कर्णालीमा पहिलोपटक विषादी प्रयोगशाला स्थापना

सुर्खेत । कर्णालीमा पहिलोपटक तरकारी तथा फलफूलमा प्रयोग गरिने विषादी जाँच गर्ने प्रयोगशाला स्थापना भएको छ । सुर्खेतको वीरेन्द्रनगर–६, स्थित बुलबुले तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरिएको हो । संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाको सहयोगमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरिएको हो ।

प्रयोगशालाको कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उद्घाटन गरेका छन् । प्रयोगशाला उद्घाटन गर्दै मन्त्री शाहले विषादीरहित तरकारी उत्पादन तथा बिक्री वितरणमा कृषक, व्यवसायी र उपभोक्तामा जनचेतनाको आवश्यक रहेको बताए । कर्णाली प्रदेश आफैँमा अर्ग्यानिक रहेको उल्लेख गर्दै पछिल्लो समय तरकारी तथा फलफूलमा बढ्दै गएको विषादीको प्रयोगले मानवस्वास्थ्यमा गम्भीर असर पर्दै गएकोमा सचेत रहनुपर्ने शाहले बताए । 

प्रयोगशाला स्थापना भएसँगै प्रदेश सरकारको अर्ग्यानिक प्रदेशको अवधारणालाई सघाउ पुग्ने मन्त्री शाहको भनाइ थियो । सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा रहेका प्रयोगशाला यसै वर्ष सञ्चालनमा आउने मन्त्री शाहको दावी छ, जसका लागि बजेटको व्यवस्थापन भइसकेको उनले बताए । यस्तै, प्रदेश सरकारले विषादी व्यवस्थापनसम्बन्धी कानुन बनाउने तयारी भइरहेको मन्त्री शाहले बताए ।

जीवनाशक विषादी भन्नाले बोट बिरुवा, कृषिजन्य पदार्थ, वन तथा वन पैदावर, जीव, पशुपक्षी, मानव स्वास्थ्य, भण्डारण, प्याकेजिङ, निर्माण कार्यमा हानि पुर्‍याउने, रोग, कीरा, सुलसुले, नेमाटोड, झारपात, मुसा लगायतबाट बचाउन प्रयोग गरिने प्रङ्गारिक, वनस्पति, जैविक तथा रासायनिक वस्तु हुन् ।

यस्ता विषादीको प्रयोग गर्दा मानव स्वास्थ्यमा क्यान्सरजस्ता घातक रोगको जोखिम हुने केन्द्रीय कृषि प्रयोगशालाको प्रमुख महेशचन्द्र आचार्यले बताए । नेपालमा सरदर विषादीको खपत ३ सय ९६ ग्राम खास बिष प्रतिहेक्टर बालीअनुसार खपत हुने गरेको छ, जसमा तरकारीमा एक दशमलव ६० केजी खास विष प्रतिहेक्टरमा प्रयोग हुने आचार्यले बताए ।

क्रान्तिकारीको कर्णाली प्रदेश अध्यक्षमा मनसिंह शाही

काठमाडौं। नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको कर्णाली प्रदेश समितिको दोस्रो सम्मेलनले सर्वसम्मत नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ । भाद्र ३० गते सुर्खेतमा उद्घाटन भई ३१ गते सम्पन्न बन्दसत्रले सर्वसम्मत रुपमा १३ पदाधिकारी सहित ७५ सदस्यीय प्रदेश समिति निर्माण गरेको हो । जसको अध्यक्षमा मनसिंह शाही चयन  हुनुभएको छ । उपाध्यक्षहरुमा हिक्मत बहादुर शाही, हिक्मत शाही,धुर्व आचार्य शर्मा,अजय बिस्ट, टिकाराम बि.क, प्रकाश बि.क र मनिसा चन्द चयन  हुनुभएको छ ।  त्यसैगरी कर्णाली प्रदेश क्रान्तिकारीको प्रमुख सचिवमा नारायण के.सी. चयन हुनुभएको छ । सचिवहरुमा बिष्णु भण्डारी, पदम शाही र शुक्राज रावल चयन  हुनुभएको छ । साथै, सम्मेलनले कोषाध्यक्षमा भुवन गौतमलाई निर्वाचित गरेको छ भने जयकृष्ण जैसी र गणेश अधिकारी कार्यलय सदस्यको जिम्मेवारी दिएको छ ।  

अनेरास्ववियू (क्रान्तिकारी) मुगुको अध्यक्षमा कबिदत्त बुमि निर्विरोध निर्वाचित

मुगु ।अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिती मुगुको अध्यक्षमा कबिदत्त बुमि निर्विरोध निर्वाचित भएका छन् । यहीँ भाद्र २५ र २६ गते भएको अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिती मुगुको सातौं जिल्ला सम्मेलन बाट जिल्ला अध्यक्षमा कबिदत्त बुमि, उपाध्यक्षमा महेन्द्र बिक, सचिबमा समीर कुमार शाही, सहसचिवमा गणेश परियार र काेषाध्यक्षमा बिमाला शाही सहित ३१ सदस्य निर्बिरोध निर्वाचित भएको नव निर्वाचित अध्यक्ष कबिदत्त बुमिले बताए ।  जिल्ला भित्रका चार वटा स्थानिय तह, क्याम्पस र माबी स्कुल बाट छनोट भएर आएका प्रतिनिधिहरुको बीचबाट ५ पदाधिकारी सहित ३१ सदस्यीय जिल्ला समिती निर्वाचित भएको अध्यक्ष बुमिले बताए । सम्मेलनले नेतृत्व निर्माण संगसंगै मुगु जिल्लाका तमाम शैक्षिक समस्या, भ्रष्टाचार, विकृति र विसंगतिका विरुद्ध आन्दोलन र अभियान संचालन गर्ने, बिद्यार्थीको अतिरिक्त क्षमता बिकासको लागी विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रम गर्ने, सबै माबि भन्दा माथीका शैक्षिक संस्थामा संगठन बिस्तार, गठन, पुनर्गठन गर्ने लगायतका निर्णय गरि सम्मेलन सम्पन्न भएको अध्यक्ष बुमिले बताए । "समाजवादी शिक्षा प्राप्तिका निम्ती हाम्रो आन्दोलन ! सशक्त र जुझारू संगठन निर्माणका लागि ७ औं जिल्ला सम्मेलन ! " भन्ने मुल नाराका साथ यहीँ भाद्र २५ गते उद्घाटन २६ गते समापन भएको अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिती मुगुको सातौं जिल्ला सम्मेलनमा अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचीव नवराज कार्की प्रमुख अतिथि थिए भने माओवादी केन्द्रका नेता तथा खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको बिशिस्ट अतिथि थिए र माओवादी केन्द्रका नेता भारत बहादुर शाही लगायत बिद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

कर्णाली कहर (फोटो फिचर)

अबिरल वर्षाका कारण कर्णाली राजमार्ग सडकखण्ड अन्तर्गत जिल्ला कालिकोट शुभकालिका गाउँपालिका गगने खोला र दैखोलामा गएको पहिरोको कारण पूर्णरुपमा अबरोध भएको बाटो खुलाउनुका साथै पहिरोमा फसेका व्यक्तिहरुलाई उद्धार गर्ने क्रममा नेपाल प्रहरी । तस्विर सौजन्यः नेपाल प्रहरी

आलु खेती विस्तार गर्न समिति गठन

रुकुम पश्चिम । रुकुम पश्चिमको एक वडाले वडामा आलु खेतीलाई विस्तार गर्न समिति गठन गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १० ले वडामा आलु खेती विस्तार गर्न १३ सदस्यीय समिति निर्माण गरेको हो । वडामा आलु खेती विस्तार गर्न, उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न वडामा आलु खेती विकास किसान समिति गठन गरिएको वडा अध्यक्ष धनबहादुर खड्का‘बसन्त’ले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा रहेका सवै बस्तिहरुलाई समेट्ने उदेश्यले वडामा रहेका चार वटा टोलबाट सदस्य रहने गरी लाइकराम खड्काको अध्यक्षतामा १३ सदस्यीय समिति निर्माण गरिएको छ । जसको सचिवमा मिना कंवर  र कोषाध्यक्ष कर्णबहादुर खड्का रहनु भएको छ । समितिमा रहेका अन्य सदस्यहरु पनि खेती किसानमै आबद्ध किसानहरु रहेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । समितिले आलु खेती गर्ने किसानलाई प्रोत्साहन, वडा सरकार तथा अन्य निकायबाट अनुदानमा उपलब्ध भएको कृषिजन्य बस्तु सहि ठाउँमा  प्रयोग भए नभएको रेखदेख तथा वडामा उत्पादन भएको आलुलाई बजारिकरणको लागि सहजिकरण गर्नेछ ।  वडामा आलु उत्पादन भएको वर्षौ भइसक्दा पनि परम्परागत शैलिमै उत्पादन  भएकाले आलु खेतीलाई थप विस्तार तथा आधुनिक तरिकाले आलु उत्पादन गर्ने उदेश्यले समिति निर्माण गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । ‘‘वडामा आलु कम उत्पादन हुने गरेको र जिल्लामै बिक्री हुने गरेकामा  उत्पादन बढाएर जिल्ला बाहिर पठाउने उदेश्यका साथ लागेका छौँ, नयाँ तरिकाले उत्पादन गर्न किसानलाई प्राविधिक तालिम समेत दिने वडाले योजना बनाएको छ ,’’वडा अध्यक्ष खड्काले भन्नुभयो ।

कर्णाली राजमार्ग पाँच दिनपछि सञ्चालनमा

सुर्खेत । पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । १२ भदौको राति परेको अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध सडक आइतबार साँझदेखि सञ्चालनमा आएको हो । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठविस नगरपालिका–५, को मालाचौरदेखि कालिकोटको शुभकालिका गाउँपालिका–१, को हुल्म बजारसम्मको सडक खण्डको पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको हो । यो खण्डमा पर्ने दही खोला, एससमोड, मेयरखोला, गगने खोला लगायतका ठाउँमा ठूलो पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि साविक कर्णालीका चार जिल्ला यातायात सेवाबाट पूर्ण रूपमा अलग भएका थिए । सडक सञ्चालनमा आएसँगै रोकिएका सबै यात्रु तथा मालबहाक सवारीहरू गन्तव्यतर्फ हिँडेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता एवंम् प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो । उनका अनुसार कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर हिँडेका करिब ४५ बढी ट्रकहरू पाँच दिनदेखि अलपत्र परेका थिए ।  जुम्लाबाट बजार पठाइएका स्याउका ४५ ट्रक अर्थात्, एक सय सात टन (करिब सात करोड मूल्य बराबर) को स्याउ कालिकोटको खाँडाचक्र नगरपालिका–३ को ताडी बसपार्कमा रोकिएका थिए ।

उपल्लो डोल्पामा बाह्र वर्षे मेला सुरु

डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका ३ साल्दाङस्थित शेल गुम्बामा १२ वर्षे शे सुरु भएको छ। दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्व शान्तिको भन्ने मूल नाराका साथ ६७ औँ मेला सुरु भएको गाउँपालिकाका उपाध्यक्ष तथा प्रचारप्रसार  उपसमितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिनुभयो ।  प्रत्येक १२ वर्षमा एक पटक लाग्ने मेलाले विश्वमा शान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक धार्मिक तथा सांस्कृतिक पहिचान समेत झल्काउने गर्दछ । यस मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहासिक, प्राकृतिक तथा पुरातात्त्विक सम्पदाको विश्वसामु प्रचारप्रसार हुने आयोजकले जनाएको छ। रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वी डुपतोप सिंगे यिशेको सम्मान स्वरूप लाग्ने यो मेलाबाट समग्र डोल्पो दर्शन समेत बुझ्न सकिने बताइएको छ। मेलामा सहभागी हुन पूर्व मन्त्री तथा डोल्पाका लागि संघीय सांसद धनबहादुर बुढा, डाक्टर सन्दुक रुइत लगायत बौद्ध धर्मालम्बीहरूका प्रमुख लामाहरू समेत पुगेका छन्। मेला चार दिनसम्म सञ्चालन हुने बताइएको छ।

अखिल क्रान्तिकारी जुम्लामा निर्वाचन, अध्यक्षमा रावल एक मतले विजयी

जुम्ला । अखिल क्रान्तिकारी जुम्लाले निर्वाचनबाट अध्यक्ष निर्वाचित गरेको छ । जसअनुसार धर्मराव रावल ३९ मत सहित विजयी हुनुभएको छ भने प्रतिष्पर्धी नरेन्द्र सेजुवालले ३८ मत प्राप्त गर्नुभएको छ ।  अन्य पदाधिकारी भने सहमतिबाट चयन भएका छन् । जसअनुसार सन्तोष आचार्य बरिष्ठ उपाध्यक्ष, कनिस्टा बिक उपाध्यक्ष, प्रेमसिंह सुनार सचिव, मानबहादुर बुढा र हेमप्रकाश हमाल सहसचिव तथा सलिना सिंह कोषाध्यक्षसहित ४५ सदस्यीय जिल्ला समिति चयन भएको छ ।

कर्णालीबासीको प्रश्न– अघिल्लो सरकारले पारित गरेको सिञ्जा सभ्यता संरक्षण विधेयक खोई ?

जुम्ला । सरकारले सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको लामो समयसम्म पनि विधेयक अघि नबढाइएको भन्दै कर्णालीबासीले बिरोध जनाएका छन् ।  कर्णालीबासीको तर्फबाट जुम्लाका नेता नरेश भण्डारीले प्रधानमन्त्री र मुख्यसचिवलाई सार्वजनिक पत्र लेख्दै भन्नुभएको छ– ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्न प्रचण्ड सरकारको मन्त्रीपरिषद्ले निर्णय गरेको छ । तत्कालीन कानुन मन्त्री धनराज गुरूङ नेतृत्वको बिधेयक समितिले एक वर्ष बन्धक बनाएको विधेयक निवर्तमान गृहमन्त्री रबि लामिछाने नेतृत्वको बिधेयक समितिको बैठकले सहमति दिने निर्णय गरेको छ ।’ विधेयकमाथि अर्थ र कानुन मन्त्रालयको सहमतिसँगै १२ बुँदे अवधारणा पत्र र प्रस्तावित बिधेयकको मस्यौदा पेश भए पनि अघि नबढाइएको भन्दै भण्डारीले आपत्ति जनाउनुभएको छ । ‘विधेयक आवश्यक छ, प्रक्रिया पनि पुगेको छ तर तपाई नेतृत्वको सरकारले किन बिधेयक प्रमाणीकरण गरेको छैन ?’– प्रधानमन्त्रीलाई प्रश्न गर्दै भण्डारीले लेख्नुभएको छ– ‘बिधेयक प्रमाणीकरण प्रक्रियाले होइन पूर्वाग्रह र कुशासनले रोकेको छ भन्ने निष्कर्षमा जुम्ला तथा कर्णालीवासी मात्र नभई नेपाली भाषा, सभ्यता र संस्कृतिलाई माया गर्ने समस्त नेपालीहरू पुग्न कठिन छ र ?’ बिधेयक प्रमाणीकरण गर्न जुम्ला तथा कर्णालीबासीले आन्दोलनको सहारा लिनु पर्ने हो भनेर प्रश्न गर्दै भण्डारीले भन्नुभएको छ– ‘सुर्खेतदेखि सिंहदरबारसम्मको संघर्षका क्रममा मैले मात्र यस बिधेयकका लागि दुई सय भन्दा ज्यादा दिनहरू उपयोग गरेको छु । पहल समिति सहसंयोजक बलबहादुर महत, भिमनीधि हमाललगायत पहल समिति सदस्यहरू तथा क्रियाशील अन्य व्यक्तित्वहरूले कैयन दिन यसैका लागि योगदान गर्नुभएको छ ।’ कर्णालीका सिञ्जा सभ्यता, हुम्लाको हुल्मु जातिलाई जनजातिमा सूचिकृत गर्ने र सल्यान क्याम्पसलाई आंगिक बनाइने निर्णय बाहेक एउटै क्याबिनेटबाट पारित भएका अन्य निर्णय प्रमाणीकरण भइसकेको उल्लेख गर्दै उहाँले  कर्णालीप्रति सरकारले गरेको यो प्रतिनिधिमूलक विभेद भएको टिप्पणी गर्नुभएको छ । ‘उल्लिखित निर्णयहरु प्रमाणीकरण गर्न सरकारलाई अनुरोध गर्दछुँ । अन्यथा कर्णालीवासीलाई सैह्य हुने छैन्’– भण्डारीले लेख्नुभएको छ–‘सरकारलाई हेक्का होस्, यस बिधेयक पारित गर्न दुई सय दिन होइन दुई हजार दिन संघर्ष गर्न तयार छौं ।’

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा  रोकिएको छ ।  सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो । उहाँले पहिरो पन्छाउने काम भइरहेको बताउनुभयो । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

माओवादीले नेतृत्व गरेको वडा उत्पादनमा नमूना बन्दैः एकैपटक ३६ लाखको लसुन निर्यात

प्रथम कम्युनिष्ट सहिद कामी बुढा जन्मेको यो वडामा जनयुद्धका क्रममा चक्रराम बुढा ‘छहरा’ र देवीलाल परियार ‘विजय’ सहिद हुनुभएको थियो । उहाँहरुको नामबाट स्थापित छवि बहुउद्देश्यीय सहकारीले कृषि उपजको बजार व्यवस्थापन गर्ने काम गरिरहेको छ। वडाले स्थानीय छवि बहुउद्देश्यीय सहकारी संस्थालाई कृषि उपजको सङ्कलन र बजारीकरणका लागि अगाडि सारेको छ ।

खुशी बाँड्दै कर्णालीः देशभर चिकित्सक पठाउँदै जुम्ला

कर्णाली –  जुम्लामा पनि डाक्टरी पढाइ हुन्छ र भन्ने धेरैको प्रश्न हुन सक्छ । प्रश्नकर्ता कतिलाई जुम्लामा चिकित्सक पढाइ हुन्छ भन्ने पनि थाहा छैन । केहीले पढाइ हुन्छ भन्नेमा विश्वास गर्दैनन् । थाहा पाउनेहरूले त्यहाँ चिकित्सकको कस्तो पढाइ हुन्छ होला रु भनेर खिसी गरेको पाइन्छ । ती प्रश्न एवं जिज्ञासा राख्ने र खिसिट्युरी गर्नेहरूले जुम्लाले स्नातक मात्र होइन, अब स्नातकोत्तर तहको चिकित्सक उत्पादन गरेको खबर सुन्न धेरै समय कुर्नुपर्ने छैन । प्रगती र विकासका लागि भूगोल बाधक हुन सक्दैन अनि दुर्गमले दुःख मात्र होइन, समृद्धिको इँटा थप्न सक्दोरहेछ भन्ने गतिलो उदाहरण स्वरुप अब देशलाई चाहिने चिकित्सक तथा जनस्वास्थ्य विज्ञ जनशक्ति पठाउँदैछ । मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही भदौ २३ गते चिकित्साशास्त्रमा विभिन्न सङ्कायमा स्नातकोत्तर तह उत्तीर्ण पाँच विशेषज्ञ चिकित्सक र स्नातक तहका ५१ जनालाई विद्यार्थीहरु दीक्षित गर्दैछ । यसका लागि प्रतिष्ठान जुम्लामा भदौ २३ गते ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ । जसको तयारीमा प्रतिष्ठान जुटेको छ । उपकुलपति डा. मङ्गल रावलका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र सङ्कायका स्नातक र स्नातकोत्तर तहका गरी कूल ५६ उत्तीर्ण विद्यार्थीहरू दीक्षित हुनका लागि योग्य छन् । उपकुलपति रावलले भन्नुभयो, “प्रथम दीक्षान्त समारोह गर्न स्वीकृतिका लागि यही साउन ३२ गते कुलपतिसमक्ष पत्र पठाएका थियौँ । सोही पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिष्ठानलाई २३ भदौ आइतबार बिहान १०ः३० बजे जुम्लामा दीक्षान्त समारोह गर्नका कुलपतिले स्वीकृत गरेको व्यहोरासहितको पत्र प्राप्त भएको छ । सोही अनुसार तयारी गर्दैछौँ ।” कर्णालीको इतिहासमा पहिलोपटक ऐतिहासिक दीक्षान्त समारोह आयोजना गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाका अनुसार यहाँ अध्ययनरत विद्यार्थीहरूमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडिजिपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँचजनासहित कूल ५६ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन् । दीक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन एकेडेमिक बिल्डिङ र तिलगङ्गा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको उपकुलपति रावलले बताउनुभयो । समारोहमा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको सहयोगमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड इएमआर उपकरण हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ । सो अवसरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनी झा, स्वास्थ्य सचिव डा रोशन पोखरेल, वरिष्ठ आँखा विशेषज्ञ डा सन्दुक रुइत, विश्व स्वास्थ्य सङ्गठन नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवसमेत सहभागी हुने जनाइएको छ ।

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री कँडेलले पेश गरेको विश्वासको मतको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत परेको थियो । मतदान प्रक्रियामा ३७ सांसदले भाग लिएका थिए ।  केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णालीमा पनि माओवादी केन्द्र सरकारबाट बाहिरिएर कांग्रेस सरकारमा गएको छ ।

कर्णालीमा कांग्रेसका चार मन्त्रीको शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा नेकपा (एमाले) नेतृत्वको सरकारमा नेपाली कांग्रेसकोतर्फबाट सहभागी हुने चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो। जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा नियुक्त भए । नवनियुक्त मन्त्रीले आइतबार पदभार ग्रहण गरेका हुन्।

कर्णाली सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरूले दिए राजीनामा

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । सोमबार माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै सरकार छोडेका हुन् । माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले राजीनामा दिएका छन् । एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकारमा अब कांग्रेस सहभागी हुने भएको छ । केन्द्रमा कांग्रेस(एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेशको नेतृत्व एमालेले गर्ने सहमति अनुसार कँडेल नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ । यससँगै माओवादी केन्द्र कर्णालीमा पहिलो पटक प्रमुख प्रतिपक्षीमा पुगेको छ ।

रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिको ज्यान गयो, एक जना बेपत्ता, सात घाइते

काठमाडौं ।रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिकाको पुरिएर ज्यान गएको छ । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनिसा सार्कीको पुरिएर ज्यान गएको हो र ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् । सात जना घाइते बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका छन् । नगरप्रमुख केसीले भने, 'खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन । घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ । उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन्।'