कोशी सरकारका माओवादी मन्त्रीले राजिनामा दिंदै

विराटनगर ।नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । शुक्रबार माओवादी केन्द्रका चार मन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीबाट राजीनामा दिने भएका हुन् ।


कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् ।भने वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री रहेकी छन् ।

कर्णाली सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरूले दिए राजीनामा

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । सोमबार माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै सरकार छोडेका हुन् । माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले राजीनामा दिएका छन् । एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकारमा अब कांग्रेस सहभागी हुने भएको छ । केन्द्रमा कांग्रेस(एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेशको नेतृत्व एमालेले गर्ने सहमति अनुसार कँडेल नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ । यससँगै माओवादी केन्द्र कर्णालीमा पहिलो पटक प्रमुख प्रतिपक्षीमा पुगेको छ ।

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजीनामा

बुटवल। लुम्बिनी प्रदेशका  मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका छन् ।

रौतहटमा मोहर्रम पर्व मनाउनेले आक्रमण गर्दा १९ सुरक्षाकर्मी घाइते

रौतहट । रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउनेहरुको आक्रमणमा परि १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । राजपुर नगरपालिका–६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उश्रृङ्खल गतिविधि भई धकेलाधकेलको स्थिति सिर्जना भएपछि प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेको थियो ।  सोही क्रममा सुरक्षाकर्मीमाथि केही उश्रृङ्खल युवाहरुले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् ।  स्थिति नियन्त्रणमा लिन १२० भन्दा बढि प्रहरी टोली खटिएका थिए । आफुहरुमाथि लगातार आक्रमण भएपछि प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर गरेका थिए । त्यसपछि स्थितिलाई नियन्त्रण आएको प्रहरीले जनाएको छ ।  घटना बिहीबार साँझ साढे ६ बजेदेखि करिब आठ बजेसम्म कुडियामा भएको हो । ढुङ्गा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

४ मन्त्रालय लिएर मधेश सरकारमा सहभागी हुँदै कांग्रेस

जनकपुरधाम । नेपाली कांग्रेस अर्थसहित चार मन्त्रालय लिएर मधेश सरकारमा सहभागी हुने निश्चित भएको छ । मुख्यमन्त्री सतिश सिंहले अर्थसहित चार मन्त्रालय दिने भएपछि कांग्रेस बिहीबार सरकारमा सहभागी हुन लागेको हो । यसअघि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैंसँग राख्ने भनेपछि कांग्रेस सरकारमा सहभागी हुन बार्गेनिङ गरिरहेको थियो । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मन्त्रीका लागि रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र सर्लाहीका कौशल किशोर रायको नाम मुख्यमन्त्रीलाई पठाएको जानकारी दिए । मुख्यमन्त्री सिंहले बिहीबार नै लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।  केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धनमा मधेशमा जनमत नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएपछि २२ असारमा कांग्रेस र लोसपाले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिएका थिए ।

रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिको ज्यान गयो, एक जना बेपत्ता, सात घाइते

काठमाडौं ।रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिकाको पुरिएर ज्यान गएको छ । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनिसा सार्कीको पुरिएर ज्यान गएको हो र ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् । सात जना घाइते बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका छन् । नगरप्रमुख केसीले भने, 'खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन । घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ । उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन्।'

अवरुद्ध कर्णाली करिडोर सञ्चालन

मान्मा  । पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ । करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका–८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुदबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो । शनिबार बिहानदेखि अवरुद्ध भएको राजमार्ग प्रहरी, स्थानीय र जनप्रतिनिधिको पहलमा पहिरो पन्छाएर आज बिहानदेखि नियमित सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिए ।  “लेदोसहित आएको पहिरोले शनिबारदेखि राजमार्ग अवरुद्ध भएको थियो”, उनले भने, “डोजर लगाएर प्रहरी र स्थानीयको पहलमा आज पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका हुन् ।” कर्णाली करिडोरमा वर्षायाममा बाढीपहिराको निकै जोखिम हुने भएकाले उक्त राजमार्ग भएर सञ्चालित सवारीसाधनलाई राति सञ्चालनमा रोक लगाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

तनहुँ । अविरल वर्षाले अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । तनहुँ म्याग्दे गाउँपालिका–६ मौरीओढार पहिरो खस्दा बिहानैदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । बाटोमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्व भएको हो । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यसैबीच,  बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट निकाल्ने क्रममा बुधबार बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी भैरहेको जानकारी दिए । बाढी आउँदा नदि किनारमा नजान आग्रह गरिएपनि बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासमा मानिसको भीड लाग्ने गरेको उनले बताए ।

मधेसमा जनमत र एमाले बाहेकका सबै मन्त्री बर्खास्त

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरेका छन्।मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजिनामा दिन आग्रह गरेपछि राजिनामा दिन नमानेपछि सबैलाई बर्खास्त गरिएको बताए।  मधेस सरकारमा माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री, नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी पनि एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चार मन्त्रीलाई बर्खास्त गरिएको हो । 

लिम्चुङबुङमा आयातित मदिरा र पेय पदार्थ निषेध, सुर्ती-चुरोट पनि बेच्न नपाइने

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले आयातित मदिरा, पेय पदार्थ र सुर्ती(चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।यही मंगलबार बसेको गाउँपालिकाको १८ औँ कार्यापालिका बैठकले मदिरा आयात र बिक्री वितरणमा प्रबिन्ध लगाउने निर्णय गरेको अध्यक्ष मेजरकुमार राईले बताए । ‘उक्त निर्णय पास भएसँगै अब पालिकामा आयातित मदिरा निषेध गरिएको छ’, राईले भने, ‘बैठकले बियर, अन्य मदिरा, कोकाकोला, माउन्टेन ड्यु, फ्यान्टा र रेडबुल जस्ता पेय पदार्थ तथा खैनी, चुरोट, गुट्खा आदि सुर्ती जन्य पदार्थमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।’ पालिकाबासीलाई स्वस्थ राख्दै विकृतिमुक्त बनाउने उद्धेश्यसहित ती पदार्थ आयातमा रोक लगाएएको राईले बताए ।कार्यपालिका बैठकको निर्णय नं.२ ले अन्यत्रबाट आयात गरिने शिशाजन्य मदिरा तथा अन्य पेय पदार्थमा रोग लगाएको हो । पालिकाको यो निर्णयले लिम्चुङ्बुङबासीको स्वास्थ्य बचाउन मद्दत मिल्ने अध्यक्ष राईले बताए ।राईले अब स्थानीय अर्थतन्त्रको सुधार, महिलाको सुरक्षा लागि घरेलु हिंसाको अन्त्य गर्दै अघि बढिने बताउ । उनले अब पालिकाले घरेलु उत्पादनलाई प्रवर्द्धनको योजना ल्याउने पनि बताएका छन् ।पालिकाले अहिलेसम्म भित्रिएको मदिरासहितका पेयय र सुर्तीजन्य पदार्थ असोज १५ गतेसम्म बिक्री गरिसक्ने समय दिएको छ। ‘लिम्चुङबुङवासीलाई रोगबाट बचाउन, गरिबीबाट जोगाउँदै आर्थिक समाननता कायम गर्न, स्थानीय उत्पादनको उपयोग र व्यवसायसँग जोडेर गाउँको अर्थतन्त्रको सुधार गर्न यो कदम चालिएको छ’, राईले भने, ‘यो योजनालाई सफल बनाउन सम्पूर्ण लिम्चुङबुङवासीलाई अपिल गर्दछु।’उनले यदि पालिकाको निर्णयबाहिर गएर प्रतिबन्ध लगाइएका सामान भित्र्याएको भेटिए जफत गरी कारबाही गर्नेसमेत जानकारी दिएका छन्।

बाढीले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको छ ।   जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएका बताए ।  वर्षा रोकिएपछि कोरिडोर आयोजनाले खुलाउने प्रयास गरिने उनले जानकारी दिए । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा क्षति पुर्याएको छ ।  गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको छ । यद्यपि, पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । रासस

मधेश कृषि फार्मिङ्ग मोडालिटी ल्याउँदै मधेश सरकार

जनकपुरधाम । मधेश प्रदेश सरकारले कृषि फार्मिङको अवधारणा ल्याउने भएको छ । मधेश प्रदेशको कृषिलाई व्यवस्थित बनाउन प्रदेश सरकारले कृषि फार्मिङ्गको अवधारणा ल्याउन लागेको हो ।  मुख्यमन्त्री सतिश कुमार सिंहले मधेशको उर्वरभूमिलाई अधिकतम प्रयोग गरि कृषिमा आत्मनिर्भर बनाउन एक पलिका एक मोडल कृषि फार्म स्थापना गर्ने तयारी रहेको एभेरेष्ट दैनिकलाई बताए । व्यवसायी मिनबहादुर गुरुङसँगको भेटपछि उनले मधेश प्रदेशको बार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत यो कुरा समावेश गरिएको स्पष्ट पारे ।  मुख्यमन्त्री सिंहले किसानलाई व्यावसायिक बनाउन र उर्वर माटोको अवस्था अनुसारको लाभ लिन पनि कृषि उत्कृष्टता केन्द्रहरुले सहयोग गर्ने विश्वास व्यक्त गरे ।  भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङसँगको छलफलमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा कृषि विकासको मोडल तयारी गरि कार्यक्रम संचालन गर्न लागिको जानकारी गराएका थिए । उनले भाटभटेनी सुपरमार्केटले यहाँको कृषि उत्पादनलाई बजारिकरणमा सहयोग गर्न समेत आग्रह गरेका छन् । छलफलमा गुरुङले मुख्यमन्त्रीको मधेश कृषि विकास मोडममा सहयोग गर्न तयार रहेको जनाएका छन् । भाटभटेनीले मधेश प्रदेश सरकारलाई दुईवटा सुबिधा सम्पन्न एम्बुलेन्स उपलब्ध गराउने जानकारी पनि गराएका छन् ।

सर्वोच्चको आदेशपछि फणीन्द्रको पद थमौती: भए मन्त्री, लिए शपथ

पोखरा । सर्वोच्च अदालतको आदेशले सांसद पद जोगाइदिएपछि नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन्।  देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए। जेठ २८ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएपछि २९ गते मन्त्री बनेका थिए । तर माओवादीले जेठ ३२ गते उनलाई कारबाही गरेपछि पद गुमाए।  देवकोटा कारबाही विरुद्ध सर्वोच्च पुगेका थिए। सर्वोच्चले मुद्दाको किनारा नलाग्दासम्म सांसदकै रूपमा कामकाज गर्न आदेश दिएको थियो । उनी शनिबार संसदमा प्रवेश गरेपछि आज मन्त्री नियुक्त भएका हुन्।

गुल्मीमा पहिरोले एकै परिवारका पाँच जना पुरिए

तम्घास। गुल्मीमा पहिरोले एकै घरका पाँच जना पुरिएका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जै ठाँटीमा दुई तले  घरमा पाँच जना पुरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  पाँच जना मध्ये एक जना वृद्धको शव निकालिएको र जिल्लाबाट प्रहरी निरीक्षकको कमान्डमा ११ जनाको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको चौधरीले बताए।

पहिरोले घर पुरिंदा स्याङ्जामा आमाछोरीको मृत्यु

स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ । जिल्लाको फेदीखोला गाउँपालिका ५ बाँगे भन्ने स्थानमा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो । सुतिरहेको बेला घरभन्दा अन्दाजी २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ । जस्ताले छाएको एक तले घरलाई पुरेको प्रहरीको भनाई छ । घर नजिकैको एउटा गोठ पनि पुरिदा गोठमा रहेको एउटा भैंसी पनि मरेको छ ।