डराउँदै चलाउँदै इन्ड्राइभ राइडरहरु
कुनै ठाउँमा कारवाही गर्ने, कुनै ठाउँमा निर्वाध छोड्ने, एप्लिकेसन चल्न दिने गर्दा राइडर, यात्रु र नियन्त्रण गर्ने प्रहरी समेत अन्यौलमा
काठमाडौं । गोदावरी नगरपालिका वडा नम्बर १६ ठेचोमा बाटोको छेउमा मोटरसाईकलमा बसेर प्रशान्त तामाङ मोवाइल हेरिरहेका थिए ।
इनड्राइभ एप चलाइरहेका उनी कुनै अर्डर पर्खिदै थिए । एकैछिनमा एक जना यात्रु आएर सातदोबाटो जान आग्रह गर्दै पैसा कति लाग्ने भन्नेबारे जिज्ञासा राखे ।
तामाङले मोवाइल एपमा रकम हेर्न आग्रह गर्दै आफुले अफलाईन ड्राइभ नगर्ने बताए । उनले भने, ‘इनड्राइभमा अनलाइन नै भएपनि समाउन थालेको छ भन्ने सुनेको छु, अफलाइन त झन चलाउनै भएन नी !’
इनड्राइभ एपमा रु. १०५ देखाएपछि त्यही पैसा दिने लिने त सहमति भयो तर तामाङले त्यसपछि मोवाइलमा एप बन्द गरे र पछाडि बस्नेलाई आग्रह गरे, ‘अहिले इनड्राइभलाई समाउने गरेको छ, प्रहरी चेकिङ भयो भने, मेरो भाइ हो, भनिदिनुस् ल !’
प्रशान्त तामाङ मात्रै होइन, अहिले इन ड्राइभ गर्नेहरु धेरैले यही अभ्यास गर्ने गरेका छन् । चल्ने एप पनि खुल्ला छाड्ने र बेला बेला ‘प्रयोजन विपरित सवारी चलाएको’ भन्दै दुई हजार देखि दुई हजार पाँच सय चिट काट्ने र पक्राउ सम्म गरेपछि इनड्राइभ चालकहरु दोधारमा परेको देखिन्छ ।
प्रशान्त भन्छन्, ‘कि सरकारले टिकटक जस्तै एप्स नै नचल्ने बनाए हुने, कि बन्द नै हो भने हुने, कि बेला बेला दुःख नदिए हुने ।’
गएको २२ चैतको बेलुका बौद्धको नयाँबस्तीस्थित पहेँलो पुलमा एकैपटक इन्ड्राइभ एपमार्फत राइड सेयरिङ गरेका १० जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले जनही दुई हजार रुपैयाँ जरिवाना गरेको कुरा सामाजिक सञ्जालमा रहेको उनीहरुको ग्रुपमा मार्फत सार्बजनिक भएपछि इन्ड्राइभका राइडरहरु आतंकित भएका हुन् ।
मोटरसाइकल चालकले ग्राहकसँग मोलमोलाइ गरेर अफलाइनमा राइड सेयरिङ गरेको पाएमा ट्राफिकले कारबाही गर्ने गरेपनि इनड्राइभ एपमा अनलाइनमा नै चलाउँदा पनि कारवाही भएपछि इन्ड्राइभका राइडरहरु झस्किएका छन् ।
नेपालमा २०२२ देखि सञ्चालनमा आएको इन्ड्राइभमा कमिसन दिनुनपर्ने भएपछि अर्को राइड सेयरिङ गर्ने एप ‘पठाओ’ भन्दा यो केहि सस्तो पर्ने चालक तथा यात्रु बताउँछन् । एभरेष्ट दैनिकसँगको कुराकानीमा राइडर्स ग्रुप नेपालका सचिव सागर थापा भन्छन्, ‘नेपाल राजपत्रमा प्रकाशित भएको कुरामा पनि हामीलाई बेलाबेला दुःख दिने गरिएको छ । पठाओमा कमिसनको खेल हुँदा यात्रु र राइडर दुबैलाई केही घाटा हुन्छ, तर यसमा हुँदैन ।’
अघिल्लो विहीबार देखि अकस्मात रुपमा आफुहरुलाई समाउन लागेको उनले बताए ।
‘भारत, पाकिस्तान, अष्ट्रेलिया कहींपनि इन्ड्राइभको अफिस छैन तर मजाले चलिरहेको छ, सचिव थापाले भने, एपमा सम्पूर्ण डकुमेन्टहरु अपडेट हुने भएकाले दर्ता नै गर्नुनपर्ने हो । तर दर्ता प्रक्रियामा भएपनि नेपालको कानूनका कारण ढिला भएको र ९० प्रतिशत काम सकिएको जानकारी पाएको छु ।’
पोखरामा सात सय जनाको ग्रुप भएकोमा कसैलाई नसमाइएको, ललितपुरमा पनि चासो नदिइएको तर काठमाडौंका केहि ठाउँमा दुःख दिएको थापाको भनाई छ । आफुहरुले गृहमन्त्रीका स्वकीय सचिव गृह मन्त्रालयमा कुरा गर्दा पनि अनलाईनमा चलाउन कुनै समस्या नभएको बताए पनि प्रहरीले फरक व्यवहार गरेको उनले दावी गरे ।
ट्राफिक प्रहरीले भने प्रयोजन विपरित चलाएका सवारीसाधन कारवाहीको दायरामा आउने बताएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता जीवनकुमार श्रेष्ठले भने, ‘इनड्राइभ चलेको वा व्याण्ड भएको कुनै जानकारी छैन ।’ एभरेष्ट दैनिकसँग राइड सेयरिङ गर्ने एपको नाम नलिइकन उनले अगाडि भने, ‘अफलाईन चलाउने, दर्ता नभएको चलाउने वा प्रयोजन विपरित चलाउने सबैलाई कारवाही हुन्छ ।’
उनका अनुसार रातो प्लेट नम्बर भएका सवारीसाधनले अर्को मान्छे ओसारपसार गर्नु नै ‘प्रयोजन विपरित’ हुन्छ । त्यस अर्थमा पठाओ समेत बन्द गर्नुपर्ने हुन्छ ।
प्रहरीले कारवाही गर्न थालेपछि इनड्राइभका राइडरहरुले मोटरसाइकल अगाडि राख्ने मोवाइल स्टाण्ड झिक्ने, यात्रु पाएपछि मोवाइलमा एप्स बन्द गर्ने, यात्रुलाई आफन्त भन्न लगाउने र गन्तव्यमा पु¥याउने गरेका छन् ।
राइडर्स ग्रुप नेपालका अनुसार आंशिक समय र पुरा समय गरी अहिले नेपालमा करिब दुई लाख २५ हजार जनाले राइड गरिरहेका छन् । राइडर्स ग्रुप नेपालका सचिव थापाले सरकारी कर्मचारीले समेत अहिले कार्यालय जाँदा र फर्किदा इन्ड्राइभ गर्ने गरेको बताए ।
नेपालमा हाल पठाओ, इन्ड्राइभ, टुटल, ट्याक्सीमाण्डु लगायतका राइड सेयरिङ एप सञ्चालनमा छन् । त्यसमध्ये पछिल्लो समय इन्ड्राइभका प्रयोगकर्ता बढि रहेको राइडर्स ग्रुपको भनाई छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८० साउनदेखि अहिलेसम्म राइड सेयरिङ गर्ने १९ हजार बढि कारबाहीमा परेका छन् । ति मध्ये इन्ड्राइभ र अफलाईन राइडर दुबै छन् ।
तर कुनै ठाउँमा कारवाही गर्ने, कुनै ठाउँमा निर्वाध छोड्ने, एप्लिकेसन भने निर्वाध चल्न दिने गर्दा राइडर, यात्रु र नियन्त्रण गर्ने प्रहरीमै पनि अन्यौल देखिन्छ ।
नेकपाकाे सुशासन मार्गचित्र: भ्रष्टाचारमुक्त प्रशासन र सरकारी सेवामा टाइम कार्ड' लागू गर्नेसम्मका योजना
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुशासन मार्गचित्र तयार पार्दै भ्रष्टाचारमुक्त प्रशासन र टाइम कार्ड' लागू गर्नेसम्मका योजनाहरू सार्वजनिक गरेकाे छ । प्रतिबद्ध पत्र प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा नेकपाले मुलुकको प्रशासनिक संरचनामा आमूल परिवर्तन गर्दै सुशासन कायम गर्न उच्चस्तरीय र अधिकारसम्पन्न 'लोकपाल' गठन गर्नेदेखि सरकारी सेवामा 'टाइम कार्ड' लागू गर्नेसम्मका योजनाहरू सार्वजनिक गरेको हाे । पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जारी गरेको प्रतिबद्धता पत्रमा प्रशासनलाई जनउत्तरदायी, तटस्थ र परिणाममुखी बनाउने संकल्प गरेको हो । पार्टीले भ्रष्टाचार नियन्त्रणलाई आफ्नो आधारभूत मान्यता बनाएको छ । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण विभागलाई एकीकृत गरी अधिकारसम्पन्न 'उच्चस्तरीय लोकपाल' गठन गर्ने योजना अघि सारेको छ । विगतदेखि हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न एक वर्षको समयसीमासहितको 'स्वतन्त्र सम्पत्ति छानबिन आयोग' गठन गरिने र भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । डिजिटल प्रशासन र 'मुहाररहित' सेवा सरकारी कार्यालयमा हुने झन्झट र ढिलासुस्ती अन्त्य गर्न पार्टीले 'ई–शासन ब्लुप्रिन्ट' कार्यान्वयन गर्ने बताएको छ । भनसुन र सिफारिसबिना नै सेवा प्राप्त गर्न सकिने गरी 'मुहाररहित, कागजरहित र नगदरहित' प्रशासनिक प्रणाली विकास गरिनेछ । यस्तै, सेवाग्राहीले नागरिक वडापत्र अनुसार तोकिएको समयभित्रै सेवा पाउने सुनिश्चित गर्न सार्वजनिक सेवामा 'टाइम कार्ड' प्रणाली लागू गरिने योजना छ । प्रशासनिक पुनर्संरचना र जनशक्ति व्यवस्थापन प्रशासनिक खर्च कटौती र कार्यदक्षता वृद्धिका लागि पार्टीले निम्न सुधारका योजनाहरू अघि सारेको छ । सानो मन्त्रिपरिषद्: हालको २५ सदस्यीय मन्त्रिपरिषद्लाई घटाएर विषय विज्ञहरू सम्मिलित सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था गरिनेछ । नयाँ जनशक्ति: आगामी पाँच वर्षभित्र सरकारी सेवामा ३० प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याउने लक्ष्य राखिएको छ । मेरिटोक्रेसी (योग्यता प्रणाली): संवैधानिक र सार्वजनिक निकायहरूमा दलीय भागबण्डा अन्त्य गरी केवल योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने प्रणाली बसालिनेछ । कार्यसम्पादन मूल्याङ्कन: कर्मचारीहरूको बढुवा र प्रोत्साहनलाई कार्यसम्पादन सम्झौता र नतिजामा आधारित पारदर्शी मूल्याङ्कन प्रणालीसँग जोडिनेछ । राजनीतिक हस्तक्षेपबाट मुक्त प्रशासन प्रशासनलाई राजनीतिक दबाब र आग्रहबाट मुक्त राख्न मुख्य सचिव र सचिवहरूको पदावधि सुनिश्चित गरिनेछ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको अधिकार र कार्यक्षेत्रलाई कानुनद्वारा स्पष्ट रूपमा परिभाषित गरिने पार्टीको योजना छ । साथै, कर्मचारीहरूको सेवा सुविधालाई समय अनुकूल वृद्धि गर्दै लगिने समेत प्रतिबद्धता पत्रमा जनाइएको छ । सङ्घीयताको प्रभावकारी कार्यान्वयन नयाँ प्रतिनिधिसभा गठन भएको एक वर्षभित्र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सबै कानुनहरू तर्जुमा गरी प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाइनेछ । शिक्षा, स्वास्थ्य र आवास जस्ता मौलिक हक कार्यान्वयनका लागि सङ्घीय बजेटको ६० प्रतिशत हिस्सा प्रदेश र स्थानीय तहबाट परिचालन गर्ने व्यवस्था गरिने पार्टीले जनाएको छ । पार्टीले यी सुधारका माध्यमबाट 'सुशासन र रोजगारी' सुनिश्चित गर्दै समाजवादको आधार तयार गर्ने दाबी गरेको छ ।
आज-भोलि देशभर अतिरिक्त बिदा, जनधनको सुरक्षा प्राथमिकता
काठमाडौं, । भारीदेखि अति भारी वर्षाको सम्भावनाले देशलाई आहत बनाउने चिन्ता बढ्दै गएको बेला सरकारले आज (असोज १९) र भोलि (असोज २०) सार्वजनिक बिदा घोषणा गरेको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा यो निर्णय वर्षाको जोखिमबाट उत्पन्न हुन सक्ने प्राकृतिक विपत्ति र जनधनको क्षतिलाई रोक्नका लागि लिइएको उल्लेख छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, मधेश र बागमती प्रदेशका विभिन्न भागहरूमा अझै मध्यमदेखि भारी वर्षा कायम रहने क्रममा छ। यसले बाढी, भूस्खलन र सडक अवरोध जस्ता समस्या निम्त्याउने सम्भावना उच्च छ। "सम्भावित जोखिमका कारण जनधनको क्षति हुन सक्ने देखिएकाले सुरक्षाको दृष्टिकोणबाट देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ," गृह मन्त्रालयको सूचनामा भनिएको छ। दसैं पर्वको बिदापछि आइतबारदेखि कार्यालय र शैक्षिक संस्थाहरू खुल्ने तयारी भइरहेको बेला यो दुई दिनको अतिरिक्त बिदाले लाखौं कर्मचारी, विद्यार्थी र व्यापारीहरूलाई राहत पुगेको छ। तर, यसले आर्थिक गतिविधिमा केही असर पार्न सक्ने चिन्ता पनि व्यक्त भएको छ। सरकारले यात्रा गर्दा सतर्क रहन, बाढी प्रभावित क्षेत्रबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सबैलाई आग्रह गरेको छ। मौसमविद्हरूका अनुसार, यो वर्षा प्रणाली क्रमशः कमजोर हुँदै गए पनि पूर्वी र मध्य क्षेत्रमा सतर्कता कायम राख्न आवश्यक छ। थप विवरणका लागि गृह मन्त्रालय वा मौसम विभागको आधिकारिक सूचना अनुगमन गर्न सुझाव दिइएको छ। यो बिदाले वर्षाको त्रास कम गर्दै सामान्य जीवनतर्फ फर्कने बाटो प्रशस्त गर्ने अपेक्षा गरिएको छ।
प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं — काठमाडौं महानगरपालिका–१०, बुद्धनगरबाट प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा सिन्धुली, घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङलाई पक्राउ गरिएको छ। उनले ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
कुलिङ पिरियडमा एमालेले अन्ततः 'म्याउ' गर्यो : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐनको कुलिङ पिरियडमा नेकपा एमालेका सांसदहरूले ‘सक्कली अनुहार’ देखाएको भन्दै कटाक्ष गर्नु भएको छ। शनिबार काठमाडौंको सितापाइलास्थित सहिद शिक्षक स्मृति केन्द्रको बहुउद्देश्यीय भवन उद्घाटन गर्दै उहाँले एमालेको संशोधन प्रस्तावले माओवादीको शंकालाई पुष्टि गरेको बताउनु भयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले एमालेका सांसदहरूले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको बताउनुभयो । माओवादीले एमालेकै कारण ऐन बन्न नसकेको जनाएको छ । पूर्वप्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेसमा वैचारिक नेतृत्वको खडेरी रहेको टिप्पणी गर्नुभयो। “एमालेभित्र जवजको उत्तराधिकारीको अन्योल छ, वैचारिक दिशाहीनता देखिन्छ,” उहाँले भन्नुभयो। अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिहरूलाई लिएर उनले एमालेको वैचारिक संकटमाथि प्रश्न उठाउनु भयो । प्रचण्डले माओवादी केन्द्रले जनतासँग प्रत्यक्ष सम्पर्क अभियान चलाएर वैचारिक स्पष्टता कायम राखेको दाबी गर्नुभयो। “हाम्रो आठौं महाधिवेशनको नीति र विचारले हामीलाई बलियो बनाएको छ। माओवादी मात्रै यस्तो पार्टी हो, जहाँ वैचारिक नेतृत्वको संकट छैन,” उहाँले भन्नु भयो । शिक्षक आन्दोलन र शिक्षा विधेयकबारे बोल्दै प्रचण्डले सत्तारूढ दलहरूको गरेको राज्यशक्तिको दुरुपयोगको विरोध गर्नुभयो। “संविधानले शिक्षक आन्दोलन आवश्यक नपर्ने अवस्था बनाएको छ, तर सरकारले सहमति कार्यान्वयन नगर्दा शिक्षकहरू सडकमा उत्रन बाध्य छन्,” उहाँले भन्नुभयो । माओवादी सरकारमा भएको भए शिक्षकहरू अपमानित नहुने उहाँको भनाइ थियो। शिक्षा विधेयकमा भएको छेडछाडप्रति आपत्ति जनाउँदै उहाँले भन्नुभयो , “हामीले शिक्षकका माग समेटेर विधेयक अगाडि बढाएका थियौं, तर अहिले त्यसमा षड्यन्त्र भएको छ।” शिक्षक संगठनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउनु भएको छ ।

