्यक्रमहरूमा स्थानीय बासिन्दाले आफ्ना समस्या र सुझाव राख्ने क्रम बढेको छ। पार्टीले यसलाई “नीतिगत संवादको प्रक्रिया” का रूपमा व्याख्या गरेको छ। विशेषगरी पहिलो पटक मतदान गर्न लागेका युवाहरूले रोजगारी, पारदर्शिता र स्थायित्वलाई मुख्य अपेक्षाका रूपमा उठाएका छन्। महिला समूहहरू स्वास्थ्य, शिक्षा र आर्थिक सशक्तीकरणका विषयमा स्पष्ट योजना खोजिरहेका देखिन्छन्। मजदुर तथा कृषक समुदायले उत्पादन र बजार व्यवस्थापनसँग सम्बन्धित विषयलाई प्राथमिकता दिएका छन्। संगठनात्मक सुदृढता नेकपाले यसपटक संगठनात्मक संरचना सुदृढ गर्दै स्थानीय तहसम्म अभियान परिचालन गरेको जनाएको छ। वडा–टोल स्तरसम्म चुनावी संयन्त्र गठन गरी मतदाता सूची अद्यावधिक, घरदैलो सम्पर्क र एजेन्डा प्रचार–प्रसारलाई व्यवस्थित बनाइएको बताइएको छ। पार्टीले अनुशासित र योजनाबद्ध अभियानले मतदातासँग प्रत्यक्ष सम्बन्ध बलियो बनाएको दाबी गरेको छ। विश्लेषणात्मक दृष्टिकोण राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनको माहोल अहिले नीतिगत बहसतर्फ केन्द्रित देखिन्छ। दलहरूले आर्थिक सुधार, रोजगारी, सुशासन र सामाजिक न्यायजस्ता मुद्दालाई प्रमुखतामा राखेका छन्। नेकपाले प्रस्तुत गरेको उत्पादनमुखी अर्थतन्त्र, सामाजिक सुरक्षा विस्तार र प्रशासनिक सुधारका प्रस्तावले समर्थकहरूमा आशा जगाएको टिप्पणी गरिएको छ, यद्यपि ती कार्यक्रम कार्यान्वयनको प्रभावकारिताबारे बहस जारी छ। निष्कर्ष फागुन २१ को निर्वाचनलाई विभिन्न दलहरूले आ–आफ्नो दृष्टिकोणबाट ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरिरहेका छन्। नेकपाले भने यसलाई “परिवर्तन, स्थायित्व र समृद्धिको मार्गचित्र” कार्यान्वयन गर्ने निर्णायक क्षणका रूपमा चित्रित गरेको छ। देशभर सञ्चालन भइरहेको अभियान, प्रस्तुत गरिएका एजेन्डा र मतदातासँग भइरहेको प्रत्यक्ष संवादले निर्वाचन प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। अन्ततः मतदाताको निर्णयले नै आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ। प्रस्तुत कार्यक्रमहरू व्यवहारमा कत्तिको रूपान्तरित हुन्छन् भन्ने प्रश्न भविष्यको कार्यान्वयनसँग जोडिएको रहनेछ। अहिलेका लागि भने चुनावी मैदानमा एजेन्डा, प्रतिबद्धता र जनसम्पर्क अभियान तीव्र गतिमा अघि बढिरहेका छन्।
सुनसरी-१ मनोज भट्टराईको धरानमा व्यापक समर्थन, तारामा मतदान गर्ने प्रतिबद्धा
धरान । निर्वाचन नजिकिदै जाँदा सुनसरी–१ का नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट तारा चिन्हबाहक उम्मेदवार मनोज भट्टराईको घरदैलो धरान बजारक्षेत्रमा केन्द्रित भएको छ । बिहीबार धरानको मुख्य व्यापारिक क्षेत्रहरू भानुचोक, नयाँ बजार, महेन्द्रपथ, पुरानो बजार, रत्न रोड, गीता मन्दिर, छाता चोक लगायतका स्थानमा घरदैलो सम्पन्न भएको थियो । बजारक्षेत्रका धरानवासीले उम्मेदवारको टिमलाई उत्साहका साथ स्वागत गरेका थिए । स्थानीयवासीले खादा तथा मालाले सम्मान गर्दै जितको शुभकामना दिएका थिए । धरान ३ का सुनचाँदी व्यवसायी कुमार विश्वकर्माले मनोज भट्टराई चुनावको बेला मात्र नभई कुनैपनि बेला सुख–दुःखमा साथ दिने व्यक्तित्व भएकाले आफु र आफ्नो परिवारले उहाँलाई नै मत दिने सल्लाह भएको बताए । रत्न रोडस्थित जोन गोल्ड सपका सञ्चालक बमबहादुर ल्वागुनले मनोज धरानमै जन्मेर हुर्किएको र सुनसरी–१ का विभिन्न क्षेत्रका समस्याबारे जानकार भएकाले योग्य उम्मेदवार भएको बताए । घरदैलोका क्रममा उम्मेदवारको स्वागतमा सहभागी भएका नयाँ बजारका कपडा व्यवसायी अनिस श्रेष्ठले भने– ‘मनोज उर्जाशिल युवा हुनुहुन्छ, जित्नुभएमा संसदमा आफ्नो क्षेत्रको मुद्दा सशक्त रूपमा उठाउन सक्ने क्षमता छ, व्यापारीहरुका लागि पनि सहज व्यक्तित्व हुनुहुन्छ, त्यसैले योग्य उम्मेदवार उहाँ नै हो ।’ बजार क्षेत्रकै किराना व्यवसायी हिरा कार्कीले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने मनोज भट्टराईको प्रतिबद्धता आफूलाई सकारात्मक लागेकोले आफ्नो मत उनलाई नै जाने बताए । उनका अनुसार पछिल्लो समय बजार क्षेत्र मात्र नभई सुनसरी–१ मै मनोज भट्टराईको चुनावी माहोल बलियो बन्दै गएको छ ।
जनजातिको छोरालाई एकपटक विश्वास गर्नुहोस्, मत खेर जान दिने छैन: प्रताप गुरुङ
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रताप गुरुङले चुनावी अभियानलाई तीव्र बनाएका छन्। घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै उनले आफूलाई “जनजातिको छोरा” भन्दै मतदातासँग एकपटक विश्वास गर्न आग्रह गरेका छन्। “जनजातिको छोरालाई एकपटक विश्वास गर्नुहोस्, तपाईंको मत खेर जान दिने छैन। तपाईंको मतको सम्मान गर्दै काम गरेर देखाउनेछु,” उनले भने। गुरुङले जनजाति समुदायसहित सबै वर्ग र समुदायको समान सहभागिता तथा प्रतिनिधित्व सुनिश्चित गर्नु वर्तमान आवश्यकता भएको बताए। “यो चुनाव व्यक्तिको मात्र होइन, पहिचान, अधिकार र समावेशी विकासको अभियान हो,” उनले जोड दिए। लामो समयपछि जनजाति समुदायका उम्मेदवारले टिकट पाएको उल्लेख गर्दै उनले यसलाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे। “हामी जनजातिले मात्र होइन, सबै समुदायले साथ दिनुहुनेछ भन्ने विश्वास छ,” उनले भने। उक्त क्षेत्रबाट पटकपटक निर्वाचित सांसदहरूले अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै गुरुङले स्थानीय समस्या बुझेको व्यक्तिले मात्र प्रभावकारी विकास गर्न सक्ने दाबी गरे। “जुन क्षेत्रमा जन्मियो, हुर्कियो र जसलाई त्यस क्षेत्रबारे गहिरो जानकारी छ, त्यही व्यक्तिले विकास गर्न सक्छ। त्यसैले मलाई बहुमतका साथ विजय गराउनुहोस्, म तपाईंहरूको सुखदुःखमा साथ रहेर काम गर्नेछु,” उनले भने। उनले समावेशी विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तारलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए। साथै, स्थानीय तहमा पारदर्शिता कायम गर्दै युवाका लागि सीपमूलक तालिम र साना उद्यम प्रवर्द्धनमार्फत आर्थिक सशक्तीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। ४२ वर्षीय गुरुङ इच्छाकामना गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्। वर्गीय उत्पीडन, राज्य दमन र शोषणविरुद्धको संघर्षबाट राजनीतिक पहिचान बनाएको बताउने गुरुङ २०५२ सालमा नेकपा (माओवादी)को सदस्यता लिएपछि सक्रिय राजनीतिमा लागेका थिए। जनयुद्धकालमा उनले वर्गसंघर्षको मोर्चामा काम गरेको उल्लेख गरेका छन्। गुरुङ उम्मेद्वारलाई जिताउन तमू सञ्चारकर्मीको अपिल प्रतिनिधि सभाको निर्वाचनमा गुरुङ समुदायका उम्मेद्वारहरुलाई भोट हालेर जिताउनका लागि गुरुङ पत्रकारहरुको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघले अपिल गरेको छ । संघले सोमबार एक अपिल जारी गर्दै निर्वाचनमा जुनसुकै दलबाट उम्मेद्वार रहेका भएपनि गुरुङ समुदायका उम्मेद्वार मत हालेर जिताउन अपिल गरेको हो ।
भक्तपुर क्षेत्र नं. २ का एमाले नेता-कार्यकर्ता नेकपामा प्रवेश
काठमाडौं । भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका नेकपा एमालेसँग आबद्ध नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ का श्याम मचामसी, राम बाला र राजू लवजू, भक्तपुर नगरपालिका वडा नं. ७ का रघुनाथ सुवाल तथा चाँगुनारायण नगरपालिका वडा नं. ८ का कृष्ण राम कवा लगायतका नेता–कार्यकर्ताहरुले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको हो । उनीहरुलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाmल प्रचण्डले पार्टीमा स्वागत गर्नुभयो ।पार्टीमा स्वागत गर्दै संयोजक प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा बामपन्थी तथा क्रान्तिकारी शक्तिहरुको एकता अपरिहार्य भएको बताउँनुभएको छ।योे पार्टी प्रवेशले भक्तपुर २ मा राम्रो नतिजा आउँने विश्वास व्यक्त गर्नुभयो । नवप्रवेशी नेता तथा कार्यकर्ताहरुले पार्टीको सिद्धान्त, नीति तथा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा संगठन सुदृढीकरण र जनसरोकारका मुद्दामा सक्रिय रहने प्रतिबद्धता जनाउँनुभएको छ ।
प्रचण्डको स्पष्ट सन्देश: अतिवादविरुद्ध, स्थायित्व र समृद्धिको नयाँ अध्याय लागि ‘तारा’मा मतदान
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने आम निर्वाचनलाई देशको राजनीतिक दिशानिर्देशन गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रित गर्दै निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ। निर्वाचनको पूर्वसन्ध्यामा जारी भिडियो सन्देश र विभिन्न सार्वजनिक सम्बोधनमार्फत उहाँले सुशासन, स्थायित्व र समृद्धिको स्पष्ट रोडम्याप प्रस्तुत गर्दै जनतासँग ताजा जनादेश माग्नुभएको हो। प्रचण्डले देश ‘जेन्जी’ आन्दोलनपछिको अस्थिर र अनिश्चित राजनीतिक अवस्थाबाट गुज्रिरहेको स्मरण गर्नुभयो। सडक आन्दोलन, असन्तुष्टि र अविश्वासको वातावरणबीच लोकतान्त्रिक निकासका रूपमा निर्वाचनमा जाने निर्णय ऐतिहासिक आवश्यकता भएको उहाँको भनाइ छ। अन्तरिम सरकार गठनका लागि सहजीकरण गर्नु र ताजा जनादेशका लागि अडान लिनु आफ्नो दलको जिम्मेवार कदम भएको उहाँले उल्लेख गर्नुभयो। “देशलाई अन्योलबाट लोकतान्त्रिक प्रक्रियातर्फ ल्याउन हामीले सहजीकरण गर्यौं,” उहाँले भन्नुभयो, “अब जनताले नै अन्तिम निर्णय दिने समय आएको छ।” उहाँका अनुसार निर्वाचनमार्फत राजनीतिक स्थिरता र स्पष्ट जनादेश प्राप्त भएमा विकास र सुशासनको मार्ग प्रशस्त हुनेछ। सुशासन व्यक्तिबाट होइन, विधिबाट आफू प्रधानमन्त्री हुँदा सुशासनको थालनी गरिएको दाबी गर्दै प्रचण्डले स्पष्ट रूपमा भन्नुभयो—सुशासन कुनै व्यक्तिको सदिच्छाले होइन, संस्थागत सुधार र विधिको शासनमार्फत सम्भव हुन्छ। “व्यक्ति बदलिँदा नीति बदलिनु हुँदैन; प्रणाली बलियो बनिनुपर्छ,” उहाँको भनाइ थियो। उहाँले आफ्नो कार्यकालमा ठूला भ्रष्टाचार काण्डहरू उजागर गरिएको, शक्तिशाली गिरोह र बिचौलिया समूहहरूलाई कानुनी दायरामा ल्याउने प्रयास गरिएको तथा प्रशासनिक सुधार अघि बढाइएको बताउनुभयो। सुशासनको कदमले प्रभावित स्वार्थ समूहहरूले राजनीतिक गठजोडमार्फत अवरोध सिर्जना गरेको आरोप पनि उहाँले लगाउनुभयो। प्रतिपक्षमा रहँदा पनि सडक र सदन दुवैबाट कुशासन, दम्भ र अहंकारविरुद्ध संघर्ष जारी राखिएको उहाँको दाबी छ। “हामी सत्ता होस् वा प्रतिपक्ष, विधि र सुशासनको पक्षमा उभिएका छौं,” उहाँले भन्नुभयो। दुई अतिवादको खतरा प्रचण्डले देश दुई प्रकारका ‘अतिवाद’को जोखिममा रहेको बताउनुभयो। पहिलो, जनताको निराशा र आक्रोशलाई भड्काएर अराजकता, हिंसा र अनिश्चयतर्फ धकेल्ने प्रवृत्ति। दोस्रो, दलाल–विचौलिया र यथास्थितिवादी शक्तिहरूको संरक्षणमा टिकेको कुशासन। यी दुबै प्रवृत्तिले लोकतान्त्रिक उपलब्धि कमजोर पार्ने र राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने खतरा रहेको उहाँको भनाइ छ। “एकातिर व्यवस्था उल्ट्याउने उग्र सोच, अर्कोतिर परिवर्तन रोक्ने यथास्थितिवाद—यी दुबै देशका लागि हानिकारक छन्,” उहाँले उल्लेख गर्नुभयो। यी दुबै अतिवादसँग जुधेर देशलाई स्थायित्व र समृद्धिको दिशामा लैजान सक्ने शक्ति वाम आन्दोलन मात्र भएको उहाँको दाबी छ। वाम पुनर्गठन र एकताको पहल संयोजक प्रचण्डले वाम आन्दोलन पुनर्गठनको प्रक्रियामा रहेको बताउँदै पच्चीसभन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरूबीच संवाद र सहकार्य बढाइएको जानकारी दिनुभयो। विभाजनबाट एकता, आरोप–प्रत्यारोपबाट आत्मसमिक्षा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्कने अभियान सुरु भएको उहाँको भनाइ छ। उहाँले नेपाली कम्युनिस्ट पार्टीलाई वाम आन्दोलनको केन्द्रका रूपमा अघि बढाइएको बताउँदै सबै प्रगतिशील शक्तिहरू एउटै ध्रुवमा आउनुपर्ने धारणा राख्नुभयो। संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थाको रक्षा वाम शक्तिको साझा जिम्मेवारी भएको उहाँले जोड दिनुभयो। सामाजिक न्याय र समावेशिताको एजेन्डा प्रचण्डले आगामी कार्यदिशामा सामाजिक न्यायलाई केन्द्रमा राखिएको बताउनुभयो। महिलालाई नेतृत्व तहमा पुर्याउने, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमका नागरिकको अधिकार व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। श्रमिक–किसानका अधिकार संरक्षण, सामाजिक सुरक्षा विस्तार र गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राखिने उहाँको भनाइ छ। “धनी–गरिबबीचको खाडल घटाउने संकल्पका साथ हामी अघि बढेका छौं,” उहाँले भन्नुभयो। उत्पादनमुखी अर्थतन्त्र र रोजगारी युवालाई विदेशिन बाध्य पार्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको प्रचण्डले बताउनुभयो। कृषि र उद्योगबीच समन्वय गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण, साना तथा मझौला उद्योग प्रवर्द्धन, नवप्रवर्तन र प्रविधिमा आधारित उद्यमशीलता विकासलाई प्राथमिकता दिइने उहाँले उल्लेख गर्नुभयो। “हिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्,” उहाँले भन्नुभयो। आर्थिक आत्मनिर्भरता र राष्ट्रिय उत्पादन वृद्धि नै दीर्घकालीन समृद्धिको आधार हुने उहाँको धारणा छ। डिजिटल सुशासन र सेवा प्रवाह प्रचण्डले डिजिटल सुशासनमार्फत पारदर्शिता कायम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। सरकारी सेवा लाइनमा होइन, मोबाइल र अनलाइन प्रणालीमार्फत नागरिकसम्म पुर्याउने योजना रहेको उहाँले बताउनुभयो। स्वास्थ्य, शिक्षा र आधारभूत सेवामा सबैको समान पहुँच सुनिश्चित गरिने, भ्रष्टाचार अन्त्यका लागि कानुनी तथा संरचनागत सुधार गरिने उहाँको भनाइ छ। सन्तुलित र स्वाभिमानी विदेश नीति अवलम्बन गर्दै राष्ट्रिय हितलाई सर्वोपरि राखिने उहाँले स्पष्ट गर्नुभयो। छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग समतामूलक सम्बन्ध कायम गर्दै विकास साझेदारीलाई प्रभावकारी बनाइने उहाँको योजना छ। हिंसाविरुद्ध कडा सन्देश भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाप्रति टिप्पणी गर्दै प्रचण्डले ती घटना अस्वीकार्य भएको बताउनुभयो। लोकतान्त्रिक प्रक्रियामा हिंसाको कुनै स्थान नभएको उल्लेख गर्दै उहाँले मतदानमार्फत गलत प्रवृत्तिलाई जनताले दण्ड दिने विश्वास व्यक्त गर्नुभयो। ‘तारा’मा मतदानको आह्वान अन्त्यमा उहाँले मतदातालाई आफ्नो दलको चुनाव चिन्ह ‘तारा’मा मतदान गर्न आग्रह गर्नुभयो। फागुन २१ लाई स्थायित्व, सुशासन र समृद्धिको नयाँ अध्याय सुरु गर्ने दिनका रूपमा स्मरणीय बनाउन अपिल गर्दै उहाँले निराशालाई आशामा र आक्रोशलाई निर्माणमा बदल्न आग्रह गर्नुभयो। “जनताको मत नै सबैभन्दा ठूलो शक्ति हो,” उहाँले भन्नुभयो, “विधिको शासनमार्फत सुशासन स्थापना गर्न र देशलाई स्थायित्वतर्फ लैजान फागुन २१ मा ऐतिहासिक निर्णय गरौं।” यसरी, प्रचण्डको स्पष्ट सन्देश सुशासनको संस्थागत आधार निर्माण, अतिवादविरुद्ध लोकतान्त्रिक स्थायित्व, सामाजिक न्याय, उत्पादनमुखी अर्थतन्त्र र वाम एकताको पुनर्गठनमा केन्द्रित देखिएको छ। अब जनताको निर्णयले आगामी राजनीतिक यात्रा तय गर्नेछ।
सहकारी पीडित भन्छन्-“रास्वपालाई मत दिने मन छैन”
पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितहरूले सहकारी ठगी प्रकरणमा स्पष्ट समाधान नदिएसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत नदिने सन्देश दिएका छन्। उनीहरूले सहकारी ठगीको मुद्दामा राजनीतिक दलहरू गम्भीर नदेखिएको आरोप लगाउँदै ठोस प्रतिबद्धता र कार्ययोजना माग गरेका छन्। पीडित नन्दबहादुर थापाले सहकारीको रकम फिर्ता गराउने नाममा पटक–पटक आश्वासन दिइए पनि कार्यान्वयन नभएको बताए। “जीबी राईलाई ल्याएर दुई दिनमै सावाँ–ब्याज फिर्ता गर्छु भनियो। दुईपटक गृहमन्त्री हुँदा पनि केही भएन,” उनले भने, “हामीलाई अब झुटा आश्वासन होइन, व्यवहारिक समाधान चाहिन्छ।” पृथ्वीचोकका व्यवसायी मंगलप्रसाद खड्गीले चुनावको बेला मात्रै नेता–कार्यकर्ता घरदैलोमा आउने र पछि बिर्सने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। उनले सूर्यदर्शन सहकारीमा व्यक्तिगत र संस्थागत गरी २६ लाख रुपैयाँ गुमाएको बताए। “अब रास्वपाका नेताहरु विश्वास गर्ने आधार छैन,” उनले भने। प्रेमबहादुर रानाले ३३ लाख रुपैयाँ गुमाएको उल्लेख गर्दै २५ वर्षको शिक्षण र नर्सरी व्यवसायबाट कमाएको रकम डुबेको दुखेसो पोखेका छन्। पोखरा–१३ आर्बाका गोपी दाहालले पनि ६ लाख रुपैयाँ ६ वर्षदेखि फिर्ता नपाएको बताए। “घोषणापत्रमा लेखेर मात्रै हुँदैन, कार्यान्वयन चाहिन्छ,” उनले भने। सहकारीपीडित संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठले राजनीतिक दलहरूले पीडितको भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गरेको आरोप लगाए। “सहकारी ठगीको ट्याग लागेको कसैलाई पनि मत दिनुहुन्न,” उनले भने, “हामीलाई पीडित बनाउनेलाई बरु मतै हाल्दिनँ।” उनीहरूले रवि लामिछानेले चितवनमा सहकारी ठगीको प्रमाण मागेको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन्। रास्वपाले चितवनमा आयोजना गरेको चुनावी सभामा लामिछानेले आफूमाथि लागेको आरोपमा प्रमाण मागेपछि पीडितहरू आक्रोशित बनेका हुन्। सूर्यदर्शन सहकारीको एक अर्ब ५१ करोड रुपैयाँ अपचलन भएको आरोपमा मुद्दा दायर भएको छ। १८ हजार ७०० बचतकर्तामध्ये एक हजार १५७ जनाले मात्रै किटानी जाहेरी दिएका छन्। सरकारी अनुसन्धानअनुसार केही व्यक्तिको नाममा व्यक्तिगत बिगो कायम गरिएको छ भने गोर्खा मिडियामा समेत रकम गएको उल्लेख गरिएको छ। पीडितहरूको माग छ—राज्यले नीतिगत रूपमा राहत कार्यक्रम ल्याओस्, दोषीलाई कारबाही होस् र बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरियोस्। अन्यथा, आगामी निर्वाचनमा आफूहरू रास्वपासहित सहकारी ठगीमा मुछिएका व्यक्तिलाई मत नदिने उनीहरूको स्पष्ट चेतावनी छ।
ललितपुर-२ मा स्वतन्त्र उम्मेदवार बाबुराज बज्राचार्यको उम्मेदवारी निष्क्रिय, नेकपा उम्मेदवार राजेन्द्र अमात्यलाई समर्थन
ललितपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा ललितपुर निर्वाचन क्षेत्र नं. २ को राजनीतिक समीकरणमा महत्वपूर्ण मोड आएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका बाबुराज बज्राचार्यले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा उम्मेदवार राजेन्द्र अमात्यलाई समर्थन गर्ने घोषणा गरेका छन्। निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला बज्राचार्यको यस निर्णयले क्षेत्रको चुनावी वातावरण थप तरंगित बनेको छ। उनले नेकपा उम्मेदवार अमात्यलाई समर्थन गर्दै मतदातासँग ‘तारा’ चुनाव चिह्नमा मतदान गरी प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन्। समर्थन कार्यक्रममा बोल्दै बज्राचार्यले व्यक्तिगत महत्वाकांक्षाभन्दा राजनीतिक उद्देश्य र विचारलाई प्राथमिकता दिएको बताए। उनले भने, “देश र जनताको हितमा अघि बढ्न सक्ने नेतृत्वलाई साथ दिनु नै अहिलेको आवश्यकता हो। त्यसैले मैले उम्मेदवारी निष्क्रिय पारेर नेकपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हुँ।” उनी यसअघि नेकपा (एमाले) प्रति असन्तुष्टि जनाउँदै विद्रोहस्वरूप स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर पछिल्लो राजनीतिक छलफल र समीकरणपछि एकीकृत वाम धारालाई बलियो बनाउनुपर्ने निष्कर्षमा पुग्दै उनले धारणा परिवर्तन गरेका हुन्। समर्थन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दिनेश महर्जन ‘दिपेश’ तथा जिल्ला संयोजक शिव कट्टेलको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नेताहरूले बज्राचार्यको निर्णयलाई स्वागतयोग्य र दूरदर्शी कदमका रूपमा व्याख्या गरे। उनीहरूले क्षेत्र नं. २ मा वामपन्थी मत एकीकृत हुँदा विकास, स्थायित्व र जनअपेक्षा पूरा गर्न सहज हुने विश्वास व्यक्त गरे। बज्राचार्यले आफू र आफ्ना समर्थकहरू अब अमात्यको पक्षमा पूर्ण रूपमा सक्रिय हुने बताएका छन्। “हामी सबै मिलेर तारा चिह्नमा मतदान गरी परिवर्तनको पक्षमा उभिनुपर्छ,” उनले मतदातालाई अपिल गरे। उनको उम्मेदवारी निष्क्रिय भएसँगै ललितपुर–२ को चुनावी प्रतिस्पर्धा नयाँ ढंगले अघि बढ्ने आकलन गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस निर्णयले मत विभाजन रोकिने र नेकपा उम्मेदवारलाई प्रत्यक्ष लाभ पुग्ने सम्भावना देखिएको छ। निर्वाचन लोकतन्त्रको उत्सव हो। यस्तो घडीमा उम्मेदवारहरूबीच हुने समर्थन र सहकार्यले राजनीतिक संस्कृतिलाई परिपक्व बनाउने अपेक्षा गरिएको छ। बाबुराज बज्राचार्यको निर्णयले व्यक्तिगत प्रतिस्पर्धाभन्दा सामूहिक उद्देश्यलाई प्राथमिकता दिन सकिने सन्देश दिएको स्थानीय मतदाताहरूको प्रतिक्रिया छ।
निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि प्रचण्डको अपील
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा आम जनसमुदायलाई सम्बोधन गर्दै भिडियो सन्देश जारी गर्नु भएको छ । उहाँले भिडियो सन्देशमा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गर्नुभएको छ । सम्बोधनमा उहाँले जेन्जी आन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि गरिएको सहजीकरण र ताजा जनादेशका लागि लिएको अडान उल्लेख गर्नुभयो। देशलाई निर्वाचनसम्म ल्याउन आफ्नो दलले महत्वपूर्ण भूमिका खेलेको बताउँनुहुँदै त्यसको मूल्याङ्कन इतिहासले गर्ने बताउँनुभएको छ । सरकारको नेतृत्वमा रहँदा सुशासन सुरु गरिएको, विधिको शासन स्थापित गर्ने प्रयास गरिएको तथा ठूला भ्रष्टाचार काण्डहरू उजागर गरिएको उहाँले बताउँनुभयो। सो समयमा सुशासनबाट आत्तालिएका शक्तिहरूले संसदका पहिलो र दोस्रो दललाई एकै ठाउँमा उभ्याएको आरोप पनि उहाँले बताउँनुभयो । त्यसपछि प्रतिपक्षमा रहँदा पनि कुशासन, दम्भ र अहंकारविरुद्ध निरन्तर संघर्ष गरेको उल्लेख गर्दै उहाँले यस निर्वाचनमा जनताले सबै दलको भूमिकाको निष्पक्ष मूल्याङ्कन गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मत दिने बताउँनुभयो । निर्वाचनमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा मतदातालाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व भएको उहाँले बताउनुभयो ।
काठमाडौं-६ मा नेकपाको लहर बलियो: प्रलोपा उम्मेदवारसहित क्षेत्रीय कमिटी नेकपामा समाहित
काठमाडाैं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पक्षमा उत्साहजनक राजनीतिक विकास भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार गिरिराज अर्यालसहित सम्पूर्ण क्षेत्रीय कमिटी नै नेकपामा समाहित भएका छन्। अर्यालले आज विज्ञप्ति जारी गर्दै वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा स्पष्ट एजेण्डा, दूरदृष्टि र देश निर्माणको ठोस योजनासहित अघि बढिरहेको शक्ति नेकपा नै भएको निष्कर्षसहित आफूहरू पार्टीमा समाहित भएको घोषणा गरेका हुन्। उक्त अवसरमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा काठमाडौं–६ का नेकपा उम्मेदवार हिमाल शर्माले अर्यालसहितको टोलीलाई स्वागत गर्नुभयाे । स्वागत गर्दै प्रचण्डले बामपन्थी शक्तिहरूको एकता आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गर्दै देशलाई सही दिशामा अघि बढाउने सक्षम शक्ति नेकपा नै भएको बताउनुभयाे। उनले विभाजित शक्तिहरू क्रमशः नेकपामै समाहित हुँदै जाने विश्वास व्यक्त गर्नुभयाे। पार्टी प्रवेशपछि बोल्दै अर्यालले नेकपाले अघि सारेको अग्रगामी एजेण्डा, राष्ट्रिय स्वाभिमान र जनमुखी विकास दृष्टिकोणबाट आफू प्रभावित भएको बताए। उनले काठमाडौं–६ बाट आफू प्रतिनिधिसभाको उम्मेदवार नरहेको स्पष्ट पार्दै आफ्ना सम्पूर्ण शुभचिन्तक, समर्थक तथा प्रलोपा सम्बद्ध नेता–कार्यकर्तालाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ “तारा” चिन्हमा मतदान गर्न आह्वान गरे। अर्यालले आफूलाई विश्वास र समर्थन गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै अबको आफ्नो सम्पूर्ण राजनीतिक यात्रा नेकपाको झण्डामुनि रहने प्रतिबद्धता जनाए। यसैबीच, नेकपा उम्मेदवार हिमाल शर्माले अर्यालसहितको टोलीको आगमनले काठमाडौं–६ मा आफ्नो चुनावी अभियान अझ सशक्त र उर्जावान बनेको उल्लेख गरे। उनले यो समायोजनले नेकपाको पक्षमा व्यापक सकारात्मक सन्देश प्रवाह भएको र विजयको आधार थप मजबुत भएको दाबी गरे। काठमाडौं–६ मा भएको यो राजनीतिक एकीकरणलाई नेकपाको संगठनात्मक सुदृढीकरण र चुनावी लहर विस्तारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

