भीम रावल धनगढी पुग्दा समर्थकले गरे ओलीविरुद्ध नाराबाजी
धनगढी । नेकपा एमालेको कारबाहीपछि अलग्गै राजनीतिक यात्रा थालेका नेता भीम रावल धनगढी पुगेका छन् । आज धनगढी पुगेका नेता रावललाई उनका समर्थकहरूले धनगढी विमान स्थलमा स्वागत गरेका छन् ।
उनको पक्षमा जिन्दावादका नारा लगाएका उनका समर्थकले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मुर्दावादको नारासमेत लगाएका थिए । भ्रमणको क्रममा नेता भीम रावलले आफ्ना समर्थकहरूलाई भेटघाट गर्ने र अत्तरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ । सो कार्यक्रम सकेपछि उनी अछाम जानेछन् ।
देउवा दम्पत्तिविरुद्ध फेसबुकमा टिप्पणी गर्ने युवाहरुलाई कागज गराएर छाडियो
धनगढी । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि फेसबुकमा टिप्पणी गरेको आरोपमा कैलाली प्रहरीले धनगढीका दुई युवालाई नियन्त्रणमा लिएर छाडेको छ । जिल्ला प्रहरी कार्यालयले फेसबुकमा ‘स्टाटस’ लेखेको आरोपमा धनगढीका प्रतीक जोशी र रचित शाहलाई मंगलबार दिउँसो नियन्त्रणमा लिई राति छाडेको हो । पक्राउ गर्नुको कारण खुलाएको छैन । तर, शान्तिसुरक्षामा खलल नपुर्याउने कागज गराएर उनीहरूलाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले मौखिक उजुरीका आधारमा दुईजनालाई केहीबेर नियन्त्रणमा लिइएको बताए । उनले कस्तो खालको उजुरी भन्नेबारे खुलाएनन् । ‘शान्तिसुरक्षाको सवालमा केही चुनौती आउन सक्ने भन्ने थियो, ल्याएर हिजै छोडेका छौँ,’ उनले भने, ‘यसबारे योभन्दा धेरै नबोलौँ ।’ फेसबुकमा आफूले कुनै आपत्तिजनक विषय नलेखे पनि प्रहरीले आफूलाई नियन्त्रणमा लिएको प्रतीकले बताए । ‘मुलुक अहिले वास्तवमा संकटै संकटमा छ, आमजनता संकटको अवस्थामा छन्,’ प्रतीकले लेखेका थिए, ‘संस्कार नभएका भनेर बोलेको लोकलाजको विषय बनेको छ । तपाईंहरूको प्रजातन्त्रमा यस्तै हुन्छ ?’ शान्तिसुरक्षामा खलल नपुर्याउने कागज गराएर प्रहरीले राति रिहा गरेको उनले बताए । रचितले पाँचपटक प्रधानमन्त्री हुँदा पनि पनि देउवाले केही काम गर्न नसकेको, भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्रीलाई पार्टीबाट कारबाही नगरेको र गिरीबन्धु घोटालाका आरोपितलाई प्रधानमन्त्री बनाएको आशयले स्टाटस लेखेका थिए । प्रतीकका अनुसार अपराह्न चार बजेतिर बोराडाँडीमा खाजा खाने क्रममा आएका प्रहरीले सोधपुछ गर्नु छ भनेर दुवैजनालाई नजिकैको प्रहरी बिटमा लगेका थिए । ‘त्यहाँबाट जिल्ला प्रहरी कार्यालय जानुपर्यो भनेपछि आफ्नै गाडीमा जिल्ला प्रहरीमा गयौँ,’ प्रतीकले भने, ‘डेढ घण्टासम्म परिसरमा राख्यो । पछि प्रहरीले फेसबुक प्रोफाइलमा के छ, पढाइ, राजनीतिक आस्था के हो भनेर सोधे ।’
भारतमा पहिरो परी मृत्यु भएका तीन जनाको शव नेपाल ल्याइयो
कञ्चनपुर । भारत उत्तराखण्डको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका तीनजनाको शव नेपाल ल्याइएको छ । शनिबार दिउँसो गड्डाचौकी नाका हुँदै उनीहरुको शव नेपाल ल्याइएको हो । पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परिवार, कृष्ण परियार र पुर्ण नेपालीको शव नेपाल ल्याइएको हो । उनीहरुको शव एउटै गाडीमा ल्याइएको छ । आज रातिसम्म घरमा पुगेपछि भोलि अन्तिम संस्कार गरिने मृतक तुलबहादुरका भान्जा गोपाल परियारले जानकारी दिनुभयो । गोपालको परिवार र मृतक चारैजनासँगै काम गर्दै आएका थिए । पहिरोमा परी मृत्यु भएका दैलेखका दिपक बुढाको भने केदारनाथ क्षेत्रमै अन्तिम संस्कार गरिएको छ । बिहीबार राति केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपाली कामदारको मृत्यु भएको थियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज शपथ लिने
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार शपथ लिँदैछन्। शाहले सोमबार अपराह्न ४ बजेपछि शपथ ग्रहण गर्ने उनको सचिवालयले जनाएको छ। दोस्रोपटक मुख्यमन्त्री बनेका शाहले सोमबार नै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी गरेका छन्। मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ गराउने तयारी छ। सात सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिनेगरी भागवण्डा टुंगिएको छ।
सुदूरपश्चिम सरकारको बजेट ३१ अर्ब ६२ करोड (पूर्णपाठ)
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेशसभामा चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ र पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका हुन्। अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड ७० लाख १० हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोड विनियोजन गरेको मन्त्री पालले बताए। प्रदेश सरकारले अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६० करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ९९ करोड १९ लाख, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने ४ करोड ४० लाख ५५ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ७२ करोड रहेको छ। चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम ६ अर्ब १५ करोड ८३ लाख, सशर्त अनुदानबाट प्राप्त हुने ३ अर्ब १३ करोड ३४ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको १ अर्ब ४२ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ५५ करोड ६० लाख प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री पालले बताए।
प्रहरी थुनामा बेहोस भएका युवकको मृत्यु
धनगढी । कैलालीमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा बेहोस भएका एक युवकको मृत्युु भएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले थुनुवा कक्षमा बेहोस भएर ढलेका बुद्धिराम चौधरीको मृत्यु भएको पुष्टी गरे । प्रहरीका अनुसार ढलेपछि धनगढी उपमहानगरपालिका– ८ का बुद्धिराम चौधरीलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । भन्सार छलीको आरोपमा सामानसहित पक्राउ परेका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले अवैध सामानसहित पक्राउ परेका चौधरीलाई भन्सार कार्यालयको जिम्मा लगाएको थियो । भन्सार कार्यालयले अनुसन्धान नसकिएकोले थुनामा राखिदिन आग्रह गरेपछि उनी हिरासतमै रहेका थिए । चौधरीको मृत्युको कारण नखुलेको बताउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
कांग्रेस र नाउपाका सांसदले रोष्ट्रम घेरेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित
काठमाडौं । प्रतिपक्षको नाराबाजीपछि सुदुरपश्चिम प्रदेश सभा बैठक आधा घण्टाको लागि स्थगित भएको छ। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ती पार्टीको रेशम चौधरी पक्षधर सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेपछि सभाभुख भीम भण्डारीले बैठक आधा घण्टाको लागि बैठक स्थगित गरेका हुन्। नागरिक उन्मुक्ति पार्टीकी समानुपातिक सांसद इन्दिरा गिरीलाई असंवैधानिक रुपमा गरेको कारबाहीलाई सभामुख सदर गरेको र प्रदेश सरकार गठनका सन्दर्भमा प्रदेश प्रमुख नजिर मियाले असंवैधानिक काम गरेको भन्दै उनीहरुले नाराबाजी गरेका थिए।
सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने एमालेको निर्णय
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत लिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो । मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै छन् । आज एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप पनि लगाएको छ । एमालेले विश्वासको मत दिने निर्णय गरेसँगै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने निश्चित भएको छ।विश्वासको मत दिए पनि एमालले सरकारमा भने तत्काल सहभागी नहुने जनाएको छ । २१ र २२ गते प्रदेशसभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको थियो।
वैशाख २६ पछि मात्रै एमालेले सोडारीलाई विश्वासको मत दिने
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको मत नदिने भएको छ । वैशाख १५ गते भएको बझाङ प्रदेशसभा १ को निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका दमनबहादुर भण्डारी बुवाको किरियामा रहेकाले २६ गतेयता उनी प्रदेश सभामा आउँदैनन् । सोही कारण तत्काल विश्वासको मत दिन नसकिने एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बताएका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री सोडारी प्रदेशसभामा चार सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता हुन् । प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री छन् । मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गरेको नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिसकेका छन् । मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफैँसँग राखेका छन् । सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई एमालेले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्को दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य हुन सकेको छैन । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११ सदस्यको प्रतिनिधित्व छ । बझाङमा भएको उपनिर्वाचनपछि एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ । रासस
दुई महिनामै भन्सार छलेका ८८ लाखका सामान बरामद
कञ्चनपुर । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध रुपमा ल्याइएका ८८ लाख रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ । कञ्चनपुरस्थित सशस्त्र प्रहरी बल नं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी ८८ लाख ५१ हजार ३ सय ४६ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । सशस्त्र प्रहरी बल नं ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका साथै भारतबाट लुकीछिपी ल्याइने सामग्री नियन्त्रणमा सक्रियता बढाएको बताए । बितेका २ महिनामा यहाँ भारतबाट अवैध रूपमा ल्याइएको २६ लाख ९७ हजार रुपैयाँ बराबरको किराना सामान, १६ लाख ५२ हजार रुपैयाँको कपडा, १३ लाख ३८ हजार रुपैयाँको हार्डवेयर सामग्री र २० लाख ६३ हजार रुपैयाँको अन्य अवैध सामग्री बरामद गरी नियन्त्रणमा लिइएको हो । त्यसैगरी भारतबाट यहाँका विभिन्न नाकाबाट लुकिछिपी ल्याइएका माछा र कुखुरासमेत नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । फागुनयता सशस्त्र प्रहरीले ४ सय किलोग्राम कुखुरा र एक सय ८७ किलोग्राम माछा बरामद गरी नष्ट गरिएको छ । ‘माछा, कुखुरा र अन्य पेय पदार्थ गरी यहाँ रु १० लाख पचास हजार बढी मूल्यका सामान नष्ट गरियो’, चन्दले भने, ‘अन्य लागुऔषध कारोबारको जालो भत्काउने, सेवन तथा ढुवानीकर्तालाई पक्राउ गरी कारबाहीका लागि पठाउने काम पनि भइरहेको छ ।’ एक सय २९ किलोमिटर भारतसित सीमा जोडिएको कञ्चनपुरमा कोरोना महामारीपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बाक्लो बनाउँदै लगेको छ ।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिका टीका थापा मन्त्री नियुक्त
धनगढी । सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ।मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्। आजै १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ। वैशाख ६ गते मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए। सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई नियुक्त गरेका थिए। आज बिहान मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो । बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले प्रदेश सभामा २१ गते विश्वासको मत लिने समझदारी भएको जानकारी दिए । उनकाअनुसार नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमति पनि भएको छ । सहमतिअनुसार नाउपाकाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ । नाउपा प्रदेश सभा सदस्य टीका थापालाई मंगलबार नै मन्त्रीमा नियुक्त गरेर सपथ लिनेछन् । बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी सहभागी थिए । एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका सोडारीले अरु मन्त्रालय आफैंसँग राखेका छन् । एमाले र माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी हुन सोडारीले आग्रह गरेका छन् । तर, उनीहरु दुवै दलले विश्वासको मत पछि मात्र सरकारमा सहभागी हुने जनाएका छन् ।
कैलालीमा ९ महिनामा १७ हजारको आँखाको शल्यक्रिया
धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले ९ महिनामा १७ हजार जनाभन्दा बढीको आँखा शल्यक्रिया गरेको छ । अस्पतालले मातहतका अन्य अस्पताल तथा सर्जिकल सेन्टरसहित चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १७ हजार ४ सय ८ जना बिरामीका आँखाको शल्यक्रिया गरेको हो । त्यसमध्ये १२ हजार तीन सय ८५ जनाको मोतियाबिन्दु र अन्य समस्या भएका ५ हजार २३ जनाको आँखाको शल्यक्रिया गरेको गेटा आँखा अस्पतालका सूचना अधिकारी गोविन्दप्रसाद जोशीले जानकारी दिए । सोही अवधिमा एक लाख ८८ हजार ३५ जनाले आँखाको उपचार सेवा लिएका छन् । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित अस्पतालले सुदूरपश्चिम प्रदेशमा दोस्रो तहका थप ३ वटा आँखा अस्पताल, २ वटा सर्जिकल सेन्टर र २१ वटा आँखा उपचार केन्द्रमार्फत उपचार तथा शल्यक्रिया सेवा दिने गरेको सूचना अधिकारी जोशीको भनाइ छ । अस्पतालका प्रमुख मेडिकल निर्देशक डा सुरेशराज पन्तले मुख्य अस्पतालमा मात्रै उपचारका लागि दैनिक ४ सयको हाराहारीमा बिरामी आउने गरेको जानकारी दिए । उनकाअनुसार अस्पतालमा आउने सेवाग्राहीमध्ये ३० प्रतिशत भारतीय छन् । अस्पतालमा हुने शल्यक्रियाका लागि पनि अधिकांश भारतीय नै छन् । पन्तका अनुसार अस्पतालमा शल्यक्रियाका लागि आउने ६० प्रतिशत भारतीय नागरिक छन् । यहाँ दैनिक ७० देखि ८० जना बिरामीको आखाँको शल्यक्रिया हुने गरेको पन्तले जानकारी दिए । अस्पतालमा मोतिबिन्दु, आँखाको पर्दा, नानीको समस्या, जलबिन्दु, चस्मा लगाउनुपर्ने समस्या भएका बिरामी बढी आउने गरेको छन् भने शिविरमार्फत पनि उपचार तथा शल्यक्रिया सेवा दिने गरिएको डा पन्तको भनाइ छ । गत आर्थिक वर्षमा सो अस्पतालबाट २ लाख ७० हजार ४ सय ९६ जनाले उपचार सेवा लिएकोमा २४ हजार ७ सय ६१ जनाको आँखाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
पुनः सञ्चालनमा आयो झुलाघाट नाका
बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका आजदेखि पुनः सञ्चालनमा हो। यही वैशाख ७ गते उत्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको निर्वाचनलाई दृष्टिगत गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिँदासम्मका लागि झुलाघाट नाका बन्द थियो ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीद्धारा दाबी पेश
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागी दलहरूलाई दाबी पेश गर्ने समय दिएका थिए ।