माओवादी केन्द्र सानीभेरीको अध्यक्षमा पुनः पुन
रुकुमपश्चिम । नेकपा माओवादी केन्द्र रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको अधिवेशन सकिएको छ । नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट पुनः धर्मबहादुर पुनको अध्यक्षतामा ४५ सदस्यीय नयाँ गाउँपालिका समिति गठन भएको छ ।
जसको उपाध्यक्षमा इन्दिरा ओली, दीपक बाँठा र वीरसिंह विक, सचिवमा बालकृष्ण विक, सह सचिवमा बालकुमार नकाल र कोषाध्यक्षमा चक्र केसी निर्वाचित हुनुभएको छ । नेतृत्व सर्वसम्मत निर्वाचित भएको नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिकाले जनाएको छ ।
अन्य पालिकाहरूमा अधिवेशन चलिरहेको छ । हिजोबाट सुरु भएको अधिवेशन अन्तगत पाँच पालिकामा बन्द सत्र सुरु जारी रहेको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन आज सकिने छन् ।
३ नगरपालिका र ३ गाउँपालिका रहेको रुकुम पश्चिमका सबै पालिकाहरूमा अधिवेशन एकै दिन हिजोबाट सुरु भएको हो । पालिका अधिवेशनका लागि जिल्ला तहमै पहिलो पटक पालिका अधिवेशन कार्यविधि २०८१ बनेर जिल्ला समिति बैठकबाट पारित भई कार्यान्वयन आएको छ । जसले अधिवेशन सहज र विधिसम्मत नेतृत्व चयनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
अधिवेशनको लागि मुसिकोट नगरपालिकामा केन्द्रीय सदस्य गोपाल शर्मा, आठविसकोट नगरपालिकामा केन्द्रीय सदस्य वसन्त शर्मा, चौरजहारी नगरपालिकामा जिल्ला संयोजक गोविन्द रोका, सानीभेरी गाउँपालिकामा नरबहादुर पुन, त्रिवेणी गाउँपालिकामा विमला केसी र बाँफिकोट गाउँपालिकामा केन्द्रीय सदस्य महेन्द्र केसीलाई प्रतिनिधि तोकिएको छ ।
राष्ट्रिय रैथाने खाना महाेत्सव पुस १२ गते देखि
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ बार्षिकाेत्सबकाे अबसरमा राष्ट्रिय खाना महाेत्सव आयाेजना गरिने भएकाे छ । यहि पुस १२ गते देखि १६ गते सम्म पश्चिम चितवनकाे मेघाैलीमा खाना महाेत्सव गर्न लागिएकाे हाे । मेघाैलीकाे जानकी माध्यामिक बिध्यालय मेघाैलीमा आयाेजना गर्न लागिएकाे महाेत्सवमा ५० वटा स्थानिय खानाका स्टलहरु रहने संयाेजक मायाराम चाैधरीले जानकारी दिनुभयाे । उहाँका अनुसार रु ६१ लाखकाे अनुमानित खर्चमा लाग्ने आज यहाँ पत्रकार सम्मेलनकाे आयाेजना गरि जानकमरी दिईयाे । चाैधरीका अनुसार स्थानिय थारु, कुमाल, दराई, मगर, गुरुङ, वाेटे, मुसहर समुदाय सहितका स्थानिय जातका खाना महाेत्सवमा राखिने छ । स्थानिय समुदायकाे जीवन स्तरमामा सुधार ल्याउन महाेत्सव फलदायी हुने चाैधरीले बताउनुभयाे । महाेत्सबमा १ लाख भन्दा बढि पर्यटक आउने अनुमान गरिएकमे छ । पत्रकमर सम्मेलनमा बाेल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षकाे समयमा लक्ष्य भन्दा वढि पर्यटक महानगरमा भित्रिएकाे बताउनु भयाे । महानगरपालिका भित्र एक वर्षमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले अवलाेकन गरेका छन् । भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकिय क्षेत्रकाे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धनमा टेवा पुगेकाे, आन्तरिक तथा बाह्य पर्यटककाे संख्या बृद्विमा महत्वपूर्ण भुमिका पुगेकाे उहाँले बताउनु । दिगाे पर्यटन विकासका पूर्वाधारहरु थपिएकाे, हाेटल रेष्टुरेन्टमा सेवा बृद्वि भएकाे, पर्यटककाे संख्या, बसनई अबधि एवं आर्थिक कृयाकलापहरुमा बृद्वि भएकाे उहाँले बताउनुभयाे । महानगर प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन विभिन्न चुनाैतिहरु देखिए पनि अपेक्षा अनुसार काम भएकाे बताउनु भयाे । राजनैतिक अस्थिरता, स्थानिय पालिकाबाट पहिलाेपटक आयाेजना गरिएकाे हुँदा सिकाे गर्ने ठाउँ नहुनु, भाैतिक निर्माणमा तदारुपताका साथ काम हुन नसक्नु मुख्य समस्यकाे रुपमा रहेकाे बताउनु भयाे । महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाकाे बिकास संगै जनतालाई प्रत्यक्ष लाभान्वित वनाउने उद्वेश्यले भ्रमणा वर्षकाे आयाेजना गरिएकाे र साे उद्वेश्य प्राप्तिमा सफल भईएकाे बताउनुभयाे । स्थानिय जनतामा याे महाेत्सवले थप उर्जा मिल्ने उहाँले बताउनुभयाे । यस महाेत्सब स्थानिय खाना संगै ७७ जिल्लाकाे प्रतिनिधत्व गर्दै ७७ मिटर लम्वाईकाे नेपालकाे नक्सा विशेष आकर्षककाे रुपमा रहने उहाँले बताउनुभयाे ।
प्याब्सन दाङकाे अध्यक्षमा न्याैपाने
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे अध्यक्षमा निर्मल न्याैपाने विजयी भएका छन् । आइतबार भएकाे प्याब्सन दाङकाे १६ओैँ अधिवेशनबाट न्याैपाने अध्यक्षमा निर्वाचित भएका हुन् । न्याैपाने ६२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विजयमान जिएमले ५६ मत लिएका थिए । कुल १५७ मतमा ११८ मत खसेकाे थियाे । त्यस्तै बरिस्ठ उपाध्यक्षमा बिरेन्द्र चन्द विजयी भएका छन् । चन्दले ६० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी गिरीराज डाँगीले ५८ मत लिएका थिए । उपाध्यक्षमा शाेभाखर भुसाल, सचिवमा आदिम केसी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै काेषाध्यक्षमा हरि वली ६० मतका साथ निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पाेषण न्याैपानेले ५८ मत लिएका थिए । सहसचिवमा कृष्णप्रसाद पाेख्रेल, सहकाेषाध्यक्षमा बिमल अधिकारी निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा विजय गाैतम, हरि प्रसाद पाैडेल, सुनिल गाैतम, केश कुमार खड्का, बामदेव शर्मा, पार्वता भुसाल, पुष्करदेव चाैधरी, गाेविन्द खनाल, दिपक पाेख्रेल र विष्णु हमाल निर्विरोध निर्वाचित भएका छन् ।
रामेछापमा जुनारको उत्पादन बढेपछि किसान खुसी
रामेछाप । मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ । रामेछाप नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनी, वडा नम्बर ७ को सुकाजोर र मन्थली नगरपालिकाको वडा नम्बर ४ सालु र वडा नम्बर १३ र १४ फुलासीमा भएका बगैँचामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री थालिएको हो । गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढेको किसानले बताएका छन् । जुनारका लागि यस वर्ष उपयुक्त हावापानी भएका कारण तथा किसानले नियमित प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिन प्रयोग गर्न पाएपछि जिल्लाको जुनार उत्पादन पनि बढेको छ । मन्थली र रामेछाप नगरपालिकामा लगाइएको बगैँचाबाट मात्र यस वर्ष २२ करोड ७५ हजार बराबरको जुनार बिक्री हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाकी प्राविधिक भवानी बस्नेतले बताइन् । परियोजनाका अनुसार गत वर्ष बगैँचाबाट १९ करोडको मात्र जुनार बिक्री भएको थियो । पन्ध्र रोपनी क्षेत्रफलमा आफूले गरेको व्यावसायिक जुनार खेती राम्रो भएकाले गत वर्षको तुलानमा ५० प्रतिशत नै बढी उत्पादन भएको रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान हिमाल तामाङले बताए । अघिल्लो वर्ष दुई लाख ५० हजारको जुनार बिक्री गरेको भए पनि यस वर्ष भने तीन लाख ५० हजार बराबरको जुनार बिक्री गर्ने योजना रहेको तामाङले बताए । ओख्रीनीकै दिलमाया तामाङले पनि आफूले सात रोपनी क्षेत्रफलमा लगाएको जुनार गत वर्षको तुलनामा ४० प्रतिशत भन्दा बढी उत्पादन भएको बताइन् । ओख्रेनीका अर्का किसान शेरबहादुुर तामाङले पनि आफूले २० रोपनीभन्दा बढी जग्गामा गरेको जुनार खेतीको उत्पादन गत वर्षको तुलनामा ३५ प्रतिशतले बृद्धि भएको बताए । ओख्रेनीका मात्र नभइ सुकाजोरका रामकुमार कार्की र ज्ञानुका कार्कीको बगैँचामा पनि जुनार पहेँलपुर भएको छ । पुरुष मात्र होइन, जुनार उत्पादनमा महिलाको पनि त्यत्तिकै बढी सकृयता रहेको छ । जुनारको बगैँचाभित्र भटमास, तोरी, लसुन, प्याज, काउली जस्ता कोसेबाली र तरकारी बाली लगाएर छुट्टै आम्दानी गर्न सकिने हुनाले जुनार किसानले दोहोरो फाइदा लिने गरेका छन् । ओख्रेनीकै युगराज पाख्रिन, डेगराज तामाङलगायत किसानको बगैँचामा रहेको जुनारको उत्पादन पनि बढेको उनीहरूले बताएका छन् । रामेछाप नगरपलिकामा बढी जुनार उत्पादन हुने क्षेत्र हिमगङ्गा, रापमुर सुकाजोर, ओख्रेनी, गोठगाँउ र रामेछाप हो । रामेछाप नगरपालिकाका बाली संरक्षण अधिकृत कृष्ण भुजेलले वडाहरूमा गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन झण्डै ५० प्रतिशतले वृद्धि भएको बताए ।
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीको अध्यक्षमा बस्याल
बाँके । राष्ट्रिय दलित पत्रकार संघ नेपालको लुम्बिनी प्रदेश अधिवेशनबाट बाँकेका टेकेन्द्र बस्यालको अध्यक्षतामा लुम्बिनी प्रदेशको कार्य समिति निर्वाचित भएको छ । जसको बरिष्ठ उपाधयक्षमा लोकेन्द्र सुनार (प्युठान), उपाध्यक्षहरु कृष्ण दर्नाल (पाल्पा) र भरत नेपाली (रोल्पा), सचिव अनिल नेपाली (अर्घाखाँची), सहसचिवहरुमा विवेक विश्वकर्मा (रुपन्देही) र अमृतकुमार नेपाली (दाङ) तथा कोषाध्यक्षमा बिधुत्मा रैका (बाके) रहनुभएको मछ । सदस्यहरुमा जगलाल नेपाली (रुपन्देही), सिग्मति रैका (नवलपरासी), रामबहादुर गन्धर्व (कपिलवस्तु), रामसरण रैदाश (कपिलवस्तु), रावन बिश्वकर्मा (बर्दिया) र अनिता नेपाली (बाके) निर्वाचित हुनुभएको छ ।
भरतपुर वडा नम्बर ६ बालमैत्री वडा घोषणा
चितवन । भरतपुर वडा नम्बर ६ लाई बालमैत्री वडा घोषण गरिएको छ । एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा गर्नुभयो । भरतपुर ६ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका ५ वटा वडा बैलमैत्री घोषणा भएका छन् । यस अघि भरतपुर १४, १३, २३ र २१ घोषणा भइसकेको छ । भरतपुरलाई आथिर्क वर्ष २०८३ /०८४ मा पूर्ण बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ । बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचकहरु तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधि अनुसार केही सुचक सत प्रतिशत र केही ८० प्रतिशत पुरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका ४ वटा खम्बा रहेका छन् । सहभागिता, विकास, संरक्षण, बाच्न पाउने अधिकार रहेका छन् । यी सूचकहरु पुरा भएकाले वडा नम्बर ६ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिनुभयो । वि.सं.२०७६ सालमा भरतपुर–१४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो। भरतपुरलाई बालमैत्री नगर बनाउन २०६८ सालदेखि नै अभियान थालिएको हो। भरतपुर महानगरपालिका प्रमुख दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको उल्लेख गर्नुभयो । उहाँले बालबालिकाको शिक्षा स्वास्थ्य लगायतका कुरामा आफुहरु लागिपरेको भन्दै अभिभावक पनि जिम्मेवार भएर लाग्न अुरोध गर्नुभयो । अपाङ्गता भएका बालबालिकाहरुको शिक्षाका लागि छुट्टै स्रोत कक्षा समेत सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । महानगरपालिकामा सडक बालबालिका समेत नरहेको उहाँले जानकारी दिनुभयो । भरतपुरमा बालबालिकाविरुद्ध हुने सबै खाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध महानगर बनाउन प्रतिवद्ध रहेको उहाँको भनाई छ। उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताउनुभयो । अधिकारीले महानगरपालिका पूर्वाधार विकाससँगै सामाजिक र मानव अधिकारका विषयमा त्यतिकै ध्यान दिएको बताउनुभयो । घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नु पर्ने बताउनुभयो । बालमैत्री घोषणासँगै थप चुनौती र जिम्मेवारी थपिएको उहाँको भनाई छ । कार्यक्रम वडा अध्यक्ष कृष्णलाल श्रेष्ठको अध्यक्षतामा भएको हो।
हुम्लामा हिमपात, जनजीवन प्रभावित
हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो । आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए । यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै किसान खुसी भएका छन् । हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।
गुनासो नआउने गरी काम गर्न मेयर दाहालको निर्देशन
भरतपुर । भरतपुर महानगरपालिको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०८१/८२ को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले निर्माणधीन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गर्नुभयो । भरतपुरमा निर्माणधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीब्र रुपमा अघि बढेको बताउनुभयो । रंगशालाको काम अहिले १२ प्रतिशत पुरा भइसकेको छ । भ्रष्टाचार विरुदको अभियान चितवनको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरुले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए । सहभागीहरुले ६ लेन सडकमा ट्राफिक लाईट राख्नुपर्ने, फोहर व्यवस्थापन, घरबाहल कर, ड्रेनको निर्माण, भरतपुरका सडकको मापदण्ड, विमानस्थलको विस्तारलगायतका प्रश्न सोधेका थिए । सहभागीहरुले गुनासो तथा सुझावहरुको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी लगायतले जवाफ दिनुभएको थिए । भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुरमा मुख्य चोकमा ५ वटा ट्राफिक लाईट राख्ने कार्यलाई अगाडि बढाइएको बताउनुभयो । यस्तै उहाँले संघीय खानेपानी तथा सरसफाई योजनाबाट हुन लागेको ३ अर्बको योजनाको डिपिआर बन्ने अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । भरतपुरलाई सौन्दर्यकरण गर्न मापदण्ड विपरितका संरचना भत्काउने कार्य निरन्तर रुपमा अघि बढिरहने उहाँको भनाई थियो । महानगरपालिकाको आन्तरिक आय कम हुँदा हुँदै पनि सक्रिय पहल र समवन्यमा ठुला ठुला विकास निर्माणका कार्यहरु अगाडि बढाउन सकिएको उल्लेख गर्नुभयो । ६ लेन सडक निर्माण भए पश्चात सर्भिस लेनमा पाकिङ हुने समस्या हटेर जाने विश्वास व्यक्त गर्नुभयो । यसका लागि कार्यदल बनाएर काम भइरहेको जानकारी दिनुभयो । मेयर दाहालले कुनै पनि कुरामा गुनासो नआउने गसरी काम अगाडि बढाउन सम्बन्धीत महाशाखा, शाखाका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले महानगरपालिकाको कामलाई छिटो छरिदो बनाउन नयाँ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गर्न लागेको पनि प्रष्ट पार्नुभयो । कार्यक्रममा कार्यक्रममा जिल्ला समवन्य समिति चितवनका प्रमुख नारायणप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, चितवन प्रहरी प्रमुख गौतम मिश्रको उपस्थिति रहेको थियो ।
मुगुको लिब्रुगाउँमा गाडी पुग्दा बाजागाजाले स्वागत
मुगु । मुगुको उत्तरी सोरु गाउँपालिकाका– ४ लिब्रुमा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी भएका छन् । सोरु गाउँपालिकाको केन्द्र सोरुकोट मसिनमेला हुँदै लिब्रु सडकको १३ किलोमिटर ट्र्याक खुलेसँगै बिहीबार पहिलोपटक लिब्रुमा गाडी पुगेको हो । यो सडक निर्माणमा सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत करिब दुई करोड लगानी भएको छ । बिहीबार सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले संयुक्त रूपमा सडक उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै सोरु गाउँपालिकाका अध्यक्ष शाहीले चुनावका वेला कर्णाली करिडोर जोड्ने र गाउँ–गाउँमा विद्युत् र सडक पुर्याउने प्रतिबद्धता गरेको स्मरण गरे । सोरु गाउँपालिकामा ११ वडाका ५६ बस्तीमध्ये अधिकांश वडाका बस्तीमा सडक सञ्जाल जोडिएको छ । हरेक वडा–बस्तीमा सडक जोड्ने लक्ष्यअनुसार करिब ५० बस्तीमा सडक पुगेको र बाँकी बस्तीमा आगामी वर्षसम्म जसरी भए पनि सडक पुर्याउने अध्यक्ष शाहीले बताए । यो सडकको हुम्लामा बेलिब्रिजको व्यवस्थापन गरी कर्णाली करिडोरमा पनि जोडिने उनले बताए । सोरुकोट–मसिनामेला हुँदै लिब्रु जोड्ने सडकले पालिकाका नागरिकलाई मात्र नभई हुम्लाका नागरिकलाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । हुम्लाका सर्केगाडा, अदानचुली र चंखेली गाउँपालिकाका स्थानीयले पनि यो सडकबाट लाभ लिनेछन् । उनीहरूलाई बैंकिङ सेवा लिन हुम्ला सदरमुकाम सिमीकोट जानुभन्दा सोरुकोट आउन सहज हुने सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए । सोरुकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा छ । स्वास्थ्य उपचार तथा व्यापारमा पनि यो सडकले सहजता प्रदान गर्ने शाहीले बताए । गाउँपालिकाको लिब्रुमा सिमी, मास, केराको राम्रो उत्पादन हुने गर्दछ । यातायातको सुविधा नहुँदा यसले राम्रो बजार पाएको थिएन । गाउँमै गाडी पुगेपछि गाउँमा उत्पादित फलफूल र तरकारीको बजारीकरण सहज हुने स्थानीय अगसरा शाहीको विश्वास छ ।
राप्ती गाउँपालिकामा दुई सयबढी कुकुरको बन्ध्याकरण
भालुबाङ । दाङको राप्ती गाउँपालिकामा पालिका क्षेत्रभित्र रहेका दुई सय बढी कुकुरको बन्ध्याकरण गरिएको छ । गाउँपालिका क्षेत्रमा सामुदायिक कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायालाई समेत क्षति पु¥याउन थालेपछि शिविर नै सञ्चालन गरेर बन्ध्याकरण गरिएको गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिनुभयो । शिविरमा एक सय १६ वटा भाले र ८९ वडा पोथी कुकुर गरी दुई सय पाँचवटा कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ । गाउँपालिकाले भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङसँगको सहकार्य एवं हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा) को प्राविधिक सहयोगमा बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन गरिएको हो । घरमा पालेका कुकुरलाई बेला–बेलामा रेविजविरुद्धको भ्याक्सिन लगाउने गरे तापनि सामुदायिक कुकुरहरूको उपचार र भ्याक्सिनेसन गर्ने काम राज्यको भएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । उहाँले पशुपंक्षीहरुमध्ये कुकुर मानिसको सबै भन्दा नजिकको साथी भएको र घरलगायत अन्य काममा समेत सुरक्षा प्रदान गर्ने भएकाले पालिकाले कुकुरहरुको उन्मूलन नभई व्यवस्थित गर्न लागेको बताउनुभयो । त्यस्तै उहाँले सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न बन्ध्याकरण तथा रेविज खोप शिविरले ठूलो सहयोग पुग्ने बताउनुभयो ।
दिव्यनगर स्वास्थ्य चौकीको २ तले भवनको मेयर दाहालद्धारा शिलान्यास
चितवन । पश्चिम चितवनको दिव्यनगर स्वास्थ्य चौकीको २ तले भवनको बिहिबार शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरमा रहेका अधिकांश अस्पताल सदामुकाम केन्द्रित रहेकाले जनताको घरघरमै सेवा पुराउन दिव्यनगरमा नयाँ स्वास्थ्य चौकी निर्माण गर्न लागेको बताउनुभयो । सामान्य भन्दा सामान्य उपचार गर्न १ दिनको समय लिएर सदारमुकाम जानुपर्ने विगतको अवस्था स्वास्थ्य चौकी निर्माण भएपछि हटेर जाने विश्वास व्यक्त गर्नुभयो । संघीय गणतन्त्रको मर्म र भावना अनुसार महानगरपालिकाले एक वडा एक स्वास्थ्य संस्था निर्माण गर्ने कार्यलाई निरन्तरता दिइरहेको उहाँको भनाइ थियो । प्रमुख दाहालले वडामा रहेका पुराना स्वास्थ्य चौकीको स्तरोन्नित गर्ने, जनशक्तिको उचित व्यवस्थापन, स्वास्थ्य चौकी नभएको ठाँउमा स्वास्थ्य चौकी निर्माण गर्ने कार्य महानगरले विगतदेखि नै गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले निर्माणाधिन स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरीय ढंगले निर्माण कार्य अगाडि बढाउन आग्रह गर्नुभयो । भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यो स्वास्थ्य केन्द्र सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । मुल्य अभिवृद्धि करसहित रु १ करोड ६८ लाखमा ठेक्का सम्झौता भएको भवन आगामी जेठ महिनासम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । यो भवन निर्माण भएसँगै पश्चिम चितवनवासीको घरदैलोमा थप स्वास्थ्य सेवा पाउने छन् । निर्माणको जिम्मा देउराली शर्मा जेभिले पाएको छ । स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर, बहुउद्देश्य हल, १४ वटा कोठा रहने छन् । शिलान्यास कार्यक्रम वडा अध्यक्ष ज्ञानप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
जुम्लाका ६० वडामा एकै दिन खबरदारी सभाको तयारी
जुम्ला । नेकपा माओवादी केन्द्र जुम्लाले कात्तिक २९ गते बिहीबार जुम्लामा हुने खबरदारी सभाको तयारी गरेको छ। कार्तिक २६ गते अर्थात सोमबार बसेको पदाधिकारी बैठकले सुशासन, सामाजिक न्याय, भ्रष्टाचार, कुशासन,कुरिती तथा सहकारी विषयमा आमसभामार्फत खबरदारी गर्न लागिएको छ। जुम्लाका ६० वडामा खबरदारी सभा गरिने जिल्ला पार्टी इन्चार्ज नरेश भण्डारीले बताए। उनका अनुसार सिञ्जा सभ्यता विधेयकका विषयमा गरिएको झुटो प्रचारप्रसारका विरुद्ध यथार्थ र अन्य जिल्लाका गौरवका आयोजनाबारे कार्यकर्ता तथा स्थानीय नागरिकहरूलाई सन्देश प्रवाहित गरिनेछ। खबरदारी सभा सरकारले गरेका पक्षपात, भ्रष्टाचार र बेथितिविरुद्ध हुने भएकाले सम्पूर्ण पार्टीका कार्यकर्ता सहभागी हुने अपिल भनिएको छ। समसामयिक राष्ट्रिय राजनीति जनतामाझ सत्यतथ्य कुरा पुर्याउन खबरदारी सभा आयोजना गर्न लागिएको जिल्ला पार्टीको संयोजक नवराज न्यौपानेले बताए।
लुम्बिनी विकास कोषको ७७ करोड ५५ लाख बजेट पारित
लुम्बिनी । लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१र८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले ७७ करोड ५५ लाख ९२ हजारको आयव्यय अनुमानित बजेट पारित गरेको हो । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्ताव गरेको बजेटमा आन्तरिकतर्फ ३२ करोड ५५ लाख ९२ हजार र सरकारको अनुदान ४५ करोड गरी उक्त आम्दानी खर्चको अनुमान गरेको हो । कोषका सदस्यसचिव सानुराजा शाक्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित गरिएको छ । प्रस्तुत बजेट नीति र कार्यक्रमले आय बढाउन दर्शनार्थीको सङ्ख्या बढाउने, दियो बत्तीको सेवालाई थप वृद्धि विस्तार गर्ने, उपहार, दान तथा चन्दा व्यवस्थापन गर्ने, काठ लिलाम बिक्री, पार्किङ, लुम्बिनी प्रवर्द्धनात्मक सामग्री उत्पादन र वितरणमा प्राथमिकता दिएको छ । व्ययतर्फ लुम्बिनी गुरुयोजनाको कार्यान्वयन, युनेस्को विश्व सम्पदा कमिटीका सुझाव कार्यान्वयन, पूर्वाधार निर्माण, तिरौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने र स्थानीय तहसँगका सहकार्य व्यय गर्ने योजना प्राथमकितामा छन् ।
राप्ती गाउँपालिकामा निःशुल्क घुम्ती शौचालय
भालुबाङ । दाङको राप्ती गाउँपालिकाले यात्रु र स्थानीयका लागि नि:शुल्क घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ। एशियाली विकास बैंक र जापान फण्ड फर प्राेवर्टी रिडक्सन (जेएफपीआर)को अनुदान सहयोगमा खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले मझौला र साना सहरहरूमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलमार्फत कोभिड-१९ रोकथाम तथा नियन्त्रण आयोजना मार्फत उपलब्ध साे शौचालय सञ्चालनमा ल्याइएको हाे। उपलब्ध दुई घुम्ती शौचालयमध्ये एउटा वडा नम्बर २ को लालमटियामा सञ्चालन गरिएको छ भने अर्को शौचालयलाई मेला, महोत्सव र विशेष कार्यक्रममा प्रयोग गरिने गाउँपालिकाले जनाएको छ। उक्त शाैचालयमा एउटा अपाङ्ग मैत्री शाैचालय सहित ५ वटा शाैचालय रहेको छ। लालमटियामा सञ्चालनमा आएको शौचालयको व्यवस्थापन लालमटिया बजार व्यवस्थापन समितिले गर्नेछ। यो गाउँपालिकामा नेकपा माओवादी केन्द्रका युवा नेता प्रकाश बिष्टले नेतृत्व गरिरहनुभएको छ । पालिकाले विभिन्न रचनात्मक र जनमुखी काम गर्दै आएको छ ।
दोस्रो भरतपुर–१९ साँस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव २०८१ को उद्घाटन
भरतपुर । दोस्रो भरतपुर–१९ साँस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव २०८१ आजदखि सुरु भएको छ । महोत्सवको एक समारोहका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताउदै गएको पर्यटनलाई उकास्न सहयोग गरको बताउनुभयो । पर्यटन व्यावसायमा देखिएको निराशालाई आशामा परिणत गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरेसँगै यस बीचमा आर्थिक गतिविधि चलायमान भएको उहाँको भनाई छ । भरतपुरमा पूर्वाधार विकासले मात्र पुग्दै भनि यसलाई पर्यटकीय गन्तव्यका रुपमा देश विदेशमा परिचित गराउन भ्रमण वर्ष आयोजना गरिएको उहाँको भनाइ छ । भरतपुर भ्रमण वर्षले सिंगो चितवनको पर्यटन व्यवसायलाई नै टेवा पुगेको उहाँले उल्लेख गर्नुभयो । महानगरमा भ्रमण वर्षको अवसरमा विभिन्न संघ संस्था, निकायको समवन्य तथा आयोजनामा धेरै वटा मेला, महोत्सव तथा सभा सम्मेलन भएको स्मरण पनि गर्नुभयो । आर्थिक मन्दी र आम जनतामा भएको निराशालाई हटाउन निजी क्षेत्रको सहकार्य र भरतपुर महानगरको आयोजना गरिएको भरतपुर भ्रमण वर्ष २०२४ उत्सवै उत्सवको वर्ष बनेको छ । यहाँ आउने पर्यटकलाई लक्ष्ति गरी होटल तथा रेष्टुरेष्टहरुले ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । भरतपुरमा प्याराग्लाईडिङ–बोटिङ, जंगल सफारीदेखि होमस्टेसम्मको मज्जा लिन सकिन्छ । महानगरपालिकाले मुख्य ७ पर्यटकीय गन्तव्यसहित विभिन्न ४० वटा गन्तव्यको पहिचान पनि गरिसकेको छ । कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्त, वडा नम्बर १९ का अध्यक्ष प्रकाश तमाङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका सय बढी स्टलहरु रहेका छन् । भरतपुर १९ शारदानगर, हेल्थ पोष्ट चौरमा सुरु भएको महोत्सव कार्तिक २५ देखि मंसिर ९ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ
काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरबाट पक्राउ गरिएका उनलाई आज काठमाडौं पुर्याइँदैछ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारी मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराइ जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएकोमा जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काएको थियो । कात्तिक १३ गते जापान उडेका उनलाई टोकियो विमानस्थलमा ४८ घण्टा राखेर फिर्ता गरेको थियो । मानव तस्करी गरेर मन्त्री जापान गएको भन्दै विरोध भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । शनिबार एमालेको कोशी प्रदेश कमिटीले उनलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो भने शनिबार नै बसेको एमाले सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । आफूलाई फसाइएको दाबी गरेका अधिकारीले अनुसन्धानमा सघाउने बताएका छन् । उनीसँगै जापान गएकाहरुलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।