सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ ।

भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ ।

त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् ।

कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए ।

“काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।”

कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए ।

उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् ।

विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ ।

यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए ।

नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए ।

“विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।”

उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए ।

भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए ।

महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

सारङ्गी रेट्दै गीत गाउँदै परिवार पाल्दै

सुनसरी । सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो । उनकै लयमा सुजन गन्धर्वले सारङ्गीको धुनमा गीत गाउँदै हिँडेको आठ वर्ष भयो । उनीहरू हाल दैनिक जसो धरानस्थित श्रम संस्कृति पार्कमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सारङ्गी र मादलको साथमा गीत गाउँदै आएका छन् । एक जनाले मादल बजाउने र अर्काले सारङ्गी रेट्दै गीत गाउने उनीहरूको दैनिकी बनेको छ । सारङ्गीको मधुर धुनमार्फत उहाँहरूले पार्क घुम्न आउने सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्नुहुन्छ । अहिले उनीहरूको जीविकोपार्जनको माध्यम यही बनेको छ । सर्वसाधारण साथै पर्यटकले स्वेच्छाले रकम दिन्छन् । सुवास गन्धर्वले बाउबाजेदेखि चलिआएको पेसालाई निरन्तरता दिएको बताउँदै यही पेसाबाट परिवार पाल्दै आएको बताए । “बाउबाजेले सारङ्गी रेटेरै हामीलाई हुर्काउनुभयो, मैले त्यही परम्परा समातेको हुँ”, उनले भने । “पहिला पहिला गाउँमा यातायातको सुविधा थिएन । कैयौँ दिन हिँडेर टाढा–टाढा पुगेर गीत गाउने चलन थियो । अहिले सवारीसाधनले सजिलो भएको छ”, उनले भने । नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न सहर तथा भारतको सिक्किम र दार्जिलिङसम्म पुगेर गीत गाएको उनको अनुभव छ । गाडी तथा सार्वजनिक स्थानमा गीत गाएर सर्वसाधारणबाट प्राप्त हुने स्वैच्छिक सहयोग नै आम्दानीको आधार भएको उनको भनाइ छ । सुवास गन्धर्वका अनुसार उनी ‘भ्वाइस अफ नेपाल’ मा समेत सहभागिता जनाउँदै ब्याटल चरणसम्म पुग्नुभएको थियो भने ‘इन्द्रेणी’ कार्यक्रममा गीत गाएका छन् । उनले भने, “धेरै कार्यक्रमहरूमा सहभागी भएर गीत गाउँदै पनि हिँडियो तर त्यहाँबाट अपेक्षित आम्दानी नभएपछि पुन सारङ्गी बजाएरै जीविकोपार्जन गर्न थालेको हुँ ।” उनले काठमाडौँदेखि पोखरा जस्ता सहरका धेरै गल्लीमा सारङ्गी बजाइसकेका छन् । सुजन गन्धर्वले लामो समय भारतको दार्जिलिङमा रोजगारी गरेर गाउँ फर्किएपछि आठ वर्षदेखि सारङ्गी बजाउँदै गीत गाएर आम्दानी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनले परम्परागत पेसा जोगाउने उद्देश्यले यसलाई निरन्तरता दिएको बताए । उनले भने, “सारङ्गी बजाएर गीत गाउनु गन्धर्व समुदायको पुर्ख्यौली पेसा हो, हाम्रो संस्कृति र पहिचान पनि यही हो”, उनले भने, “पछिल्लो समय नयाँ पुस्ता अन्य पेसातर्फ आकर्षित हुँदै जाँदा यस्तो मौलिक कला सङ्कटमा पर्दै गएको छ ।” आधुनिक प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेका बेला गन्धर्व समुदायको परम्परागत पेसा जोगाउन चुनौती थपिएको उनको भनाइ छ । स्वास्थ्यले साथ दिएसम्म आफूहरू यो पेसालाई निरन्तरता दिने उनले सुनाए । नेपालमा लोपोन्मुख जातिका रूपमा रहेको गन्धर्व जातिको मुख्य बाहुल्यता भोजपुर, कास्की ,तनहुँ, लमजुङ, गोरखा, चितवन, बागलुङ, पाल्पा, दैलेख, सुर्खेतलगायतका जिल्लामा छ । नेपाली लोकसङ्गीत र रङ्गमञ्चको क्षेत्रलाई परापूर्वकालदेखि संरक्षण, सम्वर्द्धनसँगै विकास गर्दै आएका लोक जीवनका संवाहक गन्धर्व जाति र तिनको वाद्यवादन साराङ्गी मादल पनि एक हो । आज आएर गन्धर्वले लोकगीतलाई स्थानीय गीत स्थायित्व गराई पेसाको रूपमा अपनाउँदै आएका छन् ।

प्रधानमन्त्री बालेन शाहकै क्षेत्रमा सुकुमबासीको द्विविधा: “डोजर आउँछ कि भरोसा ?”

झापा । देशभर अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने सरकारी अभियान तीव्र बनेसँगै सुकुमबासी बस्तीहरूमा त्रास फैलिएको छ। तर, प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहकै निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत पर्ने दमकका सुकुमबासी बस्तीमा भने डर र भरोसा दुवै एकसाथ देखिएका छन्। सरकारले नदी उकास, सडक मापदण्ड, विद्यालय तथा अन्य सार्वजनिक जग्गामा बनेका संरचना हटाउन देशभरका स्थानीय तहलाई कडा निर्देशन दिएको छ। यसैबीच सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरू डोजर चलिरहेका दृश्य, भत्किएका घर र रोइरहेका नागरिकका तस्बिरहरूले भरिएका छन्। यही सन्दर्भमा दमक–४ को चिया बगान आसपास वर्षौँदेखि बसोबास गर्दै आएका करिब १२० सुकुमबासी परिवार यतिबेला अन्योलमा छन्। सुनौलो एकता टोल विकास संस्थाको नाममा सङ्गठित यी परिवारहरू दिनहुँ आफ्नो भविष्यबारे छलफलमा जुटिरहेका छन्। स्थानीय कुशल सार्की सरकारको डोजर आफ्नो बस्तीमा नआउनेमा विश्वस्त छन्। उनले भने, “हामीलाई डोजर चल्छ भन्ने कुनै डर छैन। हामीले जिताएको मान्छेले त्यसो गर्दैनन्।” सुरेश ढुंगेल पनि त्यस्तै विश्वास व्यक्त गर्छन्। “हामीले भोट दिएका प्रधानमन्त्री हुनुहुन्छ, उहाँले हाम्रो बस्ती भत्काउनुहुन्न भन्ने लाग्छ,” उनले भने। तर सबै स्थानीय यति निश्चिन्त छैनन्। सिटी सफारी चालक विनोद बराइली भन्छन्, “सरकारी जग्गा हो, भिडियोमा डोजर देख्दा डर लाग्छ। तीन–चार पुस्तादेखि बसेका छौँ, एक्कासि उठाउँदा कहाँ जाने?” स्थानीय जिशान खड्काले भने विकल्पबिना हटाउन नहुने चेतावनी दिन्छन्। “हटाउने हो भने अन्यत्र व्यवस्थापन गरियोस्, क्षतिपूर्ति दिइयोस्। नत्र हामी सडकमा जान सक्दैनौँ,” उनले भने। सुमन दर्नाल भने संघर्ष गर्न तयार देखिन्छन्। “हामी डराएर भाग्नेवाला छैनौँ। बालेन शाहले नै जग्गा दिलाउने कुरा गर्नुभएको थियो, त्यसैले भोट दिएका हौँ,” उनले स्मरण गरे। दैनिक ज्यालादारी गर्ने एक महिलाले भने चिन्ता व्यक्त गरिन्— “यहाँबाट उठायो भने भाडा तिरेर कसरी बस्ने? कमाउने बाटो छैन।” दमक–४ की वडा सदस्य गीता विश्वकर्माका अनुसार उक्त बस्ती नदी उकास वा सडकको सार्वजनिक जग्गामा नभई चिया बगान संस्थाको जमिनमा छ। “तत्काल डोजर आउने अवस्था छैन,” उनले स्पष्ट पारिन्। झापामा ५० हजारभन्दा बढी निवेदन भूमि समस्या समाधान आयोगका अनुसार झापामा मात्रै ५० हजारभन्दा बढीले लालपुर्जाका लागि निवेदन दिएका छन्। जसमध्ये: भूमिहीन दलित: २,७७२, सुकुमबासी: १४,८७७ अव्यवस्थित बसोबासी: ३३ हजारभन्दा बढी, दमक नगरपालिकामा मात्रै ६,३३० निवेदन दर्ता भएका छन्। आयोगका अध्यक्ष मदन अधिकारीका अनुसार सबैलाई डोजर लगाएर हटाउन मिल्दैन। “बाजे–बराजुको पालादेखि बसेकालाई कानुनले निश्चित शर्तमा जग्गा दिने व्यवस्था गरेको छ,” उनले भने। तर खोलानाला, सार्वजनिक संरचना वा हालै अतिक्रमण गरिएका क्षेत्रमा भने कडा कारबाही हुन सक्ने उनले संकेत गरे। सरकार एकातिर अतिक्रमण हटाउने अभियानमा छ भने अर्कोतिर सुकुमबासीलाई लालपुर्जा वितरणको तयारी पनि भइरहेको छ। तर स्पष्ट नीति नआउँदा स्थानीयहरू अन्योलमा छन्।

मदन भण्डारी राजमार्ग: झापा, मोरङ र सुनसरीमा पुल निर्माण गरिँदै

झापा । राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वी खण्डमा पुल निर्माणले गति लिएको छ । झापा, मोरङ र सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये हालसम्म २५ वटा निर्माण सम्पन्न भइसकेका मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर रमेशकुमार दत्तका अनुसार झापाको बाहुनडाँगीबाट सुनसरीको चतरासम्मको १३१ किलोमिटर सडकमा २५ वटा पुल बनिरहेका हुन् । निर्माण सम्पन्न भएका पुलको लम्बाई २० मिटरदेखि ३०० मिटरसम्म छ । निर्माणमा केही ढिलाइ हुनुका कारण वन क्षेत्रको अवरोध रहेको उनले बताए । पुल निर्माण हुने कतिपय क्षेत्र वन क्षेत्रमा पर्ने र रुख कटानको अनुमति पाउन समय लागेकाले काममा ढिलाइ भएको बताउँदै केही पुल अझै अधुरा रहेका सूचना अधिकारी दत्तले जानकारी दिए । उनका अनुसार पुलको कुल लागत रु छ अर्ब १२ करोड ६२ लाख ५४ हजार रहेको छ भने सडक निर्माणको लागत रु १० अर्ब १३ करोड रहेको छ । झापामा पाँच वटा पुल निर्माण सम्पन्न भएका छन् । जसमा ढोङ्ग्रे खोला, खार खोला, दामा खोला, हँडिया खोला र गगटे खोलाका पुल रहेका छन् । झापा र इलामको सिमानामा पर्ने २२० मिटर लामो बिरिङ खोलाको पुल पनि निर्माण भइसकेको छ । मोरङमा धानखेती, खहरे, डाले, मुगु खोला, खुदुम, मोराङ्गी, तेली र सुनुसरी खोलाका पुल बनेका छन् । इलाम क्षेत्रमा सबैभन्दा बढी १३ वटा पुलको निर्माण सम्पन्न भएका सूचना अधिकारी दत्तले जानकारी दिनुभयो । उहाँका अनुसार सुखानी शहादतस्थल, बुढी खोला, सुखानी खोला, टाङटिङ, गोयाङ, सानोनेते, ठूलोनेते, रतुवा, बुकुवा सानो, बुकुवा ठुलो, बिधुवा खोला, चाँजु खोला र बागद्वार खोलाका पुल सञ्चालनका लागि तयार भएका छन् । पुल निर्माण बाँकी रहेका १२ स्थानमध्ये मोरङमा आठ वटा र सुनसरीमा चार वटा रहेका छन् । मोरङको सोल्टी–१, सोल्टी–२, मिखि खोला, बालुवा खोला, सानो नेते, तुर्की खोला, हचुवा र साउने खोलामा पुल निर्माण अन्तिम चरणमा पुगेका सूचना अधिकारी दत्तले बताए । सुनसरीका चार वटा पुल रेल्वे रिभर, ठकुरी खोला, बाघ खोला र बगुवा खोलाको निर्माण सम्पन्न हुन बाँकी छन् । पुल निर्माणले पूर्वी नेपालको यातायात र आर्थिक विकासमा ठुलो टेवा पुग्ने विश्वास लिइएको छ ।

उदयपुरमा २७ किलोग्राम गाँजासहित एकजना पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका–७, कोठुबाट २७ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । सवारी साधनहरू चेकजाँच गर्ने क्रममा अटोमा ल्याउँदै गरेको २७ किलोग्राम लागूऔषध गाँजासहित चालक सोही स्थानका अशोक राईलाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी निरञ्जन थापाले जानकारी दिए । उनले भने, ‘पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी थप अनुसन्धान भइरहेको छ ।’ यता, गएको बुधबार राति बेलका नगरपालिका–१, आम्बासीस्थित रुपनगर–चतारा सडकखण्डमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।  सप्तरीको फत्तेपुरबाट पैतालिस चोकतर्फ आउँदै गरेका सवारी साधनहरू चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार चालक आर्जु राई र पछाडि सवार श्यामकुमार कार्कीको साथबाट १५५ मिलिग्राम तौलको ब्राउन सुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो ।

उदयपुरकाे बेल्टार बजारमा आगलागी, दुई जनाको जलेर मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारस्थित पुष्पलाल चोकमा गएराति आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । आगलागीमा दुई घर पूर्ण रूपमा जलेका छन् भने जलेको अवस्थामा दुई जनाको शवकाे कंकाल फेला परेको हाे । इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर प्रभाप लिम्बूका अनुसार घटनास्थलबाट दुई जनाको जलेको अवस्थामा कंकाल फेला परेको हो। उनले भने, ‘आफन्तहरूबाट खोजी कार्य भइरहेको छ, त्यसैले शवको पहिचान खुल्न बाँकी छ । सनाखत नभएसम्म शव कसको हो भन्ने पुष्टि गर्न सकिने अवस्था छैन ।’  प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्टका कारण आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट स्थानीय लक्ष्मी खड्का र रविन कुमार दासको घर पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा मधेश प्रदेशअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल परिचालन गरिएको थियो । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सक्रिय सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । इन्स्पेक्टर लिम्बूले भने, ‘हामी घटनास्थलमै छौँ। मृतकको सनाखत र क्षतिको विवरण संकलनमा जुटेका छौँ ।’  प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ भने विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रथम बेलका पर्यटन महोत्सव २०८३’ भव्य सम्पन्न: बेलकालाई राष्ट्रिय पर्यटन गन्तव्य बनाउने आधार तयार

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम बेलका पर्यटन महोत्सव २०८३’ भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ। नयाँ वर्ष २०८३ को स्वागतसँगै वैशाख १ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको महोत्सवले बेलकाको पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसर सिर्जना गरेको आयोजकले जनाएको छ। आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय स्रोत–साधनको परिचय र धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवले अपेक्षाभन्दा बढी सफलता हासिल गरेको सरोकारवालाहरूको भनाइ छ। समापन समारोह आइतबार बेलका–८, चतारा कोठुस्थित बेलका बीच रिसोर्टमा सम्पन्न भएको थियो, जहाँ सहभागीहरूले पहिलो प्रयासमै महोत्सवको भव्यता र प्रभावकारितालाई उच्च मूल्यांकन गरेका छन्। समारोहमा बोल्दै बीच रिसोर्टका सञ्चालक रमण भट्टराईले महोत्सवले बेलकाको पर्यटन विकासमा नयाँ उचाइ थपेको बताए। “पहिलो प्रयासमै यति ठूलो सहभागिता र उत्साह देखिनु आफैंमा सफलता हो,” उनले भने, “यसले स्थानीय व्यवसायीलाई मात्र होइन, समग्र क्षेत्रको आर्थिक गतिविधिलाई पनि चलायमान बनाएको छ।” ‘बेलकाको जल, जमिन र आकाशमा रमाऔँ, ऐतिहासिक, प्राकृतिक र साहसिक पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने मूल नारासहित उदयपुर विकास समिति र बेलका पर्यटन व्यवसायी संघले संयुक्त रूपमा महोत्सव आयोजना गरेका थिए। स्थानीय व्यापारी, युवा समूह र विभिन्न संघ–संस्थाको सक्रिय सहभागिताले महोत्सवलाई जनउत्सवका रूपमा स्थापित गरेको देखिएको छ। महोत्सवले बेलका–७ र ८ मा रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाहरू—मैना राजा–मैना रानी, रंगमहल दरबार, टंकेला गुफा लगायतका स्थलहरूको व्यापक प्रचार–प्रसार गरेको छ। साथै छिमेकी जिल्ला सुनसरीस्थित प्रसिद्ध तीर्थस्थल बराहाक्षेत्रसँगको धार्मिक सम्बन्धलाई अझ सुदृढ गर्दै संयुक्त पर्यटन विकासको सम्भावनालाई उजागर गरेको छ। उदयपुर विकास समितिका अध्यक्ष बलदेव चौधरीले बेलकालाई धार्मिक पर्यटनको केन्द्र बनाउने दीर्घकालीन लक्ष्यसहित महोत्सव आयोजना गरिएको बताए। “यो केवल उत्सव मात्र होइन, भविष्यको पर्यटन मार्गचित्र हो,” उनले भने, “धार्मिक पर्यटनले आर्थिक समृद्धिसँगै सामाजिक र सांस्कृतिक रुपान्तरण पनि ल्याउन सक्छ।” उनले महोत्सवलाई निरन्तरता दिँदै यसलाई वार्षिक कार्यक्रमका रूपमा विकास गर्ने योजना रहेको जानकारी गराउँदै स्थानीय, प्रदेश र संघीय तहबाट सहकार्य आवश्यक रहेको उल्लेख गरे। समापन अवसरमा सहभागीहरूलाई सप्तनदी क्षेत्रमा बोटिङ गराइएको थियो, जहाँ प्रसिद्ध बराहाक्षेत्रदेखि बेलका–८ कोठुस्थित बीच रिसोर्टसम्मको जलयात्राले पर्यटकहरूलाई अद्वितीय अनुभव प्रदान गरेको थियो। यसले कोशी क्षेत्रको प्राकृतिक सौन्दर्य र जलपर्यटनको सम्भावनालाई प्रत्यक्ष रूपमा उजागर गरेको सहभागीहरूले बताएका छन्। धरान–चतारा–गाईघाट–कटारी हुँदै सिन्धुली जोडिने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि बेलकाको पहुँच थप सहज बनेको छ। यसले चताराक्षेत्रलाई पूर्वी नेपालकै उदाउँदो पर्यटकीय र व्यापारिक केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गरिरहेको छ। बेलका क्षेत्र धार्मिक, प्राकृतिक र साहसिक पर्यटनको संगमस्थलका रूपमा विकसित हुँदै गएको छ। मैना राजा–मैना रानीको दरबार, रंगमहल, बराहाक्षेत्र धाम जस्ता धार्मिक स्थलसँगै बुक्तोडाँडामा सञ्चालन भइरहेको प्याराग्लाइडिङ, नदीमा र्याफ्टिङ र बोटिङ, तथा कोशी टप्पु क्षेत्रमा जंगल सफारी, बर्ड वाचिङ, ट्रेकिङ र स्थानीय परिकारले पर्यटकलाई आकर्षित गर्ने बहुआयामिक सम्भावना बोकेको छ। स्थानीयवासीका अनुसार, योजनाबद्ध रूपमा पूर्वाधार विकास, प्रचार–प्रसार र व्यवस्थापन गर्न सके बेलका नेपालकै प्रमुख धार्मिक तथा प्राकृतिक पर्यटन गन्तव्य बन्ने निश्चित छ। पर्यटन विकाससँगै रोजगारी सृजना, स्थानीय उत्पादनको बजारीकरण र संस्कृति तथा प्रकृतिको संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। समग्रमा, ‘प्रथम बेलका पर्यटन महोत्सव २०८३’ ले बेलकालाई नयाँ पहिचान दिने, सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने र समृद्धिको बाटोमा अघि बढाउने बलियो आधार तयार पारेको निष्कर्ष निकालिएको छ।

‘घाँटी अँठ्याएर चुप गराइयो’: दुहबी घटनामा पीडितको आरोप, प्रहरी भन्छ- ज्यान जोगाएका हौँ

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१० मा अवैध टहरा भत्काउने क्रममा एक महिलामाथि बल प्रयोग गरिएको भिडियो सार्वजनिक भएपछि विवाद चर्किएको छ। भिडियोमा नगर प्रहरीले एक महिलाको घाँटी थिचेर नियन्त्रणमा लिएको दृश्य देखिएपछि घटना देशभर आलोचनाको विषय बनेको हो। घटनाकी पीडित रामकुमारी चौधरीले भने आफूलाई प्रहरीबाट अमानवीय व्यवहार भएको आरोप लगाएकी छन्। “मलाई ४–५ जनाले समातेर कपाल ताने, घाँटी अँठ्याए र बोल्नै दिएनन्,” उनले भनिन्, “न्याय माग्दा उल्टै दबाइयो।” उनका अनुसार आफूले टहरा भत्काउनुअघि जग्गा नापजाँच गर्न आग्रह गरेकी थिइन्। “पहिला अमिन ल्याएर यो ऐलानी हो कि नम्बरी छुट्याउनुस् भनेको थिएँ,” उनले भनिन्, “तर कुनै सुनुवाइ भएन, सीधै धरपकड भयो।” घटनाका बेला उपस्थित उनका १९ वर्षीय छोरा सुजन कुमार चौधरीले पनि प्रहरीमाथि बल प्रयोगको आरोप लगाए। “आमालाई रूखमा च्यापेर घाँटी न्याकेको देखेँ,” उनले भने, “छुटाउन जाँदा मलाई पनि नियन्त्रणमा लिइयो।” परिवारले आफूहरू आर्थिक रूपमा कमजोर भएकै कारण अन्यायमा परेको गुनासो गरेको छ। घटनापछि उपचार गर्नसमेत पैसा नभएको उनीहरूको भनाइ छ।  सामाजिक सञ्जालमा फैलिएको भिडियोमा एक महिला नगर प्रहरीले चौधरीलाई रूखको आडमा थिच्दै घाँटी समातेको स्पष्ट देखिन्छ। अर्को प्रहरीले उनको हात नियन्त्रणमा लिएको छ। दृश्यले बल प्रयोग आवश्यकभन्दा बढी भएको आशंका जन्माएको छ। प्रहरीको दाबी: ‘दुर्घटना रोक्न नियन्त्रण’ जिल्ला प्रहरी कार्यालय सुनसरीले भने घटनालाई ‘भ्रामक ढङ्गले प्रस्तुत’ गरिएको दाबी गरेको छ। प्रहरीका अनुसार टहरा भत्काउने क्रममा चौधरीले जेसिबीमाथि ढुङ्गा प्रहार गर्न खोजेपछि सम्भावित दुर्घटना रोक्न उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरी निरीक्षक शिवराम थापाले भने, “घाँटी निमोठिएको होइन, भीड नियन्त्रणका क्रममा सामान्य समातसमात भएको हो।” उनले प्रहरीलाई अनावश्यक रूपमा बदनाम गरिएको गुनासो गरे। नगरपालिकाको बचाउ: ‘सामान्य धकेलाधकेल’ दुहबी नगरपालिकाका प्रमुख वेद गच्छदारले पनि घटनालाई सामान्य बनाउँदै सामाजिक सञ्जालले अतिरञ्जित गरेको बताए। “तानातान हुँदा शरीरका विभिन्न भागमा हात लाग्न सक्छ,” उनले भने, “त्यसलाई ठूलो मुद्दा बनाइयो।” उनले उक्त संरचना बाटो छेक्न बनाइएको र हटाउनु बाध्यात्मक रहेको दाबी गरे। तर घटनामा वास्तविकता के हो भन्ने विषयमा विवाद कायम छ। एकातिर पीडित पक्षले प्रहरी ज्यादतीको आरोप लगाइरहेको छ भने अर्कोतिर प्रहरी र स्थानीय सरकार दुवैले बल प्रयोगलाई ‘आवश्यक’ ठहर गरिरहेका छन्। तर सार्वजनिक भएको दृश्यले एउटा गम्भीर प्रश्न उठाएको छ— कानुन कार्यान्वयनका नाममा बल प्रयोगको सीमा कहाँसम्म ?

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो । कञ्चनजङ्घा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त समय मानिन्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसीछिरिङ शेर्पाका अनुसार पछिल्लो एक महिनामा १६५ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । वर्षमा दुई पटक प्रमुख पर्यटकीय याम मानिन्छ । पहिलो चैतदेखि जेठसम्म र दोस्रो असोजदेखि मङ्सिरसम्म रहेको उनले जानकारी दिए । गत वर्ष पहिलो याममा मात्रै ७५० विदेशी पर्यटक यहाँ आएका घुन्सा चेकपोस्टले जनाएको छ । कञ्चनजङ्घा आधार शिविर पुग्न दुई प्रमुख पदमार्ग प्रयोग हुँदै आएका छन् । पाँचथरको गणेशचोक हुँदै सिरिजङ्घा गाउँपालिका भएर र काठमाडौँबाट हवाईमार्ग हुँदै सुकेटार विमानस्थल पुगेर फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी आधार शिविर पुग्न सकिन्छ । पर्यटकलाई लक्षित गर्दै कञ्चनजङ्घा पदमार्गमा सानाठूला गरी ५२ वटा होटल सञ्चालनमा रहेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा करिब रु सात करोडभन्दा बढी लगानीमा ‘सिङ्गी नामजोंग होटल’ सञ्चालनमा आएको छ । समुद्री सतहबाट तीन हजार ५०० देखि चार हजार ५०० मिटर उचाइसम्म रु एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेका घुन्सा चेकपोस्टका पर्यटन सहायक शेर्पाले जानकारी दिए । उनका अनुसार अन्य होटलहरूमा पनि करिब रु ८० लाखभन्दा बढी लगानीका छन् । सदरमुकाम फुङ्लिङ बजारमा पर्यटक लक्षित गरी ठूला लगानीका होटलहरू सञ्चालनमा आएका छन् । पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित बनेका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्रका स्थानीय समुदायको मुख्य जीविकोपार्जन पर्यटन, होटल व्यवसाय र पशुपालनमा आधारित छ । घुन्सा, फले र याम्फुदिन क्षेत्रका अधिकांश घरपरिवार पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएका पर्यटन सहायक शेर्पाले बताए । उनका अनुसार कोही होटल सञ्चालन गरेर स्वरोजगार बनेका छन् भने कोही पर्यटक मार्गदर्शक वा सहयोगीका रूपमा आयआर्जन गर्दै आएका छन् । खेतीपातीका सम्भावना कम भएकाले पछिल्लो समय युवापुस्ता पशुपालनभन्दा पर्यटन व्यवसायतर्फ आकर्षित देखिएका उनको भनाइ छ । सन् १९५५ मे २५ मा कञ्चनजङ्घाको पहिलो आरोहण भएको इतिहास छ । विगतमा फुङ्लिङबाट पैदल यात्रा गर्दा करिब २४ दिन लाग्ने यस क्षेत्रको भ्रमण अवधि अहिले छोटिएर ११ देखि १६ दिनमा दुवै आधार शिविर पुगेर फर्कन सकिन्छ । यस क्षेत्रमा चैत, वैशाख, जेठ तथा असोज, कात्तिक र मङ्सिरमा पर्यटकको चाप बढी हुने गर्दछ । हिमाल आरोहण भने मुख्यतः वैशाख र जेठमा हुने पर्यटन सहायक शेर्पाले जानकारी दिए । यहाँ जापान, जर्मनी, अष्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेनलगायत देशबाट पर्यटक आउने गरेका छन् । साथै भारत र चीनबाट पनि कम सङ्ख्यामा पर्यटक भ्रमण तथा आरोहणका लागि आउने गरेका छन् ।

उदयपुरकाे बेलकामा ‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक महोत्सव’ हुँदै

उदयपुर । उदयपुरको पर्यटन प्रवर्द्धन र समग्र विकासलाई टेवा पुर्‍याउने उद्देश्यले बेलका नगरपालिकामा ‘प्रथम बेलका प्राकृतिक, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३’ आयोजना हुने भएको छ। बेलका नगर पर्यटन विकास समिति र उदयपुर विकास बोर्डको संयुक्त आयोजना तथा जिल्ला समन्वय समिति उदयपुरको समन्वयमा आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म महोत्सव आयोजना हुने भएको हो। उदयपुर विकास बोर्डका अध्यक्ष बलदेव चौधरीका अनुसार महोत्सवमार्फत जिल्लाका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनका सम्भावनाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गरिने छ। ‘यसबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास छ,’ उनले भने। महोत्सवको मुख्य उद्देश्य उदयपुरका आठवटै स्थानीय तहबीच कनेक्टिभिटी अभिवृद्धि गर्नु, आर्थिक–सामाजिक सहकार्यलाई सुदृढ बनाउनु तथा जिल्लाको एकीकृत विकासलाई अघि बढाउनु रहेको चौधरीको भनाइ छ। साथै, स्थानीय उत्पादन, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनसँगै रोजगारी सिर्जनामासमेत टेवा पुग्ने अपेक्षा गरिएको छ। महोत्सवको तयारीसम्बन्धी बैठक बेलका पर्यटन विकास बोर्डका अध्यक्ष शिव थापाको अध्यक्षतामा शुक्रबार जिल्ला समन्वय समिति उदयुरको सभाहलमा सम्पन्न भएको थियो। बैठकमा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्मा, बेलका नगर प्रमुख अशोक कार्की, पूर्वनगर प्रमुख दुर्गा थापा (स्वस्तिक), चौदण्डीका पूर्वनगर प्रमुख खगेन्द्र राई, रौतामाईका पूर्वअध्यक्ष गजेन्द्र खड्कासहित उद्योगी, व्यापारी तथा होटल व्यवसायीहरूको उपस्थिति थियो। महोत्सव अवधिभर विभिन्न सांस्कृतिक प्रस्तुति, स्थानीय परिकार प्रदर्शनी, साहसिक खेलकुद गतिविधि तथा पर्यटनसँग सम्बन्धित विविध आकर्षक कार्यक्रमहरू आयोजना गरिने बेलका पर्यटन विकास बोर्डका अध्यक्ष थापाले बताए। यता उदयपुरको रौतापोखरी क्षेत्रमा पहिलोपटक नै चैत्र २८ गतेदेखि वैशाख ३ गतेसम्म प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’ पनि आयोजना हुँदै छ। शुक्रबार नै रौतामाई त्रियुगा पर्यटन महोत्सव व्यवस्थापन समितिका संयोजक दिनेश श्रेष्ठले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको संयुक्त आयोजनामा हुने महोत्सव पाँच दिनसम्म विविध कार्यक्रमसहित सञ्चालन हुने श्रेष्ठको भनाइ छ।

किमाथाङ्का अरुण जलविद्युत् आयोजना प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड बढी मुआब्जा वितरण गरिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण भइरहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई चैत ९ गतेदेखि मुआब्जा वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत घाङ्री लामाले बताए । हालसम्म आयोजना प्रभावित क्षेत्रका २६ जना जग्गाधनीले रु १८ करोड मुआब्जा पाइसकेको आयोजनाका प्रबन्धक अशोक पण्डितले बताए ।  प्रभावित स्थानीयलाई करिब ४५ करोड मुआब्जा वितरण गर्नुपर्ने किमाथाङ्का अरुण जलविद्युत् आयोजनाले जनाएको छ । उक्त रकम जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरूले पाउनेछन् । जिल्ला प्रशासन कार्यालयको २०८२ पुस ८ गते बसेको बैठकले प्रतिरोपनी ६ लाख ९० हजारसम्म जग्गाको मूल्याङ्कन गरेको थियो । आयोजना निर्माणस्थल क्षेत्रमा साविक भोटखोला–१,३,४ र ६ नम्बर वडामा पर्ने ७०० रोपनी क्षेत्रका १५० घरधुरी प्रभावितले मुआब्जा पाउनेछन् । किमाथाङ्का अरुण जलविद्युत् आयोजना विद्युत् उत्पादन कम्पनी लिमिटेडले निर्माणको जिम्मा लिएको छ । भोटखोला–२ चेपुवामा अरुण नदीको पानी ६ किलोमिटर सुरुङ मार्ग निर्माण गरेर विद्युत् गृहस्थल लिङ्गमा लगिने छ । उक्त आयोजनाको लागत करिब रु ९३ अर्ब ८० करोड खर्च हुने अनुमान गरिएको छ । आयोजनामा ५१ प्रतिशत लगानी नेपाल सरकारको र ४९ प्रतिशत लगानी सर्वसाधारणको रहने व्यवस्था गरिएको छ । आयोजनाले निर्माण सुरु भएको मितिदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ ।

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ । भोजपुर नगरपालिका–१२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो रहेको छ । उकालो–ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण गरिएको यो मार्गले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै यहाँको जनजीवनमा ठुलो परिवर्तन ल्याएको स्थानीय बताउँछन् । पहिले घण्टौँ पैदल हिँड्नुपर्ने ठाउँमा अहिले सवारीसाधन पुग्न थालेपछि स्थानीयवासीको दैनिकी सहज बनेको छ । यो सडक भोजपुरलाई दक्षिणी क्षेत्रसँग जोडेको छ । यस सडकको सबैभन्दा विशेषता भनेकै यसको नागबेली आकृति हो । माथिबाट हेर्दा लामो सर्पजस्तै घुमाउरो देखिने यो सडक दृश्यले फोटोग्राफी तथा भिडियो खिच्न रुचाउनेका लागि आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता तस्बिर तथा भिडियो व्यापक रूपमा साझा हुन थालेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको स्थानीयको भनाइ छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्र वरिपरि फैलिएको हरियाली वन, डाँडाकाँडा र तल बगिरहेको पिखुवा खोलाको मनोरम दृश्यले यात्रालाई अझ रमणीय बनाउने गर्दछ । बिहानको कुहिरो र साँझपखको सुनौलो घामले सडकलाई झन आकर्षक बनाउने भएकाले यहाँ पुग्ने पर्यटकले समय मिलाएर दृश्यावलोकन गर्ने गरेका छन् । स्थानीयका अनुसार यो सडकले कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहजता ल्याएको छ । आलु, मकै, अदुवा, फलफूललगायत कृषि उपज ढुवानीमा सहज भएपछि किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । साथै, सडक सञ्चालनमा आएपछि यहाँको व्यापार–व्यवसाय पनि विस्तार हुन थालेको छ । सडक छेउमा विश्रामस्थल, दृश्यावलोकन स्थल (भ्यू प्वाइन्ट) निर्माण, सूचना बोर्ड जडान गरिएमा यात्रु तथा पर्यटकलाई सहजता हुने स्थानीयको भनाइ छ । आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचार गर्न सकिएमा भोजपुर–बेहेरे सडक केबल यातायात मार्गमा सीमित नरही प्राकृतिक सौन्दर्य अवलोकनका लागि देशकै एक आकर्षक गन्तव्यका रूपमा स्थापित हुनसक्ने स्थानीय जानकारहरूले बताउने गरेका छन् ।

पर्यटकको रोजाइमा सुनसरीकाे रास ताल

सुनसरी । जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको यो तालमा दैनिक रूपमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । अरु तालभन्दा फरक विशेषता बोकेको रास तालमा मनोरम दृश्यावलोकनसँगै दिनभर फिसिङ (माछा मार्ने) सुविधा उपलब्ध हुनु यहाँको मुख्य आकर्षण हो । यही कारणले यहाँ दैनिक रूपमा धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगन्ज तथा भारतका विभिन्न स्थानबाट समेत पर्यटक यहाँ पुग्ने गरेका छन् । विशेषगरी वनभोजका लागि उपयुक्त मानिएको यस क्षेत्रमा एकै पटक १४५ समूहसम्मलाई व्यवस्थापन गर्न सकिने संरचना तयार गरिएको छ । पिकनिक सिजनमा दैनिक आठदेखि १० हजारभन्दा बढी पर्यटक आउने गरेका छन् भने अफसिजनमा पनि अहिले दैनिक दुईतीन सयभन्दा बढी पर्यटकको आवतजावत हुने गरेको रास ताल व्यवस्थापन समितिका सचिव भीमबहादुर माझीले बताए । धेरैजसो पर्यटक मङ्सिर, पुस साथै वैशाख जेठ महिनामा आउने गरेका छन् । सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने ६१ हेक्टर क्षेत्रफलमध्ये करिब आठ हेक्टरमा फैलिएको ताललाई राष्ट्रिय विभूति इमानसिंह चेम्जोङसँग जोडेर २०७१ सालदेखि स्थानीय पहलमा पर्यटकीय नमुना क्षेत्रका रूपमा विकास गर्न थालिएको हो । कोशी प्रदेश पर्यटन मन्त्रालयले २०७७/७८ को बजेटअन्तर्गत विनियोजित रु ८० लाखबाट यहाँ भ्यूटावर, इमानसिंह चेम्जोङको सालिक निर्माण तथा २९ हेक्टर क्षेत्रमा तारबार गरिएको समितिले जनाएको छ । साथै, यहाँ एक सयभन्दा बढी जातजातिको प्रतिनिधित्व हुने नमुना मठमन्दिर, सांस्कृतिक झाँकीसहित मेला लाग्ने तथा सङ्ग्रहालयसमेत निर्माण गरिएको छ । समितिका सचिव माझीका अनुसार यहाँ रु तीन सय शुल्क तिरेपछि बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म माछा मार्न पाइन्छ । पर्यटकले दिनभरमा समातेको माछा आफैँ लैजान पाउँछन्, कतिपयले १० केजीसम्म माछा समातेका छन् । तालमा कमलकार, ग्रास, रहु, नौनीलगायत सात प्रजातिका माछा पाइन्छन् । यस तालमा घुम्न आउने पर्यटकले बोटिङको सुविधा लिन सक्नेछन् भने चिडियाघरमा खरायो, हुचिल, चिल, बाँदर, अजिङ्गरलगायत जीवजनावर अवलोकन गर्न सक्ने सचिव माझीले जानकारी दिनुभयो । यस क्षेत्रलाई थप आकर्षक बनाउन तालको बिचमा करिब रु १५ लाख लागतमा टापु निर्माण गरिएको छ भने तीन वटा काठका पुलमार्फत वारपार गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै, तराई क्षेत्रमा दुर्लभ मानिने सल्ला तथा सिरिसका बिरुवा रोपेर वातावरणीय सौन्दर्य थपिएको छ । करिब रु २५ लाख लागतमा मुख्य प्रवेशद्वार तथा ट्री हाउससमेत निर्माण गरिएको छ, जहाँबाट सम्पूर्ण तालको दृश्यावलोकन गर्न सकिन्छ । पिकनिक तथा बोटिङबाट वार्षिक रूपमा रु छदेखि सात लाखसम्म आम्दानी हुने गरेको समितिको भनाइ छ । उक्त आम्दानीले ताल संरक्षण तथा पूर्वाधार विकासमा खर्च गरिँदै आएको छ । स्थानीय व्यापारीका अनुसार पर्यटकको आगमनसँगै आसपासका खाजा, नास्ता पसल तथा अन्य व्यवसायसमेत चलायमान भएका छन् । बजेट अभावका कारण केही पूर्वाधार निर्माण अझै अधुरो रहेकाले प्रदेश तथा स्थानीय सरकारबाट लगानी आवश्यक रहेको स्थानीयको भनाइ छ । महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित रास ताललाई आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्न सकिने सम्भावना रहेकाले समिति संरक्षणमा जुटिरहेको छ ।

कोशीमा बर्डफ्लुको कहर: ५५ हजारभन्दा बढी कुखुरा नष्ट, पोल्ट्रि उद्योग संकटमा

विराटनगर । पहिल्यै आर्थिक संकटसँग जुधिरहेको कोशी प्रदेशको पोल्ट्रि व्यवसाय यतिबेला बर्डफ्लु संक्रमणका कारण गम्भीर सङ्कटमा परेको छ। झापा, मोरङ र सुनसरी जिल्लाका १२ वटा पोल्ट्रि फार्ममा संक्रमण पुष्टि भएसँगै हालसम्म ५५ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार संक्रमित फार्महरूमा तीव्र गतिमा रोग फैलिन सक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि ‘रेपिड रेस्पोन्स टिम’ परिचालन गरी कडा निगरानी थालिएको छ। पशुपन्छी विकास महाशाखाकी वरिष्ठ पशु चिकित्सक डा. दिपा दिवालीका अनुसार हालसम्म ५३ हजार ९ सय ९० लेयर्स, ५ सय ५० ब्रोइलर र ६ सय ६ स्थानीय जातका कुखुरा नष्ट गरिएको छ। यससँगै १ लाख ९ हजार ४ सय २१ वटा अण्डा र १७ हजार ३ सय ५० केजी दाना समेत नष्ट गरिएको छ। उर्लाबारीस्थित एक फार्मबाट ७ वटा हाँस पनि नष्ट गरिएको जनाइएको छ। विराटनगर र कटहरीका थप दुई फार्मको प्रतिवेदन आउन बाँकी रहेकाले क्षतिको दायरा अझै बढ्न सक्ने अनुमान गरिएको छ। हालसम्म मोरङको उर्लाबारी र झापाको दमक क्षेत्र संक्रमणको मुख्य केन्द्र बनेका छन्। उर्लाबारी–८ स्थित एक फार्ममा मात्रै १८ हजार कुखुरा नष्ट गरिएको छ भने दमकका दुई फार्ममा क्रमशः करिब १५ हजार र १३ हजार कुखुरा नष्ट गरिएको छ। मोरङबाट सुरु भएको संक्रमण झापा र सुनसरीका विभिन्न क्षेत्रमा फैलिएको पुष्टि भएको छ। सरकारी निकायले संक्रमण फैलनुको मुख्य कारण अवैध कुखुरा ओसारपसारलाई ठहर गरेको छ। किसानहरूले घाटा कम गर्न संक्रमित कुखुरा सस्तोमा बजार पठाउने प्रवृत्तिले रोग अन्य क्षेत्रमा फैलिने जोखिम बढाएको अधिकारीहरूको भनाइ छ। प्रशासनले भेटेरिनरी प्रमाणपत्र बिना कुखुरा ओसारपसार नगर्न कडाइ गरेको छ भने प्रभावित क्षेत्रमा निगरानी बढाइएको छ। कृषकहरूलाई फार्ममा कडाइका साथ जैविक सुरक्षा अपनाउन आग्रह गरिएको छ। बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्ने, नियमित सरसफाइ गर्ने र शंकास्पद लक्षण देखिएमा तत्काल सूचना दिन आग्रह गरिएको छ। पोल्ट्रि क्षेत्रमा अर्बौं लगानी र हजारौँ रोजगारी जोडिएको अवस्थामा यो संक्रमणले व्यवसाय धराशायी हुने जोखिम बढाएको छ। लेयर्स कुखुरापालक संघ मोरङ–सुनसरीका अध्यक्ष होम बास्कोटाका अनुसार ऋण लिएर फार्म चलाएका किसान बिक्रीको समयमा नै बर्डफ्लुका कारण ठूलो घाटामा परेका छन् र धेरैजना सडकमा पुग्ने अवस्था आएको छ। नेपालमा पहिलो पटक २०६५ माघमा झापाको काँकडभिट्टाबाट बर्डफ्लु देखिएको थियो। त्यसयता छिटफुट रूपमा संक्रमण देखिँदै आए पनि यस वर्षको संक्रमण पछिल्ला केही वर्षकै सबैभन्दा गम्भीर मानिएको छ। बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा तथा सामग्रीको क्षतिपूर्ति सरकारले उपलब्ध गराउने व्यवस्था रहेको छ। डा. दिवालीका अनुसार क्षतिको मूल्याङ्कन जिल्ला दररेट निर्धारण समितिले गर्नेछ र सोही आधारमा संघीय सरकारले राहत उपलब्ध गराउनेछ। प्रक्रिया पूरा हुन भने केही समय लाग्ने जनाइएको छ। हाल सम्बन्धित निकायले नष्ट गरिएका सम्पूर्ण विवरण संकलन गरी संघीय सरकारलाई सिफारिस गर्ने तयारी गरिरहेको छ।

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

काठमाडौँ । इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । सोमबार काठमाडौँमा पत्रकार भेटघाटमा महोत्सव आयोजक समितिका संयोजक सनम राईले ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको बताए। करिब ४० किलोमिटर लामो उक्त पदमार्गले माईपोखरीदेखि जौबारीसम्मका विभिन्न पर्यटकीयस्थललाई जोड्छ । यस मार्गमा रेडपाण्डासहित विभिन्न प्रजातिका चरा, वन्यजन्तु, जैविक विविधताको अध्ययन–अवलोकन गर्न सकिन्छ । सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा महोत्सव आयोजना हुनेछ । आयोजकका अनुसार रेडपाण्डा पदयात्राको अनुभव, जङ्गल सफारी, चराहरूको दृश्यावलोकन महोत्सवका मुख्य आकर्षण रहनेछन् । यस्तै, यहाँका १८ प्रजातिको गुराँसको अध्ययनका साथै आदिवासी जनजातिको संस्कृतिसमेत नियाल्न पाइनेछ । विश्वको अग्लो सगरमाथासहित ६० भन्दा बढी हिमशृङ्खला, सयौँ प्रजातिका चराको अवलोकन गर्न सकिने संयोजक राईले बताए । महोत्सवमा आन्तरिक र बाह्य १० हजार पर्यटक सन्दकपुर भित्र्याउने आयोजकको लक्ष्य छ । महोत्सव आयोजक सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले यस महोत्सवले पालिकाका प्रमुख गन्तव्यहरूको समेत प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यसअघि २०८० चैत २७ देखि वैशाख १ गतेसम्म पहिलो र २०८१ चैत २० देखि २३ गतेसम्म दोस्रो रेडपाण्डा महोत्सव आयोजना गरिएको थियो । रेडपाण्डाको माध्यमबाट पूर्वी नेपालको वनजङ्गल पर्यटनलाई चलायमान बनाउने उद्देश्य रहेको जनाइएको छ । झापाको चारआलीबाट ७५ किलोमिटरको दूरीमा इलाम बजार र त्यहाँबाट १८ किलोमिटर यात्रा गरेपछि सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्र पुग्न सकिन्छ । त्यहाँको पर्यटन सूचना केन्द्रको सहयोगमा यहाँका पर्यटकीय गन्तव्यको यात्रा गर्न सकिन्छ ।

मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती सेवा समाजद्वारा सोमबार यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तर्क्रियामा स्वास्थ्य कार्यालयका अधिकृत मुलकचन्द राजवंशीले एक वर्षमा क्षयरोगबाट ३५ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । उनका अनुसार आव २०८०/८१ मा क्षयरोगबाट ३० जनाको मृत्यु भएको थियो भने चालु आवको हालसम्म ३५ जनाको मृत्यु भएको हो । जिल्लामा चालु आवको हालसम्म ९०९ क्षयरोगका सङ्क्रमित देखिएकामा गत आवमा एक हजार २२२ सङ्क्रमित फेला परेका थिए । मोरङका सुन्दरहरैँचा, पथरीशनिश्चरे, उर्लाबारी क्षेत्रमा क्षयरोगका सङ्क्रमित बढी फेला परेका छन् । सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निवारण गर्ने सरकारको लक्ष्य छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ नेपालमा मङ्गलबार विश्व क्षयरोग दिवस मनाइँदै छ । यस उपलक्ष्यमा मङ्गलबार मोरङको बूढीगङ्गास्थित विराट मेडिकल कलेजबाट क्षयरोग सम्बन्धमा जनचेतना जागृत गराउन प्रभातफेरीले टङ्कीसिनवारी नगरक्षेत्र परिक्रमा गरी कोणसभा गरिने कार्यक्रम तालिका रहेको सोही अवसरमा जानकारी गराइएको छ ।