तेस्रो पटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री

तेस्रो पटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उनले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।  

दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठ्दै आए पनि केन्द्रीय गठबन्धनका कारण प्रदेशमा पनि कांग्रेस, माओवादी, लोसपा र एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने भएका छन् ।

जनमतले छाडेका दुई मन्त्रालय कांग्रेस र माओवादीलाई दिने सहमतिमा दुवै दलले विश्वासको मत दिने सहमति छ ।  

मधेसमा १०७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९–९ सांसद छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १/१ सांसद छन् भने एकजना स्वतन्त्र सांसद रहेका छन् ।

सहकारी ठगी प्रकरणमा रबिले सत्ताको दुरुपयोग गरे  : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।संसद बैठक चल्न नदिने कुरामा आफू नभई सरकार र यसको कामकारबाही जिम्मेवार रहेको महामन्त्री थापाको जिकिर थियो । शुक्रबार प्रतिनिधि सभा बैठकको शुभारम्भमा बोल्दै महामन्त्री थापाले कांग्रेसले लगाएको आरोप गलत सावित गर्न उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने आफूहरुको मागलाई इन्कार गरेर सरकार र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि आफूहरुलाई हेप्न खोजेको भन्दै आपत्ति पनि जनाए। उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले त्यहाँको जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको दाबी समेत गरे । उनले सरकार र सत्तारुढ दलहरुकै नेतृत्वमा छानविन समिति बनाउने भएकाले त्यसमा डराउनुपर्ने कुनै कारण नभएको पनि बताए। महामन्त्री थापाले सो प्रकरण ढाकछोपका लागि रबि लामिछानेले कहिले प्रधानमन्त्री त कहिले प्रहरीलाई बोल्न लगाएको आरोप लगाए । साथै उनले सो प्रक्ररणमा महान्यायाधिवक्ताको कार्यालयलाई समेत दुरुपयोग गरेको जिकिर गरे ।

संसदमा बोल्न कांग्रेस सांसदलाई ‘गृहकार्य’

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा गृहमन्त्री रवि लामिछानेका विषयमा तर्क सहित बोल्न भन्दै आफ्ना सांसदलाई सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन वितरण गरेको छ ।  शुक्रबार बसेको संसदीय दलको बैठकमा प्रहरीको अनुसन्धान प्रतिबेदन बाँडिएको हो । नेताहरुका अनुसार सभापति शेरबहादुर देउवाले नै रूपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सांसदहरुलाई दिन भनेपछि वितरण गरिएको हो ।  यो प्रतिवेदनमा रवि लामिछानेको नाम उल्लेख रहेको भन्दै त्यसकै आधारमा टेकेर संसदमा प्रस्तुत हुन देउवाले नै सुझाएका छन् । प्रहरी अनुसन्धानका आधारमा रुपन्देहीको सरकारी वकिलको कार्यालयले वैशाख ३ गते अदालतमा दर्ता गरेको अभियोजनपत्रमा लामिछानेले प्रक्रिया पूरा नगरी कर्जा लिएको उल्लेख छ । यही विवरणका आधारमा संसदमा आफ्ना धारण राख्न कांग्रेस सांसदहरुलाई भनिएको हो। एक नेताका अनुसार देउवाले संसदीय दलको बैठकमा भनेका छन्, ‘प्रतिबेदन अध्ययन गर्नुस्, कुन कुन ऐन आकर्षित हुन्छन्, संसदमा तर्क सहित राख्नुस् ।’

संसदको कार्यसूचि तय गर्न कार्यव्यवस्थाको बैठक बस्दै

काठमाडौं । संसदको कार्यसूचि तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।  सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने तय भएको जानकारी दिए । बैठकले आज दुई बजे बस्ने प्रतिनिधि सभाको कार्यसूची तय गर्नेछ । संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदैछ ।  शुक्रबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची निश्चित छ । बैठकमा सभामुख घिमिरिेले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् । अधिवेशनको पहिलो दिन दलीय आधारमा शीर्ष नेताहरुले शुभकामना दिने गरिएको छ । शीर्ष नेताहरु बोलेपछि दुई वटा विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ ।

ओलीले एमाले सांसदहरुलाई प्रशिक्षित गर्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । संघीय संसदको वर्षे अधिवेशन अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको हो । एमाले संसदीय दलको बैठक साढे ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी तय भएको छ । बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम छ । संसदको वर्षे अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे सुरु हुँदैछ ।

लोकप्रिय