ठोरी छोटी भन्सार पुनः सञ्चालनमा, अस्थायी सवारी पास सहजै पाइने

चितवन । ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। एक समारोहका बिच प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गरे।
त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी (केरुङ)को प्रवेश बिन्दु ठोरी नाका रहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ का सन्दर्भमा भरतपुर महानगरपालिकाले नाका सञ्चालनमा पहल गरेसँगै लामो समय बन्द रहेको नाका सञ्चालनमा आएको हो । भरतपुरबाट सबैभन्दा छोटो दुरीमा भारत जोडिएको स्थान ठोरी हो । भरतपुरबाट ठोरी ७० किमी दुरीमा रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्सारलाई सहज, व्यवस्थित र नियमित रुपमा सञ्चालनमा ल्याउन ठोरी गाँउपालिकाको मुख्य भूमिका रहने उल्लेख गर्नुभयो । लामो समयको पहलपछि नाकालाई पुनः सञ्चालनमा ल्याउन सकिएको उनले प्रष्ट पारिन्। नाका सञ्चालनमा आएपछि भारतबाट ठोरी हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगञ्ज र भौरवहा नाकाबाट लिने अस्थायी पासको झन्झट हटेर गएको बताए।
भन्सार विभागका महानिर्देशक डुण्डी प्रसाद निरौलाका अनुसार भारतीय नम्बर प्लेटको एउटा सवारीले एक वर्षभित्र ३० दिन नेपालमा अस्थायी पास लिएर सवारी चलाउन पाइने छ । भन्सारलाई थप स्तरोन्ती गर्न अहिले अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि थप निक्र्यौल निस्किने उनको भनाइ थियो।
भन्सार सञ्चालनमा आएपछि ठोरीवासी हर्षित देखिएका छन् । भन्सार नहुँदा सवारी चढेर नेपाल आउने पर्यटक सिमानाबाट फिर्ता हुने गरेका थिए। अब अस्थायी पासको व्यवस्था भएसँगै निर्वाध रुपमा नेपाल आउन सक्ने छन् ।
ठोरीका पर्यटन व्यवसायी सुदिप थापाले भन्सार सञ्चालनमा आएसँगै राहत मिलेको बताउनुभयो । यसले भरतपुर भ्रमण वर्षलाई पनि टेवा पुग्ने विश्वास गरे। विदेशी पर्यटक नेपाल आउँदा समग्र राष्ट्रको आर्थिक विकासमा सहयोग पुग्ने भएकाले नाकाले सहज सेवा दिनुपर्ने उल्लेख गरे। भन्सार स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सन्दर्भमा हालै संघीय मन्त्रीपरिषद् (क्याबिनेट)ले निर्णय गरेको थियो ।
पर्साको छोटी नाका मध्ये सबैभन्दा बढी चल्ती अवस्थामा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब २ वर्ष अगाडी निर्माण गरी तयारी अवस्थामा थियो । यसअघि, गतबर्ष माघ २७ मै सो भन्सारको सेवा सुरुवात हुने भएपनि कतिपय प्रक्रिया पुरा नभएको भन्दै अन्तिम समयमा राकिएको थियो ।
कोसी, वाग्मती र गण्डकीमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा वर्षाको गतिविधि बढ्ने देखिएको विभागले जनाएको हो। विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। विशेषगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसबाहेक कोसी र वाग्मती प्रदेशका पहाडी भूभागमा एकदुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। यस क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको बताइएको छ। रातिको पूर्वानुमानअनुसार, देशभर साधारणतया बदली रहनेछ भने कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ। यी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने देखिएको छ। विभागले संभावित भारी वर्षाको कारण पहिरो, बाढी र जलस्रोतको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सबैलाई अनुरोध गरेको छ। विशेषगरी हिमाली र उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ।
मौसम पूर्वानुमानः भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभरको मौसम आगामी २४ घण्टासम्म सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने विभागले पूर्वानुमान गरेको छ। यससँगै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ। बिभागले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी भू–क्षय, बाढी तथा पहिरोको जोखिम हुने स्थानहरूमा सतर्क रहन नागरिकहरूलाई अनुरोध गरिएको छ।
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : अध्यक्ष प्रचण्ड
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र दलाल पूँजीलाई नियन्त्रण गर्ने योजनाबद्ध प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सरकारको नेतृत्व गर्दा राष्ट्रिय पूँजी प्रवर्द्धन कसरी गर्ने भन्नेमा ध्यान केन्द्रित गरेका थियौं। हाम्रो नीति र कार्यक्रमहरू हेर्ने हो भने, त्यसको मूल मर्म दलाल पूँजीपतिलाई नियन्त्रण गर्दै राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र सुशासन कायम गर्ने मा नै केन्दृत थियो। तर, दुर्भाग्यवश, यो कुरा ९ तपाईंहरू० राष्ट्रिय पूँजीपतिले भन्दा दलाल पूँजीपतिले पहिले बुझे। उनीहरूलाई लाग्यो—यदि माओवादी सत्तामा बस्यो भने, उनीहरूको स्वार्थमा आँच आउँछ। त्यसैले सरकार को नेतृत्व आफूले नेतृत्व गर्न सक्ने अवस्था त भएन । सोहि कारण उनीहरूले कांग्रेस र एमालेलाई खरिद गरेर सत्ता समीकरण बनाए। यो कुरा म विगतदेखि भन्दै आएको छु।” अध्यक्ष प्रचण्डले जनजीविकासँग प्रत्यक्ष जोडिएका ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइएको स्मरण गर्दै भन्नुभयो, “सरकारको नेतृत्व गर्दै गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता परियोजनाहरूको अवधारणा ल्यायौं। ती योजनाहरूले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन्। रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको क्रान्तिकारी परिवर्तन अनुभव गरिसकेका छन्। पछिल्लो सरकार सञ्चालनका क्रममा हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्यौं, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्याएको छ।” उहाँले माओवादी नेतृत्वको सरकारले विद्युत् लोडसेडिङ अन्त्य, किसानको ऋण मिनाह, र सामाजिक न्यायको कार्यान्वयन जस्ता जनपक्षीय कामहरू गरेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि जनताको पक्षमा उभिने नीतिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा महासंघका प्रतिनिधिहरूले वर्तमान आर्थिक संकट, लगानीको वातावरण, र नीति स्थायित्वका विषयमा आफ्ना जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासंघका फ्याक्सन इञ्चार्ज गंगा कार्कीले पनि सम्बोधन गर्नुभएको थियो।
आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।