खुशी बाँड्दै कर्णालीः देशभर चिकित्सक पठाउँदै जुम्ला

खुशी बाँड्दै कर्णालीः देशभर चिकित्सक पठाउँदै जुम्ला

कर्णाली –  जुम्लामा पनि डाक्टरी पढाइ हुन्छ र भन्ने धेरैको प्रश्न हुन सक्छ । प्रश्नकर्ता कतिलाई जुम्लामा चिकित्सक पढाइ हुन्छ भन्ने पनि थाहा छैन । केहीले पढाइ हुन्छ भन्नेमा विश्वास गर्दैनन् । थाहा पाउनेहरूले त्यहाँ चिकित्सकको कस्तो पढाइ हुन्छ होला रु भनेर खिसी गरेको पाइन्छ ।

ती प्रश्न एवं जिज्ञासा राख्ने र खिसिट्युरी गर्नेहरूले जुम्लाले स्नातक मात्र होइन, अब स्नातकोत्तर तहको चिकित्सक उत्पादन गरेको खबर सुन्न धेरै समय कुर्नुपर्ने छैन । प्रगती र विकासका लागि भूगोल बाधक हुन सक्दैन अनि दुर्गमले दुःख मात्र होइन, समृद्धिको इँटा थप्न सक्दोरहेछ भन्ने गतिलो उदाहरण स्वरुप अब देशलाई चाहिने चिकित्सक तथा जनस्वास्थ्य विज्ञ जनशक्ति पठाउँदैछ ।

मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही भदौ २३ गते चिकित्साशास्त्रमा विभिन्न सङ्कायमा स्नातकोत्तर तह उत्तीर्ण पाँच विशेषज्ञ चिकित्सक र स्नातक तहका ५१ जनालाई विद्यार्थीहरु दीक्षित गर्दैछ ।

यसका लागि प्रतिष्ठान जुम्लामा भदौ २३ गते ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ । जसको तयारीमा प्रतिष्ठान जुटेको छ । उपकुलपति डा. मङ्गल रावलका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र सङ्कायका स्नातक र स्नातकोत्तर तहका गरी कूल ५६ उत्तीर्ण विद्यार्थीहरू दीक्षित हुनका लागि योग्य छन् ।

उपकुलपति रावलले भन्नुभयो, “प्रथम दीक्षान्त समारोह गर्न स्वीकृतिका लागि यही साउन ३२ गते कुलपतिसमक्ष पत्र पठाएका थियौँ । सोही पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिष्ठानलाई २३ भदौ आइतबार बिहान १०ः३० बजे जुम्लामा दीक्षान्त समारोह गर्नका कुलपतिले स्वीकृत गरेको व्यहोरासहितको पत्र प्राप्त भएको छ । सोही अनुसार तयारी गर्दैछौँ ।”

कर्णालीको इतिहासमा पहिलोपटक ऐतिहासिक दीक्षान्त समारोह आयोजना गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाका अनुसार यहाँ अध्ययनरत विद्यार्थीहरूमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडिजिपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँचजनासहित कूल ५६ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन् ।

दीक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन एकेडेमिक बिल्डिङ र तिलगङ्गा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको उपकुलपति रावलले बताउनुभयो । समारोहमा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको सहयोगमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड इएमआर उपकरण हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ ।

सो अवसरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनी झा, स्वास्थ्य सचिव डा रोशन पोखरेल, वरिष्ठ आँखा विशेषज्ञ डा सन्दुक रुइत, विश्व स्वास्थ्य सङ्गठन नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवसमेत सहभागी हुने जनाइएको छ ।

कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको सभामुख नन्दा गुरूङले बताइन् ।  यस अधिवेशनमा १० बैठक बसेका थिए  । माघ १८ बाट सुरु भएको अधिवेशन चैत १५ सम्म चलेको थियो । यस अवधिमा १३ घण्टा ४२ मिनेट बैठक बसेको छ ।  उक्त अधिवेशनमा दुई  विधेयक पारित भएको छ भने एक विधेयक टेबुल गरिएको छ । मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक चैत १०मा पेस गरेका थिए । उक्त विधेयक चैत १५ मा सर्वसम्मत पारित गरिएको हो ।  प्रदेशसभाले कर्णाली प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक पनि बहुमतले पारित गरेको छ । चैत १० को बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले  कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक पारित गरेको थियो ।  यस अधिवेशनमा सामाजिक विकासमन्त्री भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ संशोधन विधेयक प्रस्तुत गरेका थिए । चैत १५ को बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।  यस अधिवेशनको चैत ६ को बैठकले सांसद हिक्मत बहादुर विष्टले पेस गरेको संकल्प प्रस्तावलाई सर्वसम्मतरुपमा स्वीकार गरेको थियो । उनले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई सञ्चालन गर्ने सम्बन्धमा संकल्प प्रस्ताव पेस गरेका थिए । 

रुकुमपश्चिममा एमाले परित्याग गरी २३ जना नेकपामा प्रवेश

रुकुमपश्चिम । रुकुमपश्चिमकाे आठबिसकोट नगरपालिकामा २३ जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। उनीहरू यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग आबद्ध थिए। आठबिसकोट–१४ मा आयोजित कार्यक्रममा एमाले परित्याग गरेका गुनेसल्ला टोलका २३ जनालाई नेकपाका स्थानीय नेताहरूले स्वागत गर्दै औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा बोल्दै नेताहरूले देशमा परिवर्तन, समानता र जनअधिकार सुनिश्चित गर्न नेकपाको नीति तथा कार्यक्रम प्रभावकारी रहेको बताएका थिए। नवप्रवेशी कार्यकर्ताहरूले जनताको पक्षमा सक्रियतापूर्वक काम गर्ने र पार्टीको विचारधारालाई सुदृढ बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले स्थानीय तहमा संगठन सुदृढीकरणमा लाग्ने धारणा पनि राखेका छन्। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। नयाँ प्रवेशसँगै क्षेत्रीय राजनीतिमा नेकपाको प्रभाव थप सशक्त हुने नेताहरूको दाबी छ।

हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक सिधा बस सेवा सुरु

हुम्ला । हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक नियमित बस सेवा सुरु भएको छ। बुधबारदेखि यो सेवा सञ्चालनमा आएको हो। हुम्ला हिल्सा यातायात प्रालिका सञ्चालक विशाल रोकायाका अनुसार हुम्ला–सुर्खेत, हुम्ला–नेपालगञ्ज र हुम्ला–काठमाडौंसम्म बस सेवा सुरु गरिएको छ। हुम्लादेखि सुर्खेतसम्मको भाडा ५ हजार, नेपालगञ्जसम्म ५ हजार र काठमाडौंसम्म ६ हजार ५ सय रुपैयाँ तोकिएको उनले बताए। सोही प्रालिले मुगुबाट पनि काठमाडौंसम्म बस सेवा सञ्चालन गरेको जनाएको छ।

मुगुमा भेडालाई पाटन ल्याइयो, बुकी चर्ने परम्परा जारी

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ मा पर्ने खात्तला, सिप्टिचौर र हुड्केथलापाटनमा वर्षायाम सुरु भएसँगै चरनका लागि भेडाहरूलाई पाटन ल्याइएको छ । गर्मी बढेसँगै बेँसीबाट हिमाली पाटनतर्फ उक्लने भेडापालक किसानको परम्परागत चलन हो । स्थानीय भेडापालक किसान अमर कार्कीका अनुसार, हरेक वर्ष वैशाखदेखि कार्तिकसम्म भेडाहरूलाई उच्च हिमाली पाटनमा चराइन्छ । मङ्सिरको पहिलो साताबाट चिसो बढेसँगै भेडाहरूलाई बेँसी ओरालिन्छ । हरियाली पाटनमा सेता र काला भेडाहरू चरेको रमणीय दृश्यले पाटनलाई आकर्षक बनाउँछ । स्थानीय भुमल बोहराले भने, “तीन दशकअघि भेडाहरू यातायातको साधनका रूपमा प्रयोग हुन्थे ।” भेडापालनबाट राम्रो आम्दानी हुने र पछिल्लो समय वन फँडानी र खेतीपातीका कारण चरन क्षेत्र घट्दै गएको उनले बताए । छायानाथ रारा–१ का ८३ वर्षीय हस्तबहादुर मल्लका अनुसार, मुगाली समुदायले भेडालाई लिएर तिब्बत गएर नुन ल्याउने र भारतसँगको व्यापारसँगै हिउँदमा मधेस झर्ने परम्परा छ । बर्खामा भेडाहरू कुकुर र ग्वालाहरूसहित पाटनतर्फ लाग्छन् । उनीहरूले चामल, पिठो र आवश्यक सामग्री बोकेर बर्खाभरि पाटनमा बस्छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ का प्रेम रोकायाले भने, “वर्षायाममा पाटनमा बुकी पलाउँछ, जुन भेडाका लागि मिठो र औषधीय खाना हो ।” हिमाली घाँस र चिसो पानीले पोषित भेडाको मासु स्वादिष्ट र स्वास्थ्यवर्द्धक मानिन्छ । भेडाको मासु र झोलले रोग निको हुने र शरीरमा तागत बढाउने जनविश्वास छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय, मुगुका प्रमुख भिमचन्द्र बुढाका अनुसार, भेडापालन मुगाली किसानको प्रमुख आयस्रोत हो । जिल्लाका चार पालिकामा करिब आठ हजार भेडा छन् । कर्णाली प्रदेश सरकारको सहयोगमा भेडापालक किसानलाई वार्षिक १८ हजार रुपियाँ प्रोत्साहन रकम वितरण गरिन्छ ।