सङ्घीय संसद्को वेबसाइट ह्याक ! लेखियो -‘ह्वाट इज चाइना नोथिङ’

काठमाडौं ।सङ्घीय संसद्को वेबसाइट ह्याक गरी अनाधिकृत पोस्ट गरेको पाइएको छ। 

बिहीबार सङ्घीय संसद्को वेबसाइट ह्याक गरी अनाधिकृत पोस्ट गरिएको हो। वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन् । फोटोमा लेखिएको छ– ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’ ।

तर अहिले उक्त सामाग्री हटाइएको छ । अहिले वेबसाइट सङ्घीय संसद् सचिवालयकै नियन्त्रणमै रहेको छ । वेबसाइट ह्याकरबाट बचाउन आइटी टिमले काम गरिरहेको बताइएको छ ।

null

प्रतिनिधिसभाबाट विद्युतीय व्यापार विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकले विद्युतीय व्यापार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरी बहुमतले पारित गरेको छ ।  सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गरेको प्रस्तावलाई सोमबारको बैठकले पारित गरेको हो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले आ–आफ्नो राय राखेका थिए ।सो पश्चात विधयेक बहुमतले पारित गरेका हुन् ।

नेपालमा हाइड्रोजन उत्पादन गरेर इन्धनका रूपमा गाडीमै हालियो

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले नेपालमै पहिलोपटक हाइड्रोजन उत्पादन गरी इन्धनका रूपमा प्रयोग थालेको छ।काठमाडौं विश्वविद्यालयले आज (आइतबार) आफैँले उत्पादन गरेको हाइड्रोजनलाई इन्धनका रूपमा गाडीमा हालेको हो। गत कात्तिकमा केयूले हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी गाडी नेपाल भित्र्याएको थियो । हाइड्रोजन गाडीसँगै केयूले रिफ्युलिङ स्टेसन पनि नेपाल भित्र्याएको थियो । केयू अन्तर्गतको हाइड्रोजन ल्याबका प्रमुख प्रा.डा.विराजसिंह थापाले आफ्नै डिजाइनमा कोरियाली प्रविधि प्रयोग गरी रिफ्युलिङ स्टेसन बनाइएको बताए ।  उनका अनुसार सोही रिफ्युलिङ स्टेसनबाट हाइड्रोजन उत्पादन गरी गाडीमा हालिएको हो ।यससँगै अब दैनिक ३० किलोग्रामसम्म हाइड्रोजन उत्पादन गर्नसक्ने रिफ्युलिङ स्टेसन बनाउन सकिने छ । केयूसँग रहेको गाडीले ६ किलोग्राम हाइड्रोजनबाट साढे ६ सय किलोमिटर दुरीको यात्रा गर्न सकिन्छ।  पेट्रोलियमपछि विद्युतीय गाडीको प्रयोग अहिले व्यापक बढ्दो छ । फ्युल सेलमा हाइड्रोजनले अक्सिजनसँग प्रतिक्रिया गरी उर्जा प्रदान गर्छ र पानीलाई बाइप्रोडक्टका रूपमा फाल्छ । त्यसैले हाइड्रोजन अझै स्वच्छ इन्धन मानिन्छ । विद्युत्को माध्यमबाट पानीबाट अक्सिजन छुट्याएर अर्थात् इलेक्ट्रोलिसिस गरी हाइड्रोजन उत्पादन गरिन्छ। जिवाश्म इन्धन र बायोमासबाट पनि हाइड्रोजन उत्पादन गर्न सकिन्छ। नेपालमा व्यावसायिक रूपमा हाइड्रोजनको उत्पादन गर्दै इन्धन, मल बनाउन एवं अन्य औद्योगिक प्रायोजनका लागि प्रयोग गर्नतर्फ पहल गर्नुपर्ने डा.थापाको भनाइ छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाइड्रोजन यातयातलाई प्रमोट गर्नुपर्ने बताउँदै आफु हाइड्रोजन चड्ने बताएका थिए । यससँगै प्रधानमन्त्रीले हाइड्रोजन गाडि चड्छु भन्ने कुरा उनकै कार्यकालमा सफल बन्ने देखिएको छ ।

अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन्।रिपोटर्स क्लबको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेण्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको बताए । “सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन, व्यावसायिक एवं संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनेइनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउनेगरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।”  सूचना–प्रविधिभन्दा बाहिर रहेर मानव अस्तित्वको कल्पना नै गर्न नसकिने ठाउँमा विश्व आइपुगेको बताउँदै प्रधानमन्त्री प्रचण्डले विश्वका सबै क्षेत्रमा सूचना–प्रविधिको निर्णायक भूमिका रहेको उल्लेख गरे।  “हिजो सूचना सम्प्रेषणको माध्यमका रूपमा विकसित प्रविधिको क्षेत्र ज्ञान–विज्ञान, उत्पादन, निर्माण, ज्ञान उत्पादन, सम्प्रेषणसहित अर्थतन्त्रको निर्णायक क्षेत्रका रूपमा उपस्थित छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सूचना–प्रविधिका कारण हाम्रो राष्ट्रिय जीवनमा पारेको प्रभाव एवं राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक महत्त्वलाई हामी सबैले आत्मसात गर्नैपर्छ ।” उनले आजको प्रमुख राजनीतिक कार्यभार प्राप्त राजनीतिक अधिकारहरू सुदृढ गर्दै संविधानको प्रगतिशील कार्यान्वयन सुनिश्चित गर्नु र त्यसको जगमा समाजवादउन्मुख समृद्धि हासिल गर्नु रहेको बताए।  प्रधानमन्त्री प्रचण्डले आर्थिक समृद्धिको राष्ट्रिय अभियान नै थाल्नुपर्ने बेलामा मुलुकलाई पछाडि फर्काउने या यथास्थितिमै राख्ने या कुनै पनि कोणको अतिवादलाई प्रश्रय दिने गतिविधिलाई अब कसैले कहिल्यै स्वीकार नगर्ने स्पष्ट पारे।उनले भने, “आजको आवश्यकता बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्थामा परिवर्तन गर्दै देशमा आशाको सञ्चार गर्नु हो ।” नयाँ संविधान निर्माणपछि मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभ्यासमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय प्रणालीअनुरूपका आवश्यक ऐन, कानुनहरूको तर्जुमा गर्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्नु आजको राष्ट्रिय कार्यभार बन्न पुगेको स्पष्ट पारे।   

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री शर्माको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् । नेपाल(इटाली चेम्बर अफ कमर्शको दशौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले नेपालमा सूचना प्रविधि उद्योगमा लगानी गर्न अनुकूल वातावरण गरेको पनि स्पष्ट गरिन्। ‘हामीले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा स्वीकार गर्दै यसमा लगानी खुला गरेका छौं’– मन्त्री शर्माले भनिन्– ‘नागरिक र राज्यका डाटा सुरक्षालगायत राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका क्षेत्रमा बाहेक सूचना प्रविधिका अन्य क्षेत्रमा बैदेशिक लगानीको वातावरण सिर्जना गर्न हामीले लगानीमैत्री नीति अघि बढाएका छौं ।’ लगानीको वातावरण बनाउन सरकारले सूचना प्रविधि क्षेत्रमा बैदेशिक लगानीको सीमा हटाएको,  दर्ता, नवीकरणजस्ता आवश्यक प्रक्रिया अनलाइनबाटै गर्ने व्यवस्था गरिएको जानकारी दिंद उनले अन्य देशको तुलनामा नेपालमा न्यून लागतमा आईटी कम्पनीहरू सञ्चालन गर्न सकिने र दक्ष जनशक्तिको उपलब्धता पनि पर्याप्त रहेको बताइन्।  ‘सरकारी तवरबाट संख्या एकिन गर्न बाँकी नै रहेको भए पनि अहिले झण्डै एक लाख जति आइटी जनशक्तिले देशभित्रै बसेर सिप र सेवा विभिन्न मुलुकमा निर्यात गररहेको अवस्था छ’– उनले भनिन्– ‘लगानीमैत्री  नीति र कानुन तथा  दक्ष जनशक्ति उपलब्धता आदिले आइटी उद्योगका लागि अनुकूल वातावरण भएकाले पनि म सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न विशेष आग्रह गर्न चाहन्छु ।’ मन्त्री शर्माले सरकार आगामी महिना हुने चौथो लगानी सम्मेलनको तयारीमा जुटेको जानकारी गराउँदै इटालीका लगानीकर्ताहरुलाई आकर्षित गर्ने कार्यक्रम बनाउन नेपाल(इटाली चेम्बर अफ कमर्शलाई आग्रह गरिन्। ‘यहाँहरु जानकार नै हुनुहुन्छ, सरकार लगानी सम्मेलनको तयारीमा छ । अबको एक महिनापछि नेपालमा चौथो लगानी सम्मेलन हुँदैछ’– उनले भनिन्– ‘यसमा धेरै भन्दा धेरै इटालीका लगानीकर्ताहरुलाई आकर्षित गरेर लगानी वृद्धिको वातावरण सिर्जना गर्न यो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने सरकारको विश्वास रहेको छ ।’ लगानी सम्मेलनलाई मध्यनजर गरी दर्जन बढी कानुनहरु तत्काल संशोधन गर्ने तयारी रहेको पनि मन्त्री शर्माले जानकारी दिइन्।  सन् १९५९ अगस्ट ३१ मा नेपाल र इटालीबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीचको सम्बन्ध निरन्तर सुमधुर रहँदै आएको स्मरण गराउँदै उनले भूकम्पपछि इटालीले प्रदान गरेको सहायता र विशेषगरी सांस्कृतिक, वास्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनर्निर्माणको क्षेत्रमा पुर्याएको योगदानप्रति नेपाल सधैं आभारी रहने तथा यो सहयोग दुई देशबीचको मित्रताको चिरस्थायी प्रतीकको रूपमा रहने विश्वास पनि व्यक्ति गरिन् ।   पछिल्लो समय नेपाल र इटलीबीच द्विपक्षीय व्यापारको राम्रो संभावना बढ्दै गएको उल्लेख गर्दै उहाँले निर्यात बढाउँदै ब्यापार सन्तुलन कायम गर्नुपर्ने बताइन्। नेपालमा अन्तर्राष्ट्रिय पर्यटक पठाउने देशमा पनि इटालियन अगाडि रहेको उल्लेख गर्दै मन्त्री शर्माले प्राकृतिक, साँस्कृतिक र साहसिक सबैखाले पर्यटनमा विश्वको आकर्षक गन्तव्यस्थल रहेको रुपमा रहेको नेपालमा पर्यटकको संख्या गुणात्मकरुपमा बढाउन आवश्यक रहेको बताइन् ।

प्रधानमन्त्रीलाई बुझाइयो ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण प्रतिवेदन

हाल नेपालको सूचना प्रविधि क्षेत्रले भोगीरहेका विविध समस्या र यसका पछाडिका कारणको अध्ययन गर्न प्रधानमन्त्री कार्यालयले प्राविधिक परीक्षण समिति बनाएको हो ।

प्रविधिको प्रयोगबाट मात्रै समृद्धि प्राप्त हुन्छ : प्रधानमन्त्री

पोखरा ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात गर्नुपर्ने बताएका छन्। प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आजको युग विज्ञ–प्रविधि र मुख्यतः सूचना प्रविधिको युग भएको बताए। “आज दुनियाँमा त्यस्तो कुनै क्षेत्र छैन, जहाँ सूचना–प्रविधिको निर्णायक भूमिका नहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “हिजो सूचना सम्प्रेषणको माध्यमका रूपमा विकसित प्रविधिको क्षेत्र ज्ञान–विज्ञान, उत्पादन, निर्माण, ज्ञान उत्पादन, सम्प्रेषणसहित अर्थतन्त्रको निर्णायक क्षेत्रका रूपमा उपस्थित छ ।” सूचना–प्रविधिको विकास र यसबाट सिङ्गो विश्व र राष्ट्रिय जीवनमा पारेको प्रभाव एवं राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक रहेको प्रधानमन्त्रीको भनाइ छ।  प्रधानमन्त्री प्रचण्डले भने, “चौंथो औद्योगिक क्रान्तिका रूपमा विकसित सूचना प्रविधिले मानव जाति र सामाजिक जीवनका सम्पूर्ण अवयवहरूमा सकारात्मक प्रभाव मात्र पारेको छैन, अपितु सूचना–प्रविधिभन्दा बाहिरबाट मानव जातिको अस्तित्वको कल्पना नै गर्न नसकिने ठाउँमा सिङ्गो विश्व आइपुगेको छ ।”

इटालीद्धारा टिकटकलाई ११ मिलियन डलर जरिवाना

रोम ।  इटालीले नाबालिगको सुरक्षा गर्न असफल भएको भन्दै टिकटकलाई ११ मिलियन अमेरिकन डलर जरिवाना गरेको छ ।इटाली कम्पिटसन प्राधिकरणले टिकटकलाई नाबालिग र अन्य कमजोर व्यक्तिहरूको सुरक्षालाई खतरामा पार्ने सामग्रीको फैलावट नियन्त्रण गर्न असफल भएकोमा भन्दै ११ मिलियन जरिवाना गर्ने घोषणा गरेको हो । एन्टिट्रस्ट एजेन्सीका अनुसार चीनको वाइट डान्सको स्वामित्वमा रहेको टिकटकले आफ्नो प्लेटफर्ममा किशोर किशोरीहरूको विशेष कमजोरीहरूलाई ध्यानमा राख्न असफल भएको छ ।वाचडगले गत मार्चमा टिकटकको सामग्री मध्यस्थता अभ्यासहरूमा अनुसन्धानको घोषणा गरेको थियो, त्यसमा टिकटक चुकेको जनाइएको छ । बिहीबार एक विज्ञप्तिमार्फत भिडियो–साझेदारी प्लेटफर्म टिकटकले हानिकारक सामग्रीको फैलावटबाट बच्न र बचाउनका लागि अझै पर्याप्त उपायहरू नलिएको जनाएको छ ।एजिसिएमद्वारा उल्लेख गरिएको हानिकारक सामग्रीको एउटा उदाहरण हो, जसलाई ‘फ्रान्सेली दाग’ प्रवृति भनेर चिनिन्छ, जसमा टिकटक प्रयोगकर्ताहरूले आफ्नो गालामा चिरस्थायी घाउ छोडेको देखाइएको छ । टिकटकका प्रवक्ताले भने जरिवाना गराउने इटालीको घोषणा प्रति असहमति रहेको जनाएका छन् । उनले भने, ‘एजिसिएमको सो निर्णयसँग टिकटक असहमत छ किनभने तथाकथित ‘फ्रान्सेली दाग’ सबन्धी सामग्रीका बारेमा गत वर्ष एजीसीएमको घोषणा अघि नै इटालीमा औसत १ सयवटा दैनिक खोजी गरेको थियो र हामीले धेरै पहिले यस्ता सामग्रीको दृश्यता १८ वर्षमुनिमा प्रतिबन्धित गरिसकेका थियौं।’ टिकटकले केही समय यता देखी युरोपेली नियामकहरूको निगरानीमा रहेको छ र यसअघि पनि उसले सयौं मिलियन डलरको जरिवानाको सामना गरिसकेको छ।युरोपियन युनियनमा टिकटकका गतिविधिहरूको निरीक्षण गर्ने आयरिश डेटा संरक्षण आयोगले गत सेप्टेम्बरमा प्लेटफर्मलाई ३७६ मिलियन युरो जरिवाना तिर्न आदेश दिएको थियो । जरिवाना गर्नु अघि उसको पनि टिकटकले बच्चाहरूको सुरक्षा गर्न असफल भएको जनाएको थियो।  अमेरिन तल्लो सदनले टिकटकका प्रतिबन्ध लगाउने विधयेक पास गरेको  बेला इटालीको यो जरिवाना घोषणा भएको हो । गत बुधवार मात्रै अमेरिकी प्रतिनिधि सभाले पास गरेको विधेयक माथिल्लो सदनले पनि पास गर्यो भने अमेरिकामा ६ महिना भित्र टिकटक प्रतिबन्ध हुन सक्छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीद्वारा पदभार ग्रहण

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शपथ लगत्तै सिंदरबारमा पुगेर पदभार ग्रहण गरेकी छिन् ।  राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनी सिंहदरबारस्थित सञ्चार मन्त्रालय पुगेकी हुन् । सञ्चार मन्त्रालयमा सचिव तथा उच्च अधिकारीले स्वागत गरेपछि सञ्चारमन्त्री शर्माले पदभार ग्रहण गरिन। निवर्तमान सञ्चारमन्त्री शर्मा बुधबार दिउँसोमात्र मन्त्रालयमा बिदाइ कार्यक्रम गरेर बाहिरिएकी थिइन् । बिदाइ कार्यक्रम हुँदै गर्दा उनलाई पुनः सञ्चारमन्त्रीकै रुपमा शपथका लागि निम्तो पुगेको थियो । 

चल्न थाल्यो फेसबुक, समस्या हल गर्न लागिरहेको प्रवक्ता एन्डीको भनाई

काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको हो । ङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए। विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने, आफै डिलिट हुने  समस्या देखिएको भएपनि राति ९ बजेतिर एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिएको थियो । त्यसपछि विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका थिए । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका थिए । फेसबुकसँगै मेटाको मेसेन्जर र इन्स्टाग्राममा पनि समस्या देखिएको थियो । सो समयमा मेटाकै ह्वाट्सएप भने चलिरहेको थियो  । फेसबुक, मेसेन्जर र इन्स्टाग्राम डाउन किन भएको भन्नेबारे मेटाले केही जानकारी दिएको छैन । यद्यपी मेटाका प्रवक्ता एन्डी स्टोनले (ट्विटर) एक्समार्फत मेटाको सेवाका कारण मानिसहरुलाई भएको समस्याबारे आफुहरु सचेत रहेको र त्यस समस्याको हल गर्न लागेको बताएका छन् ।

मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या

मेटाका प्रवक्ता एन्डी स्टोनले समस्या हल गर्न लागेको बताएका छन् ।

सूचना-प्रविधि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताएका छन्। ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताए। “आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता, सम्प्रभुता, आन्तरिक एकता र सद्भाव जस्ता पक्षहरूको केन्द्रमा सूचना प्रविधि आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले नै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने ठाउँमा सिङ्गो विश्व आइपुगेको तथ्य हामीले हेक्का राख्नै पर्छ।” उनले कृतिम बौद्धिकका बहुआयमिक लाभ र केही चुनौतीहरूको गम्भीर अध्ययन गरी आवश्यक नीतिहरू तर्जुमा गर्न अब ढिलाइ गर्न नहुने बताए। कृत्रिम बौद्धिकता प्रविधिमा असीम सम्भावनाहरू रहेपनि रोजगारी विस्थापन, पूर्वाग्रह र निष्पक्षताका सवाल, गोपनीयताका सवालहरूमा चुनौती पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले साइबर सुरक्षा, नैतिक दुविधा, सामाजिक विग्रह, निर्भरता र स्वायत्तता, आदिका कारणले समाजमा थप असमानताहरू थपिन सक्ने जोखिम औंल्याए।  नेपालको गरिवी र न्यून आर्थिक विकासको चक्रलाई तोड्न कृत्रिम बौद्धिकता प्रविधिले सुशासन ‘४.०’ जस्ता अवधारणालाई अङ्गीकार गर्न अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता विकासका लागि ‘एआई इकोसिस्टम’  विकासमा आवश्यक पहल लिनैपर्ने अवस्था आएको उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता प्रविधिको प्रयोगले सरकारी नीति निर्माण र सुशासन अभिवृद्धिमा टेवा पुर्‍याउने विषयहरू, विद्यालय तथा उच्च शिक्षामा कृतिम बौद्धिकताबाट हासिल गर्न सकिने नतिजाहरू, कम्प्युटेसनल तथा अन्य पूर्वाधारको आवश्यकता, देशमा सञ्चालित अनुसन्धान परियोजना र तालीमहरू, विकासका कार्यहरूलाई त्यस्तो प्रणालीमा जोड्न सकिने विश्वास व्यक्त गरे।

सूचना प्रविधि क्षेत्रमा क्रियाशील युवा वैज्ञानिकलाई सम्मान र प्रोत्साहित गर्न प्रधानमन्त्रीको अपिल

‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताए।

‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सुशासनको लक्ष्य हासिल गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताएका छन् ।  ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।  “सरकारले कम्प्युटर प्रविधि, रोवोटिक प्रविधि, डाटा विज्ञान, मेशिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्गस, कम्प्युटेशनल पूर्वाधार विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने कार्यमा आवश्यक पहल लिनेछ,” प्रधानमन्त्रीले भने, “यसका लागि कृत्रिम बौद्धिकतासम्वन्धी नीतिलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ तथा डिजिटल नेपाल फ्रेमवर्क, २०१९ सँग समन्वय गर्नेगरी अगाडि बढिनेछ ।”  सरकारले हाल उदयीमान प्रविधिको क्षेत्रमा विभिन्न अध्ययन र अनुसन्धानका कामहरू अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान प्रविधि क्षेत्रलाई महत्त्व दिएर नै विज्ञान प्रविधि नवप्रवर्तन कोष निर्माणका लागि बजेट विनियोजन गरिएको बताए। उनले प्रविधिको क्षेत्रमा आत्मनिर्भरताको अवसर सिर्जना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन समेत दिए । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तावमा समेत विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई विशेष महत्त्व दिइने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रस्तावित १६औँ आवद्यिक योजनामा यस क्षेत्रलाई महत्त्वका साथ समावेश गरिएको जानकारी दिए ।  नवप्रवर्तन र उत्पादकत्व वृद्धिको सवालमा आगामी वर्षदेखि नै सरकारी निकायहरूले कृत्रिम बौद्धिकताको भूमिका बढाउने परियोजनाको विकासमा जोड दिइने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सरकारी निकायले दिने सेवाको जानकारीका लागि कृत्रिम बौद्धिकतामा आधारित च्याटबट सेवा, वृहत तथ्याङ्कीय विश्लेषणका परियोजनाहरूलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिने स्पष्ट पारे ।   प्रधानमन्त्री प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा विभिन्न सरोकारवाला निकायहरूद्वारा संयुक्तरूपमा आयोजना गरेको ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता–भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनले समृद्ध नेपाल बनाउने सपना सार्थक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । मानिसले गर्ने नियमित कार्यहरू वा धेरै समय लगाएर गर्ने कार्यहरू तथा मानिसले गर्न नसक्ने कार्यहरू कृत्रिम बौद्धिकतामार्फत गर्दा समयको वचत र नवप्रवर्तन तथा उत्पादकत्व वृद्धिका निम्ति बहुउपयोगी रहने प्रधानमन्त्रीको भनाइ छ ।

सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आउँदो लगानी सम्मेलनमा प्रस्तुत गर्ने सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छिन् । नेपाल उद्योग परिसंघको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीजका पदाधिकारीसँगको भेटमा उनले यस्तो आग्रह गरेकी हुन् । लगानी सम्मेलनमा अन्य क्षेत्रको जस्तै सूचना प्रविधि क्षेत्रको लगानी प्रस्तुत गर्न आवश्यक रहेकाले आवश्यक परियोजना भए लिएर आउन आग्रह गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा परियोजना बैंक बनाउनुपर्ने बताइन् । उनले सरकारको नीति तथा कार्यक्रम र बजेटका सवालमा पनि सूचना प्रविधिमा के गर्न सकिन्छ सरकारलाई लिखित सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरिन् । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरेदेखि नै डिजिटल रुपान्तरणलाई रणनीतिको रुपमा राखिए पनि नेपालमा सूचना प्रविधिलाई साझा दृष्टिकोण नै बन्न नसकेकाले यसमा आवश्यक लगानीको वातावरण नबनेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारी, निजी क्षेत्र र जनस्तर सबैतिर सूचना प्रविधि प्रतिको साझा बुझाई आवश्यक रहेको बताइन् । ‘अब सूचना प्रविधि क्षेत्रमा लगानीकर्ता र जनशक्तिको पहिचान गर्न ढिलाई गर्नुहुँदैन’– उनले भनिन्– ‘डिजिटल रुपान्तरणको माध्यमबाट मुलुकको समृद्धि कायम गर्न निजी क्षेत्रले सहयोग गर्न आवश्यक छ ।’ निजी क्षेत्रले लगानी गर्दा आफ्नो मुनाफा हेर्नु स्वभाविक भए पनि अर्थतन्त्र चलायमान बनाउने र रोजगारी सिर्जना गर्नेतिर बढी ध्यान केन्द्रित गर्न आवश्यक रहेको उनले स्पष्ट गरिन् । सरकार सूचना प्रविधि र साइबर सुरक्षालगायतका आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको पनि उनले जानकारी दिइन् ।  छलफलमा नेपाल उद्योग परिसंघको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीजका पदाधिकारीहरुले नेपालमा ठूला लगानीकर्ताले सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका थिए । नेपालमा सूचना प्रविधिको राम्रो संभावना भएकाले सरकारले कानुन र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनीहरुले निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताएका थिए । पछिल्लो समय सरकारले सूचना प्रविधि क्षेत्रमा राम्रो पहल अघि बढाए पनि सूचना प्रविधि, स्टार्टअप लगायतका क्षेत्रमा सरकारी निकायहरुबीच नै साझा बुझाई आवश्यक रहेको बताउनुभयो ।

अब नेपालभित्र सञ्चालित विमानस्थलमा टेलिकमको फ्रि वाइफाई चलाउन पाइने

काठमाडौं । अब नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा नेपाल टेलिकमको फ्रि वाइफाई इन्टरनेट सेवा उपभोग गर्न पाइने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज यस विषयमा सहमति भएसँगै सेवाग्राहीले निःशुल्क नेपाल टेलिकमको फ्रि वाइफाई सेवा लिन सक्ने भएका हुन् ।  सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् । सहमतिपत्रअनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाई नेटवर्क जडान गर्नेछ । नेपालभित्र सञ्चालित अन्य विमानस्थलमा समेत चरणबद्ध रूपमा फ्रि वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्ने टेलिकमले एक विज्ञप्ति जारी गर्दै बताएको छ । त्यसैगरी विमानस्थलभित्र यात्रुहरूलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवासम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ । फ्रि वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरू जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गर्ने छ । यात्रुहरूलाई सुविधा हुनेगरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ ।