कर्णालीका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी रिक्त
सुर्खेत । भौगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशका ७९ स्थानीय तहमा एक चौथाइ कर्मचारी दरबन्दी रिक्त रहेको छ । सङ्घीय सरकारको स्वीकृत दरबन्दीअनुसार यहाँका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी कर्मचारीविहीन रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।
कूल पाँच हजार ६६० स्वीकृत दरबन्दी रहेकामा एक हजार ३६३ दरबन्दी रिक्त रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए । उनका अनुसार कूल दरबन्दीमध्ये चार हजार २९७ कर्मचारी कार्यरत छन् ।
सम्बन्धित पालिकाको पठाएको विवरणअनुसार शिक्षा सेवातर्फ पाँचौँदेखि नवौँ/दशौँ तहका १८३ स्वीकृत दरबन्दीमा १३२ पदपूर्ति र ५१ दरबन्दी रिक्त छन् । इञ्जिनियरिङ सेवातर्फ एक हजार ५५ स्वीकृत दरबन्दीमा ६३४ पदपूर्ति र ४२१ रिक्त रहेका छन् भने यो सेवामा नवौँ÷दशौँ तहमा शून्य पदपूर्ति रहेका सचिव विकले बताए ।
उनका अनुसार प्रशासन सेवातर्फ एक हजार ५४१ स्वीकृत दरबन्दीमा एक हजार ६४ पदपूर्ति हुँदा ४७७ रिक्त छ । स्वास्थ्य सेवातर्फ एक हजार ८८४ स्वीकृत दरबन्दीमा एक हजार ७३२ पदपूर्ति र १५२ दरबन्दी रिक्त रहेका जनाइएको छ । कृषि सेवातर्फ ८१४ स्वीकृत दरबन्दीमा ५७७ पदपूर्ति र २३७ रिक्त छन् । विविध सेवातर्फ १८३ स्वीकृत दरबन्दीमा १५८ पदपूर्ति र २५ रिक्त रहेका कार्यालयका सचिव विकले जानकारी दिए ।
प्रदेशका ७९ स्थानीय तहमध्ये डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा ५३ दरबन्दीमाध्ये १५ जना मात्र कार्यरत छन् । वीरेन्द्रनगर नगरपालिका सुर्खेतको १०५ स्वीकृत दरबन्दीमा ११६ जना कार्यरत छन् । यो पालिकामा ११ जना कर्मचारी बढी रहेका कार्यालयका सचिव विकले बताए ।
डोल्पो बुद्धमा दरबन्दीअनुसार कर्मचारी नदेखिनुमा करारबाट काम चलेको हुनसक्ने भन्दै सचिव विकले मुख्यमन्त्री कार्यालयले अब सबै स्थानीय तहको रिक्त दरबन्दीको विवरण मागेर प्रदेश लोकसेवा आयोगमा पठाउने र रिक्त पद पूर्ति गर्ने जनाए ।
कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य
सुर्खेत । कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको सभामुख नन्दा गुरूङले बताइन् । यस अधिवेशनमा १० बैठक बसेका थिए । माघ १८ बाट सुरु भएको अधिवेशन चैत १५ सम्म चलेको थियो । यस अवधिमा १३ घण्टा ४२ मिनेट बैठक बसेको छ । उक्त अधिवेशनमा दुई विधेयक पारित भएको छ भने एक विधेयक टेबुल गरिएको छ । मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक चैत १०मा पेस गरेका थिए । उक्त विधेयक चैत १५ मा सर्वसम्मत पारित गरिएको हो । प्रदेशसभाले कर्णाली प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक पनि बहुमतले पारित गरेको छ । चैत १० को बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक पारित गरेको थियो । यस अधिवेशनमा सामाजिक विकासमन्त्री भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ संशोधन विधेयक प्रस्तुत गरेका थिए । चैत १५ को बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ । यस अधिवेशनको चैत ६ को बैठकले सांसद हिक्मत बहादुर विष्टले पेस गरेको संकल्प प्रस्तावलाई सर्वसम्मतरुपमा स्वीकार गरेको थियो । उनले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई सञ्चालन गर्ने सम्बन्धमा संकल्प प्रस्ताव पेस गरेका थिए ।
कर्णालीमा सवारी दुर्घटनाको ग्राफ उकालोमा: सात वर्षमा ८४२ को ज्यान गयो
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो सात वर्षमा सवारी दुर्घटनाको संख्या निरन्तर बढ्दो क्रममा देखिएको छ। यस अवधिमा भएका पाँच हजार ४६५ सवारी दुर्घटनामा परी ८४२ जनाले ज्यान गुमाएका छन्। कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार भौगोलिक विकटता, साँघुरा तथा जोखिमपूर्ण सडक र चालकको लापरबाही दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन्। तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा २६५ सवारी दुर्घटना भएका थिए। त्यसपछि दुर्घटनाको संख्या क्रमशः बढ्दै गएको छ-०७७/७८ मा ३८३, ०७८/७९ मा ४९९, ०७९/८० मा ६८४, ०८०/८१ मा १,४४६ र ०८१/८२ मा १,२३८ दुर्घटना भएका छन्। चालु आर्थिक वर्ष ०८२/८३ को माघसम्म मात्रै ९५० दुर्घटना भइसकेका छन्, जसले दुर्घटनाको जोखिम झनै बढिरहेको संकेत गर्छ। मानवीय क्षतिको हिसाबले पनि अवस्था चिन्ताजनक छ। आर्थिक वर्ष ०७६/७७ मा ९७ जनाको मृत्यु भएकोमा ०७७/७८ मा ९८, ०७८/७९ मा १८०, ०७९/८० मा १३१, ०८०/८१ मा ११२, ०८१/८२ मा १३९ र चालु आवको माघसम्म ८५ जनाको ज्यान गएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालले सवारी दुर्घटना न्यूनीकरण सामूहिक जिम्मेवारी भएको बताए। “दुर्घटनाको सम्पूर्ण दोष ट्राफिक प्रहरीलाई मात्र दिने प्रवृत्ति गलत हो,” उनले भने, “सडक प्रयोगकर्ता, चालक र यातायात व्यवसायी सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे मात्र दुर्घटना नियन्त्रण सम्भव हुन्छ।” उनले यातायात व्यवसायीलाई सुरक्षित सवारी सञ्चालनमा ध्यान दिन र यात्रु सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरे। साथै, ट्राफिक व्यवस्थापनमा विगतका कमजोरी सुधार गर्दै आगामी दिनमा प्रभावकारी कार्ययोजना लागू गर्ने तयारी रहेको पनि उनले जानकारी दिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द भएको छ । अस्पतालको एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राही मर्कामा परेका छन् । अस्पतालको एक्स–रे उपकरणमा समस्या आउँदा पाँच दिनदेखि एक्स–रे सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । निर्वाचनका कारण बनाउनका समय लागेको बताउँदै एक्स–रे मा समस्या आएको उपकरण बनाउनका लागि काठमाडौँ पठाइसकिएको अस्पताल प्रशासनले जनाएको छ । एक्स–रे सेवा नियमित सञ्चालनमा आउने स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक कमल थानीले जानकारी दिए । पटकपटक एक्स–रे सेवा र सिटीस्क्यान बिग्रँदा प्रतिष्ठानको चर्को आलोचना हुने गरेको छ ।
नेकपाबाट डोल्पामा बुढा निर्वाचित
काठमाडौं । डोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार धनबहादुर बुढा विजयी भएका छन् । बुढा ६ हजार ८०२ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायाले पाँच हजार ३९६ मत पाए । कांग्रेसका कर्णबहादुर बुढाले दुई हजार ९४७ मत ल्याएर तेस्रो हुँदा रास्वपाकी उमेदवार देवसिंह ऐडीले १८१ मत मात्र प्राप्त गदै चौथो स्थान प्राप्त गरेकी छन् ।
सल्यानमा नेकपाबाट निर्वाचित मल्ल काे हुन् ?
सल्यान । नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ल सल्यानबाट निर्वाचित भएका छन् । उनि कुल २३,१८९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी, राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले २०,९०४ मत पाए । यसरी मल्लले चन्दलाई २,२८५ मतान्तरले पराजित गरेका हुन् । त्यस्तै, नेपाली कांग्रेसका केश बहादुर विष्टले १७,५५८ मत, नेकपा एमालेका गुलाब जंग शाहले १५,३७३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिषा नेपालीले ९०२ मत प्राप्त गरे । सल्यानमा कुल १,६२,४४९ मतदाता रहेका थिए, जसमा ८३,१६७ मत खसेको थियो। त्यसमध्ये ३,४५८ मत बदर भएको थियो भने ७९,४४९ मत मान्य ठहरिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय, सल्यानले जनाएको छ। रमेश मल्ल को हुन्? ४७ वर्षीय रमेश कुमार मल्ल विद्यार्थी राजनीतिबाट उठेका नेता हुन्। उनि सल्यान, कुमाख गाउँपालिका–५, बाल्लेमा २८ माघ २०३५ मा जन्मेका थिए । विगत तीन दशकदेखि राजनीतिमा सक्रिय छन् । २०५० सालमा मल्लले तत्कालीन माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) को सदस्यता लिएर विद्यार्थी आन्दोलनमा सक्रिय भए । २०५३ सालमा शीतल उच्च मावि इकाई समिति सदस्य, २०५४ सालमा क्रान्तिकारी विद्यार्थी संगठन सल्यान जिल्ला समिति सदस्य र २०५६ सालमा जिल्ला अध्यक्ष बनेका थिए। उनले २०७१ फागुनदेखि २०७२ श्रावणसम्म त्रिभुवन विश्वविद्यालय सभाका सदस्य (सिनेटर) र २०७३ साउनदेखि २०७४ जेठसम्म पहिलो पटक तथा २०७९ पुसदेखि २०८१ असारसम्म दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का स्वकीय सचिवको रूपमा काम गरेका छन् । शिक्षामा, मल्लले प्रारम्भिक शिक्षा गाउँकै अरनिको प्रा.वि. बाट, माध्यमिक शिक्षा शीतल उ.मावि, चौरजहारीबाट पूरा गरि पछि त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । संसदीय राजनीतिमा मल्ल पहिलो पटक सहभागी भएका हुन् । जनयुद्धकालका १० वर्षे कठिन भूमिगत जीवन र शान्तिपछि २० वर्ष राजनीतिक उतारचढाव तथा पार्टीका विभिन्न अन्तरविरोधमा सक्रिय रहेका मल्लले पहिलोपटक जनतासामु परीक्षित हुने अवसर पाएका छन् ।
रुकुमपश्चिममा नेकपाका गोपाल विजयी, जनार्दन शर्मा तेस्रो स्थानमा
रुकुमपश्चिम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पश्चिमबाट नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा विजयी भएका छन्। उनले कुल २१ हजार ६०९ मत प्राप्त गर्दै निर्वाचन जितेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका राजु के.सी.ले १६ हजार ६६१ मत प्राप्त गरेका छन्। यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा १४ हजार ३४६ मतसहित तेस्रो स्थानमा सीमित भएका छन्। यसैगरी अन्य उम्मेदवारहरूको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका मान बहादुर शाहीले ४ हजार ७६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का नन्दराम देवकोटाले १ हजार ८६९, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का चन्द्र बहादुर बुढाले ३६६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खडकाले २२८ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठले १७०, उज्यालो नेपाल पार्टीका नरेन्द्र के.सी.ले ८४, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का शेरबहादुर के.सी.ले ५४, आम जनता पार्टीकी प्रेमा दमाई नेपालीले ४५ तथा नेपाल मजदुर किसान पार्टीका धनबहादुर विकले १५ मत प्राप्त गरेका छन्। यस निर्वाचन परिणामसँगै रुकुम पश्चिममा लामो समयदेखि प्रभावशाली मानिएका नेता जनार्दन शर्मा यसपटक तेस्रो स्थानमा खुम्चिन पुगेका छन्।
रुकुमपश्चिममा नेकपाका गोपाल शर्मा २ हजारभन्दा बढी मतले अगाडि
रुकुमपश्चिम । रुकुम पश्चिममा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्मा अग्रस्थानमा देखिएका छन्। पछिल्लो प्राप्त विवरणअनुसार आज बिहान करिब ६ बजेसम्मको मतगणनामा शर्माले ७ हजार २७२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार जनार्दन शर्माले ५ हजार १६० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। त्यस्तै अर्का उम्मेदवार राजु केसीले ४ हजार ८४२ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना कार्य अझै जारी रहेको छ। अन्तिम परिणाम आउन बाँकी रहेकाले आगामी मतपरिणामसँगै मतान्तरमा परिवर्तन हुन सक्ने सम्भावना रहेको जनाइएको छ।
कालीकोटमा नेकपाका महेन्द्रबहादुर शाही विजयी
कालीकोट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कालीकोट क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाही विजयी भएका छन् । ४९ वर्षीय शाहीले ११ हजार ३३७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् । विजेता र उपविजेताबीच ९८५ मतको अन्तर रहेको छ । यसैगरी नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३२ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खड्गबहादुर विश्वकर्माले ४ हजार ५९९ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले २ हजार ९३७ मत पाएका छन् । अन्य उम्मेदवारमध्ये नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाहीले ५६६ मत र राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले १६८ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार अस्मिनकुमार विष्टले ६४ मत र मानबहादुर तिरुवाले ६ मत प्राप्त गरेका छन् ।
रुकुमपूर्वबाट प्रचण्ड विजयी, बाँकी सात सिटमा नेकपाकाे अग्रता
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्व–१ बाट विजयी हुनुभएको छ भने अन्य विभिन्न क्षेत्रमा नेकपाका उम्मेदवारले अग्रता कायम गरेका छन्। रुकुमपूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभएको छ। यसैगरी कालीकोट–१ मा नेकपाका महेन्द्रबहादुर शाही ८ हजार ७१५ मतसहित अग्रतामा हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाही ले ८ हजार २३७ मत प्राप्त गर्नुभएको छ। कपिलवस्तु–२ मा नेकपाका बृजेशकुमार गुप्ता ५ हजार ३७६ मतसहित अग्रता लिइरहनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम थापा ले ३ हजार २३८ मत प्राप्त गर्नुभएको छ। काभ्रे–१ मा नेकपाका दीननाथ गौतम ३ हजार ४४६ मतसहित अगाडि हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १ हजार ९९० मत प्राप्त गर्नुभएको छ। त्यस्तै सल्यान–१ मा नेकपाका रमेशकुमार मल्ल २ हजार ८५१ मतसहित अग्रता लिइरहनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले १ हजार ४१७ मत प्राप्त गर्नुभएको छ। रोल्पा–१ मा नेकपाका वर्षमान पुन २ हजार ६७३ मतसहित अग्रस्थानमा हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका गोकुलप्रसाद घर्तीले १ हजार ७४८ मत प्राप्त गर्नुभएको छ। अछाम–१ मा नेकपाका भीमबहादुर रावल १ हजार ९९५ मतसहित अग्रता कायम गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिपक बहादुर साउंदले १ हजार ८३७ मत प्राप्त गर्नुभएको छ। यस्तै धादिङ–२ मा नेकपाका रामबहादुर भण्डारी १ हजार ८४६ मतसहित अगाडि हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेशप्रसाद धमला ले १ हजार ६७२ मत प्राप्त गर्नुभएको छ। देशभर विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। प्रारम्भिक परिणामअनुसार नेकपाका उम्मेदवारले केही क्षेत्रमा अग्रता कायम राखेका छन् भने केही स्थानमा कडा प्रतिस्पर्धा भइरहेको छ।
कालिकाेटमा नेकपाका महेन्द्रबहादुर शाही अग्रता
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो विवरणअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाही अग्रस्थानमा रहेका छन्। हालसम्मको मतगणनामा शाहीले ६ हजार ८ सय ८३ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। उनलाई पछ्याउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का श्री नगिन्द्र शाहीले ५ हजार ७ सय ३ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। यसैगरी नेपाली काँग्रेसका हर्षबहादुर बमले ४ हजार ८ सय ४२ मत ल्याएर तेस्रो स्थानमा छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खड्गबहादुर विश्वकर्माले २ हजार ८ सय १९ मत प्राप्त गरेका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले १ हजार ३ सय ४३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाहीले ३ सय ४७ मत तथा नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ३ सय ४३ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले १ सय ३ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार अस्मिनकुमार विष्टले ३५ मत र अर्का स्वतन्त्र उम्मेदवार मानबहादुर तिरुवाले ४ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
रुकुमपूर्वमा प्रचण्डका सात दिन, सात सन्देश
मनोज घर्तीमगर माघको अन्तिम दिनको साँझ रुकुमपूर्वको हिउँको चर्चा भयो – जसै हिउँको थुप्रोले प्रचण्डलाई स्वागत गरे । प्रचण्ड हिउँको थुप्रोमा रमाएको फोटो, भिडियो छ्यापछ्याप्ती हुने नै भए । त्यसपछिका एक साता सामाजिक सञ्जाल र सञ्चारमाध्यम रुकुममय भए । प्रचण्डमय भए । ३१ वटा वडा रहेका रुकुमपूर्वका अधिकांश वडामा प्रचण्डका पाइला परे । सबै वडाका जनता भेटे । मगर संस्कारमा फेटा गौरव, सामाजिक सम्मान र पहिचानको प्रतीक हो । लामो सेतो कपडा टाउकोमा घुमाएर बाँधिनुलाई फेटा लगाउनु भनिन्छ । मुख्यतः यो विवाहमा दुलाहा र उसका साथीहरुलाई गुठाइन्छ । भूमेलगायत चाडपर्व र पूजा तथा अन्य नाचगान र सांस्कृतिक प्रस्तुतिमा लगाइन्छ । प्राचीनकालमा टाउकोलाई घाम, चिसो, धुलोबाट बचाउन प्रयोग गरिएको फेटा साहस, सम्मान र पहिचानको प्रतीक हुँदै आज विशिष्ट व्यक्तिको सम्मानको सांस्कृतिक पहिचान बनेको छ । ५० प्रतिशत बढी मगरको बसोबास रहेको रुकुमपूर्वमा प्रचण्डको टाउकोमा फेटा गुठाइए । टाउकोमा फेटा छँदा पञ्चेबाजा घन्किदा कतै उनी दुलाहा जस्ता देखिए । जिन्दावाद र मुर्दावादको नाराले विजय उत्सव मनाइरहेका जस्ता देखिए । मैकोट, तकसेराजस्ता गाउँमा जनता र स्थानीयबाट भाषा, संस्कार, संस्कृति र इतिहास सुन्दै हिंड्दा अध्यता देखिए । उनी त्यही सुनिए पनि । र, देखिए न्याय, मुक्ति र स्वतन्त्रता दिलाएका वीर पुरुष । गौरव र आशाका प्रतीक । नेपाली कम्यृनिष्ट पार्टीका संयोजक प्रचण्ड रुकुमपूर्वबाट चुनावी मैदानमा छन् । अन्य पार्टीका शीर्ष नेताहरु उच्च दबाबमा रहेको समय प्रचण्ड तनावमुक्त देखिए । माघ २९ देखि ७ गतेसम्म आफ्ना मतदातासँग भेटघाट गरेका प्रचण्ड काठमाडौं फर्किए पनि रुकुमपूर्व प्रचण्डमय नै छ । यो रहिरहनेछ । रुकुममा प्रचण्ड नाचेको, हाँसेको, खाएको, हिँडेको सामाग्री आइसकेका छन् । यो आलेखमा रुकुममा प्रचण्डको उपस्थिति, त्यहाँका बारेमा उनको बुझाइ, संश्लेषण र भन्न खोजेको कुराको चर्चा गर्ने कोशिस गरिनेछ । प्रचण्डका सात दिन प्रचण्ड ७१ वर्षका हुन् । रुकुमपूर्वमा पुथा र सिस्ने हिमाल छन् । सानी भेरी र उत्तरगंगा नदि बग्छन् । प्रचण्ड हिमालको फेदमा हिउँजस्तै चम्किलो र नदि किनारामा नदि जस्तै बेगमा विजय भावमा हिँडे । मैले यात्रामा सोधेँ, ‘यो उमेरमा यत्तिको उर्जा कसरी आउँछ ?’ प्रचण्डको सरल जवाफ ‘शारीरिक रुपमा केहीं थकान महसुस् हुन्छ । जब जनताको माया र आशा देख्छु, त्यहीं नै उर्जा भर्ने इन्जेक्सन बन्छ ।’ माघको अन्तिम दिन हिउँसँगै जिल्लाका नेता कार्यकताले प्रचण्डलाई बागलुङ र रुकुमपूर्वको सिमावर्ती पातीहाल्नामा स्वागत गरे । लुगुममा जनभेटघाट गरे । यससँगै सुरु भयो प्रचण्डको मतदाता भेटघाट । सात दिनमा प्रचण्डले रुकुमपूर्वमा ३५ स्थानमा जनभेटघाट गरे । माओवादी जनयुद्धमा चर्चित बैठकस्थल चुनबाङ पुगे । महतको लाबाङ पुगे । जनयुद्धमा छापामारले गरेका ठूला आक्रमण स्थल महत, रुकुमकोट, तकसेरा पुगे । पर्यटकीय स्थल तकसेरा र मैकोट पुगे । रात र दिउँसोको समयमा सानीभेरी किनार र भीर पहरामा पैदल यात्रा गरे । स्थानीयको घरमा खाना खाए । बास बसे । जनभेटघाट गरेका हरेक स्थानमा पञ्चे बाजा बजाइए । स्थानीय सांस्कृतिक तथा पौराणिक नाच प्रस्तुत् गरिए । प्रचण्ड हरेक नाचमा सामेल बने । प्रचण्डका सात सन्देश कर्म भूमि आएँ प्रचण्ड रुकुमेलीसँग साक्षात्कार गर्दा नौलो देखिएनन् । रुकुमेलीले पनि नौलो मानेनन् । आफ्नै घर आगनमा बसिरहेको, हिँडिरहेको भावमा थिए प्रचण्ड । परिवारको सदस्यकै रुपमा लिए रुकुमेलीले । प्रचण्डले रुकुमपूर्वलाई आफ्नो कर्मभूमिको रुपमा चित्रण गरे । र, कर्मभूमिमा आएको बताए । यसमा पूर्ण सहमत छन् रुकुमेली । प्रचण्डले यो भूमिमा लामो कर्म गरेका छन् । उनी २०४१ सालमा रुकुमपूर्वमा पाइला टेकका हुन् । जनयुद्धको सुरुवात यहीं रुकुम, रोल्पाबाट सुरु गरे । माओवादीको केहीं ऐतिहासिक बैठक रुकुमपूर्वको चुनबाङ र लाबाङमा बसे । गणतन्त्र स्थापना गर्न रुकुमकोट, महत, तकसेरामा रहेका प्रहरी चौकीमाथि आक्रमण गरे । सामुदायिक समाजवाद प्रचण्डले रुकुमपूर्वमा सामुदायिक समाजवादको चर्चा गरे । नेपाली विशेषताको समाजवाद सामुदायिक हुने उल्लेख गरे । सामुदायिक समाजवाद रुकुमपूर्वबाट सुरु गर्न सकिनेमात्रै बताएनन् की त्यसको भ्रुण पनि देखेको बताए । सामुदायिक समाजवादका विविध पक्षको लामो चर्चा यहाँ सम्भव छैन । रुकुमपूर्वमा यसको अभ्यास कसरी हुनसक्छ र भइरहेको छ भन्ने मान्न त्यहाँको केहीं विशेषतालाई हेर्न सकिन्छ । त्यहाँ मगर, दलित र क्षेत्रीको बसोबास घना छ । त्यसपछि ठकुरीको बसोबास छ । ब्राहमण, गुरुङ, नेवार, थकाली पनि छन् । रुकुमपूर्वको खासगरी अझ माथिल्लो भूभागमा सबै जातिको संयुक्त बसोबास छ । संयुक्त रहन सहन छ । संस्कृति छ । पोषाक छ । मुख्य कुरा त त्यहाँका दलित र ठकुरीको पनि मगर खाम संयुक्त भाषा बनेको छ । जातीय छुवाछुत मुक्त छ । अन्तरजातीय विवाह छ । राजनीतिक प्रतिनिधित्व समान छ । सामाजिक आर्थिक अधिकारमा महिला माथि छन् । सबै समुदाय मातृसत्तात्मक छ । यहीं विशेषतालाई नै प्रचण्डले सामुदायिक समाजवादको भ्रुण भनेको हुनुपर्छ । प्रचण्डले नेपाली विशेषताको समाजवाद सामुदायिक हुने र त्यसको अभ्यास रुकुमपूर्वबाट थाल्ने बताएका छन् । र, रुकुमपूर्वलाई नमूनाको रुपमा अघि बढाउने बताएका छन् । मगर स्वायत्त क्षेत्र रुकुमपूर्व मगर खाम भाषी क्षेत्र हो । मगर संस्कार, संस्कृतिले समृद्ध छ । यहाँ प्रचण्डले रुकुमपूर्वसहित मगर क्लस्टरहरुहरुलाई स्वायत्त क्षेत्र बनाउने बताएका छन् । स्वायत्त क्षेत्रमार्फत मगर खामभाषालाई विश्वव्यापीकरण गर्ने बताएका छन् । विशेष तथा स्वायत्त क्षेत्र बनाउन सकिने संवैधानिक व्यवस्था र रुकुमपूर्वका मगरहरुको भाषा, संस्कार, संस्कृति, सभ्यताका आधारमा त्यो बन्न सक्छ । रुकुमपूर्वले मगर बस्तीलाई जिवित संग्राहलयको अवधारणा सारेर अभ्यास थालिसकेको पनि छ । दलितका लागि प्राधिकरण रुकुमपूर्वमा २१ प्रतिशत जनसंख्या दलित समुदायको छ । त्यहाँ जातीय छुवाछुत छैन । अवशेषहरु भने देखिन्छ । जातीय छुवाछुतसहितको विभेदको अन्त्य र राजनीतिक अधिकारका लागि प्रचण्डप्रति दलित समुदाय अनुग्रहित देखिन्छ । दलित समुदायले स्पष्ट रुपमा भनेका छन् की ‘तपाईंले गर्दा हामी मान्छे भएर बाँच्न पाउने भएका छौँ ।’ विभेदको पूर्ण अन्त्य, राजनीतिक अधिकार र आर्थिक सामाजिक विकासका लागि प्रचण्डप्रति पूर्ण आशावादी पनि छन् । प्रचण्डले रुकुमपूर्वमा दलित प्राधिकरण गठन गरेर यो समुदायको सर्वाङ्गिण विकास गर्ने बताएका छन् । विकास हेर्न रुकुम जाऔँ रुकुमपूर्वमा विकास नभएको होइन । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा सुरुभएको मध्यहाडी लोकमार्गले त्यहाँको मुहार फेरिएको छ । सहिद मार्गले यात्रा सहज भएको छ । अधिकांश वडा कार्यालयसम्म खुल्ला सडक छन् । विद्यालय, स्वास्थ्य भवन बनेका छन् । तर, यसमा सन्तोष छैन । प्रचण्डसँग रुकुमपूर्वले चौतर्फी विकासको अपेक्षा गरेको छ । सबै वडामा कालोपत्रे सडक, काँक्रीदेखि मैकोट, डोल्पाको सहरतारा हुँदै चीन जोड्ने सहिदमार्ग कालोपत्रे, ढोरपाटन जोड्ने उत्तरगंगा करिडोर, सानीभेरी करिडोर कालोपत्रे जस्ता अपेक्षा गरेको छ । प्रचण्डले रुकुमपूर्वलाई विकासको नमूना बनाउने बताएका छन् । र, भनेका छन् ‘विकास हेर्न रुकुम जाऔँ भन्ने बनाउने छौँ ।’ उनले यो पनि भनेका छन् की पहिले क्रान्तिका लागि बन्दुक बोकेर रुकुम आएको थिएँ, यसपटक विकासको औजार लिएर आएको छु । भदौ २३ र २४ के हो ? प्रचण्डले भदौ २३ गते भएको जेनजी विद्रोह, त्यसमा भएको दमन र २४ गते भएको विध्वंसका बारेमा स्पष्ट रुपमा देशलाई भनिरहेका छन् । उनी रुकुमपूर्वमा यसमा स्पष्ट सुनिए । भदौ २३ गते जेनजी विद्रोह हुनु एमाले र कांग्रेसको तात्कालीन सरकारले गरेको भ्रष्टाचार, कुशासन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध भएको र त्यो विद्रोहमा चरम दमन गरेर युवाहरुको हत्या गरेको भनेका छन् । त्यो विद्रोहको परिस्थिति र युवाहरुको हत्या हुने गरी भएको दमन एमाले काँग्रेसले गरेको बताएका छन् । भदौ २४ गते सिंहदबार, संसद भवनसहित राष्ट्रिय धरोहर, व्यक्तिको घर तथा व्यावसायमा आगजानी गर्ने अहिलेका नयाँ भन्नेहरु रहेको प्रष्ट भनेका छन् । उनले मतदातासँग भदौ २३ र २४ पनि प्रतिस्पर्धामा रहेको युवाको हत्या गर्नुहुन्न, राष्ट्रिय धरोहर जलाउनुहुन्न भन्ने आफ्नो पार्टी पनि प्रतिस्पर्धामा रहेको बताएर आफ्नो पार्टीलाई मत मागेका छन् । क्रान्ति र शान्ति भूमि जनयुद्धको थालनी, विकास र सफलतामा रुकुमपूर्वको अग्रणी भूमिका छ । प्रचण्डले रुकुमपूर्वलाई क्रान्ति र शान्ति भूमि भनेका छन् । जनयुद्धको थालनी त्यहीं भयो । जनयुद्धलाई उचाइ दिने ठूला कारबाही त्यहीं भयो । जनयुद्धको क्रममा माओवादीको महत्वपूर्ण बैठक त्यहीं भयो । हरेक रुकुमेलीहरुको जनयुद्धमा योगदान छ । त्यसैलाई उनले क्रान्ति भूमि भनेका छन् । २०६२ मा चुनबाङमा माओवादीको केन्द्रीय समिति बैठक बस्यो । त्यो लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँगको सहकार्यमा जनआन्दोलन पनि गर्ने निर्णय गर्यो । त्यो बैठकको निर्णयका आधारमा माओवादीले फौजी कारबाही पनि जारी राख्यो, ऐतिहासिक जनआन्दोलन भयो । मुलकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्था स्थापना भयो । र, १० वर्षको युद्धपछि नेपालमा शान्ति स्थापना भयो । त्यसैलाई प्रचण्डले रुकुमपूर्वलाई शान्ति र क्रान्तिको भूमि भनेका छन् । रुकुमपूर्वले एक सातामा प्रचण्डलाई स्वागत र आतिथ्यतामा कुनै कसर बाँकी राखेन । यो सात दिनमा प्रचण्डले रुकुमपूर्वबाट नयाँ उर्जा प्राप्त गरेको हुनुपर्छ । पछिल्ला दिनका उनको अभिव्यक्तिले त्यो पुष्टि गर्छ । सात दिनमा जिल्लाका अधिकांश वडामा पुग्नु, सबै वडाका मतदातासँग भेटघाट गर्नुले रुकुमपूर्वको विकास नै भएको छैन भन्न मिल्दैन । भौगोलिक अवस्थितिले कठिनाइ छ । पूर्वाधार विकासमा अप्ठ्यारो छ । अहिलेसम्म जति विकास भएको छ, त्यसको जस प्रचण्डसँगै रुकुमपूर्वका नेताहरुलाई नै जान्छ । त्यहाँ केहीँ भएको छैन, नेताहरुलाई केहीँ गर्न सकेनन् भन्ने आरोपलाई प्रचण्डले नै खण्डन गरिदिएका छन् । उनले भनेका छन्, ‘यहाँ केहीँ भएको छैन । नेताहरुले केहीँ गरेका छैनन् भन्ने कुरा मित्थ्या हो । यहाँ धेरै विकास भएको छ । मेरै यात्राले पनि पुष्टि गर्छ । यहाँका नेताहरुले धेरै गर्नुभएको छ । यत्ति हो मबाट अझै बढी अपेक्षा छ । यहाँकै नेताहरुको साथले त्यो म गर्छु ।’ पातीहाल्नेमा केहींदिन अघि पुनः हिउँ परेको छ । हिउँको थुप्रो अग्लिएका छन् । अब त्यो हिउँले कसरी स्वागत गर्छ प्रचण्डलाई ? त्यो धेरै पर छैन ।
पाँचकुने तारामा भोट हाल्न गाउँ फर्किंदै लाखौँ मतदाता
काठमाडौं । लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव नजिकिँदै जाँदा राजधानीबाट गाउँ फर्किने मतदाताको लर्को दिनानुदिन बढ्दो छ । लगातार सार्वजनिक बिदा, होली पर्व र निर्वाचन एकैसाथ परेकाले लाखौँ नागरिक आफ्नो मताधिकार प्रयोग गर्न गाउँतर्फ लागेका हुन् । पछिल्लो एक सातामा मात्रै तीन लाख ४९ हजार ६ सय ९५ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको तथ्यांक सार्वजनिक भएको छ । १४ फागुनदेखि बाहिरिनेको संख्या उल्लेख्य रूपमा बढेको छ । १४ फागुनमा ४२ हजार ८२२ जना बाहिरिएका थिए भने १५ फागुनमा ५२ हजार ८३, १६ फागुनमा ५२ हजार ६ सय ५३, १७ फागुनमा ५३ हजार ४ सय ७ र १८ फागुनमा ५७ हजार ३ सय ७१ यात्रुले उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार निर्वाचन नजिकिएसँगै सवारी चाप उल्लेख्य रूपमा बढेको छ । “सडकमा निकै चहलपहल छ, यसले चुनावी माहोल तातेको संकेत गर्छ,” उनले भने ।दैनिक सात हजारभन्दा बढी यात्रुवाहक सवारीसाधन उपत्यकाबाट बाहिरिन थालेका छन् । यात्रुहरूका अनुसार यसपटकको निर्वाचनमा विशेष उत्साह देखिएको छ । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिवेशमा परिवर्तनको अपेक्षा बोकेर मतदाता गाउँ फर्किरहेका छन् । नयाँ बसपार्कमा भेटिएका कैलालीका सुरेश बोहराले भने, “यसपटक मेरो भोट नेपाली कम्युनिस्ट पार्टीकाे पाँचकुने तारालाई हुनेछ । त्यसकाे लागि गाउँ जाँदै छु ।” गुल्मीका सक्षम ज्ञवालीले सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने नेतृत्वको आवश्यकता औँल्याए । “राम्रो उम्मेदवार जिते मात्र देशमा परिवर्तन आउँछ,उनले भने, पार्टीकाे कुरा गर्दा नेपाली कम्युनिस्ट पार्टी सही छ ।,” यस्तै, सिन्धुपाल्चोकका गोरखबहादुर कार्कीले भ्रष्टाचार रोक्ने र युवालाई विदेश पलायन हुन नपर्ने वातावरण बनाउन नेकपाकाे पाँचकुने तारा राेज्नु पर्ने बताए । अर्घाखाँचीका गगन रेश्मी यसपालि पहिलोपटक मतदान गर्न गाउँ जाँदै छन् । उनले पनि अबकाे विकल्प नेकपानै भएकाले पाँचकुने तारा राेज्नु पर्ने सुझाव दिए । यसपटक होली पर्व र लामो बिदाले पनि गाउँ फर्किनेको संख्या पनि तारा चिन्ह लाेकप्रिय बनेकाे छ । आठदेखि नौ लाखसम्म यात्रुले उपत्यका छाड्ने अनुमान छ । अधिकांश बसको अग्रिम टिकट बुकिङ भइसकेको छ । राजधानीका प्रमुख नाका—नागढुंगा, बल्खु, साँखु, जगाती र माछापोखरीमा चेकजाँच कडा पारिएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।
नीतिगत पुनर्संरचना र दीर्घकालीन रूपान्तरणको लागि निर्वाचनपूर्व नेकपाकाे पक्षमा देशभर जनलहर निर्माण
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा देशको राजनीतिक वातावरण दिनप्रतिदिन तातिँदै गएको छ। विभिन्न दलहरूले आफ्ना कार्यक्रम र प्रतिबद्धतासहित मतदातामाझ पुग्ने क्रम तीव्र बनाइरहेका छन्। यसैबीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशव्यापी रूपमा सञ्चालन गरिरहेको चुनावी अभियान, जनसभाहरू, घरदैलो कार्यक्रम र संवाद श्रृंखलाले निर्वाचन बहसलाई नीतिगत मुद्दातर्फ केन्द्रित गरेको दाबी गरेको छ। पार्टीले यसपटकको निर्वाचनलाई केवल सत्तापरिवर्तनको प्रक्रियाका रूपमा नभई “नीतिगत पुनर्संरचना र दीर्घकालीन रूपान्तरण” को अवसरका रूपमा व्याख्या गरेको छ। नेकपाका केन्द्रीय नेताहरूले विकास, सुशासन, सामाजिक न्याय, आर्थिक आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमानलाई प्रमुख चुनावी एजेन्डाका रूपमा अघि सारेका छन्। देशभर भइरहेका कार्यक्रमहरूमा यिनै विषयलाई केन्द्रमा राखेर मतदातासँग प्रत्यक्ष संवाद भइरहेको पार्टी स्रोतले जनाएको छ। आर्थिक आत्मनिर्भरता र रोजगारी प्राथमिकतामा नेकपाले प्रस्तुत गरेको घोषणापत्रको मूल आधार “उत्पादनमुखी अर्थतन्त्र” रहेको बताइएको छ। पार्टीका अनुसार आयातमुखी संरचनाबाट उत्पादनमुखी संरचनातर्फ रूपान्तरण नगरेसम्म देशमा दिगो आर्थिक सुधार सम्भव छैन। त्यसैले कृषि, उद्योग र पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै रोजगारी सिर्जनामा जोड दिने प्रतिबद्धता गरिएको छ। कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, मल–बीउको सुनिश्चित आपूर्ति र कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने नीति अघि सारिएको छ। स्थानीय तहमा कृषि प्रशोधन उद्योग स्थापना गरी किसानलाई उत्पादनदेखि बजारीकरणसम्म सहयोग गर्ने योजना सार्वजनिक गरिएको छ। “खेतीलाई सम्मानजनक पेशा बनाउने” नारा दिँदै युवा कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। उद्योग क्षेत्रमा साना तथा मझौला उद्योग प्रवर्द्धन, घरेलु उत्पादनलाई प्राथमिकता, र विशेष आर्थिक क्षेत्र (SEZ) विस्तार गर्ने प्रस्ताव गरिएको छ। युवालाई स्वरोजगार बनाउने उद्देश्यले सहुलियतपूर्ण ऋण, सीपमूलक तालिम र स्टार्टअप कोष स्थापना गर्ने योजना पनि समावेश गरिएको छ। शिक्षा र स्वास्थ्य : आधारभूत सेवाको सुदृढीकरण नेकपाले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रूपमा व्याख्या गर्दै यी क्षेत्रमा राज्यको भूमिका बलियो बनाउने प्रतिबद्धता जनाएको छ। सरकारी विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच विस्तार, र ग्रामीण भेगमा शिक्षक दरबन्दी पूर्ति गर्ने योजना अघि सारिएको छ। उच्च शिक्षामा अनुसन्धान प्रवर्द्धन, छात्रवृत्ति विस्तार र विदेश पलायन रोक्न रोजगारमुखी पाठ्यक्रम विकास गर्ने लक्ष्य राखिएको छ। “पढाइसँगै कमाइ” कार्यक्रममार्फत विद्यार्थीलाई सीपमूलक तालिमसँग जोड्ने प्रस्ताव पनि गरिएको छ। स्वास्थ्य क्षेत्रमा प्रत्येक स्थानीय तहमा सुसज्जित आधारभूत अस्पताल, निःशुल्क प्राथमिक स्वास्थ्य सेवा, मातृ–शिशु स्वास्थ्य कार्यक्रम सुदृढीकरण, र दीर्घरोगीका लागि सहुलियत कार्यक्रम विस्तार गर्ने नीति प्रस्तुत गरिएको छ। दुर्गम क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मी आकर्षित गर्न विशेष प्रोत्साहन प्याकेज ल्याउने उल्लेख गरिएको छ। सुशासन र भ्रष्टाचार नियन्त्रण चुनावी अभियानका क्रममा नेकपाले सुशासन र पारदर्शितालाई विशेष प्राथमिकता दिएको छ। सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता, डिजिटल प्रणालीमार्फत सरकारी सेवा प्रवाह, र भ्रष्टाचारविरुद्ध कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता दोहोर्याइएको छ। पार्टीका नेताहरूले प्रशासनिक सुधार, अनावश्यक खर्च कटौती, र विकास आयोजनाको प्रभावकारी अनुगमन गर्ने बताएका छन्। “जनताको करको पैसा जनताकै हितमा” भन्ने नारासहित सार्वजनिक जवाफदेहिता प्रणाली बलियो बनाउने योजना अघि सारिएको छ। सामाजिक न्याय र समावेशिता नेकपाले सामाजिक न्यायलाई आफ्नो वैचारिक आधारसँग जोड्दै महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम तथा पछाडि पारिएका समुदायको प्रतिनिधित्व र अवसर सुनिश्चित गर्ने नीति लिएको जनाएको छ। समान कामका लागि समान पारिश्रमिक, महिलाको नेतृत्व विकास, र हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अघि सारिएको छ। युवा लक्षित कार्यक्रमहरूमा खेलकुद पूर्वाधार निर्माण, नवप्रवर्तन प्रवर्द्धन, र विदेशमा रहेका युवालाई स्वदेश फर्केर लगानी गर्न प्रोत्साहन गर्ने योजना समावेश गरिएको छ। श्रमिक अधिकार संरक्षण, न्यूनतम ज्याला कार्यान्वयन र सामाजिक सुरक्षा कोष विस्तार गर्ने प्रतिबद्धता पनि गरिएको छ। पूर्वाधार र दिगो विकास पूर्वाधार विकासलाई आर्थिक प्रगतिसँग जोड्दै सडक, पुल, विद्युत्, खानेपानी र सञ्चार क्षेत्रमा लगानी बढाउने नीति अघि सारिएको छ। जलविद्युत् उत्पादन विस्तार गरी आन्तरिक खपत बढाउने र निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखिएको छ। शहरीकरणलाई व्यवस्थित बनाउन एकीकृत बस्ती विकास, हरित शहर अवधारणा र सार्वजनिक यातायात सुधार गर्ने कार्यक्रम प्रस्तुत गरिएको छ। वातावरण संरक्षण, वन सम्पदाको दिगो उपयोग, र जलवायु परिवर्तन अनुकूलन योजना कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ। राष्ट्रिय स्वाभिमान र कूटनीति नेकपाले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई जोड दिँदै राष्ट्रिय हितको रक्षा गर्ने बताएको छ। छिमेकी तथा अन्य मुलुकसँग समानता, पारस्परिक सम्मान र लाभका आधारमा सम्बन्ध सुदृढ गर्ने नीति अघि सारिएको छ। वैदेशिक लगानीलाई राष्ट्रिय हितअनुकूल बनाउने र श्रम सम्झौता सुदृढ गरी वैदेशिक रोजगारीमा रहेका नेपालीको अधिकार संरक्षण गर्ने उल्लेख गरिएको छ। जनसहभागिता र अभियानको स्वरूप देशका विभिन्न जिल्लामा आयोजित सभाहरूमा उल्लेख्य जनसहभागिता देखिएको आयोजकहरूले बताएका छन्। गाउँ–नगरका चोक, विद्यालय प्रांगण र सामुदायिक हलहरूमा आयोजित कार्यक्रमहरूमा स्थानीय बासिन्दाले आफ्ना समस्या र सुझाव राख्ने क्रम बढेको छ। पार्टीले यसलाई “नीतिगत संवादको प्रक्रिया” का रूपमा व्याख्या गरेको छ। विशेषगरी पहिलो पटक मतदान गर्न लागेका युवाहरूले रोजगारी, पारदर्शिता र स्थायित्वलाई मुख्य अपेक्षाका रूपमा उठाएका छन्। महिला समूहहरू स्वास्थ्य, शिक्षा र आर्थिक सशक्तीकरणका विषयमा स्पष्ट योजना खोजिरहेका देखिन्छन्। मजदुर तथा कृषक समुदायले उत्पादन र बजार व्यवस्थापनसँग सम्बन्धित विषयलाई प्राथमिकता दिएका छन्। संगठनात्मक सुदृढता नेकपाले यसपटक संगठनात्मक संरचना सुदृढ गर्दै स्थानीय तहसम्म अभियान परिचालन गरेको जनाएको छ। वडा–टोल स्तरसम्म चुनावी संयन्त्र गठन गरी मतदाता सूची अद्यावधिक, घरदैलो सम्पर्क र एजेन्डा प्रचार–प्रसारलाई व्यवस्थित बनाइएको बताइएको छ। पार्टीले अनुशासित र योजनाबद्ध अभियानले मतदातासँग प्रत्यक्ष सम्बन्ध बलियो बनाएको दाबी गरेको छ। विश्लेषणात्मक दृष्टिकोण राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनको माहोल अहिले नीतिगत बहसतर्फ केन्द्रित देखिन्छ। दलहरूले आर्थिक सुधार, रोजगारी, सुशासन र सामाजिक न्यायजस्ता मुद्दालाई प्रमुखतामा राखेका छन्। नेकपाले प्रस्तुत गरेको उत्पादनमुखी अर्थतन्त्र, सामाजिक सुरक्षा विस्तार र प्रशासनिक सुधारका प्रस्तावले समर्थकहरूमा आशा जगाएको टिप्पणी गरिएको छ, यद्यपि ती कार्यक्रम कार्यान्वयनको प्रभावकारिताबारे बहस जारी छ। निष्कर्ष फागुन २१ को निर्वाचनलाई विभिन्न दलहरूले आ–आफ्नो दृष्टिकोणबाट ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरिरहेका छन्। नेकपाले भने यसलाई “परिवर्तन, स्थायित्व र समृद्धिको मार्गचित्र” कार्यान्वयन गर्ने निर्णायक क्षणका रूपमा चित्रित गरेको छ। देशभर सञ्चालन भइरहेको अभियान, प्रस्तुत गरिएका एजेन्डा र मतदातासँग भइरहेको प्रत्यक्ष संवादले निर्वाचन प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। अन्ततः मतदाताको निर्णयले नै आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ। प्रस्तुत कार्यक्रमहरू व्यवहारमा कत्तिको रूपान्तरित हुन्छन् भन्ने प्रश्न भविष्यको कार्यान्वयनसँग जोडिएको रहनेछ। अहिलेका लागि भने चुनावी मैदानमा एजेन्डा, प्रतिबद्धता र जनसम्पर्क अभियान तीव्र गतिमा अघि बढिरहेका छन्।
संसदमा पुगेर जनताका मुद्दा सशक्त रूपमा उठाउने छु: उम्मेदवार शर्मा
रुकुम पश्चिम । आगामी निर्वाचनलाई लक्षित गरी आयोजित जनभेटघाट कार्यक्रममा रुकुम पश्चिमबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले निर्वाचित भएपछि संसदमा जनताका आधारभूत मुद्दा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, खानेपानी र कृषि क्षेत्रका समस्यालाई प्राथमिकताका साथ संसदमा उठाउने बताए। उनले भने, “जनताले दिएको मत विश्वासको मत हो। त्यसको सम्मान गर्दै म संसदमा आवाजविहीनको आवाज बन्नेछु।” उम्मेदवार शर्माले गाउँबाट उठेका समस्यालाई सिंहदरबारसम्म पुर्याउने र समाधानका लागि निरन्तर पहल गर्ने आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारे। उनले विकास निर्माणका कार्यमा पारदर्शिता र जनसहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाए। कार्यक्रममा सहभागी स्थानीयवासीले जनताको पक्षमा दृढ भएर उभिन आग्रह गरेका थिए। उम्मेदवार शर्माले जनताको साथ र विश्वासले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै समृद्ध र न्यायपूर्ण समाज निर्माणका लागि सबैसँग सहकार्यको अपिल गरे।
प्रचण्डको स्पष्ट सन्देश: अतिवादविरुद्ध, स्थायित्व र समृद्धिको नयाँ अध्याय लागि ‘तारा’मा मतदान
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने आम निर्वाचनलाई देशको राजनीतिक दिशानिर्देशन गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रित गर्दै निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ। निर्वाचनको पूर्वसन्ध्यामा जारी भिडियो सन्देश र विभिन्न सार्वजनिक सम्बोधनमार्फत उहाँले सुशासन, स्थायित्व र समृद्धिको स्पष्ट रोडम्याप प्रस्तुत गर्दै जनतासँग ताजा जनादेश माग्नुभएको हो। प्रचण्डले देश ‘जेन्जी’ आन्दोलनपछिको अस्थिर र अनिश्चित राजनीतिक अवस्थाबाट गुज्रिरहेको स्मरण गर्नुभयो। सडक आन्दोलन, असन्तुष्टि र अविश्वासको वातावरणबीच लोकतान्त्रिक निकासका रूपमा निर्वाचनमा जाने निर्णय ऐतिहासिक आवश्यकता भएको उहाँको भनाइ छ। अन्तरिम सरकार गठनका लागि सहजीकरण गर्नु र ताजा जनादेशका लागि अडान लिनु आफ्नो दलको जिम्मेवार कदम भएको उहाँले उल्लेख गर्नुभयो। “देशलाई अन्योलबाट लोकतान्त्रिक प्रक्रियातर्फ ल्याउन हामीले सहजीकरण गर्यौं,” उहाँले भन्नुभयो, “अब जनताले नै अन्तिम निर्णय दिने समय आएको छ।” उहाँका अनुसार निर्वाचनमार्फत राजनीतिक स्थिरता र स्पष्ट जनादेश प्राप्त भएमा विकास र सुशासनको मार्ग प्रशस्त हुनेछ। सुशासन व्यक्तिबाट होइन, विधिबाट आफू प्रधानमन्त्री हुँदा सुशासनको थालनी गरिएको दाबी गर्दै प्रचण्डले स्पष्ट रूपमा भन्नुभयो—सुशासन कुनै व्यक्तिको सदिच्छाले होइन, संस्थागत सुधार र विधिको शासनमार्फत सम्भव हुन्छ। “व्यक्ति बदलिँदा नीति बदलिनु हुँदैन; प्रणाली बलियो बनिनुपर्छ,” उहाँको भनाइ थियो। उहाँले आफ्नो कार्यकालमा ठूला भ्रष्टाचार काण्डहरू उजागर गरिएको, शक्तिशाली गिरोह र बिचौलिया समूहहरूलाई कानुनी दायरामा ल्याउने प्रयास गरिएको तथा प्रशासनिक सुधार अघि बढाइएको बताउनुभयो। सुशासनको कदमले प्रभावित स्वार्थ समूहहरूले राजनीतिक गठजोडमार्फत अवरोध सिर्जना गरेको आरोप पनि उहाँले लगाउनुभयो। प्रतिपक्षमा रहँदा पनि सडक र सदन दुवैबाट कुशासन, दम्भ र अहंकारविरुद्ध संघर्ष जारी राखिएको उहाँको दाबी छ। “हामी सत्ता होस् वा प्रतिपक्ष, विधि र सुशासनको पक्षमा उभिएका छौं,” उहाँले भन्नुभयो। दुई अतिवादको खतरा प्रचण्डले देश दुई प्रकारका ‘अतिवाद’को जोखिममा रहेको बताउनुभयो। पहिलो, जनताको निराशा र आक्रोशलाई भड्काएर अराजकता, हिंसा र अनिश्चयतर्फ धकेल्ने प्रवृत्ति। दोस्रो, दलाल–विचौलिया र यथास्थितिवादी शक्तिहरूको संरक्षणमा टिकेको कुशासन। यी दुबै प्रवृत्तिले लोकतान्त्रिक उपलब्धि कमजोर पार्ने र राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने खतरा रहेको उहाँको भनाइ छ। “एकातिर व्यवस्था उल्ट्याउने उग्र सोच, अर्कोतिर परिवर्तन रोक्ने यथास्थितिवाद—यी दुबै देशका लागि हानिकारक छन्,” उहाँले उल्लेख गर्नुभयो। यी दुबै अतिवादसँग जुधेर देशलाई स्थायित्व र समृद्धिको दिशामा लैजान सक्ने शक्ति वाम आन्दोलन मात्र भएको उहाँको दाबी छ। वाम पुनर्गठन र एकताको पहल संयोजक प्रचण्डले वाम आन्दोलन पुनर्गठनको प्रक्रियामा रहेको बताउँदै पच्चीसभन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरूबीच संवाद र सहकार्य बढाइएको जानकारी दिनुभयो। विभाजनबाट एकता, आरोप–प्रत्यारोपबाट आत्मसमिक्षा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्कने अभियान सुरु भएको उहाँको भनाइ छ। उहाँले नेपाली कम्युनिस्ट पार्टीलाई वाम आन्दोलनको केन्द्रका रूपमा अघि बढाइएको बताउँदै सबै प्रगतिशील शक्तिहरू एउटै ध्रुवमा आउनुपर्ने धारणा राख्नुभयो। संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थाको रक्षा वाम शक्तिको साझा जिम्मेवारी भएको उहाँले जोड दिनुभयो। सामाजिक न्याय र समावेशिताको एजेन्डा प्रचण्डले आगामी कार्यदिशामा सामाजिक न्यायलाई केन्द्रमा राखिएको बताउनुभयो। महिलालाई नेतृत्व तहमा पुर्याउने, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमका नागरिकको अधिकार व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। श्रमिक–किसानका अधिकार संरक्षण, सामाजिक सुरक्षा विस्तार र गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राखिने उहाँको भनाइ छ। “धनी–गरिबबीचको खाडल घटाउने संकल्पका साथ हामी अघि बढेका छौं,” उहाँले भन्नुभयो। उत्पादनमुखी अर्थतन्त्र र रोजगारी युवालाई विदेशिन बाध्य पार्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको प्रचण्डले बताउनुभयो। कृषि र उद्योगबीच समन्वय गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण, साना तथा मझौला उद्योग प्रवर्द्धन, नवप्रवर्तन र प्रविधिमा आधारित उद्यमशीलता विकासलाई प्राथमिकता दिइने उहाँले उल्लेख गर्नुभयो। “हिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्,” उहाँले भन्नुभयो। आर्थिक आत्मनिर्भरता र राष्ट्रिय उत्पादन वृद्धि नै दीर्घकालीन समृद्धिको आधार हुने उहाँको धारणा छ। डिजिटल सुशासन र सेवा प्रवाह प्रचण्डले डिजिटल सुशासनमार्फत पारदर्शिता कायम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। सरकारी सेवा लाइनमा होइन, मोबाइल र अनलाइन प्रणालीमार्फत नागरिकसम्म पुर्याउने योजना रहेको उहाँले बताउनुभयो। स्वास्थ्य, शिक्षा र आधारभूत सेवामा सबैको समान पहुँच सुनिश्चित गरिने, भ्रष्टाचार अन्त्यका लागि कानुनी तथा संरचनागत सुधार गरिने उहाँको भनाइ छ। सन्तुलित र स्वाभिमानी विदेश नीति अवलम्बन गर्दै राष्ट्रिय हितलाई सर्वोपरि राखिने उहाँले स्पष्ट गर्नुभयो। छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग समतामूलक सम्बन्ध कायम गर्दै विकास साझेदारीलाई प्रभावकारी बनाइने उहाँको योजना छ। हिंसाविरुद्ध कडा सन्देश भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाप्रति टिप्पणी गर्दै प्रचण्डले ती घटना अस्वीकार्य भएको बताउनुभयो। लोकतान्त्रिक प्रक्रियामा हिंसाको कुनै स्थान नभएको उल्लेख गर्दै उहाँले मतदानमार्फत गलत प्रवृत्तिलाई जनताले दण्ड दिने विश्वास व्यक्त गर्नुभयो। ‘तारा’मा मतदानको आह्वान अन्त्यमा उहाँले मतदातालाई आफ्नो दलको चुनाव चिन्ह ‘तारा’मा मतदान गर्न आग्रह गर्नुभयो। फागुन २१ लाई स्थायित्व, सुशासन र समृद्धिको नयाँ अध्याय सुरु गर्ने दिनका रूपमा स्मरणीय बनाउन अपिल गर्दै उहाँले निराशालाई आशामा र आक्रोशलाई निर्माणमा बदल्न आग्रह गर्नुभयो। “जनताको मत नै सबैभन्दा ठूलो शक्ति हो,” उहाँले भन्नुभयो, “विधिको शासनमार्फत सुशासन स्थापना गर्न र देशलाई स्थायित्वतर्फ लैजान फागुन २१ मा ऐतिहासिक निर्णय गरौं।” यसरी, प्रचण्डको स्पष्ट सन्देश सुशासनको संस्थागत आधार निर्माण, अतिवादविरुद्ध लोकतान्त्रिक स्थायित्व, सामाजिक न्याय, उत्पादनमुखी अर्थतन्त्र र वाम एकताको पुनर्गठनमा केन्द्रित देखिएको छ। अब जनताको निर्णयले आगामी राजनीतिक यात्रा तय गर्नेछ।

