कोरियन विद्यालयहरूमा फैलिएको डीपफेक पोर्न संकट
गत शनिबार, हिजिनाको फोनमा एकजना अपरिचित व्यक्तिबाट टेलिग्राम सन्देश आयो। "तिम्रा तस्वीरहरू र व्यक्तिगत जानकारी मसँग छन् कुरा गरौं।" सन्देश पाउनिबित्तिकै विश्वविद्यालयको विद्यार्थी रहेकी हिजिना जब च्याटरूममा प्रवेश गरिन्, उनले केही वर्ष अघि हुँदा खिचेको आफ्नो तस्बिर देखिन्। त्यसपछि, त्यही तस्बिरलाई प्रयोग गरेर बनाइएको अर्को तस्बिर प्राप्त गरिन्, जुन यौनजन्य, अश्लील र नक्कली थियो।
डरले आतंकित भएकी हिजिनाले केही जवाफ फर्काइनन्, तर तस्बिरहरू आउने क्रम भने रोकिएन। सबै तस्बिरहरूमा उनको मुहारलाई यौन क्रियामा संलग्न रहेको कुनै अर्कै व्यक्तिको शरीरमा जोडिएको थियो, डीपफेक प्रविधिको प्रयोग गरेर।
डीपफेक भनेको नयाँ विकसित प्रविधि हो, जसमा कृत्रिम बौद्धिकता प्रयोग गरेर वास्तविक व्यक्तिको अनुहारलाई नक्कली र यौनजन्य किसिमले अश्लील क्रियाकलाप गरिरहेको शरीरसँग जोडिन्छ।
"म निकै डराएकी थिएँ, आफूलाई एक्लो महसुस गरें," हिजिनले बीबीसीलाई बताइन्।
तर उनी एक्लै थिइनन्। दुई दिन अघिमात्रै दक्षिण कोरियाली पत्रकार को नारिनले आफ्नो करियरको सबैभन्दा ठूलो समाचार प्रकाशित गरेकी थिइन्। हालैमात्र प्रहरीले देशका दुई प्रमुख विश्वविद्यालयहरूमा डीपफेक पोर्न कांडहरूको अनुसन्धान गरिरहेको खबर आएको थियो, र पत्रकार को नारिनले यस विषयमा थप खोजी समाचार बनाउने उल्लेख गरेकी थिइन ।
उनले सामाजिक सञ्जालमा खोजी गर्न थालिन् । टेलिग्राम म्यासेजिङ एपमा दर्जनौं यस्ता च्याट समूहहरू फेला परे, जहाँ प्रयोगकर्ताहरू आफूले चिनेका महिलाहरूको तस्बिरहरू साझा गर्दै थिए । यतिमात्रै नभएर ती तस्वीरहरुलाई नक्कली पोर्नोग्राफिक तस्बिरहरूमा परिणत गर्न एआई सफ्टवेयर प्रयोग गरिरहेका थिए।
सुश्री कोले पत्ता लगाइन् कि यी समूहहरूले विश्वविद्यालयका विद्यार्थीहरूलाई मात्र लक्षित गरेका थिएनन्। कलेज र माध्यमिक विद्यालयहरूका लागि पनि च्याट रुमहरु थिए। यदि कसैले विशेष विद्यार्थीको तस्बिर प्रयोग गरेर धेरै सामग्री बनाइमा उसका लागि बेग्लै च्याट रुम दिने गरिन्थ्यो । ती रुमहरुलाई "साथीको साथी रुम" भनेर लेबल गरिएको थियो, जसमा प्रवेश गर्न कडा शर्तहरू हुन्थे।
सुश्री कोको ह्याङ्क्योरेह अखबारमा प्रकाशित रिपोर्टले दक्षिण कोरियामा ठूलो आक्रोश फैलाएको छ। सोमबार, प्रहरीले फ्रान्सका अधिकारीहरूको नेतृत्वलाई पछ्याउँदै, टेलिग्रामको अनुसन्धान गर्ने घोषणा गरेको छ। सरकारले यसमा संलग्नहरूलाई कडा सजाय दिने प्रतिवद्धता जनाएको छ।
डीपफेक पोर्न संकटले कोरियाली समाजमा ठूलो चर्चा र आक्रोश उत्पन्न गरेको छ, र यसले प्रविधिको दुरुपयोग र यौन दुर्व्यवहारको चुनौतीलाई झन् प्रष्ट पारेको छ।
बीबीसीले टेलिग्रामसँग लागि यस विषयमा सम्पर्क गरेपनि टेलिग्रामले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि, यसअघि टेलिग्रामले बीबीसीलाई गैरकानूनी क्रियाकलापहरू, जस्तै बाल यौन दुरुपयोगको खोजीमा सक्रिय रहेको बताएको थियो। टेलिग्रामले अगस्ट महिनामा मात्रै ४५,००० समूहहरू विरुद्ध कारबाही गरेको दाबी गरेको छ।
सङ्गठित र व्यवस्थित प्रक्रिया
बीबीसीले यी च्याटरूमहरूमा रहेका विवरणहरू हेरेको छ। एउटा च्याटरुममा सदस्यहरूलाई कसैको चार वा सोभन्दा बढी तस्बिरहरू, साथै नाम, उमेर र उनीहरू बस्ने क्षेत्र पोस्ट गर्न भनिएको छ। "यो प्रक्रिया यतिविधि व्यवस्थित र सङ्गठित भएको देख्दा म चकित परें," पत्रकार कोले भनिन्। "मैले पत्ता लगाएको सबैभन्दा डरलाग्दो कुरा भनेको एक विद्यालयका किशोरहरूका लागि बनाइएको समूह थियो जसमा २ हजार भन्दा बढी सदस्यहरू थिए।"
पत्रकार कोको लेख प्रकाशित भएको केही दिनमै महिला अधिकार कार्यकर्ताहरूले पनि टेलिग्राममा खोजी गर्न थाले र विभिन्न सुराकहरू पछ्याउन थाले। हप्पतादिनमैं ५ सय भन्दा बढी विद्यालय र विश्वविद्यालयहरूलाई लक्षित गरेका रुमहरु फेला परे । यद्यपी यी रुमहरुबाट कतिजना प्रभावित भए र कति पीडित छन् भन्ने अझै पुष्टि हुन बाँकी छ । तर धेरैजसो पीडितहरू १६ वर्षभन्दा कम उमेरका छन् । दक्षिण कोरियामा सहमतिजन्य यौनसम्बन्धका लागि १६ वर्ष पुगेको हुनुपर्दछ। धेरैजसो संदिग्ध अपराधीहरू आफैँ किशोर रहेको विश्वास गरिएको छ।
हिजिनाले यो संकटको परिणामबारे थाहा पाउँदा आफ्नो चिन्ता झनै बढेको बताइन् । किनकि अब उनले आफ्नो डीपफेकहरू के कति मानिसहरूले हेरेका होलान् भनेर चिन्ता लाग्न थाल्यो। सुरुमा उनले आफैँलाई दोष दिइन्, "मैले नै आफ्नो तस्बिरहरू सामाजिक सञ्जालमा अपलोड गरेँ, के म बढी सतर्क हुनुपर्थ्यो? यस्ता कुरा बारम्बार दिमागमा घुमिरहेँ"
यतिखेर देशभरका धेरै महिला र किशोरीहरू डराएर आफ्ना तस्बिरहरू सामाजिक सञ्जालबाट हटाएका छन् । कतिपयले त आफ्ना खाताहरू नै बन्द गरेका छन्, किनकि उनीहरू शोषणमा पर्न सक्ने डर छ।
"हामीले केही गल्ती नगर्दा पनि आफ्नो व्यवहार र सामाजिक सञ्जालको प्रयोगलाई नियन्त्रण गर्नुपर्दा निराश र आक्रोशित भएका छौँ," हिजिनाको विश्वविद्यालयका एक विद्यार्थी आ-उनले भनिन्, जसका सहपाठीहरूलाई लक्षित गरेर भिडियो बनाइएका थिए।
यस संकटको केन्द्रमा टेलिग्राम म्यासेजिङ एप छ। सार्वजनिक वेबसाइटहरू भन्दा फरक, जसमा अधिकारीहरूले सजिलैसँग पहुँच गर्न सक्छन्, टेलिग्राम भने निजी इनक्रिप्टेड म्यासेजिङ एप हो। प्रयोगकर्ताहरू प्रायः अज्ञात हुन्छन्, कोठाहरूलाई "गोप्य" मोडमा सेट गर्न सकिन्छ, र तिनीहरूको सामग्री छिटै कुनै प्रमाणबिना मेटिन्छ। यसले आपराधिक क्रियाकलापहरू फस्टाउनका लागि उपयुक्त ठाउँ बनेको छ।
गत हप्ता, राजनीतिज्ञहरू र प्रहरीले यी अपराधहरूको अनुसन्धान गर्ने र अपराधीहरूलाई न्यायमा ल्याउने वाचा गर्दै बलियो प्रतिक्रिया दिए। सोमबार, सियोल राष्ट्रिय प्रहरी एजेन्सीले बालबालिकाको नक्कली पोर्नोग्राफिक तस्बिरहरू वितरण गर्न टेलिग्रामको भूमिकामा अनुसन्धान गर्ने योजना बनाएको घोषणा गरेको छ।
तर, महिला अधिकार कार्यकर्ताहरूले दक्षिण कोरियाली अधिकारीहरूलाई टेलिग्राममा यौन दुर्व्यवहारलाई लामो समयसम्म अनियन्त्रित राखेको आरोप लगाएका छन्, किनकि कोरियाले यस संकटको सामना पहिले नै गरेको थियो। २०१९ मा, टेलिग्राम प्रयोग गरेर महिलाहरू र बालबालिकाहरूलाई यौन हिसाबले अश्लील तस्बिरहरू बनाउन र बाँड्न बाध्य बनाउने सेक्स रिङको खुलासा भएको थियो।
त्यतिबेला प्रहरीले टेलिग्रामसँग उनीहरूको अनुसन्धानमा मद्दतको लागि अनुरोध गरेको थियो, तर एपले तिनीहरूको सातवटा अनुरोधहरूलाई बेवास्ता गर्यो। यद्यपि, मुख्य आरोपीलाई ४० वर्षभन्दा बढीको जेल सजाय दिइयो, प्लेटफर्म विरुद्ध कुनै कारबाही गरिएन, किनकि सेन्सरशिपको डर थियो।
"मुख्य अपराधीहरूलाई सजाय दिए, तर अन्यथा यो परिस्थितिलाई बेवास्ता गरियो, र मलाई लाग्छ कि यसले स्थितिलाई झन् बढाएको छ," सुश्री कोले भनिन्।
सन् २०१९ मा Nth Room सेक्स रिङलाई उजागर गर्ने विद्यार्थी पत्रकार पर्क जिह्युनले डिजिटल यौन अपराधका पीडितहरूको लागि राजनीतिक वकालत गर्दै आएकी छन्। डीपफेक स्क्यान्डल सार्वजनिक भएपछि, विद्यार्थीहरू र अभिभावकहरूले उनलाई दिनमा धेरैपटक फोन गरेर रुँदै सहयोग मागिरहेको उनले बताइन।
"उनीहरूले सामाजिक सञ्जालमा साझा गरिएको सूचीमा आफ्नो विद्यालय देखेका छन् र डराएका छन्।"
सुश्री पर्कले दक्षिण कोरियामा एपलाई नियमन वा प्रतिबन्ध गर्न सरकारसँग आह्वान गर्दै आएकी छन्। "यदि यी प्राविधिक कम्पनीहरूले कानूनी प्रवर्तन एजेन्सीसँग सहयोग गर्न सक्दैनन् भने, राज्यले आफ्ना नागरिकहरूलाई जोगाउन तिनीहरूलाई नियमन गर्नुपर्छ," उनले भनिन्।
यो संकट विस्फोट हुनुअघि नै, दक्षिण कोरियाको अनलाइन यौन दुर्व्यवहार पीडितहरूको पक्षमा काम गर्ने केन्द्र (ACOSAV) ले उमेर नपुगेका डीपफेक पोर्नोग्राफीका पीडितहरूको संख्यामा तीव्र वृद्धि देखिरहेको थियो। २०२३ मा, तिनीहरूले ८६ पीडितहरूलाई परामर्श दिएका थिए। यस वर्षको पहिलो आठ महिनामा त्यो संख्या २३८ भएको छ।
केन्द्रकी एक नेतृ, पर्क सोंघ्येले हप्तादेखि उनका कर्मचारीहरू फोनमा लगातार व्यस्त रहेका र चौबीसै घण्टा काम गरिरहेको बताइन। "यो हाम्रो लागि पूर्ण आपतकालीन स्थिति भएको छ, जस्तो युद्धको अवस्था" उनले भनिन्।
नयाँ डीपफेक प्रविधिसँगै पहिले भन्दा धेरै भिडियो सामग्रीहरू बनेको र अझै बढ्ने चिन्ता रहेको उनले बताइन्। पीडितहरूको परामर्श दिनुको साथै, केन्द्रले हानिकारक सामग्रीहरूको खोजी गर्छ र तिनीहरूलाई हटाउन अनलाइन प्लेटफर्महरूसँग काम गर्छ। पर्कले केही घटनामा टेलिग्रामले उनीहरूको अनुरोधमा सामग्री हटाएको बताइन "त्यसैले यो असम्भव छैन," उनले नोट गरिन्।
महिला अधिकार संगठनहरूले नयाँ एआई प्रविधिले पीडितहरूको शोषण गर्न सजिलो बनाएको बताउँछन् । तर उनीहरू यो घटना दक्षिण कोरियामा अनलाइन मार्फत महिलाविरोधीको नयाँ रूप भएको तर्क गर्छन। यसअघि महिलाहरूलाई अनलाइन मौखिक दुरुपयोगको सामना गर्नुपर्यो। त्यसपछि सार्वजनिक शौचालय र लुगा फेर्ने कोठाहरूमा गुप्त रूपमा फिल्म बनाइएको स्पाई क्याम महामारी आयो।
"यसको मूल कारण संरचनात्मक लैङ्गिक असमानता हो र समाधान लैङ्गिक समानता हो," ८४ महिला समूहहरूले हस्ताक्षर गरेको एक विज्ञप्तिमा भनिएको छ।
यसैबीच, सरकारले डीपफेक तस्बिरहरू सिर्जना गर्ने र साझेदारी गर्नेहरूलाई आपराधिक सजाय बढाउने र पोर्नोग्राफी हेर्नेहरूलाई पनि सजाय दिने बताएको छ।
अपराधीहरूलाई पर्याप्त सजाय नदिएको आलोचनापछि यो कदम चालिएको हो। अपराधीहरूको बहुमत किशोर वयका नागरिक छन् । जुन सामान्यतया युवा अदालतहरूमा सुनुवाइ हुन्छ, जहाँ उनीहरूले बढी सजाय पाउँछन्।
च्याटरूमहरू सार्वजनिक भएपछि, धेरै च्याटरूमहरू बन्द गरिएका छन्, तर नयाँहरू पक्कै पनि तिनीहरूको स्थानमा देखा पर्नेछन्। पत्रकारहरूले यो कथा कभर गरेका पत्रकारहरूलाई लक्षित गर्न एउटा अपमान कोठा पहिले नै सिर्जना गरिएको छ। सुश्री को, जसले यो समाचार तोडे, यो देखेर रातमा सुत्न नसकेको बताइन्। "म तस्बिर अपलोड गरिएको छ कि छैन भनेर हेर्न बारम्बार कोठा जाँचिरहन्छु," उनले भनिन्।
यस्तो चिन्ता लगभग हरेक किशोरी केटी र दक्षिण कोरियाका युवतीहरूमा फैलिएको छ। विश्वविद्यालयकी छात्रा आ-उनले भनेकी छिन् कि यसले उनका पुरुष साथीहरूप्रति उनलाई शङ्कालु बनाएको छ।
"म अब कि मानिसहरूले मेरा पछाडि, मलाई थाहा नदिईकन यी अपराधहरू गर्लान किन नगर्लान भनेर निश्चित हुन सक्दिनँ" उनले भनिन्। "म सामाजिक सञ्जालमा सबैसँगको अन्तरक्रियामा अति सतर्क भएकी छु, जुन राम्रो कुरा होइन।"
बिबिसीमा प्रकाशित जीन मेकेन्जी र लिह्युन केइको अनुवादित रिपोर्ट
चीनद्वारा दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय
काठमाडौं । चीनको एक सैन्य अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ । सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्री रहेका वेई फेङ्हे र सन् २०२३ मा केही महिना मात्र उक्त पद सम्हालेका उनका उत्तराधिकारी ली शाङ्फुलाई बिहीबार घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो । लीमाथि घुस दिएको अभियोग पनि प्रमाणित भएको बताइएको छ । दुवैलाई दुई वर्षको ‘रिप्रिभ’ अर्थात् निलम्बनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । साथै, उनीहरूलाई ‘प्यारोल’को सुविधा नदिइने अदालतले जनाएको छ । चीनमा यस्तो सजाय प्रायः दुई वर्षपछि स्वतः आजीवन कारावासमा परिणत हुने प्रचलन रहेको छ । चीनको सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार, दुवैको राजनीतिक अधिकार आजीवनका लागि खोसिएको छ भने उनीहरूको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गरिनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट मानिएका ली शाङ्फु मन्त्री नियुक्त भएकै वर्ष अर्थात् सन् २०२३ मा अन्य धेरै उच्च सैन्य अधिकारीहरूसँगै सार्वजनिक जीवनबाट अचानक गायब भएका थिए । सन् २०१२ मा सी चिनफिङ सत्तामा आएपछि सुरु गरिएको भ्रष्टाचारविरुद्धको शुद्धीकरण अभियानअन्तर्गत हालसम्म लाखौँ अधिकारीहरू कारबाहीमा परिसकेको बताइएको छ । विभिन्न रिपोर्टअनुसार केही उच्च पदस्थ अधिकारीहरूको हिरासतकै क्रममा मृत्यु समेत भएको छ ।
इरानी कार्गो जहाज अमेरिकाले कब्जा गरेपछि चीनको विराेध
काठमाडौं । अमेरिकी सेनाले इरानी झण्डावाला कार्गो जहाजलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ । सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सम्बन्धित पक्षहरूलाई जिम्मेवार भई युद्धविराम सम्झौता पालना गर्न आग्रह गरे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले होर्मुज जलमार्गको अवस्था संवेदनशील र जटिल रहेको बताएका छन् । सम्बन्धित पक्षहरूले थप तनाव बढ्न नदिई होर्मुज क्षेत्रमा सामान्य पारवहन सुचारु गर्न आवश्यक वातावरण बनाउनुपर्ने चीनले बताएको छ । साथै सबै पक्षलाई युद्धविराम र वार्ताको गतिलाई निरन्तरता दिन आग्रह गरेको छ । “अहिले शान्तिको अवसर खुलेको छ, त्यसैले युद्धलाई छिट्टै अन्त्य गर्न अनुकूल परिस्थिति निर्माण गरिनुपर्छ,” प्रवक्ता गुओले भने । अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी तोड्ने प्रयास गरेकाले उक्त इरानी कार्गो जहाजमाथि गोलीबारी गरी नियन्त्रणमा लिएको बताएको थियो ।
अण्डमान सागरमा डुंगा दुर्घटना : २५० रोहिङ्ग्या र बंगलादेशी बेपत्ता
एजेन्सी । बंगलादेशबाट मलेशिया जाँदै गरेको एक डुंगा हिन्द महासागरको पूर्वी भागमा पर्ने अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा परेका उनीहरू रोहिङ्ग्या र बंगलादेशी नागरिक रहेका छन् । बीबीसीका अनुसार माछा मार्ने प्रयोजनले प्रयोग गरिने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो । तीव्र हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिस सवार भएका कारण डुंगा डुबेको जनाइएको छ । बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार अप्रिल ९ मा आफ्नो एक जहाजले दुर्घटनामा परेका ९ जनाको उद्दार गरेको थियो । डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे भने स्पष्ट जानकारी प्राप्त भएको छैन । रोहिङ्ग्या म्यानमारको मुसलमान अल्पसंख्यक समुदाय हो । सन् २०१७ मा म्यानमारमा भएको हिंसात्मक अभियानपछि ठूलो सङ्ख्यामा रोहिङ्ग्या बंगलादेशमा शरण लिएका थिए । बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्यालाई नागरिकता दिइँदैन । बंगलादेशमा कठिन अवस्था भएका कारण धेरै रोहिङ्ग्या जोखिमपूर्ण समुद्री यात्रा गरेर मलेशिया पुग्ने गरेका छन् । बंगलादेश कोस्ट गार्डले उद्दार गरेका मध्येका एक ४० वर्षीय रफिकुल इस्लामले उद्दार हुनुअघि आफू ३६ घण्टासम्म समुद्रमा तैरिनुपरेको बताएका छन् । मलेशियामा काम पाइने आशामा आफू यो जोखिमपूर्ण यात्रामा निस्किएको उनको भनाइ छ ।
ट्रम्पद्वारा इरानसँग युद्ध अन्त्य गर्नका लागि यसै हप्ता वार्ता पुनः सुरु हुने सङ्केत
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै हप्ता वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका छन् । गत शनिबार इस्लामावादमा भएको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएलगत्तै अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको थियो । ट्रम्पले न्युयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “तपाईंहरू त्यहीँ (इस्लामावाद) रोकिनुपर्छ, किनकि आगामी दुई दिनभित्र केही हुन सक्छ र हाम्रो झुकाव पनि त्यसतर्फ बढी छ ।” उनको यो अभिव्यक्ति यस्तो बेला आएको हो जब अमेरिकी सेनाले होर्मुज जलसन्धिमा नाकाबन्दी लागू गरेको पहिलो २४ घण्टाभित्र त्यहाँबाट कुनै पनि जहाज नगएको दाबी गरेको छ । यस गतिरोधले दुई हप्ते युद्धविराम सम्झौता सकिन लाग्दा थप प्रश्न उठाएको छ । इरानतर्फबाट ट्रम्पको भनाइमा अझै कुनै प्रतिक्रिया आएको छैन । तर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ‘धेरै सम्भावना’ रहेको बताएका छन् । तेल बजारमा राहत खाडी क्षेत्र, पाकिस्तान र इरानका अधिकारीहरूले पनि अमेरिका र इरानका टोलीहरू यसै सप्ताहान्तमा पाकिस्तान फर्कन सक्ने बताएका छन्, यद्यपि कुनै मिति तय भइसकेको छैन । यो जानकारी रोयटर्स समाचार एजेन्सीले दिएको हो । दुवै पक्षबीच वार्ताको सम्भावना बढेपछि तेल बजारलाई केही राहत मिलेको छ । मङ्गलबार तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा तल झरेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको हवाई आक्रमणपछि इरानले विश्वका लागि अत्यन्त महत्त्वपूर्ण तेल तथा ग्यास परिवहन मार्ग होर्मुज जलसन्धिलाई प्रभावकारी रूपमा बन्द गरेको थियो । अहिले एक दर्जनभन्दा बढी अमेरिकी युद्धपोत र करिब १०,००० अमेरिकी सैनिकले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा बाहिरिने जुनसुकै देशका जहाजहरूमाथि नाकाबन्दी लागू गरिरहेका छन् । यसले इरानको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ । के नाकाबन्दी प्रभावकारी छ ? यो कदमको मुख्य उद्देश्य इरानमाथि दबाब बढाउनु हो । इरानको आम्दानीका दुई मुख्य स्रोत— तेलबाट हुने आम्दानी र होर्मुज जलसन्धिबाट उठाइने टोल— लाई निशाना बनाइएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी लागू भएको पहिलो २४ घण्टामा ६ वटा व्यापारिक जहाजले अमेरिकी निर्देशन पालना गर्दै इरानी बन्दरगाहतर्फ फर्किएको दाबी गरेको छ । तर बीबीसी भेरिफाईको जहाज ट्र्याकिङ डेटाको विश्लेषणअनुसार नाकाबन्दी भए पनि इरानसँग सम्बन्धित कम्तीमा चारवटा मालवाहक जहाज होर्मुज जलसन्धि पार गरेका छन् । तीमध्ये दुईवटा जहाज पहिले नै इरानी बन्दरगाहमा थिए । गत शनिबार र आइतबार इस्लामावादमा भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेन । अमेरिकाको भनाइअनुसार इरानले उसका सर्तहरू स्वीकार गरेन । इरानको आणविक महत्त्वाकांक्षा नै मुख्य अवरोध बनेको थियो । एक अमेरिकी अधिकारीले बीबीसीको साझेदार सीबीएस न्युजलाई बताएअनुसार अमेरिकाले इरानलाई २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा निलम्बन गर्न आग्रह गरेको छ । तर इरानले भने ५ वर्षसम्म मात्र रोक्ने प्रस्ताव गरेको छ । आर्थिक मन्दीको खतरा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस युद्धले विश्व अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बीबीसीसँग भनेका छन्, “विश्वभर लामो समयसम्म शान्ति र सुरक्षा कायम राख्ने सर्तमा थोरै आर्थिक पीडा स्वीकार्य छ ।” मङ्गलबार चीनले भने यस नाकाबन्दीलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ भन्दै तनाव अझ बढाउने चेतावनी दिएको छ । चीनको भनाइ छ— पहिलेदेखि नै कमजोर रहेको युद्धविराम सम्झौता होर्मुजको नाकाबन्दीले थप कमजोर हुनेछ । यसैबीच, इजरायल र लेबनानले मङ्गलबार वासिङ्टनमा भएको वार्तापछि सिधा वार्ता सुरु गर्न सहमति जनाएका छन् । इरान समर्थित हिज्बुल्लाहलाई निशाना बनाएर इजरायलले लेबनानमा गरेको हवाई आक्रमणपछि यो पहल भएको हो । यो बैठक सन् १९९३ पछि दुवै देशबीच भएको पहिलो सिधा वार्ता थियो । लेबनानी राजदूतले यसलाई ‘सकारात्मक’ भनेका छन् भने इजरायली राजदूतले यसले ‘शान्तिको नयाँ युग’ को बाटो खोल्न सक्ने बताएका छन् । एक अमेरिकी अधिकारीले जोड दिँदै भनेका छन्— इस्लामावादमा भएको अमेरिका–इरान वार्ता र वासिङ्टनमा भएको इजरायल–लेबनान वार्ताबीच कुनै सम्बन्ध छैन ।

