उपल्लो डोल्पामा बाह्र वर्षे मेला सुरु
डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका ३ साल्दाङस्थित शेल गुम्बामा १२ वर्षे शे सुरु भएको छ। दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्व शान्तिको भन्ने मूल नाराका साथ ६७ औँ मेला सुरु भएको गाउँपालिकाका उपाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिनुभयो ।
प्रत्येक १२ वर्षमा एक पटक लाग्ने मेलाले विश्वमा शान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक धार्मिक तथा सांस्कृतिक पहिचान समेत झल्काउने गर्दछ । यस मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहासिक, प्राकृतिक तथा पुरातात्त्विक सम्पदाको विश्वसामु प्रचारप्रसार हुने आयोजकले जनाएको छ।
रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वी डुपतोप सिंगे यिशेको सम्मान स्वरूप लाग्ने यो मेलाबाट समग्र डोल्पो दर्शन समेत बुझ्न सकिने बताइएको छ। मेलामा सहभागी हुन पूर्व मन्त्री तथा डोल्पाका लागि संघीय सांसद धनबहादुर बुढा, डाक्टर सन्दुक रुइत लगायत बौद्ध धर्मालम्बीहरूका प्रमुख लामाहरू समेत पुगेका छन्। मेला चार दिनसम्म सञ्चालन हुने बताइएको छ।
कर्णालीबासीको प्रश्न– अघिल्लो सरकारले पारित गरेको सिञ्जा सभ्यता संरक्षण विधेयक खोई ?
जुम्ला । सरकारले सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको लामो समयसम्म पनि विधेयक अघि नबढाइएको भन्दै कर्णालीबासीले बिरोध जनाएका छन् । कर्णालीबासीको तर्फबाट जुम्लाका नेता नरेश भण्डारीले प्रधानमन्त्री र मुख्यसचिवलाई सार्वजनिक पत्र लेख्दै भन्नुभएको छ– ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्न प्रचण्ड सरकारको मन्त्रीपरिषद्ले निर्णय गरेको छ । तत्कालीन कानुन मन्त्री धनराज गुरूङ नेतृत्वको बिधेयक समितिले एक वर्ष बन्धक बनाएको विधेयक निवर्तमान गृहमन्त्री रबि लामिछाने नेतृत्वको बिधेयक समितिको बैठकले सहमति दिने निर्णय गरेको छ ।’ विधेयकमाथि अर्थ र कानुन मन्त्रालयको सहमतिसँगै १२ बुँदे अवधारणा पत्र र प्रस्तावित बिधेयकको मस्यौदा पेश भए पनि अघि नबढाइएको भन्दै भण्डारीले आपत्ति जनाउनुभएको छ । ‘विधेयक आवश्यक छ, प्रक्रिया पनि पुगेको छ तर तपाई नेतृत्वको सरकारले किन बिधेयक प्रमाणीकरण गरेको छैन ?’– प्रधानमन्त्रीलाई प्रश्न गर्दै भण्डारीले लेख्नुभएको छ– ‘बिधेयक प्रमाणीकरण प्रक्रियाले होइन पूर्वाग्रह र कुशासनले रोकेको छ भन्ने निष्कर्षमा जुम्ला तथा कर्णालीवासी मात्र नभई नेपाली भाषा, सभ्यता र संस्कृतिलाई माया गर्ने समस्त नेपालीहरू पुग्न कठिन छ र ?’ बिधेयक प्रमाणीकरण गर्न जुम्ला तथा कर्णालीबासीले आन्दोलनको सहारा लिनु पर्ने हो भनेर प्रश्न गर्दै भण्डारीले भन्नुभएको छ– ‘सुर्खेतदेखि सिंहदरबारसम्मको संघर्षका क्रममा मैले मात्र यस बिधेयकका लागि दुई सय भन्दा ज्यादा दिनहरू उपयोग गरेको छु । पहल समिति सहसंयोजक बलबहादुर महत, भिमनीधि हमाललगायत पहल समिति सदस्यहरू तथा क्रियाशील अन्य व्यक्तित्वहरूले कैयन दिन यसैका लागि योगदान गर्नुभएको छ ।’ कर्णालीका सिञ्जा सभ्यता, हुम्लाको हुल्मु जातिलाई जनजातिमा सूचिकृत गर्ने र सल्यान क्याम्पसलाई आंगिक बनाइने निर्णय बाहेक एउटै क्याबिनेटबाट पारित भएका अन्य निर्णय प्रमाणीकरण भइसकेको उल्लेख गर्दै उहाँले कर्णालीप्रति सरकारले गरेको यो प्रतिनिधिमूलक विभेद भएको टिप्पणी गर्नुभएको छ । ‘उल्लिखित निर्णयहरु प्रमाणीकरण गर्न सरकारलाई अनुरोध गर्दछुँ । अन्यथा कर्णालीवासीलाई सैह्य हुने छैन्’– भण्डारीले लेख्नुभएको छ–‘सरकारलाई हेक्का होस्, यस बिधेयक पारित गर्न दुई सय दिन होइन दुई हजार दिन संघर्ष गर्न तयार छौं ।’
पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध
जुम्ला । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो । उहाँले पहिरो पन्छाउने काम भइरहेको बताउनुभयो । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।
देउवा दम्पत्तिविरुद्ध फेसबुकमा टिप्पणी गर्ने युवाहरुलाई कागज गराएर छाडियो
धनगढी । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि फेसबुकमा टिप्पणी गरेको आरोपमा कैलाली प्रहरीले धनगढीका दुई युवालाई नियन्त्रणमा लिएर छाडेको छ । जिल्ला प्रहरी कार्यालयले फेसबुकमा ‘स्टाटस’ लेखेको आरोपमा धनगढीका प्रतीक जोशी र रचित शाहलाई मंगलबार दिउँसो नियन्त्रणमा लिई राति छाडेको हो । पक्राउ गर्नुको कारण खुलाएको छैन । तर, शान्तिसुरक्षामा खलल नपुर्याउने कागज गराएर उनीहरूलाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले मौखिक उजुरीका आधारमा दुईजनालाई केहीबेर नियन्त्रणमा लिइएको बताए । उनले कस्तो खालको उजुरी भन्नेबारे खुलाएनन् । ‘शान्तिसुरक्षाको सवालमा केही चुनौती आउन सक्ने भन्ने थियो, ल्याएर हिजै छोडेका छौँ,’ उनले भने, ‘यसबारे योभन्दा धेरै नबोलौँ ।’ फेसबुकमा आफूले कुनै आपत्तिजनक विषय नलेखे पनि प्रहरीले आफूलाई नियन्त्रणमा लिएको प्रतीकले बताए । ‘मुलुक अहिले वास्तवमा संकटै संकटमा छ, आमजनता संकटको अवस्थामा छन्,’ प्रतीकले लेखेका थिए, ‘संस्कार नभएका भनेर बोलेको लोकलाजको विषय बनेको छ । तपाईंहरूको प्रजातन्त्रमा यस्तै हुन्छ ?’ शान्तिसुरक्षामा खलल नपुर्याउने कागज गराएर प्रहरीले राति रिहा गरेको उनले बताए । रचितले पाँचपटक प्रधानमन्त्री हुँदा पनि पनि देउवाले केही काम गर्न नसकेको, भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्रीलाई पार्टीबाट कारबाही नगरेको र गिरीबन्धु घोटालाका आरोपितलाई प्रधानमन्त्री बनाएको आशयले स्टाटस लेखेका थिए । प्रतीकका अनुसार अपराह्न चार बजेतिर बोराडाँडीमा खाजा खाने क्रममा आएका प्रहरीले सोधपुछ गर्नु छ भनेर दुवैजनालाई नजिकैको प्रहरी बिटमा लगेका थिए । ‘त्यहाँबाट जिल्ला प्रहरी कार्यालय जानुपर्यो भनेपछि आफ्नै गाडीमा जिल्ला प्रहरीमा गयौँ,’ प्रतीकले भने, ‘डेढ घण्टासम्म परिसरमा राख्यो । पछि प्रहरीले फेसबुक प्रोफाइलमा के छ, पढाइ, राजनीतिक आस्था के हो भनेर सोधे ।’
साँस्कृतिक क्षेत्रको विकास अन्य क्षेत्र जस्तै महत्वपूर्ण छ : प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौतिक विकाससँगै साँस्कृतिक विकासलाई पनि अगाडि बढाउनुपर्ने बताउनुभएको छ । बुधबार भरतपुर २५ स्थिति बयरघारीमा रमाईलो साँस्कृतिक कला केन्द्रको उद्घाटन गर्दै उहाँले भौतिक विकासले मात्र मानिसलाई सन्तुष्टि नमिल्ने उल्लेख गर्नुभयो । खुसी र सुखी महानगर निर्माणमा महानगर अघि बढेकाले भौतिकसँगै सामाजिक, आर्थिक र साँकृतिक क्षेत्रमा समान रुपमा अघि बढेको उहाँले बताउनुभयो । महानगरमा भौतिक विकास उल्लेखीय रुपमा अघि बढिसकेकाले महानगरले अहिले आर्थिक, सामाजिक र साँस्कृतिक पक्षलाई विषेश प्राथमिकता दिएको उहाँको भनाई छ । कलाकेन्द्रको मध्यमबाट संस्कृतिको प्रर्वधन, जर्गेन तथा जागरण ल्याउन सकिने भएकाले यस्ता कार्यहरुले संस्कृतिको संरक्षण हुने प्रमुख दाहाले बताउनुभयो । ‘हिजोको दिनमा तीजका सन्दर्भमा दुःख र बेदनाको गीत गाउने परिपाटी थियो, उहाँले भन्नुभयो,‘अहिले व्यवस्था फेरिएको छ । महिलाहरु अधिकार सम्पन्न भएका छन् । महिलाहरु देशको नेतृत्वदायी भूमिकामा छन्। त्यसैले उत्सहाका गीत गाउनु होस्।’ प्रमुख दाहालले हिजोको समान्तवादी व्यवस्थामा महिलामाथि थिचोमिचो हुने, पुरुषले महिलालाई दमन गरेर घरयासी काममा मात्र लगाउने परिपाटी भएकाले त्यस्ता गीतहरु गाउने गरिएको उहाँले स्मरण गर्नुभयो । देशमा महिलाहरु राष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानन्याधिस, मन्त्री, मेयर,उपमेयर, वडाध्यक्ष भइसकेकाले उत्सहाका गीत गाउदै संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका वडा नम्बर २४ का अध्यक्ष रामबहादुर गोदारले भरतपुर २४ र २५ मा दलित र जनजातिको बाहुल्यता रहेकाले यहाँ धेरै प्रतिभाहरु रहेका बताउनुभयो । कला केन्द्रले नयाँ प्रतिभा जनाएर राष्ट्रिय कलाकार उत्पादनको केन्द्र बन्ने विश्वास गर्नुभयो । भरतपुर २५ को बयरघारीमा भएको कार्यक्रममा राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थियो । कार्यक्रमलाई हेममायाँ फाउण्डेशनका अध्यक्ष हेम थापा र माया थापाले आर्थिक सहयोग गर्नुभएको हो ।
माओवादीले नेतृत्व गरेका हरेक तहका सरकारले नमूना काम गरेका छन्ः शर्मा
दाङ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले आफ्नो पार्टीले नेतृत्व लिएका कुनै पनि तहका सरकारमा नमूना काम गर्दै आएको बताउनुभएको छ । दाङको घोराही उपमहानगरपालिका जबरपुरमा आयोजित पार्टी कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले वडादेखि केन्द्रसम्म माओवादीले नेतृत्व गरेका सरकारहरुले नमूना काम गर्दै आएको बताउनुभयो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसअघि लोडसेडिङमुक्त नेपाल बनाएको स्मरण गराउँदै उहाँले पछिल्लो कार्यकालमा गम्भीर भ्रष्टाचारका फाइलहरु खोलेर सुशासनको नयाँ अभियान सुरु गरेको बताउनुभयो । ‘माओवादीले अहिलेसम्म धेरै सम्हालेका उर्जा र सञ्जार मन्त्रालय हुन्, यी मन्त्रालयले नै अहिले देशलाई परिवर्तनको अनुभूति दिलाइरहेका छन्’– शर्माले भन्नुभयो– ‘दिनमा १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट मुक्त गरेर दश वर्षमा दश हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्नेसम्मको तहलाई देशमा पुर्याउने माओवादी नै हो । घरघरमा इन्टरनेट, हातहातमा मोबाइल सेटको नारासहित सञ्चार क्षेत्रको विकास गर्दै अहिले नेपाललाई सूचना प्रविधि दशकको घोषणासम्मको अवस्थामा पुर्याएको पनि माओवादीले नै हो ।’ माओवादीको पहिलो सरकारले मध्यपहाडी लोकमार्गजस्तो राष्ट्रिय महत्वको आयोजना अघि बढाएको स्मरण गर्दै उहाँले माओवादीले नेतृत्व गरेका केन्द्रदेखि स्थानीय तहका हरेक सरकारले नमूना काम गर्दै आएको बताउनुभयो । माओवादीले धेरै काम गरे पनि जनतासँगको सम्बन्ध र व्यवहारलाई ध्यान दिन नसक्दा कमजोर भएको स्वीकार गर्दै नेता शर्माले अब जनतासँगै एकाकार भएर आगामी निर्वाचन एक्लै लड्ने तयारीका साथ अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका शर्माले सबै टोलटोलमा एकैचोटी विकास पुर्याउन नसके पनि क्रमशः विकास योजनाहरु योजनाबद्ध रुपमा अघि बढाउँदै लगेको बताउनुभयो । जनताबाट निर्वाचित हुँदा आफूले सके जति राम्रो गर्नेछु र नराम्रो गर्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै उहाँले सके जति राम्रो गरिरहेको तर नराम्रो नगरेको र कहिल्यै नगर्ने वाचा दोहोर्याउनुभयो । ‘मैले निर्वाचन जितेको पाँच वर्ष पुगेपछि निर्वाचन क्षेत्रमा के कति काम गरियो, के कति गर्न सकिएन र के कारणले गर्न सकिएन भनेर स्वेतपत्र जारी गर्नेछु’– उहाँले भन्नुभयो– ‘हामी जो जहाँ छौं, इमान्दारितापूर्वक लागौं, गर्न सकेका कामको स्वामित्व लिऔं, नसकेका कामका लागि निरन्तर पहल गरौं, हामी अवश्यक सफल हुनेछौं ।’
भरतपुर महानगरले दियो २ सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
चितवन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । प्रमुख दाहालले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रुपमा ठूलो फड्को मारेको छ ।” शिक्षामा सबैको पहुँच पु¥याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उहाँले बताउनुभयो । “शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ ।” वितरणलाई अझै प्रभावकारी र वैज्ञानिक बनाउँदै लगिने उहाँले बताउनुभयो । सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालय सरह बनाउने गरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उहाँको भनाइ थियो । छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई आईतबार सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गरिएको छ । ‘जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ’, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भन्नुभयो । ३० संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना रहेका छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका ८, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ जना रहेका छन् । जसमध्ये अरोमा कलेज ४५ जना, अर्किड कलेज ३० जना, बालमीकि शिक्षा सदन २५ जना, नारायणी पब्लिक कलेज २४ जान, गुरुकुल एकेडमी १८ जना, एपेक्स एकेडमी १३ जना, सप्तगण्डकी कलेज ९ जना, अंकुरम एकेडमी ९ जना, अरबिट यूनिक स्कुल ९ जना र अन्य स्कुल गरी २६६ जनाले छात्रवृत्ति पाएका छन् । महानगरले वार्षिक रुपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले २ सय ७४ जनालाई छात्रवृति दिएको थियो ।
जिल्ला बार इकाई दाङमा पहिलोपटक महिला अध्यक्ष
घोराही । नेपाल बार एशोसिएशन जिल्ला बार इकाई दाङको अध्यक्षमा अधिवक्ता गोमा महरा निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका अर्का उम्मेदवार अधिवक्ता केशव केसीले उम्मेदवारी फिर्ता लिएपछि महरा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन संयोजक रेशमराज गिरीले घोषणा गर्नुभयो । यससँगै २०३५ सालमा स्थापना भएको बार इकाईले पहिलोपटक महिला नेतृत्व पाएको छ । अहिलेको कार्यसमितिमा सहसचिव रश्मी पाण्डेय धितालबाहेक यसअघि माथिल्लो पदमा महिला नेतृत्व पुगेको थिएन । त्यसमा पनि सर्वसम्मत महिला नेतृत्व निर्वाचित भएर सकारात्मक सन्देश दिएको छ । आगामी कार्यकालका लागि सर्वसम्मतीय नयाँ कार्यसमिति चयन भएको छ । ‘विभिन्न संगठनका साथीहरुलाई एकता गरेर छाता संस्थामा समेट्न सफल भएका छौं’– जिल्ला बार इकाईका उपाध्यक्ष किरण रेग्मीले भन्नुभयो– ‘आफू नसमेटिएको बिर्सनुपर्छ । व्यक्तिगत स्वार्थ छोडेर संस्थालाई अघि बढाउनुपर्छ । धेरै प्रयासपछि भएको सर्वसम्मतिले खुशी बनाएको छ । त्यसमा गर्व गरेर संस्थालाई अगाडि बढाउने अवसर आएको छ । सम्पूर्ण अधिवक्ताको एकता, साथ सहयोग र सहकार्य गरी अघि बढ्नुपर्छ ।’ ‘मलाई निर्विरोध निर्वाचित बनाउन उहाँ (अधिवक्ता केशव केसी) को भुमिका रह्यो’– नवनिर्वाचित अध्यक्ष महराले भन्नुभयो– ‘हाम्रो बार बनाउने छौं, हाम्रो बार उदाहरणीय बन्नेछ ।’ उहाँले मन्तव्यका क्रममा उम्मेदारी फिर्ता लिनुभएका अधिवक्ता केसीप्रति कृतज्ञता प्रकट गर्नुभएको थियो । मनोनोयनकै दिन उपाध्यक्ष अधिवक्ता नुमानन्द आचार्य, सचिव अधिवक्ता हरि बेलबासे, सहसचिव अधिवक्ता सुशीला गिरी र कोषाध्यक्षमा अधिवक्ता तिलकबहादुर केसी निर्विरोध निर्वाचित हुनुभएको थियो । यसैगरी सदस्यहरुमा अधिवक्ता कुमारराज श्रेष्ठ, अधिवक्ता विष्णुप्रसाद धिताल, अधिवक्ता प्रदीपकुमार गौतम, अधिवक्ता भुपबहादुर केसी, अधिवक्ता अर्जुनकुमार अधिकारी, अधिवक्ता ठाकुरप्रसाद गिरी र अधिवक्ता हरिचन्द्रा कुमारी वली निर्विरोध निर्वाचित हुनुभएको थियो । गिरी नेतृत्वको निर्वाचन समितिका सदस्यहरुमा यादव प्रसाद खनाल र दीपक केसी हुनुहुन्थ्यो ।
भरतपुर भ्रमण वर्षको अवसरमा कार्तिकमा धार्मिक महोत्सव सञ्चालन हुने
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि लिएको संकल्प पुरा भएको बताउनुभएको छ । होटल व्यवसायी संघ चितवनको २८ औ साधारण सभालाई सम्बोधन गर्दै प्रमुख दाहाले भ्रमण वर्षको अवसरमा पर्यटन प्रवर्धन हुने महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटे बाघ हेर्ने सुविधा, भारतीय पर्यटकलाई सहज आवागमनका लागि ठोरी भन्सार सञ्चालन, दियालो बंगला दरबार सर्वसाधरणका लागि खुला गरिएको प्रमुख दाहालले बताउनुभयो । भ्रमण वर्षमा थप पर्यटक भित्र्याउन कात्तिक महिनामा एक हप्ते धार्मिक महोत्सव गर्न लागिएको उहाँले उल्लेख गर्नुभयो । यसको संयोजन देवघाट क्षेत्र विकास समिति र संरक्षकमा भरतपुर महानगर रहने उहाँको भनाई छ । यस्तै भ्रमण वर्षको समापनमा खाना महोत्सव गर्ने क्यालेण्डर तय भएको प्रमुख दाहालले बताउनुभयो । यस्ता गतिविधिले प्रत्यक्ष रुपमा यहाँका होटल व्यवसायीलाई टेवा पुग्ने उहाँले बताउनुभयो । बजार क्षेत्रको पार्किङको समस्या समधान गर्न यहाँका स्थानीय र महानगरको समवन्यमा स्थानको खोजी गर्नुपर्ने उहाँले बताउनुभयो । यसअघि महानगरले पार्किङ स्थलको व्यवस्थापन गरेको भएपनि सञ्चालनमा कठिनाई आएको स्मरण गर्नुभयो । होटल व्यवसाय संघका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले पर्यटन ऐन संशोधन नहँुदा नेपालका १० औं हजार होटेल ब्यवसायी मर्कामा परेको उल्लेख गर्नुभयो । उहाँले चितवनका २०० बढी होटल पर्यटनमा दर्ता हुने क्रममा रहेको जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै होटल व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष इमान्दु बरालले बजारका होटलहरु २४ घण्टा खुला चल्ने व्यवस्था गरिदिन अनुरोध गर्नुभयो । व्यवसायीलाई एकद्वार प्रणालीबाट कर तिर्ने वातावरण बनाइदिन उहाँले आग्रह पनि गर्नुभयो । कार्यक्रममा भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, उवा संघ चितवन कार्यवहाक अध्यक्ष चिरञ्जीवी सुवेदी, घरबहाल उपभोक्ता मन्च चितवन अध्यक्ष जनकलाल कट्टेलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष लोकनाथ भट्टको अध्यक्षतामा सम्पन्न भएको हो ।
माओवादीले नेतृत्व गरेको वडा उत्पादनमा नमूना बन्दैः एकैपटक ३६ लाखको लसुन निर्यात
प्रथम कम्युनिष्ट सहिद कामी बुढा जन्मेको यो वडामा जनयुद्धका क्रममा चक्रराम बुढा ‘छहरा’ र देवीलाल परियार ‘विजय’ सहिद हुनुभएको थियो । उहाँहरुको नामबाट स्थापित छवि बहुउद्देश्यीय सहकारीले कृषि उपजको बजार व्यवस्थापन गर्ने काम गरिरहेको छ। वडाले स्थानीय छवि बहुउद्देश्यीय सहकारी संस्थालाई कृषि उपजको सङ्कलन र बजारीकरणका लागि अगाडि सारेको छ ।
भारतमा पहिरो परी मृत्यु भएका तीन जनाको शव नेपाल ल्याइयो
कञ्चनपुर । भारत उत्तराखण्डको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका तीनजनाको शव नेपाल ल्याइएको छ । शनिबार दिउँसो गड्डाचौकी नाका हुँदै उनीहरुको शव नेपाल ल्याइएको हो । पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परिवार, कृष्ण परियार र पुर्ण नेपालीको शव नेपाल ल्याइएको हो । उनीहरुको शव एउटै गाडीमा ल्याइएको छ । आज रातिसम्म घरमा पुगेपछि भोलि अन्तिम संस्कार गरिने मृतक तुलबहादुरका भान्जा गोपाल परियारले जानकारी दिनुभयो । गोपालको परिवार र मृतक चारैजनासँगै काम गर्दै आएका थिए । पहिरोमा परी मृत्यु भएका दैलेखका दिपक बुढाको भने केदारनाथ क्षेत्रमै अन्तिम संस्कार गरिएको छ । बिहीबार राति केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपाली कामदारको मृत्यु भएको थियो ।
खुशी बाँड्दै कर्णालीः देशभर चिकित्सक पठाउँदै जुम्ला
कर्णाली – जुम्लामा पनि डाक्टरी पढाइ हुन्छ र भन्ने धेरैको प्रश्न हुन सक्छ । प्रश्नकर्ता कतिलाई जुम्लामा चिकित्सक पढाइ हुन्छ भन्ने पनि थाहा छैन । केहीले पढाइ हुन्छ भन्नेमा विश्वास गर्दैनन् । थाहा पाउनेहरूले त्यहाँ चिकित्सकको कस्तो पढाइ हुन्छ होला रु भनेर खिसी गरेको पाइन्छ । ती प्रश्न एवं जिज्ञासा राख्ने र खिसिट्युरी गर्नेहरूले जुम्लाले स्नातक मात्र होइन, अब स्नातकोत्तर तहको चिकित्सक उत्पादन गरेको खबर सुन्न धेरै समय कुर्नुपर्ने छैन । प्रगती र विकासका लागि भूगोल बाधक हुन सक्दैन अनि दुर्गमले दुःख मात्र होइन, समृद्धिको इँटा थप्न सक्दोरहेछ भन्ने गतिलो उदाहरण स्वरुप अब देशलाई चाहिने चिकित्सक तथा जनस्वास्थ्य विज्ञ जनशक्ति पठाउँदैछ । मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही भदौ २३ गते चिकित्साशास्त्रमा विभिन्न सङ्कायमा स्नातकोत्तर तह उत्तीर्ण पाँच विशेषज्ञ चिकित्सक र स्नातक तहका ५१ जनालाई विद्यार्थीहरु दीक्षित गर्दैछ । यसका लागि प्रतिष्ठान जुम्लामा भदौ २३ गते ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ । जसको तयारीमा प्रतिष्ठान जुटेको छ । उपकुलपति डा. मङ्गल रावलका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र सङ्कायका स्नातक र स्नातकोत्तर तहका गरी कूल ५६ उत्तीर्ण विद्यार्थीहरू दीक्षित हुनका लागि योग्य छन् । उपकुलपति रावलले भन्नुभयो, “प्रथम दीक्षान्त समारोह गर्न स्वीकृतिका लागि यही साउन ३२ गते कुलपतिसमक्ष पत्र पठाएका थियौँ । सोही पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिष्ठानलाई २३ भदौ आइतबार बिहान १०ः३० बजे जुम्लामा दीक्षान्त समारोह गर्नका कुलपतिले स्वीकृत गरेको व्यहोरासहितको पत्र प्राप्त भएको छ । सोही अनुसार तयारी गर्दैछौँ ।” कर्णालीको इतिहासमा पहिलोपटक ऐतिहासिक दीक्षान्त समारोह आयोजना गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाका अनुसार यहाँ अध्ययनरत विद्यार्थीहरूमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडिजिपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँचजनासहित कूल ५६ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन् । दीक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन एकेडेमिक बिल्डिङ र तिलगङ्गा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको उपकुलपति रावलले बताउनुभयो । समारोहमा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको सहयोगमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड इएमआर उपकरण हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ । सो अवसरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनी झा, स्वास्थ्य सचिव डा रोशन पोखरेल, वरिष्ठ आँखा विशेषज्ञ डा सन्दुक रुइत, विश्व स्वास्थ्य सङ्गठन नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवसमेत सहभागी हुने जनाइएको छ ।
‘आर्थिक पारदर्शितामा भरतपुर महानगरपालिका उत्कृष्ट छ’
चितवन । भरतपुर महानगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक (चैत–असार) भएका कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । शुक्रबार भरतपुर–७ स्थित विपी कोईराला मेमोरिय क्यान्सर अस्पताल सभाहलमा भएको सार्वजनिक सुनुवाईका क्रममा वडावासीले महानगरले दिने सेवालाई थप जनमुखी बनाउन सुझाव दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले ४ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तेस्रो चौमासिकमा गौतम बुद्ध क्रिकेट रंगशालाको टेण्डर गर्ने, भरतपुर भ्रमण वर्ष २०२४ अभियान, नारायणी तटबन्धन, सिटी हल, खानेपानी, हरियाली सडक, सिक्स लेन सडक, लगायतका गौरवका आयोजनामा भएका प्रगति विवरण प्रस्तुत गर्नुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले सडक, बत्ती, ढल निर्माण, शिक्षा, स्वास्थ्य लगायतका शुसासनका विषयमा महानगर प्रमुख रेनु दाहाललाई प्रश्न गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तरलगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयो । महानगरबासीका प्रश्नको उत्तर दिँदै महानगर प्रमुख दाहालले आर्थिक पारदर्शितामा भरतपुर महानगरपालिकाका उत्कृष्ट रहेको बताउनुभयो । भरतपुरले फोहर व्यवस्थापनमा सोचे अनुरुप काम गर्न नसकेको उहाँले स्पष्ट पार्नुभयो । ल्याण्डफिल साईटको जग्गाको देखिएको समस्या समधान भए निर्माण प्रकृयामा जाने उहाँको भनाई थियो । यस तेस्रो चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीब्र चासो रहेको बताउँदै उहाँले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताउनुभयो। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउदै उहाँले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनु पर्ने बताउनुभयो। कार्यक्रममा चौमासिक प्रगति प्रतिवेदन पेश गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत पौडेलले आर्थिक वर्ष २०८०/८१ को विनियोजित ६ अर्ब ४२ करोड १३ लाख ३० हजार रहेकोमा रु ४ अर्ब १७ करोड ३७ लाख ७६ हजार खर्च भएको उल्लेख गर्नुभयो । यो बजेटको ६४ दशमलव ९९ प्रतिशत हो । जसमध्ये चालुतर्फ ८४ दशमलव ७ प्रतिशत र पूँजीगततर्फ ५० दशमलव ५ प्रतिशत खर्च भएको छ । यसैगरी महानगरले आर्थिक वर्ष २०८०/०८१ को लागि रु १ अर्ब ७५ करोड लक्ष्य लिएकोमा रु १ अर्ब ३० करोड ९१ लाख ४८ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ७५ प्रतिशत हो ।
माओवादी केन्द्रको कोशी प्रदेश बैठक जारी
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश १ (कोशी) प्रदेश कमिटीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठक जारी छ । बैठक पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कोशीको विराटनगरमा बसिरहेको छ । विराटनगरको होटेल स्वागतमा आयोजित बैठकमा प्रदेश समिति र सो सरह तथा माथिल्लो समितिका नेताहरूको उपस्थिति छ । बैठकमा पछिल्लो परिस्थिति र पार्टीको अवस्थाबारे अध्यक्ष प्रचण्डले प्रतिरक्षात्मक मन्तव्य तथा निर्देशन दिने बताइएको छ । यस्तै सबै जिल्लाका संयोजकबाट रिपोर्टिङ हुने र अन्तरक्रिया पनि हुने प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिए ।
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री कँडेलले पेश गरेको विश्वासको मतको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत परेको थियो । मतदान प्रक्रियामा ३७ सांसदले भाग लिएका थिए । केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णालीमा पनि माओवादी केन्द्र सरकारबाट बाहिरिएर कांग्रेस सरकारमा गएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज शपथ लिने
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार शपथ लिँदैछन्। शाहले सोमबार अपराह्न ४ बजेपछि शपथ ग्रहण गर्ने उनको सचिवालयले जनाएको छ। दोस्रोपटक मुख्यमन्त्री बनेका शाहले सोमबार नै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी गरेका छन्। मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ गराउने तयारी छ। सात सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिनेगरी भागवण्डा टुंगिएको छ।