वरिष्ठ पत्रकार कौशल चेम्जोङको ‘नेपालको इतिहासमा उदयपुर’ पाठककाे हातमा

उदयपुर । वरिष्ठ पत्रकार तथा अनुसन्धानकर्ता कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर (वि.सं. १९००–२००७)’ शुक्रबार लोकार्पण गरिएको छ। 

त्रियुगा नगरपालिका कार्यालय, गाईघाटमा आयोजित कार्यक्रममा नगरप्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्।

वि.सं. १९०० देखि २००७ सम्मको १०७ वर्षे ऐतिहासिक कालखण्डलाई केन्द्रमा राखेर तयार गरिएको ३६८ पृष्ठको यो पुस्तक सात अध्यायमा विभाजित छ। पुस्तकले उदयपुरको राजनीतिक विकासक्रम, प्रशासनिक संरचना, सामाजिक परिवर्तन, आर्थिक अवस्था र सांस्कृतिक रूपान्तरणलाई तथ्यपरक ढंगले प्रस्तुत गरेको प्रकाशक उदयपुर अनुसन्धान केन्द्र ले जनाएको छ।

यसअघि ‘उदयपुरको इतिहास’ मार्फत प्रागैतिहासिक कालदेखि वि.सं. १९०० सम्मको इतिहास दस्तावेजीकरण गरिसकेका लेखक चेम्जोङले यो पुस्तकलाई त्यसै अनुसन्धान यात्राको दोस्रो खण्डका रूपमा प्रस्तुत गरेका हुन्। पुस्तकमा विशेषतः राणाकालीन शासन व्यवस्था, स्थानीय प्रशासनिक संरचना, सामाजिक विभाजन, शिक्षा, आर्थिक गतिविधि तथा राजनीतिक चेतनाको विकासलाई ऐतिहासिक प्रमाणका आधारमा विश्लेषण गरिएको छ।

लोकापर्ण कार्यक्रममा पुस्तकका टिप्पणीकार तथा त्रियुगा जनता बहुमुखी क्याम्पस का प्रमुख प्राध्यापक डा. कैलाशकुमार राई ले केही भाषागत कमजोरी भए पनि उदयपुरको १०७ वर्षे इतिहासलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्नु पुस्तकको ठूलो उपलब्धि भएको बताए। उनका अनुसार इतिहासका विद्यार्थी, शोधकर्ता तथा स्थानीय इतिहासमा रुचि राख्ने पाठकका लागि यो कृति उपयोगी दस्तावेज बन्नेछ।

लेखक चेम्जोङले झण्डै दुई दशकको अध्ययन, अभिलेख संकलन र क्षेत्रीय अनुसन्धानपछि पुस्तक तयार पारेको बताए। उनले अनुसन्धान क्रममा प्राप्त सामग्रीमा त्रुटि वा कमी देखिए आगामी संस्करणमा सुधार गर्दै जाने प्रतिबद्धता जनाए। साथै, पाठक र अनुसन्धानकर्ताबाट सुझावको अपेक्षा पनि व्यक्त गरे। चेम्जोङले अब वि.सं. २००७ देखि २०४६ सम्मको उदयपुरको राजनीतिक–सामाजिक इतिहास समेट्ने अर्को पुस्तक तयार पार्ने जानकारी पनि दिए।

लेखकका अनुसार पुस्तक तयार गर्ने क्रममा प्रकाशित तथा अप्रकाशित पुस्तक, पुराना पत्रपत्रिका, सरकारी अभिलेख, स्थानीय दस्तावेज, अनलाइन स्रोत तथा पुरातात्त्विक सामग्रीको गहिरो अध्ययन गरिएको छ। यससँगै स्थानीय ज्येष्ठ नागरिक, सामाजिक अगुवा, पूर्वकर्मी, क्रान्तिकारी मुक्ति योद्धा तथा अनुसन्धानसँग सम्बन्धित व्यक्तिहरूसँग अन्तरक्रिया गरी मौखिक इतिहास पनि संकलन गरिएको छ। यसले पुस्तकलाई केवल लिखित सामग्रीमा सीमित नराखी बहुआयामिक बनाएको लेखकको भनाइ छ।

पाण्डुलिपि अध्ययन तथा सुधार प्रक्रियामा त्रिभुवन विश्वविद्यालय इतिहास विभागका सह–प्राध्यापक डा. विजय मिश्र बाट महत्वपूर्ण सुझाव र मार्गदर्शन प्राप्त भएको लेखकले उल्लेख गरेका छन्। स्थानीय तहबाट प्राप्त सहयोगले पनि पुस्तक प्रकाशनमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

प्रकाशकीयमा उदयपुर अनुसन्धान केन्द्रले काठमाडौं–केन्द्रित इतिहासले नेपालको समग्र यथार्थ चित्रण गर्न नसक्ने उल्लेख गर्दै क्षेत्रीय तथा स्थानीय इतिहास लेखनलाई राष्ट्रिय आवश्यकता भएको स्पष्ट पारेको छ। केन्द्रका अनुसार वि.सं. १९०० देखि २००७ सम्मको अवधि नेपालको इतिहासमा राजनीतिक उतारचढाव, सामाजिक परिवर्तन र शासन व्यवस्थाको संक्रमणकालका रूपमा महत्वपूर्ण मानिन्छ। यही अवधिमा उदयपुरले भोगेका प्रशासनिक संरचना, आर्थिक सम्बन्ध, सामाजिक रूपान्तरण र राजनीतिक चेतनाको विकासलाई पुस्तकले ऐतिहासिक तथ्यका आधारमा उजागर गरेको दाबी गरिएको छ।

पुस्तक सात अध्यायमा संरचित छ। पहिलो अध्यायमा अनुसन्धान पद्धति, स्रोत तथा पूर्वकार्यको समीक्षा समेटिएको छ। दोस्रो अध्यायमा नेपालको राष्ट्रिय राजनीतिक इतिहाससँग उदयपुरको सम्बन्ध र प्रभावबारे चर्चा गरिएको छ। तेस्रो अध्यायमा प्रशासनिक, न्यायिक र सैनिक संरचनाको अध्ययन गरिएको छ भने चौथो अध्यायमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाको चित्रण गरिएको छ। पाँचौं अध्यायमा वि.सं. १९००–२००७ सम्मका महत्वपूर्ण घटनावली तथा २००७ सालको जनक्रान्तिमा उदयपुरको भूमिकालाई समेटिएको छ। छैटौं अध्यायमा निष्कर्ष र सातौं अध्यायमा स्रोत सामग्री तथा अनुसन्धान प्रक्रिया समावेश गरिएको छ।

लेखक चेम्जोङका यसअघि ‘भूत लघुकथा संग्रह’, ‘उदयपुरको पर्यटन विकास, सम्भावना र चुनौती’, ‘जीवनका रङ्गहरू’, ‘उदयपुरको इतिहास’ र ‘उदयपुरको साहित्य’ लगायत कृतिहरू प्रकाशित छन्। लामो समयदेखि आख्यान र गैर–आख्यान दुवै विधामा सक्रिय उनी अनुसन्धानमूलक लेखनका परिचित नाम मानिन्छन्।

मोफसलमा बसेर अनुसन्धान र प्रकाशन गर्नुपर्ने चुनौतीबारे बोल्दै लेखकले स्रोत अभाव, आर्थिक कठिनाइ, अभिलेखीय समस्या तथा संस्थागत सहयोगको कमीले अनुसन्धानमूलक लेखन कठिन बनेको बताए। उनका अनुसार स्थानीय इतिहास संरक्षण र अभिलेखीकरणका लागि राज्यले थप सहयोग गर्न आवश्यक छ।

स्थानीय इतिहासलाई राष्ट्रिय विमर्शसँग जोड्ने उद्देश्य बोकेको ‘नेपालको इतिहासमा उदयपुर’ उदयपुरको ऐतिहासिक पहिचान उजागर गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ। इतिहास अध्ययनमा रुचि राख्ने पाठक, विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि यो पुस्तक उपयोगी सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ।

आज मिथिलामा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मंगलबार (चैत १०) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदै छ । नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै छ ।  पर्वको षष्ठी तिथिका दिन आज साँझ व्रतालुले आ–आफ्ना घरघरमा गहुँ र चामललाई ओखल, जातो वा ढिँकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियालगायत पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।  षष्ठी तिथिका साँझ व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर सबै प्रकारका अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आइतबारदेखि तराई, मधेस र भारत विहारको मिथिलाञ्चल क्षेत्रमा सुरु भएको थियो । यसपर्वको दोस्रो दिन सोमबार व्रतालुले आ–आफ्ना कुलदेवताको पूजा र सूर्य देवता र छठी मातालाई चैतीछठ पूजाका लागि निम्तो दिँदै खरना पर्व मनाएका थिए । षष्ठी तिथिमा चैती छठको मुख्य पूजा अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व मनाउँदै छन् ।

नेपालको मिथिलाञ्चलमा आजदेखि चैती छठ पर्व विधिवत् सुरु

जलेश्वर । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज (मार्च २२, २०२६) देखि चार दिने चैती छठ पर्व धार्मिक विधिपूर्वक सुरु भएको छ । तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लाहरूमा यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत क्षेत्रका पोखरी, तलाउ, बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी नदी तथा नहर किनारमा श्रद्धालुहरूको घुइँचो लाग्छ । यो पर्व सत्य, अहिंसा, जीवप्रति सहानुभूति बढाउने तथा सूर्य उपासना गर्ने विशेष परम्परा हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पर्वको उद्देश्य पारिवारिक सुख, शान्ति, समृद्धि, स्वास्थ्य तथा मनोकाङ्क्षा पूरा गर्नु हो । चार दिनको क्रम यस प्रकार छ: पहिलो दिन (आज): नहा खा – व्रतीहरूले नुहाएर शुद्ध भई खाने काम गर्छन् । दोस्रो दिन (भोलि): खर्ना – दिनभर उपवास बसेर राति छठ देवतालाई निम्तो दिई अरवा (बिना नुन) खानेकुरा खाइन्छ । तेस्रो दिन (मङ्गलबार): साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ, विभिन्न ठकुवा, भुसवा, फलफूल आदि तयार गरी घाटमा पुगिन्छ । चौथो दिन (बुधबार): बिहान उदाउँदो सूर्यलाई उषा अर्घ्य दिई पर्व समापन हुन्छ । महाभारतमा पाण्डवहरूले अज्ञातवास सफलताका लागि सूर्य आराधना गरेको तथा सूर्य पुराणमा अनुसुइयाले पहिलो पटक व्रत गरेको उल्लेख छ । यो पर्व हिन्दूका साथै मुस्लिम समुदायले पनि सामाजिक सद्भावका रूपमा मनाउँछन् ।

नेपालमा ईद उल फित्र पर्व आज हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । हिजरी संवत् अनुसार नवौँ महिना (रमजान) को उपवास पूरा गरी देशभरका मुस्लिम समुदायले आज ईद उल फित्र (ईद-उल-फित्र) पर्व विशेष उत्साहका साथ मनाइरहेका छन्। यो पर्व रमजान महिनाको अन्त्यसँगै उपवास तोड्ने (फित्र) को खुसीयालीका रूपमा मनाइन्छ। बिहानै विशेष नमाज (ईदको नमाज) पढेर समुदायका सदस्यहरू एकजुट हुन्छन्। नमाजपछि ठूला-बडाहरूबाट आशीर्वाद लिने र साना-नाबालकहरूलाई आशीर्वाद दिने परम्परा छ। आशीर्वाद लिन आउने आफन्तजनलाई सेवई, खजुरलगायत मीठा परिकारहरू खुवाउने चलन रहेको छ। यो पर्वमा दानको विशेष महत्व हुन्छ। मुस्लिम धर्मग्रन्थ कुरानअनुसार एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत (२.५%) नगद वा जिन्सी रूपमा दान गर्नुपर्छ, जसलाई जकात भनिन्छ। यसबाहेक प्रत्येक व्यक्तिले आफ्नो सामर्थ्यअनुसार गहुँ वा सो बराबरको नगद सद्का-ए-फित्र (फित्राको दान) दिन्छन्। यो दान आमाको गर्भमा रहेको शिशुको तर्फबाट पनि दिनुपर्ने विधान छ। यी दानहरू दीन-दुःखी तथा गरिबहरूलाई बाँडिन्छ। रमजान महिना करिब एक महिनाअघि सुरु भएको थियो। यस अवधिमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहार रहने (रोजा) बसिन्छ। यो व्रतले एक वर्षभित्रका पापहरू क्षमा गराउने विश्वास गरिन्छ। साँझ चन्द्रमा हेरेर रोजा तोड्ने चलन छ। ईद उल फित्रका दिन मुस्लिम समुदायका सदस्यहरू नयाँ लुगा लगाउँछन्, साथीभाइ तथा आफन्तजनकहाँ गएर शुभकामना आदानप्रदान गर्छन्। आजको यो पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ। देशभरका मस्जिदहरूमा विशेष नमाज पाठ गरिन्छ। काठमाडौंको जामे मस्जिद (घन्टाघर) मा बिहान विशेष नमाज पाठ भएपछि आशीर्वाद लिने क्रम सुरु हुन्छ। त्यसैगरी काश्मी मस्जिदलगायत अन्य मस्जिद र इदगाहहरूमा पनि भव्य रूपमा कार्यक्रम सम्पन्न हुन्छन्।

चैत्र नवरात्र सुरु, आज घटस्थापना गरी नवदुर्गाको पूजाआराधना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु हुँदै छ । चैत्र नवरात्रको अवसरमा आज हनुमानढोका दरबारमा विधिपूर्वक घटस्थापना गरी नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार, चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको छ । यस साइतमा उत्तर फर्केर घटस्थापना गर्नुपर्ने बताइएको छ । यस अवसरमा देशभरका विभिन्न देवी मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनहरूको भव्य भीड लाग्ने गर्छ । शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गर्दछन्— आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष । नेपाली परम्परामा आषाढ र पौष शुक्ल पक्षको नवरात्रलाई ‘लुप्त नवरात्र’ पनि भनिन्छ ।

आज तराईका जिल्लामा होली मनाइँदै

काठमाडौं । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।  हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।  वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रंगीचंगी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।  त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।  त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । 

पाेखरामा होलीमा रमाए विदेशी पर्यटक

कास्की । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा सोमबार स्वदेशी तथा विदेशी पर्यटकले होली मनाएका छन् । विगतमा यहाँ भव्य रूपमा होली उत्सव मनाउने गरिए पनि यस पटक औपचारिक कार्यक्रम गरिएको थिएन, तर लेकसाइड क्षेत्रमा रहेका पर्यटकले स्थानीयसँगै मिलेर रङ्ग खेलेर होली मनाएका हुन् । रङ खेल्न पाउँदा पर्यटकहरू दङ्ग देखिन्थे । पोखरामा पहिलोपटक आएकी चिनियाँ पर्यटक सियोङले रङ खेलेर रमाइलो गर्दा धेरै खुसी लागेको बताए । “हामी धेरै खुसी भयौँ। नेपालीसहित साथीहरू मिलेर निकै रमाइलो गर्‍यौँ”, उनले भनिन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिताका कारण होलीका लागि अनुमति नदिएपछि औपचारिक कार्यक्रम नगरिए पनि पर्यटकहरूले स्वतःस्फूर्त रूपमा रमाइलो गरेको रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए । “यति बेला पोखरामा विदेशी पर्यटक राम्रै छन् । उनीहरूले स्थानीयसँग मिलेर होलीमा रमाइलो गरेका हुन्”, उनले भने । लेकसाइडको मुख्य सडक क्षेत्रसहित ताल किनारमा बसेर स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न रङमा रङ्गिएर रमाइलो गरेका हुन् । विगतका वर्षमा पोखरामा सार्वजनिक रूपमा होली उत्सव आयोजना हुने गरेको थियो । यस वर्ष भने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहितालाई मध्यनजर गरेर होलीलगायत अन्य सार्वजनिक कार्यक्रममा जिल्ला प्रशासनले रोक लगाएको छ ।

समावेशी समृद्ध नेपाल निर्माणका लागि मतदान गर्न भन्दै संयोजक प्रचण्डले दिए फागु पूर्णिमाको शुभकामना

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागु पूर्णिमाको अबसरमा शुभकामना व्यक्त गरेका छन् । उनले मध्यपूर्वमा बनेको परिस्थितिका कारण हजारौं प्रवासी नेपाली र उनका परिवार चिन्तामा रहेका उल्लेख गर्दै विदेशमा रहेका सबै नेपाली सुरक्षित रहून् भन्ने कामना समेत गरेका छन् । संयोजक प्रचण्डले भोलिदेखि चुनावको मौन अवधि सुरु हुने भन्दै शान्तिपूर्ण वातावरण बनाउन र संयमता कायम राख्न आग्रह गरेका छन् । उनले समावेशी समृद्ध नेपाल निर्माण गर्न विवेकका साथ मत हाल्न पनि आग्रह गरेका छन् । ‘शान्तिपूर्ण वातावरण बनाऔँ, संयमता राखौँ र विवेकका साथ समावेशी समृद्ध नेपाल निर्माणका लागि मतदान गरौँ’, संयोजक प्रचण्डले भनेका छन्, ‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ ।’

हाम्रो संस्कृति संसारकै अनुकरणीय: राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको बताएका छन् । होली पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् । सन्देशमा अध्यक्ष दाहालले भनेका छन्, “यस पर्वले हामी सबैलाई आपसी सद्भाव, भ्रातृत्व एवम् विविध रङ्गको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु ।” फागुपूर्णिमा (होली) नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये महत्त्वपूर्ण पर्व भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, मौलिक संस्कृति र विविध पर्वका दृष्टिले हामी धेरै सम्पन्न रहेको बताएका छन् । “हामी यति बेला प्रतिनिधिसभा सदस्य निर्वाचनको सङ्घारमा छौँ । गत भदौमा भएको जेनजी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिपछि यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ,” अध्यक्ष दाहालले सन्देशमा भनेका छन्, “होली पर्वमा व्यक्त हुने आपसी सद्भाव, भ्रातृत्व र उत्साहझैँ निर्वाचनलाई पनि उत्सवकै रूपमा सम्पन्न गर्न सबैको इमानदार र सकारात्मक पहल हुने मैले विश्वास लिएको छु ।”

आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै हाेली, तराइमा भाेलि

काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । तर तराइका जिल्लामा भाेली मनाइन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको छ । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा तोयराज नेपालले राससलाई जानकारी दिए । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चिरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद प्रवर्द्धन शाखाका प्रमुख डा वंशदीप शर्मा खरेल बताउँछन् । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । तराइका जिल्लामा मङ्गलबार नै सरकारले सार्वजनिक बिदा दिएको छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएका छन् । यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ । रङको पर्व कुन देशमा कसरी मनाइन्छ ? फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ । अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक वेशभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी, श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मार र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ । फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ । सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिएको पाइन्छ ।

भक्तपुर–२ मा नेकपाका दीपशिखाको प्रतिबद्धता: कला, संस्कृति र परम्परागत सम्पदा संरक्षणमा जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार राम प्रसाद सापकोटा(दीपशिखा)ले आफ्नो क्षेत्रको सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख एजेन्डा लिएका छन् । उनले ऐतिहासिक, सांस्कृतिक विशेषताको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै नीतिगत र व्यवहारिक दुवै माध्यमबाट विशिष्ट आवश्यकता परिपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  उनले मूर्तअमूर्त कला, संस्कृति र परम्परागत सम्पदा संरक्षणका लागि नीतिगत व्यवस्था मिलाई सोहीअनुरुप बजेटको सुनिश्चितता गर्ने प्रतिबद्धता गरेका छन् । गुठी संस्थानको अव्यावहारिक नियमका कारण जात्रा, पर्व चल्न नसक्ने अवस्थामा पुग्न लागेको भन्दै उनले यसलाई समयअनुरुप परिमार्जन गरी सम्पदामैत्री बनाइने उल्लेख गरेका छन् । सापकोटाले गुठीका जग्गाहरुको नियम, कानुन परिमार्जन गरी जात्रा, पर्व, सम्पदा किसानमैत्री बनाइने बताएका छन् । सम्पदाको रेखदेख, अभिलेखीकरण, नियमित सञ्चालन स्थानीय सरकारअन्तर्गत हुने गरी ऐन, कानुन निर्माण तथा संशोधन गर्ने उनको प्रतिबद्धता छ । नेवाः, तामाङ लगायत सबै समुदायका मूर्तअमूर्त सम्पदाको पञ्जीकरण गरी तिनको संरक्षणका लागि नीतिगत व्यवस्थासहित अक्षय कोष स्थापना गर्ने भनिएको छ । त्यसैगरी भक्तपुर जिल्लाको सूर्यविनायकका डोलेश्वर, सुवर्णेश्वर, रानीकोटलगायत पर्यटकीय गन्तव्य विकासका लागि बजेट सुनिश्चित गर्ने, ऐतिहासिक सहर थिमि हस्तकला, माटोका भाँडा र सांस्कृतिक पेसा झल्काउने गरी पार्क सहितको सांस्कृतिक उद्योगग्राम निर्माण गर्न तथा सूर्यविनायकमा प्राणी उद्यान निर्माणका लागि बजेट व्यवस्था गर्ने तथा मध्यपुर सांस्कृतिक ट्रेल र सूर्यविनायक पर्यापर्यटनसहित धार्मिक पर्यटन ट्रेल निर्माण गरिने पनि उल्लेख गरिएको छ । मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रलाई आईटी र डिजिटल उद्यमको केन्द्र बनाइने सापकोटाले मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रलाई आईटी र डिजिटल उद्यमको केन्द्र बनाइने बताएका छन् । खाली रहेका सरकारी भवन तथा मर्ज भएका विद्यालय भवनलाई आईटी वर्क स्टेसन र स्टार्टअप केन्द्रका रुपमा प्रयोग गर्ने उनको योजना छ । पार्क तथा सार्वजनिक स्थलहरुमा फ्रि इन्टरनेटको व्यवस्था गर्ने पनि उनको प्रतिबद्धता छ । प्रत्येक नगरमा आधुनिक प्रविधियुक्त अध्ययन केन्द्र र ल्याबहरु सञ्चालन गरी युवाहरुलाई रोजगारका साथै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाइने, निर्वाचन क्षेत्रमै रोजगारी, तालिम, सीप विकास र अवसरबारे जानकारी दिने रोजगारी सूचना केन्द्र स्थापना गर्ने लगायत उनको प्रतिबद्धता छ ।

वरिष्ठ अभिनेता सुनिल थापाको हृदयाघातबाट निधन

काठमाडौं : वरिष्ठ तथा लोकप्रिय कलाकार सुनिल थापा (राते काइला) को निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा आज बिहान हृदयाघातका कारण उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन्। 'राते काइला' पात्रबाट चर्चित थापा लामो समयदेखि नेपाली तथा भारतीय (बलिउड र भोजपुरी) चलचित्र उद्योगमा सक्रिय थिए। उनी शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए। उनको असामयिक निधनले नेपाली कला तथा फिल्म जगतलाई स्तब्ध बनाएको छ। थापाले 'चिनो', 'राँको', 'सपना' जस्ता नेपाली फिल्महरूमा खलनायकको भूमिकामा विशेष छाप छोडेका थिए भने 'मेरी कोम', 'द फेमिली म्यान' जस्ता भारतीय प्रोजेक्टमा पनि काम गरेका थिए।

राष्ट्रियसभाका अध्यक्षद्वारा तमु ल्होसारको शुभकामना : विविधतासहितको एकता राष्ट्रिय मेरुदण्ड

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरुदण्डका रूपमा आत्मसात् गरेको बताएका छन् । नयाँ वर्षको शुभारम्भका रूपमा तमु (गुरुङ) समुदायले विशेष महत्त्वका साथ मनाउने तमु ल्होसार पर्वका अवसरमा उनले देश तथा विदेशमा रहेका तमु समुदायका साथै समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । सोही सन्दर्भमा उनले भने, “हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ । यही विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित गरेको छ । तमु ल्होसार पर्वले गुरुङ जातिको लोक संस्कृतिको संरक्षण र विकासमा विशिष्ट भूमिका खेलेको छ ।” तमु ल्होसारजस्ता मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डद्वारा क्रिसमस–२०२५ को शुभकामना व्यक्त

काठमाडौँ  — नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस–२०२५ को अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण क्रिश्चियन दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।   उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको सन्देशमा भन्नुभएको छ, “इसाई धर्मावलम्बीहरूको महान् चाड क्रिसमस–२०२५ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु।” उहाँले थप बताउनुभयो, “सामाजिक, सांस्कृतिक तथा धार्मिक विविधताले भरिपूर्ण हाम्रो देशमा सबै जातजाति, भाषा, धर्म र संस्कृतिबीचको आपसी सद्भाव, सहिष्णुता र एकताले नै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ। यस पर्वले विश्वभर शान्ति, प्रेम र करुणाको सन्देश फैलाउँदै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।”

दार्जिलिङकी श्रेया भण्डारीको सफलता : मिस नोभा कोस्मो वर्ल्डवाइडमा तीन उपाधि

दार्जिलिङ  : पश्चिम बंगालको हिमाली जिल्ला दार्जिलिङको पुबुङ बस्तीमा जन्मिएकी २० वर्षीया नेपाली भाषी युवती श्रेया भण्डारीले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता क्षेत्रमा आफ्नो प्रतिभा र मेहनतको चमक देखाएकी छन्। औपचारिक मोडलिङ तालिम नलिए पनि उनले भारतको प्रतिनिधित्व गर्दै श्रीलंकाको कोलम्बोमा डिसेम्बर ३ देखि ८ सम्म सम्पन्न भएको मिस नोभा कोस्मो वर्ल्डवाइड २०२५ प्रतियोगितामा भाग लिएर तीन प्रतिष्ठित उपाधिहरू हात पारेका छन्। यी उपलब्धिहरूले न केवल उनको व्यक्तिगत यात्रालाई प्रेरणादायी बनाएका छन्, बरु दार्जिलिङ जस्ता साना ठाउँका युवाहरूलाई पनि विश्व मञ्चमा पुग्ने सपना देखाउने आधार तयार पारेको छ ।  श्रेया भण्डारीको यो सफलताको यात्रा साधारण परिवारबाट सुरु भएको हो। दार्जिलिङको पुबुङ बस्तीमा हुर्किएकी उनी हाल कोलकातामा बसोबास गर्दै मॉडलिङ, सोसल मिडिया म्यानेजमेन्ट र ब्रान्ड प्रमोशनको क्षेत्रमा सक्रिय छिन्। नेपाली भाषी समुदायबाट आएकी उनले आफ्नो संस्कृतिको प्रतिनिधित्व गरेकी छन्। उनको मुख्य अभियान "डिजिटल डिग्निटी" हो, जसले अनलाइन प्लेटफर्ममा युवा महिलाहरूको सुरक्षा, सम्मान र स्वतन्त्रताको पक्षमा काम गर्दछ। यो अभियानमार्फत श्रेयाले डिजिटल युगमा महिलाहरूले सामना गर्ने चुनौतीहरूलाई सम्बोधन गर्दै आएकी छन्, जसले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अलग पहिचान दिएको छ। मिस नोभा कोस्मो वर्ल्डवाइड २०२५ एक अन्तर्राष्ट्रिय सौन्दर्य तथा नेतृत्व प्रतियोगिता हो, जसमा विश्वभरका युवा महिलाहरूले सौन्दर्य, बौद्धिकता, सामाजिक जिम्मेवारी र सिर्जनशीलताको प्रदर्शन गर्छन्। यो वर्ष यो प्रतियोगिता श्रीलंकाको कोलम्बोमा आयोजित भएको थियो, जसमा विभिन्न देशका प्रतिनिधिहरूले भाग लिएका थिए। श्रेया यस प्रतियोगितामा भारतको आधिकारिक प्रतिनिधि थिइन्, जसलाई उनले हालै जितेको मिस नोभा कोस्मो इन्डिया २०२५ उपाधिबाट प्राप्त गरेकी थिइन्। कोस्मोस क्वीन इन्डिया संस्थाले आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा उनले आफ्नो आत्मविश्वास र प्रस्तुतिकरणबाट निर्णायकहरूलाई प्रभावित पारेकी थिइन्। अन्तर्राष्ट्रिय मञ्चमा पुग्नुअघि उनलाई राष्ट्रिय निर्देशक मोनिका शाहीको मार्गदर्शन र तालिम प्राप्त भएको थियो, जसमा स्टेज रिफाइनमेन्ट, स्टाइलिङ, कम्युनिकेसन र लिडरसिप विकास समावेश थियो। श्रीलंकामा सम्पन्न फाइनल राउन्डहरूमा श्रेयाले आफ्नो सिर्जनशीलता, सोसल मिडिया प्रभाव र निर्देशकहरूको छनोटमा उत्कृष्ट प्रदर्शन गरिन्। प्रतियोगिताको निष्कर्षमा उनले निम्न तीन उपाधिहरू जितिन् : उपाधि विवरण बेस्ट सोसल मिडिया सोसल मिडियामा उनको सक्रियता र प्रभावकारी कन्टेन्ट क्रिएसनको सम्मान। डाइरेक्टर्स च्वाइस निर्णायकहरूको विशेष छनोट, उनको समग्र प्रस्तुति र व्यक्तित्वको आधारमा। मोस्ट क्रिएटिभ स्टार सिर्जनशीलता र नवीन विचारहरूको प्रदर्शनमा उत्कृष्ट प्रदर्शनको पुरस्कार। यी उपाधिहरूले श्रेयालाई मुख्य प्रतिस्पर्धामा पनि मजबुत स्थान दिलाएका छन्, जसले भारतलाई अन्तर्राष्ट्रिय सौन्दर्य जगतमा गर्विलो स्थान दिलाएको छ। प्रतियोगिताबाट फर्किएकी श्रेयालाई मंगलबार बागडोगरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय नेपाली समुदाय, परिवारजन, साथीहरू र प्रशंसकहरूले भव्य स्वागत गरेका थिए। फूलमाला, नारा र सांस्कृतिक कार्यक्रमसहितको यो स्वागतले दार्जिलिङका युवाहरूको सफलताप्रति समुदायको उत्साह झल्काउँछ। श्रेयाका परिवारजनले  भनेका  छन्, "हाम्रो सानो गाउँबाट विश्व मञ्चसम्म पुग्नु नै ठूलो उपलब्धि हो। श्रेयाको मेहनत र आत्मविश्वासले हामीलाई गर्व महसुस भएको छ।" यो स्वागतमा दार्जिलिङका स्थानीय नेताहरू र सांस्कृतिक संघहरू पनि सहभागी थिए, जसले उनलाई थप प्रोत्साहन प्रदान गरे। श्रेयाको यो सफलताले नेपाली भाषी समुदायमा नयाँ प्रेरणा जगाएको छ। औपचारिक तालिम बिना पनि मेहनत र दृढताबाट सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिँदै उनी अब आफ्नो "डिजिटल डिग्निटी" अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने योजनामा छिन्। आगामी दिनहरूमा उनी थप अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिने अपेक्षा गरिएको छ।  

किराँती समुदायकाे आज महान पर्व उधौली

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो ।  आज संयुक्त रूपमा यस समुदायका सबैले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन् । किरात संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन्। किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ ।  भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।  ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । आज त्यहाँ चाड विशेष रूपमा मनाइन्छ । लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँतहरू तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङलाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूर्ति वा प्रतिमा नहुने भनाइ छ ।  पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परागत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।  वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रूपमा समेत लिइने अनुसन्धाता राईले बताए । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उँभौली पर्वलाई लिने गरिन्छ । उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् । यःमरी पूर्णिमा  आजकै दिन नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ । खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आ आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।