कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौं । कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो ।परशु प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् । 

निधन भएका प्रधानको अहिले बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

परशु प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।

प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्धानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह हुन् ।

सीताहरु र घर कथोपन्यास पनि प्रकाशित भएका छन् । करिब एक दर्जन बाल कथाहरु पनि प्रकाशित भएका छन् । नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित भएका छन् ।प्रारम्भमा परशु प्रधान र भूमिकै भूमिकामा परशु प्रधान भन्ने भूमिका संग्रह पनि प्रकाशित भएका छन् । 

त्यसैगरी भोजपुरः एक अध्ययन, सजिलो नागरिक शास्त्र, सगरमाथा अञ्चलको भूगोल, सामान्य ज्ञान डाइजेस्ट (२) संस्करणसम्म प्रकाशित भएका छन् । प्रधानलाई नेपाल साहित्य संस्थान पुरस्कारसहित दुई दर्जन पुरस्कारबाट सम्मान गरिएको थियो ।

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।  बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । शनिबारको दिन आज बस्ने बैठकमा प्रधानमन्त्री दाहाल प्रचण्डले सरकार र संसद्को बजेट अधिवेशन सञ्चालन, नीति तथा कार्यक्रम निर्माण लगायतका विषयमा सांसदहरुलाई बिफ्रिङ गर्नुका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । 

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।  ट्वान्टी–२० शृंखलाको अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले शृंखला जितिसकेको छ। नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृंखला जितेको थियो।  बिहीबार भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र जोड्न सक्यो । उक्त खेल जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृंखला आफ्नो पक्षमा पार्न सफल भएको छ। त्यसैले आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ ।  नेपालले त्यसअघि तीनमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो। शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

आजको मौसमः हुरीबतासको चेतावनी

काठमाडौँ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम  सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि  छ। त्यसैगरी आज राती कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भूभागमा मौसम सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हिउँ पर्ने सम्भावना छ। आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।  देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

डीभीको नजिता भोलि आउने

काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा भोलि आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।  वैशाख २२ गते (भोलि) राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।  यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

लोकप्रिय