साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण :  प्रधानमन्त्री

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण :  प्रधानमन्त्री

सल्यान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताएका छन् ।

दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल बनाउन लागिएको बताए।

“योजनामा देखिएको दोहोरोपना अन्त्य गर्ने, ३ करोडभन्दा साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी प्रयासहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्नेछन् ।” 

आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपश्चात सबैभन्दा बढी ध्यान सङ्घीयता कार्यान्वयनमा लगाइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठकहरू सम्पन्न भई महत्त्वपूर्ण निर्णयहरू भएको बताए।

स्थानीय तहले सङ्घीयताको असल अभ्यास गर्न सकेमा प्राकृतिक साधनस्रोतको संरक्षण र बहुआयमिक परिचालन, ग्रामीण अर्थतन्त्रको सशक्तिकरण, सामाजिक सूचकहरूमा बढोत्तरी लगायतका रणनीतिक महत्त्वका कामहरूको साथै सेवाप्रवाहका क्षेत्रमा महत्त्वपूर्ण काम गर्न सकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहको साझा अधिकार सूचिसमेतको सही अभ्यास हुँदा स्थानीय तहले ग्रामीण अर्थतन्त्रको सवलीकरणसहित राष्ट्रिय अर्थतन्त्र निर्माणमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

null

सरकार भन्नेवित्तिकै नागरिकको मन मस्तिष्कमा स्थानीय जनप्रतिनिधि र कर्मचारीहरू नै अग्रपङ्क्तिमा आउने उल्लेख गर्दै उहाँले स्थानीय जनप्रतिनिधि, कर्मचारी र सुरक्षा अङ्गको सोच्ने तरिकाले नै त्यहाँका सेवाप्रवाह थाहा हुने बताए। 

“सेवाप्रवाह कति चुस्त र जनउत्तरदायी छ भन्ने कुराले सरकारको छवि आम नागरिकमा स्थापित हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसर्थ, राज्यप्रति नागरिकको आत्मीयता र अपनत्वबोधका निम्तिसमेत स्थानीय सरकार र जनप्रतिनिधिहरूले काम गर्नुपर्दछ ।”

दार्माको मुकाम फारूला छोएर रोल्पाबाट सल्यान, रूकुम पश्चिमको चौरजहारी, जाजरकोट हुँदै जुम्ला जिल्लाबाट रारा जोड्ने सडकको कालोपत्रेका लागि सरकारको तर्फबाट आवश्यक पहल लिइने बताउँदै प्रधानमन्त्रीले दुग्ध सहकारीहरूमार्फत दार्मालाई दुध पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम अगाडि बढाउन सङ्घीय सरकारको तर्फबाट सहयोग हुने विश्वास दिलाए।

null

जाजरकोट भूकम्पका लाभग्राहीहरूको आवास निर्माण, विद्युतीकरण, कृषि र पशुपालनको आधुनिकीकरण र व्यवसायीकरण, आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति, समानीकरण अनुदान लगायतका कुरामा सङ्घीय सरकारको गम्भीर ध्यान जाने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी ऐन जारी हुनेबित्तिकै रोल्पा, रूकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूमा जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सहज हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शहीदहरूको सम्मान, द्वन्द्वपीडित परिवारमा राहत, सन्ततिहरूको शिक्षादीक्षा र अभिभावकत्व लगायतका विषयहरूको उचित सम्बोधन हुने बताउनुभयो । उहाँले नेपालको परिवर्तनकारी आन्दोलनमा गुणात्मक योगदान पुर्‍याउँदै आएको सल्यान जिल्ला र दार्मा गाउँपालिकाले परिवर्तनकारी नीति र नेतृत्वका पक्षमा जाहेर गरेको ऐक्यवद्धताप्रति आभार व्यक्त गर्नुभयो । 

सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन : मन्त्री गिरी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सोमबारको प्रतिनिधि सभा बैठक चलाउन सभामुखसँग अर्को विकल्प नभएको बताएका छन् ।  प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गिरीले सभामुखले प्रमुख प्रतिपक्ष लगायतका दलहरूको अवरोधबिना बैठक सञ्चालन गर्नका लागि अन्तिमसम्म प्रयास गरेको बताएका हुन् । उनले सभामुखको सो प्रयास सफल नभएपछि बैठक सञ्चालन गर्नुको विकल्प नभएको जिकिर गरे ।  मन्त्री गिरीले कार्यदलले संसदीय छानबिन समितिको कार्यादेशको सम्बन्धमा छलफल गरिरहेको अवस्थामा नेपाली कांग्रेसले संसद् बैठक रोक्नुपर्ने कारण नभएको बताए । उनले संसदभित्रको समस्याहरूलाई छलफलबाट समाधान गर्नुपर्ने भन्दै देश र जनताको हितको मुद्दा उठाउन नेपाली कांग्रेसलाई आग्रह गरे । उनले स्वार्थ पूरा गर्नेगरी र सत्ताको भर्‍याङ बनाउनेगरी मुद्दा नउठाउन पनि आग्रह गरे । मन्त्री गिरीले संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउनका लागि कार्यदलको बैठक भोलि (मंगलवार) बस्ने पनि बताए । 

मिनी बस दुर्घटनामा दुईको मृत्यु

सुर्खेत। दैलेखको दुल्लु नगरपालिकाको भुकाँहदेखि सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनी बस दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका(७ को गोजेनी जङ्गल नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  सो दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूको सनाखत हुन बाँकी छ । बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरूको उपचारको लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली कियरमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको हो । 

राष्ट्रिय सभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गरौं : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध गरेपछि अध्यक्ष दाहालले गतिरोध अन्त्यका लागि राष्ट्रिय सभालाई माथिल्लो सभाका हैसियतले अभिभावकीय भूमिका खेल्ने अवस्था बनाउन लाग्नुपर्ने बताए । “समस्या समाधानका लागि राष्ट्रिय सभालाई अभिभावकीय भूमिका खेल्ने गरी सल्लाह, सुझाव दिनेखालका गतिविधि आवश्यक छ । त्यसका लागि प्रतिपक्षी दलले पनि सहयोग गर्नुपर्छ”, अध्यक्ष दाहालले भने । उनले महत्त्वपूर्ण विधेयक, नीति तथा कार्यक्रममाथिको छलफल, बजेट प्रस्तुतिलगायत कार्यभार रहेकाले संसद्का बैठक नियमित सञ्चालनका लागि आग्रह गरे । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरुले भने आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि अध्यक्ष दाहालले आजको बैठक स्थगन गरे । राष्ट्रिय सभाको अर्को बैठक यही जेठ ८ गते मङ्गलबार अपराह्न १ः१५ बजे बस्ने गरी स्थगित भएको छ । नेपाली काँग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

इरानका राष्ट्रपति रइसीको निधनप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको घटनाले आफुलाई दुःखी बनाएको बताएका छन्।  आज प्रधानमन्त्री प्रचण्डले आफ्नो व्यक्तिगत एक्स हेन्डल मार्फत राष्ट्रपति इब्राहिम रइसी निधनप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै शोकको यस घडीमा दिवंगत राष्ट्रपति रइसीको परिवार र इरानको सरकार र मित्र राष्ट्र इरानका जनताप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । हिजो पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार थिए । I am deeply saddened by the tragic demise of H.E. Dr. Seyyed Ebrahim Raisi, President of the Islamic Republic of Iran. At this hour of grief, I extend my heartfelt condolences to the family of the late President Raisi, and to the government and friendly people of Iran. — ☭ Comrade Prachanda (@cmprachanda) May 20, 2024

लोकप्रिय