काम लागेन काङ्ग्रेसको ढोक्साः एमालेकै समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्दै सोडारी

धनगढी । नेपाली काङ्ग्रेसले समर्थन गरेर ढोक्सा थाप्न खोजेपनि सुदूरपश्चिम प्रदेशमा काङ्ग्रेसको ढोक्सा खेर गएको छ । लामो रस्साकसीपछि नेकपा एमालेकै समर्थनमा एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्।

सोडारीले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।

एमालेले सोडारीलाई समर्थन गर्न सुरुमा अनिच्छा देखाए पनि काङ्ग्रेसले समर्थन गर्ने देखेपछि गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको नेताहरूले बताएका छन्।

एकीकृत समाजवादीका सांसद प्रकाश रावलले हस्ताक्षरको काम भैरहेको र एमालेले पनि समर्थन गर्ने तय भएको जानकारी दिए ।

सोडारीलाई नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षले भने समर्थन नगर्ने भएको छ।

रेशम पक्षले समर्थन नगरे पनि २७ जना पुग्ने भएकाले सोडारीले बहुमतका आधारमा दाबी पेस गर्न लागेका हुन्।

अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई संसदीय दलको नेता तोकेर प्रदेश सभामा जानकारी गराइसकेकाले कैलाशलाई नै संसदीय दलको नेता मानेर पत्र लेख्ने तयारी भएको गृहकार्यमा संलग्न नेताहरूले जानकारी दिए।

सभामुख भीमबहादुर भण्डारीले पनि नाउपामा संसदीय दलको विधान कार्यान्वयनमा नआइसकेको अवस्थामा सम्बन्धित पार्टीको अध्यक्षले कैलाश चौधरी संसदीय दलको नेता तोकेको जानकारी प्रदेश सभा सचिवालयमा प्राप्त भइसकेको जानकारी दिए।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीको दाबी

काठमाडौं । सुदूरपरिश्चम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का कैलाश चौधरीले दाबी प्रस्तुत गरेका छन् । उनले नेकपा (माओवादी केन्द्र)र नेकपा (एमाले)को समर्थनमा दाबी पेस गरेका हुन् । यसअघि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)सहितको समर्थनमा नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि दाबी प्रस्तुत गरेका थिए। रेशम चौधरीको पक्षमा रहेका सांसद लक्ष्मणकिशोरले ३० सांसद रहेको दाबी गरेका छन् । नागरिक उन्मुक्तिका ६, नेकपा (माओवादी केन्द्र)का ११ र नेकपा (एमाले)का १० सांसद छन् । नागरिक उन्मुक्तिले एक सांसदलाई बर्खास्त गरेको र कांग्रेसका एक सांसदको मृत्यु भएपछि पद रिक्त रहेकाले सुदूरपश्चिम प्रदेशभामा तत्काल कायम रहेको संख्या ५१ छ । जसको बुहमतका लागि २६ सदस्य आवश्यक पर्छ । नागरिक उन्मुक्तिका सांसदले एकमुस्ट कैलाशलाई समर्थन गरेमा उनका लागि आवश्यक बहुमत पुग्न सक्छ ।  तर, नागरिक उन्मुक्तिकै अर्का सांसद लक्ष्मणकिशोरको दाबी परेकाले नागरिक उन्मुक्तिका सांसदहरू एक ठाउँ नउभिने अवस्था बनेको छ । यस्तो अवस्थामा बहुमतका लागि प्रदेश प्रमुखले सनाखतका लागि बोलाउन सक्छन् । नागरिक उन्मुक्तिका सांसदहरू एकमुस्ट उपस्थित नभए सरकार गठनको प्रक्रिया अन्योलमा पर्नेछ । तर, सरकार बनाउन दलीय ह्विप लाग्ने भएका कारण कैलाश चौधरीको दाबी बलियो देखिन्छ ।

सुदूरपश्चिममा कांग्रेस, समाजवादी र नाउपाको अर्को समझदारी

काठमाडौं । सुदूरपश्चिममा प्रदेश सरकार निर्माणको लागि कांग्रेस, समाजवादी र नाउपा रेशम पक्षको अर्को समझदारी बनेको छ । संघीय सरकारको समीकरणले नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने समझदारी गरेपनि सत्ता समीकरणकै दल एकीकृत समाजवादी समेतको संलग्नतामा काङ्ग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षका नेतालाई मुख्यमन्त्री बनाउन अर्को समझदारी बनेको हो ।  कांग्रेस संससदीय दलका नेता समेत रहेका कामचलाउ प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सहमतिपत्रमा हस्तक्षर गरी मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मण किशोरलाई सार्ने समझदारी बनेको जानकारी दिए ।  समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेताबिच समझदारी बनेको शाहको भनाई छ । सुदूरपश्चिममा बहुमतको सरकार निर्माण गर्नका लागि २६ सिट आवश्यक हुन्छ । का‌ग्रेसको १८, समाजवादीको ४ नाउपाका रेशम पक्षको ४ गरी २६ पुग्छ ।  ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य रहेका छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ जना सांसद छन् । 

सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीलाई

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीले पाउने भएको छ । बालुवाटारमा आज भएको शीर्ष नेता बीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् । बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन यस्तो सहमति भएको हो । नाउपा अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मुख्यमन्त्रीका लागि दावी पेश गरिने जानकारी दिइन् । चौधरी कैलाली क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सांसद हुन् ।

सुदूरपश्चिमका नाउपा सांसद गिरी पदमुक्त

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले सोमबार नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् । नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना निकालेका हुन् ।

अनलाइनबाट नागरिकताको फाराम सिफारिस

धनगढी। धनगढी उपमहानगरपालिकाले पहिलो पटक अनलाइनमार्फत नागरिकताको फाराम सिफारिस गरेको छ। सो कार्यालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई पहिलो पटक अनलाइनमार्फत नागरिकताको फाराम सिफारिस गरेको हो।  धनगढी उपमहानगरपालिकाको कार्यालयले धनगढी उपमहानगरपालिका-२ का प्रशंसा जोशीको नागरिकताको फाराम अनलाइनमार्फत सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ।  धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई अनलाइनमार्फत फाराम हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।  उनले अनलाइनबाट प्रदेशमै पहिलो पटक सिफारिस हस्तान्तरण गर्ने र लिने कार्य भएको जानकारी दिए । 

सुदूरपश्चिममा १० दिनभित्र सरकार बनाउन आह्वान

धनगढी। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले शुक्रबार दिउँसो विज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा १६८ उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि १० दिन भित्र दाबी पेश गर्न आह्वान गरेका छन्। सो धारा अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ। मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले शुक्रबार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख मियाँले बिहीबारदेखि नै राजनीतिक दल, कानुनका विज्ञसँग नयाँ सरकार गठनका लागि आह्वान गर्नका लागि परामर्श लिएर सो आह्वान गरेका हुन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन्। नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ। सङ्घीय सरकार अनुसार गठबन्धन बनाउन आवश्यक संख्या भन्दा बढी ३१ जना प्रदेश सभा सदस्य छन्। सात सदस्य रहेको नागरिक उन्मुक्ती पार्टी आन्तरिक विवादमा फसेकोले नयाँ सरकार बन्न कठिनाइ भइरहेको छ।  सङ्घीय सरकारमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी) संग १०/१० जना र नेकपा (एकीकृत समाजवादी)सँग चार जना प्रदेश सभा सदस्य गरेर २४ मात्र रहेका छन्।  प्रदेश सभामा नेपाली कांग्रेसका १८, राप्रपा र स्वतन्त्रका १र१ जना प्रदेश सभा सदस्य छन्।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। उनले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पेस गरेका हुन् ।  सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसद विभाजित भएर विश्वासको मत नपाउने देखिएपछि राजीनामा बुझाएका हुन् । आज विश्वासको मत लिने तयारी समेत गरेका थिए । शाह ०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

सुदूरपश्चिम प्रदेश सभाको बैठक सारियो

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आह्वान गरिएको बैठक सारिएको छ । ३ बजेका लागि तोकिएको बैठक ५ बजे बस्ने गरी सारिएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत तेजप्रकाश जोशीले जानकारी दिए । मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनको लागि बिहीबार प्रदेशसभाको बैठक आह्वान गरिएको हो ।

फुटको संघार नाउपा : सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई सांसद पदबाटै हटाउन पत्राचार

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम सरकारमा संलग्न रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाटै हटाउन प्रदेश सभालाई पत्राचार गरेको छ ।  पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जवाफ पनि नदिएकाले सांसदबाट हटाउने निर्णय गरिएको जानकारी दिइन् । गिरी नाउपाकी समानुपातिक सांसद हुन् । सरकार धरापमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाकी गिरीलाई भूमिसुधार राज्यमन्त्री बनाएका छन् । नाउपा रेशम चौधरी र रञ्जिता श्रेष्ठको विवादका कारण फुटको संघारमा छ । यही विवादको एक अंशको रुपमा गिरीलाई सांसद पदबाटै हटाउने पत्राचार भएको हो ।

सुदूरपश्चिममा मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सि २२ गते बिहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले आज (मंगलबार) विहान विश्वासको मत लिने प्रस्ताव दर्ता प्रदेशसभा सचिवालयमा गराएका हुन् । लगतै प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले बताए ।

विपिनलाई नेपाल फर्काउन परराष्ट्रमन्त्रीलाई माओवादीको ज्ञापन पत्र

काठमाडौं। सुदूरपश्चिमको कञ्चनपुर घर भएका विपीन जोशीको रिहाइको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। असोज २० गतदेखि बेपत्ता जोशीको सकुशल उद्धारको लागि नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम पार्टी र संसदीय दलले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको हो। जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि तथा विज्ञान संकायमार्फत् इजरायल पुगेका थिए। प्यालेस्टाइनको हमास समूहले नेपाली विद्यार्थीहरू बसेको बङ्करभित्रै पसेर आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिएका थिए। त्यस क्रममा बेपत्ता भएका जोशीको अवस्था अझै अज्ञात रहेको छ। उनलाई हमास समूहले नियन्त्रण दिएको पुष्टि भएको थियो। तर, अहिलेसम्म उनलाई रिहा नगरेको र हालको अवस्थाबारे कुनै जानकारी आएको छैन। माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल, संसदीय दलका नेता मानबहादुर धामी र पार्टी प्रदेश अध्यक्ष हरिराम चौधरीले हस्ताक्षर गरेर तत्काल जोशीको रिहाइको लागि पहल गर्न आग्रह गरेका हुन् । हमासले नियन्त्रणमा लिएका व्यक्तिहरू रिहा भइरहेको भन्दै विज्ञप्तिमा तत्काल जोशीको सकुशल रिहाइको लागि पहल गर्न आग्रह गरिएको छ।

धनगढीमा श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या

धनगढी । काठमाडौंबाट धनगढी आएको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ । एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको विमान सोमबार साँझ धनगढी आइपुगेको थियो । उक्त विमानको अगाडिको चक्कामा समस्या देखिएपछि मंगलबार उडान गर्न नसकिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानको अगाडिको चक्कामा समस्या देखिएकाले उडान हुन नसकेको श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए । साँझ विमानस्थलमा अवतरण गरेर सबै यात्रु उत्रिएपछि विमानको चक्कामा प्राविधिक समस्या देखिएको थाहा भएको र अहिले विमानलाई ग्राउन्डेड गरिएको उनले बताए । काठमाडौंबाट आएको प्राविधिक टोलीले त्यसको निरिक्षण गर्दैछ । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले विमानको प्राविधिक जाँचपछि मात्रै उडान अनुमति दिइने जानकारी दिए ।

भागेका थुनुवालाई समाउन खोज्दा जवानको मृत्यु

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ। ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए। चौधरी कैलालीका वासिन्दा हुन्। जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते महाकाली नगरपालिका वडा नम्बर १ का उमेशसिंह कुँवर पक्राउ परेका थिए। उनीमाथि मुद्दा शाखामा सोधपुछ चलिरहेको थियो। त्यही बेला कुँवर हतकडीसहित प्रहरी कार्यालयबाट भागेका थिए।  भागेका थुनुवा कुँवरलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट हामफालेका थिए। त्यसक्रममा उनी भिरमा पुगेका थिए भने टाउकोमा चोट लागेको थियो।  लडेको केहीबेरमा जवान चौधरीको मृत्यु भएको थियो। शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ। भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको छ।

कुटपिटबाट युवकको मृत्यु, एक दम्पतीसहित ५ जना पक्राउ

धनगढी । धनगढीमा छिमेकीको कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिए । उनका अनुसार रानाको हत्या अभियोगमा मिनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ । मृतक राना र उनीमाथि कुटपिट गर्ने चौधरी दम्पती छिमेकी समेत हुन् । राना चौधरीको घरभित्र प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर भएपछि रानालाई स्थानीयले अस्पताल पुर्‍याएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एकीकृत समाजवादी बाहिरिएसँगै सुदूरपश्चिम सरकारका मुख्यमन्त्री अल्पमतमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारबाट नेकपा (एकीकृत समाजवादी) पार्टी पनि बाहिरिएको छ । यसअगाडि नेकपा माओवादी पनि प्रदेश सरकारबाट बाहिरिएको थियो । एकीकृत समाजवादी पनि सरकारबाट बाहिर भएसँगै सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन् । संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हो । समाजवादीका तर्फबाट आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् । शाहीले यस्तो जानकारी गराएपछि मुख्यमन्त्री शाहले शाहीले सम्हालिरहेको मन्त्रालय आफैसँग राखेका छन् । चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जनाएको छ । माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको हो । अब शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ । सरकार जोगाउन भने २७ जनाको समर्थन चाहिन्छ । नागरिक उन्मुक्ति पार्टीले भने प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय लिएको छैन् । संसदीय दलका नेता घनश्याम चौधरी पर्ख र हेरको अवस्थामा पार्टी रहेकाले अहिले नै सरकारको विषयमा कुनै निर्णय नभएको बताए ।