नेपालका कप्तान रोहित सर्वोत्कृष्ट खेलाडी

नेपालका कप्तान रोहित सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वेस्ट इन्डिज ‘ए’सँगको शृंखलामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

रोहितले  शनिबारदेखि सुरु पाँच खेलको शृंखलामा उत्कृष्ट ब्याटिङ गर्दै एक शतक र दुई अर्धशतकसहित २६५ रन बनाए । रोहितले २५ हजार रुपैयाँ पुरस्कार पाए।

वेस्ट इन्डिजका जोन्सन चार्ल्स उत्कृष्ट ब्याटर र वेस्ट इन्डिजकै आबेड म्याक्वेय उत्कृष्ट बलर चुनिए । चार्ल्सले शृंखलाभर २१२ रन जोड्दा म्याक्वेयले आठ विकेट लिए ।

पाँच खेलको शृंखलामा तीन जित निकाल्दै वेस्ट इन्डिज ३–२ ले च्याम्पियन बन्यो ।

चितवनमा अब गर्मीमा पङ्खा रोकिदैन : रेणु दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना विस्तार र स्तरोन्नतिसँगै चितवनवासीले पङ्खा चलाउन पाएको बताएकी छिन्‌ ।चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३र११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी लाइन उद्घाटन क्रममा दाहालले चितवनमा विद्युत आपूर्तिमा रहेको समस्या समाधान भएको दाबी गरिन्‌ । विद्युत् आपूर्तिमा रहेको रहेको न्यून भोल्टेजका कारण उद्योग व्यवसाय र पङ्खा नचलेको भन्ने उपभोक्ताहरूबाट आउने गुनासो देवनगर सबस्टेसन सञ्चालनमा आएपछि सम्बोधन भएको दाहालले बताइन्‌।सबस्टेसन तथा प्रसारण लाइन उद्घाटन महानगरप्रमुख दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा गरेका हुन्‌। चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय बासिन्दालगायतको साथ र सहयोगले लाइन तथा सबस्टेसन निर्माण भएको उल्लेख गर्दै दाहालले स्थानीयको मागबमोजिम केही क्षेत्रमा नाङ्गो तार बदलेर कालो तार राख्ने र तारलाई भूमिगत गर्न पनि आग्रह गरिन्‌। भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले सबस्टेसन निर्माण भरतपुर महानगरपालिकाको पश्चिमी भेगको विकासका लागि कोशेढुङ्गा साबित हुने बताए।चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्रजंग थापाले सबस्टेसन निर्माणबाट त्यस क्षेत्रबाट आउने विद्युत् आपूर्तिको गुनासो सम्बोधन र उद्योग कलकारखाना स्थापनाका लागि आधार तयार भएको बताए। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आगामी ५० वर्षमा भरतपुर महानगरपालिका हुने विद्युत भागमा प्रक्षेपण गरी चौबीसै घण्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि काम अगाडि बढाइसकेको जानकारी दिए । भरतपुर महानगर क्षेत्रमा भइरहेको तीव्र सहरीकरणका कारण बढिरहेको विद्युत् मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत १२३ केभी सबस्टेसनमा जोड्ने गरी काम भइरहेको उनले बताए । देवनगर सबस्टेसनबाट नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरपालिका ५, ६,८, ९,१३,१४,१५,२२ र २३ नम्बर वडाहरुमा विद्युत् प्रवाह गरेको छ । सबस्टेसनमा २४ एमभीए क्षमताको पावर ट्रान्सफर्मर राखिएको जसबाट करिब २२ मेगावाट विद्युत् आपूर्ति गर्न सकिने प्राधिकरणले जनाएको छ । भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी वनदेवी,सल्लेनी, गौरीगञ्ज, बरुवा, केशरबाग हुँदै देवनगर सबस्टेसनसम्म पुर्‍याइएको छ। गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे ९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडरहरू निकालिएका छन्। देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फूलबारी, गितानगर, पटिहानी र सीतामाई क्षेत्रका उपभोक्ताले ब्यहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित भएको प्राधिकरणको दाबी छ। नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना (प्योकेज–९) अन्तर्गत प्राप्त सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो। गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत करिब १० करोड रुपैयाँ रहेको आयोजना निर्देशक÷संयोजक अच्युत घिमिरेले जानकारी दिए । सबस्टेसन तयार भएतापनि लाइन निर्माणमा स्थानीयको अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सबस्टेसन सञ्चालनमा ल्याउन केही ढिलाइ भएको थियो । कोभिड–१९ महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने जङ्गल हुँदै प्रसारण लाइन लैजानुपर्ने र त्यसका लागि संक्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा समय लाग्दा, स्थानीयको अवरोधलगायतका कारणले निर्माण केही ढिलाइ भएको प्राधिकरणले जनाएको छ ।

कांग्रेसले भन्यो -'समिति गठन गरी निकास दिन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ'

काठमाडौँ। सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको नेपाली कांग्रेसले जानकारी दिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री र प्रतिपक्षी दलको छलफलपछि कांग्रेस नेता रमेश लेखकले सो कुरा जानकारी दिएका हुन् । रातोपाटीसँग कुराकानी गर्दै लेखकले भने, ‘प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ। राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको छ ।’ उनले यसबारे थप छलफल हुने बताए। लेखकका अनुसार आजको बैठक धेरै लामो समय बसेन । बैठक करिब आधा घण्टा मात्र बसेको थियो। बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र लेखक सहभागी थिए। त्यस्तै, माओवादीबाट जर्नादन शर्मा पनि आजको छलफलमा उपस्थित थिए। कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ। कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो।

कांग्रेसको कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन नसकेको बताएका छन् । शुक्रबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले संसदीय समिति गठनका लागि टिओआरमा सहमति जुटिसकेको अवस्था कांग्रेसले एकपक्षीय रूपमा विभिन्न सर्तहरु थपेर पठाएको आरोप लगाए ।  उनले आफूहरूले सदनमा जवाफ दिन पाउनुपर्ने र सबै समस्याको एकमुष्ट समाधान खोज्नुपर्ने रास्वपाको अडान रहेको बताए ।  समिति गठनका लागि टिओआरमा आफ्ना नेताहरू समेत सहभागी भएको अवस्थामा रास्वपा संसदीय समितिका लागि तयार छैन भनेर भन्न नमिल्ने उनको भनाइ छ ।   सांसद झाले विगतको ३४ वर्षमा कांग्रेसले के के गर्‍यो भन्ने सबै जानकारी रहेको भन्दै रास्वपामाथि लागेको दाग राजनीतिक विषय नभएको बताए । 

प्रतिनिधिसभा बैठक : सूचना टाँस गरी स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसले समय मागेपछि दिउँसो २ बजेका लागि बोलाइएको थियो। सदन सुचारु रूपमा सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच कुरा नमिल्दा सूचना टाँस गरेर पर्सीसम्मका लागि स्थगित गरिएको छ।  प्रतिनिधिसभाको अर्को बैठक २०८१ जेठ ६ गते आइतबार बिहान ११ बजे बस्ने सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन्।  गृहमन्त्री माथि संसदीय छानबिन माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको दल नेपाली कांग्रेस र सत्ता पक्ष दलहरूबिच सहमति नजुट्दा आजको बैठक पनि प्रभावित भएको हो ।

लोकप्रिय