उपल्लो डोल्पामा बाह्र वर्षे मेला सुरु
डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका ३ साल्दाङस्थित शेल गुम्बामा १२ वर्षे शे सुरु भएको छ। दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्व शान्तिको भन्ने मूल नाराका साथ ६७ औँ मेला सुरु भएको गाउँपालिकाका उपाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिनुभयो ।
प्रत्येक १२ वर्षमा एक पटक लाग्ने मेलाले विश्वमा शान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक धार्मिक तथा सांस्कृतिक पहिचान समेत झल्काउने गर्दछ । यस मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहासिक, प्राकृतिक तथा पुरातात्त्विक सम्पदाको विश्वसामु प्रचारप्रसार हुने आयोजकले जनाएको छ।
रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वी डुपतोप सिंगे यिशेको सम्मान स्वरूप लाग्ने यो मेलाबाट समग्र डोल्पो दर्शन समेत बुझ्न सकिने बताइएको छ। मेलामा सहभागी हुन पूर्व मन्त्री तथा डोल्पाका लागि संघीय सांसद धनबहादुर बुढा, डाक्टर सन्दुक रुइत लगायत बौद्ध धर्मालम्बीहरूका प्रमुख लामाहरू समेत पुगेका छन्। मेला चार दिनसम्म सञ्चालन हुने बताइएको छ।
माओवादीले नेतृत्व गरेको वडा उत्पादनमा नमूना बन्दैः एकैपटक ३६ लाखको लसुन निर्यात
प्रथम कम्युनिष्ट सहिद कामी बुढा जन्मेको यो वडामा जनयुद्धका क्रममा चक्रराम बुढा ‘छहरा’ र देवीलाल परियार ‘विजय’ सहिद हुनुभएको थियो । उहाँहरुको नामबाट स्थापित छवि बहुउद्देश्यीय सहकारीले कृषि उपजको बजार व्यवस्थापन गर्ने काम गरिरहेको छ। वडाले स्थानीय छवि बहुउद्देश्यीय सहकारी संस्थालाई कृषि उपजको सङ्कलन र बजारीकरणका लागि अगाडि सारेको छ ।
खुशी बाँड्दै कर्णालीः देशभर चिकित्सक पठाउँदै जुम्ला
कर्णाली – जुम्लामा पनि डाक्टरी पढाइ हुन्छ र भन्ने धेरैको प्रश्न हुन सक्छ । प्रश्नकर्ता कतिलाई जुम्लामा चिकित्सक पढाइ हुन्छ भन्ने पनि थाहा छैन । केहीले पढाइ हुन्छ भन्नेमा विश्वास गर्दैनन् । थाहा पाउनेहरूले त्यहाँ चिकित्सकको कस्तो पढाइ हुन्छ होला रु भनेर खिसी गरेको पाइन्छ । ती प्रश्न एवं जिज्ञासा राख्ने र खिसिट्युरी गर्नेहरूले जुम्लाले स्नातक मात्र होइन, अब स्नातकोत्तर तहको चिकित्सक उत्पादन गरेको खबर सुन्न धेरै समय कुर्नुपर्ने छैन । प्रगती र विकासका लागि भूगोल बाधक हुन सक्दैन अनि दुर्गमले दुःख मात्र होइन, समृद्धिको इँटा थप्न सक्दोरहेछ भन्ने गतिलो उदाहरण स्वरुप अब देशलाई चाहिने चिकित्सक तथा जनस्वास्थ्य विज्ञ जनशक्ति पठाउँदैछ । मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही भदौ २३ गते चिकित्साशास्त्रमा विभिन्न सङ्कायमा स्नातकोत्तर तह उत्तीर्ण पाँच विशेषज्ञ चिकित्सक र स्नातक तहका ५१ जनालाई विद्यार्थीहरु दीक्षित गर्दैछ । यसका लागि प्रतिष्ठान जुम्लामा भदौ २३ गते ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ । जसको तयारीमा प्रतिष्ठान जुटेको छ । उपकुलपति डा. मङ्गल रावलका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र सङ्कायका स्नातक र स्नातकोत्तर तहका गरी कूल ५६ उत्तीर्ण विद्यार्थीहरू दीक्षित हुनका लागि योग्य छन् । उपकुलपति रावलले भन्नुभयो, “प्रथम दीक्षान्त समारोह गर्न स्वीकृतिका लागि यही साउन ३२ गते कुलपतिसमक्ष पत्र पठाएका थियौँ । सोही पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिष्ठानलाई २३ भदौ आइतबार बिहान १०ः३० बजे जुम्लामा दीक्षान्त समारोह गर्नका कुलपतिले स्वीकृत गरेको व्यहोरासहितको पत्र प्राप्त भएको छ । सोही अनुसार तयारी गर्दैछौँ ।” कर्णालीको इतिहासमा पहिलोपटक ऐतिहासिक दीक्षान्त समारोह आयोजना गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाका अनुसार यहाँ अध्ययनरत विद्यार्थीहरूमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडिजिपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँचजनासहित कूल ५६ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन् । दीक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन एकेडेमिक बिल्डिङ र तिलगङ्गा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको उपकुलपति रावलले बताउनुभयो । समारोहमा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको सहयोगमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड इएमआर उपकरण हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ । सो अवसरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनी झा, स्वास्थ्य सचिव डा रोशन पोखरेल, वरिष्ठ आँखा विशेषज्ञ डा सन्दुक रुइत, विश्व स्वास्थ्य सङ्गठन नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवसमेत सहभागी हुने जनाइएको छ ।
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री कँडेलले पेश गरेको विश्वासको मतको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत परेको थियो । मतदान प्रक्रियामा ३७ सांसदले भाग लिएका थिए । केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णालीमा पनि माओवादी केन्द्र सरकारबाट बाहिरिएर कांग्रेस सरकारमा गएको छ ।
कर्णालीमा कांग्रेसका चार मन्त्रीको शपथ
सुर्खेत । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा नेकपा (एमाले) नेतृत्वको सरकारमा नेपाली कांग्रेसकोतर्फबाट सहभागी हुने चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो। जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा नियुक्त भए । नवनियुक्त मन्त्रीले आइतबार पदभार ग्रहण गरेका हुन्।
कर्णाली सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरूले दिए राजीनामा
सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । सोमबार माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै सरकार छोडेका हुन् । माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले राजीनामा दिएका छन् । एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकारमा अब कांग्रेस सहभागी हुने भएको छ । केन्द्रमा कांग्रेस(एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेशको नेतृत्व एमालेले गर्ने सहमति अनुसार कँडेल नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ । यससँगै माओवादी केन्द्र कर्णालीमा पहिलो पटक प्रमुख प्रतिपक्षीमा पुगेको छ ।
रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिको ज्यान गयो, एक जना बेपत्ता, सात घाइते
काठमाडौं ।रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिकाको पुरिएर ज्यान गएको छ । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनिसा सार्कीको पुरिएर ज्यान गएको हो र ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् । सात जना घाइते बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका छन् । नगरप्रमुख केसीले भने, 'खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन । घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ । उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन्।'
अवरुद्ध कर्णाली करिडोर सञ्चालन
मान्मा । पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ । करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका–८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुदबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो । शनिबार बिहानदेखि अवरुद्ध भएको राजमार्ग प्रहरी, स्थानीय र जनप्रतिनिधिको पहलमा पहिरो पन्छाएर आज बिहानदेखि नियमित सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिए । “लेदोसहित आएको पहिरोले शनिबारदेखि राजमार्ग अवरुद्ध भएको थियो”, उनले भने, “डोजर लगाएर प्रहरी र स्थानीयको पहलमा आज पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका हुन् ।” कर्णाली करिडोरमा वर्षायाममा बाढीपहिराको निकै जोखिम हुने भएकाले उक्त राजमार्ग भएर सञ्चालित सवारीसाधनलाई राति सञ्चालनमा रोक लगाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु, छजना घाइते
सुर्खेत । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिए। मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुन् । बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे–१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिए।
सुर्खेतमा जीप दुर्घटना : दुईजनाको मृत्यु, दुई घाइते
सुर्खेत । सुर्खेतमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै आज बिहान दुर्घटना भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुईजनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ। दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुयाइएको छ। प्रहरीले दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको जनाएको छ। दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली उद्धारका लागि परिचालन भएको छ।
कर्णालीका नवनियुक्त कृषिमन्त्री शाहले लिए शपथ
काँर्केविहार। कर्णाली प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ गराएका हुन् । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री पदमा नियुक्त भए पनि शाहले पद तथा गोपनीयताको शपथ लिएका थिएनन् । रासस
पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
मुगु । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा गरिएको छ । यार्सागुम्बा पाइने पाटन अन्तर्गत मुगुम कार्मारोङ्ग गाउँपालिकाले सङ्कलकहरुको दुर्घटना बीमा गरेको हो । ठूलो सपना बोकेर पाटन पुगेका, जाँदै गरेका र फर्कने क्रममा पालिकाका सिमानाभित्र कोही घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसैको मृत्यु भइहाले आश्रित परिवारलाई सहयोग पुगोस् भनेर गाउँपालिकाले आथिक वर्ष २०७६÷७७ देखि दुर्घटना बीमा शीर्षकमा बजेट छुट्याउँदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवाशचन्द्र रावलले जानकारी दिए । ‘यो बीमा प्राप्त गर्न वैधानिक तरिकाले पालिकाको प्रवेश शुल्क तिरेरको हुनुपर्छ । वनमा प्रवेश शुल्क लिँदा गाउँपालिकाले सङ्कलकको आवश्यक व्यक्तिगत विवरणसँगै लिने गरेको छ’, उनले भने । पाटनमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मी, स्वास्थ्य टोली र हेराला वन सुरक्षा युवादस्तालाई पनि यस बीमा कार्यक्रममा समेटिएको रावलले बताए । उनका अनुसार पालिकाले बीमाका लागि चालु आवमा रु पाँच लाख बजेट विनियोजन गरेको छ । गत वर्ष यस योजनाबाट दुईजनाको परिवार लाभान्वित भएको रावलको भनाइ छ । उनका अनुसार बीमाबापत पीडित परिवारले न्यूनतम रु ५० हजार र अधिकतम रु एक लाख ५० हजारसम्म रकम पाउनेछन् । पालिकाको सीमित बजेटले थोरै भए पनि पीडामा पर्ने व्यक्ति र परिवारलाई राहत पुगोस् भनेर यो प्रयास सुरु गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए । यो कार्यमा सङ्घीय र प्रदेश सरकारले पनि लगानी गर्नुपर्ने उनको भनाइ छ । ‘यार्सा खरिदकर्ताले राजस्व नेपाल सरकारलाई तिर्छन् । पाटनमा यार्सा टिप्नु भनेको बाघको मुखबाट दात निकाल्नु सरह हुन्छ । यार्सा टिप्न जाने हजारौँ सङ्कलकको जीवन र आश्रित परिवारको भरणपोषणका लागि राज्यको दायित्व निर्वाह गर्नुपर्छ’, अध्यक्ष लामाले भने, ‘कर्णाली प्रदेश सरकारले कर्णालीवासीको दुर्घटना बीमा कार्यक्रम लागू गरेको धेरै भए पनि यार्सा सङ्कलक भने यसबाट लाभान्वित हुन सकेका छैनन् ।’ बीमा प्राप्तिका जटिल प्रक्रिया हुँदा गरिब तथा विपन्न परिवार यस कार्यक्रममा समभागी हुन नसकेका अध्यक्ष लामाको भनाइ छ । आगामी दिनमा यार्सा सङ्कलकको अनिवार्य बीमा गर्ने नीति सरकारले नै लिनुपर्नेमा उनले जोड दिए। मुगुका दुई दर्जन बढी पाटनमा पाइने यार्सागुम्वा सङ्कलनका लागि यही जेठ १५ गतेदेखि वन प्रवेश खुल्ला गरिँदैछ । बर्सेनि पाटनमा सयौँ यार्सा सङ्कलक बिरामी तथा घाइते हुँदै आएका छन्भने दर्जन बढीले ज्यान गुमाउने गरेका छन् । पालिकाको बीमा योजनाले पीडित र आश्रित परिवारलाई ठूलो राहत पुग्ने स्थानीय कार्मा सेराफ लामाले बताए । समयानुसार बीमा रकम समायोजन हुनुपर्ने उनको भनाइ छ ।
कर्णालीको मुख्य न्यायाधिवक्तामा कृष्ण हमाल
सुर्खेत । कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् । हमाललाई मुख्यमन्त्री यामलाल कँडेलले सोमबार कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्य न्यायाधिवक्तामा हमालले पद तथा गोपनियताको शपथ पनि लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारको रोहवरमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश लोहितचन्द्र शाहले शपथ ग्रहण गराएका हुन् । दैलेखको दुल्लु नगरपालिका–३, मालिकामा जन्मिएका हमाल अहिले वीरेन्द्रनगर–५ मा बस्दै आएका छन् । २०४३ सालदेखि वकालतमा लागेका हमाल २०७३ मा वरिष्ठ अधिवक्ता बनेका हुन् ।
कर्णालीमा नियुक्त भए ६ मन्त्री, लिए शपथ
काठमाडौँ । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । आज नवनियुक्त ६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् । कर्णालीका प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा माओवादीका ३ जना र नेकपा एमालेका ३ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मन्त्री हुनेहरूमा माओवादीबाट कालीकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही छन् । यस्तै एमालेबाट दैलेखका विनोद शाह, डोल्पाका शेरबहादुर बुढा र दैलेखकी गमता विक रहेको छन् ।
कर्णाली सरकारले आजै पूर्णता पाउँछ मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन्। मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका उनले सत्ता साझेदार दलहरुसँगको समन्वयमा मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिन थालेका हुन् । उनले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका थिए। मंगलबार नेकपा (एमाले)को भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरिने मुख्यमन्त्री कँडेलले बताए । माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त हुने जनाइएको छ । नियुक्त हुने मन्त्रीहरूको नाम मुख्यमन्त्री कँडेललाई दिइसकिएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले जानकारी दिए । दुवै दलबाट को–को मन्त्री हुने भन्नेबारे भने खुलाइएको छैन । मन्त्रीहरु नियुक्त गरेर पद तथा गोपनीयताको शपथ मंगलबार नै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ। मुख्यमन्त्री कँडेलले गत चैत २७ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए । रासस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा काँग्रेसका तीन जना सांसद अनुपस्थित देखिए । एक जना निलम्बनमा परेका र दुई जना अनुपस्थित थिए। सभामुखसहित ३८ मध्ये मतदानमा ३५ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १२ र एक सांसद तटस्थ बसे । एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका हुन् । काँग्रेसका १५ जना सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने सांसद राजीव विक्रम शाह र जानकी सिंह संसद्मा उपस्थित भएनन् । उनी चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।