सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ ।

भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ ।

त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् ।

कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए ।

“काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।”

कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए ।

उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् ।

विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ ।

यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए ।

नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए ।

“विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।”

उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए ।

भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए ।

महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

सुशासन र कार्यसम्पादनमा कटारीको छलाङ : लिजामा उदयपुरकै उत्कृष्ट बनेपछि जिल्ला समन्वयद्वारा सम्मान

युवराज कार्की (सन्ताेष) उदयपुर । विकास निर्माण, सेवा प्रवाह र सुशासनलाई प्रभावकारी बनाउने प्रयासमा सक्रिय देखिएको कटारी नगरपालिका अहिले उदयपुर जिल्लाकै उत्कृष्ट स्थानीय तहका रूपमा स्थापित भएको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लाभरका आठ स्थानीय तहमध्ये सर्वाधिक अंक हासिल गरेपछि कटारी नगरपालिका जिल्ला समन्वय समितिबाट सम्मानित भएको हो। शुक्रबार सम्पन्न जिल्ला समन्वय समितिको आठौँ जिल्ला सभामा आयोजित विशेष कार्यक्रममा कटारी नगरपालिकालाई सम्मान गरिएको थियो। जिल्ला समन्वय प्रमुख गौरबहादुर विश्वकर्मा र जिल्ला समन्वय अधिकारी सान्नानी अधिकारी ले नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ लाई सम्मानपत्र हस्तान्तरण गर्दै नगरपालिकाको कार्यसम्पादनको प्रशंसा गरेका हुन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि गरेको लिजा मूल्याङ्कनमा कटारी नगरपालिकाले ८४.५० अंक प्राप्त गरेको थियो। जिल्लाका चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तहमध्ये कटारीले सबैभन्दा बढी अंक ल्याएर उत्कृष्टता हासिल गरेको हो। लिजा मूल्याङ्कन स्थानीय तहको समग्र संस्थागत क्षमता, वित्तीय अनुशासन, योजना कार्यान्वयन, सेवा प्रवाह, पारदर्शिता, प्रशासनिक दक्षता, सूचना प्रविधिको प्रयोग, नागरिक सहभागिता र सुशासनका सूचकका आधारमा गरिन्छ। यस्ता सूचकमा कटारीले उल्लेखनीय सुधार र प्रभावकारी कार्यसम्पादन देखाएकाले उत्कृष्ट बन्न सफल भएको जिल्ला समन्वय समितिले जनाएको छ। सम्मान कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख विश्वकर्माले कटारी नगरपालिकाले पछिल्ला वर्षहरूमा प्रशासनिक सुधार र विकास व्यवस्थापनमा देखाएको सक्रियता अन्य स्थानीय तहका लागि पनि उदाहरणीय भएको बताए। उनले स्थानीय सरकार नागरिकप्रति उत्तरदायी र परिणाममुखी बन्न सके विकासको गति तीव्र हुने उल्लेख गर्दै कटारीले त्यसको सकारात्मक संकेत दिएको धारणा राखे। नगरप्रमुख श्रेष्ठले प्राप्त सम्मानलाई केवल नगरपालिकाको उपलब्धि मात्र नभई सम्पूर्ण नगरवासीको साझा सफलता भएको बताए। जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीयवासीको सहयोग र सहभागिताका कारण नै नगरपालिका उत्कृष्ट बन्न सफल भएको उनको भनाइ थियो। “हामीले सेवा प्रवाहलाई छिटो, पारदर्शी र जनमैत्री बनाउने प्रयास गरिरहेका छौँ,” नगरप्रमुख श्रेष्ठले भने, “यो सम्मानले अझ जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको छ। आगामी दिनमा सुशासन, विकास र नागरिक सन्तुष्टिलाई केन्द्रमा राखेर कामलाई थप प्रभावकारी बनाइनेछ।” उनले नगरपालिकाले डिजिटल प्रविधिको प्रयोग विस्तार, योजनाको प्रभावकारी अनुगमन, आर्थिक अनुशासन कायम, सार्वजनिक सुनुवाइ तथा नागरिक सहभागिता जस्ता विषयलाई प्राथमिकतामा राख्दै काम गरिरहेको जानकारी दिए। स्थानीय तहप्रति नागरिकको विश्वास बढाउने गरी सेवा प्रणाली सुधार गर्न नगरपालिका निरन्तर सक्रिय रहेको पनि उनले बताए। कटारी नगरपालिकाले पछिल्ला वर्षहरूमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषि क्षेत्रमा विभिन्न विकास कार्यक्रम अघि बढाएको छ। नगरभित्रका वडाहरूमा पूर्वाधार विस्तारसँगै प्रशासनिक सेवामा सहज पहुँच पुर्‍याउने प्रयास पनि भइरहेको जनाइएको छ। जिल्ला समन्वय समितिको सभामा सहभागी अन्य स्थानीय तहका जनप्रतिनिधिहरूले पनि कटारीको उपलब्धिलाई सकारात्मक रूपमा लिँदै प्रतिस्पर्धात्मक र उत्तरदायी स्थानीय शासन प्रणाली विकासका लागि लिजा मूल्याङ्कन प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरेका थिए। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न तथा आर्थिक एवं प्रशासनिक कार्यप्रणालीलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन हरेक वर्ष लिजा मूल्याङ्कन गर्दै आएको छ। उक्त मूल्याङ्कनले स्थानीय तहबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथै सेवा प्रवाहमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।

कर्णालीका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी रिक्त

सुर्खेत । भौगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशका ७९ स्थानीय तहमा एक चौथाइ कर्मचारी दरबन्दी रिक्त रहेको छ । सङ्घीय सरकारको स्वीकृत दरबन्दीअनुसार यहाँका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी कर्मचारीविहीन रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ । कूल पाँच हजार ६६० स्वीकृत दरबन्दी रहेकामा एक हजार ३६३ दरबन्दी रिक्त रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए । उनका अनुसार कूल दरबन्दीमध्ये चार हजार २९७ कर्मचारी कार्यरत छन् । सम्बन्धित पालिकाको पठाएको विवरणअनुसार शिक्षा सेवातर्फ पाँचौँदेखि नवौँ/दशौँ तहका १८३ स्वीकृत दरबन्दीमा १३२ पदपूर्ति र ५१ दरबन्दी रिक्त छन् । इञ्जिनियरिङ सेवातर्फ एक हजार ५५ स्वीकृत दरबन्दीमा ६३४ पदपूर्ति र ४२१ रिक्त रहेका छन् भने यो सेवामा नवौँ÷दशौँ तहमा शून्य पदपूर्ति रहेका सचिव विकले बताए । उनका अनुसार प्रशासन सेवातर्फ एक हजार ५४१ स्वीकृत दरबन्दीमा एक हजार ६४ पदपूर्ति हुँदा ४७७ रिक्त छ । स्वास्थ्य सेवातर्फ एक हजार ८८४ स्वीकृत दरबन्दीमा एक हजार ७३२ पदपूर्ति र १५२ दरबन्दी रिक्त रहेका जनाइएको छ । कृषि सेवातर्फ ८१४ स्वीकृत दरबन्दीमा ५७७ पदपूर्ति र २३७ रिक्त छन् । विविध सेवातर्फ १८३ स्वीकृत दरबन्दीमा १५८ पदपूर्ति र २५ रिक्त रहेका कार्यालयका सचिव विकले जानकारी दिए ।  प्रदेशका ७९ स्थानीय तहमध्ये डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा ५३ दरबन्दीमाध्ये १५ जना मात्र कार्यरत छन् । वीरेन्द्रनगर नगरपालिका सुर्खेतको १०५ स्वीकृत दरबन्दीमा ११६ जना कार्यरत छन् । यो पालिकामा ११ जना कर्मचारी बढी रहेका कार्यालयका सचिव विकले बताए । डोल्पो बुद्धमा दरबन्दीअनुसार कर्मचारी नदेखिनुमा करारबाट काम चलेको हुनसक्ने भन्दै सचिव विकले मुख्यमन्त्री कार्यालयले अब सबै स्थानीय तहको रिक्त दरबन्दीको विवरण मागेर प्रदेश लोकसेवा आयोगमा पठाउने र रिक्त पद पूर्ति गर्ने जनाए ।

पर्यटकको रोजाइ बन्दै ‘प्रकृति पार्क’

झापा । मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा निर्माण भएको ‘प्रकृति पार्क’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य बन्न थालेको छ । चार दशकदेखि जङ्गली हात्तीको आक्रमण खेपिरहेको बाहुनडाँगी क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले वडाध्यक्ष एवं संरक्षण अभियन्ता अर्जुन कार्कीको पहलमा तीन वर्ष अघि रु ४२ लाखको लगानीमा उक्त पार्क स्थापना भएको हो । मेची नदीको किनारमा रहेको एक बिघा क्षेत्रमा फैलिएको पार्कमा हात्ती र चराहरूको प्रतिमा राखिएका छन् भने फूलको बगैँचा, बाइस जलधारा, चौतारो र रुखहरूले हरियाली बनाइएको छ । मुख्य पार्कबाट दक्षिणतिर रहेको करिब चार बिघा खोला बगरमा हरियालीका लागि जङ्गल हुर्काइएको छ । हात्तीको सुँढबाट बगेको पानीको २२ वटा झरना पार्कको मुख्य आकर्षण हो । भारतबाट सीमा छिचोलेर जङ्गली हात्तीको बथान नेपाल प्रवेश गर्ने गौँडामा रहेको यो पार्क हात्ती अवलोकन गर्ने स्थानका रूपमा परिचित रहेको स्थानीय बताउँछन् । पार्क रहेको स्थानबाट दुई किलोमिटर पश्चिममा मेचीपारि भारतको लोहागढ जङ्गल पर्दछ । सोही जङ्गलबाट प्रत्येक साँझ ६० देखि १०० वटासम्म जङ्गली हात्तीको बथान मेचीको लामो बगर छिचोल्दै यही पार्क छेउ भएर नेपाल प्रवेश गर्छन् । पार्कमा रोपिएका फूल फुल्ने एक सय प्रजातिका बिरुवाले सौन्दर्य थपेको छ भने हात्तीले खान रुचाउने ‘इलिफेन्ट फ्रुट’ नामक बिरुवा पनि प्रकृति पार्कमा हुर्काइएको छ । भारतबाट आहारको खोजीमा बगरैबगर बाहुनगाँडीतिर आउने गरेका हात्तीका बथान खोला किनारमा अलमलिउन् भनेर पार्कमा ‘इलिफेन्ट फ्रुट’ सहित हात्तीमैत्री बिरुवा रोपिएको वडाध्यक्ष कार्कीले बताए । उनका अनुसार सो स्थानमा अम्बकसहित फलफूलका बिरुवासमेत हुर्काइएका छन् । चराचुरुङ्गीको वासस्थान र संरक्षणका लागि फलफूलका बिरुवा पार्कमा लगाइएका वडाध्यक्ष कार्कीले उल्लेख गरे । बाहुनडाँगी क्षेत्रमा बगर बट्टाई, कोइली, स्वर्गचरी, राजधनेषलगायत दुर्लभ चराको वासस्थान भएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाज मेचीनगरका अध्यक्ष देवेन्द्र खरेलले जानकारी दिए । उनअनुसार प्रकृति पार्कमा पुगेपछि पर्यटकले रमाइलो मात्र होइन, मानव(हात्ती द्वन्द्वका विषयमा समेत स्थलगत अध्ययनको अवसर पाउनेछन् । भारतको आसामबाट पश्चिम बङ्गालको सुकुना जङ्गल हुँदै कोशी नदी किनारको कोशी टप्पु वन्यजन्तु आरक्षसम्म विचरण गर्ने एसियाली हात्ती नेपालको बाहुनडाँगीमा प्रवेश गर्ने मुख्य गौँडा पार्कमा आउने भएकाले पर्यटकले अवलोकन गर्न पाउने वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले बताए । हरियाली र शितल हावा बहने स्थान भएकाले पार्कमा गर्मीयाममा घुम्न आउने पर्यटकको सङ्ख्या बढी हुने उनको भनाइ छ । मेची नदीको फराकिलो बगर र पहाडको फेदीको दृश्यावलोकनसमेत पर्यटकका लागि आकर्षण बन्ने गरेको वडाध्यक्ष कार्कीले बताए । “यहाँको पार्क घुम्न र हात्तीका बारेमा विस्तृतमा बुझ्न नेपालका विभिन्न जिल्लाबाट मात्र होइन, भारतबाट समेत पर्यटकहरू आउन थालेका छन्”, उनले भने, “बाहुनडाँगी भन्ने बित्तिकै हात्तीको समस्या भएको ठाउँ हो भन्ने भाष्य बनिसकेको छ । हामी यस क्षेत्रलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भनेर लागिरहेका छौँ । अहिले प्रकृति पार्क पर्यटनका लागि नयाँ गन्तव्य र आकर्षण केन्दै बन्दै गएको छ ।” पार्कभित्र रहेका साना जलाशय, वनस्पति र शान्त वातावरणले गर्दा वनभोज मनाउन जाने र प्रकृतिमा रमाउन चाहनेहरूका लागि यो पार्क उपयुक्त गन्तव्य बनेको स्थानीय समिर राईले बताए । गत वर्षको मेचीको बाढीले पार्कभित्र निर्माण गरिएको जलाशय पुरेको छ भने पार्कभित्रका विभिन्न संरचना बगाएर रु १३ लाखभन्दा बढी क्षति पुर्‍याएको उनले जानकारी दिए । “सुरुसुरुमा मेचीको बगरमा पार्क बनाउँदा के चल्छ होला जस्तो लाग्थ्यो”, राईले भने, “अहिले हामीले पनि पाहुना र साथीभाइलाई यही पार्कमा घुमाउन ल्याउने गरेका छौँ । केही दिनअघि भारतको कोलकाताबाट बङ्गालीभाषी पर्यटकको समूह पार्कमा घुम्न आएको थियो ।” स्वच्छ पिउने पानी, नुहाउने झरना र बस्ने टहराको व्यवस्था भएकाले यहाँ बालबालिका लिएर अभिभावक पनि आउने गरेका छन् भने वनभोज खान र फोटो खिच्नका लागि युवायुवती आउने गरेका स्थानीय बताउँछन् । मुख्य बस्तीभन्दा टाढा मेचीको बगरमा रहेको यो पार्कमा साँझ र बिहानीपख घुमफिर गर्नका लागि भने सुरक्षा चुनौती रहेको स्थानीयको भनाइ छ । भारतबाट साँझ पर्ने बित्तिकै जङ्गली हात्ती नेपालतिर यही गौँडाबाट प्रवेश गर्ने र बिहानीपख भारततिर फर्किने भएकाले उक्त समयमा पार्कमा बस्नु असुरक्षित हुने स्थानीयले जनाएका छन् । मानव–हात्ती द्वन्द्व न्यूनीकरण र हात्तीको आवतजावतलाई व्यवस्थित गरेर पर्यटकलाई सुरक्षित रूपमा प्रकृति अवलोकन गर्ने वातावरण बनाउन प्रयास गरिनुपर्ने यहाँ आउने पर्यटकले जोड दिएका छन् । “मेचीको बगरमा ६० देखि १०० वटाको सङ्ख्यामा आउने हात्तीको बथान हेर्ने र फोटो खिच्ने इच्छा थियो”, बिर्तामोडबाट प्रकृति पार्कमा घुम्न आउनुभएका वैभव न्यौपानेले भने, “बजार र बस्तीबाट टाढा भएकाले पार्कमा हात्ती आउला भन्ने डरले बेलुकासम्म बस्ने आँटै आएन ।” पार्कमा पर्यटकको आगमन बढ्न थालेसँगै स्थानीय बाहुनडाँगी बजारमा घरबास र साना होटलमा ग्राहक थपिन थालेका छन् । बाढीले भत्काएको पूर्वाधारलाई पुनः निर्माण गर्ने र भविष्यमा बाढीले क्षति नगरोस् भनेर पार्कलाई जोगाउन राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत पूर्वी तटमा बलियो बाँध बाँध्ने कार्य सुरु गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । भारतसँगको खुला सिमाना र जङ्गली हात्तीको नियमित प्रवेशका कारण सुरक्षा चुनौती रहे पनि सौर्य तारबारको प्रभावकारी प्रयोग गर्दै सरकारसँगको सहकार्यमा बाहुनडाँगीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वडा कार्यालयले पहल गरिरहेको उनले बताए ।

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ । पन्ध्र दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिएको छ । नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन । हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन प्राविधिक, सिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन् । आरक्षका रेन्जर सागर सुवेदीका अनुसार ५६ क्यामेरा तीन समूहले छ वटा सिकार ब्लकमा राखेर फर्केको बताए । क्यामेराले ४५ दिनसम्म आफैँ फोटो सङ्कलन गर्नेछ । क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने १५ दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्नेछ । ओडारमा बास बसेर, कष्टकर हिउँ छिचोलेर प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीको भनाइ छ । “हिउँचितुवाको गणनाका लागि ५६ स्थानमा क्यामेरा राखिएको छ, क्यामेराले ४५ दिनसम्म कैद गरेका फोटोका आधारमा चितुवाको सङ्ख्या पत्ता लगाइन्छ, अहिले १५–१५ दिनमा क्यामेराको मेमोरी र ब्याट्री फेर्न प्राविधिक टोली सोही स्थानमा पुग्छ”, सुवेदीले भने, “सम्भावित चितुवाको वासस्थान, ओडार, जङ्गललगायत उच्च हिमाली भेगको बनोट हेरेर क्यामेरा जडान गरिएको छ ।” हिउँचितुवा गणनामा १५ जना कर्मचारी तथा प्राविधिक खटिएका थिए । ढोरपाटन सिकार आरक्षको तीन हजारदेखि पाँच हजार ५०० मिटरभन्दा माथिसम्म हिउँचितुवाको वासस्थान रहेको पाइएको छ । एक हजार ३२५ वर्ग किमी क्षेत्रमा फैलिएको आरक्षको मुख्यालय बागलुङमा रहे पनि म्याग्दी र रुकुमसम्म फैलिएको छ । वैशाखको ११ गतेदेखि राख्न थालिएको क्यामेरा ४५ दिनपछि सङ्कलन गरेर कार्यालयमा ल्याएर गणना गरिनेछ । आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँचितुवा गणना गर्न क्यामेरा जडान गरिएको हो । रेन्जर सुवेदीका अनुसार हिउँचितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ । यस्तै हिउँचितुवाको जङ्गलमा भेटिएको दिसा सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरिन्छ भने पदचिह्न तथा सङ्केत सर्वेक्षण पाइलाका आधारमा समेत चितुवाको सङ्ख्या गणना गर्न सकिन्छ ।

धरानमा उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

सुनसरी । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । केही वर्ष अघिसम्म उजाड र सुनसान जङ्गलका रूपमा रहेको उक्त क्षेत्र श्रमदानमार्फत विकास गरिएपछि हाल लोकप्रिय पर्यटन गन्तव्यका रूपमा परिचित बनेको हो । विशेष गरी पार्कभित्र बनाइएको आकर्षक पानीको फोहरा ९वाटर फाउन्टेन० ले धेरैलाई आकर्षित गरिरहेको छ । सिराहाको धनगढीमाई नगरपालिकाबाट यहाँ घुम्न आएका हरिनारायण चौधरीले धरान धेरै पटक आए पनि उक्त पार्क पहिलोपटक घुम्दा निकै रमाइलो लागेको बताए । “सामाजिक सञ्जालमा देखेको र सुनेको थिएँ, यस पटक यही आएर हेर्दा निकै रमाइलो लाग्यो । निकै सुन्दर प्राकृतिक पार्क रहेछ भन्ने अनुभूति भयो”, उनले भने, “धरानका अन्य स्थान पनि घुम्ने योजना थियो, तर यहाँको वातावरणले अन्त जानै मन लागेन ।” चौधरीले प्राकृतिक संरचनाको संरक्षण र सौन्दर्यकरण गर्न सके यस्ता बगर क्षेत्रसमेत उत्कृष्ट पर्यटन गन्तव्य बन्न सक्ने सन्देश यस पार्कले दिएको बताए । “श्रमदानबाट निर्माण गरिएको यस्तो पार्कले नयाँ अनुभूति दिलाएको छ । चारैतिर फूल, चौतारा र हरियालीले सजिएको देख्दा निकै राम्रो लागेको छ । यसबाट देशका अरू क्षेत्रले पनि सिक्नुपर्छ”, उनले भने । पहिले ‘ओशो पार्क’, बिपी पार्कका रूपमा चिनिने उक्त क्षेत्र हाल ‘श्रम संस्कृति पार्क’ नामले परिचित छ । श्रमदान अभियानमार्फत विकास गरिएको यस पार्क आसपासमा दर्जनौँ सानाठुला पार्क निर्माण भएका छन् । एसडिबी पार्क, रक गार्डेन, चिल्ड्रेन पार्क, ज्येष्ठ नागरिक पार्कलगायत संरचना यहाँ रहेका छन् । साथै, गोर्खाली भूपू लाहुरेहरूले निर्माण गरेको ‘गोर्खा चौतारी’ समेत पर्यटकको अर्को आकर्षण स्थल बनेको छ । पार्क क्षेत्रमा हरियाली वातावरणसँगै विभिन्न प्रजातिका फलफूल तथा बोटबिरुवाले ढाकिएका बगैँचाले आगन्तुकलाई आकर्षित गर्ने गरेको छ । पार्कभित्र स्थानीय जनजीवन झल्काउने प्रतिमा राखिएका छन्, जसले पर्यटकको ध्यान तान्ने गरेको छ । सर्दु, खर्दु र निसाने खोलाको बगर क्षेत्रमा निर्माण गरिएको पार्कमा फलफूलका बिरुवा, विश्रामस्थलका रूपमा चौतारा तथा आकर्षक बगैँचा निर्माण गरिएका छन् । साथै, धरानको पहिचान झल्काउने काठ काट्ने आराको नमुना तथा किरात संस्कृतिसँग सम्बन्धित चिन्डोको आकृतिमा धारा निर्माण गरिएको छ । विभिन्न दाताले आफ्ना आफन्तको सम्झनामा बस्न मिल्ने संरचनाहरू निर्माण गरिदिएका छन् । यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सजिलो भएको छ । झापाबाट साथीहरूसहित घुम्न आएकी जयन्ती जिमीले पार्कको तीव्र विकास भएको देख्दा खुसी महसुस भएको बताइन् । “एकै स्थानमा श्रमदानमार्फत विभिन्न संरचना निर्माण गरिएकाले पार्क निकै आकर्षक बनेको छ”, उनले भनिन्, “ पाँच/छ वर्षअघि पहिलोपटक आउँदा चारैतिर जङ्गल, झाडी र खोला मात्र देखेको थिएँ, यस पटक त परिवर्तन गरेर चारैतिर फूल, चौतारा र हरियाली रहेछ । निकै खुसी र रमाइलो लाग्यो ।” पार्क निर्माणसँगै आसपास क्षेत्रमा होटल तथा खाजा पसलको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । स्थानीय होटल व्यवसायी सुरज गुरुङका अनुसार पार्क बनेपछि व्यापारमा उल्लेख्य वृद्धि भएको छ । “पहिले बगर छेउमा चारपाँचवटा मात्र खाजा घर थिए, अहिले दुई दर्जनभन्दा बढी सञ्चालनमा आएका छन्”, उनले भने । दैनिक सयौँ पर्यटक धरान, पाँचथर, तेह्रथुम, धनकुटा, इटहरी, मोरङ, झापालगायत जिल्लाबाट तथा विदेशबाट समेत आउने गरेका छन् । “एकै स्थानमा धेरै आकर्षक पार्क भएकाले बिहान आएका पर्यटक दिनभर यहीँ बिताउने गरेका छन्”, गुरुङले भने । पार्क संरक्षण समितिका अध्यक्ष पुनेन्द्रप्रसाद लिम्बूका अनुसार उक्त स्थान पहिले पैदलमार्गका रूपमा मात्र प्रयोग हुँदै आएको थियो । हाल दैनिक पाँच सयदेखि एक हजारसम्म पर्यटक आउने गरेका छन् भने बिदाका दिनमा पाँच हजारसम्म पर्यटक आउने गरेको उनले बताए । धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्कराज राई (साम्पाङ)को नेतृत्वमा सुरु भएको श्रमदान अभियानबाट उक्त क्षेत्रको विकास गरिएको हो । स्वदेश तथा विदेशमा रहेका सहयोगी दाताहरूको सहयोग र श्रमदानमार्फत पार्क निर्माण गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए । उनका अनुसार पार्कमा हाल २५ देखि २८ जनाले रोजगारी पाएका छन् । हाल पार्क क्षेत्रमा तीनवटा टिकट काउन्टर सञ्चालनमा रहेका छन् भने रोपिएका बोटबिरुवाको संरक्षणका लागि कर्मचारी खटाइएको छ । खोलाको किनार क्षेत्रमा पार्क रहेकाले बर्खायाममा आउने बाढीले केही संरचनामा क्षति पुर्‍याउने समस्या रहेकाले खोलाको व्यवस्थापन गर्न सके पार्क अझ व्यवस्थित बन्ने उनको भनाइ छ । पार्क क्षेत्रलाई अझ रमणीय र आकर्षक बनाउन थप भौतिक पूर्वाधारका कामहरू भइरहेका छन् । यहाँ पार्क बन्नुभन्दा अगाडि २०७५/७६ सालमा पूर्वसांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट रु २० लाखमा यस क्षेत्रमा रहेका ओशो पार्क र बिपी पार्क निर्माण गरिएका थिए । त्यसैगरी, पूर्वसांसद कृष्णकुमार राईको कोषबाट रु १० लाख सहयोगमा बिपी पार्क क्षेत्रमा घिर्लिङ अवशेषसम्म जाने सिँढी निर्माण गरिएको थियो । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित ती संरचना निर्माण गरिएकाले स्थानीय पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुर्‍याएको पूर्वसांसद जयकुमार राईले बताए । धरान उपमहानगरपालिका–१३ स्थित फुस्रे चोकबाट श्रम संस्कृति पार्क पुग्न कोशी प्रदेश सरकारको रु ४० लाख सहयोगमा करिब एक किलोमिटर सडक कालोपत्रे भएपछि पर्यटकलाई आवतजावतमा सहज छ ।

मुस्ताङमा बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

मुस्ताङ । हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनुकूल याम चलिरहेको छ । हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ । हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्ने क्रम भने रोकिएको छैन । बुधबार यहाँको वारागुङ मुक्तिक्षेत्रमा आंशिक हिउँ परेको छ, जसकारण यहाँ चिसो बढेको छ । मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी सरोज घर्तीले बुधबार मुक्तिनाथ क्षेत्रमा करिब एक घण्टाभन्दा बढी समयसम्म हिउँ परेको बताए । हिउँ परेसँगै आसपासका नाङ्गा डाँडाकाँडा फेरि हिउँले सेताम्मे भएको उनको भनाइ छ । गर्मीयाम सुरु भइसक्दा पनि मुक्तिनाथमा बेमौसमी हिमपातले दर्शनार्थी भक्तजनलाई मुक्तिनाथ यात्रामा असहज भएको स्वास्थ्यकर्मी घर्तीले उल्लेख गरे । मुक्तिनाथ क्षेत्रमा योसँगै यस वर्ष आठौँ पटक हिमपात भएको हो । यसलाई स्थानीय जानकारकर्ताले जलवायु परिवर्तनको प्रभावका रूपमा विश्लेषण गरेका छन् । वसन्त ऋतुको समयमा पालुवा पलाएर मौसम पनि गुल्जार हुने समयमा मौसम प्रतिकूल बन्नु र हिउँ पर्नु यहाँका लागि राम्रो नभएको वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङले बताए । वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत खिङ्गा, झारकोट, लुप्रा र पुराङ रानीपौवालगायत गाउँमा हिउँदयामको बिदाइ र बर्खायामलाई स्वागत गर्दै ‘धछ्याङ’ पर्व मनाइसकिएको छ । बेमौसमी हिमपातले अन्नबाली र विशेष गरी स्याउका फूलहरू नष्ट गर्ने चिन्ता बढेको वडाध्यक्ष गुरुङले उल्लेख गरे । यस वर्षको हिउँदयाममा यहाँ पटक पटक हिउँ परे पनि वैशाख महिनामा हिउँ पर्नु अनौठो भएको वारागुङ—१ का खिङ्गा गाउँका मुखिया ल्हाक्पाटसी गुरुङले उल्लेख गरे । हिउँदयाममा परेको हिउँ कृषकका लागि फाइदाजनक भए पनि बेमौसमी हिमपातले कृषि र पर्यटन क्षेत्रलाई असर पुर्‍याउने उनले बताए ।

सारङ्गी रेट्दै गीत गाउँदै परिवार पाल्दै

सुनसरी । सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो । उनकै लयमा सुजन गन्धर्वले सारङ्गीको धुनमा गीत गाउँदै हिँडेको आठ वर्ष भयो । उनीहरू हाल दैनिक जसो धरानस्थित श्रम संस्कृति पार्कमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सारङ्गी र मादलको साथमा गीत गाउँदै आएका छन् । एक जनाले मादल बजाउने र अर्काले सारङ्गी रेट्दै गीत गाउने उनीहरूको दैनिकी बनेको छ । सारङ्गीको मधुर धुनमार्फत उहाँहरूले पार्क घुम्न आउने सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्नुहुन्छ । अहिले उनीहरूको जीविकोपार्जनको माध्यम यही बनेको छ । सर्वसाधारण साथै पर्यटकले स्वेच्छाले रकम दिन्छन् । सुवास गन्धर्वले बाउबाजेदेखि चलिआएको पेसालाई निरन्तरता दिएको बताउँदै यही पेसाबाट परिवार पाल्दै आएको बताए । “बाउबाजेले सारङ्गी रेटेरै हामीलाई हुर्काउनुभयो, मैले त्यही परम्परा समातेको हुँ”, उनले भने । “पहिला पहिला गाउँमा यातायातको सुविधा थिएन । कैयौँ दिन हिँडेर टाढा–टाढा पुगेर गीत गाउने चलन थियो । अहिले सवारीसाधनले सजिलो भएको छ”, उनले भने । नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न सहर तथा भारतको सिक्किम र दार्जिलिङसम्म पुगेर गीत गाएको उनको अनुभव छ । गाडी तथा सार्वजनिक स्थानमा गीत गाएर सर्वसाधारणबाट प्राप्त हुने स्वैच्छिक सहयोग नै आम्दानीको आधार भएको उनको भनाइ छ । सुवास गन्धर्वका अनुसार उनी ‘भ्वाइस अफ नेपाल’ मा समेत सहभागिता जनाउँदै ब्याटल चरणसम्म पुग्नुभएको थियो भने ‘इन्द्रेणी’ कार्यक्रममा गीत गाएका छन् । उनले भने, “धेरै कार्यक्रमहरूमा सहभागी भएर गीत गाउँदै पनि हिँडियो तर त्यहाँबाट अपेक्षित आम्दानी नभएपछि पुन सारङ्गी बजाएरै जीविकोपार्जन गर्न थालेको हुँ ।” उनले काठमाडौँदेखि पोखरा जस्ता सहरका धेरै गल्लीमा सारङ्गी बजाइसकेका छन् । सुजन गन्धर्वले लामो समय भारतको दार्जिलिङमा रोजगारी गरेर गाउँ फर्किएपछि आठ वर्षदेखि सारङ्गी बजाउँदै गीत गाएर आम्दानी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनले परम्परागत पेसा जोगाउने उद्देश्यले यसलाई निरन्तरता दिएको बताए । उनले भने, “सारङ्गी बजाएर गीत गाउनु गन्धर्व समुदायको पुर्ख्यौली पेसा हो, हाम्रो संस्कृति र पहिचान पनि यही हो”, उनले भने, “पछिल्लो समय नयाँ पुस्ता अन्य पेसातर्फ आकर्षित हुँदै जाँदा यस्तो मौलिक कला सङ्कटमा पर्दै गएको छ ।” आधुनिक प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेका बेला गन्धर्व समुदायको परम्परागत पेसा जोगाउन चुनौती थपिएको उनको भनाइ छ । स्वास्थ्यले साथ दिएसम्म आफूहरू यो पेसालाई निरन्तरता दिने उनले सुनाए । नेपालमा लोपोन्मुख जातिका रूपमा रहेको गन्धर्व जातिको मुख्य बाहुल्यता भोजपुर, कास्की ,तनहुँ, लमजुङ, गोरखा, चितवन, बागलुङ, पाल्पा, दैलेख, सुर्खेतलगायतका जिल्लामा छ । नेपाली लोकसङ्गीत र रङ्गमञ्चको क्षेत्रलाई परापूर्वकालदेखि संरक्षण, सम्वर्द्धनसँगै विकास गर्दै आएका लोक जीवनका संवाहक गन्धर्व जाति र तिनको वाद्यवादन साराङ्गी मादल पनि एक हो । आज आएर गन्धर्वले लोकगीतलाई स्थानीय गीत स्थायित्व गराई पेसाको रूपमा अपनाउँदै आएका छन् ।

डोल्पाका विभिन्न पाटनमा जेठ १० गते यार्सागुम्बा सङ्कलन गर्न पाइने

सुर्खेत । आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा सङ्कलनका लागि खुला गरिने भएको छ । मंगलबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले १० गते सबै पाटन यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने निर्णय भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए । यार्सागुम्बा सङ्कलनका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुला हुने भएको हो । यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको छ । निकुञ्जभित्रका मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई ५०० (क) वर्ग, डोल्पा जिल्लाभित्रका नागरिकलाई दुई हजार (ख) वर्ग र जिल्ला बाहिरकालाई तीन हजार (ग) वर्ग शुल्क निकुञ्जले निर्धारण गरेको छ । मध्यवर्ती क्षेत्र र जिल्लाभित्रका बासिन्दालाई प्रवेश शुल्कका लागि अनिवार्य परिचयपत्र देखाउनुपर्नेछ । यदि नदेखाएमा (ग) वर्ग कै प्रवेश शुल्क काटिनेछ । यार्सागुम्बा सङ्कलनका लागि जेठ ५, ६ र ७ गते सम्बन्धित पाटनका क्षेत्रमा प्रवेशका लागि प्रवेश शुल्क बुझाई सक्नुपर्नेछ । यार्सा पाटनमा १६ वर्षभन्दा तलका बालबालिकालाई प्रवेशमा निषेध गरिने निकुञ्जले जानकारी दिएको छ । यार्सा सङ्कलनका लागि डोल्पा, जाजरकोट, रुकुम पश्चिमलगायत क्षेत्रहरूबाट अधिकांश मानिस घर नै खाली गरेर हिमाली जिल्ला डोल्पाका उच्च पाटनहरूमा जाने गरेका छन् ।

‘फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना’ कार्यान्वयन हुने

गण्डकी । फेवातालको जलाधार क्षेत्र संरक्षणका लागि चार वर्षअघि बनाइएको ‘फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना’ कार्यान्वयन हुने भएको छ । आर्थिक वर्ष २०७८/८९ मा बनेको उक्त योजना कार्यान्वयनका लागि वन तथा भू–संरक्षण विभाग, बृहत् जलाधार व्यवस्थापन केन्द्र, गण्डकी र कास्कीस्थित जिल्ला भू–तथा जलाधार संरक्षण समितिले पहल थालेका हुन् । सरकारले गत चैत १३ गते जारी गरेको एक सय बुँदे शासकीय सुधार कार्यक्रममा फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाउने, पहिरो व्यवस्थापन, मुहान संरक्षण र जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम सञ्चालन गरी जलाधार क्षेत्रको संरक्षण गर्ने उल्लेख छ । उक्त योजना कार्यान्वयनको तयारी सुरु भएको जिल्ला भू–तथा जलाधार संरक्षण समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले बताए । “फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजनालाई अद्यावधिक र परिमार्जनसहित कार्यान्वयन गर्ने गरी समितिले वन तथा भू–संरक्षण विभागलाई सुझाव दिएको छ”, उनले भने, “विभागबाट योजना स्वीकृत भएर आएपछि कार्यान्वयनमा जान्छ ।” सन् २०२२ देखि २०३१ सम्मको कार्यान्वयन अवधि तोकेर उक्त योजना निर्माण गरिएको थियो । फेवातालको जलाधार क्षेत्र संरक्षणलाई उच्च महत्त्व दिएर शासकीय सुधारका एक सय बुँदामा समेटेकामा समितिले सरकारप्रति आभार व्यक्त गरेको संयोजक पौडेलले बताए । मङ्गलबार बसेको समितिको १४औँ बैठकले उक्त योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णयसमेत गरेको उनको भनाइ छ । बृहत् जलाधार व्यवस्थापन केन्द्र, गण्डकीका प्रमुख श्यामप्रसाद न्यौपानेले विभागका उपमहानिर्देशक उद्धवबहादुर घिमिरेसहित विज्ञको टोलीले फेवा संरक्षित जलाधार क्षेत्रको स्थलगत अवलोकन गरी उक्त योजना कार्यान्वयनमा विषयमा सरोकार भएका पक्षहरूसँग छलफल गरिएको बताउनुभयो । “जलाधार व्यवस्थापन केन्द्रले बनाएको व्यवस्थापकीय योजना विभागमा पुगिसकेको छ, विविध कारणले कार्यान्वयन हुन सकेको थिएन”, उनले भने, “अद्यावधिक र परिमार्जनसहित विभागबाट स्वीकृत भएपछि केन्द्रमार्फत नै व्यवस्थापकीय योजना कार्यान्वयन हुन्छ ।” उक्त योजनाअन्तर्गत जलाधार क्षेत्रको अतिक्रमण हटाई पुनः स्थापना गर्ने, मुहान तथा पानीका स्रोत संरक्षण, पहिरो रोकथाम, वृक्षारोपण, सौन्दर्यीकरण, जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन आदि गरिने प्रमुख न्यौपानेले बताए । जलाधार व्यवस्थापन केन्द्रका सूचना अधिकारी अमर अधिकारीका अनुसार फेवाताल संरक्षित जलाधार क्षेत्र एक सय २३ वर्ग किलोमिटरमा फैलिएको छ । फेवाताल र यसको जलाधार क्षेत्रको संरक्षण, एकीकृत विकास तथा व्यवस्थापनका लागि सरकारले विसं २०७८ मा फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गरेको थियो ।

६ महिनामा दुई हजार ६३४ पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर ।  कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार ६३४ पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ ।  यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको संख्या दुई हजार २७८ रहेको छ । त्यसबाहेक सार्क मुलुकका ४९ महिला र १९५ पुरुष गरी दुई ४४ जना, त्यसबाहिरका ४९ महिला र ६३ पुरुष गरी ११२ पर्यटकले यहाँ भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । यस अवधिमा सबैभन्दा बढी गत चैतमा ६२१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । कात्तिकमा ५८०, मंसिरमा २९३, पुसमा ३७६, माघमा ३६९ र फागुनमा ३८६ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटनबाट १४ लाख ६७ हजार ४८६ राजस्व संकलन गरिएको सूचना अधिकारी वाग्लेले बताए ।  जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण यो निकुञ्ज पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कोभिड महामारीपछि यहाँ आउने विदेशी पर्यटकको संख्यामा केही कमी आए पनि पछिल्ला वर्षहरूमा त्यो संख्या बढ्दै गएको छ । “नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान रहेको यस निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि विभिन्न वनस्पति पाइन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे अध्ययन–अनुसन्धानसँगै अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ पुग्ने गरेका छन्,” वाग्लले भने । निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ७६२ जनाले यहाँ भ्रमण गरेका छन्, जसमा १३२ विदेशी र ११२ सार्क मुलुकका पर्यटक रहेका छन् । आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ३२२ जनाले निकुञ्ज भ्रमण गरेकामा त्यसमा १९९ जना सार्क मुलुकका र १५२ त्यसबाहेकका मुलुकका विदेशी पर्यटक रहेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको बताए । “शुक्लाफाँटाको प्रचारप्रसार गरेर यहाँ उल्लेख्य पर्यटक भित्र्याउन सकिन्छ । यहाँको जैविक विविधताबारे व्यापक प्रचारप्रसार हुनसकेको छैन । अब प्रचारप्रसारका लागि सबैले सहयोग गर्नुपर्छ,” उनले भने ।  ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिंगा छन् । 

खुवालुङमा माङ्खीसहित सांस्कृतिक संरचना बन्ने

सुनसरी । खुवालुङ क्षेत्रमा माङ्खीमसहित विभिन्न सांस्कृतिक संरचनाको शिलान्यास गरिएको छ । जिल्ला कार्यसमिति (सुनसरी, धनकुटा र उदयपुर) तथा खुवालुङ जग्गा व्यवस्थापन एवं माङ्खी निर्माण उपसमिति साथै किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति काठमाडौँको आयोजनामा मङ्गलबार उक्त संरचनाको शिलान्यास गरिएको हो । धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सङ्गमस्थल त्रिवेणी क्षेत्रमा रहेको खुवालुङ खाम (परिसर) लाई मुन्दुमी आस्था र शक्तिको अभ्यासस्थलका रूपमा विकास गरिँदै खुवालुङ्मा मुन्दुमी खिम (घर) निर्माण गरिनुका साथै आगन्तुकका लागि आवासीय संरचना पनि निर्माण गरिने किरात राई यायोक्खाका अध्यक्ष जीवन हताचो राईले बताए । किराँती समुदायको संस्कृति र ज्ञान प्रणालीलाई प्रतिनिधित्व गर्ने गरी ‘किरात राई सांस्कृतिक मौखिक ज्ञान सङ्ग्रहालय’ र ‘मुन्दुम खीम (पाठशाला)’ निर्माण गरिने छ । सङ्ग्रहालयमा अडियो, भिजुअल, तस्बिर तथा सांस्कृतिक सामग्री सङ्कलन गरिने छ भने मुन्दुम खीममा किराँती मुन्दुम र ज्ञान प्रणालीसम्बन्धी शिक्षा सञ्चालन गरिने अध्यक्ष राईको भनाइ छ । कोशी प्रदेश सरकारले रु दुई करोड ४० लाख बजेमा उक्त सङ्ग्रहालय निर्माण हुन लागेको हो । खुवालुङ (सप्तकोशीस्थित त्रिवेणी) लाई मौलिक सांस्कृतिक केन्द्रका रूपमा विकास गर्दै देशकै महत्त्वपूर्ण सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखिएको अध्यक्ष राईले बताए । सखुवा कन्स्ट्रक्सन कन्सल्टेन्सीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहकारी विकास तथा भवन कार्यालय धनकुटामा प्रस्तुत भइसकेको छ । किरात राई यायोक्खाले उक्त डिपीआर परिमार्जन गर्नुपर्ने मागसहित संशोधन प्रस्तावसमेत पेस गरेको जनाएको छ । परिमार्जित डिपीआर तयार गर्दा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशद्वारा तयार गरिएको ‘खुवालुङः किराँतीहरूको पुर्ख्यौली पवित्र आस्था तथा मुन्दुमी शक्ति केन्द्र (सांस्कृतिक इन्जिनियरिङ अर्थात् सैद्धान्तिक अध्ययन), २०८२’ लाई आधार बनाइएको जनाइएको छ । करिब छ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको माङ्खिम र मुन्दुमी खीमका लागि आवश्यक जग्गा किरात राई यायोक्खा केन्द्रीय कार्य समिति र व्यवस्थापन समितिले विभिन्न दाताबाट रकम सङ्कलन गरी खरिद गरेको हो । साथै स्थानीय तीर्थराज राई, धर्मराज राई र देवराज राईले दुई रोपनी जग्गा दान गरेको किरात राई यायोक्खा उपाध्यक्ष जनक राईले बताए । किराँती समुदायका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गर्दै यस्ता संरचनाले पहिचान जोगाउन सहयोग पुग्ने छ । रानले भने । खुवालुङ नेपालको सप्तकोशी नदीस्थित त्रिवेणी क्षेत्रमा रहेको एक चट्टान हो, जुन किराँती समुदायका लागि पवित्र मानिन्छ । दूधकोशी, अरुण र तमोर नदीको सङ्गमस्थलमा रहेको उक्त ढुङ्गालाई किराँती समुदायले ‘खुवालुङ’ का रूपमा चिन्ने गरेका छन् । यो किराँती जातिको पवित्र स्थल मध्येको एक मानिन्छ । किराँती भाषामा ‘खु’ भनेको ठुलो, ‘वा’ भनेको पानी र ‘लुङ’ भनेको ढुङ्गा भन्ने अर्थ लाग्छ । यसरी ठुलो नदी (कोशी) को बीचमा रहेको ढुङ्गा भएकाले ‘खुवालुङ’ नाम रहन गएको हो । मुन्दुमी मिथकअनुसार खुवालुङलाई किराँतीहरूको साझा आस्था स्थलका रूपमा व्याख्या गरिएको छ । प्रकृति पूजक किराँती समुदायको हजारौँ वर्षदेखिको आत्मिक सम्बन्ध खुवालुङसँग जोडिएको मानिन्छ । किरात राई समुदायभित्र रहेका विभिन्न भाषा, थर र पाछामा पाइने विविधतालाई समेत खुवालुङसम्बन्धी मिथकले सम्बोधन गर्ने विश्वास रहँदै आएको छ ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको पनि काम जारी

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ । सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा स्पिड लिमिटका चिह्नहरू जडान गर्ने काम भइरहेको छ । साथै, सडक छेउमा रेलिङ लगाउने, डब्लु–बिम राख्ने र डेलिनेटर पोल जडान गर्ने काम पनि जारी छ । सडक निर्माणको काम अन्तिम चरणमा पुग्दैगर्दा सडक सुरक्षाका कामलाई पनि प्राथमिकता दिइएको सूचना अधिकारी खनालले बताए । उनले भने, “सडक निर्माणका धेरैजसो काम अन्तिम चरणतर्फ बढेका छन्, हामीले सोहीअनुसार सडक सुरक्षाका काम अघि बढाएका छौँ ।” सूचना अधिकारी खनालका अनुसार नवलपरासी पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये हाल करिब सात किलोमिटरमा मात्र कच्ची सडकको यात्रा गर्नुपर्ने अवस्था छ । अन्य सबै क्षेत्रमा कालोपत्र तथा पक्की सडक सञ्चालनमा आइसकेको छ । पूर्वी खण्डमा हालको भौतिक प्रगति ८१ प्रतिशत पुगेको उनले जानकारी दिए । पूर्वी खण्डमा अहिले दाउन्ने क्षेत्रमा बाहेक अन्य स्थानमा यात्रा सहज भएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम २०७५ साल माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्यका साथ चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सुरु गरेको थियो । कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि हाल चौथोपटक म्याद थप गरी आउँदो साउनसम्मका लागि अवधि बढाइएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सञ्चालित यस सडक विस्तार आयोजनाको दुवै खण्डको कुल लागत रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ । कुल ११३ किलोमिटरमध्ये ७० किलोमिटरमा चार लेन, २९ किमीमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरका सर्भिस लेन निर्माण गरिनेछ । दाउन्ने क्षेत्रको १४ किमी खण्डमा तीन लेनको सडक निर्माण हुनेछ ।

बाख्रापालनबाट स्वरोजगार, वार्षिक लाखौँ आम्दानी

म्याग्दी । मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन्। पचास वर्षीय पुनले वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन गरेर स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । “घरमै भएका दुई वटा माउ बाख्राबाट सुरु गरेको फार्ममा अहिले पाठापाठी, खसिबोका र माउबाख्राको सङ्ख्या ४८ वटा पुगेको छ”, उनले भने, “वार्षिक १५ देखि २० वटाको हाराहारीमा बिक्री हुन्छ ।” बाख्रापालन सुरु गरेपछि घरव्यवहार चलाउन र छोराछोरीको पठनपाठनमा सहज भएको पुनले बताए । सामाजिक काममा पनि आबद्ध पुन बाख्रापालन सुरु गर्नुअघि परम्परागत खेतीकिसानी र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका थिए । उनलाई बाख्रापालनमा श्रीमतीले पनि सघाइरहेकी छिन्। अठार महिनादेखि दुई वर्षको खसीलाई तौलअनुसार १५ देखि २० हजार मूल्य पार्न सकिने पुनले बताए । बाबियाचौर, तातोपानी र बेनी बजारमा मासुका लागि खसीबोका बिक्री हुन्छ । धार्मिकस्थल मालिकामा बलि चढाउनका लागि पनि बोका, पाठा लैजाने गर्छन् । खसीबोकाकै हाराहारीमा पाल्ने किसानहरु पनि पाठापाठी किन्न आउँछन् । पुनले विसं २०७८ मा हिदी बाख्रापालन फार्म स्थापना गरेर व्यवसाय सुरु गरेका थिए। स्थानीय जमुनापारी जातको बाख्राको नश्ल सुधार गरेर पाठापाठी उत्पादन गर्न उन्नत बोयर जातको बोका पालेका छन् । बोयर बोकाबाट नश्ल सुधार गरेका पाठापाठी छिटो बढ्ने, तौल धेरै हुने भएकाले आम्दानी वृद्धिका लागि सहज भएको पुनको अनुभव छ । उक्त फार्ममा बाख्राको ब्यवस्थित खोर निर्माणका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु पाँच लाख अनुदान सहयोग गरेको थियो । मङ्गला गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा उन्नत बोयर जातको एक वटा बोका उपलब्ध गराएको छ । फार्म स्थापनाका क्रममा लागेको रु १० लाख ऋण पनि खसीबोका र पाठापाठी बेचेर तिरिसकेको पुनले बताए । बाख्राको खोरभित्र फरक–फरक उमेर समूहका बाख्रा, बोका, खसी र पाठापाठी राख्ने छुट्टाछुट्टै कोठाहरु छन् । बधुवा प्रणालीबाट बाख्रापालन गरेका पुनले आहराका लागि बहुवर्षीय डालेघाँस खेती गरेका छन् । घाँसखेती विस्तार र बाख्रापालनलाई थप व्यवस्थित गरेर निरन्तरता दिने पुनले बताए । 

सुदूरपश्चिममा औलो सङ्क्रमण: निवारणको लक्ष्यप्राप्ति चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा औलोको ग्राफ पुनः बढ्न थालेको छ । निवारणको लक्ष्य नजिक पुगिसकेको अवस्थामा फेरि सङ्क्रमण बढ्दा स्वास्थ्य क्षेत्रमा गम्भीर चिन्ता र चुनौती थपेको छ । नेपालले सन् २०३० सम्म स्थानीय औलो (मलेरिया) शून्यमा झार्ने लक्ष्य लिएको भए पनि सुदूरपश्चिममा पछिल्लो अवस्थाअनुसार लक्ष्यप्राप्ति चुनौतीपूर्ण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशभर कुल तीन सय ८७ जनामा औलो पुष्टि भएको छ । तीमध्ये तीन सय ७३ आयातित र १४ स्थानीय (इन्डिजिनस) ‘केस’ रहेका छन् । यसले प्रदेशमा औलोको मुख्य स्रोत अझै बाह्य (आयातित) रहेको देखाउँछ, तर स्थानीयस्तरमै सङ्क्रमण देखिनु थप चिन्ताजनक पक्ष रहेको जानकारहरू बताउँछन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार हालै प्रदेशका विभिन्न स्थानीय तहमा १५ जना स्थानीय औलोका बिरामी फेला परेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–५ र परशुराम नगरपालिका–२, बैतडीको मेलौली नगरपालिका–२ र पञ्चेश्वर गाउँपालिका–२, कञ्चनपुरको बेलौरी नगरपालिका–२ तथा कैलालीको कैलारी गाउँपालिका–२ मा स्थानीय सङ्क्रमण देखिएको हो । जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी कैलालीमा दुई सय चार, कञ्चनपुरमा ५७, अछाममा ५१, डोटीमा ३१, बाजुरामा २२, डडेलधुरामा १२, बैतडीमा आठ र दार्चुलामा दुई जना औलोका बिरामी देखिएका छन् । “सीमावर्ती जिल्ला कैलाली र कञ्चनपुरमा औलो सङ्क्रमणाका बढी केस देखिनुले भारतसँगको खुला सीमा प्रमुख जोखिमका रूपमा देखिएको छ”, अधिकृत जोशीले भने, “विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्ड अनुसार कुनै देश वा क्षेत्रमा लगातार तीन वर्षसम्म स्थानीय औलो शून्य भए मात्र औलो निवारण प्रमाणपत्र प्राप्त हुन्छ । सो लक्ष्य नजिक पुगेको अवस्थामा सुदूरपश्चिममा देखिएको पुनः वृद्धिले समस्या पैदा गरेको छ ।” प्रजातिगत रूपमा औलो सङ्क्रमण अझ जटिल बन्दै गएको देखिन्छ । उपलब्ध विवरणअनुसार सुदूरपश्चिममा ‘प्लाज्मोडियम भाइभ्याक्स’का सबैभन्दा बढी तीन सय २८ बिरामी देखिएका छन् । सबैभन्दा खतरनाक र घातक मानिने ‘प्लाज्मोडियम फाल्सिपेरम’बाट प्रभावित बिरामी ५४ जना रहेका छन् । ‘प्लाज्मोडियम ओभल’बाट प्रभावित तीन जना बिरामी देखिएका छन् । “यस परजीविबाट औलो सङ्क्रमित बिरामी विरलै भेटिने गरेका छन्”, अधिकृत जोशीले भने, “धेरैजसो अफ्रिकी मुलुकमा पाइन्छन्, सुदूरपश्चिममा यसका केसहरू देखिनु यी बिरामी अफ्रिकी मुलुकबाट आएका हुन सक्छन् ।” ‘प्लाज्मोडियम मिक्स्ड इन्फेक्सन’ भएका दुई जना बिरामी देखिएका छन् । एकभन्दा बढी औलोका परजीवीले एकै साथ आक्रमण गर्छन् भने त्यसलाई ‘मिक्स’ सङ्क्रमण भन्ने गरिन्छ । सुदूरपश्चिममा औलो पुनः बढ्नुका पछाडि बहुआयामिक कारणहरू छन् । “आयातित औलोको समयमै पहिचान हुन नसक्नु, राज्यका सीमित स्रोतसाधनका कारण प्रभावकारी नियन्त्रण कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुनु र जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान हिमाली क्षेत्रसम्म विस्तार हुनु प्रमुख कारणका रूपमा रहेका छन्”, अधिकृत जोशीले भने । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खगेन्द्र बमका अनुसार संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा अफ्रिकी मुलुक गएका सुरक्षाकर्मी तथा भारतका विभिन्न सहरमा मौसमी काम गरेर फर्किने श्रमिकमा आयातित औलो बढी देखिन्छ । आयातित औलोको समयमै पहिचान हुन नसक्नु, राज्यको सीमित स्रोतसाधनका कारण गहन तरिकाले औलो निवारण गतिविधि सञ्चालन हुन नसक्नु, जलवायु परिवर्तनका कारण लामखुट्टेको उपस्थिति तराइ, पहाड हुँदै हिमाली जिल्लासम्म पुग्नु र लामखुट्टे नियन्त्रणका लागि अत्याधुनिक साधन प्रयोग हुन नसक्नुले औलोको जोखिम बढ्दै गएको उनको भनाइ छ । “चुनौतीका बीच औलो नियन्त्रणका लागि पहल तीव्र पारेका छौँ । सुदूरपश्चिममा कीट विज्ञान प्रयोगशाला सञ्चालनमा रहेको छ, जहाँ लामखुट्टेको अध्ययन, कीट अनुसन्धानको कार्य निरन्तर रूपमा भइरहेको छ”, उनले भने, “कीटनाशकको प्रभावकारिता परीक्षण तथा अनुसन्धान कार्य भइरहेको छ, यसका साथै स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, निगरानी प्रणाली सुदृढीकरण, रणनीति कार्यान्वयन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।” स्वास्थ्य विज्ञहरूका अनुसार अबको प्राथमिकता आयातित केसहरूको कडाइका साथ निगरानी, सीमामा स्वास्थ्य जाँच सुदृढीकरण, स्थानीय तहमा सक्रिय खोजपड्ताल र जनचेतना विस्तार हुनुपर्छ । साथै, जलवायु परिवर्तनका असरलाई मध्यनजर गर्दै लामखुट्टे नियन्त्रणका आधुनिक प्रविधि प्रयोगमा ल्याउनु आवश्यक देखिन्छ । साथै नागरिक तहमा सचेतना अत्यन्त महत्त्वपूर्ण रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । झुलको नियमित प्रयोग, पानी जम्ने स्थान हटाउने, लामखुट्टेको टोकाइबाट बच्ने र ज्वरो आएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउने बानीले औलो नियन्त्रणमा ठूलो योगदान पु¥याउन सक्ने कञ्चनपुरको शुक्लाफाँटा स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्ट बताउँछन् । “सुदूरपश्चिम प्रदेश औलो निवारण लक्ष्य नजिक पुगे पुनः जोखिमतर्फ उन्मुख देखिनुलाई चुनौतीका रूपमा लिनुपर्छ”, उनले भने, “समयमै प्रभावकारी कदम चाल्न सके औलोमुक्त नेपालको लक्ष्य हासिल गर्न सम्भव छ, तर ढिलाइ भएमा अहिलेको अवस्था ठूलो स्वास्थ्य सङ्कटमा रूपान्तरण हुन सक्छ ।” औलो मुख्यतया ‘एनोफिलिज’ जातका सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने परजीवीका कारण हुने एक प्रकारको सरुवा रोग हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपाल औलो निवारण उन्मुख अवस्थामा रहेको छ । विगत १० वर्षमा स्थानीय औलोका बिरामीको सङ्ख्यामा करिब ९० प्रतिशतले कमी आएको छ । हाल वार्षिक रूपमा स्थानीय औलोका बिरामीहरू ५० प्रतिशतभन्दा कममा सीमित भएका छन् । यद्यपि, यसलाई शून्यमा झार्न चुनौती छ । देशभरमा औलोका बिरामीको सङ्ख्या एक हजार १६४ रहेको छ, जसमा स्थानीय ३९ र आयातित औलोबाट सङ्क्रमित एक हजार १२४ रहेका छन् । यसैबीच आज विश्व औलो दिवस २०२६ मनाइँदै छ । यसवर्षको औलो दिवसको नारा ‘औलो अन्त्य हाम्रो सङ्कल्पः सक्षम छौँ, छैन अब विकल्प’ भन्ने रहेको छ ।

'जेनजी' आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी अझै फर्केनन्

वाग्मती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै फर्किएका छैनन् । 'जेनजी' आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० मध्ये शनिबारसम्म २९४ कैदीबन्दी मात्र कारागार फर्किएका छन् ।  कारागारका प्रमुख सुवास पौडेलका अनुसार, भीमफेदी कारागारबाट भागेकामध्ये हालसम्म २९४ जना र अन्य कारागारबाट फरार ७६ कैदीबन्दी कारागार फर्किएका छन् । फरार भएका ३९ विदेशी कैदीबन्दीमध्ये १३ मात्र  कारागार फर्किएका छन् । अन्य कारागारबाट फरार भई भीमफेदी कारागार फर्किएकामध्ये ५० जनालाई सम्बन्धित कारागारमा स्थानान्तरण गरिएको र २२ जना भीमफेदी कारागारमा रहेका प्रमुख पौडेलले बताए । गत भदौ २४ गते राति १ बजेतिर भीमफेदी कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (ख) ब्लकबाट १८० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए । कारागारबाट भागेका फरार कैदीबन्दीको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए ।