मनाङमा मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोर्खा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ । यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मिप्रा गाउँ नजिकैको छिप्ली भिरमा झुन्डिएका भिर मौरीका चाकाको सिकार गर्न ज्यानै जोखिममा राखेर डोरीमा झुन्डिएर मह सिकार गर्दछन् । यस कार्यले यहाँका स्थानीयका साथै पर्यटकलाई पनि आकर्षित गरेको छ । गाउँको पुर्ख्यौली पेसाकै रूपमा अगाडि बढाउन सकिने गरी भिर मौरीको मह काढ्ने कार्यमा संलग्न हुँदै आएको स्थानीय बताउँछन् ।

स्थानीयले भिर मौरीको मह काढ्ने परम्परालाई निरन्तरता दिँदै आएका सिकारी टेकबहादुर गुरुङ बताउँछन् । विगतमा ज्येष्ठ नागरिकको मात्रै सहभागिता रहने मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरणलाई प्राथमिकता दिइएको उनी बताउँछन् ।

“भिर मौरीको मह औषधीका रूपमा प्रयोग हुन्छ । औषधिको रूपमा उपयोग गर्न जोखिम मोलेर भिरबाट मह काढ्ने गरेका छौँ”, गुरुङ भन्छन्, “भिर मौरीको महको माग पनि बढी छ ।” वर्षमा दुई पटक मह काढ्ने गरिएको उनले बताए ।

गुरुङले भने, “पहिलो चरणमा मह वैशाखको अन्तिम सातादेखि जेठको दोस्रो साताभित्र निकाल्नुपर्ने हुन्छ भने दोस्रो चरणमा असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो सातामा निकालिसक्नुपर्छ । शुक्रबार मात्रै मह काढ्ने चलन छ ।” मह धेरै भएको समयमा भने दुई दिन लगाएर मह निकाल्ने गरिएको उनी बताउँछन्।

मौरीको सिकार गर्न तिथिमिति जुराएर जङ्गलबाट निगालो ल्याउने र चोया बनाई लठ्ठा बनाउने गरिन्छ । आगोमा तताउँदै लठ्ठाबाट गाउँले मिलेर भर्‍याङ बनाउने गर्दछन् । एक पटक बनाइएको भर्‍याङ तीन/चार वर्षसम्म उपयोग गर्न सकिन्छ ।

यसरी बनाइएको भर्‍याङ मह निकाल्न (काढ्न) गाउँले एकसाथ भिरमा मह सिकारका लागि जाने गर्दछन् । विश्वकै साहसिक पेसाको रूपमा परिचय बनाएकाले मह सिकार हेर्न विदेशी पर्यटकको आकर्षण बढ्दै जानुका साथै यस गाउँको आयआर्जनको माध्यम बनेको सिकारी मिनबहादुर गुरुङ बताउँछन् ।

“पहिला पहिला त मुख मात्रै छोपेर मह निकालिन्थ्यो, अहिले त शरीर पूर्ण रूपमा छोपेर मह निकाल्ने गरेका छौँ”, उनले भने, “यसले जोखिमबाट जोगाएको छ ।”

मौरीले कम चिल्दा थेरापीको रूपमा काम गर्छ भने बढी चिलेमा मानिसको ज्यानै जान सक्ने जोखिम हुने गुरुङले बताए। पहिलेदेखि नै औषधिको रूपमा प्रयोग गरिँदै आएको भिर मौरीको मह स्थानीयकै घरमा सीमित हुने गर्दथ्यो । मानवीय विकाससँगै पहिरनमा परिवर्तन हुँदै जाँदा शरीरमा पुरा कपडाले ढाकिने चलन बढ्नुका साथै सुरक्षित तवरबाट मह सिकारमा पनि सहज हुँदै गएको स्थानीयको भनाइ छ । पहिले स्थानीयको सहभागितामा मात्रै निकालिने मह अहिले विदेशीको आकर्षण बढ्दै गएको गुरुङ बताउँछन् ।

हाल भिर मौरीको मह सिकार गरेको हेर्न विदेशी आउने गरेको स्थानीय बताउँछन् । पर्यटकलाई आकर्षित गर्दै प्राकृतिक र साहसिक कार्यलाई जीवन्त राख्न निरन्तरता दिनुपर्ने टर्कीका नागरिक केमल बताउँछन् । “यस्तो चिल्ने मौरीको मह सिकार जोखिमयुक्त छ । तर, यहाँका स्थानीयको साहसिकताले लोभ्यायो”, उनले भने, “प्राकृतिक जोखिम मोले जस्तै यसलाई आयआर्जनसँग जोड्न सक्नुपर्छ ।”

आश्चर्य चकित पार्ने गरी स्थानीयले मह निकालेको देख्दा डर लागेको केमल बताउँछन् । “म त निकालेको महमा केही मौरी बसेको देख्दा पनि डराएको थिए । नेपाली साहसी छन्, नेपालीको बारेमा जुन बयान सुनिएको थियो त्यो आफ्नै आँखाले देख्न पाइयो”, उनी भन्छन् ।

भिर मौरीको मह काढ्ने परम्परा मात्रै नभएर मह औषधिजन्य भएकाले अझ माग बढी हुने गरेको छ । त्यसैले यसलाई निरन्तरता दिन आवश्यक छ । प्राकृतिक उपजको रूपमा विकास गर्दै आयआर्जनको माध्यम बनाउन संरक्षण र प्रवर्द्धन गर्नुपर्ने अवस्था देखिन्छ । यस परम्परालाई जीवन्त राख्दै विदेशीको आकर्षणको केन्द्र बनाउने प्रयासमा सबैको ध्यान जानुपर्ने हुन्छ ।

बाख्रापालनबाट स्वरोजगार, वार्षिक लाखौँ आम्दानी

म्याग्दी । मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन्। पचास वर्षीय पुनले वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन गरेर स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । “घरमै भएका दुई वटा माउ बाख्राबाट सुरु गरेको फार्ममा अहिले पाठापाठी, खसिबोका र माउबाख्राको सङ्ख्या ४८ वटा पुगेको छ”, उनले भने, “वार्षिक १५ देखि २० वटाको हाराहारीमा बिक्री हुन्छ ।” बाख्रापालन सुरु गरेपछि घरव्यवहार चलाउन र छोराछोरीको पठनपाठनमा सहज भएको पुनले बताए । सामाजिक काममा पनि आबद्ध पुन बाख्रापालन सुरु गर्नुअघि परम्परागत खेतीकिसानी र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका थिए । उनलाई बाख्रापालनमा श्रीमतीले पनि सघाइरहेकी छिन्। अठार महिनादेखि दुई वर्षको खसीलाई तौलअनुसार १५ देखि २० हजार मूल्य पार्न सकिने पुनले बताए । बाबियाचौर, तातोपानी र बेनी बजारमा मासुका लागि खसीबोका बिक्री हुन्छ । धार्मिकस्थल मालिकामा बलि चढाउनका लागि पनि बोका, पाठा लैजाने गर्छन् । खसीबोकाकै हाराहारीमा पाल्ने किसानहरु पनि पाठापाठी किन्न आउँछन् । पुनले विसं २०७८ मा हिदी बाख्रापालन फार्म स्थापना गरेर व्यवसाय सुरु गरेका थिए। स्थानीय जमुनापारी जातको बाख्राको नश्ल सुधार गरेर पाठापाठी उत्पादन गर्न उन्नत बोयर जातको बोका पालेका छन् । बोयर बोकाबाट नश्ल सुधार गरेका पाठापाठी छिटो बढ्ने, तौल धेरै हुने भएकाले आम्दानी वृद्धिका लागि सहज भएको पुनको अनुभव छ । उक्त फार्ममा बाख्राको ब्यवस्थित खोर निर्माणका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु पाँच लाख अनुदान सहयोग गरेको थियो । मङ्गला गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा उन्नत बोयर जातको एक वटा बोका उपलब्ध गराएको छ । फार्म स्थापनाका क्रममा लागेको रु १० लाख ऋण पनि खसीबोका र पाठापाठी बेचेर तिरिसकेको पुनले बताए । बाख्राको खोरभित्र फरक–फरक उमेर समूहका बाख्रा, बोका, खसी र पाठापाठी राख्ने छुट्टाछुट्टै कोठाहरु छन् । बधुवा प्रणालीबाट बाख्रापालन गरेका पुनले आहराका लागि बहुवर्षीय डालेघाँस खेती गरेका छन् । घाँसखेती विस्तार र बाख्रापालनलाई थप व्यवस्थित गरेर निरन्तरता दिने पुनले बताए । 

पाेखरा महानगरकाे अतिक्रमित जग्गा खाली गर्न ३५ दिने सूचना

कास्की । पोखरा महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली  गर्न ३५ दिनको सूचना जारी  गरेको छ ।  नगर क्षेत्रभित्रका सार्वजनिक, ऐलानी र पर्ती जग्गामा अनधिकृत रूपमा बनाइएका भौतिक संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो । शुक्रवार महानगरले वैशाख ३ गतेको कार्यपालिका निर्णयको आधारमा एक सूचना जारी गर्दै पहुँचका आधारमा कब्जा गरिएका जग्गा खाली गर्न अन्तिम चेतावनी दिएको हो । लामो समयदेखि सार्वजनिक जग्गा मिचेर विभिन्न व्यक्ति तथा संस्थाहरूले कार्यालय सञ्चालन गर्ने, भवन बनाएर भाडामा लगाउने र पर्खाल घेरेर निजी बनाउने गरेको जनगुनासो आएपछि महानगरले यस्तो कदम चालेको जनाएको छ ।‘सार्वजनिक जग्गा संरक्षणमा ऐक्यबद्धता जनाई हालसम्म निर्माण भएका संरचना सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफैँ खाली गर्न वा हटाउन सूचित गरिन्छ,’ महानगरद्वारा  जारी सूचनामा उल्लेख छ। महानगरका अनुसार विभिन्न स्थानमा पहुँचका भरमा सार्वजनिक सम्पत्ति दोहन गरी व्यापारिक र संस्थागत संरचना बनाइएको तथ्य फेला परेको छ । तोकिएको समयसीमाभित्र संरचना नहटाए महानगर आफैँले कानुनी प्रक्रिया बमोजिम हटाउने र त्यसको खर्चसमेत सम्बन्धित पक्षबाटै असुल गर्ने संकेत गरेको छ । महानगरले सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षणका लागि सबै नगरवासीलाई सहयोग गर्न समेत आग्रह गरेको छ । पोखरामा पछिल्लो समय सार्वजनिक जग्गा र फेवाताललगायतका खोला किनारका मिचिएका क्षेत्र खाली गराउने अभियान चल्दै आएको छ ।

ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला

मुस्ताङ । घरपझोङ गाउँपालिकाले पन्ध्र दिने घरपझोङ मूर्तिकला कार्यशाला शुभारम्भ गरेको छ । घरपझोङ गाउँपालिकाको आयोजना तथा ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्यमा मूर्तिकला कार्यशाला आयोजना गरिएको हो । मुस्ताङ जिल्लाको समग्र धार्मिक तथा सांस्कृतिक सम्पदा एवं यहाँको मौलिकता, रहनसहन, जैविक विविधतालाई झल्काउने गरी मूर्तिकलामार्फतबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मूर्तिकला कार्यशाला गरिएको हो । कालिगण्डकी नदीमा पाईने विशाल ढुङ्गालाई बाहिर निकालेर मूर्तिकारहरूले यहाँको मौलिकता झल्किने सृजनालाई मूर्तिकलाको स्वरूपमा बदल्ने भएका छन् । कालगण्डकी नदीमा पाइने ढुङ्गालाई छनौट गरी मूर्तिकला कुद्न दर्जनौँ ढुङ्गामा जोमसोममा एकक्रित गरी सङ्कलन गरिएको छ । सीमित स्रोत मात्रै उपलब्ध भएकाले अपेक्षा गरे अनुरुपका ढुङ्गाहरु सङ्कलन गर्न सकिएको छैन । घरपझोङ गाउँपालिकाले सङ्कलन गरी राखेका कालिगण्डकी विशाल ढुङ्गामा विभिन्न प्रकारका मूर्तिहरुको आकृति कोरिने योजना रहेको छ । घरपझोङ मूर्तिकला कार्यशालाका लागि ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा २१ मूर्तिकार र एक दर्जन बढी सहयोगी मूर्तिकार मुस्ताङ आई पुगेर काम सुरु गरिसकेको ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले जानकारी दिए । कालिगण्डकी नदीका ढुङ्गाहरूमा यहाँको जीवन्त मौलिक कलासंस्कृतिलाई मूर्तिकलामार्फत उजागर गरिने प्रमुख महतोले बताए । यहाँको मौलिक पहिचान र कलाकारको सृजनालाई मूर्तिकलाको माध्यमबाट मूर्त रूप दिइने छ । धार्मिक तथा पर्यटकीय जिल्लाको रूपमा रहेको मुस्ताङलाई यहाँको पर्यटन विकासमा योगदान पुग्ने गरी १५ दिने कार्यशालाले ठुलो टेवा पुर्‍याउन सक्ने प्रमुख महतोको भनाइ छ । घरपझोङ मूर्तिकला कार्यशाला २१ वैशाखसम्म चल्ने छ । ढुङ्गामा कुदिने मूर्तिकलाबाट यहाँको भगवान विष्णुको स्वरुप शालिग्राम, भगवान नारायण,बुद्ध र गुरु पद्मसम्भव अर्थात गुरु रिन्पोर्छे, घरपझोङको पहिचान घरपझोङ किल्लाको आकृति कोरिने बताइएको छ । यसैगरी कालिगण्डकी नदीका ढुङ्गाहरूमा यहाँको धर्मसस्कृति, रहनसहन, हिउँ चितुवा, याकचौरीलगायतका यहाँको पर्यावरणको सम्पूर्ण प्रतिनिधित्व झल्काउने गरी मूर्तिकारहरूले आफ्नो सृजना पस्किने प्रमुख महतोले उल्लेख गर्नुभयो । यहाँको मूर्तिकला कार्यशालामा कार्य अवधिभर २१ ठूला आकारका ढुङ्गामा मूर्तिकला सृजना प्रस्तुत हुनेछन् । यसका अलावा तोकिएको अवधिभन्दा अघि नै ढुङ्गामा मूर्तिकलाको काम सकिएमा थप अरू ढुङ्गाहरूमा क्रमशः मूर्तिकला कुद्ने लक्ष्य राखिएको छ । घरपझोङ मूर्तिकला कार्यशालाले मुस्ताङको पर्यटन प्रवर्द्धनमा ठुलो योगदान पुर्‍याउने गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । मुस्ताङको कालिगण्डकी नदीमा पाइने सबै ढुङ्गाहरु स्वतः शालिग्राम रहेको उल्लेख गर्दै अध्यक्ष लालचनले पर्यटकहरूको घुमफिर गर्ने बसाइ लम्बाउने उद्देश्यले मूर्तिकला कार्यशाला चलाइएको बताए । मुस्ताङमा अधिकांश धार्मिक पर्यटक हिन्दू धर्मालम्बीको रहेकाले यहाँको पवित्र ढुङ्गा (शीला) मा हिन्दू तथा बौद्ध धर्मको समान अस्तित्व रहने गरी मूर्तिकारले आफ्ना सृजना कोर्ने कार्यक्रम रहेको छ । कोरला नाका, उपल्लो मुस्ताङ र मुक्तिनाथ दर्शन गरी फर्किने पर्यटकहरू सिधै गन्तव्यतर्फ प्रस्थान गर्ने भएकाले मूर्तिकलाको प्रस्तुतिले पर्यटकहरूको बसाइ लम्बाउन सहयोग पुग्ने विश्वास गरिएको छ । घरभफोङ गाउँपालिका कार्यालय नजिकैको खुला प्राङ्गणमा मूर्तिकला सुरु गरिएको छ । यसका लागि घरपझोङ गाउँपालिकाले ढुङ्गा र विद्युत् व्यवस्थापन मिलाएको छ । काठमाडौँकी मूर्तिकार अनमारी तामाङले मुस्ताङको उच्च उचाइको स्थानमा पहिलो पटक मूर्तिकला प्रस्तुत गर्न आइपुगेको जानकारी दिइन् । तराई र पहाडका क्षेत्रमा मूर्तिकला कोर्ने अनुभवभन्दा यहाँको मूर्तिकला अनुभव केही फरक रहेको बताइन् । यहाँको हावाहुरी र चिसोका कारण मूर्तिकला कुद्न केही असहज हुने मूर्तिकार तामाङले उल्लेख गरिन् । घरपझोङ मूर्तिकला कार्यशालामा कोरिएका ढुङ्गालाई जोमसोम बजारको कालीगण्डकी नदीको दायाँबायाँ किनारामा पार्क निर्माण गरी प्रतिस्थापन गर्ने जनाइएको छ । सोमबारदेखि सुरु गरिएको मूर्तिकला कार्यशालामा अहिले मूर्तिकारहरूले यहाँको ढुङ्गाहरुको अध्ययन गर्ने र मूर्तिकलाका लागि सेफ तयार गर्ने लगायतका काम गरेको बताइएको छ । ढुङ्गामा कोरिएका मूर्तिकलाबाट समग्र मुस्ताङ जिल्लाको पहिचानलाई झल्काउने कार्यशालाको मूल उद्देश्य रहेको छ ।

पर्यटकको पर्खाइमा म्याग्दीको पाउद्वार मुर्ताला गुफा : जहाँ ढुङ्गामै देखिन्छन् देव-आकृति

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-५ मा रहेको पाउद्वार मुर्ताला धार्मिक गुफा पर्यटक र पूर्वाधारको पर्खाइमा छ। स्थानीयवासीले 'पाउद्वार मुर्ताला धार्मिक गुफा' नामकरण गरेको यस गुफाभित्र अनौठा दृश्यहरू अवलोकन गर्न सकिन्छ। पाउद्वारका बासिन्दा जसे पुनका अनुसार दुईतले गुफाभित्र विभिन्न देवीदेवता, मानिसको शरीरका अङ्ग, शिवलिङ्ग, जनावरका थुन, खुर, सिङजस्ता आकृतिहरू अवलोकन गर्न सकिन्छ, तर यो गुफा ओझलमा परेको छ। "गुफाभित्र मूर्तिकारले पहाडको चट्टान कुँदेर बनाएजस्ता विचित्रका दृश्यहरू देख्दा अनौठो लाग्छ," उनले भने, "स्थानीय स्तरमा सीमित यो गुफाको धार्मिक तथा ऐतिहासिक महत्त्वको विषयमा अध्ययन, संरक्षण, व्यवस्थापन, पूर्वाधार निर्माण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न हामी पाउद्वारवासी जुटेका छौँ।" यहाँ गणेश, शिवलगायत हिन्दु धर्मावलम्बीहरूका देवीदेवताका आकृतिहरू पनि भेटिन्छन्। तपतप गरेर पानी चुहिरहने यो गुफा करिब १० मिटर लामो भएको स्थानीय बताउँछन्। गुफाभित्र अँध्यारो हुने भएकाले बत्ती अथवा टर्चलाइट बाल्नुपर्छ। टेक्ने भुइँ चिप्लो र गुफा होचो भएको हुँदा घोप्टो परेर हिँड्नुपर्छ र अवलोकन गर्दा सावधानी अपनाउनुपर्छ। स्थानीयवासीबाहेक बाहिरका पर्यटकहरू हालसम्म यस गुफाको अवलोकन गर्न नआएको पुनले बताए। पाउद्वार गाउँदेखि सवारीसाधनमा १० मिनेट र त्यसपछि २० मिनेट पैदल हिँडेपछि झारवाङको छेउमा रहेको यस गुफामा पुगिन्छ। यसअघि गुफासम्म पुग्ने पदमार्ग थिएन, निगालोको झ्याङ समाएर गुफासम्म पुग्नुपर्ने अवस्था थियो। गुफा नजिकको झारवाङ खोलामा पुल पनि थिएन। तर, अहिले पाउद्वारकी पुर्जा रोकाले आफ्नी आमा जैसराले पाउने 'पेन्सन' बापतको रकम खर्चेर गुफासम्म जाने करिब ३०० मिटर पदमार्ग निर्माण गरिदिएकी छन्। उक्त पदमार्ग निर्माणमा पाउद्वारवासीले श्रमदान गरेका छन्। त्यस्तै, झारवाङदेखि गुफासम्म ५०० मिटर तार तानेर विद्युत् पनि विस्तार गरिएको छ। अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. तीन लाख बजेटबाट झारवाङ खोलामा आठ मिटर लामो ट्रस पुल निर्माण भएको छ। गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी पुनले उक्त गुफाभित्रका आकृतिहरू देखेर अनौठो महसुस भएको बताइन्। गुफाको विषयमा विस्तृत अध्ययन-अनुसन्धान गरेर धार्मिक र ऐतिहासिक तथ्यहरूको खोजी थालिएको पनि उनले बताइन्। त्यहाँका बासिन्दाले केही दिनअघि मात्रै उक्त गुफालाई 'पाउद्वार मुर्ताला धार्मिक गुफा' नामकरण गरेका हुन्।

वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति

म्याग्दी । चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन्।  म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल तथा अन्नपूर्ण  गाउँपालिका–४ मै रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि उनीहरूले अनुमति लिएका हुन्।  धौलागिरि आरोहणका लागि दुई समुहका आठ  महिलासहित १७ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ। विभागले पछिल्लो पटक जारी गरेको विवरणअनुसार अन्नपूर्ण हिमाल आरोहणका लागि चार  समूहका आठ महिलासहित २७ जनाले अनुमति लिएका छन्। धौलागिरि आरोहण अनुमतिबापत रु ७५ लाख ६४ हजार ६५० र अन्नपूर्णको आरोहण अनुमतिबाट रु एक करोड २० लाख ४९ हजार १७५ रोयल्टी प्राप्त भएको विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले जानकारी दिइन्। उनका अनुसार वसन्तयाममा अन्नपूर्ण धौलागिरिसहित हालसम्म १२ हिमाल आरोहण गर्न २४  समूहका १७० जनाले अनुमति लिँदा रु १० करोड ८७ लाख ३० हजार रोयल्टी सङ्कलन भएको छ। दैनिकजसो आरोहण अनुमति लिनेहरूको सङ्ख्या थपिँदै गएको छ।  गत शरदयाममा धौलागिरि हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए भने अन्नपूर्ण आरोहणको अनुमति कसैले पनि लिएका थिएनन्। गत वर्षको वसन्त याममा धौलागिरि आरोहण गर्न दुई समूहका १५ जना र अन्नपूर्ण चढ्न ६६ जनाले अनुमति लिएका थिए। अन्नपूर्ण र धौलागिरि हिमालको आधार शिविरमा आरोहीको टोली पुगेर आरोहणको तयारी थालेको छ। 

कास्कीमा जिप दुर्घटनामा दुईको मृत्य, १२ जना घाइते

पाेखरा । जिप दुर्घटनामा परी शनिबार लमजुङमा दुईजनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।  बेँसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप दुर्घटनामा परी मर्स्याङ्दी- ७, उस्ताकी ४० वर्षीया त्रिवेणी घले र ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उस्ता जाँदै गरेको जिप उकालो बाटोको घुम्ती पार गर्ने क्रममा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो। जिपमा १४ जना सवार रहेकोमा दुर्घटनापछि उनीहरूलाई उद्धार गरी बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारका क्रममा चिकित्सकले दुईजनालाई मृत घोषणा गरेका थिए। अन्य १२ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ।  घाइतेमध्ये सात वर्षका बालक सफल गुरुङ, ४० वर्षकी विमलादेवी घले र ३३ वर्षकी रिता गुरुङको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ। अन्य घाइतेहरू चालक २९ वर्षका करण अधिकारी,१० वर्षकी प्रिशिका गुरुङ,६२ वर्षका सन्तबहादुर घर्ती, ३८ वर्षका सोमलाल तामाङ र ४८ वर्षका रुद्रमान घलेको अवस्था मध्यम रहेको छ भने११ वर्षका रितेश गुरुङ, ३१ वर्षका प्रकाश गुरुङ, १४ वर्षका विमान घले, ९ वर्षकी इन्द्र घलेको अवस्था सामान्य रहेको छ। दृर्घटना किन र के कारणले भयो अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत लाजुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको लार्जुङखोला र कैह्कुखोलामा २०/२० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेमकुमार बैठाले दुई वटै पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेको बताए । वि।स। २०८१ वैशाख ११ मा लार्जुङखोलाको पुल बनाउन एस.के. धौलागिरीसँग रु. एक करोड ९७ लाख ६३ हजार एक सय ३५ र कैह्कुखोलाको पुल बनाउन बि.के.–के.सी.–जि.सी. जेभीसँग रु. पाँच करोड ३४ लाख ६३ हजार छ सय २४ मा ठेक्का सम्झौता गरेको थियो । यसअघि दुई वटै पुल बनाउन विसं २०७५ मा रु. छ करोड ५४ लाखमा ठेक्का सम्झौता गरेको गणपति निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता वि.स. २०८० चैतमा तोडेर अधुरो काम सम्पन्न गराउन नयाँ ठेक्का लगाइएको थियो । ५०/५० प्रतिशत भौतिक प्रगति भएको अवस्थामा पुलको ठेक्का तोडिएको थियो । पर्वतको लामढुङ्गा देखि चीनको सिमानामा रहेको कोरला नाका सम्म दुई सय दुई किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत हालसम्म १५ वटा मोटरेबल पुल निर्माण सकिएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा एक वटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । छ बेलिब्रिज निर्माण भएको छ ।

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथाम थालिएको छ । भिरालो जमिनमा सिँढी जस्तो तहको ढाँचारमा स्थिर बनाएर पहिरो नियन्त्रण गर्ने विधिलाई प्राविधिक भाषामा ‘बेञ्चिङ’ भनिन्छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले सिरुबारीमा वर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अस्थायी समाधानका लागि अल्पकालीन रूपमा कम खर्चमा पहिरो रोकथाम गर्न सकिने उक्त विधि अपनाएको हो । आयोजना प्रमुख तेजस्वी शर्माले अस्थायी रूपमा सिरुबारीको पहिरो रोकथाम गरेर आगामी वर्खामा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालन गरिने जानकारी दिइन् । “सिरुबारीको ३०० मिटर दुरीको पहिरोको दीर्घकालीन समाधानका लागि आवश्यक रु ६० करोड बजेटको स्रोत सुनिश्चितता हुन नसकेपछि आयोजनाले आन्तरिक स्रोतबाट अस्थायी रूपमा पहिरो रोकथाम सिरु गरेको हो”, उनले भनिन्, “भिरालो पाखाको पहिरोलाई सिधै सडकमा खस्न नदिनका लागि डोजर परिचालन गरेर काम थालिएको छ ।” सिरुबारीमा सडकदेखि एक किलोमिटर माथिसम्मको जमिन पहिरोमा परिणत भएको छ । सडकभन्दा तल कालीगण्डकी नदी छ । पछिल्लो तीन वर्षयता वर्खायाममा सिरुबारीको सडकमाथिबाट पहिरो खसेर दैनिक जसो बेनी–जोमसोम सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा कोरला नाकाबाट नेपाली बजारमा सामान ल्याएर आउने कन्टेनर, मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयहरू बीच बाटोमै रोकिएर अलपत्र पर्ने समस्या छ । बेनी–जोमसोम सडकको अन्य ठाउँका ठूला पहिरो नियन्त्रणका लागि काम थालिए पनि सबैभन्दा ठुलो सिरुबारीको पहिरो रोकथामका लागि बजेट अभावमा काम हुन सकेको थिएन । सडकभन्दा माथि बीच भागमा दुई ठाउँमा डोजरले सम्माएर पहिरोलाई सिधै खस्न नपाउने गरी सम्माइएको छ । करिब १७ मिटर फराकिलो पारिने सडकको डिलतर्फ सात मिटर छाडेर कुनातर्फको १० मिटरमा पर्खाल लगाएर पहिरो थुप्रिने ठाउँ बनाइने आयोजना प्रमुख शर्माले बताइन् ।

प्याकेजमा समेटिँदै पोखरादेखि मुक्तिनाथसम्मका पर्यटकीय गन्तव्य

गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशले पर्यटन यातायातका माध्यमबाट पोखरादेखि हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय गन्तव्य समेट्ने भएको छ । पोखरादेखि मुस्ताङसम्मका धार्मिक पर्यटकीय गन्तव्यलाई यही चैत १ गतेदेखि पर्यटन यातायातका माध्यमबाट समेट्न लागिएको सङ्घका अध्यक्ष दुर्गादत्त दाहालले जानकारी दिए । गण्डकी प्रदेश धार्मिक पर्यटनको गन्तव्य भएको बताउँदै उनले यहाँको धार्मिक पर्यटनको प्रवर्द्धन र विकासलाई सङ्घले प्राथमिकतामा राखेको उनले बताए । पोखराबाट मुक्तिनाथसम्मका गन्तव्यलाई एउटै यात्रामा अवलोकन गर्न पाउने गरी सङ्घले सुलभ दरमा आकर्षक प्याकेजसहित मुक्तिनाथ दर्शनको सेवा सुरु गर्न लागेको कार्यक्रम संयोजक एवं सङ्घका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । पोखरादेखि मुक्तिनाथसम्म यात्राका क्रममा बाटोमा पर्ने धार्मिक पर्यटकीय गन्तव्यलाई एउटै प्याकेजमा समेट्न लागिएको उनले बताए । “हामीले पोखरादेखि मुक्तिनाथसम्मको दुई दिने प्याकेज तयार गरेका छौँ”, उनले भने, “पहिलो दिन पोखराबाट दृश्यावलोकन सहित पर्यटकहरू कुस्मा बजार, बागलुङ कालिका मन्दिर, गलेश्वर मन्दिर दर्शनका साथै तातोपानी, मार्फा गाउँ अवलोकन गर्दै जोमसोम पुग्नेछन् भने दोस्रो दिन जोमसोमबाट कागबेनी हुँदै मुक्तिनाथको दर्शन गरी पोखरा फर्कन्छन् ।” प्रयोग गरिने सवारीसाधनसँगै होटलको खाना र खाजाको अवस्थाअनुसार न्यूनतम दुई हजार ९९९ रुपैयाँदेखि तीन हजार ९९९, चार हजार ९९९ र पाँच हजार ९९९ रुपैयाँसम्मका प्याकेज निर्धारण गरिएको उनले जानकारी दिए । पछिल्ला समयमा देशका विभिन्न स्थानबाट आउने पर्यटकसँगै भारतीय पर्यटक र अन्य विदेशी मुलुकका पर्यटकहरू ठुलो सङ्ख्यामा मुक्तिनाथ पुग्ने गरेको संघका सल्लाहकार एवं पूर्वअध्यक्ष बोबरजङ्ग गुरुङले बताए । स्वदेशी एवं विदेशी पर्यटकको सुविधालाई दृष्टिगष्त गरी उक्त क्षेत्रमा सुरु गरिएको आकर्षक प्योकजसहितको कार्यक्रमले पर्यटकलाई सुविधा पुग्ने र यसले पर्यटकको आगमन बढाउने विश्वास लिइएको उनले बताए । उनका अनुसार सङ्घअन्तर्गत आबद्ध १२४ सदस्यहरूले विभिन्न सुविधा सम्पन्न पर्यटक सवारीसाधन सञ्चालन गर्दै आएका छन् ।

पोखरामा ६ टनभन्दा बढी मकैको बीउ अनुदानमा वितरण

कास्की । पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ । महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ एक हजार १०० किलो, अरुण–२ जातको बीउ तीन हजार १०० किलो र मनकामना–३ जातको बीउ दुई हजार १० किलो वितरण गरिएको छ । प्रतिकिलो रु ११० पर्ने मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । अनुदानमा बीउ वितरणका लागि महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेकामा निवेदन दिएका ५०० भन्दा बढी किसानलाई बीउ उपलब्ध गराइएको उनले जानकारी दिए। महानगर क्षेत्रमा करिब छ हजार हेक्टरमा मकैखेती हुने गरेको उनले बताए । 

गुराँस हेर्न बागलुङमा रायराँयकोट

बागलुङ । बागलुङको रायराँयकोट यतिबेला चर्चामा छ। गुराँसको जङ्गलबिच रहेको धार्मिक तथा पर्यटकीयस्थल रायराँयकोटमा पूर्वाधार थपिएसँगै त्यहाँ पुग्ने पर्यटक बढेका हुन् । रायराँयकोटमा सडक, विद्युत्लगायतका पूर्वाधारको विकास भएको छ भने सत्तल पनि निर्माण भएको हो। रायराँयकोट पञ्चकोटसँग जोडिएकाले पनि पर्यटक आकर्षित गर्न सहज भएको हो । बागलुङ नगरपालिका–७ बौलुङमाथिको डाँडामा रहेको रायराँयकोट आसपासको क्षेत्र गुराँसले ढकमक्क भएको स्थानीय लालबहादुर गौतमले बताए । यहाँ वैशाख र जेठमा स्थानीय समुदायले वर्षादेवका रुपमा समेत पूजाआजा गर्दै आएका छन्। बागलुङ नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट यहाँको पूर्वाधार निर्माणमा सहयोग आएको छ । अहिले त्यहाँ सडक पुगेकाले सहज भएको छ । स्थानीय गौतमले भने, “पदमार्ग, खानेपानी, शौचालय र सत्तलजस्ता धार्मिक पूर्वाधारहरु निर्माण भएका छन्, अहिले गुराँससँग फोटो खिच्ने, टिकटक बनाउने र हिमशृङ्खला हेर्न यहाँ आउने बढेका छन्।” गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयअन्र्तगत रायराँयकोटमा अहिलेसम्म रु २० लाखको पूर्वाधार निर्माण भइसकेको छ । मन्दिरको छाना छाउने, पुरानो घण्टी संरक्षण, सत्तल निर्माण, पर्खाल निर्माण र मैदान बनाइएको छ । यस्तै पञ्चकोटदेखि संसारकोट पुग्ने पदमार्ग निर्माणका लागि रु ५० लाख बजेट सङ्घीय सरकारबाट आएको छ ।

जाडाे सकिएपछि खुले तल्लो मुस्ताङका विद्यालय

मुस्ताङ । यहाँस्थित तल्लो मुस्ताङका विद्यालय दुई महिनापछि खुलेका छन् । हिउँदयाममा चिसोका कारण बन्द भएका यहाँको बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय साेमबारदेखि खुलेको शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङले जनाएको छ। यहाँका विद्यालयहरुले अर्धवार्षिक परीक्षा सकेर पुस महिनाको पहिलो हप्ता विद्यार्थीहरुलाई जाडो बिदा दिएको थियो । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेका अनुसार ती क्षेत्रमा १८ वटा विद्यालय छन्। मुस्ताङमा हिउँदयाममा पूरै विद्यालय बन्द गरेका शैक्षिक संस्थाले ४५ दिनको सरकारी बिदा र १५ दिनको सट्टा बिदा कटौती गर्ने गरी दुई महिना विद्यालय बन्द गर्ने गरेका छन्। त्यसैगरी जाडो छल्न बेँसी झरेका माथिल्लो मुस्ताङका विद्यालयहरुले ४५ दिने सरकारी बिदा गरेर वैशाख महिनामा साविकको स्थानमा शैक्षिक पठनपाठन सुरु गर्ने गर्छन्।

तनहुँमा ६ हजार मत बदर

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा ६ हजारभन्दा बढी मत बदर भएको छ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी ६ हजार २५२ मत बदर भएको हो । जिल्ला निर्वाचन कार्यालय तनहुँले सबै वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि मत बदर हुने क्रम नरोकिएको जनाएको छ । तनहुँ क्षेत्र नम्बर १ मा दुई हजार ७३० र क्षेत्र नम्बर २ मा तीन हजार ५२२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । क्षेत्र नम्बर १ अन्तर्गत एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १४९ मत खसेको थियो । त्यसमध्ये ६५ हजार ४१९ मत सदर भएको छ ।क्षेत्र नम्बर २ अन्तर्गत ६६ हजार १०० मत खसेकामा ६२ हजार ५७९ मत सदर भएको छ । मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर भएको लम्सालको भनाइ छ ।

पराजयपछि पनि पर्वतकाे विकास र जनसरोकारमा समर्पित रहने तिमिल्सिनाको प्रतिबद्धता

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्पन्न भएपछि पर्वतबाट उम्मेदवार रहनुभएका मनहरि तिमिल्सिनाले जनताको मतप्रति सम्मान व्यक्त गर्दै विकास र जनसरोकारका मुद्दामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। निर्वाचनको परिणाम सार्वजनिक भएपछि उहाँले एक सन्देश जारी गर्दै लोकतान्त्रिक प्रक्रियामा जनताको सहभागिता महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सागर भुसाल लाई बधाई दिँदै उहाँले सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्नुभएको छ। तिमिल्सिनाले देशव्यापी रूपमा परिवर्तनको पक्षमा जनमत व्यक्त भएको उल्लेख गर्दै त्यस्तो जनभावनाप्रति आफू पूर्ण रूपमा सम्मानित रहेको बताउनुभयो। देश, समाज र जनताको हितमा हुने सकारात्मक परिवर्तनका प्रयासमा आफू सधैं साथमा रहने उहाँको भनाइ छ। उहाँले चुनावी अभियानका क्रममा सार्वजनिक गरिएका प्रतिबद्धता र विकासका अवधारणाप्रति आफू अझै इमानदार र प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। ती विषयहरू केवल चुनावी नारा नभई आफ्नो राजनीतिक दायित्व र नैतिक जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभयो। राष्ट्रिय राजनीतिक परिस्थितिका कारण आगामी पाँच वर्ष विकास–निर्माणमा नेतृत्वदायी भूमिका निर्वाचित प्रतिनिधिको काँधमा आएको भन्दै उहाँले सांसद भुसालले पर्वत जिल्लाको विकासमा सकारात्मक र जनपक्षीय काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ। त्यस्ता रचनात्मक काममा आफूले सधैं सहयोग गर्ने पनि उहाँले बताउनुभयो। तिमिल्सिनाले आफूलाई मत दिने, मत नदिने वा विविध कारणले मत दिन नसक्ने सबै नागरिकप्रति समान व्यवहार राख्ने प्रतिबद्धता दोहोर्याउँदै लोकतन्त्रमा सबै नागरिक समान हुने धारणा व्यक्त गर्नुभयो। उहाँले चुनावी अभियानमा सक्रिय रूपमा खटिएका पार्टीका कार्यकर्ता, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै प्रतिकूल परिस्थितिमा पनि दृढताका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। साथै आगामी दिनमा जनताको घरदैलोमा पुगेर धन्यवाद व्यक्त गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिनुभयो। तिमिल्सिनाले भविष्यमा पनि नीति सुधार, पर्वत जिल्लाको विकास र जनसरोकारका मुद्दामा आफ्नो जीवन समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै चुनौतिका बीच पनि आशावादी भएर अगाडि बढ्ने धारणा राख्नुभएको छ।

रुकुमपूर्वबाट प्रचण्ड विजयी, बाँकी सात सिटमा नेकपाकाे अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्व–१ बाट विजयी हुनुभएको छ भने अन्य विभिन्न क्षेत्रमा नेकपाका उम्मेदवारले अग्रता कायम गरेका छन्। रुकुमपूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभएको छ। यसैगरी कालीकोट–१ मा नेकपाका महेन्द्रबहादुर शाही ८ हजार ७१५ मतसहित अग्रतामा हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाही ले ८ हजार २३७ मत प्राप्त गर्नुभएको छ। कपिलवस्तु–२ मा नेकपाका बृजेशकुमार गुप्ता ५ हजार ३७६ मतसहित अग्रता लिइरहनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम थापा ले ३ हजार २३८ मत प्राप्त गर्नुभएको छ। काभ्रे–१ मा नेकपाका दीननाथ गौतम ३ हजार ४४६ मतसहित अगाडि हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १ हजार ९९० मत प्राप्त गर्नुभएको छ। त्यस्तै सल्यान–१ मा नेकपाका रमेशकुमार मल्ल २ हजार ८५१ मतसहित अग्रता लिइरहनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले १ हजार ४१७ मत प्राप्त गर्नुभएको छ। रोल्पा–१ मा नेकपाका वर्षमान पुन २ हजार ६७३ मतसहित अग्रस्थानमा हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका गोकुलप्रसाद घर्तीले १ हजार ७४८ मत प्राप्त गर्नुभएको छ। अछाम–१ मा नेकपाका भीमबहादुर रावल १ हजार ९९५ मतसहित अग्रता कायम गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिपक बहादुर साउंदले १ हजार ८३७ मत प्राप्त गर्नुभएको छ। यस्तै धादिङ–२ मा नेकपाका रामबहादुर भण्डारी १ हजार ८४६ मतसहित अगाडि हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेशप्रसाद धमला ले १ हजार ६७२ मत प्राप्त गर्नुभएको छ। देशभर विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। प्रारम्भिक परिणामअनुसार नेकपाका उम्मेदवारले केही क्षेत्रमा अग्रता कायम राखेका छन् भने केही स्थानमा कडा प्रतिस्पर्धा भइरहेको छ।