अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

तनहुँ । अविरल वर्षाले अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । तनहुँ म्याग्दे गाउँपालिका–६ मौरीओढार पहिरो खस्दा बिहानैदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

बाटोमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्व भएको हो । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यसैबीच, 
बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट निकाल्ने क्रममा बुधबार बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी भैरहेको जानकारी दिए । बाढी आउँदा नदि किनारमा नजान आग्रह गरिएपनि बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासमा मानिसको भीड लाग्ने गरेको उनले बताए ।

बागलुङमा घरसहित पहिरोमा पुरिए दम्पती

बागलुङ । बागलुङको गलकोट नगरपालिका-८ काँडेबाँसको बिसौनामा दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । घरसहित पहिरोमा पुरिएका उनीहरुको उद्धारका लागि अहिले प्रहरी तथा स्थानीय खटिएका छन् । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ ।

पहिरोले डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ । गएरातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा डुम्रे(बेँसीसहर सडक पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१, दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए । सडक अवरुद्ध भएपछि लमजुङबाट संघीय राजधानी काठमाडौं, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

कारवाहीविरुद्ध सर्बोच्च पुगे देवकोटा

काठमाडौं । माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेशसभा सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका छन् ।पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले नेता देवकोटालाई कारवाही गरेको थियो । माओवादी चुनाव चिह्नबाट विजयी भएपनि आफूले समाजवादी पार्टीकै तर्फबाट मनोनयन दर्ता गराएको, पार्टीको नाम समाजवादी नै लेखेकाले पनि आफूलाई माओवादीले मात्र एकल रुपमा कारबाही गर्न नसक्ने देवकोटाको दाबी छ। २८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका छन् ।माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका छन् ।

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ । गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ।बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको  जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए।  सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए। सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन्। बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन्।  डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ। यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो।

मुग्लिन–मलेखु सडकखण्डमा पहिरो, यातयात अवरुद्ध

भरतपुर । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।      सडक निर्माणका क्रममा खनेको ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए ।  उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

गण्डकी सरकारको बजेट : ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार (पूर्णपाठ)

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३३ अर्बको बजेट ल्याएको छ । गण्डकीका आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट प्रस्तुत गरेका हुन् । यो चालू आर्थिक वर्षभन्दा ४५ करोड कम हो । चालू आर्थिक वर्षमा गण्डकी सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख बजेट ल्याएको थियो । चालूतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पूँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री गुरुङले बताए । यस्तै,वित्तीय व्यवस्थापनतर्फ सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।गुणस्तरीय पूर्वधार तथा उत्पादनमा अभिवृद्धि, रोजगारी तथा आयमा वृद्धि र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन अभिवृद्धि गर्नेलगायतका उद्देश्यका साथ बजेट प्रस्तुत गरिएको मन्त्री गुरुङले बताए ।

गाई खरिदमा नगरले दियो ५० प्रतिशत अनुदान

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाई खरिदमा अनुदान प्रदान गरेको छ । दैनिक १५ लिटर दुध दिने होलिस्टन तथा जर्सी जातको गाईको खरिदमा ५० प्रतिशत अनुदान प्रदान गरेको हो । नगरपालिकाले यसअगाडि सामूहिक रुपमा गाईपालन गर्न चाहानेका लागी नगरपालिकामा निवेदन दिन सार्वजानिक सूचना जारी गरेको थियो । सोही सूचना अनुसार सामुहिक रुपमा गाई पाल्न शुरु गरेका किसानहरु तथा फर्मलाई ५० प्रतिशत अर्थात प्रति गाई ५० हजार अनुदान प्रदान गरेको हो । नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा ३ ओटा समूहका ३० ओटा गाईको लागी अनुदान १५ लाख रुपैँयाको चेक सम्बन्धीत समूह तथा किसालनई हस्तान्तरण गरेको हो ।  चेक हस्तान्तरण गर्दै नगरप्रमुख कृष्ण खांणले नगरलाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम अगाडि बढाईएको भन्दै यसअघि दुधमा अनुदानको समेत व्यवस्था गरेकाले यस्ता अनुदान कार्यक्रमको सही सदुपयोग गरी अगाडि बढ्न कृषकहरुलाई आग्रह गरे । कृषकहरुको श्रम र उद्यमशीलताले नै नगरले समृद्धि प्राप्त गर्ने भन्दै नगरपालिका सँधै कृषकको साथमा रहेको नगरप्रमुख खांणले बताए । कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले वालिङलाई दुध, तरकारी, मासु र अण्डामा आत्मनिर्भर बनाउनका लागी यस्ता कार्यक्रमहरु आगामि वर्षमा पनि संचालन गरिने भन्दै किसानहरुलाई उद्यमशीलतामा लाग्न जोड दिइन ।  विहिबार ३० ओटा गाईको प्रति गाई ५० हजारका दरले १५ लाखको चेक किसानहरुलाई हस्तान्तरण गरिएको हो । मिलन दुग्ध उत्पादन सहकारी लिमिटेड वालिङ १३, अकला नमुना साना किसान कृषि सहकारी संस्था लिमिटेड वालिङ ८ र उन्नत गाईपालन समूह वालिङ १ किसानहरुलाई अनुदान बापतको रकम चेक मार्फत हस्तान्तरण गरिएको छ । उन्नत गाई पालन समूहका ८ जना किसानले १५ ओटा गाई खरिद बापतको ५० प्रतिशत, मिलन दुग्ध उत्पादन सहकारीका ३ जना किसानले १० ओटा गाई खरिद गरे बापतको ५० प्रतिशत अनुदान र अकला नमुना साना किसान कृषि सहकारी संस्थाका १ जना किसानले ५ ओटा गरी १२ जना किसानले ३० ओटा गाईको अनुदान प्राप्त गरेका हुन् । विभिन्न समुहमा रहेका किसानलाई यो वर्ष ७२ गाईको अनुदान प्रदान गरिनेछ । विभिन्न समुहहरुले दिएको निवेदनको आधारमा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा साखा सहितको संयुक्त टोलीले अनुगमन गरेपछि यो अनुदान वितरण कार्य शुरु गरिएको पशु शाखा प्राविधिक डोलराज गैह्रेले बताए ।

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन्।बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । छलफलमा प्रधानमन्त्रीले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरूरी भएकोमा जोड दिए । छलफलमा प्रधानमन्त्रीले भने, “विगतमा राष्ट्रिय उद्योगहरू चलाउनुपर्छ भन्ने जनअभिमत छ। ती उद्योगमध्ये केही उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ। हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ। त्यसैले कुन कुन उद्योगहरू पुनःसञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौँ। अध्ययनको निष्कर्षका आधारमा अगाडि बढौँ।” प्रधानमन्त्रीले सार्वजनिक निजी साझेदारीको मोडेलमा उद्योगहरू पुनःसञ्चालन गर्ने नीतिमा राज्यका सबै निकायहरू प्रष्ट हुनुपर्ने बताए । उनले भने, “विगतको जस्तै ढाँचा र ढर्रामा उद्योगहरूको पुनःसञ्चालन हुन सक्दैनन्। सार्वजनिक निजी साझेदारीको मोडेल नै ती उद्योगहरू सञ्चालन गर्ने मोडेल हो। बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग लगायतका उद्योगहरूको सम्भाव्यता बलियो छ। त्यसैले व्यवस्थित अध्ययन गरी जमिनको स्वामित्व सरकारसँग रहने गरी साझेदारीको मोडेल तयार गरौँ।” छलफलमा अर्थमन्त्री वर्षमान पुन, उद्योगमन्त्री दामोदर भण्डारी, मुख्य सचिव डा। बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग सचिव कृष्ण राउत लगायत सहभागी थिए ।

गण्डकीमा मनाङे र देवकोटा मन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशमा स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) र सोमबार फ्लोर क्रस गरेका सांसद फणिन्द्र देवकोटा मन्त्री बनेका छन् ।  उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । मनाङेले भौतिक र देवकोटाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए संसद्को विश्वास

पोखरा । संवैधानिक विवाद र तानातानबीच गण्डकी प्रदेश सरकार केन्द्रमा बनेको सत्ता गठबन्धनबाट फुत्किएको छ।सोमबार गण्डकी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएसँगै केन्द्रको सत्ता गठबन्धनबाट यो प्रदेश सरकार फुत्किएको हो । वैशाख १६ गते मुख्यमन्त्री नियुक्त भएका उनले विश्वासको मतको प्रस्ताव राखेपछि मत विभाजन हुँदा उनको पक्षमा ३१ मत परेको हो ।प्रदेशसभामा उपस्थित ५९ जना सदस्यमध्ये प्रस्तावको पक्षमा ३१ मत पर्दा विपक्षमा २८ मत परेको  हो । मत दिन्न भन्ने पक्षमा शून्य मत परेको सभामुख कृष्णप्रसाद धितालले बताए । पाण्डेको पक्षमा कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २, स्वतन्त्र सांसद राजीव गुरुङको १ र माओवादी संसदीय दलका सदस्य सांसद फणीन्द्र देवकोटाले मतदान गरे। देवकोटा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन्। २०७९ को निर्वाचनमा गोरखाबाट उठेका उनले माओवादीको चुनाव चिन्ह हँसिया हथौडाबाट जितेका थिए। ‘मानीयन सुरेन्द्रराज पाण्डेले राखेको प्रस्तावको पक्षमा ३१ मत परेकाले प्रदेश सभामा तत्काल कायम रहेको संख्याको बहुमत देखिएकाले उहाँले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दछु’, सभामुख धितालले भने ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

काठमाडौं ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा आज विश्वासको मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्दैछ । असार १ गतेसम्म नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने भएकाले मुख्यमन्त्री पाण्डेले त्यसअघि नै विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्दछ । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका दुई र एकजना स्वतन्त्र सांसद गरी ६० सदस्य छन्। पाण्डेलाई राप्रपा र स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गरे पनि अझै एक सांसदको आवश्यक पर्दछ । यो अवस्थामा पाण्डेले प्रदेशसभामा सहजै विश्वासको मत प्राप्त गर्ने सम्भावना न्यून देखिन्छ ।

विश्वासको मत माग्दै एमालेलाई मुख्यमन्त्री पाण्डेले लेखे पत्र

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत दिन गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०सँग आग्रह गरेका छन् । मंगलबार (भोलि) बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका उनले आज पत्र लेखेर उक्त आग्रह गरेका हुन् । नेपालको संविधान र प्रदेशसभा नियमावली, २०८० ले व्यवस्था गरेबमोजिम आफूले ०८१ जेठ २८ गते दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका निम्ति प्रस्ताव पेस गर्न लागेको मुख्यमन्त्री पाण्डेको पत्रमा उल्लेख छ । “स्थायित्व र जनआकांक्षाअनुरूप प्रदेशको समग्र विकास तथा उन्नति हामी राजनीतिक दलबीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ,” उनले भनेका छन् । राजनीतिक दलबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन आफूले गरेको विश्वासको मतको प्रस्तावका पक्षमा एमालेका प्रदेशसभा सदस्यले मतदान गरी सहयोग गरिदिन मुख्यमन्त्री पाण्डेले पत्रमार्फत आग्रह गरेका छन् । उक्त पत्र प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेका मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका छन् । 

सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८, सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।  सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताए।  यसैगरी, विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न, पर्यटन उद्यान निर्माण, राष्ट्रिय विभूति तथा सहिद उद्यानको स्तरोन्नति र पूर्वाधार थपलगायत माग पेस गरिएको उनले जानकारी दिए।  “प्रधानमन्त्रीसमक्ष हामीले हाम्रो वडाका समस्या अवगत गराउँदै विविध माग प्रस्तुत गरेका थियौँ ।सरकारले स्थानीय जनताका आवश्यकता पूरा गर्ने  उहाँले बताउनुभएको छ । हामी उत्साहित भएका छौँ,” तिमिल्सिनाले भने। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य हो सराङकोट। यहाँबाट सूर्योदय र सूर्यास्तसहित सुन्दर हिमशृङ्खला र पोखरा बजार हेर्न देखिन्छ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको गण्डकी प्रदेश समितिले बुधबार पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन  मङ्गलबार साँझ पोखरा आएका हुन्। 

मेयर कप फुटबल : नारायणी नमूना र अमर माविसेमिफाइनलमा

भरतपुर । नारायणी नमूना मावि र अमर मावि भरतपु महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।  आज सम्पन्न प्रतियोगिताको क्वाटरफाइनलमा जित हात पार्दै नारायणी नमूना र अमर माविले सेमिफाइनलमा स्थान बनाएको हो । आजको पहिलो खेलमा नारायणी नमूनाले ग्रीनल्याण्ड पब्लिक स्कुललाई टाइब्रेकरमा ४(२ ले हरायो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको हो। नारायणी नमूनाका गोलरक्षक किशोर हमाल म्यान अफ दि म्याच भए ।  उता आजै सम्पन्न दोस्रो खेलमा लक्ष्मी माविलाई अमर माविले २-० ले हरायो। उसको जितमा कप्तान वसन्त कुमालले ४१ औं र पुकार महतोले ६१ औ गोल गरे । अमर माविका रितेश सुनार म्यान अफ दि म्याच भए।   प्रतियोगितामा मंगलबारबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछन् । पहिलो सेमिफाइनलमा मंगलबार आदिकवि भानु मावि र विश्वप्रकाश मावि भिड्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा बुधबार नारायणी नमूना र अमर मावि भिड्नेछन् ।  

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

गण्डकी । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन्।  गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन्। यसअघि पनि उनी आयोगको उपाध्यक्ष नियुक्त भएका थिए।   दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जीआईईएस)मा आवद्ध छन्। उनलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराए । रासस