उपाधिका लागि नेपाल र भारतको भिडन्त
काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल आज हुँदै छ । फाइनलमा नेपाल र भारत भिड्दै छन् ।
नेपाल इरानलाई हराउँदै र भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।
एसीसी वुमन्स एसिया कप : भारत र श्रीलंका फाइनलमा प्रवेश
काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनल खेल्ने भएका छन्। गएराति श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै भारत फाइनलमा पुगेको हो। बंगलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर् यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८० रन बनाएको थियो। यस्तै आयोजक श्रीलंका पनि पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। पाकिस्तानले दिएको १४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाएर १९.५ ओभरमा पूरा गर्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १४० रन बनाएको थियो।
भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो
काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो । भारतकी ओपनर सिफालीले १ रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले ४ बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७ रन प्रहार गरिन् । जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो । महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ ।समूह ‘ए’बाट भारत यसअघि नै दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । नेपाललाई भने सेमिफाइनल प्रवेशका लागि आज फराकिलो जितको आवश्यकता थियो । समूह एको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको नेपालले तीन खेल खेल्दा दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो
महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित
काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडिन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन। सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन। कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिदा फातिमा सानाले एक विकेट लिन सफल भइन् । समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ । एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ । समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।
एसिया कप : आज नेपाल र युएई भिड्दै
काठमाडौं। नेपालले एसिया कप महिला क्रिकेटको पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ।श्रीलंकाको रनगिरी डम्बुल्ला इन्टरनेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २स्१५ बजे सुरु हुनेछ। इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रो पल्ट एसिया कपमा सहभागिता जनाउन लागेको हो। समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल आइतबार पाकिस्तानविरुद्ध खेल्ने छ भने समूहचरणको अन्तिम खेलमा नेपालले मंगलबार भारतको समाना गर्नेछ। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। आजै हुने अर्को खेलमा भारत र पाकिस्तान आमनेसामने हुनेछन्।
नेपालले जित्यो ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ। २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो। क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो। आईसीसीले नेपाली क्रिकेटको फेसबुकमा ४०० प्रतिशतले रिच वृद्धि भएको उल्लेख गरेको छ।
क्रिकेटरका लागि वाइवाइको १० लाख हस्तान्तरण
काठमाडौं । वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ । आईसीसी टी २० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनबापत भन्दै चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्स नेपाल लिमिटेडले रकम हस्तान्तरण गरेको हो । नेपाल राष्ट्रिय टिम टी २० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहनस्वरूप वाइवाइले प्रत्येक रनका लागि १ हजार, प्रत्येक चौकाका लागि ८ हजार, प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो। त्यसैगरी प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो । त्यसैगरी सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख रुपैयाँ उपलब्ध गराउने वाइवाइको घोषणा थियो । सोही घोषणाअनुसार विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शनअनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार रुपैयाँ थपेर हस्तान्तरण गरिएको छ। बुधबार ललितपुरमा आयोजित समारोहबीच सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले क्यानका सचिव पारस खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा पुडासैनीले भने, ‘नेपालको क्रिकेट बामे सर्दै गर्दा प्रायोजन गरेकोमा अहिले खुसी हुने ठाउँमा पुगेका छौँ।’ चौधरी ग्रुपले आगामी दिनमा पनि नेपाली क्रिकेटको विकासमा सहयात्रा गर्ने बताए । कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटलाई बलियो बनाउन चौधरी ग्रुपले पुर्याउँदै आएको योगदान उच्च रहेको भन्दै नेपालले साउथ अफ्रिका र बंगलादेशसँग राम्रो खेलेर हराउन सक्ने सन्देश दिएको बताए । क्रिक्रेटर सन्दीप लामिछानेले चौधरी ग्रुपको सहयोगले खेलाडीलाई प्रोत्साहन र हौसला मिलेको बताए ।
कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई
काठमाडौं । कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ । सोमबार बिहान मायामीस्थति हार्ड रक स्टेडियममा भएको फाइनलमा निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। निर्धारित ९० मिनेटसम्म कुनै पनि टिमले गोल गर्न नसकेपछि अतिरिक्त समयको दोस्रो हाफमा अर्जेन्टिनाले १ गोल गर्दै फाइनल आफ्नो पक्षमा ल्याएको हो । अतिरिक्त समयको अन्तिममा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गरेका थिए । उनको सोही गोल नै जितका लागि निर्णायक बन्यो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनजेल ११२औं मिनेटमा जिओभानी लो सोल्सोको पासमा निर्णायक गोल गर्न सफल भएका हुन्। लाउटारो र लो सोल्सो दुवै ९७औं मिनेटमा मैदान प्रवेश गरेका थिए। च्याम्पियन बनेपछि अर्जेन्टिना कोपा अमेरिकाको सर्वाधि सफल टिम बनेको छ । यसअघि अर्जेन्टिना र उरुग्वेले समान १५ पटक उपाधि जितेका थिए।यो जीतसँगै अर्जेन्टिनाले उरुग्वेलाई पछि पारिसकेको छ। यसैगरी अर्जेन्टिनाले लगातार तीन मुख्य उपाधि समेत जितेको छ। अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जितेको थियो भने सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेको थियो।
युरो कपको उपाधि स्पेनलाई
काठमाडौं । युरो कपको उपाधि स्पेनले जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए। विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए। त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए। योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ। स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो । इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ। अघिल्लो संस्करणमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो।
प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को आज यहाँ उद्घाटन गरेका छन्। प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए। उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे । आजदेखि शुरु भएको यस प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ।
प्रकाश दाहाल स्मृति चौथो राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट
काठमाडौं । आजबाट प्रकाश दाहाल स्मृति चौथो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियगिता शुरु हुँदै छ। राष्ट्रिय बक्सिङ प्रतियोगिता नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा आयोजनामा हुन लागेको हो । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार १७ गते दिउँसो (आज) ठिक १२ बजे दशरथ रंगशालाको कभर्ड हलमा गर्ने आयोजकले जनाएको छ । राष्ट्रिय बक्सिङ प्रतियोगिता पाँच दिन सम्म चल्नेछ।
विश्वविजेता बनेसँगै विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार टी–२० विश्वकप २०२४ को उपाधि जितेर विश्वविजेता बने लगत्तै उनले सन्यास लिने घोषणा गरेका हुन् । खेलपछिको पत्रकार सम्मेलनमा उनले भने ‘यो सन्यास लिने सही समय हो। अब नयाँ पुस्ताले यो विरासतलाई अगाडि बढाउने समय आएको छ । यो भारतका लागि मेरो अन्तिम टी–२० विश्वकप खेल थियो।’ फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले उपाधि जित्दा कोहली प्लेयर अफ दी म्याच घोषित भए । उनले दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक ७६ रन बनाएका थिए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए। भारतका लागि १ सय २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका कोहलीले ४ हजार १ सय ८८ रन जोडेका छन्।
ट्वान्टी–२० विश्वकपको उपाधि १७ वर्षपछि भारतको पक्षमा
काठमाडौं । फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध सात रनको जित निकाल्दै भारतले आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले अपराजित रहँदै विश्वकपको उपाधि जितेको हो । ट्वान्टी–२० विश्वकपको इतिहासमा कुनै पनि टिम अपराजित रहँदै विश्व च्याम्पियन बनेको यो पहिलोपटक हो । भारतले १७ वर्षपछि ट्वान्टी–२० विश्वकपको उपाधि जितेको हो । भारतले यसअघि सन् २००७ मा आयोजित पहिलो संस्करणको उपाधि जितेको थियो ।
विश्वकपको फाइनलमा दक्षिण अफ्रिकासँग भारत भिड्ने, इङ्ल्यान्ड स्तब्ध
काठमाडौं । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो। यसअघि सन् २०१४ को विश्वकपमा भारतले फाइनल खेलेको थियो। त्यतिबेला श्रीलंकासँग ६ विकेटले पराजित भएको भारत यो पटक उपाधि चुम्ने दाउमा छ। दक्षिण अफ्रिका भने यसअघि नै सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो। फाइनल खेल शनिबार हुने छ । भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६।४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक २५ रन बनाए । १९ बलको सामना गरेका उनले तीन चौका प्रहार गरे । उनलाई भारतका कुलदीप यादवले बोल्ड गरेका थिए। त्यस्तै ओपनर जोस बटलरले १५ बलमा २३ रन बनाए। अर्का ओपनर फिल साल्ट ५ रनमा आउट भए। मोइन अलीले ८ रन बनाउँदा लियाम लिभिङस्टोने ११ रनमा रन आउट भए। जोफ्रा आर्चरले १४ बलमा दुई छक्का र एक चौका सहित २१ रन बनाए। भारतका लागि कुलदीप यादव र अक्षर पटेलले समान तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका यादवले १९ रन खर्चिदा त्यति नै ओभर बलिङ गरेका पटेलले २३ रन खर्चिए । यसअघि गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएका थियो। उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । ३९ बलको सामना गरेका रोहितले ६ चौका र २ छक्का प्रहार गरे । उनलाई १४ औं ओभरको चौथो बलमा इङ्ल्यान्डका आदिल रासिदले बोल्ड गरेका थिए । यस्तै सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन बनाए । हार्दिक पाण्ड्याले २३ रन बनाउँदा रविन्द्र जडेजा १७ मा नट आउट रहे । भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको थियो । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका जोर्डनले ३७ रन खर्चिए । त्यस्तै रीस टोपले, जोफ्रा आर्चर, सैम करन र आदिल रशीदले समान एकएक विकेट लिए । भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले पनि यो विश्वकपमा हार ब्यहोरेको छैन् ।
अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाको सानदार जीत
काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपअन्तर्गत सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पाँच ओभर मै समेटेको छ । यससँगै दक्षिण अफ्रिका आइसिसी ट्वान्टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको हो। अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै ६० रन बनायो। दक्षिण अफ्रिकाका रिजा हेड्रिक्सले अविजित रहँदै सर्वाधिक २९ रन बनाए। २५ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे। कप्तान एडन मार्क्रम २३ रनमा अविजित रहँदा ओपनर क्विन्टन डी कक पाँच रनमा पेभिलियन फर्किए। अफगानिस्तानका फजलहक फारुकीले एक विकेट लिए। त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले ११।५ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन बनाएको थियो। अफगानिस्तानका अजमतउल्लाह ओमरजाईबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। दक्षिण अफ्रिकाका मार्को यानसन र तबरेज शम्सीले समान तीन विकेट लिए। कगिसो रबाडा र अनरिख नार्खिऐको नाममा समान दुई विकेट रह्यो।
अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो ५७ रनको लक्ष्य
काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन मात्र जोड्यो। अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३–३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २–२ विकेट लिए। अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्। अफगानिस्तान पहिले न्युजिल्यान्ड, अस्ट्रेलिया र त्यसपछि बंगलादेशलाई हराउँदै सेमिफाइनल पुगेको थियो।