मधेसमा जनमत र एमाले बाहेकका सबै मन्त्री बर्खास्त

मधेसमा जनमत र एमाले बाहेकका सबै मन्त्री बर्खास्त

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरेका छन्।मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजिनामा दिन आग्रह गरेपछि राजिनामा दिन नमानेपछि सबैलाई बर्खास्त गरिएको बताए। 

मधेस सरकारमा माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री, नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी पनि एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चार मन्त्रीलाई बर्खास्त गरिएको हो । 

गायिका स्मितालाई वैवाहिक शुभकामना दिंदै संजय दत्तले भने -'भेट्न नेपाल आउँछु'

काठमाडौं । बलिउड स्टार संजय दत्तले पनि गायिका स्मिता दाहाललाई वैवाहिक जीवनको शुभकामना दिएका छन् । अभिनेता दत्तले नवविवाहित जोडीलाई बधाई दिन चाँडै नेपाल आउने बताएको भिडियो सन्देश सार्वजनिक भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश दिएका थिए भने अभिनेता दत्तले भिडियो सन्देश पठाएका हुन् । उक्त भिडियो स्मिताकी आमा समेत रहेकी गंगा दाहालले सामाजिक संजालमार्फत सार्वजनिक गरेकी छन्  मंसिर २१ गते गायिका दाहाल र उनका प्रेमी सायुज्य श्रेष्ठले लगनगाँठो कसेका थिए । ‘मायालु तिमी कता छौ’ स्मिताको बहुचर्चित गीत हो जसलाई अहिलेसम्म ३ करोड १५ लाख पटक हेरिएको छ । भिडियोमा दत्तले भनेका छन् -'नमस्कार, जय भोलेनाथ, हरहर महादेव । केही प्राविधिक समस्याको कारण आज म तपाईंहरूमाझ आउन सकिन । तर, मेरी भाञ्जी स्मिता र सायुज्यलाई उनीहरूको वैवाहिक जीवनको लागि शुभकामना । म मेरी बहिनी गंगा र उनको परिवारलाई मेरो तर्फबाट धेरै धेरै आशिर्वाद । तपाईंहरू सबैसँग चाँडै भेट्नेछु । मेरो तर्फबाट धेरै धेरै शुभकामना । गंगा बहिनी चाँडै आएर भेट्नेछु र यी बच्चाहरूलाई आफ्नो आशिर्वाद दिनेछु । धन्यवाद, चाँडै भेट्नेछौं । हर हर महादेव, जय भोलेनाथ'

सरकारले गलत गतिविधि नसच्याए सशक्त प्रतिवाद गर्छौं : अध्यक्ष प्रचण्ड

चितवन, २५ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ। चितवनको भरतपुरमा आयोजित  खबरदारी सभालाई सम्बोधन गर्दै  उहाँले यस्तो चेतावनी दिनुभएको हो । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उहाँले यसलाई रोक्ने होइन भने संसदको विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन  र सडकबाट आन्दोलन अघि बढाउने बताउनुभयो । राम्रो बन्दै गरेको विद्युत प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्ता हर्कत स्वीकार्य नहुने बताउनुभयो । आफूले प्रधानमन्त्री हुँदा रुग्न उद्योगहरु सन्चालनको तयारी गरेको उल्लेख गर्दै उहाँले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुने बताउनुभयो। अध्यक्ष प्रचण्डले देशभरका हजारौं सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरुको बाहुल्यता भए पनि उनीहरुलाई बचाउन केन्द्रित रहेको बताउनुभयो । आफ्नाहरुलाई जोगाउदै सारा ठगी नै रबि लामिछानेले गरेको झै गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो -'तपाई हामी सबैलाई चासो हुनेलाई थाहा छ अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरु नै ठूला सहकारी ठग छन् । तिनै नाटकबाजहरुकलाई बचाउन सरकार केन्द्रित छ । उनीहरुलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ ।' रविलाई आफैले प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले अहिले पूर्वाग्रहपूर्ण प्रतिशोध साधेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो- रवि र राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले भनेको स्वीकार नगरेको कारण राजनितिक प्रतिशोधको व्यवहार देखाएको जोकसैले बुझ्नसक्छ। आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारी पक्राउ गर्ने क्रम बढाउदै जादा बिचौलियाहरुले संसदका पहिलो र दोस्रो पार्टी मिलाएर सरकार बनाएको पनि उहाँले स्पष्ट गर्नुभयो । विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उहाँले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा सुरु गरेका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका एजेण्डाबाट नै समृद्धिको रुण रोप्ने काम गरिएको स्पष्ट गर्नुभयो ।  उहाँले भन्नुभयो– ‘विगतका सबै अनुभवबाट शिक्षा लिंदै मेरा आफ्नै पनि कहाँनेर कमजोरी रहे भन्ने आत्मसमीक्षा गर्दै तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमा लिएको अठोटसँगै समाजवादको रुण रोप्ने काम गरिएको छ ।’ उहाँले भन्नुभयो -'मेरो तेस्रो कार्यकाल अझ चुनौतिपूर्ण थियो । यो बेला देश, पार्टी र व्यवस्थाकै लागि पनि गर या मरको स्थिति नै थियो । त्यो बेला मैले सुशासन, सामाजिक न्याय र आर्थिक संकटको अन्त्य गर्न गम्भिरतापूर्वक पहल लिए । मैले सुशासनको कुरा गर्दा भ्रष्टाचारकाविरुद्ध , भ्रष्ट नेता, कर्मचारी वा व्यापारी जोसुकै भएपनि छुट नदिले, आफ्नै पार्टीकै भएपनि नछोड्न निर्देशन दिए । पक्ष विपक्षी कसैलाई काखापाखा गरिन ।' ​​​​​​​ आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ३० हजार भन्दा कम ऋण लिएकाहरुको मोचन गरेको बताउनुभयो।  अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा दुई छिमेकीलाई सन्तुलनमा राखेर अघि बढेको स्मरण गर्दै भारत भ्रमणमा बेला गरिएका सिमा समस्या समाधान, विद्युत व्यापार सम्झौता, कृषि मलको सहज आपूर्ति तथा चीन भ्रमणका गरिएको नाका खोल्ने सहमति, दोस्रो कार्यकालमा गरिएको विआरआईमा सैद्धान्तिक सम्झौता महत्त्वपूर्ण रहेको बताउनुभयो । यसपटक चीन भ्रमणको बेला अहिलेका प्रधानमन्त्रीले पुरानै गरेका सहमतिलाई आफ्नो भनेर प्रचार गरेकोको बताउनुभयो ।    उहाँले विश्वव्यापी तनावबाट नेपाल चनाखो बन्नुपर्ने उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका लागि राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो ।

वैद्यको पार्टीले संयुक्त मोर्चामार्फत संघर्ष अघि बढाउने

काठमाडौं। मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरू समाधान गर्न पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवम् संयुक्त मोर्चामार्फत संघर्षका कामलाई अगाडि बढाउँदै लैजाने भएको छ । पार्टीको हालै सम्पन्न एकता महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो। मङ्सिर १३ देखि २३ गतेसम्म काठमाडौँमा राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको र त्यसबाट नेतृत्वसहितको केन्द्रीय कमिटी चयन गरिएको जानकारी दिइयो ।  महाधिवेशनले संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, एकमा तीनको सिद्धान्त अनुसार केन्द्रीय समितिको संरचना निर्माण गर्ने, पूर्ण केन्द्रीय समिति ११७ जनाको र ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद् समेत बनाउने निर्णय लिइएको नेता सीपी गजुरेलले जानकारी दिए ।  जसअनुसार पूर्ण केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिका सदस्यहरूको प्रस्ताव प्रस्तुत भएपछि प्रतिनिधि तथा पर्यवेक्षकहरू सम्मिलित सदनबाट सो प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको थियो । त्यस पश्चात केन्द्रीय समितिको प्रथम बैठक किरणको अध्यक्षतामा बसी सर्वसम्मतिबाट उनलाई नै महासचिव चयन गरिएको गजुरेलले बताए ।

देशभर पश्चिमी वायुको प्रभाव, अधिकांश ठाउँमा हुस्सु

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यसअघि सोमबार देशका केही पहाडी भू-भागमा वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपात भएको थियो ।

लोकप्रिय