टेलिकमले दशैं आसपास नै फोरजी सेवा विभिन्न शहरमा विस्तार गर्ने

काठमाडौं । नेपाल टेलिकमले दशैं आसपास नै फोरजी सेवा विभिन्न शहरमा विस्तार गर्ने तयारी गरेको छ । देशका २० देखि २५ वटा शहरमा दशैंअघि नै सेवा सुरु गर्ने गरी तयारी भएको हो ।

विभिन्न स्थानमा फोरजीको परीक्षण सुरु भइसकेको टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । अधिकारीका अनुसार कोर नेटवर्कको परीक्षण गत साताबटै सुरु भएको छ भने अब सिस्टम माइग्रसेसन गरेर रेडियो एक्सेस नेटवर्कको परीक्षणको काम यस साताबाट सुरु भएको छ ।

गत माघमा नै ठेकेदार कम्पनीहरुसँग टेलिकमले फोरजी सेवा विस्तारको सम्झौता गरेको थियो । एक वर्षमा काम सिध्याउने गरी उक्त सम्झौता भएको छ । लक्ष्यअनुसार अब ४ महिनाभित्रै तोकिएका सबै स्थानमा टेलिकमले फोरजी नेटवर्क सबैतिर विस्तार गरिसक्नुपर्छ ।

अन्य सेवामा निजीभन्दा अगाडि रहेको टेलिकम फोरजी सेवामा चाहिँ पछि परेको छ । निजी क्षेत्रको एनसेलले फोरजी बजारको करिब ७४।३ प्रतिशत हिस्सा ओगट्दा टेलिकमको हिस्सा २०।३ प्रतिशत मात्र छ । टेलिकमभन्दा ढिलो सेवा सुरु गरेको स्मार्ट टेलिकमले समेत ५।४ प्रतिशत बजार हिस्सा बनाइसकेको छ । जति ढिलो भयो, टेलिकमलाई ग्राहक तान्न उति कठिन हुनेछ ।

देशमा हाल फोरजीका ३९ लाख ४३ हजारभन्दा बढी प्रयोगकर्ता छन् । त्यसमा झण्डै २९ लाख ३० हजार प्रयोगकर्ता एनसेलका हुन् । टेलिकमसँग जम्मा ८ लाख मात्रै फोरजीका प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमले करिब २ लाख १३ हजार ग्राहक तानेको छ ।

टेलिकमले काठमाडौं र पोखरापछि अन्य क्षेत्रमा फोरजी विस्तारमा ढिलाइ गर्दा धेरै ग्राहकहरु एनसेललाई रोज्न बाध्य भएका छन् ।

पछिल्लो समय इन्टरनेट प्रयोगकर्तामा फोरजीको आकर्षण बढ्दो छ । यो प्रविधिको फ्रिक्वेन्सी प्रभावकारी हुन्छ । जसले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँछ । यसले मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइलहरु सजिलै र छिटो आदान(प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरु सजिलै हेर्न सकिन्छ ।

टेलिकमको फोरजीरएलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्यान) को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङले जिम्मा पाएका छन् ।

फाइभजीको पूर्वाधार
टेलिकमले नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुईवटा र्‍यान नेटवर्क तयार गर्नेछ । यसका लागि मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ । र्यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ ।

नेपाल टेलिकमले मुलुकमै पहिलोपटक मिति ०७३ पौष १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भएपश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ‘ओभर(ले’ रुपमा सञ्चालन गर्ने बताइएको छ । यस्तोमा यदि प्रयोगकर्ताले फोरजी प्रयोग गरिरहँदा फोन आयो भने त्यसको नेटवर्क इन्टरनेटमा सिफ्ट हुन्छ ।

मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस र मल्टिमिडिया सेवा विस्तार तथा कभरेज र क्यापिसिटीका लागि ‘स्मार्ट सेल विथ वाइफाइ’ विस्तार गर्न सकिने दावी टेलिकमको छ ।

‘हामीले फोरजी विस्तार गरेपछि २०२५ सम्म अधिकतम लाभ लिन सक्नुपर्छ,’ टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी भन्छन्, ‘त्यसपछि अर्को १० वर्ष फाईभजी र फोरजीको सेवा समानान्तररुपमा जान सक्छ ।’

अधिकारीले हाल विस्तार हुने फोरजीको पूर्वाधारपछि फाईभजीमा पनि उपयोग हुने बताए ।

‘फोरजीका लागि तयार गरिने टावर र पावर सिस्टम फाइभजीका लागि पनि हुन्छ,’ अधिकारी भन्छन्, ‘यो सेवा विस्तार भएपछि कम्पनीलाई पनि लाभ हुन्छ भने ग्राहकले पनि थप स्तरीय सेवा पाउँछन् ।’

टेलिकमले फोरजीसँगै टुजी र थ्रीजी विस्तारलाई पनि सँगसँगै लैजाने बताएको छ । यस्तै विभिन्न क्षेत्रमा बीटीएस टावर स्थापनाका लागि पनि टेलिकमले काम गरिररहेको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए । यो समाचार अनलाइन खबरबाट लिइएको हो ।

अब पीओएसमार्फत भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने

काठमाडौं । प्वाइन्ट अफ सेल्स (पीओएस) मार्फत भुक्तानी गर्दा अब सेवा शुल्क तिर्न नपर्ने भएको छ । होटल रेस्टुरेन्ट, सपिङ्ग सेन्टरलगायतले पस मेसिनबाट हुने भुक्तानीमा सेवा शुल्क लिँदै आएकोमा राष्ट्र बैंकले लिन नपाउने व्यवस्था गरेको हो । राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले ग्राहकसँग खर्च भएको रकममा आफूखुसी केही प्रतिशत थप शुल्क लिने गरेकाले यसमा कडाइ गरेको जानकारी दिए । ‘केही प्रतिशत अतिरिक्त रकम लिने गरिएको थियो, अब खर्च भएको रकमभन्दा एक रुपैयाँ बढी तिर्नु पर्दैन’ मिश्रले भने । राष्ट्र बैंकले यसअघि नै एटीएमबाट रकम निकाल्न सक्ने विद्यमान व्यवस्थामा समेत कडाइ गरिसकेको छ । एटीएम ह्याकिङ प्रकरणले थप सुरक्षा चुनौती थपेको भन्दै राष्ट्र बैंकले एक दिनमा ६० हजार र एकपटकमा २० हजार रुपैयाँ मात्रै निकाल्न सक्ने व्यवस्था गरेको हो । यसअघि एटीएमबाट एक दिनमा १ लाख र एक पटकमा २५ लाख रुपैयाँसम्म झिक्न पाइन्थ्यो । यो व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले बिहीबार नै परिपत्र गरिसकेको छ। अनलाइनखबरबाट साभार

अब अरुको नामको सिमकार्ड प्रयोग गर्न नपाइने

काठमाडौं । अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ । प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए । ‘केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत सबै प्रयोगकर्तालाई अरुका नामको सिमकार्ड प्रयोग गरिसकेको भए, आफ्ना नाममा दर्ता गर्न म्यासेजमार्फत खबर गर्छौं,’ उनले भने । प्राधिकरणका अध्यक्ष खनालले तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको त्यस विषयमा पछि निर्णय गर्ने उनले बताए । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

हेर्नुस् यि हुन् कम्प्युटर चलाउने हरेकले जान्नै पर्ने किबोर्डका सटकर्ट …..

काठमाडौं, साउन ११ । विन्डोज अपरेटिंग सिस्टममा किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ | यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ |हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ | कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा चल्दैनन् |विन्डोज बटनसँगको सटकर्टहरु …. Windows Key ले किबोर्डमा Alt को देब्रे पट्टि हुने बटनलाई चिनाउछ । यस बटनले विन्डोजमा स्टार्ट मेनु पनि खोल्ने गर्छ । Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्न Windows Key + D: सिधै विन्डोजको डेस्कटपमा जान Windows Key + L: कम्प्युटर/ ल्यापटपलाई तु लक् गर्न Windows Key + . : इमोजी मेनु खोल्न Windows Key + Space: किबोर्डले टाइप गर्ने भाषा परिवर्तन गर्न ( दुईवटा किबोर्ड इन्स्टल गरिएको खण्डमा ) Windows Key + S: सर्च गर्न Windows Key + 1,2,3… : टास्कबारमा पिन भएको एपहरुलाई खोल्न Windows Key + Shift + S : नयाँ स्निपटुलबाट स्क्रिनसट लिन Windows Key + PrtSrc : स्क्रिनसट लिन Windows Key + P : डिस्प्लेलाई प्रोजेक्टर अथवा अर्को मोनिटरमा देखाउन Windows Key + M : हाल खुलिरहेको विन्डोलाई मिनिमाइज गर्न Ctrl, Alt र Shift बटनसँगको सटकर्टहरु Ctrl + C: टेक्स्टलाई कपी गर्न Ctrl + V: टेक्स्टलाई पेस्ट गर्न Ctrl + A : स्क्रिनमा देखाएको सबै फाइल / टेक्स्टहरुलाई एकै पटकमा सेलेक्ट गर्न Ctrl + Z: लेखि सकेको कुरालाई हटाउन Ctrl + Y: हटाएको कुरालाई पुन: फिर्ता ल्याउन Ctrl + Shift + Esc : टास्क म्यानेजर खोल्न Alt + Left arrow : पछाडी आउन Alt + Right arrow : अगाडि जान Alt + Enter : जानकारी देखाउन Alt + Spacebar: अप्सन मेनु खोल्न Alt + F4 : खुलिरहेको विन्डो बन्द गर्न एकमात्र बटन थिचेर हुने सटकर्टहरु F1 : सहयोग मेनु खोल्न F2: फाइलको नाम परिवर्तन गर्न F3: फाइल एक्सप्लोरारमा फाइललाई सर्च गर्न F5: रिफ्रेश गर्न F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन Delete / Del: केहि कुरा डिलिट गर्न Backspace : अगाडिको ट्याब वा लोकेसनमा जान / लेखेको टेक्स्ट मेट्न इन्टरनेट ब्राउजर भित्र आवश्यक पर्ने सटकर्टहरु F5: ट्याब रिलोड गर्न Ctrl + F: मन लागेको शब्द सर्च गर्न Ctrl + W : हाल खुलीरहेको ट्याबलाई बन्द गर्न Ctrl + U : बन्द भइसकेको ट्याबलाई पुन: खोल्न F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन Ctrl + Shift + T : बन्द गरेको ट्याबलाई पुन: खोल्न यो जानकारी अरुलाइ पनि काम लाग्छ जस्तो लाग्छ भने शेयर गरेर सबैलाइ जानकारी दिनुहोला ।

बढेको इन्टरनेटको मूल्य घट्ने

काठमाडौं, साउन १० । मागबमोजिम दूरसञ्चार नियमावलीमा संशोधन भएपछि इन्टरनेट सेवा प्रदायकले यसअघि १३ प्रतिशतले बढाएको इन्टरनेटको मूल्य फिर्ता लिएका छन् । यससँगै विगत एकवर्ष अघिदेखि इन्टरनेटको मूल्य बढाउने र फिर्ता लिने प्रवृत्ति पनि अन्त्य भएको छ । मन्त्रिपरिषद्को यही साउन ६ गतेको बैठकले दूरसञ्चार (नवौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेपछि बढेको १३ प्रतिशत मूल्य घटाउने निर्णय गरेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)का निवर्तमान अध्यक्ष विनय बोहराले जानकारी दिए । नियमावली संशोधन भएपछि इन्टरनेटको मूल्यवृद्धि फिर्ता लिने भएका छौँ, उनले भने । गत आवको बजेटमार्फत सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शूल्क लगाउने निर्णय गरेपछि सङ्घले गत वर्षको साउन १ गते नै मूल्य बढाउने घोषणा गरेको थियो । यद्यपि सरकारले तत्काल वार्ता गरी दूरसञ्चार नियमावलीमा आवश्यक संशोधन गर्ने र राउटरलगायत उपकरणको बिक्रीमा छुट्टै बिलिङ गर्न सक्ने र सो शुल्कमा दूरसञ्चार सेवा शुल्क नलाग्ने सम्झौता गरेपछि उक्त निर्णयबाट सङ्घ पछाडि हटेको थियो । यद्यपि सम्झौताअनुसार कार्यान्वयन नभएको भन्दै सङ्घले गत पुसमा पनि फेरि इन्टरनेटको मूल्य बढाउने घोषणा गरेको थियो । चालू आर्थिक वर्षको बजेटमा पनि इन्टरनेटमा सेवा शुल्क कायम भएपछि सङ्घले असार अन्तिम हप्ता मागबमोजिम नियमावली संशोधन नभएकाले फेरि इन्टरनेटमा उक्त १३ प्रतिशत सेवा शुल्क जोडेर मूल्य बढाउने निर्णय गरेको थियो । दूरसञ्चार नियमावली, २०५४ को नियम १५ ९ज० मा ‘ग्राहकलाई उपलब्ध गराएको दूरसञ्चार सेवा कुनै कारणले बिगे्रमा प्राधिकरणले तोकिदिएको स्तरअनुरूप निःशुल्क मर्मतसम्भार गर्नुपर्ने’ व्यवस्था भएकोले सरकारसँगको अघिल्लो वर्षको सम्झौताअनुसार बिलिङ गर्न पाउने र सो कुरा नियमावली संशोधन गरेर सम्बोधन हुनुपर्ने सङ्घको माग थियो । सोही माग बमोजिम साउन ६ गतेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन स्वीकृत गर्ने निर्णय गरेको हो । संशोधनपछि सेवा शुल्कबापतको ५० प्रतिशतमा भ्याट र कुनै कर लाग्ने छैन । सेवा शुल्कबापत बढ्ने १३ प्रतिशत मूल्य भने इन्टरनेट सेवा प्रदायकले हालकै मूल्यमा समायोजन गर्नुपर्ने छ । सरकारले पछिल्लोपटक जेठ ३० गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै राउटरसहित इन्टरनेट लिज लाइन, डाटा कनेक्टिभिटी र मर्मत शुल्कमा समेत लगाइँदै आएको दूरसञ्चार सेवा शुल्क छुट गर्ने निर्णय गरेको थियो । घटेको मूल्य घरेलु इन्टरनेट प्रयोगकर्ता अर्थात् फिक्स्ड वायर प्रयोगकर्तालाई लागू हुनेछ । मोबाइल प्रयोगकर्ताको हकमा यो लागू हुने छैन। गोरखापत्रदैनिकबाट

फेस एप्स प्रयोग नगर्न विज्ञको सुझाव

काठमाडौंँ, साउन ६ । कलाकारदेखि युवापुस्तामाझ ‘फेस एप्स’ नामक एप्स लोकप्रिय भइरहेको छ । उक्त एप्स प्रयोग गर्दै आफ्नो बुढेशकालको जस्तो देखिने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति व्यापक भएको छ । फेसबुकका अनुसार विश्वभर एकै दिनमा यो एप्स १० करोडभन्दा बढीले प्रयोग गरिरहेका छन् । यसको प्रभाव नेपालमा पनि परेको छ। कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, मनोज गजुरेललगायत थुप्रैले यो एप्समार्फत आफ्ना बुढ्यौली देखिने तस्बिर फेसबुकमा अपलोड गरेका छन् । भारतीय क्रिकेटर विराट कोहली, कलाकार अर्जुन कपुर लगायतले सामाजिक सञ्जालमा यस्ता तस्बिर सार्वजनिक गरेका छन् । यो एप्सले केही समयका लागि रमाइलो दिएपनि दीर्घकालमा असर गर्ने दाबी आईटी विशेषज्ञ सुरेन्द्रमान जोशीले गरे । उनले यो एप्स प्रयोगकर्ताको डाटा असुरक्षित हुने बताए । जोशीले भने, “सुरक्षा निकायमा बसेकाहरूले यो एप्स प्रयोग गर्दै नगर्नू भनेर कतिपय मुलुकका सरकारले नागरिकलाई सचेत गराइसकेका छन् ।” यो एप्समार्फत प्रयोगकर्ताको मोबाइलमा भएको फोटोदेखि सबै डाटा लिन सकिने जानकारी उनले दिए । चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले फेस एप्समात्र नभएर जुनसुकै सामाजिक सञ्जालले हाम्रो डाटा लिने जानकारी दिए । कुनैपनि सामाजिक सञ्जालमा भविष्यमा के हुने, भाग्यमानी कति प्रतिशतजस्ता एप्सले हाम्रो डाटा लिएकै हुन्छन् । त्यसैले त्यस्ता एप्स नचलाउन उनको सुझाव छ । रघुवंशी भन्छन्, “फेस एप्सले प्रयोगकर्ताका सबै जानकारी आफ्नो डिभाइसमा राख्छ । यसमा फोनको पहिचान गर्ने डाटा, कुकिज, लग फाइल, स्थानलगायतका महŒवपूर्ण डाटा हुन्छन् । यसबाट तपाईंको चासोका विषय, दैनिक व्यवहार, इमेल ठेगाना क्रेडिट कार्ड र पासवर्ड चोरी पनि हुन सक्छन्।” “फेस एप्समा सङ्कलन गरिएको डाटा कम्पनीबाट हटाउन सकिँदैन”, उनले थपे, “वायरलेस ल्याबलाई तपाईंको नयाँ डाटा सङ्कलनबाट रोक्न एप्स प्रयोग गर्न छोड्नुपर्छ ।” विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सन् २०१७ मा पहिलोपटक रुसीहरूले ‘फेस एप्स’ सार्वजनिक गरेका थिए । ‘फेस एप्स’मा सुरक्षा चुनौती धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि जनाएका छन्। यो एप्स सुचारु भएपछि प्रयोगकर्ताका सङ्गृहीत सामग्री र तस्वीरहरू बिना अनुमति नै स्टोर गर्न सक्ने क्षमता पनि यसमा रहेको र प्रयोगकर्ताको स्वीकृतिबिनै डाटाहरू अरूलाई बेच्न सक्ने खतरा रहेको बताइएको छ । आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआई) प्रविधिको माध्यमबाट युवा वा किशोर भएको तस्बिरलाई तत्काल बुढ्यौलीमा परिवर्तन गराइदिन सक्ने एप्स वायरलेस ल्याब नामक रसियन कम्पनीले ल्याएको हो । फेस एप्स सन् २०१७ फेब्रुअरी १४ भ्यालेन्टाइन डेको दिन गुगल स्टोरमा राखिएको थियो । त्यतिबेला ‘सेलिब्रेटी’हरूले प्रयोग नगरेका कारण चर्चा कमै थियो । तर, अहिले सेलिब्रेटीहरूले प्रयोग गरेपछि गुगलको प्ले स्टोर र आइफोनको एप्स स्टोरबाट डाउनलोड ह्वात्तै बढेको हो । गोरखापत्रदैनिकबाट

इन्टरनेटको मूल्य आजदेखि १३ प्रतिशतले बढ्यो

काठमाडौं, साउन १ । इन्टरनेट सेवा प्रदायकहरुले आजदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य बृद्धि गरेका छन्। इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार शुल्क उठाउन सुरु गर्ने अध्यक्ष भोजराज भट्टले जानकारी दिए। आइतबार बसेको आइस्पानको बैठकले सरकारले थपेको १३ प्रतिशत शुल्क उपभोक्ताबाट उठाउँने निर्णय गरेको भट्टले बताए । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने इन्टरनेटको शुल्क बढाए सेवा प्रदायकहरुका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन्।

प्लेस्टोरका एप्लिकेसनले सुरक्षा खतरा, गुगलको आकस्मिक कदम

तपाईं हामीमध्ये धेरैले एण्ड्रोइड अपरेटिङ्ग सिस्टम भएका स्मार्ट फोन प्रयोग गर्ने गर्छौं । मूल्यमा लगभग सबैको गोजीले भ्याउने र विविधतायुक्त फिचरहरूले भरिएका हुनाले एण्ड्रोइड अपरेटिङ्ग सिस्टमयुक्त मोबाइल फोनहरूको लोकप्रियता दिनानुदिन बढ्दै गैरहेको छ । एण्ड्रोइड अपरेटिङ्ग सिस्टमको निर्माता गुगल हो । गुगलले एण्ड्रोइड प्रयोगकर्ताहरूलाई गुगल प्लेस्टोरको सेवा प्रदान गरेको छ जहाँबाट प्रयोगकर्ताहरूले आफूलाई मन परेको एप्लिकेसन डाउनलोड गर्न सक्छन् । यस्ता एप्लिकेसनले प्रयोगकर्ताको मोबाइल फोन प्रयोगको अनुभवलाई बदलिदिने गर्छ । तर यस्ता एप्लिकेसनहरूका सबै कामहरूप्रति गुगल भने जिम्मेवार हुँदैन । त्यसैले कुनै पनि एप्लिकेसन इन्स्टल गर्दा प्रयोगकर्ताले केही नियम तथा सर्त पालना गर्न सहमति जनाउनु पर्ने हुन्छ । सामान्यतया हामी कुनै पनि एप्लिकेसन इन्स्टल गर्ने क्रममा यस्ता सर्तहरू बिना पढेरै त्यसप्रति स्वीकृति जनाउने गर्दछौं । तर कतिपय अवस्थामा त्यस्ता एप्लिकेसनले हाम्रो फोनमा सुरक्षासम्बन्धी जोखिम बढाउन सक्छन् । कहिलेकाँही भने गुगलले आफैं प्लेस्टोरबाट केही एप्लिकेसन हटाउने गर्दछ । यसो गर्नुको मुख्य कारण या त ती एप्लिकेसनहरूको माध्यमबाट आपत्तिजनक मानिएका सूचना तथा वेबसाइटहरूमा पहुँच हुनु हुने गर्छ या तिनले बढाउने समग्र सुरक्षा जोखिम । हाल मात्रै गुगलले आफ्नो प्ले स्टोरबाट सयभन्दा बढी चिनियाँ एप्लिकेशन हटाउने निर्णय गरेको छ । गुगलले एण्ड्रोइड फोनका लागि एप्लिकेशन निर्माण गर्ने चिनियाँ उत्पादककर्ता डिओ ग्लोबलका एप्लिकेशन प्ले स्टोरबाट हटाइने भएको हो । विश्वकै सबैभन्दा लोकप्रिय सर्च इन्जिन तथा एण्ड्रोइड को निर्माता गुगलले साइबर आक्रमणको त्रासका कारण यस्तो उपाय अपनाउन लागेको बताएको छ । उसले यसअघि डिओ ग्लोबलकै ४६ वटा एप्लिकेशन हटाइसकेको जनाएको छ । गुगलका अनुसार चिनियाँ उत्पादककर्ताका केही एप्लिकेशनबाट शंकास्पद गतिविधि भएको आशंका गर्ने गरेको छ । गुगलले यसले साइबर आक्रमणको त्रास फैलाएको भन्दै उक्त कदम चालेको बताएको छ । एक महिनामा २ करोड ५० लाखले डिओ ग्लोबलको एप्लिकेशन प्रयोग गर्ने जनाइएको छ । जसबाट त्यस कम्पनीले करोडौं नाफा गर्दै आएका छन् । हुन त धेरैले गुगलको यस कदमलाई हाल अमेरिका र चीनबीच जारी तनावसँग समेत जोड्ने गरेका छन् तर यसले हामीलाई एउटा संदेश त दिन्छ नै- कुनै पनि एप्लिकेसनको बारेमा राम्ररी बुझेर मात्र प्रयोग गर्दा राम्रो हुन्छ । एजेन्सी

नेपालमै अब मोबाइल निर्माण

काठमाडौं, बैशाख १५ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ । ‘यो मेक इन नेपाल अन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल फोन उत्पादन तथा एसेम्बलको सम्भावना अध्ययन गर्न लागेको हो’,प्राधिकरणका उपनिर्देशक विनो चन्द्र श्रेष्ठ भने, ‘नेपालमै मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस्ड गर्न सकिन्छ वा सकिँदैन भनेर अध्ययन गर्ने तयारी भएको हो ।’ रिफर्बिस्ड अर्थात् पुराना स्मार्टफोनलाई विभिन्न कम्पनीले प्रमाणीकरण गरेर पुनः नयाँ जस्तै बनाएर बजारमा बेच्ने कार्य हो। त्यसका लागि प्राधिकरणले एभरेस्ट टेलिकम सर्कल प्रालिलाई परामर्शदाता नियुक्त गरेर सम्भाव्यता अध्ययन गर्न दिएको निर्देशक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मोबाइल आयातलाई केही हदसम्म भए पनि रोक्न सकिन्छ कि भन्ने उद्देश्यले अध्ययन सुरु गरिएको हो । मोबाइल वर्षेनी करिब ५० आयात भइरहेको छ। पछिल्लो तीन वर्ष ९०७३, ०७४, ०७५० मा क्रमसः ५० लाख, ४८ लाख र ४५ लाखको हाराहारीमा मोबाइल सेट आयात भएको प्राधिकरणको तथ्यांक छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छापिएको छ ।

4G सेवा देशभर विस्तार गरिने

काठमाण्डौ, बैशाख ०६ । नेपाल टेलिकमले जतिसक्दो चाँडो फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ । देशभर सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झौता सम्पन्न भएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए। प्रबन्ध निर्देशक अधिकारीका अनुसार कम्पनीले फोरजी÷एलटीइ आयोजना, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटिटीएच सेवा विस्तार र गुणस्तर सुधार गर्ने टेलिकमको योजना छ । कम्पनीले नेपालमै पहिलोपटक २०७३ पुस १७ (२०१७ जनवरी १) मा काठमाण्डौ उपत्यका र पोखराबाट फोरजी सेवा सुरु गरेको थियो । “आफ्नो व्यवसाय मात्र सञ्चालन नगरी सेवालाई समेत प्राथमिकता दिनुपर्ने दायित्व भएकाले बसोबास रहेका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको छ, आगामी दिनमा समेत देशका जनताको शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा परिवर्तन ल्याउन कम्पनीले भूमिका खेल्ने छ”, उनले भने । टेलिकमले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४०० वटा थ्रीजी बिटिएसको स्तरोन्नति गरेको छ । त्यसैगरी सो अवधिमा ४०७ वटा बिटिएस थप गरेको छ । टेलिकमले एक करोड लाइन मोबाइल आयोजनाअन्तर्गत ग्राहकको माग एवं प्राविधिक अध्ययनअनुसार आवश्यक देखिएका स्थानमा मोबाइल टावर थप गर्ने कार्य जारी राखेको छ । यो आयोजनाअन्तर्गत प्याकेज ‘बी’ को शतप्रतिशत काम सकिएको छ भने प्याकेज ‘ए’ को काम ९५ प्रतिशत सकिएको र चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । देशभर सातै प्रदेशमा सेवा विस्तारका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको छ । यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटिइ कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङ्कङको सिसीएसआइले जिम्मेवारी टेलिकमले पाएको छ । नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात् हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात् हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्छन् । सम्झौताअनुसार १२ महीनामा कार्य सम्पन्न गर्नका लागि साइट सर्भेको काम शुरु भइसकेको टेलिकमले जनाएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिइएको छ । सो आयोजनाका लागि पाँचमध्ये चार वटा सम्झौता सम्पन्न भइसकेको प्रबन्ध निर्देशक अधिकारीले बताए । टेलिकमले गएको मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा गरिएको सम्झौताअनुसार प्रदेश १ को ५९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स, प्रदेश २ को १०२८ किलोमिटरका लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेल्वेको ज्वाइन्ट भेञ्चर तथा प्रदेश ३ को ५५५ किलोमिटरका लागि हङ्कङको सिसीएसआइसँग सम्झौता गरेको छ । टेलिकमले अहिले एडीएसएलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराइरहेकामा विद्यमान एडीएसएलका ग्राहकलाई एफटिटीएचमा रुपान्तरण गर्ने र मुलुकभर एफटिटीएच वितरण गर्ने लक्ष्यका साथ नेटवर्क विस्तारको कार्य देशभर गरिरहेको छ । इन्टरनेटको साथसाथै आइपिटीभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको छ । हाल देशभर ४० हजार ९६० लाइन एफटिटीएच प्रदान गर्न सकिने क्षमताको नेटवर्क तयार भएको छ र थप नेटवर्क विस्तार कार्य जारी रहेको छ । मोबाइल गुणस्तर अभिवृद्धि नेपाल दूरसञ्चार प्राधिकरणले गत पुस र माघ २०७५ मा भक्तपुर, पोखरा, बाग्लुङ र पृथ्वीराजमार्गमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको प्रकाशित अध्ययन प्रतिवेदनअनुसार डाटा सेवामा नेपाल टेलिकमको गुणस्तर सबैभन्दा राम्रो रहेको पाइएको छ । त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले आश्विन ११ देखि २५, २०७५ सम्म काठमाडौँमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको अध्ययन प्रतिवेदनअनुसार नेपाल टेलिकमको भ्वाइस सेवाको स्तर सबैभन्दा राम्रो भएको उल्लेख छ । रासस

मलेसियामा बस दुर्घटना : २ नेपालीको मृत्यु, १० जना घाइते

काठमाडौं, चैत २५ । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने कामदारहरु बोकेको बस दुर्घटना हुँदा दुई नेपालीसहित १३ जनाको मृत्यु भएको छ । विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने कामदारहरु चढेको बस सेलागरमा दुर्घटना हुँदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो नेपाल जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डेले जानकारी दिए । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु रहेका छन् । यस्तै, बस दुर्घटनामा परी १० जना नेपालीहरु घाइते भएका छन् । घाइतेहरुको पुत्राजया र सेर्डाङलगायत अस्पतालमा उपचार भइरहेको अध्यक्ष पाण्डेले बताए । पाण्डेका अनुसार घाइतेमध्ये २ नेपालीको अवस्था गम्भिर र उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ । घाइतेहरुको अवस्था बुझ्न दूतावास टोली अस्पताल जाँदै गरेको बताइएको छ ।

बुहारीलाई फेसबुक चलाउन बन्देज, कारण यस्तो छ

लमजुङ, चैत १० । लमजुङको क्व्होलासोंथर गाउँपालिका १ कपुरगाउँकी कृपा विकलाई अरुले जस्तै सामाजिक सञ्जाल (फेसबुक) चलाउने रहर छ । फेसबुकमा के हुँदो रहेछ भन्ने उनलाई चासो पनि उत्तिकै छ । तर, परिवारबाटै फेसबुक चलाउन रोक लगाएको छ । परिवारको कुरा काट्न नसकेपछि उनले फेसबुक चलाएकी छैन । ‘सबैले फेसबुकको कुरा गर्छन् । चलाउँछन् । मलाई पनि चलाउन त मन छ नि । तर, के गर्नु परिवारको कुरा नमानौं पनि कसरी’ उनले भने, ‘इमो चलाउने गरेको छु । विदेशमा रहेको श्रीमानलाई यसैबाट भिडियो कल गर्छु । म्यासेज पठाउँछु ।’ १९ महिनाअघि कामको सिलसिलामा दुबईमा गएका श्रीमान फूलबहादुरको इच्छा अनुसार फेसबुक नचलाएको उनले बताइन् । ‘खोई किन हो । फेसबुक चलाउँछु भन्न खोज्दा कराउनु हुन्छ । किन चलाउनुपर्यो भन्छन्’ कक्षा ८ सम्म अध्ययन गर्नुभएका कृपाले भने, ‘आफ्नो श्रीमानले भनेको मान्नै पर्यो । फेसबुकमा देशभरका गतिविधि थाहा पाउँछन् भनिन्छ । मलाई पनि कुरा बुझ्न मन छ। म बुहारी भएकै कारण चलाउन पाउँदिन ।’ कपुरगाउँमा छोरीलाई फेसबुक चलाउन खुल्ला गरेपनि बुहारीले भने चलाउन पाएका छैनन् । फेसबुक चलाएर ज्ञानका कुरा सिक्ने र हेर्ने रहर बोकेका उक्त गाउँका बुहारीले आफ्नो इच्छा मनभित्रै लुकाएका छन् । गाउँकै आइतकुमारी विकले पनि फेसबुक चलाउनुहुन्न । गाउँमा रहेका अन्य दिदीबहिनीको फेसबुक हेरेर बस्ने गरेको उनले बताइन् । ‘७ कक्षा पढेको छु । मोबाइल चलाउन आउँछ । अक्षर चिनेको छु । फेसबुक पनि चलाउँकी जस्तो लाग्छ’ उनले भने, ‘श्रीमानले चलाउन दिनुहुन्न । फेसबुक कस्तो हुन्छ भनेर अरुको मोबाइलमा हेर्ने गरेको छु । चित्त बुझाएको छु ।’ एक वर्षअघि साउदी गएका श्रीमान धीरबहादुर विकले इमो चलाएपनि फेसबुक नचलाउ भन्ने गरेको उनले बताए । गाउँकै उमा विकको श्रीमान दिपेश साउदी गएको २ महिना भयो । श्रीमानसंग कुराकानीका लागि मोबाइल लिएका छन् । उनले पनि अरु बुहारीले जस्तै इमोमा कुराकानी गर्छन् । ‘यो गाउँका कुनैपनि बुहारीले फेसबुक चलाउँदैनन् । मैले मात्र के चलाउनु जस्तो छ । उनले भने, ‘फेसबुककै कारण कति महिला विग्रिएको सुनेका छौं । त्यसैले पनि हामीलाई चलाउन नदिनुभएको होला । बुढाले भनेको मान्नै प¥यो ।’ गाउँकी स्वास्थ्य स्वयंसेविका विष्णुमाया गुरुङका अनुसार कपुरगाउँका घरपिच्छे जस्तो युवा विदेश गएका छन् । कतिका श्रीमती बजार झरेका छन् । कति गाउँमै छन् । सबैको हात–हातमा मोबाइल भएपनि सामाजिक सञ्जाल (फेसबुक) कसैले चलाउन पाउँदैनन् । कतिलाई सासुससुरा त, कतिलाई श्रीमानले रोक्ने गरेको छ । उनले भने– ‘पढेलेखेका त चलाउँदैनन् । नपढेकाले कहाँबाट चलाउनु । फेसबुकले विकृति ल्यायो भनेर पनि होला श्रीमानहरुले चलाउन दिएका छैनन् ।’ बजार झरेका श्रीमतीहरु फेसबुकबाटै मायामा परी परिवारलाई विचल्ली पार्ने खबर आइरहेकाले श्रीमानले रोक लगाएको हुन सक्ने उनले बताइन् । गोरखापत्रबाट

सामाजिक सञ्जालः १० हजार लाइक गराउनुस्, ६० हजार कमाउनुस् !

काठमाडौं, चैत १० । अभिनेतृ स्वस्तिमा खड्कालाई अचेल रेडियो, टेलिभिजनभन्दा सामाजिक सञ्जालबाट विज्ञापन गरिदिन आग्रह आउँछन्। उनले केही दिनअघि मात्र आफ्नो फेसबुक र इन्स्टाग्राम एकाउण्टबाट विभिन्न मोबाइल फोन र सौन्दर्य प्रसाधनको विज्ञापन गरिदिइन्। उनले ‘माई लभ माई च्यालेन्ज’ का लागि पोस्ट गरेकी छिन्। विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि सुरु भएको छ। यसमा स्वस्तिमा जस्ता सेलिब्रेटीदेखि आम प्रयोगमार्फत वस्तु तथा सेवाको प्रचार गरिन्छ। यसवापत विज्ञापनदाताले इन्फ्लुएन्सर (जसले आफ्नो एकाउण्टमार्फत विज्ञापन गरिदिन्छन्) लाई पारिश्रमिक दिन्छन्। ‘ब्राण्डहरू सोसल मिडिया फोकस्ड भएक छन्’, स्वस्तिमाले भनिन्, ‘त्यसको पहुँच पनि ठूला भएकाले यसैबाट विज्ञापन गर्न थालिएको होला। यसमा सामाजिक सञ्जालका प्रयोगकर्तालाई दुई वर्गमा राखिएको छ। एकथरी ‘माइक्रो इन्फ्लुएन्सर’ हुन्छन् भने अर्का म्याक्रो इन्फ्लुएन्सर। माइक्रोमा सामाजिक सञ्जालका आम प्रयोगकर्ता पर्छन्, जसका साथी वाफलोअर्स धेरै हुन्छन्। ब्राण्डहरूले चाहनाअनुसार इन्फ्लुएन्सर छान्न सक्छन्। विदेशमा इन्फ्लुएन्सर जुटाइदिने कम्पनी हुन्छन्। हाल ब्राण्डहरूले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा सेलेब्रेटी इन्फ्लुएन्सलाई ६० हजार रुपैयाँ दिने गरेको बबवट्रेण्ड्लीकी वरिष्ठ ब्राण्ड सहायक लसता महर्जनले जानकारी दिइन्।

कसरी बढाउने सवारीसाधनको माइलेज? जान्नुहोस् तरिका

काठमाडौं । बजारमा पेट्रोलियम पदार्थको मूल्य चर्को छ । हामीले इन्धनका लागि दैनिक धेरै पैसा खर्च गरिहेका छौँ । यद्यपि, केही होसियारी अपनाउन सकेमा इन्धनमा लाग्ने खर्च हामीले केही कम गर्न सक्छौँ । यसका लागि हामीले हाँक्ने कार, मोटरसाइकल वा स्कुटरजस्ता सवारीसाधनको माइलेज बढाउने तरिका जान्न आवश्यक छ । बिहान सवारीसाधन स्टार्ट गरेपछि एक्सिलेटर दबाइरहनुहुँदैन । स्टार्ट गरेपछि एक्सिलेटर नदबाई छाडिदिनुपर्छ । त्यसपछि इन्जिनको टेम्प्रेचर गेज हेर्नुपर्छ । टेम्प्रेचर गेजको सुइ थोरै माथि उठेको छ भने इन्जिन २०–३० डिग्री सेल्सियस तात्यो भन्ने बुझ्नुपर्छ । अनि, सवारीसाधन चलाउन सकिन्छ । यसरी सवारीसाधन गुडाएमा ५ किलोमिटरसम्म दौडिँदा दुईगुणा इन्धन बचत हुन्छ । इन्जिनको नियमित परीक्षण गरी ठीक अवस्थामा राखे ६ प्रतिशतसम्म राम्रो माइलेज पाउन सकिन्छ। इन्जिनबाट कालो धुवाँ निस्कन्छ भने तेल बढी खपत भइरहेको छ भन्ने बुझ्नुपर्छ । र, तत्कालै परीक्षण गर्नुपर्छ  । सही गियरमा सवारीसाधन चलाउँदा २० प्रतिशतसम्म राम्रो माइलेज पाउन सकिन्छ । कच्ची र अप्ठ्यारो बाटोमा दौडिँदा तल्लो गियर र सहरी क्षेत्रमा दौडिँदा माथिल्लो गियर प्रयोग गर्नुपर्छ । सवारीसाधनलाई नियमित रूपमा ४० देखि ५५ किलोमिटर प्रतिघन्टाको औसतमा दौडाइरहने हो भने ४० प्रतिशतसम्म राम्रो माइलेज पाइन्छ । ६० किलोमिटर प्रतिघन्टाभन्दा बढी गतिमा दौडाउन थालियो भने इन्धन अनावश्यक बर्बाद हुन थाल्छ । यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

भारतमा किन सबैभन्दा सस्तो मोबाइल डेटा ?

काठमाडौँ (बिबिसी) । भारतमा मोबाइल फोनमा चलाइने डेटाको मूल्य घटेर न्यून विन्दुमा पुगेको छ। बीबीसीको पछिल्लो रिपोर्टअनुसार भारतमा मोबाइल ब्रोडब्यान्डको मूल्य विश्वकै सबैभन्दा सस्तो छ। त्यो कसरी सम्भव भयो भन्नेबारे बिबिसीमा प्रकाशित प्रविधि विश्लेषक प्रसान्तो के रोयको आलेख। मूल्यहरूको तुलना गर्ने ब्रिटेनस्थित एउटा वेबसाइटलाई उद्धृत गर्दै बीबीसीले आफ्नो रिपोर्टमा जनाएअनुसार भारतमा एक जीबी मोबाइल डेटाको ०.२६ अमेरिकी डलर पर्छ भने संयुक्त राज्य अमेरिकामा १२.३७ डलर, ब्रिटेनमा ६.६६ र विश्वमा औसत ८.५३ डलर पर्छ। तर धेरै भारतीय प्रयोगकर्ताहरू आफूले प्रतिजीबी ०.१० डलरभन्दा कम तिरिरहेका बताउँछन्। अमेरिका र ब्रिटेनस्थित प्रयोगकर्ताले सर्वेक्षणमा भनिएको भन्दा आफूहरूले कम मूल्य तिर्ने गरेको बताएका छन्। अन्तभन्दा धेरै सस्तो वास्तविक मूल्य जे भए पनि के कुरा प्रस्ट भने भारतमा मोबाइलमा चलाइने डेटा अन्यत्रभन्दा सस्तो नै छ। तर त्यो सधैँका लागि नहुन पनि सक्छ। केही भन्छन्- मोबाइल सेवा प्रदायक ठूला कम्पनीहरू नयाँ ग्राहक पाउने प्रतिस्पर्धामा रहेकाले कम मूल्य केही समयका लागि मात्रै हुन सक्छ। लन्डनस्थित एउटा लगानी कम्पनीमा काम गर्ने सौरभ सेनका अनुसार उनी आफ्नो मोबाइल सेवाका लागि प्रतिमहिना तीनदेखि चार कप कफीको मूल्य बराबर अर्थात् १३ डलर रकम तिर्छन्। त्यति तिरेपछि उनी ईयूमा रोमिङ र तीन जीबी डेटासहित ब्रिटेनमा असीमित भ्वाइस र टेक्स्ट सेवा पाउँछन्। सबैतिर वाईफाई निःशुल्क पाइने भएकोले उनलाई त्योभन्दा बढी डेटा आवश्यक पर्दैन। सस्तो दरमा उपलब्ध गराउने ब्रिटेनसँग केही योजना त छन्, तर सबैतिर वाईफाईको उपलब्धताले एशियासँगको वास्तविक तुलना गर्न गाह्रो भएको हो। आफू भारत जाँदा झन्डै ६.६३ डलरमा प्रतिएमबी पाउने उनी बताउँछन्, जुन स्थानीय प्रयोगकर्ताले तिर्नेभन्दा ७० हजार गुणा बढी छ। दिल्लीको बाहिरी भेगमा पर्ने गुडगाँवका रामनाथ मण्डल पेसाले सवारीचालक हुन्। असीमित निःशुल्क कलका लागि उनी प्रत्येक महिना तीन डलरभन्दा कम तिर्छन्। त्यति तिरेपछि उनी फोरजी डेटाको ४२ जीबी डेटामध्ये प्रतिदिन डेढ जीबी पाउँछन्। त्यसको प्रयोग उनी भिडिओ हेर्न र बिहारमा रहेका आफ्ना परिवार एवम् साथीहरूसँग ह्वाट्सएपमा कुराकानी गर्छन्। त्यो प्रतिजीबी छ सेन्ट पर्न आउँछ। यो रकम सेनले लन्डनमा फोरजीका लागि तिर्नेभन्दा ७० गुणाले सस्तो हो। निःशुल्क परीक्षण सेवा मण्डलले सेवा लिइरहेको रिलायन्स जियोबाट हो, यो कान्छो दूरसञ्चार सेवाप्रदायकले सस्तो, तीव्र गतिको मोबाइल डेटा र निःशुल्क कल सेवा उपलब्ध गराएर भारतीय बजारमा तहल्का मच्चाएको छ। जियो सन् २०१६ को सेप्टेम्बरमा निःशुल्क परीक्षण सेवासहित आक्रामक रूपमा बजारमा आएको थियो। ऊ छ महिनाभित्रै एक करोड ग्राहक बनाउन सफल भयो। दुई वर्षभित्रै जियो भारतको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी बनेको छ, जसको सन् २०१८ को डिसेम्बरसम्ममा २८ करोड प्रयोगकर्ता भएका छन्। उसले फिर्ता हुनेगरी २१ डलरमा फोरजी विशेषता भएको जियो फोन उपलब्ध गराउँछ। यो योजनाअन्तर्गत प्रतिमहिना एक डलरभन्दा पनि कम पर्न आउँछ। भारतको दूरसञ्चार नियामक निकाय टीआरएआईका अनुसार सन् २०१८ को डिसेम्बरको अन्त्यसम्ममा भारतमा मोबाइल ब्रोडब्यान्डका ५० करोड प्रयोगकर्ता छन्, तारसहितको ब्रोडब्यान्डका प्रयोगकर्ता चाहिँ एक करोड ८० लाख छन्। एक अर्ब १७ करोड मोबाइल प्रयोगकर्तामध्ये ५५ प्रतिशत सहरी क्षेत्रका छन्। मोबाइल ब्रोडब्यान्डको प्रयोगकर्ता सबैभन्दा बढी जियोबाट भएका छन्। देशको सबैभन्दा पुरानो दूरसञ्चार सेवाप्रदायक कम्पनीले जियोसँग प्रतिस्पर्धा गर्नुपर्‍यो। त्यसका लागि उसले फोरजीको मूल्य घटाउनुका साथै उपहारहरू दिने गरेको देखियो। दिल्लीमा काम गर्ने अर्का चालक कलिपदा सस्मलले जियोको सेवा लिने विचार गरे। तर उनले प्रयोग गर्ने एयरटेलले प्रतिमहिना छ डलरमा ४० जीबी डेटा, बचेको डेटा अर्को महिना प्रयोग गर्न मिल्ने र एक वर्षका लागि एमेजन प्राइमको भिडिओ सेवा दिने भयो। त्यसपछि उनी एयरटेलमै अडिग भए। जियोले भारतमा स्पष्ट रूपमा डेटाको मूल्यमा कमी ल्याएको छ। के बजारमा यो मूल्य कायम रहन सक्छ? विश्लेषकहरू भन्छन्, जियोले ग्राहक तान्न र प्रतिस्पर्धी कम्पनीलाई जित्न सहुलियत दिइरहेको छ। जियो सञ्चालनमा आउँदा भारतमा १० वटा दूरसञ्चार सेवाप्रदायक कम्पनी अस्तित्वमा रहेकोमा अहिले जम्मा चारवटा छन्। ‘डेटाको मूल्य बढ्नेछ‘ सेलुलर अपरेटर्स एसोशिएशन अफ इन्डियाका प्रमुख राजन म्याथ्युजका अनुसार अत्यधिक प्रतिस्पर्धाका कारण उपभोक्ताले आफूले चाहेको भन्दा पनि कम मूल्य तिर्नुपर्ने अवस्था भएको हो। “यदि सेवाप्रदायकहरूले नेटवर्कको पहुँच, गुणस्तर र नयाँ प्रविधिमा लगानी गर्ने हो भने डेटाको अहिलेको न्यून मूल्य कायम रहन सक्दैन।” जियोले आफ्नो क्षमताको पाँच भागको एक भागमात्र प्रयोग गरेको भन्दै रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीले अगाडि बढ्ने ठाउँ रहेको बताएका छन्। जियोका २१ करोड ५० लाख ग्राहक रहेका बेला गत जुलाईमा कम्पनीको वार्षिक साधारणसभामा बोल्दै उनले भने, “हामी अब अतिरिक्त लगानीविना पनि आफ्ना ग्राहक ठूलो सङ्ख्याले बढाउन सक्छौँ।” तर अति प्रतिस्पर्धाको स्थिति सधैँ रहन नसक्ने भएकोले डेटाको मूल्य बढ्ने सक्ने बताउँछन् डिजिटल अधिकारको पक्षमा वकालत गर्ने निखिल पाह्वा। अरू दूरसञ्चार सेवाप्रदायक कम्पनीले जियोबाट दबाव महसुस गरिरहेको बताइन्छ। पाह्वा भन्छन्, “जियो आउनुअघि बजारमा एक प्रकारको कार्टेलजस्तै थियो, जसले मूल्य उच्च राखे। मूल्यमा आएको गिरावटका कारण कतिपय कम्पनीहरू गाभिए र अहिले जम्मा चारवटा छन्।” जियो निकटस्थ एउटा स्रोतका अनुसार सो कम्पनीले तोकेको मूल्यमा सहुलियत दिइएको होइन, बरु आर्थिक रूपमा सम्भव कुरा नै हो। हुन त जियोको लामो परीक्षण सेवाअन्तर्गत नै करिब १० करोड ग्राहक बनेका हुन्। तर उसका ग्राहकले अरू कम्पनीका ग्राहकले भन्दा बढी खर्च गर्ने गरेको पाइएको छ। भारतमा चालक, खाना पकाउने कुक, आप्रवासी, विद्यार्थी र सबै प्रकारका कामदारले भिडिओ हेर्ने तथा शेयर गर्ने प्रवृत्ति बढेसँगै गत दुई वर्षमा औसतमा डेटा खर्च गर्ने दर १० प्रतिशतले बढेको छ। भारतीयहरूले प्रतिमहिना १० जीबीभन्दा बढी खर्च गर्ने गरेका छन्, जुन अमेरिकीहरूले प्रयोग गर्ने हाराहारीमै छ। सार्वजनिक स्थलमा निःशुल्क वाईफाईमा भारतीयहरूको पहुँच कमै छ। यद्यपि गुगल र रेलटेल कर्पोरेशनको रेलवायरले झन्डै ४०० रेल्वे स्टेशनमा उच्च गतिको निःशुल्क वाईफाई उपलब्ध गराइरहेको छ। प्रयोगकर्ताको मोबाइलमा अर्को कम्पनीको सिम भए पनि निःशुल्क भ्वाइस कलसेवा भएको जियोको प्रिपेड सेवा चाहिँ मेरुदण्डको रूपमा रहेको छ, अहिलेका लागि विश्वकै सबैभन्दा सस्तो मोबाइल डेटा।  

सुनौलो हजार दिनका आमालाई निःशुल्क सिमकार्ड वितरण

बेझाड, चैत ४ । पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेमा सुनौलो हजार दिनका ५० आमालाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । स्वास्थ्य पोषण कार्यक्रमअन्तर्गत यहाँका सुनौलो हजार दिनका ५० आमालाई स्मार्ट सिमकार्ड वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिए । स्वास्थ्य, पोषणसम्बन्धी सन्देशमूलक सूचना एकापसमा आदानप्रदान गरी सिमकार्डको सही सदुपयोग गर्न उनले आग्रह गरे । पछौटेपन उन्मूलन समाज (बेस) नेपालअन्तर्गत सञ्चालित सुआहाराको सहयोगमा सीम कार्ड वितरण गरिएको हो । बच्चा गर्भमा रहेको दिनदेखि एक हजार दिन अर्थात जन्मिएको दुई वर्षसम्मका आमाहरुबीच निःशुल्क मोबाइलमा कुरा गरी स्वास्थ्य र पोषणसम्बन्धी सूचनामूलक सन्देश पनि पाउन सकिने सहजकर्ता भगीसरा सुनारीले बताए । सीम कार्डमा रु २० को बोनस र एक सय मेगाबाइट डाटा रहेको छ । यसैगरी पूर्वखोला गाउँपालिका–२ जल्पामा पनि २४ जना सुनौलौ हजार दिनका आमाहरुलाई स्मार्ट सीमकार्ड वितरण गरिएको छ ।