बाँकेमा साढे सात हजार क्विन्टल धान खरिद
बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग हालसम्म साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
कात्तिक २३ देखि सुरु गरिएको धान खरिद अभियान अन्तर्गत मङ्सिर १४ सम्म सात हजार ५०३ क्विन्टल धान खरिद भएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख रामशरण लामिछानेका अनुसार खरिद भएको धानमध्ये मोटा धान दुई हजार ५०४ क्विन्टल तथा मध्यम धान पाँच हजार क्विन्टल छ । सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्य अनुसार प्रतिक्विन्टल मोटा धान तीन हजार ४६४ रुपियाँ र मध्यम धान तीन हजार ६२८ रुपियाँको दरमा खरिद गरिएको हो । यसरी जम्मा दुई करोड ६८ लाख १२ हजार २०९ रुपियाँ बराबरको धान खरिद गरिएको लामिछानेले बताए ।
यस वर्ष नेपालगन्ज कार्यालयलाई २० हजार क्विन्टल धान खरिद गर्ने कोटा छुट्याइएको छ, जसमा १५ हजार क्विन्टल मोटा धान र पाँच हजार क्विन्टल मध्यम धान समावेश छ । प्रमुख लामिछानेका अनुसार मध्यम धानको कोटा पूरा भइसकेकाले अब मध्यम धान खरिद बन्द गरिएको छ ।
हाल मोटा धान खरिद भइरहेकाले १५ हजार क्विन्टल पुग्नेबित्तिकै खरिद कार्य बन्द गरिने जनाइएको छ । धान जोखाइ र तौलाइका लागि कार्यालयले तीन वटा काँटा सञ्चालनमा ल्याएको छ । स्टोरकिपर दीपक शर्माका अनुसार मजदुरको अभावका कारण तीन वटा काँटा मात्रै सञ्चालन गर्न सकिएको भए पनि मजदुर थपेर काँटा सङ्ख्या बढाउने तयारी भइरहेको छ । जोखाइ तौलाइका मजदुरलाई प्रतिक्विन्टल ४० रुपियाँ प्रदान गरिँदै आएको छ ।
हालसम्म ६५५ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएका छन्, जसमा २०१ किसानसँग धान खरिद भइसकेको छ । एक किसानबाट बढीमा ४० क्विन्टल धान मात्र खरिद गरिने व्यवस्था छ । किसानलाई भुक्तानी बैङ्कमार्फत उपलब्ध गराइँदै आएको छ भने धान बिक्रीका लागि किसानको बैङ्क खाता, मोबाइल नम्बर र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ ।
गत वर्ष कार्यालयलाई ४० हजार क्विन्टल धान खरिद कोटा दिइएको थियो । किसानको चाप बढेपछि थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्ने गरी लक्ष्य ५५ हजार क्विन्टल पुर्याइएको थियो । सोमध्ये ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गर्न कार्यालय सफल भएको थियो ।
नेकपाको एकता सन्देश सभा आज विराटनगरमा, प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने
विराटनगर । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज विराटनगरमा हुने भएको छ । पार्टी एकताको सन्देश आिम जनसमुदायमा पुर्याउने उद्देश्यले आज विराटनगरमा प्रदेश स्तरीय एकता सन्देश सभा आयोजना गरिएको नेता हरिबोल गजुरेलले एभरेष्ट दैनिकलाई जानकारी दिए । विराटनगरको गुद्री बजारमा दिउँसो १२ बजे सुरु हुने सभालाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपालसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा सहभागी हुन मोरङ आसपासका जिल्लाबाट बिहानैदेखि नेता कार्यकर्ता विराटनगरमा जम्मा हुन थालेका छन् । १२ मंसिरमा कैलालीको धनगढीमा एकता सन्देश सभा सुरु भएको थियो । यसअघि लुम्बिनी र पोखरामा पनि सन्देश सभा सम्पन्न भइसकेको छ । अन्य प्रदेशहरूमा पनि यस्ता सभाहरूको आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार, एकता सन्देशलाई प्रदेशव्यापी रूपमा फैलाउन विभिन्न प्रदेशहरूमा सन्देश सभाहरूको कार्यक्रम तय भएको छ। यी सभाहरूले पार्टीको एकताको सन्देशलाई ग्रामीण तथा शहरी क्षेत्रसम्म पुर्याउने लक्ष्य राखेको छ। पार्टीका नेताहरुले यी कार्यक्रमहरूबाट एकताको भावना मजबुत बन्ने र आगामी राजनीतिक क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन्।
जङ्गल सफारी सञ्चालनपछि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो
बाँके । बाँके राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र जङ्गल सफारी सुरु गरेपछि पर्यटकको चहलपहल बढेको छ । निकुञ्जले २०८२ सालको सुरुवातबाटै सुरु गरेको जङ्गल सफारीका लागि आउने पर्यटकको सङ्ख्या र माग बढ्दै जाँदा निकुञ्ज वरिपरिका होटल र होमस्टेले जीप राखेर जङ्गल सफारी सञ्चालन गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले निकुञ्जमा यो वर्षको सुरुबाट सञ्चालन गरिएको जङ्गल सफारीका कारण पर्यटकको आगमन बढ्दै गएको जनाउँदै जङ्गल सफारीका लागि निजी लगानी पनि बढ्न थालेको बताए । उनले जङ्गल सफारीका लागि निजी क्षेत्रको लगानी र चासो बढेपछि पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको बताए । नेपालगन्ज र कोहलपुरमा खुलेका तारे होटल तथा बैजनाथ र राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सञ्चालनमा रहेका होमस्टे तथा रिर्सोटले नेपाली, भारतीय र तेस्रो देशका पर्यटकलाई लक्षित गरेर जङ्गल सफारी सञ्चालन गरिरहेका छन् । बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुईवटा जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्ने पर्यटकको घुइँचो लाग्न थालेको मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक बाबुराम चौधरीले बताए । शनिबार सबैभन्दा बढी आन्तरिक पर्यटकहरु सफारीका लागि आउने गरेको मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक चौधरीले बताए । काठमाडौँ, बुटवल, दाङ, सुर्खेत, नेपालगन्ज र भारतका लखनउ, बहराइच तथा ठूला शहरलगायतका स्थानबाट दैनिक ३० देखि ५० जनासम्म पर्यटक सफारीका लागि आउने गरेको पर्यटन व्यवसायीले जनाएका छन् । राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले जङ्गल सफारीले पर्यटकको सङ्ख्या बढाउन ठुलो सहयोग गरेको जनाउँदै पर्यटक बढ्दै जाँदा स्थानीयको आयस्तर पनि वृद्धि हुने बताए । पर्यटन मञ्च बाँकेको संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जदेखि करिब २२ किलोमिटरको दुरीमा रहेको बाँके राष्ट्रिय निकुञ्जमा छिमेकी देश भारतबाट पनि ठुलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने हुँदा त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए । उनले जङ्गल सफारीकै कारण निकुञ्जमा पछिल्लो समयमा बढेको पर्यटकीय गतिविधिले यस क्षेत्रका होटल र पर्यटन व्यवसायीलाई उत्साहित बनाएको बताए । बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो सङ्ख्या बढेर २५ पुगेको थियो । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यानको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नेपालको १०औँ राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको थियो ।
नाै वर्षदेखि म्याग्दीमा चिस्यान केन्द्र अलपत्र
पर्वत । पर्वतको मोदी गाउँपालिका–२ पातीचौरमा निर्माणाधीन चिस्यान केन्द्र ९ वर्षदेखि अधुरै छ । राज्यबाट २० लाखभन्दा बढी खर्चिएर बनाइएको पक्की भवन आजसम्म प्रयोगमा आउन नसकेको स्थानीयको गुनासो छ । २०७४ सालमा अर्थ मन्त्रालयबाट ५० लाख विनियोजन भएपछि भवन निर्माण थालिए पनि ५० टन भण्डारण क्षमता भएको चिस्यान केन्द्र पूरा हुन सकेको छैन । पटक–पटक बजेट आउँदै आएको भए पनि सुस्त कामका कारण भवन वर्षौसम्मै व्यक्तिको नामकै जग्गामा परेको थियो, जसलाई पछिल्लो वर्ष मात्र पालिकाको नाममा सारिएको वडा अध्यक्ष बेलबहादुर कार्की बताउँछन् । स्थानीय खेमबहादुर हमालको पाँच आना जग्गा १३ लाख ५० हजारमा खरिद गर्ने कागजी सम्झौता भए पनि उपभोक्ता समितिले रकम भुक्तानी गर्न नसक्दा नामसारी ढिलो भएको थियो । तीन वर्षअघि केन्द्र निर्माणका लागि फेरि ५५ लाख विनियोजन भएको थियो । चालू आर्थिक वर्षमा प्रदेश सरकारले विशेष अनुदानमार्फत ४० लाख छुट्याएको प्रशासकीय अधिकृत बाबुराम पुरीले बताए । सुन्तला र आलु उत्पादनका लागि प्रसिद्ध देउपुर, बनौ, लेस्पारलगायत क्षेत्रका कृषकलाई भण्डारण सुविधा उपलब्ध गराउन पातीचौरमा चिस्यान केन्द्र निर्माण थालेको हो । देउपुरबाट वर्षेनी करोडौँ बराबरको सुन्तला उत्पादन हुने भएकाले केन्द्र सञ्चालनमा आए कृषि आम्दानी बढ्ने स्थानीयको अपेक्षा छ ।
तस्बिरमा हेर्नुस् नेपाली कम्युनिष्ट पार्टीको देउखुरीमा आयोजित एकता सन्देश सभा
लमही । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा दाङको देउखुरीमा सुरु भएको छ । देउखुरीको लमहीमा आयोजित सभालाई संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । लमहीको बगैँचामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्डसहितका नेताहरु बिहान लमही पुगेका हुन् । केहीबेरअघि सुरु लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभामा सहभागी हुन दाङ र आसपासको क्षेत्रबाट हजारौँको सहभागिता रहेको छ ।
प्रेस सेन्टर कालीकोटका अध्यक्ष वीरेन्द्र आचार्यको स्कुटर दुर्घटनामा निधन
कालिकोट — कालिकोटका उदयमान पत्रकार तथा सामाजिक अभियन्ता वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा परी ज्यान गएको छ। प्रेस सेन्टर कालिकोटका अध्यक्ष तथा ताडीस्थित रेडियो तिला आवाजका स्टेसन म्यानेजर तथा कार्यक्रम प्रमुखका रूपमा परिचित ३४ वर्षीय आचार्यको असामयिक निधनले कालिकोट र कर्णालीका सञ्चारकर्मी स्तब्ध भएको छन् । शुभकालिका–६ हाउडीका स्थायी बासिन्दा तथा हाल सुर्खेतको वीरेन्द्रनगर–१ मा बसोबास गर्दै आएका आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटरलाई मङ्सिर ११ गते राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ को वडा कार्यालय अगाडिको सडकखण्डमा कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। मुलपानीबाट भुरेलीतर्फ जाँदै गरेको मोटरसाइकल चालक २३ वर्षीय यामबहादुर शाहीले ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका आचार्यलाई तत्काल प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। तर, उपचारको क्रममै उनको मृत्यु भएको अस्पताल पुष्टि गरेको छ। मोटरसाइकल चालक शाही पनि टाउको र शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता डीएसपी गोविन्द पौडेलले जानकारी दिए। आचार्य सामाजिक सरोकारका मुद्दामा सक्रिय रहँदै समाचार उत्पादन र पत्रकारितामा योगदान दिँदै आएका थिए। केही दिनअघि मात्र पत्रकार कृष्णराज धमलासँग रमाइलो भिडियो बनाएका थिए। उनका श्रीमती, विद्यालयमा अध्ययनरत छोरा र छोरी छन्। परिवारका सबै सदस्य अहिले सुर्खेतमै छन् र गहिरो शोकाकुल अवस्थामा छन्। आचार्यको निधनले कालिकोटमा 'कालो दिन' जस्तो महसुस भएको स्थानीयहरूले बताएका छन्। कर्णालीका सञ्चारकर्मीहरूले उनको योगदानलाई स्मरण गर्दै शोक व्यक्त गरेका छन्।
नेकपा एकता सन्देशसभा धनगढीमा सुरु (फाेटाे)
धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको पार्टी एकता सन्देश सभा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ । धनगढीको कर्भडहल क्षेत्रमा आयोजित सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले नेतृत्वदायी सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा स्थानीय तहदेखि प्रदेशभरका कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको छ । सभाअघि धनगढी चौराह र क्याम्पस चोक क्षेत्रबाट रंगीन झाँकी, नाराबाजी र झण्डासहितको र्याली निकालिएको थियो । र्याली शहरका विभिन्न मार्ग परिक्रमा गर्दै कर्भडहलमा पुगेर सभामा परिवर्तित भएको आयोजकहरूले जानकारी दिएका छन् । गत कात्तिक १९ गते काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमका बीच नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जन वाम घटकबीच एकता घोषणा भएको थियो । त्यसपछि नवगठित नेकपाले देशभर ‘पार्टी एकीकरणको सन्देश जनता सम्म’ पुर्याउने लक्ष्यसहित सातै प्रदेशमा एकता सभा गर्ने निर्णय गरेको थियाे । त्यसैअनुसार शुक्रबार धनगढीबाट सुरु भएको एकता अभियानअन्तर्गत भोलि (शनिबार) लुम्बिनी प्रदेशको दाङ देउखुरीमा दोस्रो सभा हुने तालिका छ । यस्तै मंसिर १४ गते गण्डकी प्रदेशको पोखरामा, मंसिर १५ गते कोशी प्रदेशको विराटनगरमा, मंसिर १७ गते उपत्यका विशेष प्रदेशअन्तर्गत काठमाडौंमा, मंसिर १८ गते कर्णाली प्रदेशको सुर्खेत, मंसिर १९ गते संघीय समन्वय प्रदेशअन्तर्गत काठमाडौंमा, मंसिर २० गते मधेश प्रदेशको जनकपुरमा सभा हुनेछ । यसबाहेक मंसिर २१ गते प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रममार्फत एकता सन्देश प्रसारण गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । नवगठित नेकपाले यी कार्यक्रमहरूलाई पार्टी एकीकरणको राजनीतिक कार्यदिशा र आगामी रणनीति जनतासमक्ष स्पष्ट पार्ने अवसरका रूपमा उपयोग गर्न लागेको जनाएको छ ।
विराटनगरकाे एकता सन्देशसभामा उदयपुरले भव्य शक्ति प्रदर्शन गर्ने
उदयपुर । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले कोशी प्रदेश राजधानी विराटनगरमा आगामी मंसिर १५ गते आयोजना हुन लागेको एकता सन्देशसभामा जिल्लाबाट करिब दुई हजार नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुक सहभागी गराउने भएको छ । जिल्लास्थित नेकपाको बिहीबार बसेको संयुक्त बैठकले विराटनगरमा हुने सन्देशसभालाई पार्टी एकताको शक्तिशाली प्रदर्शनका रूपमा प्रस्तुत गर्ने लक्ष्यसहित आठवटै स्थानीय तहबाट सहभागी जुटाउने निर्णय गरेको हो । तत्कालिन नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक तथा अहिले नवगठित नेकपा उदयपुरका नेतृत्वकर्ता द्रोण पौडेल ‘निरज’ ले प्रदेश पार्टीले जिल्लालाई सात सयको मात्र कोटा तोके पनि संयुक्त बैठकले झन्डै दुई हजार सहभागी लैजाने सहमति भएको जानकारी दिए । उनले भने, “एकतामा सहभागी भएका पूर्व माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेकपा चिरन सि समूहलगायत विभिन्न घटकहरू अहिले एउटै संरचनामा संगठित भएका छन् । यही एकतालाई विराटनगरको सभामा शक्तिशाली रूपमा देखाउनेछौँ । उदयपुरमा एकता भेला मंसिर २० गते आयोजना गर्ने तयारी पनि भइरहेको छ ।” यसअघिको तयारी बैठकलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य बलदेव चौरीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका त्रुटिपूर्ण निर्णयहरूका कारण ‘जेन–जी’ आन्दोलन जन्मिएको दाबी गरे । उनका अनुसार, नयाँ राजनीतिक परिस्थिति र जेन–जी आन्दोलनको उभारले कम्युनिस्ट शक्तिलाई पुनः ध्रुवीकृत गर्दै नयाँ नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्न प्रेरित गरेको हो । चौरीले भने, “जेन–जी आन्दोलनले उठाएका मुद्दा आज नेपाली कम्युनिस्ट पार्टीका मूल एजेन्डा बनेका छन् । अब देशलाई नयाँ दिशा दिने गरी एकीकृत कम्युनिस्ट आन्दोलन अघि बढ्छ ।” त्यसैगरी बैठकका प्रमुख अतिथि तथा नेकपा केन्द्रीय सदस्य हरिबोल गजुरेलले हरेक ठूलो आन्दोलनपछि कम्युनिस्ट आन्दोलनमा नयाँ ध्रुवीकरण हुने विशेषता दोहोरिने उल्लेख गरे । उनले २०४६ सालको जनआन्दोलनपछि देखिएको कम्युनिस्ट विभाजन र त्यसपछि बनेका दुई धाराले देशलाई क्रमशः गणतन्त्र र कम्युनिस्ट सरकारको अनुभूति दिलाएको ऐतिहासिक उदाहरण स्मरण गरे । गजुरेलले भने, “जेन–जी आन्दोलनपछि पनि कम्युनिस्टबीच फेरि एकता भएको छ । अहिलेको यो एकता संविधानको रक्षा गर्दै देशलाई समाजवादको बाटोमा लैजाने उद्देश्यसहित अघि बढेको छ । समाजका संरचनागत समस्याको समाधान समाजवादी मार्गबाट मात्रै सम्भव छ ।” एकतापछि उदयपुरमा बसेको यो संयुक्त बैठक सबै घटकको उपस्थिति रहेको पहिलो औपचारिक बैठक हो । बैठकले पार्टी संरचना सुदृढीकरण, विराटनगर सभाको तयारी, र जिल्लास्तरीय एकता कार्यक्रमको व्यवस्थाबारे विभिन्न निर्णयहरू पनि गरेको जानकारी दिइएकाे छ ।
जसपाका मधेश प्रदेश अध्यक्ष अशोककुमार यादव गरे पार्टी परित्याग, नेकपामा प्रवेश गर्ने तयारी
काठमाडौं – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले पार्टी परित्याग गरेका छन्। मधेस केन्द्रित दलहरूबाट अब मधेसको विकास र अधिकारको रक्षा सम्भव नभएको निष्कर्ष निकालेर उनले यो कदम चालेका हुन्। आज जारी गरेको विज्ञप्तिमा यादवले जसपाको मधेस प्रदेश समिति अध्यक्ष तथा साधारण सदस्य पदबाट तत्काल राजीनामा दिएको घोषणा गरेका छन्। यादव विगतमा जसपा सर्लाहीबाट मधेस प्रदेशसभामा निर्वाचित सांसद थिए। नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नका लागि उनले जसपा छाडेको नेकपाका एक नेताले जानकारी दिए।
भैरहवा सेजमा जग्गा भाडा घट्दा उद्योगी उत्साहित
भैरहवा । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) भित्रको जग्गा भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर पाँच रुपैयाँ मात्र कायम गरेपछि भैरहवा सेजका उद्योगी उत्साहित बनेका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयसँगै सेजभित्रको लगानी वातावरण अझ सहज हुने उद्योगीहरूको अपेक्षा छ । इको नेपाल इनर्जी इन्डस्ट्रिज प्रालिका अध्यक्ष अजयमान श्रेष्ठले सरकारको निर्णयले उद्योगीलाई ठूलो राहत मिलेको बताए । “जग्गाको भाडा घट्यो भन्ने सुन्दा नै विश्वास लागेन,” उनले भने, “अब उद्योग सञ्चालन अझ सहज हुने छ ।” एक वर्षअघि उत्पादन सुरु गरेको इको नेपाल इनर्जीले स्थानीय फोहोर र खेर गइरहेका रबरजन्य वस्तु सङ्कलन गरी औद्योगिक तेल, ब्ल्याक कार्बन र स्टिल तार उत्पादन गर्दै आएको छ । श्रेष्ठका अनुसार भाडा घटेसँगै उत्पादन लागत स्वाभाविक रूपमा कम हुने भएकाले सेजभित्र रहेका सबै उद्योगलाई राहत मिल्नेछ । सेजमा कच्चा पदार्थ आयातमा भन्सार छुट, निर्यातमा भ्याट छुट, विद्युत्मा १० प्रतिशत छुट, तथा बैङ्क–बिमा–भन्सार सेवा एउटै केन्द्रबाट उपलब्ध गराउने योजनामध्ये केही सुविधा कार्यान्वयनमा छन् तर भाडा छुट ढिलाइ हुँदा उद्योगी निराश थिए । सरकारको नयाँ निर्णय अनुसार उद्योगीले अब पूर्वनिर्धारित भाडाको २५ प्रतिशत मात्र तिर्नुपर्नेछ । सेजमा उद्योग सञ्चालन गरिरहेका पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक देवेन्द्र साहुले यो निर्णयले उद्योगलाई ठूलो राहत दिएको बताए । “चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमै भाडा घटाउने व्यवस्था गरिएको थियो,” उनले भने, “तर लागू नहुँदा उत्पादन बन्द गर्ने अवस्था आएको थियो । ढिलै भए पनि सरकारले ढाडस दिएको छ ।” भैरहवा सेजका प्रमुख सवुत डुम्रेका अनुसार उद्योगीले विगतदेखि नै भाडा घटाइदिन माग गर्दै आएका थिए । सरकारले माग सम्बोधन गरेपछि उद्योगीहरू आत्मविश्वासी बनेका छन् । हाल सेजमा १२ वटा उद्योग सञ्चालनमा छन् भने सात वटा निर्माणाधीन छन् । ६८ मध्ये ५२ वटा प्लट उद्योगले लिइसकेका छन् र बाँकी १६ वटा पनि बुक भइसकेको डुम्रेले जानकारी दिए । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र आचार्यले भाडा घटाउने निर्णय स्वागतयोग्य भएको बताए । “बजेटमै नीतिगत व्यवस्था भए पनि तीन महिनापछि लागू गर्ने भनिएको थियो,” उनले भने, “हामीले मन्त्रीपरिषद्मा निरन्तर आग्रह गर्दै आएका थियौँ, त्यसलाई अहिले आएर सम्बोधन गरिएको छ ।”
पर्यटकको रोजाइमा सुनसरीकाे ‘बोराबाध’
सुनसरी। यहाँको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । नदी किनारको मनोरम दृश्य, सूर्यास्तको आकर्षक झल्को तथा ‘क्याम्प फायर’, रिसोर्ट, ‘कफी सप’ र खाजा पसल थपिँदै गएपछि यहाँ दैनिक चहलपहलसमेत बढ्दै गएको छ । व्यवसायी बिकुल श्रेष्ठले केही वर्षअगाडिसम्म सुनसान रहने यो ठाउँमा हाल पर्यटकको चहलपहल बढ्दै गएको बताए । उनले यही मङ्सिर १ देखि क्याम्प फायरमा सञ्चालनमा ल्याएको र जसमा १० जना कामदार रहेका बताए । स्थानीय परिकार, लोकल कुखुराको मासु, सेकुवा, सुकुटी तथा कोशीको ताजा माछा मुख्य रोजाइमा पर्न गरेका श्रेष्ठले बताए । चार वर्ष विदेश बसेर स्वदेश फर्किएका श्रेष्ठले यसअघि दूध डेरी, सफारी सञ्चालन र ग्यारेज व्यवसाय सञ्चालन गरेका थिए, हाल सबै छोडेर पर्यटन प्रवर्द्धनका लागि क्याम्प फायर सुरु गरेको बताए । उनले भने, “यहाँ पर्यटकको सङ्ख्या बढेकाले हाल व्यवसाय निकै राम्रो छ । राति बस्न चाहनेका लागि पनि व्यवस्था मिलाएका छौँ । प्रतिव्यक्ति रु एक हजारमा टेन्ट र सिरक–डस्नासहित सुविधा उपलब्ध छ ।” ‘बोराबाध’ विशेषगरी सप्तकोशी नदीको वार्षिक कटान रोक्न बोरामा सिमेन्ट भरेर बनाइएको छ । यही बाँधका कारण यस स्थानलाई ‘बोराबाध’ नामले चिनिन थालिएको स्थानीय बताउँछन् । पहिले दुई–तीनवटा रूख मात्र रहेको, गर्मीमा फाटफुट मानिस आउने यस क्षेत्रमा हाल दैनिक धेरै मानिस आउन थालेका छन् । केही समयअघि यहाँ एउटा चटपटे पसल मात्र थियो, हाल रिसोर्ट, क्याम्प फायर, खाजा पसल र कफी सप गरी आधा दर्जनभन्दा बढी व्यवसाय सञ्चालनमा छन् । स्थानीय भीषण राईका अनुसार दिउँसो र बिहानभन्दा सूर्य अस्ताउँदा यहाँ पर्यटकको अत्यधिक भीड लाग्छ । दैनिक दुई हजारदेखि दुई हजार ५०० पर्यटक यहाँ आउने गरेका छन् भने त्यो सङ्ख्या शनिबार पाँच हजारभन्दा बढी पुग्ने गरको छ । “पहिले सूर्य उदाउँदो हेर्न मानिसहरू इलामको श्रीअन्तु पुग्छन् भने भन्ने सुनेका थियौँ, हाल सूर्यास्त हेर्न ‘बोराबाध’ आउने गर्छन् । सूर्य अस्ताउँदा कोशीमा उज्यालो पर्ने भएकाले तस्बिर र भिडियो खिच्नकै लागि भए पनि यहाँ पर्यटकको भीड लाग्ने गरेको छ”, उनले भने । हाल सुनसरीका इटहरी, धरान, इनरुवा साथै मोरङ, झापा र विराटनगरका विभिन्न ठाउँबाट दैनिक रूपमा धेरैजसो पर्यटक आउने गरेका छन् । इटहरीबाट साथीहरूसहित घुम्न आएकी सरिता श्रेष्ठ भन्छिन्, “पहिले हामी बराहक्षेत्र घुम्न आउँदा चतरापुल र मन्दिरसम्म पुग्थ्यौँ, हाल बोराबाध मुख्य आकर्षण बनेको छ । साँझपख दिनभरिको भन्दा धेरै रमाइलो हुन्छ । सूर्यास्तमा कोशीमा फोकस पर्छ । फोटो खिच्नकै लागि भए पनि हप्तामा दुई–तीनपटक आउँछौँ ।” प्राकृतिक सौन्दर्य, सूर्यास्तको मनमोहक दृश्य, कोशी किनारको खुला भू–दृश्य, क्याम्प फायरको आकर्षण र स्थानीय खानाका कारण बोराबाध’ पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । यसले स्थानीयस्तरमा रोजगार, व्यवसाय वृद्धि र आयमा सकारात्मक प्रभाव पारिरहेकाले थप पूर्वाधार विकास गरी लाभ लिनुपर्ने स्थानीयको माग छ ।
‘जीवन गुजाराको आधार सडकपेटी’
महोत्तरी । “आफ्नो त केही पनि छैन, मकै पोलेर बेच्ने यही सडकपेटी छ । घर पनि रातु नदी उकासको पर्तिमा छ, न लालपुर्जा न त कुनै कागजको चिर्कटो”, मिथिला–१० लालगढको सुन्दर बस्तीकी ४० वर्षीया सरिता दासले भनिन् । उनले महोत्तरीको बर्दिबास–१ स्थित बर्दिबास जलेश्वर सडकपेटीमा मकै पोलेर गुजारा चलाइरहेही उनि भन्छिन्, “हातगोडा चलुञ्जेल त धानौला, थला परेपछि के गति हुने हो ? खै ! ” हरेक दिन दासको दैनिकी मकैको घोगाबाट सुरु हुन्छ । बिहान ओछ्यानबाट उठ्नासाथ छोरीको खानेकुरा ठिक पारेपछि उनलाई विद्यालय जान भनेर आफू हरिया मकैका घोगा किन्न बजार दौडिन्छिन् । कहिलेकाहीँ नजिककै बर्दिबास, बडहरी र ढल्केबर बजारमा मकै पाइए पनि प्रायजसो सर्लाहीको नवलपुर, हरिऔन र लालबन्दी बजार पुग्नु परेको दासले बताइन् । करिब ३०/३५ किलोमिटर धाएर ल्याएको मकै सडकपेटीमै पसारेर हातमुख जोड्ने बन्दोबस्त गर्ने दासलाई त्यसरी आर्जेको एक गाँस खान पनि निकै हतार हुन्छ । “मकै लिन जाँदै एउटा थैलामा खानेकुरा बोकेर हिँड्छु, यहाँ बर्दिबासको सडकपेटीमा मकै बिसाउनासाथ ग्राहक झुम्मिन्छन्, आफूm खानेकुरा खानु कि ग्राहक हेर्नु हुन्छ”, दास भन्छिन्, “सधैँको राख्ने ठाउँबाट तावा र कोइला निकाल्छु, हतारहतार दुई गाँस खाएर मकै पोल्न थाल्छु ।” उनको दैनिकी दसौँ वर्षदेखि चलिरहेको छ । “लाउँलाउँ खाउँखाउँकै उमेरमा पतिको मृत्यु भएपछि मेरा अगाडि कुनै सहारा थिएन, छोरी भर्खर एक वर्ष टेक्दै थिइन्, त्यसैबेला बज्रपात पर्यो”, दासले पीडा सुनाइन्, “छोरीतिर हेरेँ, अनि म सम्हालिन पर्छ भन्ने लाग्यो । यसलाई लेखपढ गराउँछु भन्ने त्यतिखेरै सोचेँ । केही गर्छु भन्ने मनमा आए पनि आफूmसँग पुँजी नभएपछि केही दिन छरछिमेकमा ज्यालामजदुरी गरेर जीवन धान्न थालेँ ।” अर्काको अधीनको कामले आफू र छोरी पालिन धौधौ परेपछि आफ्नै केही पेसा गर्नुपर्छ भन्ने हुटहुटीले मकै पोल्न थालेको उनी बताउँछिन्। “कोइला (दाउराको अँगार) आफ्नै बस्तीका आरनेकाकासँग उधारोमा पाएँ, एउटा ठूलो तावा र मकै चाहियो, त्यसका लागि टोलका तीन/चार जनासँग मागेर दुई हजार पुर्याएँ”, करिब १० वर्षअघिको कुरा सम्झँदै उनले भनिन्, “बस्, भोलिपल्टदेखि नै बर्दिबासको सडकपेटीमा मकै पोल्न थालेँ । यो काम थालेयता दुई/चार पैसा थैलीमा हुन थालेको छ । छोरी सपनालाई पढाउन पाएको कुरामा सन्तुष्ट छु । सपना (छोरी) राम्रो पढेकी छ भन्छन्, उनका माड्साबले, यस्तो सुन्दा दङ्ग पर्छु । आफूmले अक्षर चिनिन, छोरीले राम्रो पढेकी छे भन्ने सुन्दा आफ्नो मन बुझाउने ठाउँ पाएकी छु ।” सुरुमा एक सय घोगा मकैबाट सुरु गरेको व्यापार हाल दिनहुँ तीन सय घोगासम्म बेच्ने गरेको दास बताउँछिन् । हाल पेसा गरिरहेको सडकबाट हटाउन बेलाबेला दबाब आए पनि उपयुक्त नयाँ ठाउँ नपाएकाले ठाउँ सर्न नसकेको उनको भनाइ छ । “कति ठाउँमा फुटपाथ पसलेका सामान कर्मचारीले फ्याँके भन्ने सुनेकी छु, डर लाग्छ, तर मलाईचाहिँ त्यस्तो गरिएको छैन । टेक्ने समाउने अरू ठाउँ नहुँदा यही पेटीलाई सहारा बनाएकी छु । कसैगरी छोरीले राम्रो पढी भने जीवन अलि सहज हुने आसमा यही पेसामा रमाइरहेकी छु”, उहाँ भन्छिन्। दिनहुँ मध्याह्नपछि थालिने मकै पोल्ने र बेच्ने कामले रु सात/आठ सयसम्म कारोबार हुने गरेको र यसले आमाछोरीको गुजारा र छोरीको पढाइ धानिरहेको दासले बताइन् । उनकै छिमेकी अघनियाँ महराले पनि उनीबाट प्रभावित भएर मकै पोल्ने पेसा अँगालेकी छन् । बर्दिबासचोककै सडकपेटीमा मकै पोलेर बेच्ने ५५ वर्षीया महराको जीवन पनि दासको जस्तै छ । पति रौदी महराको २० वर्षअघि मृत्यु हुँदा दुई छोरी र छोरा सबै १० वर्षमुनिका थिए । बस्ती वरपर बनिबुतो (मजदुरी) गरेर जहानको गुजारा चलाएका पतिको मृत्युपछि कतिपय दिन भोकभोकै सुत्नु परेको महराको सम्झनामै छ । “कतिले दयामाया गरेर एकमुठी खानेकुरा दिन्थे, ससाना लालाबालालाई अब भोलि खाउँला भनेर थुमथुम्याउँदै सुताउँथे”, अप्ठ्यारा दिनहरू सम्झँदै उनी भन्छिन्, “सरिताले मकै पोल्न थालेकी थिइन्, उनैको सल्लाहले बनिबुतोको पैसा जम्मा गरेर मैले पनि थालेँ । यसले जीवन धानिएको छ ।” महराले मकै पोलेर बेचेको पैसाले नै दुई छोरीको विवाह गरिन्। छोराको पनि बिहे भयो । नाति काखमा छ । छोराबुहारी दुवै सहयोगी हुँदा व्यापारमा साथ पाएको उनी बताउँछिन् । “अब छोरा विदेश जाने भन्दै छ, त्यसका लागि रकम जम्मा गर्दैछौँ, ऊ गएपछि सासूबुहारी मिलेर यहाँको काम चलाउँछौँ,” भविष्यको मीठो सपना सँगालेकी उनी भन्छिन्, “छोराले दुःख बुझेको छ । पक्कै हाम्रा दिन फेरिएलान् नि !” दास र महराजस्तै बर्दिबास–२ बारनचौडीकी ६० वर्षीया जयकलादेवी मुखिया पनि बर्दिबासको भोलावसन्तचोक छेउकै सडकपेटीमा मकै पोलेरै जीवन निर्वाह गरी रहेकी छिन् । पारिवारिक अवस्था भने मुखियाको दास र महराभन्दा निकै कहालीलाग्दो छ । पति सत्यनारायण मुखिया रक्सीको कुलतले ३० वर्षअघि बिते । चार छोरामध्ये हुर्केका दुई छोरा रक्सीकै कुलतले मरे । साइँलो छोरो हराएको २५ वर्ष भयो । घरमा अब कान्छो छोरा, बुहारी र आफूसहित तीन जनाको गुजारा मकै पोलेरै गर्नुपरेको मुखियाले बताइन् । उनले मकै पोलेर गुजारा चलाउन थालेको २० वर्ष भइसकेको छ । “पति हुँदा पनि सहारा त थिएनन्, दिनभरि भट्टीतिरै हुन्थे, गुजाराका लागि आफैँ बनीबुतो गर्नुपर्थ्यो । पछि केही पैसा जम्मा गरेर मकै पोल्न थालेकी हुँ, यसले धानेको छ । हाल दिनमा चार सय घोगासम्म मकै बेचेर दैनिक रु एक हजार जति कारोबार हुने गरेको छ”, मुखिया भन्छिन्, “कामले थोरै सन्तोष दिए पनि छोरो र विगत सम्झँदा विरक्त लाग्छ । पति रक्सीले नै मरे, छोराहरूको पनि त्यही कुलतले ज्यान गयो । एउटा मरे बाँचेको अत्तोपत्तो छैन ।” यसरी बर्दिबासमा सडकपेटीमा ससाना व्यवसाय गर्ने धेरै छन् । यिनलाई प्रोत्साहन गर्दै निर्धक्क पेसा गर्ने वातावरण बनाउन आवश्यक रहेको सामाजिक अभियन्ता महिला बर्दिबास–२ की नगिना महतो बताउँछिन् ।
नेपाली कम्युष्ट पार्टी लुम्बिनीको संसदीय दलको नेतामा महरा चयन
दाङ । १२ दल एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी लुम्बिनीको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् । एकीकृत पार्टीको पहिलो संयुक्त बैठकले प्रदेशसभाका लागि दलका नेता, प्रमुख सचेतक र सचेतक तोकेको हो । दलका प्रमुख सचेतक इन्द्रजीत थारुका अनुसार संसदीय दलको नेतामा महरा, प्रमुख सचेतकमा थारु स्वयं र सचेतकमा एकीकृत समाजवादीकी भगवती अधिकारीलाई जिम्मेवारी दिइएको छ । लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका ११ र समाजवादीका एक गरी १२ सांसद रहेकाले एकीकृत नेपाली कम्युनिष्ट पार्टी तेस्रो ठूलो शक्ति बनेको छ । जम्मा ८७ सदस्यीय प्रदेशसभा एक सांसदको निधनपछि ८६ मा झरेको छ । एमाले २८ सांसदसहित पहिलो, नेपाली कांग्रेस २७ सांसदसहित दोस्रो, राप्रपा–नाउपा मिलेर चौथो, जनमत, लोसपा, जसपा तथा अन्य साना दल पछिल्ला स्थानमा छन् ।
गण्डकीमा बढेन हिमाल आरोहणको आकर्षण बढ्दै
गण्डकी । गण्डकी प्रदेश आफैँमा पर्वतीय पर्यटनको दृष्टिले विश्वकै उत्कृष्ट गन्तव्य मध्येमा पर्छ । विश्वकै हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथम यही प्रदेशमा नै पर्दछ । हिमाल आरोहणका दृष्टिबाट विश्वमा नै इतिहास रच्न सफल अन्नपूर्ण प्रथम रहेको यो प्रदेशअन्तर्गतका हिमालहरूमा आरोहणको अवस्था अत्यन्त नगण्य मात्रामा पाइन्छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै विश्वमा नै हिमाल आरोहणको विषयले चप चासो र चर्चा पाएको हो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि मात्रै सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै नेपाल पदयात्रा पर्यटनका लागि पनि विश्वको आकर्षक गन्तव्यका रुपमा विकास भएको थियो । आरोहणको इतिहासमा विश्व कीर्तिमानी कायम गरेको यस प्रदेशमा त्यसयता आरोहणका क्रमले भने अपेक्षित गति लिन नसकेको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले बताए । पर्वतीय पर्यटनसँगै हिमाल आरोहण यहाँको प्रचुर सम्भावना रहे पनि त्यसको राम्रोसँग उजागर हुन नसकेको उनले बताए । विश्वमा आठ हजार मिटर उचाइमाथिका १४ हिमालमध्ये आठ हिमाल नेपालमा पर्दछन् । जसमध्ये तीनवटा हिमाल गण्डकी प्रदेशभित्रै रहेका छन् । गण्डकी प्रदेशमा आठ हजार १६७ मिटर उचाइको धौलागिरि प्रथम, आठ हजार १६३ मिटर उचाइको मनास्लु र आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम आठ हजार मिटरभन्दा बढी उचाइका हिमाल हुन् । गण्डकी प्रदेशअन्तर्गतका जिल्लामा रहेका कुल १२१ हिमाललाई आरोहणका लागि खुला गरिएको छ । गण्डकी प्रदेशअन्तर्गत थप विभिन्न १५ हिमाल आरोहणका लागि प्रस्ताव गरिएका छन् भने छ हजार ९९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल आरोहणका लागि प्रतिबन्धित छ । विशेषतः गुरुङ समुदायको धार्मिक आस्था र विश्वासको माछापुच्छ्रे हिमालको फेदमा रहेको पूजनीयम बराहको धार्मिक महत्वसँगै प्राचीनकालदेखि नै यो हिमालको आरोहण नभएको पाइन्छ । कास्कीको घान्द्रुकबाट माछापुच्छ्रे आधार शिविर तथा अन्नपूर्ण आधार शिविर जाने मार्गमा पर्ने यो बराह मन्दिरको अलौकिक शक्ति रहेको यहाँका स्थानीयवासी बताउँछन् । गण्डकी प्रदेशभित्र रहेको ६ हजार ५०० मिटरभन्दा बढी उचाइका ७१ हिमाल आरोहणका लागि अनुमति प्राप्त भएकामा विगत पाँच वर्षयता २२ हिमालको आरोहणका लागि मात्रै पर्यटन विभागमा अनुमति लिएको पाइएको छ । सन् २०२० देखि २०२४ भित्र सबैभन्दा बढी सन् २०२२ मा ८०४ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ । त्यस्तै प्रदेशभित्र ६ हजार ५०० मिटरभन्दा कम उचाइका आरोहणका लागि खुला गरिएका ५० हिमालमध्ये सन् २०२० देखि २०२४ सम्ममा जम्मा पाँच हिमालका लागि ९०७ जनाले आरहेणको अनुमति लिएको पाइएको छ । गण्डकी प्रदेशभित्र हिमाल आरोहणका लागि सबैभन्दा बढी आकर्षण मनास्लु हिमालमा रहेको नेपाल पर्वतारोण सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष शेषकान्त शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा पर्वतारोहणका लागि पर्यटक पथ प्रदर्शकको पनि कमी रहेको बताउँदै उहाँले पछिल्लो समयमा गोरखाको लाप्राकमा पर्यटक पथप्रदर्शकहरू थपिएको जानकारी दिए । पर्वतारोहणको सबै अनुमति पर्यटन विभागबाट हुने गरे पनि ६ हजार ५०० माथि र त्यहाँभन्दा तल उचाइ आदिका कारण अनुमतिको कही प्रावधान भने फरक रहेको उनले बताए । पछिल्ला समयमा गण्डकी प्रदेशमा आरोहणको आकर्षण बढाउन प्रयासहरू भने भइरहेको बताउँदै उहाँले नेपाल पर्वतारोहण सङ्घमार्फत पर्यटक गाइडका लागि तालिममा पनि जोड दिइएको बताए । सङ्घकै आयोजनामा यसअघि ६ हजार १२ मिटर उचाइको धम्पुस पिक र छ हजार १४४ मिटर उचाइको थोाराङ पिकको प्रवर्द्धनात्मक आरोहणसमेत गरिएको थियो । “यस क्षेत्रमा आकर्षण बढाउनका लागि सबैको साथ र सहयोग आवश्यक छ”, उनले भने, “पर्यटक पथप्रदर्शक तयार गर्नका लागि राज्यका तर्फबाट विभिन्न किसिमका तालिम सञ्चालन गरिनु अपरिहार्य छ ।” धेरै सम्भावना भएर पनि पर्वतारोहण पर्यटनको गण्डकी प्रदेशमा आकर्षण बढ्न नसकेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बताए । हिमाल आरोहणमा आकर्षण बढाउन सकेमा त्यसले गण्डकीको पर्यटनमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ । गण्डकी प्रदेशमा ठूलासाना गरी धेरै हिमाल रहेका कारण यहाँ पर्वतारोहण पर्यटनको धेरै सभ्मावना रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । “यहाँका हिमाल तथा चुचुरालाई पर्यटन जोड्नका लागि पर्वतारोहण शिक्षा दिने शिक्षालय आवश्यक छ”, उनले भने, “सामान्य हिमाल आरोहणका लागि पनि पर्यटक पथप्रदर्शक काठमाडौँबाट ल्याउनुपर्ने अवस्था अन्त्य गर्न आहरोणबारे सिकाउनका लागि शिक्षालय अपरिहार्य छ ।” आरोहणका लागि आवश्यक दक्ष जनशक्ति यही तयार भएमा गण्डकी प्रदेशमा यसतर्फको आकर्षण बढाउन सकिने उनले बताए ।
बागमती प्रदेशमा दुई लाख पाँच हजार १६८ जना नयाँ मतदाता
मकवानपुर । बागमती प्रदेशको १३ जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख पाँच जार १६८ जना नयाँ मतदाता थपिएर ३६ लाख १८ हजार ३७ पुगेको छ । विसं २०७९ मङ्सिरमा भएको निर्वाचनमा प्रदेशको मतदाता सङ्ख्या ३४ लाख २२ हजार ८६९ थियो । मकवानपुर जिल्लामा गत २०७९ को निर्वाचनमा तीन लाख दुई हजार २४ जना मतदाता रहेकामा राष्ट्रिय परिचयपत्रको तथ्याङ्कबाट सात हजार ६३३ जना र प्रदेश निर्वाचन कार्यालयमा दर्ता भएका छ हजार ९७० जना नयाँ मतदाता थप भएका बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।
एउटा कर्मचारीको भरमा बागलुङकाे बलेवा विमानस्थल
बागलुङ । बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन सकेका छैनन् । जहाज नआउँदा सुनसान बनेको बागलुङको बलेवा विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा पौडेलले गर्दै आएकी छिन् । बाह्र वर्षयता विमानस्थलको रेखदेख गर्दै आएकी सविताको काँधमा भौतिक सम्पत्तिको संरक्षणदेखि सरसफाइसम्मको जिम्मेवारी छ । सुनसान विमानस्थलमा एक्ली कर्मचारीका रूपमा उनी कार्यरत छिन् । बागलुङको बलेवा विमानस्थलमा २०४८ सालसम्म धुलो उडाउँदै नियमित विमान अवतरण र उडान भए पनि त्यसयता नियमित सञ्चालनमा आउन सकेको छैन । बागलुङ पोखरा राजमार्ग विस्तार भएपछि यात्रु अभावमा विमानस्थल बन्द भयो । स्थानीयले जग्गा खनेर २०२२ सालमा निर्माण गरेको विमानस्थल चलाउन पहल भने नभएको होइन । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको विमानस्थल अहिले सुनसान छ । बन्द भएको विमानस्थलमा समयसमयमा चाटर्ड उडान भने भइरहन्थे । करिब २६ वर्षपछि बागलुङ नगरपालिकाले विमानस्थल सञ्चालनमा ल्याउने प्रयास थालेसँगै नगरपालिकाको संयोजनमा विसं २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना हिउँदमा धसलाम्मे र बर्खामा हिलाम्मे धावनमार्गमा उडानसमेत भरेका थिए । त्यसपछि विमानस्थल बन्द भयो र धावनमार्ग कालोपत्रे थालियो । तर धावनमार्ग कालोपत्रे भएको चार वर्ष बित्नै लागे पनि कालोपत्रे धावनमार्गमा एकपटकसमेत जाहाज आउन सकेको छैन । बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आइसकेपछि विमानस्थल सञ्चालनमा ल्याउन हप्तामा दुई दिन उडान भर्ने र यात्रु अभाव हुँदाको भाडा नगरपालिकाले व्यहोर्ने सम्झौता गरेपछि केही महिना सञ्चालनमा आएको विमानस्थल धावनमार्ग पक्की बनेपछि ठप्प बनेको हो । कालोपत्रे भएर चिटिक्क बनेको विमानस्थलमा अहिलेसम्म परीक्षण उडानसमेत नभएको बागलुङ नगरपालिका–१४ नारायणस्थानका वडाध्यक्ष एवं बागलुङ नगरपालिकाका प्रवक्ता चक्रबहादुर खत्रीले बताए । उनले बलेवाका स्थानीय अझै जहाज आउनेमा आशावादी रहेको बताउँदै पटकपटक जहाज चलाउन पहल भए पनि सार्थकता पाउन नसकेको उल्लेख गरे । “पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई विमानस्थल अवलोकनसमेत गराइयो, धुलो उडाउँदै उड्ने जहाज कालोपत्रे हुँदा आएनन्, विमानस्थलमा उपकरण चुस्त र सुरक्षित छन्”, खत्रीले भने, “राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर कालोपत्रेको चरणमा रहेकाले कालोपत्रे भइसक्दा यात्रु सहज ढङ्गले विमानस्थलमा आउने वातावरण भएमा विमानस्थल चल्न सक्छ, नगरपालिकाले विमानस्थललाई पाइलट प्रशिक्षण केन्द्र तथा अल्ट्रालाइटजस्ता साहसिक उडानका लागि पहल गरिरहेको छ ।” पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले विमानस्थल चलाउन पहल गर्ने भनिए पनि निजी क्षेत्रका एयरलाइन्सले यात्रु सुनिश्चितता नभएसम्म उडान भर्न नमान्ने गरेको बताएको खत्रीले जानकारी दिए । धावनमार्ग कालोपत्रे, तारबार, टावर मर्मत तथा विमान पार्किङ लगायतको काम सम्पन्न भएको चार वर्ष बित्दा परीक्षण उडान हुन नसक्नु दुःखद् भएको बागलुङ नगरपालिकाका पूर्वनगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । “हाम्रो पालामा कालोपत्रे भएको विमानस्थल चलाउन अहिलेको जनप्रतिनिधिले पल गर्न आवश्यक छ । तत्कालीन अवस्थामा आफूले नगरपालिकाको रु १० लाख धरौटी राखेर विमानस्थल चलाइएको हो । धावनमार्ग कालोपत्रपछि अहिलेको जनप्रतिनिधिले विमानस्थल चलाउन पहल गरेका छैन”, उनले भने । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्यभागमा पर्ने विमानस्थलको पर्यटकीय रूपमा पनि सम्भावना भए पनि विमानस्थल चलाउन नसकिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले स्वीकार गरे । उनले नगरपालिकाको पहलले मात्रै विमानस्थल चलाउन समस्या हुने बताउँदै सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वयमा मात्रै विमानस्थल सञ्चालन गर्न सकिने धारणा राखे । विमानस्थलको ७०० मिटर लामो धावनमार्ग कालोपत्रे गरेर चिटिक्क पारे पनि अहिलेसम्म जहाज आउन नसकेको उनको भनाइ छ । चौबिस मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगनसमेत गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । विमानस्थल हवाइजहाजको पर्खाइमा चार वर्ष बितिसकेको छ । नागरिक उड्डयन प्राधिकरणले रु आठ करोड खर्चेर चार वर्षअघि मात्रै विमानस्थल कालोपत्रे तथा अन्य पुराना पूर्वाधार मर्मत गरेको थियो । विमानस्थलमा गरेको लगानी जहाज नआउँदा बालुवामा पानी जस्तै भएको राम शर्माले बताए । यहाँ १८ देखि २४ सिट क्षमताका जहाज सञ्चालन हुने सक्छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई सुविधा पुग्नेछ । कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट १२ किलोमिटर सडक पर्दछ । उक्त सडक कालोपत्रेको चरणमा छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्रे सम्पन्न भएपश्चात् विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला निकाय बताउँछ ।

