एभरेष्ट दैनिक

साउन १५ देखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन अर्थमन्त्री महतको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्तिकभित्र ठेक्का लगाइसक्न सचिवहरुलाई निर्देशन दिएका छन् । सबै मन्त्रालयका सचिवसँग अर्थ मन्त्रालयमा सामूहिक छलफल गर्दै मन्त्री महतले साउन १५ देखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिनका लागि यस्तो निर्देशन दिएका हुन् । छलफलमा मन्त्री महतले डिपिआर भइसकेका आयोजनाको मात्रै ठेक्का प्रक्रियामा जाने गरी काम गर्न पनि निर्देशन दिए । उनले डिपिआरको मात्र बजेट माग्ने अथवा प्राथमिकताको आयोजना हो भने डिपिआर गरेर कार्तिकसम्म ठेक्का लगाउन सकिन्छ भने मात्र आयोजना अगाडि बढाउन निर्देशन दिए । मन्त्री डा. महतले आवश्यकता र श्रोतका बीचमा ठूलो खाडल भएकाले श्रोत सुनिश्चिता नभएको आयोजना अगाडि नबढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् ।