एभरेष्ट दैनिक

जनताका समस्या समाधानमा जिम्मेवार बन्न कर्मचारीलाई अध्यक्ष ओलीको आग्रह

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या समाधनका लागि जिम्मेवार बन्न कर्मचारीलाई आग्रह गरेका छन्। बिहीबार महिला सशक्तीकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताका समस्या समाधन गर्न कर्मचारीले विभिन्न वहाना देखाएर बाधक बन्न नहुने बताएका छन् । उनले सुकुम्वासीहरूको व्यवस्थापनका लागि तीनै तहको सरकार उत्तरदायी हुनुपर्ने बताए । उनले भत्काउने नभई बनाउने अभियान चलाउनुपर्ने बताए।  उनले भने, ‘सुकुम्वासी बस्तीमा हामीले डोजर देखाएर आतङ्क फैलाइरहेका छौँ । डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या समाधान गर्न र व्यवस्थापन गर्नतिर लाग्न आवश्यक छ । सुकुम्वासी कहिल्यै पनि विकासका बाधक हुन सक्दैनन् । उनीहरूलाई व्यवस्थापनका लागि लाग्न आवश्यक छ ।’ जनताका समस्या समाधानका लागि कर्मचारीतन्त्र बाधक भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले गरिब विरुद्ध डोजर चलाउन रोक्नुपर्ने बताए ।  उनले भने, ‘अहिले हामी सरकारमा आएका छौँ । तर विभिन्न वहानामा कर्मचारीतन्त्र बाधक बनिरहेका छन् ।  जनताका समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्न चाहन्छु । लोकतन्त्रमा जे पनि गर्न मिल्दैन ।  सुकुम्वासी समस्या व्यवस्थापन गर्नुपर्छ र समाधान गरेर जानुपर्छ ।’ आफू प्रधानमन्त्री हुँदा भोकमरीले कोही पनि मर्न नदिने कसमको खाएको उल्लेख गर्दै उनले सरकारले सबैभन्दा बढी जोड गरिबी निवारणमा दिएको र दिनुपर्ने औँल्याए ।  उनले भने, ‘सरकारले सबभन्दा बढी जोड गरिबी निवारणमा दिनुपर्दछ । मैले प्रधानमन्त्री हुँदा भनेको थिए भोकमरीले कोही मर्दैनन् । अर्को पटक प्रधानमन्त्री हुँदा पनि गरिबी निवारणका लागि धेरै काम गरेको छु । सडकमा मान्छे भोकै सुत्दापनि सरकार चलाएको छु भन्न मिल्छ रु देश र जनताले भोगिरहेका समस्याप्रति गम्भीर हुन म सबैलाई आग्रह गर्दछु । सुकुम्वासीलाई व्यवस्थापन गर्नुपर्दछ । जहाँसुकै जाऊ भन्न मिल्दैन ।’