गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन छानियो हिमालयन कालिञ्चोक बीबीआर जेभी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन छानियो हिमालयन कालिञ्चोक बीबीआर जेभी

काठमाडौं । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ। भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको हो। सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने छ।सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ।

चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर हालेका थिए ।तीमध्येबाट टेण्डर हालेको हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आसयपत्र जारी गरिएको हो।

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ।रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर बनाइने छ। एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू निर्माण गरिने छ।

गत चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको थियो।

जुम्लामा स्याउबाट भित्रियो ६१ करोड रुपैयाँ

काठमाडौं । जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड  ४१ लाख ५ हजार रुपैयाँ मूल्यबराबरको स्याउ जुम्लाले बेचेको हो ।  तथ्यांकअनुसार कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा रोपिएका स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो । जसमध्ये ९ हजार ३ सय ९१ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको थियो । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार ट्रक,बस,जिप तथा हाइस र जहाजबाट जुम्ली स्याउ निर्यात भएको थियो । बगैंचामै जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६५ रुपैयाँमा स्याउ बेचेका थिए । बसबाट एक हजार ६ सय ६० मेट्रिकटन,जीप र हाइसबाट ६६४ मेट्रिकटन र जहाजबाट ७४ मेट्रिकटन स्याउ निर्यात भएको हो । मालवाहक ट्रकबाट ६ हजार ९ सय ९३ मेट्रिकटन स्याउ निर्यात भएको थियो । साउनको ४ दिन,भदौको ३१ दिन,असोजको ३० दिन र कात्तिकको १८ दिन गरेर जुम्ली स्याउ ८३ दिन सम्म निर्यात भएको थियो । ८ सय ३७ जना व्यापारीले किसानको स्याउ बजारमा लगेको कृषि प्राविधिक लछिराम महतले जानकारी दिए । उनका अनुसार जुम्लामा गत वर्षको तुलनामा स्याउको उत्पादन कम भए पनि मूल्य बढ्दा स्याउको कारोबार बढेको हो । प्राविधिक महतका अनुसार निर्यात हुने जुम्ली स्याउको तथ्यांक संकलनका लागि नाग्म प्रहरी चौकीमा रेकर्ड फाइल तयार गरेर प्रहरी चौकीलाई दिइएको थियो । फाइलमा स्याउ निर्यात गर्ने व्यापारी र नम्बरसमेत उल्लेख थियो । जुम्लामा रेड,रोयल,गोल्डेनसँगै उच्च घनत्वको स्याउ समेत उत्पादन भइरहेको छ । जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । स्याउ निर्यात हुने समयमा बर्खा लाग्ने भएकोले बजारसम्म लैजान कठिन हुने गरेको किसानहरूले दुःखेसो पोखेका छन् । जुम्लाको स्याउ सुर्खेत,नेपालगन्ज,कोहलपुर,बुटवल,चितवन र काठमाडौंको बजारमा पुग्ने गरेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले एक किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्मको स्याउ बेचेको बताए । उनले भने,‘जुम्ली स्याउ स्वादिलो र पोषिलो हुने भएकोले सबैको रोजाइ बनिरहेको छ ।’ व्यापारीहरूले जुम्ली स्याउ तिज,दसैं र तिहारलाई केन्द्रमा राखेर बजारमा लैजाने गरेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै जुम्ली स्याउको निर्यात सहज बनेको हो । तर कच्ची सडक भएकोले गाडीमा हल्लिएर ५ प्रतिशत स्याउ कुहिने गरेका छन् । स्याउको बजारीकरणका लागि जिल्लामा बृहत् कोल्डस्टोर निर्माण गर्न किसानहरूले माग गरेका छन् । उनीहरूले बाहैं महिना स्याउ बेच्ने वातावरण बनाइदिन सरकारसँग पटक-पटक आग्रह समेत गरिरहेका छन् ।

आँबुखैरेनी क्याम्पसको नवनिर्मित भवन उद्घाटन

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी क्याम्पसको नवनिर्मित भवन बिहीबार उद्घाटन भएको छ । नेपाल–भारत विकास सहयोगअन्तर्गत भारत सरकारको ३० करोड १० लाख सहयोगमा भवन निर्माण भएको हो । भारतीय राजदूतावाका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका संयोजक शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।  कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थी सहभागी थिए ।  क्याम्पस भवन आयोजना नेपाल र भारत सरकारबिच भएको सम्झौताअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । जिल्ला समन्वय समिति तनहुँमार्फत उक्त भवन निर्माण आयोजना कार्यान्वयन भएको थियो ।  आँबुखैरेनी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त समुदायमा आधारित क्याम्पस हो । क्याम्पसले ब्याचलर अफ बिजनेस स्टडिज  र ब्याचलर अफ एजुकेसनमा स्नातक कक्षा सञ्चालन गर्दै आएको छ

हत्याको बिरोधमा प्रदर्शन, दोषीलाई एमालेले संरक्षण गरेको आरोप

विराटनगर  । झापाको दमक नगरपालिकाका–९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले तत्परता नदेखाएको आरोप लगाएका परिवारले शव बुझ्न मानेका छैनन् । परिवारको अडानका कारण शवको शल्य परीक्षणसमेत हुन सकेको छैन । मंगलबार अपराह्न दमक–३ स्थित मावाखोला पुल नजिकै ३५ वर्षीय  निरौलाको हत्या भएको थियो । प्रहरीका अनुसार, हत्यामा चिनजानकै साथीहरूको संलग्नता रहेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । कुटपिटपछि कन्चटमा ढुंगा प्रहार हुँदा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यलय दमकले घटनामा संलग्न रहेको आशंकामा केही युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र अन्यको खोजी भइरहेको जानकारी दिएको छ । मृतकका आफन्तले हत्यामा नाम जोडिएकामध्ये केही सत्तारूढ नेकपा एमालेका कार्यकर्ता र नेताहरूका नाताभित्रका परेकाले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको आरोप लगाएका छन् । मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले हत्यामा जोडिएका ६ जनाको नाममा किटानी जाहेरी दिन जाँदा प्रहरीले नमानेपछि विवाद चर्किएको हो । प्रहरीले शंकास्पद व्यक्तिहरूको नाम हटाएर मात्रै जाहेरी दर्ता गर्न सकिने प्रहरीले बताएपछि परिवारसहित स्थानीय थप आक्रोशित बनेका छन् । सीसी टीभी फुटेजबाट पहिचान भएको भनिएका राजु भनिने शेरबहादुर लिम्बू र गणेश दर्जी छन्  । यसैगरी, कोसी प्रदेश सांसद तथा एमाले नेता होमबहादुर थापाका सहोदर भाइ र एमाले केन्द्रीय सदस्य गोविन्द थापाका दाजु बुद्धिमान थापालगायतको नामसमेत जाहेरीमा उल्लेख छ । तर, उनीहरूलाई प्रहरीले पक्राउ नगरेको निरौलाकी पत्नी कृष्णमायाको दाबी छ ।

साम्पाङले कार्यवाहक मेयर दिएका वडाध्यक्ष जान छोडे उपमहानगर

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले कार्यवाहकको जिम्मेवारी दिएका वडाध्यक्ष लोकेन्द्र फागो उपमहानगर कार्यालय जान छोडेका छन् । उनी मंगलवारबाट कार्यालय जान छोडेका हुन् । कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले आदेश दिए पनि वडाध्यक्ष फागो अटेर गरेरै कार्यालय गइरहेका थिए । उच्च अदालतले पत्र नै बुझाएपछि भने उनी उपमहानगर कार्यालय जान छाडेका हुन् । धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईका अनुसार अदालतले पठाएको पत्र बुझेपछि उनी कार्यालय जान छाडेका छन् । आइतवार उच्च अदालतले वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने मेयर साम्पाङको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । उच्च अदालतले छलफलका लागि मङ्गलवार दुवै पक्षलाई बोलाएको थियो । छलफलमा मेयर राईको तर्फबाट कोही पनि सहभागी भएका थिएनन् । अब यसको पेशी कात्तिक १३ गतेलाई तोकिएको छ । सो अवधिसम्मका लागि भने अन्तरिम आदेशलाई नै अदालतले निरन्तरता दिएको छ । यता वडाध्यक्ष फागोले भने अदालतको अन्तरिम आदेश आएपछि जनतालाई हँसाउनु हुँदैन भनेर उपमहानगर नगएको बताएका छन् । दुई साताका लागि बेलायत गएका मेयर साम्पाङले कार्यवाहकको जिम्मेवारी उपमेयर अइन्द्रविक्रम बेघालाई नदिएर वडाध्यक्षलाई दिएका थिए । उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएको भन्दै उपप्रमुख बेघाले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका थिए । कार्यवहाक दिएका फागो हर्कका नातामा मामा ससुरा समेत हुन् । उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएको भनेर मेयर साम्पाङको आलोचना भएको थियो । धरानका राजनीतिक दलहरूले पनि मेयरको विरोध गरेका थिए । अदालतको आदेशपछि पनि मेयर साम्पाङले भने अदालतले आफूलाई नचुनेको टिप्पणी गरेका थिए ।

लोकप्रिय