एसीसी वुमन्स एसिया कप : भारत र श्रीलंका फाइनलमा प्रवेश

काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनल खेल्ने भएका छन्। 

गएराति श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै भारत फाइनलमा पुगेको हो। 

बंगलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍ यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८० रन बनाएको थियो। 

यस्तै आयोजक श्रीलंका पनि पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। पाकिस्तानले दिएको १४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाएर १९.५ ओभरमा पूरा गर्‍यो। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १४० रन बनाएको थियो। 

नेपालले जित्यो  ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ। २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो। क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो। आईसीसीले नेपाली क्रिकेटको फेसबुकमा ४०० प्रतिशतले रिच वृद्धि भएको उल्लेख गरेको छ।

क्रिकेटरका लागि वाइवाइको १० लाख हस्तान्तरण

काठमाडौं । वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ । आईसीसी टी २० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनबापत भन्दै चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्स नेपाल लिमिटेडले रकम हस्तान्तरण गरेको हो । नेपाल राष्ट्रिय टिम टी २० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहनस्वरूप वाइवाइले प्रत्येक रनका लागि  १ हजार, प्रत्येक चौकाका लागि ८ हजार, प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो।  त्यसैगरी प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा  १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो ।  त्यसैगरी सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख रुपैयाँ उपलब्ध गराउने वाइवाइको घोषणा थियो । सोही घोषणाअनुसार विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शनअनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार रुपैयाँ थपेर हस्तान्तरण गरिएको छ।  बुधबार ललितपुरमा आयोजित समारोहबीच सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले क्यानका सचिव पारस खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।  कार्यक्रममा पुडासैनीले भने, ‘नेपालको क्रिकेट बामे सर्दै गर्दा  प्रायोजन गरेकोमा अहिले खुसी हुने ठाउँमा पुगेका छौँ।’ चौधरी ग्रुपले आगामी दिनमा पनि नेपाली क्रिकेटको विकासमा सहयात्रा गर्ने बताए । कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटलाई  बलियो बनाउन चौधरी ग्रुपले पुर्‍याउँदै आएको योगदान उच्च रहेको भन्दै नेपालले साउथ अफ्रिका र बंगलादेशसँग राम्रो खेलेर हराउन सक्ने सन्देश दिएको बताए ।  क्रिक्रेटर सन्दीप लामिछानेले चौधरी ग्रुपको सहयोगले खेलाडीलाई प्रोत्साहन र हौसला मिलेको बताए ।

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

काठमाडौं ।  कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ । सोमबार बिहान मायामीस्थति हार्ड रक स्टेडियममा भएको फाइनलमा निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।  निर्धारित ९० मिनेटसम्म कुनै पनि टिमले गोल गर्न नसकेपछि अतिरिक्त समयको दोस्रो हाफमा अर्जेन्टिनाले १ गोल गर्दै फाइनल आफ्नो पक्षमा ल्याएको हो । अतिरिक्त समयको अन्तिममा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गरेका थिए । उनको सोही गोल नै जितका लागि निर्णायक बन्यो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनजेल ११२औं मिनेटमा जिओभानी लो सोल्सोको पासमा निर्णायक गोल गर्न सफल भएका हुन्। लाउटारो र लो सोल्सो दुवै ९७औं मिनेटमा मैदान प्रवेश गरेका थिए। च्याम्पियन बनेपछि अर्जेन्टिना कोपा अमेरिकाको सर्वाधि सफल टिम बनेको छ । यसअघि अर्जेन्टिना र उरुग्वेले समान १५ पटक उपाधि जितेका थिए।यो जीतसँगै अर्जेन्टिनाले उरुग्वेलाई पछि पारिसकेको छ। यसैगरी अर्जेन्टिनाले लगातार तीन मुख्य उपाधि समेत जितेको छ। अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जितेको थियो भने सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेको थियो।

युरो कपको उपाधि स्पेनलाई

काठमाडौं । युरो कपको उपाधि स्पेनले जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए।  विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए। त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए।​ योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ।  स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो ।  इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ। अघिल्लो संस्करणमा  इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो।   

प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को आज यहाँ उद्घाटन गरेका छन्। प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ ।  प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए। उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । आजदेखि शुरु भएको यस प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ। 

प्रकाश दाहाल स्मृति चौथो राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट

काठमाडौं । आजबाट प्रकाश दाहाल स्मृति चौथो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियगिता शुरु हुँदै छ। राष्ट्रिय बक्सिङ प्रतियोगिता नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा आयोजनामा हुन लागेको हो । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार १७ गते दिउँसो (आज) ठिक १२ बजे दशरथ रंगशालाको कभर्ड हलमा गर्ने आयोजकले जनाएको छ । राष्ट्रिय बक्सिङ प्रतियोगिता पाँच दिन सम्म चल्नेछ।

विश्वविजेता बनेसँगै विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार टी–२० विश्वकप २०२४ को उपाधि जितेर विश्वविजेता बने लगत्तै उनले सन्यास लिने घोषणा गरेका हुन् । खेलपछिको पत्रकार सम्मेलनमा उनले भने ‘यो सन्यास लिने सही समय हो। अब नयाँ पुस्ताले यो विरासतलाई अगाडि बढाउने समय आएको छ । यो भारतका लागि मेरो अन्तिम टी–२० विश्वकप खेल थियो।’ फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले उपाधि जित्दा कोहली प्लेयर अफ दी म्याच घोषित भए । उनले दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक ७६ रन बनाएका थिए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए। भारतका लागि १ सय २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका कोहलीले ४ हजार १ सय ८८ रन जोडेका छन्।

ट्वान्टी–२० विश्वकपको उपाधि १७ वर्षपछि भारतको पक्षमा

काठमाडौं । फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध सात रनको जित निकाल्दै भारतले आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले अपराजित रहँदै विश्वकपको उपाधि जितेको हो । ट्वान्टी–२० विश्वकपको इतिहासमा कुनै पनि टिम अपराजित रहँदै विश्व च्याम्पियन बनेको यो पहिलोपटक हो । भारतले १७ वर्षपछि ट्वान्टी–२० विश्वकपको उपाधि जितेको हो । भारतले यसअघि सन् २००७ मा आयोजित पहिलो संस्करणको उपाधि जितेको थियो ।  

विश्वकपको फाइनलमा दक्षिण अफ्रिकासँग भारत भिड्ने, इङ्ल्यान्ड स्तब्ध

काठमाडौं । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो। यसअघि सन् २०१४ को विश्वकपमा भारतले फाइनल खेलेको थियो। त्यतिबेला श्रीलंकासँग ६ विकेटले पराजित भएको भारत यो पटक उपाधि चुम्ने दाउमा छ। दक्षिण अफ्रिका भने यसअघि नै सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो। फाइनल खेल शनिबार हुने छ । भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६।४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक २५ रन बनाए । १९ बलको सामना गरेका उनले तीन चौका प्रहार गरे । उनलाई भारतका कुलदीप यादवले बोल्ड गरेका थिए। त्यस्तै ओपनर जोस बटलरले १५ बलमा २३ रन बनाए। अर्का ओपनर फिल साल्ट ५ रनमा आउट भए। मोइन अलीले ८ रन बनाउँदा लियाम लिभिङस्टोने ११ रनमा रन आउट भए। जोफ्रा आर्चरले १४ बलमा दुई छक्का र एक चौका सहित २१ रन बनाए। भारतका लागि कुलदीप यादव र अक्षर पटेलले समान तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका यादवले १९ रन खर्चिदा त्यति नै ओभर बलिङ गरेका पटेलले २३ रन खर्चिए । यसअघि गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएका थियो। उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । ३९ बलको सामना गरेका रोहितले ६ चौका र २ छक्का प्रहार गरे । उनलाई १४ औं ओभरको चौथो बलमा इङ्ल्यान्डका आदिल रासिदले बोल्ड गरेका थिए । यस्तै सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन बनाए । हार्दिक पाण्ड्याले २३ रन बनाउँदा रविन्द्र जडेजा १७ मा नट आउट रहे । भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको थियो । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका जोर्डनले ३७ रन खर्चिए । त्यस्तै रीस टोपले, जोफ्रा आर्चर, सैम करन र आदिल रशीदले समान एकएक विकेट लिए । भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले पनि यो विश्वकपमा हार ब्यहोरेको छैन् ।

अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाको सानदार जीत

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपअन्तर्गत सेमिफाइनलमा  दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पाँच ओभर मै समेटेको छ । यससँगै दक्षिण अफ्रिका आइसिसी ट्वान्टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको हो। अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै ६० रन बनायो। दक्षिण अफ्रिकाका रिजा हेड्रिक्सले अविजित रहँदै सर्वाधिक २९ रन बनाए। २५ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे। कप्तान एडन मार्क्रम २३ रनमा अविजित रहँदा ओपनर क्विन्टन डी कक पाँच रनमा पेभिलियन फर्किए। अफगानिस्तानका फजलहक फारुकीले एक विकेट लिए। त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले ११।५ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन बनाएको थियो। अफगानिस्तानका अजमतउल्लाह ओमरजाईबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। दक्षिण अफ्रिकाका मार्को यानसन र तबरेज शम्सीले समान तीन विकेट लिए। कगिसो रबाडा र अनरिख नार्खिऐको नाममा समान दुई विकेट रह्यो।

अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो ५७ रनको लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन मात्र जोड्यो। अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३–३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २–२ विकेट लिए। अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्। अफगानिस्तान पहिले न्युजिल्यान्ड, अस्ट्रेलिया र त्यसपछि बंगलादेशलाई हराउँदै सेमिफाइनल पुगेको थियो।   

अस्ट्रेलियालाई पराजित गर्दै भारत सेमिफाइनलमा

काठमाडौं । सुपर–८ को आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध २४ रनको जित निकाल्दै भारतले आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलको यात्रा तय गरेको छ। सोमबार ग्रोस इजलेमा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८१ रनमात्र बनाउन बनायो । अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले ७६ रन बनाए पनि टिमको हारलाई उनले रोक्न सकेनन्। कप्तान मिचेल मार्सले ३७ रन थपे । ग्लेन म्याक्सवेलले २०, टिम डेविडले १५ र प्याट कुमिन्सले ११ रन जोडे । भारतका अर्शदीप सिंहले तीन विकेट लिए । कुलदीप यादवले दुई विकेट लिँदा जसप्रित बुमराह र अक्षर पटेलले समान एक विकेट लिए।त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०५ रनको योगफल तयार गरेको थियो । भारतका ओपनर तथा कप्तान रोहितले ९२ रनको आक्रामक इनिङ खेले । उनले ४१ बलमा सात चौका र आठ छक्का प्रहार गरे । १९ बलमै अर्धशतक बनाएका रोहित जारी विश्वकपमा सबैभन्दा छिटो ५० रन बनाउने ब्याटरसमेत बने । उनीपछि रहेका अमेरिकाका आरोन जेम्सले २२ बलमा अर्धशतक बनाएका थिए ।  रोहितले ६–१ को स्थितिबाट ऋषव पन्तसँग ८७ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए । पन्तले १५ रन थपे । सूर्यकुमार यादवले ३१, सिवम दुवेले २८ र हार्दिक पन्ड्याले २६ रन थपे । भारतका ओपनर विराट कोहली भने शून्य रनमा आउट भएका थिए।अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कुस स्टोइनिसले समान दुई विकेट लिए । जस हेजलवुडको नाममा एक विकेट रह्यो । जितसँगै सुपर–८ को समूह–१ बाट भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो। भारतले अब फाइनल प्रवेशका लागि समूह–२ को उपविजेता इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ। यता, तीन खेलमध्ये दुईमा जित र एक खेलमा हार बेहोरेको अस्ट्रेलियाको भने सेमिफाइनल पुग्ने गणितीय सम्भावनामात्र बाँकी छ । मंगलबार हुने अफगानिस्तान र बंगलादेशबीचको खेलले अस्ट्रेलियाको आगामी यात्रा निर्धारण गर्नेछ।

युरोकप २०२४ : जर्मनीसँग स्वीट्जरल्याण्ड पराजित

काठमाडौं । जर्मनीमा जारी १७औं संस्करणको युरोकप फुटबलमा आयोजक जर्मनी र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् । आज बिहान फ्र्याङ्कफर्टमा सम्पन्न समूह ‘ए’ को खेलमा जर्मनी र स्वीट्जरल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । स्वीट्जरल्याण्डका डान एनडोयो र जर्मनीका निकोलस फुलक्रुगले एक–एक गोल गरेका थिए । खेलको २८औँ मिनेटमा एनडोयोले गोल गर्दै स्वट्जरल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा जर्मनीका फुलक्रुगले गोल गर्दै टोलीलाई हारबाट जोगाउन सफल भए । यो बराबरीसँगै ३ खेलबाट जर्मनी ७ अंकका साथ समूहको शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुगिसकेको छ भने स्वीट्जरल्याण्ड ५ अंकसहित दोस्रो स्थानमा छ ।

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध  सुदृढ गर्न पहल लिइरहेको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताएका छन्। साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समग्र खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह र प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताएका हुन् । “युवा तथा खेलकूदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “खेलाडीहरूको वृत्ति विकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै आएको छु ।” नेपालको भूबनोट र संस्कृतिका दृष्टिले पनि भलिबल अत्यन्तै सम्भावनायुक्त खेल विधा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा  विशेष प्रस्ताव राखेर भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गरे। उनले उक्त ऐतिहासिक घोषणाले नेपालको भलिबल क्षेत्रका खेलाडीहरूलाई राम्रो उत्प्रेरणा मिलेको विश्वास व्यक्त गरे । आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने, काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा निर्माण गर्ने लक्ष्य लिइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशाला सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अगाडि बढाउने, कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिने बताए।  कमरेड साहना प्रधान नेपाली वामपन्थी आन्दोलनको एक जना शिखर व्यक्तित्व भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सामन्ती पञ्चायती व्यवस्थाविरूद्ध कठोर सङ्घर्ष हुँदै २०४६ सालको जनआन्दोलनसम्म आउँदा संयुक्त वाममोर्चाको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।उनले भने, “वैचारिक र सांगठानिक भूमिकाको इतिहासमा प्रधान सधै प्रेरणादायी हुनुहुन्छ, रहनुहुन्छ ।” राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आफूले हेर्ने गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण प्रतियोगिताअघि प्रतिस्पर्धी खेलाडी साथीहरूलाई भेटेर हौसला प्रदान गर्ने र विजयी खेलाडीहरूलाई पुरस्कृत गर्दै आएको बताए। 

विश्वकप : अष्ट्रेलियामाथि अफगानिस्तानको जित

काठमाडौं  । आइसिसी टी-२० विश्वकपको सुपर ८ मा अष्ट्रेलियामाथि जीत हासिल गर्दै अफगानिस्तानले सेमिफाइनल सम्भावनालाई कायमै राखेको छ। जारी  विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको हो। विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरेको पहिलो पटक हो। अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९दशमलव २ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो। अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ५९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भएका थिए। त्यस्तै अफगानिस्तानका बलरले यस खेलमा शानदार बलिङ गरेका थिए।अफगानिस्तानका लागि गुलबदीन नैबले सर्बाधिक ४ विकेट लिए भने नवीन उल हकले ३ विकेट लिएका थिए। त्यस्तै, मोहमद नावी र राशिद खानले एक एक विकेट लिए। त्यस अघि  अलराउन्डर प्याट कमिन्स लगातार ह्याट्रिक विकेट लिएको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको थियो। वेष्ट इन्डिजको किङ्सटावनमा टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४८ रन बनायो। अफगानिस्तानको इनिङ्समा ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जाद्रनले १५ दशमलव ५ ओभरसम्म एक सय १८ रनको साझेदारी गरेका थिए। त्यसपछि क्रिजमा आएका खेलाडीले ठूला सट खेल्ने प्रयास गर्दा ठूलो स्कोर बन्न सकेन। गुर्बाजले ४९ बलमा समान चार चौका र छक्कासहित ६० रन बनाएका हुन्। जाद्रनले ४८ बलमा ६ चौकासहित ५१ रन बनाए। करिम जानतले १३ रनको योगदान गरे।अस्ट्रेलियाका अलराउन्डर प्याट कमिन्स लगातार ह्याट्रिक लिए। उनले २०औं ओभरको सुरुआती दुई ओभरमा दुई विकेट लिएका थिए। त्यसअघि १७ दशमलव ६ ओभरमा अर्को विकेट लिएका हुन्। योसँगै अफगानिस्तान र अष्ट्रेलियाको समान २–२ अंक भएको छ। यो समूहबाट भारत सेमिफाइनलमा प्रवेश गरेको छ। अष्ट्रेलियाले भोलि भारतसँग खेल्नेछ भने। अफगानिस्तानले मंगलबार बंगलादेशसँग खेल्नेछ।